सिद्धार्थ बैंकका सेयरधनीले २५ प्रतिशत लाभांश पाउने
काठमाडौँ । सिद्धार्थ बैंकले सेयरधनीहरुलाई २५.२६ प्रतिशत लाभांश दिने घोषणा गरेको छ । सोमबार बसेको बैंक सञ्चालक समितिको बैठकले आव २०७५/७६ को नाफाबाट चुक्ता पूँजीको १० प्रतिशत बोनस सेयर र १५.२६ प्रतिशत नगद लाभांश समेत गरी २५.२६ प्रतिशत लाभांश दिन प्रस्ताव गर्ने निर्णय गरेको हो । राष्ट्र बैंकबाट स्वीकृतिपछि साधारण सभाले पारित गरेपछि लाभांश वितरण हुने कम्पनी सचिव लक्ष्मण घिमिरेले जनाएका छन् । बैंकको हालको चुक्ता पूँजी ८ अर्ब ८८ करोड ७६ लाख ४ हजार ५४९ रुपैयाँ रहेको छ ।
जापानमा एक नेपालीको निधन
बागलुङ । गलकोट नगरपालिका–७ मल्मका ४१ वर्षीय गङ्गा थापाको जापानमा निधन भएको छ । कमलपित्त रोगबाट पीडित थापाको जापानको सिन्जुकुस्थित अस्पतालमा उपचारका क्रममा सोमबार निधन भएको गैरआवासीय नेपाली सङ्घ जापानका सदस्य शिबु थापाले जानकारी दिएका छन् । दुई साताअघि रेष्टुराँमा काम गरिरहेका बेला एक्कासी बेहोस भएपछि उनलाई अस्पताल भर्ना गरिएको थियो । गङ्गा १४ वर्षअघि रोजगारीका सिलसिलामा त्यहाँ पुगेका थिए । उनको अन्तिम संस्कार बुधबार जापानमै गरिने भएको छ । उनका श्रीमती, एक छोरा र एक छोरी छन् ।
काभ्रेमा चार हेलिकोप्टरको आकस्मिक अवतरण, सबै यात्रु सकुशल
बनेपा । मौसमको खराबीका कारण काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिकास्थित जोरपाटी र होक्सेमा आज बिहान चार हेलिकोप्टर आकस्मिक रूपमा अवतरण गरिएका छन् । जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख जयराज सापकोटाका अनुसार आज बिहान करिब ७ः०० बजेतिर नगरपालिकाका वडा नं २ हर्से र वडा नं १ र २ को सिमाना जोरपाटीमा सिम्रिक एयरका दुई हेलिकप्टर र मनाङ एयरको एक, कैलाश एयरको एक हेलिकोप्टर आकस्मिक अवतरण गरिएको हो । प्रहरीका अनुसार लुक्ला विमानस्थलबाट काठमाडौँका लागि उडेका हेलिकोप्टर मौसम खराब भएपछि आकस्मिक अवतरण गरिएको प्रहरीले जनाएको छ । वडा नं २ का वडाध्यक्ष हरि खतिवडाका अनुसार वडा नं १ र २ आसपासमा अवरतण गरिएका चार हेलिकोप्टरमा १८ यात्रुमध्ये १६ विदेशी र दुई नेपाली रहेका छन् । उनका अनुसार यात्रुहरुसँग गरिएको कुराकानीका आधारमा लुक्लाबाट काठमाडौँका लागि उडेका हेलिकोप्टरमध्ये दुई काठमाडौँ अवतरण गरिसकेका र चार पाँचखालमा अवतरण गरिएको हो । अवतरण गरिएका हेलिकोप्टरका पर्यटक सबै सकुशल रहेका प्रहरीले जनाएको छ । जोरपाटी र हर्सेमा अवतरण गरिएका हेलिकोप्टरमध्ये दुईका चालक दल नेपाली र दुईका विदेशी रहेका वडाध्यक्ष खतिवडाले बताए । हेलिकोप्टर धानखेतमा अवतरण गरिएको छ । अहिले पनि पानी परिरहेको र कुहिराले ढाकिएको अवस्थामा रहेको खतिवडाले जानकारी दिएका छन् । हिजोदेखि परिरहेको अविरल वर्षाका कारण अहिले पनि जिल्लाका विभिन्न स्थानमा बादलले ढाकेर आकाश धुम्म भइरहेको छ । रासस
