विकासन्युज

टेलिकमको विभिन्न प्रमोसनल अफरको म्याद थप, माघ २४ गतेसम्म लागू हुने

काठमाडौं । नेपाल टेलिकमले ग्राहकलाई समय समयमा उपलब्ध गराएका विभिन्न प्रमोसनल अफरहरुलाई थप तीन महिनाका लागि निरन्तरता दिएको छ । कम्पनीको उक्त प्रमोसनल अफर अन्तर्गत उपलब्ध गराइएको यो अफर आगामी माघ २४ गते सम्म कायम रहनेछ । कम्पनीले उपभोक्ताहरुले अत्यधिक रुपमा रुचाएकाले यी अफरलाई निरन्तरता दिएको बताएको छ । १. अल टाइम डाटा प्याकेज जिएसएम प्रिपेड/पोष्टपेड तथा सिडिएमए प्रिपेड/पोष्टपेड मोबाइलमा अल टाइम डाटा प्याकेज प्रयोग गर्न सकिन्छ । अल टाइम डाटा प्याकेज अन्तर्गत १० रुपैयाँमा तीन दिनसम्म चौबिसै घण्टा उपभोग गर्न पाउने गरी २० एमबी डाटा उपलब्ध गराइएको छ । त्यसैगरी २५ रुपैयाँमा सात दिनसम्म चौबिसै घण्टा उपभोग गर्न पाउने गरी ६० एमबी डाटा उपलब्ध गराइएको छ । ५० रुपैयाँमा १५ दिनसम्म चौबिसै घण्टा उपभोग गर्न पाउने गरी १२५ एमबी डाटा, १ सय रुपैयाँमा ३० दिनसम्म चौबिसै घण्टा उपभोग गर्न पाउने गरी ४०० एमबी डाटा, २०० रुपैयाँमा ३० दिनसम्म चौबिसै घण्टा उपभोग गर्न पाउने गरी ८५० एमबी डाटा र ३०० रुपैयाँमा ३० दिनसम्म चौबिसै घण्टा उपभोग गर्न पाउने गरी १५०० एमबी डाटा उपलब्ध गराइएको छ । २. नाइट डाटा प्याकेज जिएसएम प्रिपेड/पोष्टपेड तथा सिडिएमए प्रिपेड/पोष्टपेड मोबाइलमा नाइट डाटा प्याकेज प्रयोग गर्न सकिन्छ ।  नाइट डाटा प्याकेज अन्तर्गत १५ रुपैयाँमा १५० एमबी डाटा ३ दिन सम्म प्रयोग गर्न सकिने छ । त्यसैगरी ४५ रुपैयाँमा ५०० एमबी डाटा ७ दिन सम्म र ९० रुपैयाँमा १२०० एमबी डाटा १५ दिनसम्म चलाउन पाइने छ । यो वाहेक २०० रुपैयाँमा ३ जीबी डाटा र ३०० रुपैयाँमा ६.५ जीबी डाटा ३० दिनसम्म चलाउन पाइने छ । नाइट डाटा प्याकेज राती १० बजेदेखि बिहान ६ बजेसम्म चलाउन पाइने छ । ३. फोरजी डाटा प्याक कम्पनीले जिएसएम प्रिपेड/पोष्टपेड मोबाइलमा पहिले देखि नै उपलब्ध गराइरहेको फोरजी डाटा प्याकलाई पनि निरन्तरता दिएको छ । यस अनुसार ५० रुपैयाँमा २०० एमबी डाटा ७ दिनका लागि र १०० रुपैयाँमा ५०० एमबी डाटा १४ दिनका लागि उपलब्ध हुनेछ । त्यसैगरी २०० रुपैयाँमा १२०० एमबी, ३०० रुपैयाँमा २००० एमबी र ५०० रुपैयाँमा ३६०० एमबी डाटा २८ दिन समयावधिका लागि उपलब्ध हुनेछ । उपरोक्त फोरजी डाटा प्याक फोरजी नेटवर्क भएका स्थानहरुमा फोरजी मोबाइल सेट भएका ग्राहकहरुलाई लक्ष्यित गरी ल्याइएको हो । तथापि भ्वाइस कल हुँदाको समयमा प्राविधिक रुपमा थ्रिजीमा फलब्याक