विकासन्युज

कतार एयरवेजद्वारा ईफ्टर डिनर आयोजित

काठमाडौं । रमादानको अवसरमा कतार एयरवेज नेपालले नेपाल सरकारका विशिष्ट पाहुना, नेपाल हाजी कमिटी, तथा विभिन्न क्षेत्रका विशिष्ट ब्यक्तिहरु तथा विभिन्न दूतावासका प्रतिनिधिहरुका लागि ईफ्टर डिनर आयोजना गरेको छ । सूर्य अस्ताएपछि दिनभरको उपवास तोड्न मुस्लिम समूदायले साँझपख खाइने परम्परागत खानालाई इफ्टर भनिन्छ । सेक्यूलर नेपालको सहकार्यमा आयोजित उक्त कार्यक्रममा विभिन्न धार्मिक समुदायका प्रतिस्थित ब्यक्तित्वहरुको उपस्थिती रहेको थियो ।

नेपाल बङ्गलादेश बैंकको ४५ औं शाखा चाबहिलमा

काठमाडौं । नेपाल बङ्गलादेश बैंक लिमिटेडले शाखा बिस्तारको क्रममा काठमाडौँको मित्रपार्क, चाबहिलमा आफ्नो ४५ औं शाखा संचालनमा ल्याएको छ । उक्त शाखाको औपचारिक उद्घाटन बैंकका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्रप्रसाद ढुंगाना तथा बैंकका सञ्चालक समितिका सदस्यहरुकोे उपस्थितिमा बैंकका अध्यक्ष जलाल अहमदले गरेका थिए । साथै, कार्यक्रममा उपस्थित काठमाडौं नेपाल च्याम्बर अफ कमर्सका कार्यकारी सदस्य टिकाराम शर्मा, नेपाल राष्ट्र बैंकका भुतपूर्व डेपुटी गर्भनर प्रफुल्लकुमार काफ्ले तथा काठमाडौँ महानगरपालिका वडा नं. ७ का वडा अध्यक्ष शुद्ध कुमारडङ्गोलले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । त्यसैगरी बैंकका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्रप्रसाद ढुंगानाले बैंकका सेवाहरुको बारेमा आफ्नो मन्तव्य राखेका थिए । चाबहिल शाखा सहित बैंकले ४५ शाखा, ४ एक्सटेन्सन काउन्टर, ७ शाखारहित घरदैलो बंैकिङ्ग सेवा तथा ४५ वटा एटिएमबाट बैंकिङ्ग सुविधा दिंदै आएको बैंकले जनाएको छ ।

अपहरणमा परेका व्यवसायी श्रेष्ठको रिहाइको माग

दाङ । तुलसीपुर उद्योग वाणिज्य सङ्घले शुक्रबार अपहरणमा परेका तुलसीपुरका प्रतिष्ठित व्यापारी राजकुमार श्रेष्ठको सकुशल रिहाइको माग गरेको छ । सङ्घका अध्यक्ष विमल रिजालले यथाशक्य रिहाइका लागि अपिल एवम् सुरक्षा निकायलाई खोजीकार्यका लागि अनुरोध गर्नुभएको छ । साथै उनले व्यावसायिक सुरक्षामा गम्भीर बन्न प्रहरी प्रशासनसँग अनुरोध पनि गरेका छन् । अध्यक्ष रिजालले सत्य तथ्य सूचना प्रहरीलाई उपलब्ध गराई सहयोग गरी दिनसमेत अनुरोध गरेका छन् । तुलसीपुरमा व्यवसायी एकाएक अपहरणमा पर्ने घटना पटक पटक दोहोरिएपछि यहाँ व्यवसायी चिन्तित बनेका छन् । शुक्रबार तुलसीपुरबाट राति ८ बजे अपहरणमा परेका व्यापारी श्रेष्ठको खोजी कार्य व्यापक पारिएको दाङ जिल्ला प्रहरी प्रमुख एसपी धिरजप्रताप सिंहले जानकारी दिए । कल डिटेलका आधारमा गरिएको अनुसन्धानबाट अपराधीकोे नजिक पुगेको प्रहरीको दाबी छ । रासस

अरुण फाइनान्सको प्रमुख कार्यकारी अधिकृतमा विष्णु पाण्डे नियुक्त

काठमाडौं । अरुण फाइनान्सको प्रमुख कार्यकारी अधिकृतमा विष्णु पाण्डे नियुक्त भएका छन् । गत जेठ ३ गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले पाण्डेलाई आगामी चार वर्षको लागि प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गर्ने निर्णय गरेको हो । नवनियुक्त पाण्डेले जेठ २२ गतेदेखि नै फाइनान्सको कार्यभार सम्हालि सकेका छन् ।

