दशैँमा मासुको अभाव नहुने, विदेशी पशुपंक्षीको अनिवार्य क्वारेन्टाइन जाँच गर्नुपर्ने
काठमाडौं । यस वर्षको दशैँमा उपत्यकाभित्र मासुको अभाव हुन्छ भन्ने समाचारमा कुनै सत्यता नरहेको पशुपक्षी विभागले जनाएको छ । विभागले विज्ञप्ति प्रकाशित गरी यस्तो प्रतिक्रिया दिएको हो । उपत्यकामा झण्डै ३५ देखि ४० लाख मानिसको बसोबास रहेको अनुमान छ । नागढुङ्गा प्रहरी चेकपोष्टले दशैमा झण्डै २० देखि २५ लाख मानिस उपत्यकाबाट बाहिरिने अनुमान गरेको छ भने विदेशबाट स्वदेश आउने अधिकांश मानिस गाउँनै फर्किने गर्छन् । उपत्यका ट्राफिक प्रहरीका अनुसार गत वर्षको दशैँमा २५ लाख मानिस उपत्यकाबाट बाहिरिएका थिए । दशैँको अष्टमीदेखि दशमीसम्म तीन दिन उपत्यकामा मासुको धेरै माग र खपत हुने गर्छ । जसका लागि मासुको अभाव हुन नदिन पशुपक्षी विभागले आयातमा प्रतिबन्ध नलगाएको तर विदेशबाट आयातीत पशुपक्षीको अनिवार्य पशु क्वारेन्टाइन जाँच पास हुनुपर्ने व्यवस्था रहेको पशुपक्षी विभागका महानिर्देशक वंशी शर्माले राससलाई बताएका छन् । पशुपक्षीविज्ञका अनुसार चौपाया तथा पक्षीलाई यातनापूर्वक ओसारपसार गर्न नपाइने कानूनी प्रावधान रहेको छ । पशु क्वारेन्टाइन जाँच पास गर्ने निकाय सिन्धुपाल्चोकको तातोपानी, रसुवाको टिमुरे, चितवनको रामनगर, काठमाडौँको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, नागढुङ्गा, शाखु, फर्पिङ, सामाखुशी, टोखालगायतका स्थानमा छन् । पशुपक्षी वा पशुजन्य पदार्थ वा पशु उत्पादन सामग्रीमा कुनै रोग छ/छैन, यकिन गर्न स्थापना गरिएको निकाय हो, पशु क्वारेन्टाइन । यातनापूर्वक पशुपक्षीको ढुवानी गर्ने कार्य ‘पशु स्वास्थ्य तथा पशु सेवा ऐन, २०५५’ विपरीत हुन्छ । पशु विकास अधिकृत डा. श्रीराम अधिकारीले यातनापूर्वक ओसारपसार गरिएका पशुपक्षीको मासु स्वस्थ्यका लागि अस्वस्थकर हुने बताए । पशुपक्षीको ढुवानी गर्दा नाकमा डोरी लगाउने, पुच्छर वा खुट्टा बाँध्ने, क्षमताभन्दा बढी राख्ने, हावादार साधनको प्रयोग नगर्ने, यात्रुबाहक बसको डिकीमा राख्ने, ढुवानीका साधनमा उपचार बक्स नराख्ने, बीचबीचमा खाना वा पानीको व्यवस्था नगर्ने, साना र ठूला पशु एकै ठाउँमा राखी ओसारपसार गर्ने कार्य पशुपक्षीका लागि यातना दिएको बुझ्नुपर्ने ऐनमा उल्लेख छ । पशु स्वास्थ्य तथा पशु सेवा ऐन, २०५५, ले रोगी घाइते वा मरेका पशुलाई व्यावसायिक प्रयोजनका लागि ढुवानी गर्न नपाइने किटान गरेको छ तर, त्यस्तो कार्य ढुवानी मापदण्ड, २०६४ अनुसार पशुपक्षीलाई यात्रुबाहक सार्वजनिक सवारीका