विकासन्युज

नेपालमा उत्तर कोरियाको २४ करोड लगानी, ९ कम्पनी मध्ये अधिकांश काठमाडौंमा

काठमाडौं । नेपालमा पर्यटन, सूचना प्रविधि र सेवामूलक क्षेत्रमा ९ वटा उत्तर कोरियाली कम्पनीहरु सञ्चालनमा रहेका छन् । २३ करोड ८८ लाख १९ हजार चुक्ता पूँजी भएका उद्योग प्रतिष्ठान रहेको उद्योग विभागको तथ्याङ्कमा उल्लेख छ । उत्तरी कोरियाली लगानी रहेका ९ वटा कम्पनीहरुमा ३४६ जनालाई रोजगारी दिइएको छ । उत्तर कोरियाले राजधानी काठमाडौंमा नै धेरै लगानी गरेको छ । ९ वटा कम्पनी मध्ये ७ वटा काठमाडौंमा तथा ललितपुर र तनहुँमा एक–एक वटा सेवामूलक कम्पनी सञ्चालन गरिरहेको छ । उत्तर कोरियाले सबैभन्दा धेरै सफ्टवेर डेभलमेण्टको क्षेत्रमा लगानी गरेको छ । काठमाडौंमा नै २ वटा सफ्टवेर डेभलमेण्ट कम्पनीमा ११ करोड ५० लाख लगानी गरेको छ । ६ वटा होटल तथा रेष्टुरेण्टमा ७ करोड ९० लाख लगानी गरेको छ । तनहुँमा ने कोरिया हस्पिटल प्रालि ४ करोड ४८ लाख १९ हजार चुक्ता पुँजीमा सञ्चालन भएको छ । यता, उद्योग विभागले सोमबार समेत गरी उत्तर कोरियाली लगानीकर्ताहरुलाई उद्योग तथा व्यापार बन्द गर्न ३ पटक पत्र काटिसकेको छ । सोमबार विभागले ४५ दिन भित्र उद्योग र व्यापार बन्द गरी फिर्ता जान पत्र काटेको हो । उत्तर कोरियाको उद्योग तथा व्यापारलाई ४५ दिन भित्र बन्द गरी लगानी फिर्ता लान उद्योग विभाग पत्र काटे पनि कानून अनुसार कम्पनी बन्द गर्न ४ देखि ५ महिना लाग्ने कम्पनी रजिष्ट्रार कार्यलयका सूचना अधिकारी सन्तोष दहालले बताए । कम्पनी खारेजी गर्न ३५ दिने सूचना नै निकाल्नु पर्ने भएकोले ४५ दिनमा नै कम्पनी खारेजी गर्न नसकिने जानकारी दिए । उद्योग विभागको कानून शाखाका निर्देशक टंकबहादुर महतले ४५ दिन भित्र उत्तर कोरियाको लगानी फिर्ता हुन नसक्ने बताए । उनले भने–‘कानूनी प्रकिया पूरा गर्न ४ देखि ५ महिना लाग्छ । उद्योग खारेजी भन्दा पनि कम्पनी खारेजीको प्रक्रिया लामो भएको बताए । हामीले ४५ दिन भित्रमा उत्तर कोरियाको उद्योग व्यापार बन्द गराउने छौँ । उत्तर कोरियाले उद्योगको खारेजीभन्दा पनि अन्य विदेशी वा नेपालीलाई बिक्री गरे सजिलो हुने उनी बताउँछन् । उद्योग विभागका विदेशी लगानी शाखाका निर्देशक प्रशान्त बोहराले उत्तर कोरियाको लगानी प्रतिवन्ध र नेपालमा गरेको लगानी फिर्ताले प्रत्यक्ष असर नगरे पनि अप्रत्यक्ष रुपमा भने असर गर्ने सक्ने बताए । नेपालमा उत्तर कोरियाको लगानी माथि प्रतिबन्ध, उद्योग विभागले काट्यो पत्र  

अर्थमन्त्री खतिवडाले भने-‘५८ वर्षमै संस्था बुढो हुँदैन, सेयर बजारमा आउनुस्’

