११ प्रकारका सामान भित्र्याउँदा गुणस्तर प्रमाण चिह्न अनिवार्य लिनुपर्ने
काठमाडौं । नेपाल गुणस्तर तथा नापतौल विभागले विदेशमा उत्पादित ११ प्रकारका सामग्री भित्र्याउँदा नेपाल गुणस्तर प्रमाण चिह्न अनिवार्य प्रयोग गर्नुपर्ने व्यवस्था गरेको छ । विभागले साधारण पोर्टल्यान्ड सिमेन्ट, साधारण स्लाग, पोर्टल्यान्ड पोजोलोना सिमेन्ट, एलपीजी सिलिन्डर, ड्राइसेल एन्ड ब्याट्री, फलामे छड, जिआइ वायर, कम्पोजिट ग्यास सिलिन्डर तथा ट्युब्स, पिभीसी केवल, एलपीजी रेगुलेटर र भल्व फिटिङ्ससम्बन्धी सामग्री भित्र्याउँदा अनिवार्य नेपाल गुणस्तर प्रमाण चिह्न लिनुपर्ने व्यवस्था गरेको हो । विभागका प्रवक्ता रोमी मानन्धरले विदेशमा उत्पादित वस्तु विदेशबाटै नेपाल गुणस्तर प्रमाण चिह्न लगाएर नेपाल ल्याउने व्यवस्था गरिएको जानकारी दिए । उनले भने, “अहिलेसम्म विदेशी सामान नेपालमा ल्याएर गुणस्तर प्रमाणपत्र दिने व्यवस्था थियोे अब विदेशबाटै लगाएर ल्याउनुपर्ने व्यवस्था गरेका छौँ ।” उनले गुणस्तर चिह्न प्रयोग नगरी सामान नेपाल भित्र्याएमा भन्सार कार्यालयको सहयोगमा कारबाही गरिने स्पष्ट पारेका छन् । अहिलेसम्म नेपालमा ६१ वस्तु र २०३ उद्योगले नेपाल गुणस्तर प्रमाण चिह्न पाएका छन् । रासस
शेरबहादुरलाई पत्याएन सेयर बजारले, परिसूचक दोहोरो अंकले ओरालो
काठमाडौं । नवनिर्वाचित प्रधानमन्त्री शेरबहादुर देउवाले शपथ ग्रहण गरेको दिन सेयर बजार ओरालो लागेको छ । मंगलबार दोहोरो अंकले उकालो लागेको परिसूचक बुधबार दोहोरो अंकले ओरालो लागेको छ । बुधबार परिसूचक १४ दशमलब २४ अंकले घटेर १६२३ अंकमा झरेको छ । बजारमा नेप्से परिसूचकका साथै सेयर कारोबारमा पनि गिरावट आएको छ । सो दिन ७६ करोड ४७ लाख रुपैयाँको सेयर कारोबार भएको छ । जुन रकम अघिल्लो दिनको तुलनामा १५ करोड रुपैयाँ घटी हो । अघिल्लो दिन (मंगलबार) बजारमा ९१ करोड रुपैयाँमाथिको सेयर किनबेच भएको थियो । सो दिन १४९ कम्पनीको १२ लाख ७९ हजार ५०७ कित्ता सेयर किनबेच भएको छ । बुधबार कारोबार भएका प्राय सबैसमूहको परिसूचक राताप्मे भएका छन् । सो दिन उत्पादनमूलक समूहको परिसूचक ९ अंकले उकालो लागेको छ भने बाँकी समूहका परिसूचक ओरालो लागेका छन् । सबैभन्दा बढी बीमा समूहको परिसूचक ओरालो लागेको छ ।
देउवा सरकारको अर्थमन्त्रीमा ज्ञानेन्द्र बहादुर कार्की, गच्छदार, श्रेष्ठ र महरा उपप्रधान मन्त्री
काठमाडौं । शेर बहादुर देउवा सरकारको अर्थमन्त्रीमा ज्ञानेन्द्र बहादुर कार्की नियुक्त भएका छन् । प्रधानमन्त्री देउवाले सपथ ग्रहण गरे लगत्तै शिलत निवासमै आयोजित समारोहमा कार्कीले अर्थ मन्त्रीको सपथ लिएका हुन् । देउवा सरकारको उप प्रधान तथा परराष्ट्र मन्त्रीमा निवर्तमान अर्थमन्त्री कृष्ण बहादुर महराले सपथ लिएका छन । त्यस्तै, गृह मन्त्रीमा निवर्तमान उर्जा मन्त्री जनार्दन शर्माले सपथ लिएका छन् । विजय कुमार गच्छदारले उपप्रधानसहित संघिय मामिला तथा स्थानीय विकास मन्त्री र गोपालमान श्रेष्ठले उपप्रधान तथा शिक्षा मन्त्रीको सपथ लिएका छन भने फरमुल्लाह मन्सुरले श्रम मन्त्री र प्रभु शाहले विना विभागिय मन्त्रीको सपथ लिएका छन् ।