सानिमा बैंक पोखराले विद्यालयको खाजा अभियानलाई गर्यो ६ लाख आर्थिक सहयोग
काठमाडौँ । सानिमा बैंक पोखरा शाखाले कालिका माध्यमिक विद्यालयद्वारा संचालित विद्यालय खाजा अभियानलाई रु. ६ लाख रुपैया आर्थिक सहयोग गरेको छ । उक्त खाजा अभियान अन्तर्गत विद्यालयले दैनिक १२५ भन्दा बढी बालबालिकहरुलाई खाजा खुवाउँदै आएको छ । बाल दिवसको अवसरमा विद्यालयद्वारा आयोजित एक कार्यक्रममा बैंकका गण्डकी प्रदेश प्रमुख भावुक तण्डुकारले कालिका माध्यमिक विद्यालयका प्रधानाध्यापक बलराम गिरीलाई सो रकमहस्तान्तर गरेका हुन् । सोही कार्यक्रममा विद्यालय खाजा अभियानका अध्यक्ष बासुदेव अधिकारीले खाजा अभियानको प्रभावले विद्यालयमा उल्लेखनीय विद्यार्थी भर्ना भएको र शैक्षिक गुणस्तरमापनि धेरै सुधार आएको बताए । बैंकका शाखाप्रबन्धक बिरेन्द्रलाल श्रेष्ठले भविष्यका कर्णधारहरु शिक्षाको उज्यालो ज्योतिबाट बञ्चित नहुन भनि विद्यालयले गरेको सामाजिक कार्यलाई आर्थिक सहयोग गर्ने अवसर दिएकोमा खुशी व्यक्त गरे । सानिमा बैंकले सामाजिक उत्तरदायित्वलाई बहन गर्दै विगत७बर्ष देखि उपत्यकाबाहिरका शाखाहरुबाट हरेक बर्ष २ जना विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्दै आइरहेको जनाएको छ ।
निर्माणाधीन दिक्तेल–चखेवा सडक भत्किँदा डेढ करोड बढीको क्षति
यस वर्षको बाढीपहिराका कारण कालोपत्र थालिएको मध्यपहाडी लोकमार्गमा पर्ने दिक्तेल–चखेवाभञ्ज्याङ सडकखण्डमा ठूलो क्षति पुगेको छ । गत जेठदेखि लगातार परेको वर्षाका कारण आएको बाढीले राष्ट्रिय गौरवको आयोजनाअन्तर्गत पर्ने उक्त सडकको दिक्तेल–च्यानडाँडा खण्डमा निर्माण गरिएको टेवा पर्खाल, पुलको जीप तथा भित्ता भत्किएको छ । बाढीपहिराका कारण कालोपत्र सकिएको तथा निर्माणाधीन अवस्थामा रहेको सडक भत्किँदा रु डेढ करोड बढीको क्षति भएको ठेकेदार कम्पनी रमण गोल्डेन गुड जेबीका प्रबन्ध निर्देशक साङ्गे शेर्पाले बताएका छन् । उनले भने, “अन्य दर्जनौँ ठाउँमा पहिरो झरेकाले त्यसको मूल्याङ्कन गर्न बाँकी छ । पहिरोले अवरुद्ध सडक खुलाउनका लागि अहिले कम्पनीको यन्त्र प्रयोग गरेर हटाउने काम भइरहेको छ ।” गत असार २६ गतेदेखि लगातार परेको भारी वर्षापछि आएको बाढीले वडा नं ६ नेर्पाको माम्खामा