विकासन्युज

ग्लोबल आइएमईले ल्यायो एनआरएन लक्षित चार नयाँ खाता, अनलाइनबाट पनि खोल्न मिल्न

काठमाडौँ । गैर आवासीय नेपाली(एनआरएन)लाई लक्षित गरी ग्लोबल आइएमई बैंकले चारवटा नयाँखाताहरु सञ्चालनमा ल्याएको छ । चार नयाँखाताहरुमा ग्लोबल एनआरएन एफसीवाई मुद्दति निक्षेप खाता, ग्लोबल एनआरएन एफसीवाई मुद्दति निक्षेप खाता, ग्लोबल एनआरएन एफसीवाई बचत खाता र ग्लोबल एनआरएन एफसीवाई बचत खाता रहेका छन् । अमेरिकी डलरमा खोल्न सकिने एनआरएन एफसीवाई बचत खातामा तथा मुद्दति निक्षेपमा वार्षिक ४ प्रतिशतसम्म व्याज प्रदान गरिने छ । त्यस्तै नेपाली मुद्रामा खोलिने एनआरएन एलसीवाई मुद्दति निक्षेपमा ९.२५ प्रतिशतसम्म तथा बचत खातामा वार्षिक ६ प्रतिशतसम्म ब्याज प्रदान गरिने छ । उक्तखाता सञ्चालकहरुलाई क्रेडिट कार्ड जारी गर्दा लाग्ने शुल्क तथा लकर सुविधा लिंदा लाग्ने वार्षिक शुल्कमा ५० प्रतिशत छुट प्रदान गरिने छ । साथै खातावाला वा खातावालाको परिवारलाई घर कर्जा तथा सवारी कर्जाप्रवाह गर्दा लाग्ने शुल्कमा विशेष छुट प्रदान गरिने छ । अनलाइनबाट पनि खोल्न मिल्ने उक्त खाता सञ्चालकहरुलाई विदेशी मुद्रा सटहीमा पनि विशेष प्रिमियम प्रदान गरिने छ । एफसीवाई मुद्दति खाताहरु दुई वर्षदेखि तीनवर्षसम्मको अवधिको हुनेछ भने यसमा न्यूनतम् मौज्दात १०,००० अमेरिकी डलर रहेको बैंकले जनाएको छ ।

छाप लगाउनेलाई भ्याट छुट दिन सकिँदैन : अर्थमन्त्री

काठमाडौं । अर्थमन्त्री युवराज खतिवडाले विदेशी कपडा ल्याएर छाप लगाएर बेच्ने कपडा उद्योगीलाई भ्याट छुट दिन नसकिएको भन्दै स्वदेशी उत्पादनलाई बजेटले सुविधा र सहुलियत दिने प्रशस्त व्यवस्था गरेको दाबी गरेका छन् । अर्थमन्त्री खतिवडाले नेपालको उत्पादनमूलक उद्योगहरुलाई दिने भ्याट छुटको व्यवस्था हटाए पनि त्यसलाई पूर्ति गर्ने अन्य धेरै व्यवस्था गरेको बताएका हुन् । ‘हामीले उत्पादनमूलक उद्योगहरुको विद्युत्मा ५० प्रतिशत छुट दियौं पुग्दैन भन्नुभयो, आयकरमा ५० प्रतिशत छुट दिने भन्यौं, त्यतिले पनि तपाईँहरुलाई पुगेन । हामीले कपडा उद्यागीहरुले लिएको ऋणमा ५ प्रतिशत ब्याज अनुदान दिन्छौं भनेका छौं, त्यसका लागि कार्यविधि बन्दैछ, तर यहाँनिर तपाईँहरुको इमान्दारीताको परीक्षा पनि हुन्छ ।’ अर्थमन्त्री खतिवडाले भने । उनले उद्योगीहरुलाई उद्योग दर्ता गर्न र स्थायी लेखा नम्बर दिन समेत स्थायी लेखा नम्बर आग्रह गर्दै भने– ‘हामी पनि तपाईँहरुलाई सहयोग गर्छौं, तपाईहरु पनि हामीलाई सहयोग गर्नुस्, तपाईँहरुले हामीलाई विश्वास गरिदिनुपर्यो ।’ उनले हाल सरकारी खरिदमा १५ प्रतिशतसम्म महँगो भए पनि स्वदेशी उत्पादन नै खरिद गर्नुपर्ने व्यवस्था भएको भन्दै अब त्यसो गर्न नसके स्पष्टिकरण नै दिनुपर्ने व्यवस्था गर्दै ऐन संशोधन गर्न लागिएको जानकारी समेत दिए । खतिवडाले सम्भव भएसम्म कपडामा आत्मनिर्भरतामा जान प्रयास गरिरहेको समेत बताए । सरकार र निजी क्षेत्रको सम्बन्ध गाडिको इन्जिन र ड्राइभरकोे जस्तै भएको भन्दै एकले अर्कोलाई अविश्वास गरेर दुवै चल्न नसक्ने बताए । उनले आयात बढ्दा र घट्दा पनि सरकारलाई चिन्ता हुने भन्दै आयातको स्वरुप के छ भनेर हेर्न उद्योगीहरुलाई सुझाव दिए । ‘आयातमा अंकको कुरा होइन, यसभित्रका अंगहरु कस्ता छन् भन्ने कुरा महत्वपूर्ण हुन्छ’ उनले भने । लगानीको वातावरण नसुध्रिएको गुनासोप्रति कटाक्ष गर्दै उनले भने – ‘लगानीको वातावरण बन्न केलाई खोज्नुभएको हो ? हामीले एकद्वार प्रणाली सुरु गर्यौ, ६ खर्बको जलविद्युत् निर्माणको चरणमा छन्, पर्यटनमा उल्लेख्य लगानी भएको छ ।’ उत्पादनमूलक क्षेत्रमा लगानी कम भएको अवस्था भने सही भएको उनको भनाई थियो, यसैप्रति लक्षित गर्दै उनले भने– ‘आजको भोलि नै लाभ उठाउने अवसर भने त्यसमा नहोला ।’