हुने हुँदा उक्त समयमा प्रयोग गर्न मिल्ने गरी प्रत्येक फोरजी डाटा प्याकमै ३० प्रतिशत डाटा भोल्युम टुजी/थ्रिजी नेटवर्कमा समेत प्रयोग गर्न मिल्ने व्यवस्था गरिएको छ । टुजी/थ्रिजी नेटवर्कमा प्रयोग नभएको अवस्थामा भने फोरजी डाटा प्याकको पुरै भोल्युम फोरजी नेटवर्कमै प्रयोग गर्न सकिने छ । ४. नाइट भ्वाइस प्याक नाइट भ्वाइस प्याक अन्तर्गत २५ रुपैयाँमा राती १० बजेदेखि बिहान ६ बजेसम्म २५० मिनेट कल सुविधा सात दिनसम्म उपभोग गर्न पाइने गरी उपलब्ध गराइएको छ । ५. सियुजी प्याकेज कम्पनीले पहिले देखि नै उपलब्ध गराउदै आएको सियुजी प्याकेजलाई पनि निरन्तरता दिएको छ । कर्पोरेट ग्रुपका विभिन्न समूहलाई उपयुक्त हुने गरी कर सहित ४ सय, ७ सय, १ हजार, १३ सय र १६ सय रुपैयाँको विभिन्न दरका सियुजी प्याकेजहरु उपलब्ध गराइएको छ । सबैभन्दा सस्तो प्याकेज ४०० रुपैयाँमा उपलब्ध हुनेछ । यस अन्तर्गत सियुजी ग्रुप भन्दा बाहिर कम्पनीकै नेटवर्कमा १५० मिनेट भ्वाइस कल गर्न तथा ३०० एमबी डाटा चलाउन पाइने छ । त्यसैगरी, ७०० रुपैयाँमा ३०० मिनेट भ्वाइस कल गर्न र ८०० एमबी डाटा चलाउन सकिने छ । यो वाहेक १००० रुपैयाँमा ४५० मिनेट भ्वाइस कल गर्न र १५०० एमबी डाटा चलाउन, १३०० रुपैयाँमा ६०० मिनेट भ्वाइस कल गर्न र २१०० एमबी डाटा चलाउन तथा १६०० रुपैयाँमा ७५० मिनेट भ्वाइस कल गर्न र २७०० एमबी डाटा चलाउन पाइने छ । सबै प्याकेजमा रहेका ग्रुप सदस्यहरु बीचमा भने असीमित भ्वाइस कल गर्न सकिने छ । जिएसएम पोष्टपेड कर्पोरेट ग्राहकहरुलाई लक्ष्यित गरी कम्पनीले यो प्याकेज उपलब्ध गराएको हो । कुनै कर्पोरेट हाउसका कमसेकम १० जना जिएसएम पोष्टपेड प्रयोगकर्ता यो प्याकेजमा सहभागी हुन सक्ने छन् ।  ६. फेसबुक/इन्स्टाग्राम डाटा प्याक फेसबुक/इन्स्टाग्राम डाटा प्याक अन्तर्गत २५ रुपैयाँमा ११० एमबी डाटा ७ दिन र ५० रुपैयाँमा २३० एमबी डाटा १४ दिनका लागि उपलब्ध हुनेछ । त्यसैगरी १०० रुपैयाँमा ५०० एमबी डाटा र २०० रुपैयाँमा ११०० एमबी डाटा २८ दिन समयावधिका लागि उपलब्ध हुनेछ ।  ७. वाउटाइम प्रमोसनल सब्स्क्रिप्सन प्याक जिएसएम मोबाइलमा लाइभ भिडियो स्ट्रिमिङ सेवाका लागि कम्पनीले गत असोज ३ देखि हालसम्म निःशुल्क उपलब्ध गराउदै आएको वाउटाइम एप्समा प्रमोसनल सब्स्क्रिप्सन अफर उपलब्ध गराइएको छ । अफर अन्तर्गत १ दिनका लागि २४ रुपैयाँ, ७ दिनका लागि ९० रुपैयाँ र ३० दिनका लागि २५० रुपैयाँका विभिन्न सब्स्क्रिप्सन प्याकेज उपलब्ध गराइएको छ । ग्राहकले आफ्नो