निर्माण गरिएको मेशिनरी टेवापर्खाल करिब १५० मिटर भत्किएको छ । बाढीले दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ सोल्मामा पर्ने छाकालुङ खोलामा निर्माण गरिएको पक्की पुल भत्किनुका साथै त्यस आसपासमा कालोपत्र गरिएको सडकको छेउ भाँसिएको छ । यसबाहेक अन्य दर्जनौँ ठाउँमा सडकको छेउ, कल्भर्ड, भित्ता र टेवापर्खाल भत्किएको स्थानीयवासीले बताएका छन् । कतिपय ठाउँको कल्भर्डको जग नै भत्किएको छ भने, कतिपय ठाउँमा सडक फराकिलो बनाउँदा फालिएको माटोमाथि नै कालोपत्र गरिएकाले चर्किएको बताइएको छ । दिक्तेल–चखेवाभञ्ज्याङ ४६ किलोमिटर सडकको दिक्तेलदेखि बाँझेच्यानडाँडासम्मको सडक कालोपत्र चार भागमा विभाजन गरेर निर्माण भइरहेको छ । चार भागमा विभाजन गरी कालोपत्र थालिएको सो सडकको पहिलो खण्डमा पर्ने दिक्तेलदेखि नेर्पाको कालीखोलासम्म नौँ किलोमिटर सडक सम्पन्न भइसकेको छ । मध्यपहाडी लोकमार्गको दिक्तेल–भोजपुर ८८ किलोमिटर सडक खण्डमध्ये च्यानडाँडा–पेलुङसम्मको (१० किलोमिटर) ५० प्रतिशत, दुई नम्बर प्याकेज पेलुङ–दारुलासम्म (आठ किलोमिटर) ५५ प्रतिशत र तीन नम्बर प्याकेज दारुला–कालिखोला (नौ किलोमिटर) ९० प्रतिशत काम सम्पन्न भएको जनाइएको छ । राष्ट्रिय गौरवका आयोजनाअन्तर्गतको सडक कालोपत्र नसकिँदै भत्किन थालेपछि यसबारेमा सरकारको ध्यानाकर्षण गराइने सांसद विशाल भट्टराईले बताए । अहिले धमाधम कालोपत्रको काम भइरहेको सो सडक सम्पन्न गर्न नेपाल सरकार र निर्माण कम्पनीबीच सम्झौता भएको मिति यसअघि नै नाघिसकेको छ । तीन वर्षभित्र सम्पन्न गर्नुपर्ने सम्झौताका साथ काम थालिएको सो सडक कालोपत्रमा भूकम्प, भारतीय नाकाबन्दी तथा बाढीपहिराका कारण समयमा सम्पन्न गर्न नसकिएको ठेकेदार कम्पनीले जनाएको हो । चारवटै खण्ड आगामी असारभित्र सम्पन्न गर्नेगरी काम अगाडि बढाइएको प्रबन्ध निर्देशक शेर्पाले बताएका छन् । सो सडकखण्डमा पर्ने आठ खोलामा निर्माण गरिने पुलमध्ये अहिलेसम्म चार वटा मात्र निर्माण सम्पन्न भएका छन् । आठमध्ये चार पुल निर्माणको ठेक्का रमण गोल्डेन गुड जेबीले नै लिएको थियो । रमण गोल्डेन गुड जेबीले जिम्मा लिएको कालिखोला, साप्सुखोला, लप्सेखोला, दाम्देखोलाको सडक पुल सकिएको छ । अन्यको भने अहिलेसम्म कामै शुरु भएको छैन । बेलामा पुल नबन्दा सडकको लाइनिङ गर्न समेत समस्या भएको ठेकेदार कम्पनीले जनाएको छ । सडक सकिएको खण्डमा पर्ने भालुखोला, छेपेखोलालगायतको पुल नबन्दा उक्त ठाउँमा सडक अपूरै छ । भालुखोला, छेपेखोला, मेवाखोलाको सडक पुलको बोलपत्र प्रक्रिया नै