साधनको छत वा डिक्कीमा राख्न नहुने र मुलुकी अपराध (संहिता) ऐन, २०७४ ले रोगी पशुको ढुवानी गरेको प्रमाणित भएमा दश वर्षसम्म कैद र रु एक लाखसम्म जरिवाना तोकेको छ । दशैँमा मानिसले मीठा परिकारका रुपमा मासु खाने आदतको सट्टामा दही, दूध, पनिर, खिर, मिठाई, कुराउनी, गुदपाक, पुष्टकारी, च्याउ तथा माछा पनि खाने गर्छन् । पशुसेवा विभागको तथ्याङ्कमा यस वर्ष उपत्यकामा छ लाख र उपत्यका बाहिर २७ लाख खसीबोका खपत हुने अनुमान छ । खसीबोकाबाहेक, कुखुरा नौ लाख, राँगा १५ लाख केजी आवश्यक पर्छ । उत्पादनका हिसाबले राँगा एक लाख ७६ हजार, कुखुरा ५५ हजार मेट्रिक टन मासुका लागि तयारी अवस्थामा रहेको विभागले जनाएको छ भने त्यसको अतिरिक्त खाद्य संस्थानले दुई हजार र निजी व्यवसायीले छ हजार भेँडा च्याङ्ग्रा ल्याउने भएका छन् । व्यापारीले उपत्यकामा तराईका २२ जिल्लालगायत सुर्खेत, सल्यान, रुकुम, दाङ्, बाँके, बर्दिया, सिन्धुली, रामेछाप, काभ्रे, नुवाकोट, धादिङलगायतका जिल्लाबाट खसी बोका र मनाङ, मुस्ताङ, रसुवा तथा तिब्बतबाट भेडा, च्याङ्ग्रा बिक्रीका लागि ल्याउने गर्छन् । तीन दिन दशैंमा माछा, भेडा, च्याङ्ग्रा, खरायो, हाँस, लौकाट, अष्ट्रिच, बङ्गुर, सुँगुर, र बदेलको मासु पनि खपत हुन्छ । माछा १५ देखि २० लाख, भेडा झण्डै तीन हजार, बङ्गुर २४ हजार, च्याङ्ग्रा करिब दुई हजार मेट्रिक टन मासुका लागि तयारी अवस्थामा रहेको छ । पछिल्लो तथ्याङ्कअनुसार नेपालमा एक करोड २८ लाख खसी, बोका र बाख्राको सङ्ख्या रहेको छ । जसमध्ये ३० प्रतिशत अर्थात् मासुका लागि ३८ लाख ४० हजार खसी बोका वध गर्न सकिन्छ । तीन दिन दशैंका लागि उपत्यकामा छ लाख वटा खसी बोका खपत हुन्छन् । नेपालमा सबैभन्दा धेरै राँगाको मासु खपत हुन्छ । खपतको ६३ प्रतिशत अर्थात् एक लाख ८५ हजार ९५५ मेट्रिक टन राँगोबाट मःमः, छोयला, सेकुवा, भुटन, कचिलालगायतका परिकार बनाई खाने प्रचलन छ तर दशैँमा राँगाको भन्दा खसीबोका बढी खपत हुने गरेको पाइन्छ । पशुपक्षीपालन क्षेत्रले कूल गार्हस्थ्य उत्पादनमा ११ प्रतिशत र कूल कृषि गार्हस्थ्य उत्पादनमा करिब २६ दशमलव शून्य आठ प्रतिशत योगदान पुर्याएको छ भने कूल घरपरिवारको ६० प्रतिशत जनसङ्ख्या रोजगारीमा आबद्ध छन् । रासस
अपर नौगाड जलविद्युत आयोजनाबाट विद्युत उत्पादन शुरु