काठमाडौँ । अर्थमन्त्री डा. युवराज खतिवडाले कर्मचारी सञ्चय कोषलाई सेयर बजारमा प्रवेश गर्न आग्रह गरेका छन् । मंगलबार कोषको ५८ औ वार्षिकोत्सव कार्यक्रममा बोल्दै उनले लगानीकर्तालाई सेयर बजारमा आकर्षित गर्नको लागि कर्मचारी सञ्चय कोष जस्ता सरकारी तथा सार्वजनिक संस्थाहरुले सेयर बजारमा प्रवेश गर्नु पर्ने बताएका हुन् । ‘५८ वर्ष उमेर त्यति धेरै होइन’ उनले भने–‘५८ वर्षमा मान्छेमा धेरै काम गर्न सक्ने उर्जा रहिरहन्छ, त्यसैले तपाईँहरु बुढो हुनु भएको छैन, द्रव्य कोष जोडेर ८४-८५ उमेरको भएँ भन्न पाउनु हुन्न, तपाईँहरुले अझै धेरै सिक्नु छ ।’ यो समय पूँजी बजारलाई गति दिने र लगानीकर्ताको मनोबल बढाउने भएको बताउँदै अर्थमन्त्री खतिवडाले सेयर बजारमा खुलेर आउन र क्रियाशील भएर लाग्न आग्रह गरे । कर्मचारी सञ्चय कोष लगायत सार्वजनिक संस्थाहरुको भूमिका देशको पूर्वाधार विकासमा हुने बताउँदै उनले कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोष, सैनिक कल्याणकारी कोष लगायतका संस्थाहरुले सेयर बजारमा महत्वपूर्ण भूमिका खेल्नु पर्ने बताए । दोस्रो बजारमा लगानीकर्ताको आकर्षण र मनोबल बढाउने यो उपर्युक्त समय भएको बताउँदै उनले मुलुकको आर्थिक बृद्धिदर बढाउनका लागि लगानी गर्न आग्रह गरे । व्यक्तिको बालापनदेखि बुढेसकालसम्मको उमेरलाई सामाजिक कोषले समेटेको बताउँदै उनले नागरिकको सुरक्षाका लागि दह्रो र शुसाशित भएर काम गर्न आग्रह गरे । सरकारी तथा निजी क्षेत्रबाट संञ्चालित सम्पूर्ण कोषको जोड्दा कुल ग्राहर्स्थ उत्पादनको २० प्रतिशत हुन आउने बताउँदै खतिवडाले भने– ‘यस्ता कोषको ठूलो रकम पूँजी बजारमा खर्च हुन्छ भने केही रकम मुद्रा बजारमा पनि हुन्छ।‘ उनले मुद्रा बजारमा केही समस्या आएपछि अनुशासनमा रहन निर्देशन दिएको समेत बताए ।