एनआईसी एशियाको वार्षिक साधारण सभाले पारित गर्यो २१ प्रतिशत लाभांश

काठमाडौँ । एनआईसी एशिया बैंक लि.को २२औं वार्षिक साधारण सभा शुक्रबार आर्मी अफिसर्स क्लब भद्रकाली, काठमाडौंमा सम्पन्न भएको छ । बैंक संचालक समितिका अध्यक्ष तुलसीराम अग्रवालको अध्यक्षतामा सम्पन्न साधारण सभा सम्पन्न भएको हो । उक्त साधारणसभाले चुक्ता पूँजीको २१.०५२६ प्रतिशतका दरले रु. १ अर्ब ८५ करोड ९८ लाख ३७ हजार ६ सय एक्काईस (रु.१,८५,९८,३७,६२१) लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ । जसमध्ये १० प्रतिशतका दरले हुन आउने रु. ८८ करोड ३४ लाख २२ हजार ८ सय सत्तरी (रु. ८८,३४,२२,८७०) बोनस शेयर र ११.०५२६ प्रतिशत हुन आउने रु. ९७ करोड ६४ लाख १४ हजार ७ सय ५१ (रु. ९७,६४,१४,७५१) नगद लाभांश (कर प्रयोजनार्थ समेत) वितरण गर्ने प्रस्ताव पारित गरेको छ । सभाले बैंकको पूँजी वृद्धिको प्रस्ताव पारित गरेको छ । यसबाट बैंकको चुक्ता पूँजी रु ९ अर्ब ७१ करोड ७६ लाख ५१ हजार ५ सय ६८ पुगेको छ । बैंकमा डिम्याट खाता हुने शेयरधनीहरुलाई शुक्रबारै नगद लाभांश भुक्तानी गर्न शुरु गरिसकिएको तथा डिम्याट खाता नहुने शेयरधनीहरुले यथाशीघ्र खाताको लागि बैंकको शेयर रजिष्ट्रार एनआईसी एशिया क्यापिटल तथा बैंकको नजिकैको शाखा कार्यालयमा सम्पर्क गर्न अनुरोध गरेको छ ।