काठमाडौँ । अपि पावर कम्पनी लिमिटेडले आफ्नो दोस्रो परियोजना अपर नौगाड जलविद्युत आयोजना ८ मेगावाटको निर्माण सम्पन्न गरी मिति सोमबार सफल परीक्षण गरेको छ । परीक्षण पूरा गरी यो आयोजनाले असोज १० गते देखि राष्ट्रिय ग्रिडमा विद्युत प्रवाह गर्ने जनाएको छ । २०७३ असोज १२ मा विद्युत खरिद बिक्री सम्झौता सम्पन्न भएको यो आयोजनाको कुल लागत रु. १६० करोड रहेको र आयोजनाले बार्षिक ४.८७ करोड किलोवाट घण्टा विद्युत उत्पादन गर्ने अनुमान छ । सुख्खा महिनामा १.१४ करोड र बर्षातका चार महिनाहरुमा ३.७५ करोड घण्टा किलोवाट विद्युत उत्पादन हुनेछ । यस आयोजनाबाट उत्पादन हुने विद्युत शक्ति नेपाल विद्युत प्राधिकरणले निर्माण गर्ने अत्तरिया वलाँच सवस्टेशन मार्फत राष्ट्रिय ग्रिडमा प्रवाह हुनेछ । यसबाट सुदुरपश्चिम प्रदेशमा भरपर्दो विद्युत आपुर्ति हुने कम्पनीले विश्वास लिएको छ ।
नेकपा र चिनियाँ कम्युनिष्ट पार्टीबीच समझदारीपत्रमा हस्ताक्षर
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) र चिनियाँ कम्युनिष्ट पार्टीबीच भाइचारा सम्बन्ध स्थापित भएको छ । आज यहाँ आयोजित एक कार्यक्रममा दुई पार्टीबीच भाइचारा सम्बन्ध स्थापना गर्नेसम्बन्धी द्विपक्षीय समझदारीपत्रमा हस्ताक्षर भएको हो । नेकपाका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को उपस्थितिमा नेकपाका विदेश विभाग प्रमुख माधवकुमार नेपाल र नेपाल भ्रमणमा रहेका अन्तर्राष्ट्रिय विभाग प्रमुख सोङ ताओले सम्बन्ध स्थापनासम्बन्धी समझदारी पत्रमा हस्ताक्षर गरेका हुन् । उक्त सम्झौतामा पाँच बुँदा समेटिएका छन् । नेकपाका विदेश विभाग उपप्रमुख विष्णु रिजालकाअनुसार दुई पार्टीबीच उच्चस्तरीय भ्रमण आदान प्रदान गर्ने, कम्युनिस्ट विचारधारा र अनुभवको आदान प्रदान गर्ने र हाल सञ्चालन भइरहेको विचाराधारात्मक प्रशिक्षणलाई निरन्तर र तल्लो तहसम्म लैजाने, दुई देशका विकासका मोडलका अनुभवको आदानप्रदान गर्नेलगायतका बुँदा समझदारीपत्रमा समावेश छन् । उपप्रमुख रिजालले तत्कालीन नेकपा (एमाले) र तत्कालीन नेकपा (माओवादी केन्द्र) र चिनियाँ कम्युनिष्ट पार्टीबीच अलग– अलग मैत्री सम्बन्ध रही आएकामा नेकपा गठन भएपश्चात् दुई देशका दुई पार्टीबीचको सम्बन्धको नवीकरण भएको रुपमा समझदारीलाई लिनुपर्ने बताए । उनले समझदारीलाई कुनै अन्यथा रुपमा लिनु नपर्ने उल्लेख गर्दै विगतदेखि नै चलीआएको नेकपा र चिनियाँ कम्युनिष्ट पार्टीबीचको मित्रवत् सम्बन्धको निरन्तरताको रुपमा लिनुपर्नेमा जोड दिएका छन् । दुई देश र दुई पार्टीको सम्बन्धलाई थप विकसित र नयाँ उचाइमा लान खोजिएको चर्चा गर्दै उपप्रमुख रिजालले नेपाल सरकार र नेकपा एक चीन नीतिप्रति विगतदेखि नै प्रतिबद्ध रहेको छ । सोही प्रतिबद्धताअनुसार नै