सामुदायिक वनमाथि लगाइएको तेहोरो करविरुद्ध आन्दोलन गर्ने

काठमाडौं । सामुदायिक वन उपभोक्ता महासङ्घ, नेपाल (फेकोफन) ले सामुदायिक वनको स्वायत्ततामाथि हस्तक्षेप गरी सङ्घ, प्रदेश र स्थानीय तहका सरकारले तेहोरो कर लगाएको भन्दै त्यसको विरोध गरेको छ । विगतदेखि सामुदायिक वन उपभोक्ता समूहले नेपाल सरकारलाई १५ प्रतिशत वन पैदावार शुल्क तिर्दै आएका छन् । त्यसबाहेक हाल विभिन्न तहका सरकारले सामुदायिक वनबाट थप कर उठाउने कानून तर्जुमा गरेपछि फेकोफनले त्यसको विरोध गर्नुपरेको जनाएको छ । फेकोफनको राष्ट्रिय कार्यसमितिको जुम्लामा यही भदौ २० र २१ गते बसेको तेस्रो बैठकले तेहोरो कर विरुद्ध आन्दोलन गर्ने निर्णय गरेको अध्यक्ष भारती पाठकले जानकारी गराएका छन् । सङ्घीय सरकारले साल र खयरको बिक्रीबाट प्राप्त रकमको १५, स्थानीय सरकारले वन पैदावार बिक्रीबाट प्राप्त रकमको १०, प्रदेश नं १ को सरकारबाट साल र खयर बाहेकका वन पैदावारको बिक्रीमा थप १५ प्रतिशत कर लगाइएको उनले बताए । यसैगरी प्रदेश नं ३ को सरकारले वन पैदावार बिक्रीको १० र सेवा शुल्क शून्य दशमलव २५, मूल्य अभिवृद्धि कर १३, आयकर ऐन बमोजिम उपभोक्ता समूहको बचत रकममा २५ प्रतिशत आयकर लगाइँदै आएको फेकोफनको जनाएको छ । सामुदायिक वन उपभोक्ता समूहले आफ्नो आम्दानीको सम्पूर्ण रकममध्ये २५ प्रतिशत वन व्यवस्थापनमा, ३५ प्रतिशत विपन्न वर्गको जीविकोपार्जनमा र ४० प्रतिशत सामुदायिक विकासमा खर्च गर्ने गरेका छन् । अध्यक्ष पाठकले भने, “विगतदेखि सामुदायिक वनले सङ्घीय सरकारलाई तिर्दै आएको १५ प्रतिशत कर प्राकृतिक स्रोतवित्त आयोगमार्फत तीनै तहमा वितरण गर्न र अहिले प्रस्ताव गरिएका कर खारेज गर्न पटक–पटक माग गरेपनि कुनै सुनुवाइ नगरी जबर्जस्ती करको भार थोपर्दै गएकाले विरोध गर्नुपरेको हो ।” यस बाहेक फेकोफनले वैज्ञानिक वन व्यवस्थापनको अपारदर्शी तथा अवस्तुवादी क्रियाकलाप रोकी सामुदायिक वनको कार्ययोजना अनुसार वनको दिगो व्यवस्थापनलाई प्रबद्र्धन हुनेगरी वन व्यवस्थापन पद्दति अगाडि बढाउन माग गरेको छ । यसैगरी राष्ट्रपति चुरे तराई–मधेश विकास समितिले वार्षिक अर्बौ रकम खर्च गरिरहेको र त्यसबाट कुनै पनि प्रतिफल नदेखिएको भन्दै फेकोफनले समिति खारेज गर्न माग गरेको छ । संरक्षण क्षेत्र र मध्यवर्ती क्षेत्रका जनता अहिले वनबाट पात टिप्न पनि वञ्चित रहेकाले मध्यवर्ती क्षेत्रका जनताको हकको सुरक्षा गर्न तथा सामुदायिक सरह वन व्यवस्थापन गर्ने अधिकार प्रदान गर्न माग गरिएको फेकोफनका महासचिव वृषबहादुर शाहीले बताए । समूदायलाई अधिकार सम्पन्न गराउनुको साटो सरकारले थप संरक्षण क्षेत्र घोषणा गरेर समुदायको अधिकार खोस्न खोजिएको भन्दै फेकोफनले संरक्षण क्षेत्र विस्तार गर्ने कार्य बन्द गर्न र हस्तान्तरण नभएको वन क्षेत्र सामुदायिक वन उपभोक्ता समूहलाई हस्तान्तण गर्न माग गरेको छ । भौतिक पूर्वाधार आदिबाट हुन जाने क्षतिबापत उपभोक्ता समूहलाई न्यायोचित क्षतिपूर्ति उपलब्ध गराउन, जथाभावी निर्माण भइरहेका सडक पूर्वाधार अविलम्ब रोकी हरित सडक निर्माण गर्दै भूक्षय नियन्त्रण गर्न बायो–इञ्जिनीयरिङ कार्यक्रम सञ्चालनको लागि आह्वान गरिएको महासचिव शाहीले जानकारी दिएका छन् । फेकोफनले पत्रकार सम्मेलन, भेला, बैठक, भित्ते लेखन, ज्ञापनपत्र बुझाउने, विरोधसभा, सामुदायिक वनबाट रुख नकाट्ने लगायतका विरोध कार्यक्रम घोषणा गरेको छ । रासस