स्वास्थ्य र शिक्षालाई व्यापारीकरण हुनबाट रोक्नुपर्छः उपराष्ट्रपति पुन

चितवन । पराष्ट्रपति नन्दबहादुर पुन स्वास्थ्य र शिक्षालाई व्यापारीकरण हुनबाट रोक्नुपर्ने बताएका छन् । बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको २०औँ वार्षिकोत्सव तथा १५ औँ राष्ट्रिय क्यान्सर सतर्कता दिवस २०७६ को आज यहाँ उद्घाटन गर्दैं उनले सेवामूलक स्वास्थ्य र शिक्षा क्षेत्रमा व्यापारीकरण हुनु दुःखद् भएको बताएका छन् । “नागरिकलाई स्वस्थ बनाउन राज्यले जनस्वास्थ्यका क्षेत्रमा आवश्यक लगानी अभिवृद्धि गर्दै जानुपर्छ”, उनले भने, “गुणस्तरीय स्वास्थ्य सेवामा सबैको सहज, सुलभ र समान पहुँच सुनिश्चित गर्नुपर्दछ ।” उपराष्ट्रपति पुनले नेपालको परम्परागत चिकित्सा पद्धतिका रूपमा रहेको आयुर्वेदिक, प्राकृतिक र होमियोपेथिक चिकित्सालगायत स्वास्थ्य पद्धतिको संरक्षण र प्रवद्र्धन गर्नुका साथै स्वास्थ्य क्षेत्रलाई सेवामूलक बनाउनुपर्नेमा जोड दिए । उनले भने, “सुविधा सम्पन्न निजी अस्पताल महङ्गा छन्, आधारभूत नागरिकले त्यहाँ पहुँच राख्न सकिरहेका छैनन् भन्ने गुनासा छन्, त्यसैले स्वास्थ्य सेवालाई सर्वसुलभ र सहज बनाउनुपर्दछ ।” उपराष्ट्रपति पुनले संविधानले प्रत्येक नागरिकलाई स्वास्थ्य सेवामा समान पहुँचको हकको व्यवस्था गरे पनि हाम्रा नागरिकले समान पहुँच पाउन नसकिरहेको उल्लेख गर्दै क्यान्सरलगायत सबै प्रकारका रोगको उपचार नेपालमै सम्भव भएको बताएका छन् । उनले भने, “हामीले अन्तिमसम्म आफ्नो देशमै उपचारको प्रयास गर्नुपर्दछ । त्यसका लागि स्रोत साधन, प्रविधि र आवश्यक दक्ष जनशक्तिको विकासमा ध्यान दिनुपर्दछ ।” आज क्यान्सरका हजारौँ बिरामी भारतका विभिन्न अस्पतालमा पुगिरहेको बताउँदै उनले यसबाट नेपाली रुपैयाँ बाहिरिरहेको छ भने । उपराष्ट्रपति पुनले आफ्ना दुवै मिर्गौला काम नलाग्ने अवस्थामा पुगेपछि उपचारका लागि विदेश लान तयारी गरिएको भए पनि मेरो उपचार देशमा नै हुन्छ भनेर यही उपचार सम्भव भएको बताउँछन । बिरामी निको हुनका लागि मनोबल उच्च हुनुपर्ने उनको भनाइ थियो । उपराष्ट्रपति पुनले भने, “छिटो निको हुन र स्वस्थ रहन बिरामीमा मनोबल उच्च चाहिन्छ ।” हाम्रो संविधानले प्रत्येक नागरिकलाई राज्यबाट आधारभूत स्वास्थ्य सेवा निःशुल्क प्राप्त गर्ने र प्रत्येक नागरिकलाई स्वास्थ्य सेवामा समान पहुँचको हकको व्यवस्था गरेको उनको भनाइ थियो । उनले अहिले पनि उपचारको अभावमा नागरिकको मृत्युवरण भएको बताउँदै भने, “आजका दिनसम्म पनि हाम्रा कतिपय नागरिक औषधि उपचार नपाएर अकाल मृत्युवरण गरिरहेका छन् । एकाइसौँ शताब्दीको आजको समाजमा उपचारको अभावमा नागरिकले मृत्युवरण गर्नु पाच्य विषय होइन ।” कार्यक्रममा स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री डा. सुरेन्द्रकुमार यादवले देशभरका सरकारी अस्पतालमा श्यया बढाउन र गुणस्तरीय उपचार दिन सरकार लागिपरेको बताए । यहाँको क्यान्सर अस्पताल र भरतपुर अस्पताललाई शैक्षिक प्रतिष्ठानका रुपमा विकास गर्ने योजना रहेको पनि उनले बताएका छन् । राज्यमन्त्री डा. यादवले सबै बिरामी यही आउनेभन्दा प्रदेश प्रदेशमा सामान्य समस्या समाधान हुने व्यवस्था मिलाइने जानकारी दिए । सो अवसरमा अस्पतालका कार्यकारी निर्देशक डा. विजयचन्द्र आचार्यले अस्पतालको प्रगति प्रतिवेदन र भावी कार्यक्रमका बारेमा जानकारी गराएका थिए । अस्पताल सञ्चालक समितिका सदस्य प्रा. डा. तारा मानन्धरको सभापतित्वमा भएको कार्यक्रममा प्रतिनिधिसभा सदस्य कृष्णभक्त पोख्रेल, नेपाली काङ्ग्रेस चितवनका सभापति जीतनारायण श्रेष्ठ, समाजवादी पार्टी चितवनका अध्यक्ष प्रेम भुजेल, अस्पतालका पूर्वअध्यक्ष डा प्रकाशराज न्यौपाने, चीनको हवे प्रोभिन्सका कुङ्ग संङ्ग विश्वविद्यालयका निर्देशक प्रा डा लिउ जि चुन, अस्पतालको चिनियाँ मेडिकल टिमका टोली नेता लिउलिउ, अस्पतालका उपनिर्देशक डा निर्मल लामिछाने लगायतले बोलेका थिए । सो अस्पताल चीन सरकारकाले २० वर्षअघि निर्माण गरिदिएको हो । यससँगै अस्पतालमा चीन सरकारले नियमित रुपमा चिकित्सकको समूह पठाउँदै आएको छ भने विभिन्न समयमा उपकरणसमेत प्रदान गर्दै आएको छ । रासस

