धमाधम जिल्ला अधिवेशन गर्दै रास्वपा, को कहाँ निर्वाचित भए ?
काठमाडौं । सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आज २८ जिल्लामा पहिलो अधिवेशन गर्दैछ । कोशी प्रदेशका चार, मधेसका चार, बागतमीका दुई, गण्डकीका चार, लुम्बिनीका चीन, कर्णालीका छ र सुदूरपश्चिमका पाँच जिल्लामा अधिवशेन हुन गइरहेका केन्द्रीय निर्वाचन आयोगका प्रमुख भुवन केसीले राससलाई जानकारी दिए । आयोगका अनुसार उदयपुर, सोलुखुम्बू, खोटाङ, इलाम, सिराहा, धनुषा, पर्सा, सर्लाही, चितवन, दोलखा, तनहुँ, नवलपरासी (बर्दघाट सुस्ता पूर्व), गोरखा, लमजुङ, अर्घाखाँची, रुपन्देही, प्युठान, सुर्खेत, जाजरकोट, दैलेख, रुकुम (पश्चिम), मुगु, जुम्ला, अछाम, डोटी, कैलाली, कञ्चनपुर र बाजुरामा अधिवेशन हुनेछ । आयोगका प्रमुख केसीका अनुसार जिल्ला अधिवेशनको निर्वाचन प्रक्रिया निष्पक्ष रूपमा सम्पन्न गर्न प्रत्येक जिल्लामा तीन सदस्यीय निर्वाचन समिति परिचालित भएका छन् । रास्वपाले शनिबार ३८ जिल्लामा अधिवशेन सम्पन्न गरिसकेको छ । आयोगका अनुसार शनिबार झापा, मोरङ, तेह्रथुम, ताप्लेजुङ, भोजपुर, सङ्खुवासभा, ओखलढुङ्गा, सुनसरी, महोत्तरी, रौतहट, दोलखा, काठमाडौँ, भक्तपुर, नुवाकोट, धादिङ, मकवानपुर, काभे्रपलाञ्चोक, सिन्धुपाल्चोक र सिन्धुलीमा अधिवशेन सम्पन्न भएका छन् । यसैगरी, स्याङ्जा, कास्की, पर्वत, बागलुङ, म्याग्दी, गुल्मी, नवलपरासी, पाल्पा, कपिलवस्तु, दाङ, बाँके, बर्दिया, रोल्पा, कालिकोट, सल्यान, बैतडी, बझाङ र दार्चुलामा पनि अधिवेशन भई नयाँ नेतृत्व चयन भइसकेको छ । जिल्ला अधिवेशनहरू पार्टीलाई तदर्थ संरचनाबाट पूर्ण वैधानिक र जनअनुमोदित संरचनामा रूपान्तरण गर्ने महत्वपूर्ण खुड्किला भएको जनाउँदै आयोगले आन्तरिक लोकतान्त्रिक अभ्यासलाई स्वच्छ, निष्पक्ष र शान्तिपूर्ण रूपमा सम्पन्न गर्न सम्पूर्ण सरोकारवालाहरूमा अनुरोध गरेको छ । विशेष साङ्गठनिक परिस्थितिका कारण बारा जिल्ला अधिवेशन भने यही जेठ २६ गते हुने सो पार्टीले जनाएको छ । प्रथम राष्ट्रिय महाधिवेशनअगावै ७७ मध्ये ६७ जिल्लामा अधिवेशन सम्पन्न गर्ने रास्वपाको तयारी छ । अन्य १० जिल्लाको अधिवेशन राष्ट्रिय महाधिवशेनपछि हुनेछ । यही जेठ २६ गतेदेखि सो पार्टीको प्रदेश अधिवेशन प्रारम्भ हुनेछ । प्रदेश अधिवेशनहरू सञ्चालन गर्न सातवटै प्रदेशमा पाँच सदस्यीय प्रदेश निर्वाचन समिति गठन गरिएका छन् । रास्वपाको प्रथम राष्ट्रिय महाधिवेशन आगामी असार ७ देखि ९ गतेसम्म चितवनमा हुँदैछ । को कहाँ बने सभापति ? रास्वपाका अनुसार बागमती र कोशी प्रदेशअन्तर्गतका विभिन्न जिल्लाहरूमा जिल्ला