आरम्भ लघुवित्तले दियो वित्तीय साक्षरता तालिम

काठमाडौँ । आरम्भ लघुवित्त वित्तीय संस्था लिमिटेडले भदौ २९ गते नुवाकोट जिल्लाको तारकेश्वर गाउँपालिकाको विभिन्न गाउँका स्थानीय समुदायका १३४ ग्राहक सदस्यहरुको सहभागितामा “वित्तीय साक्षरता तालिम” सम्पन्न गरेको छ । कार्यक्रममा संस्थाको बट्टार शाखाका प्रबन्धक सुवास बडालले तालिमको सुरुवातमा सुभारम्भ मन्तब्य दिएका थिए । तालिममा शाखा प्रवन्धक सुवास बडाल तथा जनरल इस्योरेन्स कम्पनीका शाखा प्रवन्धक प्रल्हाल भट्टले प्रशिक्षण दिएका थिए । तालिममा सहभागीहरुले वित्तीय साक्षरताको महत्व, वित्तीय साक्षरता परिचय, ग्राहकको आवश्यकता तथा चाहना, बचतको अवधारण तथा लक्ष्य निर्धारण, बचत उपाय, बचत योजना, बचत प्रदायक संस्थाको छनौट, ऋणको योजना तथा ऋण लिन सक्ने क्षमता, ऋण प्रदायक संस्थाको छनौट, कर्जा सदुपयोगिता, जोखिम न्यूनीकरण, जोखिमको परिचय र असर विप्रेषण सेवा, अब्यवस्थित खर्चले गरीब बनाउँछ, खर्च प्राथमिकता र चुहावटको रोकथामबारे जानकारी लिएका थिए । व्यक्तिगत वित्तीय व्यवस्थापनका नियमहरु, फजुल खर्च तथा नगरी नहुने खर्च, पारिवारिक बजेट, बजेट निर्माण, लघु व्यवसायको परिचय तथा महत्व, व्यवसाय विस्तार तथा विविधिकरण, व्यवसायिक योजना अन्य आयको श्रोतको पहिचान, साधन तथा श्रोतको उच्चतम सदुपयोगिता, पारिवारिक बजेट निर्माण, खर्चको अवधारणा आदि विषयहरुमा जानकारी लिएको थिए ।

चाडपर्व नजिकिँदै गर्दा बजार अनुगमनमा तीव्रता

डोटी । दशैं तिहारलगायत चाडपर्व नजिकिँदै गर्दा जिल्लामा बजार अनुगमनलाई तीव्रता दिन थालिएको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालयले यहाँको बजार अनुगमनमा तीव्रता दिएको हो । दशैं तिहारको समयमा अखाद्य वस्तु बिक्री वितरण नहोस् र उपभोक्ताले तोकिएकै मूल्यमा सामान किन्न सकुन् भन्ने उद्देश्यले बजार अनुगमनमा कडाइ गरिएको उक्त कार्यालयका प्रमुख नारायण रावतले बताएका छन् । उनले भने, “हामीले अन्य समयमा पनि बजार अनुगमन त गर्ने गरेका छौँ तर अहिले दशैं तिहार आउँदै गरेकाले अखाद्य वस्तु बिक्री नहोस् भनेर बजार अनुगमनलाई अलि कडाइ गरेका हौँ ।” यसरी, चाडपर्वका समयमा हुनसक्ने कालोबजारी, मिसावटलगायत गतिविधि नियन्त्रण गर्न बजार अनुगमनलाई अलि कडाइ गर्ने निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी टेकनारायण पौड्यालले बताए । उनले भने, “कालोबजारी, मिसावटलगायत गतिविधि रोक्न बजार अनुगमनमा कडाइ गरिने निर्णय गरिएको छ, कालोबजारी गर्नेलाई कारवाही हुनेछ ।” बजार अनुगमनका लागि उद्योग वाणिज्य सङ्घ, उपभोक्ता समिति, स्थानीय व्यापारी, प्रहरी तथा पत्रकारको टोली बनाइएको छ । टोलीले जिल्ला सदरमुकामका पसलमा मात्रै नभएर यहाँका ग्रामीण क्षेत्रका पसलमा कुनै पनि सामानको मूल्यमा एकरुपता भए नभएको, म्याद सकिएकोलगायत विषयमा अनुगमन गर्ने भएको छ । त्यसैगरी, जिल्लाका ग्रामीण क्षेत्रमा गैरकानूनी रुपमा बिक्री वितरण हुँदै आएको मदिरा तथा मदिराजन्य पदार्थ बेचविखनमा समेत कडाइ गरिने भएको छ । रासस