नेपाल दक्षिण एसियाकै पहिलो खुला दिसामुक्त राष्ट्र घोषणा हुँदै

काठमाडौं । दक्षिण एसियाली राष्ट्रहरु मध्ये नेपाल खुला दिसामुक्त राष्ट्र घोषणा हुनेमा पहिलो हुँदैछ । असोज १३ गते प्रधानमन्त्री केपी शर्मा ओलीबाट नेपाललाई खुला दिसामुक्त राष्ट्र घोषणा गर्ने तयारी पूरा भईसकेको खानेपानी मन्त्रालयले जनाएको छ । मन्त्रालयद्वारा शुक्रबार सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा नेपाललाई खुला दिसामुक्त राष्ट्र घोषणा गर्ने सम्पूर्ण तयारी पुरा भईसकेको बताइएको हो । पत्रकार सम्मेलनमा बोल्दै खानेपानी मन्त्री बिना मगरले यसै आर्थिक वर्षभित्र नेपाललाई खुला दिसामुक्त राष्ट्र घोषणा गर्ने सरकारको नीति तथा कार्यक्रम रहेकाले त्यो लक्ष्य पूरा भएको बताइन् । मन्त्री मगरले आउँदो असोज १३ गते नेपाल खुला दिसामुक्त राष्ट्र घोषणा हुने जानकारी दिइन् । ‘ नेपाल दक्षिण एसियाको पहिलो खुला दिसामुक्त राष्ट्र बन्नेछ ।’ मन्त्री मगरले कार्यक्रममा भन्नुभयो, ‘सुन्दा अचम्म लागेपनि यसको महत्व के हो भनेर बुझ्नु जरुरी छ । नेपाललाई खुला दिसामुक्त घोषणा गरिसकेपछि हामी पूर्ण सरसफाइको अभियान तर्फ अग्रसर हुनेछौं ।’ मन्त्री मगरले नेपालका ७७ वटै जिल्लाहरु खुला दिसामुक्त घोषणा भइसकेको जानकारी गराइन् । उनले २०६८ सालमा सुरु भएको सरसफाइ गुरुयोजनासँगै खुला दिसामुक्त क्षेत्र घोषणा अभियानले व्यापकता पाएर आज नेपाल नै खुला दिसामुक्त राष्ट्र हुने स्थितिमा पुगेको भन्दै खुसी व्यक्त गरिन् । ‘ हामीले २०६८ सालमा सुरु गरेको खुला दिसामुक्त मुलुक बनाउने अभियान सफल सावित भएको छ ।’ मन्त्री मगरले थप स्पष्ट पार्दै भन्नुभयो, ‘यो अभियानमा सरकारको भन्दा नेपाली जनता र मिडियाको भूमिका धेरै छ । यो कुरा अरु देशका लागि पनि प्रेरणादायी हुन सक्छ ।’ कार्यक्रममा खानेपानी मन्त्रालयका सचिव माधव बेल्बासेले खुला दिसामुक्त अभियान स्वास्थ्यसँग जोडिएकाले यसको महत्वलाई सामान्यीकरण गर्न नहुने बताए । सचिव बेल्बासेले जनताको प्रत्यक्ष लगानीले नै यो अभियान सम्भव भएको स्पष्ट पारे । पत्रकार सम्मेलनमा मन्त्रालयले जारी गरेको विज्ञप्ति अनुसार हालसम्म देशका कूल ५६ लाख ६० हजार २ सय १४ घरधुरीहरुमा शौचालयहरु बनिसकेका छन् । ‘अहिले नेपालका करिब सबै घरधुरीहरुमा सरसफाइको आधारभूत सुविधा एवं शौचालयको पहुँच पुगेको छ । देशका ७७ वटै जिल्लाहरु खुला दिसामुक्त भईसक्दा हामीले अपेक्षा गरेको लक्ष्य हासिल गरेका छौं ।’ सहसचिव रितेशकुमार शाक्यद्वारा जारी गरिएको विज्ञप्तिमा भनिएको छ । नेपाल खुला दिसामुक्त राष्ट्र घोषणा भएलगत्तै त्यसको दुई दिन पछि छिमेकी मुलुक भारतले पनि आफूलाई खुला दिसामुक्त मुलुक घोषणा गर्न लागेको छ । कति बने शौचालय ? २०६८ सालमा सरसफाइ गुरुयोजना बनेपछि खुला दिसामुक्त अभियान सुरु भएको हो । यो अभियानले शून्य अनुदानमा घरघरमा शौचालय बनाउने कामलाई कार्यान्वयन गर्यो । नागरिकको पूर्ण लगानी र सहभागितामा यो अभियान सफल भएको राष्ट्रिय सरसफाइ तथा स्वच्छता समन्वय समितिले जनाएको छ । समितिका अनुसार हाल देशभर ५६ लाख ६० हजार २१४ घरधुरीमा शौचालय बनेका छन् । प्रदेश १ मा ९ लाख ६५ हजार २७२ र प्रदेश २ मा ९ लाख ३३ हजार ६ सय ४९ घरधुरीमा शौचालय बनेका छन् । त्यस्तै प्रदेश ३ मा १६ लाख २२ हजार १९३, गण्डकी प्रदेशमा पाँच लाख ४८ हजार २१०, प्रदेश ५ मा सात लाख ९३ हजार ९९०, कर्णाली प्रदेशमा तीन लाख सात हजार ९६५ र सुदूरपश्चिम प्रदेशमा ४ लाख ८९ हजार १२ घरधुरीमा शौचालय बनेका छन् ।