ग्लोबल आईएमई बैंक मार्फत युएई एक्सचेन्जबाट पैसा पठाउन सजिलो

काठमाडौं । ग्लोबल आइएमई बैंकले युएई एक्सचेन्जसँगको सहकार्यमा युएई एक्सचेन्जबाट नेपालमा पैसा पठाउन सहज व्यवस्था मिलाएको छ । युएई एक्सचेन्ज खाडी (गल्फ) मुलुकको सबैभन्दा ठुलो एक्सचेन्ज कम्पनी हो । खाडी मुलुकमा कार्यरत नेपालीहरुले उक्त एक्सचेन्ज कम्पनी मार्फत नेपालमा रहेका आफ्ना आफन्तहरुलाई ग्लोबल रेमिट मार्फत पठाएको पैसा छिटोछरितो र सहजरुपमा नेपालमा रहेका ग्लोबल आइएमई बैंकका सम्पूर्ण शाखा तथा आइएमई रेमिटेन्स, बेष्ट रेमिट एण्ड एस रेमिटका ७ हजार भन्दा बढि एजेन्टबाट तत्काल भुक्तानी लिन सकिने बैंकले जनाएको छ । ग्लोबल आइएमई बैंकले स्थापनाकाल देखि नै युएई, कतार, बहराईन, इण्डिया, अष्ट्रेलिया, जापान, मलेसिया, दक्षिण कोरीया लगायतका मुलुकहरुका बैंक तथा एक्स्चेन्ज हाउसहरु संगको सहकार्यमा रेमिट्यान्स कारोबारलाई विशेष प्राथमिकतामा राखी सेवा प्रदान गर्दै आईरहेको छ ।

केरुङ-काठमाडौं-बिरगञ्ज रेलले भारतलाई अधिक लाभ, सुरक्षा चासोले शसंकित

काठमाडौं । यतिबेला नेपालमा केरुङ–काठमाडौं रेल मार्ग निर्माणको बहस उत्कर्षमा छ । रसुवागढीबाट काठमाडौं हुँदै बिरगञ्ज पुग्ने रेलबाट नेपालले भन्दा पनि अधिक लाभ भारतलाई हुने देखिएको छ । स्वंय विज्ञहरुले नै केरुङ-काठमाडौं-बिरगञ्ज रेल मार्गले भारतलाई चीन हुँदै विश्व बजारमा प्रवेश गराउने बताइरहेका छन् । ‘केरुङबाट रसुवागढी हुँदै काठमाडौं देखि बिरगञ्ज पुग्ने रेलले नेपाललाई त फाइदा गर्छ नै त्यो भन्दा धेरै भारतलाई फाइदा पुग्छ’, पुर्वाधार विज्ञ डा. सूर्यराज आचार्यले विकासन्युजसँग भने । उनले भारतको बिहार, युपी र आसाम लगायतका प्रदेशहरुको चीन हुँदै युरोपसम्म सिधा सम्बन्ध स्थापित हुने र लगानी भित्र्याउन पनि सहज हुने बताए । उता, रेल विभागका सिनियर डिभिजनल इञ्जिनियर प्रकाश उपाध्यायले पनि केरुङ–काठमाडौं–बिरगञ्ज रेल मार्गको सबै भन्दा धेरै लाभ भारतले उठाउने बताए । ‘अहिले भारतले चीनको कोर शहरसम्म पुग्न ६ हजार किलोमिटर दुरी पार गर्नु पर्छ तर केरुङ–काठमाडौं–बिरगञ्ज रेलले त्यो दुरीलाई २ हजार किलोमिटरमा झारिदिन्छ’, उपाध्यायले भने । उनले भारतलाई युरोपसँग जोड्ने छोटो मार्ग बन्नुका साथै आयात निर्यात लागत घटाउन पनि यो रेलमार्ग उपयुक्त हुने बताए । आर्थिक रुपले केरुङ–काठमाडौं–बिरगञ्ज रेलमार्ग भारतका लागि अधिक लाभ दायक भएपनि सुरक्षाका दृष्टिकोणले भने भारत शसंकित बनेको डा. आचार्यले बताए । ‘भारत र चिनले एक पटक युद्ध समेत लडिसकेका छन्, केरुङबाट काठमाडौं हुँदै बिरगञ्ज रेल पुग्दा भारतले आफ्नो सुरक्षामा खतरा उत्पन्न हुने सम्भावना देखेको छ’, डा. आचार्यले भने । सरकारले चालु आर्थिक बर्षको बजेटमै रसुवागढी–काठमाडौं रेलमार्गको सम्भाव्यता अध्ययनका लागि भन्दै १० करोड बजेट विनियोजन गरिएको थियो । रेल विभागले सम्भाव्यता अध्ययनका लागि भन्दै ग्लोबल टेण्डर आव्हानको अन्तिम तयारी गरिसकेको थियो । तर एकाएक चीन सरकारले केरुङ–काठमाडौं रेलमार्ग निर्माणमा सघाउने प्रतिवद्धता व्यक्त गरेपछि विभाग पछि हटेको छ । ‘हामीले सम्भाव्यता अध्ययनको सूचना निकाल्ने तयारी गरेका थियौं तर चीन सरकारले आफैंले बनाउन तत्परता देखाएपछि हामी रोकिएका हौं’, रेल विभागका सिनियर डिभिजनल इञ्जिनियर उपाध्यायले भने । विभागले काठमाडौंदेखि बिरगञ्जसम्म विद्युतिय रेल मार्ग निर्माणको सम्भाव्यता अध्ययन गर्ने कम्पनी छनौटका लागि भने ग्लोबल टेण्डर निकालेर पनि कम्पनी छनौटको चरणमा पुगिसकेको छ ।