अधिवेशन सौहार्दपूर्ण रूपमा सम्पन्न भइरहेको छ। हालसम्म बागमती प्रदेशका १३ मध्ये ९ जिल्ला र कोशी प्रदेशका १४ मध्ये ९ जिल्लामा सफलतापूर्वक अधिवेशन सम्पन्न भई नयाँ जिल्ला कार्यसमिति चयन भएका छन् । धनकुटा, उदयपुर, सोलुखुम्बु, खोटाङ र इलाममा आज अधिवेशन भइरहेको छ जनाएकाे छ भने चितवन, रसुवा र ललितपुरमा पनि आज अधिवेशन हुँदैछ । बागमती प्रदेश निर्वाचित जिल्ला सभापतिहरू -काठमाडौंः राजा शाक्य -भक्तपुरः रामेश्वर बस्नेत -काभ्रेपलाञ्चोकः प्रबिन ढकाल -सिन्धुलीः अविनाश बस्नेत -रामेछापः रमेश रायमाझी -दोलखाः दिनेश बस्नेत -नुवाकोटः रामेश्वर गजुरेल -धादिङः राजन अर्याल -मकवानपुरः सन्जिव पाठक कोशी प्रदेश (निर्वाचित जिल्ला सभापतिहरू) -सुनसरीः सागर दाहाल -झापाः ओम भण्डारी -ताप्लेजुङः राजन कुमार गुरुङ -मोरङः भरत कडेल -तेह्रथुमः सुमन खत्री -भोजपुरः ख्याम बहादुर भुजेल -संखुवासभाः भक्त नारायण श्रेष्ठ -ओखलढुंगाः कृष्णबहादुर थापा
दूषित खाद्यवस्तुका कारण बर्सेनि ६० करोड मानिस बिरामी
काठमाडाै । दूषित खाद्यवस्तुका कारण विश्वभर हरेक वर्ष करिब ६० करोड मानिस बिरामी पर्ने गरेको तथ्याङ्क सार्वजनिक भएको छ । विश्व स्वास्थ्य सङ्गठन (डब्ल्युएचओ) का अनुसार खाद्यजन्य रोगका कारण वार्षिक करिब चार लाख २० हजार जनाको मृत्यु हुने गरेको छ । यही सन्दर्भमा सुरक्षित खाद्यवस्तुको महत्त्वबारे जनचेतना अभिवृद्धि गर्न आज विश्वका विभिन्न भागमा विविध कार्यक्रमका साथ विश्व खाद्य सुरक्षा दिवस मनाइँदै छ । संयुक्त राष्ट्रसङ्घीय महासभाले सन् २०१८ मा एक प्रस्ताव पारित गर्दै जुन ७ लाई विश्व खाद्य सुरक्षा दिवसका रूपमा घोषणा गरेअनुरुप सन् २०१९ देखि विश्वभर यो दिवस मनाउन थालिएको हो । दिवसको प्रवद्र्धन तथा समन्वय विश्व स्वास्थ्य सङ्गठन र संयुक्त राष्ट्रसङ्घीय खाद्य तथा कृषि सङ्गठन (एफएओ) ले संयुक्त रूपमा गर्दै आएका छन् । पर्याप्त मात्रामा सुरक्षित र पोषणयुक्त खाद्यवस्तुमा पहुँच मानव जीवन, स्वास्थ्य र समग्र कल्याणका लागि अपरिहार्य मानिन्छ । दूषित खाना वा पानीमार्फत शरीरमा प्रवेश गर्ने ब्याक्टेरिया, भाइरस, परजीवी तथा रासायनिक पदार्थका कारण विभिन्न खाद्यजन्य रोग फैलिने गर्छन् । यस्ता जोखिमहरू प्रायः नाङ्गो आँखाले देख्न नसकिने भएकाले खाद्य सुरक्षालाई अझ चुनौतीपूर्ण विषयका रूपमा हेरिएको छ । डब्ल्युएचओका अनुसार पाँच वर्षमुनिका बालबालिकाले खाद्यजन्य रोगको कुल भारको करिब ४० प्रतिशत हिस्सा वहन गर्छन् । यस्ता रोगका कारण हरेक वर्ष करिब एक लाख २५ हजार बालबालिकाको मृत्यु हुने गरेको छ । खाद्यजन्य