एनसीसी बैंकद्वारा अपाङ्ग बाल अस्पताललाई २५ लाख आर्थिक सहयोग प्रदान

काठमाडौँ । एनसीसी बैंकले प्रदेश नं. ३, काभे्र जिल्लाको बनेपा स्थित अपाङ्ग बाल अस्पताल तथा पुनस्र्थापना केन्द्रलाई बिहीबार पच्चीस लाख बयालिस हजार एक सय नब्बे रुपैयाँ आर्थिक सहयोग प्रदान गरेको छ । अपाङ्ग बाल अस्पताल तथा पुनस्र्थापना केन्द्रलाई अतिविपन्न समुदायका अपाङ्गता भएका बालबालिकाहरुलाई चिकित्सा सहयोग गर्नको निम्ति बैंकको संस्थागत सामाजिक उत्तरदायित्व अन्र्तगत उपलब्ध गराईएको बैंकले जनाएको छ । उक्त रकमको चेक एनसीसी बैंकका संचालक समितिका अध्यक्ष उपेन्द्रकेशरी न्यौपानेले अपाङ्ग बाल अस्पताल तथा पुनस्र्थापना केन्द्रका प्रबन्ध निर्देशक डा. विवेक बास्कोटालाई हस्तान्तरण गरेका हुन् ।