हामी थप अगाडि बढिरहेको समेत स्पष्ट पारेका छन् । चिनियाँ राष्ट्रपति सी जिन पिङको चाँडै हुन लागेको नेपाल भ्रमणको पूर्वसन्ध्यामा यो समझदारीपत्रमा हस्ताक्षर भएको हो । नेपाल र छिमेकी चीनका दुई सत्तारुढ कम्युनिष्ट पार्टीले पहिलोपटक सोमबार संयुक्त रूपमा विचारधारात्मक प्रशिक्षण आयोजना गरी समृद्धिको साझा आधार पहिल्याउने पहल थालनी गरेका छन् । रासस
औषधि विभागको महानिर्देशकमा पुनः ढकाल
काठमाडौं । औषधि व्यवस्था विभागको महानिर्देशक पदमा पुनः नारायण ढकालले कार्यभार सम्हालेका छन् । सर्वोच्च अदालतको अन्तरिम आदेश अनुसार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले उनलाई महानिर्देशक पदको कार्यभार सम्हाल्न पत्र दिएको हो । महानिर्देशक ढकालले भने, “मैले महानिर्देशक पदको जिम्मेवारी असोज ५ गते आइतबारदेखि सम्हालेको छु । म पुनःकाममा फर्किएको छु ।” स्वास्थ्यसेवा तर्फको कर्मचारी समायोजन अन्तर्गत मन्त्रालयले ११औँ तहमा कार्यरत उनलाई राष्ट्रिय औषधि प्रयोगशालाको प्रमुखमा पदस्थापना गरेको थियो । उनले मन्त्रालयको सो निर्णय कार्यान्वयन रोक्न माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गरेका थिए । साउन २१ गते रिटमाथि सुुनुवाइ हुँदा सो निर्णय कार्यान्वयन नगर्न नगराउन सर्वोच्चले आदेश दिएको थियो । मन्त्रालयले दशौं तहका पानबहादुर क्षेत्रीलाई यसअधि निमित्त महानिर्देशकको जिम्मेवारी दिएको थियो । सर्वोच्च अदालतको अन्तरिम आदेश आएको दश दिनसम्म मन्त्रालयले उनलाई जिम्मेवारीको पत्र दिन ढिलाइ गरेको थियो । रासस
लामो दुरीको गाडीमा दुई जना चालक राख्नै पर्ने, ट्राफिक प्रहरीले थानकोटमा ड्राईभरको फोटो खिच्ने
काठमाडौँ । ट्राफिक प्रहरी प्रमुख एसएसपी भीमप्रसाद ढकालले चाडपर्वलाई लक्षित गरेर देशैभरि आफूहरुले विशेष ट्राफिक व्यवस्थापन गरेको स्पष्ट पारे । काठमाडौँमा आयोजित कार्यक्रममा उनले भने–‘अहिलेको अवस्था भनेको विशेष अवस्था हो, हामीले सोही अनुसारको टा«फिक व्यवस्थापन गरेका छौं । सवारी आवागमन धेरै छ, किनमेल गर्न जानेदेखि लिएर अन्य कुराको भीड छ । हामीले पनि त्यहीअनुसारको सुरक्षा व्यवस्था गरिराखेका छौं ।’ यात्रुहरुलाई सजिलो तुल्याउने गरी आफूहरुले सुरक्षा व्यवस्था अपनाएको उनको भनाई छ । उनले यात्रुहरुलाई सहज होस् भनेर नै सरोकारवाला निकायसँगको सहकार्यमा बसपार्कहरुमा नागरिक सहायता कक्ष पनि सञ्चालनमा ल्याईएको सुनाए । जसअन्तर्गत काठमाडौँको नयाँ बसपार्कमा अहिले १४ वटा कक्ष सञ्चालनमा रहेका छन् । उनले एक दुई दिनभित्र अन्य स्थानमा पनि यस्तै कक्ष सञ्चालनमा आउने विश्वास दिलाए । सवारीसाधन दुर्घटनाको तथ्यांक हेर्दा धेरै दुर्घटना चालकको लापरवाहीको कारणले भएको देखिएको सुनाउँदै ढकालले यसतर्फपनि आफूहरुले विशेष ध्यान दिएको सुनाए । उनले भने–‘चालकको लापरवाहीको कारणले धेरै दुर्घट्ना भएको देखिन्छ । मादक पदार्थ सेवन गर्ने, एउटै चालकले लामो दुरीसम्म गाडी चलाउने कारण बनेका छन्, यसलाई मध्येनजर गर्दै हामीले लामो दुरीको गाडीमा अनिवार्य रुपमा दुई जना चालक राख्न कडाई गरेका छौं । यसको लागि काठमाडौंबाट छुट्ने गाडीमा थानकोटमा ड्राईभरको फोटो लिन्छौं । र, सोही फोटो अरु ठाउँमा पुर्याउँछौं ।’ चाडपर्वको मुखमा दुर्घट्ना हुनु दुःखद् कुरा भएको सुनाउँदै त्यस्तो दुर्घट्ना नहोस भनेर नै विशेष सुरक्षा व्यवस्था अपनाईएको उनको भनाई छ । उनले अहिले टा«फिक प्रहरीको जनशिक्त १३ सय ६८ जना रहेको सुनाए । यसमध्ये २ हजार १४ जना काठमाडौंमा मात्रै खटिररहेका छन् । उनले भने–‘६, ७ सय सवारी एक जना टा«फिक प्रहरीले हेर्नुपरेको छ । त्यस्तै, ‘हिट एण्ड रन’ का घटनापनि बढेकोले आफूहरुले त्यसको लागि धेरै जनशक्ति थपेको उनले सुनाए । ढकालले बसपार्कमा यात्रुहरुलाई सास्ती नहोस् र कोहीपनि यात्रु नठगिउन भन्नको लागि बसपार्कमा खटिने कर्मचारी, यातायात व्यवसायीलाई अनिवार्य पोशाकको व्यवस्था गरेको पनि सुनाए । त्यस्तै, सादा पोशाकमा पनि प्रहरी परिचालित रहेको उनको भनाई छ । जनचेतनाको लागि काठमाडौं बसपार्कबाट छुट्ने गाडीमा अडियो–जिंगल बजाउनको लागि एक हजार गाडीलाई वितरणगरिएको पनि उनले जनाए । उनले काठमाडौंको ट्राफिक व्यवस्था राम्रो रहेको सुनाए । सवारी नियम उल्लंघन गर्नेहरु दैनिक १६, १७ सय सवारीहरु कारवाहीमा पर्ने गरेको पनि उनले आँकडा सुनाए । त्यस्तै, मापसे गर्नेपनि दैनिक १५० जना कारवाहीमा परेका छन् । ढकालले चाडपर्व लक्षित गरेर ५ सय जना युवा स्वयमसेवीहरु परिचालित भएको पनि सुनाए । उनले विगतभन्दा यसपटक राम्रो भएको अनुभुति जनताले पाईरहेको दाबी गरे । ढकालले केही समस्या परे सिधै आफूहरुलाई सम्पर्क गर्नपनि सुझाए । त्यसको लागि उनले १०३ मा सम्पर्क गर्न आग्रह गरेका छन् । आफूहरु चौविसै घण्टा सेवमा समर्पित रहेको उनको भनाई छ ।
जनरल इन्स्योरेन्सको नायव महाप्रबन्धकमा राजेश मानन्धर नियुक्त