रोगले विशेषगरी महिला, बालबालिका, द्वन्द्व प्रभावित समुदाय, आप्रवासी तथा अन्य कमजोर वर्गलाई असमान रूपमा प्रभावित गर्ने गरेको बताइएको छ । विशेषज्ञहरूका अनुसार खाद्य सुरक्षा उत्पादनदेखि उपभोगसम्मको सम्पूर्ण खाद्य शृङ्खलासँग सम्बन्धित विषय हो। खाद्यवस्तुको उत्पादन, सङ्कलन, प्रशोधन, भण्डारण, ढुवानी, वितरण, तयारी तथा उपभोगका हरेक चरणमा सुरक्षा मापदण्ड पालना गरिएमा खाद्यजन्य रोगको जोखिम उल्लेखनीय रूपमा घटाउन सकिन्छ । यो दिवसका अवसरमा खाद्य सुरक्षालाई प्रभावकारी नियमन प्रणाली, स्वच्छ खानेपानीमा पहुँच, असल कृषि अभ्यास, खाद्य सुरक्षा व्यवस्थापन प्रणाली तथा उपभोक्ता सचेतनासँग जोडेर हेरिनुपर्नेमा जोड दिइएको छ । सरकार, उत्पादक, व्यवसायी, वैज्ञानिक, नागरिक समाज र उपभोक्ताको साझा प्रयासबाट मात्र सुरक्षित खाद्यवस्तुको सुनिश्चितता गर्न सकिने विज्ञहरूको भनाइ छ । ‘खाद्य सुरक्षा सबैको जिम्मेवारी’ भन्ने सन्देशका साथ मनाइने यस दिवसले खाद्य सुरक्षा, जनस्वास्थ्य, कृषि, व्यापार, पर्यटन र दिगो विकासबीचको अन्तरसम्बन्धलाई उजागर गर्दै सुरक्षित खाद्यवस्तुको सुनिश्चितताका लागि सबै पक्षलाई सक्रिय भूमिका निर्वाह गर्न आह्वान गरेको छ ।
सवारी दुर्घटनामा एक जनाको मृत्यु, १८ घाइते
काठमाडौं । मकवानपुरको इन्द्रसरोबर गाउँपालिका-३ धाराढोलास्थित दक्षिणकाली सडकखण्डमा सुमो र बोलेरो पिकअप गाडी एकआपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने १८ जना घाइते भएका छन् । हेटौंडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना १ ज ७२०७ नम्बरको सुमो र विपरीत दिशाबाट आउँदै गरेको बीएए ९७६८ नम्बरको बोलेरो पिकअप दुर्घटनामा परेका हुन् । प्रहरीको प्रारम्भिक अनुसन्धानअनुसार काठमाडौंको पेप्सीकोलास्थित एक पानी कम्पनीमा कार्यरत कामदारहरू पिकनिकका लागि सिस्नेरी आउँदै गर्दा बोलेरो अनियन्त्रित भई पल्टिने क्रममा सुमोसँग ठोक्किएको हो । दुर्घटनामा काभ्रेको पनौती नगरपालिका-१ घर भई हाल काठमाडौं बस्दै आएका ३७ वर्षीय पूर्णबहादुर तामाङको उपचारका क्रममा बीएण्डबी अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका निमित्त प्रवक्ता प्रहरी निरीक्षक राजप्रसाद कुर्मी बताए । उनका अनुसार घाइतेमध्ये ११ जनाको अवस्था मध्यम र सात जनाको अवस्था सामान्य रहेको छ । उनीहरूको काठमाडौंस्थित बीएण्डबी अस्पताल, बौद्ध अस्पताल र ट्रमा सेन्टरमा उपचार भइरहेको छ । सुमो चालक काठमाडौं चन्द्रागिरी नगरपालिका-१४ निवासी ४५ वर्षीय मनोज श्रेष्ठलाई प्रहरीले नियन्त्रणमा लिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको मकावानपुर प्रहरीले जनाएको छ । दुर्घटनामा घाइते हुनेहरूमा काभ्रे घर भई हाल काठमाडौं पेप्सीकोला बस्ने ३० वर्षीय जुनुबाबु तामाङ, सुनसरी घर भई हाल भक्तपुर ठिमी बस्ने २१ वर्षीय समीर उरम, महोत्तरी घर भई हाल काठमाडौं पेप्सीकोला बस्ने २६ वर्षीय रवि मगर, नुवाकोट घर भई हाल काठमाडौं बस्ने १९ वर्षीय टङ्कबहादुर तामाङ र काभ्रे पनौती घर भई हाल ललितपुर हात्तीवन बस्ने ३० वर्षीय रोहन तामाङ रहेका छन् । काभ्रे कोशीपारी घर भई हाल काठमाडौं जडिबुटी बस्ने ४० वर्षीय कुमार खरेल, काभ्रे घरभई हाल काठमाडौं पेप्सीकोला बस्ने २४ वर्षीय रोशन लामा, काभ्रे पनौती घरभई हाल काठमाडौं बस्ने २८ वर्षीय सुरेश लामा, काभ्रे घर भई हाल काठमाडौं जडिबुटी बस्ने २६ वर्षीय सुरेश तामाङ, महोत्तरी बर्दिवास घर भई हाल काठमाडौं पेप्सीकोला बस्ने ४४ वर्षीय कृष्णबहादुर सुसलिङ, सोलुखुम्बू घर भई हाल काठमाडौं बस्ने २८ वर्षीय गोपी खड्का र रामेछाप घर भई हाल काठमाडौं जडिबुटी बस्ने २१ वर्षीय गुणराज भुजेल घाइते भएको मकवानपुर प्रहरीले जनाएको छ । महोत्तरी घर भई हाल काठमाडौं बस्ने २० वर्षीय कविर मगर, रामेछाप घर भई हाल काठमाडौं बस्ने १९ वर्षीय सविन मगर, ओखलढुङ्गा घर भई हाल काठमाडौं बस्ने १७ वर्षीय अर्जुन मगर, काभ्रे घर भई हाल काठमाडौं बस्ने १० वर्षीय शिशिर तामाङ, सिन्धुपाल्चोक बलेफी गाउँपालिका-६ निवासी ५५ वर्षीया लक्ष्मी श्रेष्ठ र काठमाडौं चन्द्रागिरि नगरपालिका-९ निवासी ४५ वर्षीया शान्ति महर्जन घाइते भएका छन् ।
आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन
काठमाडौं । सहरी विकासमन्त्री सुनिल लम्सालले आगामी असार २५ गतेभित्रै कमला पुल सञ्चालन हुने गरी काम गर्न निर्देशन दिएका छन् । शनिबार (आज) पुलको अनुगमन गर्दै उनले निर्माण कम्पनीलाई भासिएको स्ल्याबको काम पूर्णरूपमा सम्पन्न गरी महिना दिनभित्रै पुल सञ्चालनमा ल्याउन निर्देशन दिएका हुन् । मन्त्री लम्सालले पुल निर्माणका लागि आवश्यक पर्ने बजेटको व्यवस्थापन गर्न सरकार तयार रहेकाले कुनै समस्या नहुने स्पष्ट पारे । निरीक्षण टोलीमा सिरहा-१ का सांसद बब्लु गुप्ता, क्षेत्र नं २ का सांसद शिवशङ्कर यादव, हुलाकी राजमार्ग निर्देशनालय योजना कार्यालय जनकपुरका योजना प्रमुख कृष्णकुमार महतो र सिरहाका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेललगायतको सहभागिता रहेको थियो । यसअघि स्थानीय बासिन्दाले आव २०८३/८४ को बजेटमा सरकारले कमला पुलको पुनःनिर्माणका लागि आवश्यक बजेट विनियोजन नगरेको भन्दै गुनासो पोख्दै आएका थिए । पुल