नवनिर्वाचित प्रधानमन्त्री देउवाद्धारा सपथ ग्रहण
काठमाडौं । नवनिर्वाचित प्रधानमन्त्री शेरबहादुर देउवाले पद तथा गोपनियताको सपथ लिएका छन् । बुधबार राष्ट्रपति भवन शीतल निवासमा आयोजित विशेष समारोहमा देउवाले राष्ट्रपति विद्या भण्डारी समक्ष पद तथा गोपनियताको सपथ लिएका हुन् ।
चालु आर्थिक वर्षमा आठवटा खानेपानी योजना सम्पन्न, ४४७ घरधुरी लाभान्वित
म्याग्दी। जिल्लामा चालु आर्थिक वर्षमा आठवटा खानेपानी योजना सम्पन्न भएका छन् । जिल्ला समन्वय समिति अन्तर्गत सञ्चालित पश्चिम नेपाल ग्रामीण खानेपानी तथा सरसफाइ परियोजनाबाट यस वर्ष जिल्लामा १६ वटा नयाँ खानेपानी आयोजनासहित थप २० वटा खानेपानी योजनामा निर्माण र त्यसपछि मर्मतका लागि योजना छनोट गरिएको थियो । यसै वर्षदेखि निर्माण शुरु गरिएका नयाँ १६ वटा खानेपानी आयोजनामध्ये अहिलेसम्म आठवटा आयोजना निर्माण भएको परियोजनाका सल्लाहकार थरेन्द्र पौडेलले जानकारी दिए । उनका अनुसार, आगामी असार महिनाभित्र थप दुईवटा खानेपानी आयोजना निर्माण हुनेछ भने हाल बाबियाचौरको पात्लेपानी खानेपानी तथा सरसफाइ योजना, ओखर बोटको खालखोला, बिमको ओख्ले बिम्वाङ, घारको विरौटा, अर्मनको पिपलबोट, रुमको सेउलुङ अधिभारा, बङरजाको बाघ हान्ने गौँडा र डेगखोला खानेपानी तथा सरसफाइ योजना सम्पन्न भएका हुन् । त्यस्तै पाखापानीको कालाबाङ र ओखरबोटको कालपोहर खानेपानी तथा सरसफाइ योजनाको निर्माण अन्तिम चरणमा पुगेको छ । निर्माण भएका आठवटा खानेपानी आयोजनाबाट ४४७ घरधुरी लाभान्वित भएका छन् । चालु आर्थिक वर्षमा सो परियोजनाले जिल्लाका १६ वटा खानेपानी आयोजना र २० वटा योजनाका लागि नेपाल सरकार, फिनल्यान्ड सरकार, जिल्ला समन्वय समिति, वडा कार्यालयको आर्थिक अनुदान र उपभोक्ताको श्रमदान गरी कुल रु पाँच करोड ५७ लाख २२ हजार लागेको थियो रासस
महरालाई उपप्रधान तथा परराष्ट्र र शर्मालाई गृह मन्त्रालयको जिम्मेवारी
काठमाडौं । नेकपा (माओवादी केन्द्र)को तर्फबाट कृष्णबहादुर महराले सरकारको नेतृत्व गर्ने भएका छन्। माओवादी केन्द्रको आज बसेको हेडक्वार्टरको बैठकले नेपाली काँग्रेसका सभापति शेरवहादुर देउवा नेतृत्वको सरकारमा महरालाई उपप्रधान तथा परराष्ट्र र जनार्दन शर्मालाई गृह मन्त्रालयको जिम्मेवारी दिइने निर्णय गरेको छ । यसअघि नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारमा महरा उपप्रधान तथा अर्थ र शर्मा उर्जा मन्त्री थिए । बैठकले प्रभु साहलाई पछि मन्त्रालय टुङ्ग्याउने गरी सरकारमा पठाउने निर्णय गरेको प्रवक्ता पम्फा भुसालले जानकारी दिए । रासस