काठमाडौं । जनरल इन्स्योरेन्स कम्पनी नेपाल लिमिटेडले नायव महाप्रबन्धकमा राजेश प्रसाद मानन्धर नियुक्त गरेको छ । मानन्धरले असोज ५ गतेदेखि उक्त जिम्मेवारी समालेका छन् । मानन्धरसँग २७ वर्ष वित्तीय क्षेत्रमा काम गरेको अनुभव छ । २०४९ देखि ६५ सालसम्म नेशनल फाइनान्समा काम गरेका मानन्धर पछि क्रमशः कस्मिक मर्चेन्ट, सिएमबी, सिनर्जी हुँदै पछिल्लो समय बेष्ट फाइनान्समा नायव महाप्रबन्धककाे जिम्मेवारीमा थिए । वित्तीय क्षेत्रमा झण्डै तीन दशक काम गरेको अनुभवले बीमा क्षेत्रमा केही योगदान गर्न सक्ने विश्वास आफूमा रहेको मानन्धरले बताए । पछिल्लो सयम बीमा क्षेत्रको विकास राम्रो हुँदै गएको छ तर यो क्षेत्रको विकास र विस्तारमा अझै धेरै काम गर्न बाँकी देखिएको उनले बताए । उनले शंकरदेव क्याम्पसबाट एमबीएसम्मको औपचारिक शिक्षा हासिल गरेका छन् ।
चाडपर्वमा कालोबजारी गर्नेलाई तत्कालै कारवाहीः महानिर्देशक गौचन
काठमाडौँ । वाणिज्य, आपुर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक योगेन्द्र गौचनले चाडपर्वलाई लक्षित गरेर दैनिक रुपमा अनुगमन शुरु गरेको बताएका छन् । काठमाडौँमा आयोजित कार्यक्रममा उनले भने–‘साउनमा मात्रै एक हजार फर्ममा अनुगमन गरेका थियौं, त्यसमध्ये ३४० फर्म कारबाहीको दायरामा आएका छन् । १६० फर्मलाई २० लाखसम्म जरिवाना गराएका छौं ।’ चाडपर्वको मुखमा कालोबजारी र मुल्यवृद्धि गरेको पाईए तत्काल कारबाही गर्ने पनि उनले चेतावनी दिए । खाद्यान्नदेखि लत्ताकपडासम्म अनुगमन भैरहेको उनको भनाई छ । अनुगमन गर्दा हाम्रो व्यवसाय चौपट बनाउन लागेको भन्दै आफूहरुलाई थर्काउने काम भएको पनि उनले गुनासो पोखे । उनले हालै काठमाडौंको न्यूरोडमा रहेको रञ्जना सिनेमा हलमा अनुगमन गर्दा हुलदंगादेखि आफूहरुमाथि अपशब्द प्रयोग भएको सुनाए । तर, पछि थप सुरक्षाकर्मी बोलाएर आफूहरुले अनुगमनको बाँकी काम पूरा गरेको सुनाए । उनले भने–‘हामी डराएका छैनौं । ठूला डिपार्टमेन्टल स्टोरमा पनि पुगेका छौं । बजार व्यवस्थित छ ।’ अहिले देशभरि ७३ वटा सुपथ मुल्यका पसलहरु सञ्चालनमा रहेको पनि उनले सुनाए । यो वर्षको दशैंलाई लक्षित गरेर विभागले तीन हजार खसी, बोकाको व्यवस्था गरेको बताए । सरकारले आफैं घाटा व्यहोरेर भएपनि नुन, चिनी, डिडिसीको घ्यु, खसी बोका, चामलमा सहुलियत दिएको छ–उनले भने ।
पशु बीमा कार्यक्रम प्रभावकारी बन्दै