आवश्यकता अनुसारको प्याकेज खरिद गरी सो एप्समार्फत लाइभ टिभी, मुभी तथा भिडियो हेर्न र एफएम सुन्न सक्ने छन् । ८. स्ट्रिमिङ प्याक (युट्युब/टिभी/भिडियो) जिएसएम प्रिपेड/पोष्टपेड मोबाइलका लागि स्ट्रिमिङ प्याक अन्तर्गत युट्युब, टिभी र भिडियो चलाउन सकिने भएको छ । यस अन्तर्गत १०० रुपैयाँमा १ जिबी डाटा भोल्युम प्राप्त हुनेछ । यो प्याकेज २१ दिनको अवधिसम्म प्रयोग गर्न सकिने छ । त्यसैगरी ६० रुपैयाँमा ५०० एमबी डाटा १४ दिन अवधिका लागि उपलब्ध हुनेछ । ९. भ्वाइस  प्याक: जिएसएम तथा सिडिएमए प्रिपेड/पोष्टपेड मोबाइलमा कम्पनीकै नेटवर्कभित्र भ्वाइस प्याक अन्तर्गत १० रुपैयाँमा ११ मिनेट भ्वाइस कल प्राप्त हुने व्यवस्था गरिएको छ । यो प्याकेज १ दिनको अवधिसम्म प्रयोग गर्न सकिने व्यवस्था छ । त्यसैगरी २५ रुपैयाँमा ३० मिनेटको प्याकेज ३ दिन अवधिका उपलब्ध छ । ५० रुपैयाँमा ५ दिनका लागि ७५ मिनेट, १०० रुपैयाँमा १० दिनका लागि २०० मिनेट, २०० रुपैयाँमा २० दिनका लागि ४२५ मिनेट, ३०० रुपैयाँमा ३० दिनका लागि ६५० मिनेट र ५५० रुपैयाँमा ६० दिनका लागि १२०० मिनेट कल उपलब्ध गराइएको छ । सो कल नेपाल टेलिकमको नेटवर्क भित्रका लागि मात्र उपलब्ध हुनेछ । डाटा र भ्वाइस तथा फोरजी प्याकेज प्राप्त गर्नका लागि ग्राहकले ८ज्ञद्धज्ञछ३ मा डायल गर्नु पर्ने छ । १०. एडिएसएल/एफटिटिएच डाटा प्याक नेपाल टेलिकमले एडिएसएल/एफटिटिएच सेवाका ग्राहकहरुका लागि उपलब्ध गराएको प्रमोसनल अफरलाई पनि निरन्तरता दिएको छ । अफर अन्तर्गत १ एमबिपीएससम्म गतिको एडिएसएल इन्टरनेट कर सहित मासिक रु. १००० मा उपलब्ध हुनेछ । त्यसैगरी भोल्युम बेस्ड एडिएसएल अन्तर्गत १५ जीबी डाटा रु. ३०० मा उपलब्ध हुनेछ । त्यसैगरी २५ जिबी डाटाको रु. ५०० र ४० जिबी डाटाको मूल्य रु. ७०० तोकिएको छ । यी डाटाको गति १ एमबिपीएस सम्म हुनेछ । यी सबै डाटा एक महिनासम्म प्रयोग गर्न सकिने छ । भोल्युम बेस्ड डाटाको लागि कर वाहेक रु. ३०० र अनलिमिटेड डाटाको लागि रु. २०० दर्ता शुल्क तोकिएको छ । यस्तै १० एमबिपीएस गतिको एफटिटिएच प्याकेज अन्तर्गत ३ महिनाका लागि २४० जिबी, ६ महिनाका लागि ५०० जिबी र १२ महिनाका लागि १२०० जिबी डाटा पहिलेकै मूल्यमा प्रयोग गर्न सकिने छ । यी प्याकेजको मूल्य कर बाहेक क्रमशः रु. ५,१६०, ९,१२० र १८,२४० छ । त्यसैगरी, १०० एमबिपीएस गतिको प्याकेज अन्तर्गत १२ महिनाका लागि १२०० जिबी डाटा प्रयोग गर्न सकिने छ । सो प्याकेज कर बाहेक रु. २३,०४० मा खरिद गर्न सकिन्छ ।