नबढेकाले समस्या भएको छ । पक्की पुल अभावमा सडक भए पनि खोला तार्न नसक्दा यातायात सञ्चालनमा समस्या भएको यातायात व्यवसायीले बताएका छन् । मध्यपहाडी लोकमार्गकै दिक्तेल–हलेसी सडक कालोपत्रको काम भने अन्तिम चरणमा पुगेको पाइएको छ । दशैँतिहार अगाडि सबै काम सम्पन्न गर्नेगरी कालोपत्रको कामलाई तीव्रता दिइएको ठेकेदार कम्पनीले जनाएको छ । रासस
बचत खातामै उच्च ब्याज दिँदै वाणिज्य बैंकहरु: आरबीबीले ४.५% प्रतिशत पुर्याउँदा ग्लोबल आईएमईले २% थप्यो
काठमाडौं । असोज महिना लागेसँगै बैंकहरुबीच फेरि निक्षेप तानातानको खेल सुरु हुने भएको छ । बजारमा लगानीयोग्य पुँजीको अभाव चर्कनसक्ने संकेत देखेसँगै निक्षेप तान्न र आफूसँग रहेको निक्षेप जोगाउन बैंकहरुको प्रतिस्पर्धा सुरु भएको हो । मंगलबार राष्ट्रिय स्तरका दुई ठूला वाणिज्य बैंकहरुले निक्षेपमा दिने ब्याजदर बढाउनेगरी नयाँ ब्याजदर तालिका सार्वजनिक गरेका छन् । पूर्ण सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंकले बचत निक्षेपमा दिने न्यूनतम ब्याजदरलाई ३.५ प्रतिशतबाट एकैपटक ४.५ प्रतिशतमा पुर्याइदिएको छ । गत जेठ महिनासम्म यो दर ३ प्रतिशत थियो । त्यस्तै, मंगलबार नै ग्लोबल आईएमई बैंकले बचत खातामा दिइने ब्याजदरको नयाँ तालिका सार्वजनिक गर्दै बचत खातामै प्रदान गरिने ब्याजदरलाई २ प्रतिशतसम्मले वृद्धि गरिदिएको छ । यसअघि ३.५० प्रतिशत दिने साधारण बचत, नारी बचत बाल बचत खाताहरुमा अब ५.५० प्रतिशतको दरमा ब्याज पाइनेछ । मंगलबार नै ब्याजदर प्रकाशन गरेको एनसीसी बैंकले भने यसअघिको ब्याजदरलाई स्थिर राखेको छ । नेपाल बैंकर्स संघको भद्र सहमतिअनुसार ६.५ प्रतिशत भन्दा बढी ब्याज दिन नपाइने र सो दरको ब्याज यसअघिदेखि नै दिँदै आएकोले एनसीसी बैंकले ब्याजदर नबढाएको हो । गण्डकी विकास बैंकले भने बचत खातामा दिने ब्याजदर यसअघि दिने दरभन्दा कम गरेको छ । यसअघि अधिकांश खाताहरुमा ७ प्रतिशत दिँदै आएको ब्याजदरलाई ६.५ प्रतिशतमा झारेको हो । नेपाल राष्ट्र बैंकले वाणिज्य बैंकहरुले कायम गर्नुपर्ने पुँजी पर्याप्तता अनुपातको बफर बढाएपछि हाल केही वाणिज्य बैंकहरुमा लगानीयोग्य पुँजीको अभावको समस्या देखिएको बताइएको छ । दशैं, तिहार जस्ता चाडबाडमा नेपालीहरुले ठूलो रकम आफ्नै खल्तीमा होल्ड गर्ने भएका कारण यसले बैंकिङ निक्षेपलाई घटाउनसक्ने अनुमान बैंकरहरुको छ, यसले गर्दा यस्तो पुँजीको समस्या थप देखिनसक्छ ।
धौवादी फलाम खानी उत्खननमा अग्रसरता, यसरी हुँदैछ काम
