
काठमाडौँ । वाणिज्य, आपुर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक योगेन्द्र गौचनले चाडपर्वलाई लक्षित गरेर दैनिक रुपमा अनुगमन शुरु गरेको बताएका छन् ।
काठमाडौँमा आयोजित कार्यक्रममा उनले भने–‘साउनमा मात्रै एक हजार फर्ममा अनुगमन गरेका थियौं, त्यसमध्ये ३४० फर्म कारबाहीको दायरामा आएका छन् । १६० फर्मलाई २० लाखसम्म जरिवाना गराएका छौं ।’ चाडपर्वको मुखमा कालोबजारी र मुल्यवृद्धि गरेको पाईए तत्काल कारबाही गर्ने पनि उनले चेतावनी दिए ।
खाद्यान्नदेखि लत्ताकपडासम्म अनुगमन भैरहेको उनको भनाई छ । अनुगमन गर्दा हाम्रो व्यवसाय चौपट बनाउन लागेको भन्दै आफूहरुलाई थर्काउने काम भएको पनि उनले गुनासो पोखे । उनले हालै काठमाडौंको न्यूरोडमा रहेको रञ्जना सिनेमा हलमा अनुगमन गर्दा हुलदंगादेखि आफूहरुमाथि अपशब्द प्रयोग भएको सुनाए । तर, पछि थप सुरक्षाकर्मी बोलाएर आफूहरुले अनुगमनको बाँकी काम पूरा गरेको सुनाए । उनले भने–‘हामी डराएका छैनौं । ठूला डिपार्टमेन्टल स्टोरमा पनि पुगेका छौं । बजार व्यवस्थित छ ।’
अहिले देशभरि ७३ वटा सुपथ मुल्यका पसलहरु सञ्चालनमा रहेको पनि उनले सुनाए । यो वर्षको दशैंलाई लक्षित गरेर विभागले तीन हजार खसी, बोकाको व्यवस्था गरेको बताए । सरकारले आफैं घाटा व्यहोरेर भएपनि नुन, चिनी, डिडिसीको घ्यु, खसी बोका, चामलमा सहुलियत दिएको छ–उनले भने ।