निर्वाचनले लोकसेवाको परीक्षा सर्यो, कहिले हुँदैछ सरेको परिक्षा ?

काठमाडौं । प्रदेश सभा र प्रतिनिधी सभा निर्वाचनका कारण लोक सेवा आयोगको परीक्षा सरेको छ । निर्वाचन आयोगले निर्वाचन कार्यक्रम अघि लिखिति परिक्षा सञ्चालन नगर्न लिखित पत्र पठाएपछि लोकसेवाले परिक्षा मिति सारेको हो । कहिले हुँदैछ सरेको परिक्षा ? अब सो परिक्षाहरु एक महिनापछि सरेका छन् । आयोगका प्रवक्ता लक्ष्मी विलास कोइरालाका अनुसार निर्वाचन आयोगले आचार संहिता प्रभावित हुने भन्दै कात्तिक १९ गते पत्र लेखेर परिक्षा एक महिना सार्न भनेको थियो । निर्वाचन आयोगको सोही निर्देशन बमोजिम परिक्षा मिति सारिएको कोइरालाले बताए । लोकसेवाले मंसिर र पुसमा लिखित तर्फको प्रथम, दोश्रो तथा तेश्रो पत्रको परिक्षा मिति कायम गरेको थियो ।

मार्क जुकरवर्गलाई धनी बनाइदिँदै नेपाली नेता, समृद्धिको सपना बाढेर करोडौं रुपैयाँ विदेश पठाइँदै

काठमाडौं । ‘समृद्ध मुलुक’ बनाउने घोषणा गरेका नेताहरुले नै फेसबुकका मालिक मार्क जुकरवर्गलाई धनी बनाईदिँदैछन् भन्ने सुन्दा पत्याउन मुस्किल पर्छ । तर सत्य आखिर सत्य नै हुन्छ, मुलुकमा समृद्धिको यात्रा आरम्भ भएको बताउँदै नागरिकसँग मत मागिरहेका नेताहरुले मार्क जुकरवर्गको सम्पति बढाउन सहयोग गरिरहेका छन् त्यो पनि नेपालको कानुनी व्यवस्थाको उल्लंघनमार्फत । नेपालको विद्यमान कानुनले फेसबुक लगायतका सामाजिक सञ्जालहरुको प्रमोशन(स्पोन्सर) गर्नुलाई अबैधानिक भनेको छ । सामाजिक सञ्जालहरुको स्पोन्सरका लागि शुल्क बुझाउने कामलाई कानुनले नै बर्जित गरेको छ । तर नेपालका अधिकांश नेताहरुले आफ्नो फेसबुक पेज स्पोन्सर गराएर चुनावी प्रचार प्रचार गरिरहेका छन्, जसले नेपालको कानुनलाई उल्लघंन मात्रै गरेको छैन, मार्क जुकरवर्गको सम्पति पनि बढाईरहेको छ । ‘सामाजिक सञ्जालहरुको स्पोन्सरका लागि सटही सुबिधा लिन कोहि आएका छैनन् । हामीले तोकेको सेवा सुबिधा बाहेकका भुक्तानी गैर कानुनी हुन्’, नेपाल राष्ट्र बैंकको विदेशी विनिमय व्यवस्थापन विभागका प्रमुख रमेशकुमार पोखरेलले भने । नेपाल दुरसञ्चार प्राधिकरणका निर्देशक आनन्दराज खनालले समाजिक सञ्जालहरुको स्पोन्सरका लागि हुने भुक्तानी कानुन विपरिद भएको तर त्यो नेपाल राष्ट्र बैंकको कार्यक्षेत्रमा पर्ने बताए । ‘फेसबुकहरुको स्पोन्सरका नाममा करोडौं रकम विदेशिएको छ, यो गैर कानुनी काम हो, तर विदेशी मुद्राको कारोबार र नियमन गर्ने नेपाल राष्ट्र बैंकले हो, प्राधिकरणले केहि भन्न मिल्दैन’, खनालले भने । मुलुकमा कानुनी शासन र त्यसकै जगमा समृद्धि र समानताको यात्रा छेडेको दावी गर्ने मुल राजनीतिक नेतृत्व नै विद्यमान कानुनको उल्लंघन गरेर करोडौं रकम गैर कानुनी ढंगले विदेश पठाउन तल्लिन रहेको यस्ता घट्नाले प्रष्ट हुन्छ । हाल प्रधानमन्त्री शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी ओली, माओवादी अध्यक्ष पुष्पकमल दाहाल(प्रचण्ड), संघिय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादव, राजपा अध्यक्ष महन्थ ठाकुर, नयाँ शक्ति पार्टीका संयोजक बाबुराम भट्टराई देखि प्राय सबै जसो उम्मेदवारले फेसबुक पेज स्पोन्सर गराईरहेका छन् । यति मात्रै होइन, प्रतिनिधी सभाको उम्मेदवार बनेका अधिकांश नेताहरुले फेसबुक स्पोन्सर गरेका छन् । प्रदेश सभाका लागि उम्मेदवारी दिएका धेरै नेताहरु पनि यहि दौडमा सामेल भएका छन् । बिशेष गरि युवा पुस्ताका चर्चित अनुहारहरु गगन थापा, योगेश भट्टराई, राजन भट्टराई, बर्षमान पुन, उदय शमशेर राणा, महेश बस्नेत लगायतले पनि आफ्नो फेसबुक पेजको स्पोन्सर गराएका छन् । उनीहरुले यसरी आफ्नो फेसबुक पेज स्पोन्सर गराएवापत फेसबुकलाई डलरमा भुक्तानी दिनुपर्छ । त्यसका लागि नेपालबाट करोडौं रकम बाहिरिरहेको छ ।