कावासोती । नवलपरासीपूर्व नवलपुरको धौवादीमा रहेको फलामखानी उत्खननका लागि सरकारले अग्रसरता देखाएको छ । सरकारले धौवादी फलामखानी लिमिटेड कम्पनी स्थापना गर्ने गरी मन्त्रिपरिषद्बाट निर्णय गरेसँगै फलाम खानी उत्खननका लागि बाटो खुलेको छ । खानी तथा भू-गर्भ विभागले समेत थप अध्ययनको कामलाई निरन्तरता दिँदै आएको छ । फलाम खानी सञ्चालनका लागि सडक विभागले समेत बाटो निर्माणको काम गरिरहेको छ । अहिले उद्योग बाणिज्य तथा आपूर्ति मन्त्रालय, खानी तथा भू–गर्भ विभाग र सडक विभागबाट फलाम खानीको उत्खननका लागि अग्रसरताका साथ काम भइरहेको छ । फलाम खानी सञ्चालनको पहिलो पूर्वाधार सडक निर्माण भएकाले सडकको ट्र्याक खोल्ने काम तीव्रगतिमा चलिरहेको छ । पूर्वपश्चिम राजमार्गको डण्डादेखि करीब २० किलोमिटर र हुप्सेकोट गाउँपालिकाको झ्यालबासदेखि १४।५ किलोमिटरको दूरीमा रहेको फलाम खानीको हालसम्म छ किलोमिटर बाटोको ट्र्याक खोल्ने काम सकिएको छ । गत वर्ष विनियोजन गरिएको करीब रु पाँच करोड बजेटले छ किलोमिटर बाटो ट्र्याक खोल्ने काम सकिएको छ । उक्त ठेक्का लाग्दा बाँकी रहेको केही रकमले थप दुई किलोमिटरसम्मको ट्र्याक खोल्ने काम भइरहेको सडक विभागका सवइञ्जिनीयर नवीन पाण्डेले जानकारी दिए । यस वर्षका लागि समेत रु पाँच करोड विनियोजन गरिएको छ । यो रकमले झण्डै फलाम खानीसम्मको ट्र्याक खोल्ने काम सम्पन्न हुने उहाँले बताउनुभयो । झ्यालबासदेखि एक किलोमिटरसम्ममा नाला निर्माण तथा ग्राभेल गर्ने कामसमेत चल्दैछ । खानी तथा भू–गर्भ विभागले फलाम खानी रहेको क्षेत्रमा अहिले सम्भाव्यता अध्ययनको काम गरिरहेको छ । जसअन्तर्गत औद्योगिक प्लान्ट कस्तो रहने, कुन क्षमताको रहने, कुन स्थानमा राख्न सकिने, उत्खननको काम कसरी गर्ने भन्ने विषयको अध्ययन चलिरहेको विभागका सिनियर डिभिजन जियोलोजिष्ट नारायणप्रसाद बाँस्कोटाले बताए । उनका अनुसार अहिलेको अध्ययनले उत्पादनदेखि बजारीकरणसम्म के कस्तो अवस्था रहन्छ भन्ने निष्कर्ष निकालिनेछ । फलाम कमसल खालको भएकाले दुई वटा प्लान्ट निर्माण गरिने बताए । पहिलो चरणमा प्रशोधन गरी फलाम उत्पादनका लागि दोस्रो चरणमा कार्य गरिने उनले बताए । प्रशोधन केन्द्र खानी भएकै स्थानमा स्थापना गर्न सकिने उनले जानकारी दिए । यसअघि औद्योगिक परीक्षणका लागि यहाँबाट पाँच टन नमूना चीन पठाइएको छ । विभिन्न १६ स्थानबाट निकाली पठाइएको नमूना परीक्षणले औद्योगिकस्तरमा कति मात्रा फलाम निकाल्न सकिन्छ भन्ने पत्ता लाग्नेछ । परीक्षणको नतिजा अबका दुई महीनासम्ममा आइपुग्ने उहाँले जानकारी दिए । यहाँ रहेको चट्टानमा ३६ प्रतिशत धाउको