समयमै नबन्दा यस क्षेत्रका जनताले वर्षौंदेखि आवतजावतमा सास्ती भोग्दै आएका छन् । स्थानीय युवा तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) औरही गाउँपालिकाका सभापति सन्तोष यादवले मन्त्री लम्सालको निर्देशनबारे जानकारी दिँदै भने, 'मन्त्रीले कमला पुलको निरीक्षण गरी ठेकेदारलाई काम चाँडो सक्न निर्देशन दिनुभएको छ । उहाँले आर्थिक समस्या नहुने भन्दै प्रतिबद्ध भएर काम गर्न निर्देशन दिएकाले स्थानीयमा केही आशा जागेको छ । पुल निर्माण भएमा वर्षौंदेखिको सास्ती हट्ने छ ।' विसं २०६८ मा तीन वर्षभित्र निर्माण सम्पन्न गर्ने सम्झौताअनुसार काम गरिएकामा पटकपटक म्याद थपेर विसं २०७८ असारमा पुल निर्माण अन्तिम चरणमा पुगेको थियो । लगत्तै सोही असारमा आएको बाढीले दुई वटा पिलर भासिएर चार वटा स्ल्याबमा गम्भीर क्षति पु¥याएपछि पुल सञ्चालनमा आउन सकेन । निर्माण कम्पनी लुम्बिनी बिल्डर्सले आगामी असार मसान्त अर्थात् तोकिएको समय सीमाभित्रै काम सम्पन्न गर्ने लक्ष्यका साथ आफूहरू लागिरहेको बताए ।
हुरीले फेवातालमा फसेका १२ पर्यटकको उद्धार
काठमाडौं । पोखरा महानगरपालिका-६ बैदामस्थित फेवा तालमा ‘बोटिङ’ गर्ने क्रममा हुरीका कारण समस्यामा परेका १२ पर्यटकको उद्धार गरिएको छ । शनिबार (आज) दिउँसो ४ः३० बजे फेवा तालमा अचानक हुरीका आएपछि तालमा फसेका स्वदेशी तथा विदेशी पर्यटकको सशस्त्र प्रहरी बल नेपाल नं २४ गण हेडक्वाटरको टोलीले उद्धार गरेको हो । उद्धार गरिएकाहरूमा तनहुँको दमौलीका २३ वर्षीय सुदीप बस्नेत, काठमाडौंका २४ वर्षीय सरोज सिम्खडा, १७ वर्षीय आयुष चौलागार्इ, २१ वर्षीय सागर क्षेत्री, १९ वर्षीया विनिता श्रेष्ठ, २६ वर्षीय रुसाल चौधरी रहेका छन् । साथै कास्कीको पोखरा महानगरपालिका-५ पस्र्याङका २३ वर्षीया झरना गुरुङ, १२ वर्षीय क्रिस श्रेष्ठ, १६ वर्षीया सुदीक्षा पौडेल, १६ वर्षीय अङ्कल ढकाल, १५ वर्षीय प्रितम नेपाली र जापानबाट घुम्न आएउनुभएकी ४८ वर्षीया एक महिलासहित १२ जनाको उद्धार गरिएको थियो । उद्धार गरिएका सबैको अवस्था सामान्य रहेको सशस्त्र प्रहरी बल नेपाल, नं २४ गण हेडक्वाटर मालेपाटनका प्रहरी उपरीक्षक वसन्तबहादुर सिंहले जानकारी दिए । उनका अनुसार ती व्यक्तिहरू तालको बीचमा सर्फेस बोट र प्याडल बोटमा हुरीका कारण समस्यामा परेका थिए । लगत्तै फेवातालमा स्थापना गरिएको ‘फेवा रेस्क्यू टावर’ मा खटिएका सशस्त्र प्रहरीको १० सदस्यीय टोलीले उद्धार गरेको थियो ।
३८ जिल्लामा रास्वापको नयाँ नेतृत्व चयन हुँदै