‘सीजी होटेल्स एण्ड रिसोर्ट’का कार्यकारी निर्देशक राहुल चौधरी शक्तिशाली ३५ व्यवसायीको सूचीमा

काठमाडौं । भारतको प्रतिष्ठित म्यागेजिन ‘होटेलियर’ले लगातार दोस्रो वर्ष ‘सीजी होटेल्स एण्ड रिसोर्ट’का कार्यकारी निर्देशक राहुल चौधरीलाई शक्तिशाली ३५ व्यवसायीको सूचीमा राखेको छ । राहुलले चौधरी ग्रुप (सीजी)को आतिथ्य सत्कार (हस्पिटालिटी) व्यवसायको नेतृत्व गर्छन् । ‘होटेलियर’ले सन् २०१९ का लागि हस्पिटालिटी क्षेत्रमा सफल ३५ प्रभावशाली व्यवसायीको सूची निकालेको हो । राहुल सन् २०१८ को सूचीमा पनि थिए । यो सूचीमा भारतभर होटल तथा रिसोर्ट सञ्चालन र नेतृत्व गर्ने सफल व्यवसायीहरू छन् । राहुलले भारतको नयाँदिल्ली मुकामबाट ‘सीजी कर्प ग्लोबल’सँगै ‘सीजी होटेल्स एन्ड रिसोर्ट’को कार्यकारी निर्देशकको जिम्मेवारी निभाइरहेका छन् । ‘सीजी होटेल्स एन्ड रिसोर्ट’ले भारतका विभिन्न स्थानमा सेवा विस्तार गरेको छ । ‘ताज’, ‘फर्न’, ‘जिंक’जस्ता स्थापित र प्रसिद्ध चेन होटलमा सीजीको साझेदारी÷लगानी छ । ‘सीजी होटेल्स एन्ड रिसोर्ट’ले २० मुलुकका १ सयभन्दा बढी होटल सञ्चालन गरिरहेको छ । यी होटल÷रिसोर्टमा ६ हजारभन्दा बढी कोठा छन् । “हामीसँग पहिले १० वटा होटल थिए, सन् २०२० सम्ममा यो संख्या २०० पुग्छ,” राहुल भन्छन्, “थप १५ देशका ९७ पर्यटकीय गन्तव्यमा पुग्नेछौं । त्यतिबेलासम्म हामीसँग १० हजारभन्दा धेरै कोठा हुनेछन् ।” विश्वभर होटल सञ्जाल फैलाउने उद्देश्य लिएर हिँडेका राहुल आफू पिता विनोद चौधरीको व्यावसायिक सफलता र सद्गुणलाई आत्मसात गरेर हिँडेको बताउँछन् । भन्छन्, “त्यही सफलता र सद्गुणका कारण हामी चीनदेखि न्युयोर्क सिटीसम्म फैलन सकेका हौं ।” दुई दशकअघि टाटा ग्रुप/आईएचसीएलसँग कोलम्बो (श्रीलंका) र माल्दिभ्समा साझेदारी गरेसँगै चौधरी ग्रुप हस्पिटालिटी क्षेत्रमा विधिवत् रूपले अघि बढेको हो ।