मात्रा देखिएको छ । यसलाई एक गे्रड स्तरोन्नति गरी ५८ प्रतिशतको बनाएर फलाम उत्पादन गर्न सकिने देखिएको बाँस्कोटाले बताए । प्रयोगशाला परीक्षणले मध्यम खालको फलाम उत्पादन गर्न सकिने देखिएको बताइएको छ । विसं २०६८ मा खानी तथा भू–गर्भ विभागको टोलीले कोइलाखानी अध्ययन गर्न आउँदा सो स्थानमा फलाम खानी फेला पारेको थियो । सात वर्षपछि यसको परीक्षण गर्दै उत्पादन गर्न सरकार अग्रसर भएको हो । पूर्वपश्चिम राजमार्गदेखि करीब २० किलोमिटरको दूरीमा हुप्सेकोट गाउँपालिकाअन्तर्गत पर्ने धौवादी क्षेत्रमा फलाम खानी रहेको छ । यहाँको १० किलोमिटर क्षेत्रमा फलाम खानी रहेको जनाइएको छ । यहाँबाट १० करोड टन फलाम निकाल्न सकिने प्रारम्भिक अनुमान छ । धौवादीको फलाम खानी अहिलेसम्म फेला परेका खानीमध्ये नेपालकै ठूलो भएको भूगर्भविद्ले बताएका छन् । रासस
५८ औँ वर्षमा कर्मचारी सञ्चय कोष, ‘२६ हजार कार्यालयका ६ लाख सञ्चयकर्ता’
काठमाडौँ । कर्मचारी सञ्चय कोषमा २६ हजार कार्यालयका ६ लाख सञ्चयकर्ता रहेको तथ्याङ्क सार्वजनिक गरिएको छ । कर्मचारी सञ्चय कोष मंगलबारदेखि ५८ औँ वर्षमा प्रवेश गरेको अवसरमा आयोजित कार्यक्रममा कोषका प्रशासक तुलसीप्रसाद गौतमले यस्तो तथ्याङ्क सार्वजनिक गरेका हुन् । २०७६ असार मसान्तको वित्तीय अवस्था अनुसार कोषको सञ्चयकोष मौज्दात ३ खर्ब ९ अर्ब ८५ करोड, जगेडा कोषमा ३१ अर्ब ४५ करोड, अन्य दायित्व ४ अर्ब ३९ करोड, कूल श्रोत ३ खर्ब ४५ अर्ब ६९ करोड र कूल लगानी ३ खर्ब ३८ अर्ब ६ करोड रुपैयाँ रहेको प्रशासक गौतमले उल्लेख गरे । सञ्चय कोषले सञ्चित रकममा ८.२५ प्रतिशत ब्याज दिने गरेको छ । कोषले सञ्चयकर्ताको हीतलाई मध्येनजर गर्दै विशेष सापटी, घर सापटी, शैक्षिक सापटी, सरलचक्र कर्जा घर मर्मत सापटी जस्ता सेवाहरु उपलब्ध गराउँदै आएको छ । सामाजिक सुरक्षा कार्यक्रम अन्तरगत दुर्घटना क्षतिपूर्ति योजना, काजक्रिया अनुदान खर्च, सुत्केरी तथा शिशु हेरचाह योजना र सञ्चयकर्ता औषधोपचार तथा घातक रोग बीमा योजना सञ्चालन गर्दै आएको प्रशासक गौतमले बताए । ५८ औँ वर्ष प्रवेशको अवसरमा आयोजित कार्यक्रममा प्रशासक गौतमले सञ्चयकोष, निवृत्तभरण कोष लगायत सञ्चयकर्ताका लक्षित सामाजिक सुरक्षाका कार्यक्रम व्यवस्थापन गर्दै कोषलाई सामाजिक सुरक्षाको अग्रणी संस्थाको रुपमा अघि बढाउने प्रतिवद्धता व्यक्त गरे । साथै प्रतिफल, सुरक्षा र नगद प्रवाह सुनिश्चित भएका पूर्वाधार विकासका आयोजनाहरुमा लगानीका लागि तीनवटै तहका सरकार तथा निजी क्षेत्रसँग साझेदारी र सहकार्य गर्ने बताए ।