पाँचथर । किसानका लागि पशुधनको सुरक्षाको दृष्टीले राम्रो मानिने पशु बीमा कार्यक्रम पछिल्लो समय पाँचथर तथा ताप्लेजुङलगायत पूर्वी पहाडी जिल्लामा प्रभावकारी बन्दै गएको छ । कतिपय बीमा कम्पनीले पशु बीमा गर्दा त्यसमा रु एक सय थप्दा पशु धनीकोसमेत बीमा हुने भएपछि पछिल्लो समय पाँचथरमा पशु बीमातर्फ किसानमा आकर्षण बढ्दै गएको हो । पशुका लागि बीमाका विषयमा कुरा बुझ्दै गएपछि किसानले धमाधम बीमा गर्न थालेको एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेड उपशाखा पाँचथरका प्रमुख यादव गौतमले बताएका छन् । उनले भने–“विगतको तुलनामा पशुको बीमा गर्ने किसानको सङ्ख्यामा वृद्धि भएको छ, किसानले पशुको बीमा गर्नुपर्छ भन्ने विषय बुझ्दै गएपछि बीमा गर्नेको सङ्ख्या बढेको हो ।” अहिले पाँचथर जिल्लामा मात्र चार वटा निर्जिवन बीमा कम्पनी छन् । जसमा तीन वटा कम्पनीले पशु बीमा गरिरहेको गौतम बताउँछन् । उनले थपे– “ किसानलाई थोरै रकम खर्च गरे बीमामा सहभागी हुन पाउने अवसर मिल्ने भएकाले पशु बीमा बढेको हो ।” पशुपालन गरिरहँदा लापरवाही गरौं, पशु मरोस, दुर्घटना होस् भन्ने कुनै पनि किसानमा नहुने फिदिम नगरपालिका–२ देउरालीमा गाई फार्म सञ्चालन गरिरहेका टेकनाथ रिजाल बताउँछन् । उनले भने,“आफूले पालन गरिरहेका पशुरुलाई सुरक्षित बनाउने तर्फनै आफ्नो ध्यान जान्छ, कहीलेकाहीँ पशु दुर्घटनामा पर्नसक्ने भएकोले गाईको बीमा गरेको छु । पशुको बीमा गर्दा धनीको समेत हुने भएकाले ८ वटा गाईको बीमा गरेको छु, आफूले विभिन्न स्थानबाट ऋण लिएकाले पशुमा क्षति भए त्यसमा केही सहायता मिल्छ । ठूलो क्षति हुनबाट जोगिन बीमा आवश्यक छ ।” पशु बीमा गर्दा पशु प्राविधिक अनिवार्य आवश्यक पर्ने बीमा कम्पनीले जनाएका छन् । बीमा गर्दा पशुको स्वास्थ्य परीक्षण गर्नुपर्ने हुँदा पशु प्राविधिक आवश्यक भएको हो । शुरुमा पशु बीमाका विषयमा किसानलाई बुझाउन निकै समस्या परेको प्राविधिक लक्ष्मी बाँस्कोटा बताउँछन् । उनी भन्छन्,“एक वर्षको अवधिका लागि मात्रै बीमा हुने भएकाले थोरै झन्झटिलो छ । तर, पनि किसानको आर्थिक क्षति कम गर्न पशु बीमा अनिवार्य जस्तै छ । २०७५ साल वैशाख १ गतेबाट पशुको बीमा गर्दा पशु धनीको बीमा गर्न थालेपछि किसान झन खुशी भएका छन् ।” जिल्लामा अहिले एनएलजी लाइफ इन्स्योरेन्स, लुम्बिनी जनरल इन्स्योरेन्स र नेको इन्सोरेन्स छन् । उनीहरुले ताप्लेजुङलाई समेत समेटेका छन् । एक हजार ५०० बढी पशु चौपायको बीमा गरिसकेका छन् । एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडले दाबी भुक्तानी दिन थालेको छ । कम्पनीले २०७४/७५ मा ५०८ वटा पशुको बीमा गराएकोमा २४ वटा मृत्यु दाबी भएका थिए । तीमध्ये २१ पशुको दाबी भुत्तानी दिइसकेको छ । त्यसैगरी २०७५/७६ मा ९९३ पशुको बीमा भएकोमा २३ पशुको मृत्यु दाबी आएको र २० वटा पशुको दाबी भुक्तानी गरेको कम्पनीले जनाएको छ । रासस