राष्ट्र बैंकले गुरु नानकको स्मृतिमा सिक्का प्रकाशन गर्ने

काठमाडौं । शिख धर्मावलम्बीका प्रवर्तक गुरु नानकको ५५०औँ जन्मजयन्तीका अवसरमा नेपाल राष्ट्र बैंकले सिक्का प्रकाशन गर्ने भएको छ । गुरु नानकले धर्मका माध्यमबाट समाजिक विकासमा योगदान गरेका कारण बैंकले सम्मान स्वरुप उनको स्मरणमा सिक्का ल्याउन लागेको हो । रू १० हजार, रू एक हजार र रू १०० मूल्यका १० हजार सिक्का असोजको दोस्रो सातासम्ममा प्रकाशन गर्न लागिएको बैंकका उपनिर्देशक थानेश्वर आचार्यले जानकारी दिएका छन् । बैंकले विभिन्न कालखण्डमा समाजका विभिन्न तह तथा क्षेत्रबाट मुलुकको विकास र प्रगतिमा भूमिका निर्वाह गरेका ऐतिहासिक व्यक्ति तथा संस्थाका नामबाट सिक्का प्रकाशन गर्दै आएको छ । सन् १४६९ अप्रिल १५ मा लाहोर नजिकै तलबन्डी गाउँमा जन्मेका गुरु नानकले शिख दर्शन र साहित्यको प्रवद्र्धन गरेका थिए । उनको गाउँ ननकानाका नामले प्रख्यात छ । ननकाना पहिले भारतमा थियो तर विभाजनपछि हाल यो पाकिस्तानमा छ । धार्मिक गतिविधिका माध्यमबाट उनले तत्कालीन समाजमा जातीय विभेदको अन्त्य गरी न्याय, समानता, भ्रातृत्व कायम गरेका हुन् । धर्म रक्षाका लागि मार्गदर्शन गरेका नानकको दशौँ अवतारका रुपमा गुरु गोविन्द सिंहलाई मानिएको छ । शान्ति, अहिंसा, परोपकार, स्वाभिमानजस्ता विषयवस्तुलाई महत्व दिइएको छ । मानव कल्याण र समाजसेवामा समर्पित रहन समग्र मानवलाई शिक्षा दिइएको उक्त धर्मको दार्शनिक पक्ष भनेको सबै धर्मको सार एउटै हो, ईश्वर सर्वव्यापी छन् भन्ने हो । ओमकार परिवारभित्र पर्ने शिख धर्म एकेश्वरवादी धर्म हो । सनातन धर्म संस्कृतिको संरक्षणमा जोड दिएको यस धर्ममा १० गुरुलाई मानिन्छ । ती दश गुरुमा नानक देव, सतगुरु अङ्गददेव, अमरदास, रामदास, अर्जुनदेव, हरगोविन्द, हरिराय, हरिकृष्ण, तेगबहादुर र गोविन्द सिंह छन् । यी धर्मगुरुले स्थापित गरेका आदर्श, ज्ञान तथा मान्यतालाई ग्रन्थमा समेटिएको छ । त्यसलाई गुरु ग्रन्थ भनिन्छ । हाल धर्मको आधार भनेको गुरु ग्रन्थ हो । शान्ति, अहिंसा र मानव कल्याणका लागि धार्मिक ग्रन्थको अत्याधिक उपयोग गर्न अनुयायीलाई आग्रह गरिएको छ । गुरु नानक नेपालमा आएर पशुपतिनाथ, बालाजुलगायतका क्षेत्रमा भ्रमण गरेको विश्वास छ । विश्वका विभिन्न मुलुकमा छरिएका ती धर्मावलम्बी हाल करिब दुई करोड ७० लाखको सङ्ख्यामा छन् । नेपालमा भने करिब सात हजारको सङ्ख्यामा छन् । गुरुको शिक्षामा श्रम र सेवालाई विशेष महत्व दिएका कारण मेहेनतमा विश्वास गर्ने शिख इमान्दार मानिन्छन् । अन्तरराष्ट्रिय तहमा फैलिएका शिख अनुयायीले शिक्षा, स्वास्थ्य, यातायात, उद्योगलगायत क्षेत्रका विकासमा लगानी गरी प्राप्त हुने आम्दानीको निश्चित एकाइबाट विद्यालय तथा अस्पताल स्थापना गरेका छन् । प्रत्येक कात्तिक पूर्णिमामा गुरु नानकको जन्मोत्सव पर्ने हुँदा नेपालका विभिन्न गुरुद्धारमा गुरुग्रन्थका उपदेशको अनुशरण गरिन्छ । यसो गर्दा दुःख, कष्ट र झन्झटमुक्त हुने बताइएको छ । श्री गुरु नानक सेवा प्रतिष्ठान सोध केन्द्र सिक्का प्रकाशनका लागि क्रियाशिल रहेको थियो । केन्द्रका अध्यक्ष जसपाल सिंहले केन्द्रीय बैंकले सिक्का प्रकाशन गर्न लागेकामा खुसी व्यक्त गर्दै उनको योगदानलाई चिरस्थायी बनाउने विश्वास व्यक्त गरेका छन् ।