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को जारी जिल्ला अधिवेशनअन्तर्गत आज ३८ जिल्लामा मतदान तथा नेतृत्व चयनको प्रक्रिया अघि बढेको छ । केन्द्रीय निर्वाचन आयोगका अनुसार शनिबार (आज) झापा, मोरङ, तेह्रथुम, ताप्लेजुङ, भोजपुर, सङ्खुवासभा, ओखलढुङ्गा, सुनसरी, महोत्तरी, रौतहट, दोलखा, काठमाडौं, भक्तपुर, नुवाकोट, धादिङ, मकवानपुर, काभे्रपलाञ्चोक, सिन्धुपाल्चोक र सिन्धुलीमा अधिवशेन भएका छन् । यस्तै, स्याङ्जा, कास्की, पर्वत, बागलुङ, म्याग्दी, गुल्मी, नवलपरासी, पाल्पा, कपिलवस्तु, दाङ, बाँके, बर्दिया, रोल्पा, कालिकोट, सल्यान, बैतडी, बझाङ र दार्चुलामा पनि अधिवेशन भएका छन् । पार्टीलाई पूर्ण रूपमा वैधानिक र जनअनुमोदित संरचनामा रूपान्तरण गर्ने उक्त अभियानमा सम्पूर्ण प्राविधिक तथा व्यवस्थापकीय तयारी पूरा भएको आयोगले स्पष्ट पारेको छ । राष्ट्रिय महाधिवेशन अगावै ७७ मध्ये ६७ जिल्लामा निर्वाचन सम्पन्न गर्ने रास्वपाको तयारी छ । जेठ २४ गते उदयपुर, सोलुखुम्बु, खोटाङ, इलाम, सिराहा, धनुषा, पर्सा, सर्लाही, चितवन, ललितपुर, तनहुँ, नवलपुर, गोरखा र लमजुङ, अर्घाखाँची, रुपन्देही, प्यूठान, सुर्खेत, जाजरकोट, दैलेख, रुकुम, मुगु, जुम्ला, अछाम, डोटी, डडेलधुरा, कैलाली, कञ्चनपुर र बाजुरामा अधिवशेन हुने कार्यतालिका छ । विशेष साङ्गठनिक परिस्थितिका कारण बारा जिल्ला अधिवेशन भने यही जेठ २६ गते हुने सो पार्टीले जनाएको छ । सोही दिन बागमती प्रदेशबाट प्रदेश अधिवेशन प्रारम्भ हुनेछ । प्रदेश अधिवेशनहरू सञ्चालन गर्न सातवटै प्रदेशमा पाँच सदस्यीय प्रदेश निर्वाचन समिति र जिल्ला अधिवेशनको निर्वाचन प्रक्रिया निष्पक्ष रूपमा सम्पन्न गर्न प्रत्येक जिल्लामा तीन सदस्यीय निर्वाचन समिति परिचालन गरिएको आयोगका प्रमुख भुवन केसीले राससलाई जानकारी दिए । प्रथम राष्ट्रिय महाधिवेशनअगावै ७७ मध्ये ६७ जिल्लामा अधिवेशन सम्पन्न गर्ने रास्वपाको तयारी छ । यससँगै रास्वपाको मुख्य सङ्गठन रहेका अधिकांश जिल्लाको अधिवेशन सम्पन्न हुनेछ । बाँकी १० जिल्लाको अधिवेशन राष्ट्रिय महाधिवेशनपछि हुने आयोगका प्रमुख केसीको भनाइ छ । रास्वपाको प्रथम राष्ट्रिय महाधिवेशन आगामी असार ७ देखि ९ गतेसम्म चितवनमा हुँदैछ । जिल्ला अधिवेशन र साङ्गठनिक अद्यावधिक अवस्थाबारे निर्वाचन आयोगका प्रमुख केसीले जिल्ला अधिवेशनहरू पार्टीलाई तदर्थ संरचनाबाट पूर्ण वैधानिक र जनअनुमोदित संरचनामा रूपान्तरण गर्ने महत्त्वपूर्ण खुड्किला भएका बताए । “हिजोको तदर्थ जिम्मेवारीलाई नै स्थायी मानेर नेतृत्व दाबी गर्ने प्रवृत्तिको अन्त्य स्वच्छ निर्वाचन प्रक्रियाबाटै हुनेछ । यसका लागि प्रत्येक जिल्लामा ३ सदस्यीय र प्रदेशमा ५ सदस्यीय निर्वाचन समिति परिचालन गरी निष्पक्ष मतदानको सुनिश्चितता गरिएको छ”, उनले भने ।