सेयर बजार घट्ने क्रम जारी, नेप्से दोहोरो अंकले ओरालो, सबै समूह राताम्मे

काठमाडौं । सेयर बजार घट्ने क्रम जारी रहेको छ । मंगलबार करिब ९ अंकले घटेको बजार बुधबार दोहोरो अंकले घटेको छ । बुधबार एक बजेसम्म २४ अंकले ओरालो लागेको बजारलाई त्यसपछिको कारोबारमा भने केही टेवा पुगेको देखिन्छ । नेप्से परिसूचक १७ दशमलब ८३ अंकमा पुग्दा बुधबारको बजार बन्द भएको छ । मंगलबारको तुलनामा बुधबारको नेप्से १.२० प्रतिशतले घटेर १४६६ अंकमा अडेको छ । दोहोरो अंकले घटेको बजारमा कारोबार भएका सबै समूहको परिसूचक ओरालो लागेका छन् । बजारमा सबैभन्दा बढी बीमा समूहको परिसूचक १३५ अंकले ओरालो लागेको छ । त्यस्तै, फाइनान्स, ट्रेडिङ, उत्पादनमूलक र अन्य समूहको परिसूचक सामान्य अंकले ओरालो लागेका छन् भने बाँकी समूहको परिसूचक दोहोरो अंकले घटेका छन् । बजारमा सबैभन्दा बढी बोटलर्स नेपाल(तराई)को सेयर मूल्यमा ९.९८ प्रतिशत गिरावट आएको छ । बुधबार स्ट्याण्डार्ड चार्टर्ड बैंकको ३ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । सो दिन सबैभन्दा बढी माहुली सामुदायिक लघुवित्त संस्थाका लगानीकर्ताले ४ प्रतिशत कमाएका छन् ।

एनबीआईले ग्लोबल आइएमई बैंकका कर्मचारीलाई तालिम दिने

काठमाडौं । नेशनल बैंकिङ्ग ईन्ष्टिच्युट (एनबीआई) र ग्लोबल आइएमई बैंक बिच तालिम कार्यक्रम संचालन सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ । उक्त सम्भौतापत्रमा ग्लोबल आइएमई बैंकका तर्फबाट का.मु. प्रमुख कार्यकारी अधिकृत जनकशर्मा पौडेल र नेशनल बैंकिङ्ग ईन्ष्टिच्युटका प्रमुख कार्यकारी अधिकृत संजिब सुब्बा बीच हस्ताक्षर भएको छ । यस सम्झौता अनुसार एनबीआईले ग्लोबल आइएमई बैंकका कर्मचारीहरुको कार्यदक्षता विकासका लागि विभिन्न तालिमहरु उपलब्ध गराउने छ । यस सम्झौता अनुसार ग्लोबल आइएमई बैंकले नेशनल बैंकिङ्ग ईन्ष्टिच्युटबाट ६१ लाख रुपैयाँ बराबर रकमको आफ्नो कर्मचारीहरुका लागि वार्षिक तालिम संचालन गराउने भएको छ ।

यामाहाका नौ जना ग्राहकले जिते एक लाख रुपैयाँ, हेरौँ क-कसले जिते ?