दुई कम्पनी प्राप्ति पश्चात सेन्चुरीले शुरु गर्यो एकीकृत कारोबार, पूँजी ४ अर्ब ७१ करोड नाघ्ने

काठमाडौं । सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले इन्नोभेटिभ डेभलपमेन्ट बैंक लिमिटेड र अरनिको डेभलपमेन्ट बैंक लिमिटेडलाई प्राप्ती (एक्विजिशन) गरी एकीकृत कारोबार शुरु गरेको छ । बैंकले ८ अर्ब पूंजी पुर्याउने लक्ष्यमा “ख” वर्गको दुई डेभलपमेन्ट बैंकलाई प्राप्ति गरि आइतबारदेखि एकीकृत कारोबार शुरु गरेको हो । काठमाण्डौंबाट एक समारोहका बीच एकीकृत कारोबारको शुभारम्भ नेपाल राष्ट्र बैंकका गर्भनर चिरञ्जीवि नेपालले पानसमा बति बालेर गरेका छन् । एकीकृत कारोबार पश्चात् बैंकको चुक्ता पूँजी ४ अर्ब ७१ करोड रुपैयाँ नाघ्ने छ । साथै, कम्पनीको निक्षेप ३८ अर्ब ५० करोड, कर्जा ३५ अर्ब रुपैयाँ रहेको छ । निकट भविष्यमा नै बैंकले एकीकृत पूंजीमा ४० प्रतिशत का दरले हकप्रद शेयर जारी गर्दैछ र सो पश्चात् सगरमाथा फाइनान्स, अल्पाईन डेभलपमेन्ट बैंक तथा सेती फाईनान्स संग आषाढ महिना भित्रै एकीकृत कारोबार गदैछ । सम्पूर्ण प्राप्तीहरु हकप्रद तथा चालु आ.व.को मुनाफाबाट बैंकले तोकिएको ८ अर्ब पूंजी सजिलै पुर्याउने छ । सम्पूर्ण एकीकृत कारोबार पश्चात् बैंकको पहुंज बढी करिब ९० शाखाहरु हुनेछन् ।

सिद्धार्थ बैंकको असार ५ गते बुक क्लोज

काठमाडौं । सिद्धार्थ बैंकले आगामी असार ५ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । उक्त निर्णय कम्पनीको सञ्चालक समितिको बैठकले गरेको हो । यस बैंक आगामी असार १८ गते विशेष साधारणसभामा जाने भएको छ । सो प्रयोजनको लागि बैंकले ५ गते कम्पनीको बुक क्लोज गर्न लागेको हो । कम्पनीले आफ्ना सेयरधनीलाई १० प्रतिशत हकप्रद सेयर निष्काशन गर्ने निर्णय गरेको छ । उक्त निर्णय पारित गर्नको लागि कम्पनीको बैठकले १८ गते विशेष सधारणसभा बोलाएको हो ।