४ हजार २ सय बढी वडामा रास्वपाको अधिवेशन सम्पन्न
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को ४ हजार दुई सय ४६ वडामा अधिवेशन सम्पन्न भएका छन् । केन्द्रीय निर्वाचन आयोगका अनुसार हालसम ५१२ स्थानीय तहमा पालिका अधिवेशन सम्पन्न भइसकेको छ । थप चार नगरपालिका र चार वडामा समिति अद्यावधिक भएका छन् । आज र भोलि (शनिबार र आइतबार) रास्वपाको जिल्ला अधिवेशन हुँदैछ । जिल्ला अधिवेशनको निर्वाचन प्रक्रिया निष्पक्ष रूपमा सम्पन्न गर्न प्रत्येक जिल्लामा तीन सदस्यीय निर्वाचन समिति परिचालन गरिएको आयोगका प्रमुख भुवन केसीले राससलाई जानकारी दिए । यही जेठ २६ गतेदेखि रास्वपाको प्रदेश अधिवेशन सुरु हुँदैछ । प्रदेश अधिवेशनहरू सञ्चालन गर्न सातवटै प्रदेशमा पाँच सदस्यीय प्रदेश निर्वाचन समिति गठन गरी कार्य प्रारम्भ भइसकेको प्रमुख केसीले जानकारी दिए ।
नयाँ दिल्लीमा परराष्ट्रमन्त्री शिशिर खनाल र एस जयशंकरबीच भेटवार्ता
काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनाल र भारतीय विदेशमन्त्री डा. एस. जयशंकरबीच नयाँ दिल्लीमा उच्चस्तरीय भेटवार्ता भएको छ । भारतको औपचारिक भ्रमणमा रहेका मन्त्री खनाल र विदेशमन्त्री जयशंकरबीच भएको भेटसँगै नेपाल-भारत प्रतिनिधिमण्डलस्तरीय वार्ता पनि जारी रहेको छ । भारतीय विदेशमन्त्री जयशंकरले सामाजिक सञ्जालमार्फत नेपाली प्रतिनिधिमण्डललाई स्वागत गर्दै भेटवार्ताको प्रारम्भिक झलक सार्वजनिक गरेका छन् । उनले नेपालसँगको बहुआयामिक सम्बन्धलाई अझ सुदृढ बनाउन दुवै देश प्रतिबद्ध रहेको संकेत गरेका छन् । परराष्ट्रमन्त्री खनाल भारतीय विदेशमन्त्री जयशंकरको औपचारिक निमन्त्रणामा शुक्रबार भारत पुगेका हुन् । उनको भ्रमण २४ जेठसम्म जारी रहनेछ । परराष्ट्र मन्त्रालयका अनुसार भेटवार्तामा नेपाल र भारतबीचको पारस्परिक हितका विविध विषयमा केन्द्रित रहेर छलफल भइरहेको छ । विशेषगरी द्विपक्षीय व्यापार विस्तार, लगानी प्रवद्र्धन, सीमा तथा पूर्वाधार कनेक्टिभिटी, ऊर्जा सहकार्य र दुई देशका नागरिकबीचको सम्बन्धलाई थप मजबुत बनाउने विषय प्राथमिकतामा रहेका छन् । नेपाल-भारत सम्बन्धलाई नयाँ उचाइमा पु¥याउने अपेक्षा गरिएको यस भ्रमणलाई कूटनीतिक दृष्टिले महत्वपूर्ण मानिएको छ । पछिल्ला वर्षहरूमा ऊर्जा व्यापार, अन्तरदेशीय प्रसारण लाइन, रेल तथा सडक सञ्जाल विस्तारजस्ता क्षेत्रमा बढेको सहकार्यलाई अझ प्रभावकारी बनाउने विषयमा पनि दुवै पक्षबीच सकारात्मक संवाद हुने विश्वास गरिएको छ ।