काठमाडौं । नेपालका लागि यामाहा मोटरसाइकल तथा स्कुटरको आधिकारिक विक्रेता एमएडब्लु इन्टरप्राइजेजले दसैं ग्राहक योजना ‘क्यास-इन-ओ’ अन्तर्गतको साप्ताहिक लकी ड्रका नवौं विजेता घोषणा गरेको छ । इटहरीका थगेन्द्र थापा यामाहाको तर्फबाट एक लाख रुपैयाँ पुरस्कार हासिल गर्ने नवौं ग्राहक बनेका हुन् । यामाहाले दसैंतिहारको अवसरमा ‘क्यास-इन-ओ’ अर्थात् ‘क्यास इन्स्ट्यान्ट अफर’ ल्याएको थियो जसमा यामाहा ब्रान्डका मोटरसाइकल र स्कुटर खरिद गर्ने ग्राहकले तुरुन्तै सात हजार रुपैयाँ छुट, साप्ताहिक लकी ड्रमार्फत एक लाख रुपैयाँ पुरस्कार र बम्बर पुरस्कारमा ब्रान्ड न्यु स्कोडा र्यापिड कार जित्न सक्नेछन् । साप्ताहिक लकी ड्रको प्रत्यक्ष प्रसारण हरेक सोमबार हिमालय टेलिभिजनको ‘द इभिनिङ सो एट ६’ र यामाहा नेपालको आधिकारिक फेसबुक पेजमा गरिन्छ । यो योजनाको पहिलो साप्ताहिक विजेता काठमाडौंका दिपेन्द्र बस्नेत हुन सफल भएका थिए । उनीपछि रिचा श्रेष्ठ, आयुष शाक्य, नगेन्द्र श्रेष्ठ, बालिका खनाल, मिराना ग्लोबल प्रा. लि., शोभन घिमिरे र राम जंग गुरुङ साप्ताहिक लकी ड्रबाट विजेता घोषित भए । यामाहाका मोटरसाइकल किन्दा तुरुन्त सात हजार रुपैयाँ छुट, साप्ताहिक लकी ड्रमा एक लाख रुपैयाँ र बम्पर पुरस्कारमा स्कोडा र्यापिड कार पाउने भएपछि ग्राहकहरु निकै उत्साहित भएको हामीले पाएका छौं । यो योजना कात्तिक मसान्तसम्म जारी रहनेछ । यामाहाले नेपाली बजारको माग र आवश्यकतालाई सम्बोधन गरी विभिन्न भेरियेन्टका बाइक र स्कुटर विक्री गर्दै आएको छ । स्कुटरमा यामाहाको फेसिनो, रे जेडआर र रेजी गरी तीन मोडेल छन् भने बाइकमा एफजेड–एस एफआई, आर १५, एसजीआरआर, स्यालुटो र प्राविधिक रुपमा उच्च स्तरीय आर३ उपलब्ध छन् । यामाहाले केही महिनाअघि नेपाली बजारमा २५० सीसी क्षमता भएको एफजी२५ ‘द अल्टिमेट स्ट्रिट फाइटर’ सार्वजनिक गरेको थियो । छोटो अवधिमै एफजी२५ सबैभन्दा बढी खोजिएको मोटरसाइकल बन्न सफल भएको छ । यामाहाका मोटरसाइकल र स्कुटरहरु प्याटेन्टेड ‘ब्लु कोर’ इन्जिनजडित छन् । यामाहाको आर र एफजी सिरिजमा अत्याधुनिक फ्युल इन्जेक्सन (एफआई) प्रविधि जडान गरिएको छ जसले पर्फमेन्स बढाउनुका साथै इन्धन खपत घटाउँछ र यसैले गर्दा यामाहाका बाइकहरुमा माइलेज बढी पाइन्छ ।