होटल व्यवसायी सङ्घद्वारा सीमा नाकामा भारतीय पर्यटकको स्वागत

कैलाली । विश्व पर्यटन दिवसको अवसरमा कैलालीको त्रिनगर भन्सार सीमा नाकामा भारतबाट आउने पर्यटकलाई आज स्वागत गरिएको छ । कैलाली उद्योग वाणिज्य सङ्घ र कैलाली होटल व्यवसायी सङ्घको संयुक्त आयोजनामा भारतको पलिया व्यापार मण्डलका अध्यक्षलगायतको टोलीलाई फूलमाला तथा खादा ओढाइ स्वागत गरिएको हो । स्वागतका क्रममा पलिया व्यापार मण्डलका अध्यक्ष अनुप मिश्राले नेपाल र भारत बीचको भाइचाराको सम्बन्ध रहेकाले आफूबाट हुनसक्ने सक्दो सहयोग गर्न तत्पर रहेको बताए । साथै उनले नेपाल सरकारले मनाइरहेको ‘पर्यटन भ्रमण वर्ष २०२०’ एकदमै राम्रो र शोभनीय कार्यक्रम रहेको विचार व्यक्त गरेका छन् । सहजीकरणको व्यवस्थापन आवश्यक सुदूरपश्चिम प्रदेशमा रहेका पर्यटकीय क्षेत्रको प्रवद्र्धनका लागि पर्यटकलाई गन्तव्य स्थानसम्म पुग्नका लागि सहजीकरण वातावरणको व्यवस्थापन गरिनु आवश्यक रहेको कार्यक्रममा सहभागीले बताएका छन् । कैलाली उद्योग वाणिज्य सङ्घद्वारा आज धनगढीमा आयोजत विश्व पर्यटन दिवसको अवसरमा पर्यटन प्रवद्र्धनसम्बन्धी अन्तक्रिया कार्यक्रममा सहभागीले आन्तरिक तथा बाह्य पर्यटकको आवागमनलगायतका व्यवस्थापन प्रणालीमा सहजीकरण गरेर मात्रै पर्यटकीय क्षेत्रहरुको प्रवद्र्धन गर्न सकिने सुझाव दिएका हुन् । सहभागी वक्ताले धार्मिक तथा सांस्कृतिक सम्पदाहरुलाई आस्थाका केन्द्रविन्दुमा राखी प्रचार–प्रसार गर्नुपर्ने, पर्यटकका लागि पर्यटकीयस्थलसम्म पुग्न सकिने राम्रो बाटोघाटो, गाँसबासलगायत उचित व्यवस्थापन गर्नुपर्ने बताएका छन् । त्यसैगरी भारतीय पर्यटक तथा पलिया व्यापार मण्डलका अध्यक्ष अनुप मिश्राले पर्यटकको सहजताका लागि सीमानाकामा हेल्पडेस्क राखिनुपर्ने बताउनुहुँदै अनावश्यक जाँचलगायतका हैरानी हटाउन आग्रह गरेका छन् । कार्यक्रममा कैलाली उद्योग वाणिज्य सङ्घका उपाध्यक्ष पुष्कर ओझाले पर्यटनको प्रचुर सम्भावना रहेको सुदूरपश्चिम प्रदेशको पर्यटन प्रवद्र्धनको विकासका लागि स्थानीय र प्रदेश सरकारसँग हातेमालो गरी अघि बढ्नु आवश्यक रहेको बताए । रासस

सिटी सेन्टरले घोषणा गर्यो ‘दशैँ बोनाञ्जा’ अफर, लक्की ड्र मा टीभीएस मोटरसाइकल जित्ने मौका

काठमाडौँ । दशैँ पर्वको अवसरमा सिटी सेन्टर कमलपोखरी काठमाडौँले ‘दशैँ बोनाञ्जा’ अफर घोषणा गरेको छ । यो अफर अन्तरगत ग्राहकरुले सामान खरिदमा विशेष छुट पाउने छन् । उक्त अफर अन्तरगत सिटी सेन्टरमा कुनैपनि सामान किन्ने ग्राहकहरु लक्की ड्र मा सहभागी हुने छन् । लक्की ड्र का भाग्यशालीहरुले प्रथम पुरस्कार स्वरुप टीभीएस आरटीआर १५० सीसी, द्वितीय पुरस्कार टीभीएस जुपिटर ११० सीसी, तृतीय पुरस्कार ४३ ईञ्चको एलईडी टीभी(२जनालाई), चौथो पुरस्कार डबल डोर रेफ्रिजेटर, पाँचौँ पुरस्कार फ्रण्ट डोर वासिङ मेसिन र छैठौँ पुरस्कार भ्याकुम क्लिनर, हलोजेन हिटर र आइरन जित्न सक्नेछन् ।