१० वटा पेट्रोलियम खानीको ग्लोबल टेण्डर अन्तिम चरणमा, शुन्य लगानीमा अधिकतम प्रतिफल
काठमाडौं । मुलुकको बिभिन्न भागमा रहेका १० वटा पेट्रोलियम खानीहरुको ग्लोबल टेण्डरको तयारी सकिएको छ । पेट्रोलियम अन्वेषण परियोजनाका प्रमुख सुधिर रजौरेले भने,‘हामीले ग्लोबल टेण्डरको सबै प्रक्रिया पुरा गरिसकेका छौं, सबै डकुमेण्ट तयार छन ।’ खनिज नियमावली राजपत्रमा प्रकाशित लगत्तै ग्लोबल टेण्डर निकाल्ने बताए । ‘खनिज नियमावली राजपत्रमा प्रकाशित हुने वित्तिकै ग्लोबल टेण्डर निकाल्न सक्ने अवस्थामा छौं’, रजौरेले भने । उनका अनुसर खनिज नियमावलीले नेपाल सरकारलाई १२ दशमलब ५ प्रतिशत रोयल्टी ग्यारेण्टी गरेको छ । सबै भन्दा भन्दा धेरै प्रतिशत आम्दानीको हिस्सा दिने नेपाल सरकारलाई दिने अन्तराष्ट्रिय कम्पनीलाई उत्खननको जिम्मेवारी दिने व्यवस्था रहेको छ । उनका अनुसार पेट्रोलियम खानीहरुको उत्खननमा नेपाल सरकारलाई कुनै पनि आर्थिक दायित्व पर्नेछैन् ।‘हामीले शुन्य लगानीमा अधिकतम प्रतिफल दिने कम्पनीलाई ठेक्का दिने हो, पेट्रोलियम पदार्थ फेला पर्यो भने आम्दानी बाडफाँट हुन्छ नत्र कम्पनी खाली हात फर्कन्छ ’, रजौरेले भने । नेपालका बिभिन्न १० वटा ब्लकहरुमा पेट्रोलियम पदार्थको खानी रहेका छन् । ती खानीहरुले क्रमशः धनगढी, कर्णाली, नेपालगञ्ज, लुम्बिनी, चितवन, बिरगञ्ज, मलंगवा, जनकपुर, राजबिराज र बिराटनगरका एक देखि १० नम्बर ब्लकका रुपमा नामाकरण गरिएको छ । गत बर्ष चिन सरकारको स्वामित्वमा रहेको चाईना जिओलोजिकल सर्भको प्राबिधिक टोलीले सुर्खेत–दैलेख, बुटवल–पाल्पा र चतरा–बराह क्षेत्रमा रहेका पेट्रोलियम खानीहरुको अध्ययन गरेको थियो । उनीहरुले नेपालमा पेट्रोलियम पदार्थ रहेको प्रारम्भिक रिपोर्ट तयार पारेको अनौपचारिक जानकारी नेपाल सरकारलाई पठाएका थिए । तर औपचारिक रिपोर्ट भने अझै पठाएको छैन् । परियोजनाले पेट्रोलियम पदार्थको उत्खनन गर्ने अन्तराष्ट्रिय कम्पनीहरुलाई नेपालमा पेट्रोलियम पदार्थ रहेको पुष्टि गर्न आफ्ना अध्ययनका रिपोर्ट, माटो, चट्टानको प्रकृति, चिनियाँ कम्पनीले पठाएको प्रारम्भिक अनौपचारिक रिपोर्ट लगायतका तथ्यांक अघि सारिने पनि स्पष्ट पारे । ‘कुनै पनि कम्पनीले हचुवाका भरमा अर्बाै लगानी गर्दैनन्, उनीहरुलाई कन्भिन्स गर्न हामीले आधारहरु तयार पारिसकेका छौं’, रजौरेले भने ।
यस्तो बन्यो महालक्ष्मी लाईफ इन्स्योरेन्सको लोगो
काठमाडौं । सञ्चालनको तयारीमा रहेको महालक्ष्मी लाईफ इन्स्योरेन्स लिमिटेडले आफ्नो लोगोलाई अन्तिम रुप दिएको छ । मगंलबार बसेको संचालक समितिको बैठकले कम्पनीको लोगो पारित गरी सार्वजनिक गर्ने निर्णय गरेको छ । २ अर्ब चुक्तापुँजीमा स्थापना हुन लागेको यो कम्पनीमा संस्थापकहरुबाट १ अर्ब ४० करोड चूक्ता गराउने प्रक्रियामा रहेको कम्पनी निकट भविष्यमा संचालनको तैयारीमा रहेको जनाएको छ । यस कम्पनीमा ५५ जना संस्थापक सदस्य रहेका छन् ।