सर्पोट माइक्रोफाइनान्सको आइपीओ बाँडफाँट

काठमाडौं । सर्पोट माइक्रोफाइनान्स वित्तीय संस्थाकोले असोज १८ देखि २३ गतेसम्म निष्काशन गरेको आइपीओको बाँडफाँट भएको छ । बुधबार बाँडफाँट भएको उक्त आइपीओमा १६ हजार ७४० आवेदकले १० कित्ता सेयर पाएका छन् । कम्पनीले जारी गरेको उक्त आइपीओमा कुल दुई लाख ३५ हजार २४८ जनाको आवेदन परेको थियो । जस मध्ये १६ हजार ७४० जना आवेदकले मात्र सेयर पाएका बिक्री प्रबन्धक एनएमबी क्यापिटलले जनाएको छ । कुल आवेदन परेको सेयरमध्ये २ हजार ३९६ जनाको आवेदन रद्द भएको छ भने बाँकी आवेदकलाई सेयर नपरेको बिक्री प्रवन्धकले जनाएको छ । कम्पनीले कुल एक करोड ८० लाख रुपैयाँ बराबरको आइपीओ जारी गरेको थियो ।

मतगणना प्रक्रियामा महिला प्रतिनिधि पठाउन आग्रह

चितवन । चितवन जिल्लाका मुख्य निर्वाचन अधिकृत कुलप्रसाद शर्माले मतगणना प्रक्रियामा उम्मेदवारका प्रतिनिधिका रुपमा महिलालाई मात्र समावेश गर्न आग्रह गरेका छन् । संयुक्त राष्ट्रसंघीय विकास नियोग (युएनडिपी)को सामाजिक सद्भाव तथा लोकतान्त्रिक सहभागिता कार्यक्रम भरतपुरले मंगलबार यहाँ आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा उनले यस्तो आग्रह गरेका हुन् । गएको स्थानीय तहको निर्वाचनमा मतगणनाका क्रममा उम्मेदवारका प्रतिनिधिले मतपत्र च्यातेपछि भरतपुर महानगरपालिका–१९ को मतदान पुनः भएको थियो । सो पश्चात् तारको जाली लगाएर जालीभित्र प्रतिनिधिलाई राखेर मतगणना गरिएको थियो । मुख्य निर्वाचन अधिकृत शर्माले जिल्लामा एउटा फरक संस्कृतिको विकास गर्न आग्रह गर्दै मतगणनाका क्रममा सबै उम्मेदवारले महिला प्रतिनिधि पठाएमा गणना प्रक्रिया अरू बढी राम्रो हुने बताए । उनले भने, “महिला स्वभावतः शालीन र भद्र हुन्छन् । उनीहरुको आवाज ठूलो नहुने जसले सद्भाव खलबलिन नदिने बताउँदै मुख्य निर्वाचन अधिकृत शर्माले यसले निर्वाचनको विश्वसनीयता अझ बढेर जाने धारणा व्यक्त गरेका छन्। कार्यक्रममा सहभागी महिलाले आसन्न प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनका लागि दलहरुले प्रत्यक्षतर्फ महिलालाई उम्मेदवार नबनाएको गुनासो गर्दै निर्वाचनको प्रचार प्रक्रियादेखि मतगणनासम्म हुन सक्ने चुनौतीलाई समयमै आँकलन गरी सुरक्षा रणनीति बनाउनुपर्नेमा जोड दिएका छन् । निर्वाचन प्रक्रिया खर्चिलो भएको, आचारसंहिताको पालना कम भएको, सञ्चारमाध्यम र कर्मचारी निष्पक्ष बन्न नसकेको र मानव अधिकारकर्मी स्वतन्त्र नभएको गुनासो उनीहरुले व्यक्त गरेका थिए । सो अवसरमा जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी उपरीक्षक दीपक थापाले निर्वाचनपूर्व, निर्वाचनको समय र मतदानपछिको समयको सुरक्षा प्रबन्ध मिलाइएकाले ढुक्कसँग मतदान गर्न सबैमा आग्रह गरे । रासस