नेपाली सेनाले बढायो शान्ति सैनिकको भत्ता, असोज १४ देखि लागु

काठमाडौं । नेपाली सेनाले शान्ति सेनामा सहभागी हुने सिपाहीलाई खाइपाइ आएको भत्तामा प्रतिमहिना ८५ अमेरिकी डलर वृद्धि गर्ने निर्णय गरेको छ । प्रधानसेनापति पूर्णचन्द्र थापाको अध्यक्षतामा सोमबार बसेको सैनिक कल्याणकारी कोष सञ्चालन तथा व्यवस्थापन समितिको बैठकले बन्दोबस्ती कार्य गर्ने सिपाहीले हाल प्राप्त गरिरहेको एक हजार २९ अमेरिकी डलर भत्तामा ८५ डलर थप गरी प्रतिमहिना एक हजार ११४ अमेरिकी डलर कायम गर्ने निर्णय गरेको हो । बैठकले गणको नेतृत्व गर्ने गणपति प्रमुख सेनानीले प्राप्त गरिरहेको एक हजार ३७८ अमेरिकी डलर भत्तामा २१ डलर थप गरी एक हजार ३९९ अमेरिकी डलर प्रतिमहिना कायम गर्ने निर्णय गरेको छ । नेपाली सेनाका प्रवक्ता विज्ञानदेव पाण्डेका अनुसार, वृद्धि गरिएको भत्तादर आगामी असोज १४ (अक्टुबर १)देखि लागू हुनेछ । अन्य मुलुकको प्रचलित अभ्यास एवं सैनिक ऐन, सैनिक कल्याणकारी नियमावलीको परिधिभित्र रही भत्ता पुनरावलोकन गर्ने सम्बन्धमा अध्ययन कार्यदल गठन गरी सकल दर्जाबाट प्राप्त राय सुझावका आधारमा सेनाले भत्ता वृद्धि गर्ने निर्णय गरेको उनले जानकारी दिएका छन् । उक्त भत्ता वृद्धिबाट सैनिक कल्याणकारी कोषलाई वार्षिक करिब रु ४६ करोड ३० लाख व्ययभार पर्ने छ । भत्तादर वृद्धिबाट तल्लो तहका सकल दर्जाको मनोबल बढने नेपाली सेनाले विश्वास लिएको छ । संयुक्त राष्ट्रसङ्घको आह्वानमा नेपाली शान्ति सेनाले हालसम्म विश्वका ४३ वटा मिशनमा रही हालसम्म एक लाख २७ हजार ३९० जनाले शान्ति स्थापना कार्यमा योगदान पुर्याइसकेका छन् । उक्त क्रममा ६५ जना नेपाली शान्ति सैनिकले वीरगति प्राप्त गरेका छन् भने ६६ जना गम्भीर घाइते भएका छन् । हाल विश्वका ११ वटा द्वन्द्वग्रस्त मुलुकमा स्थापना भएका १२ मिशनमा १९५ महिलासहित पाँच हजार ९५ नेपाली शान्ति सैनिक खटिरहेका छन् । शान्ति सैनिकमा योगदान गरेबापत संयुक्त राष्ट्रसङ्घबाट नेपाली सेनाले प्राप्त गर्ने रकमबाट २०३२ सालमा रु एक करोड २४ लाख रकमबाट प्रारम्भ गरिएको सैनिक कल्याणकारी कोषको कूल सम्पत्ति अहिले रु ४४ अर्ब बराबर पुगिसकेको छ । ठूलो सङ्ख्यामा शान्ति सैनिक खटाउने मुलुकको सूचीमा नेपाल अहिले पाँचौँ नम्बरमा छ । रासस