विकासन्युज

बैंक र रेमिट ह्याक प्रकरणः थप तीन आरोपी पक्राउ

काठमाडौँ । कृषि विकास बैंक र पानस रेमिटको सफ्वेयर ह्याक गरेर पैसा निकालिएको घटनामा संलग्न रहेको आरोपमा प्रहरीले थप तीन जनालाई शुक्रबार पक्राउ गरेको छ । महानगरीय अपराध नियन्त्रण महाशाखाका अनुसार कञ्चनपुरबाट यज्ञराज भट्ट, पर्वतबाट मालतीदेवी न्यौपाने र काठमाडौँबाट गणेशप्रसाद बस्याललाई पक्राउ गरिएको हो । बैंकबाट भट्टको खातामा रु ४५ लाख र न्यौपानेको खातामा रु २८ लाख हालेको फेला परेपछि अनुसन्धानका लागि उनीहरुलाई पक्राउ गरिएको महाशाखाले जनाएको छ । बिहीबार पक्राउ परेका प्रतीक्षा निर्माण सेवाका प्रोपाइटर रामकृष्ण भुसालको बयानका आधारमा बस्याललाई पक्राउ गरिएको महाशाखाका प्रवक्ता प्रहरी उपरीक्षक केदार ढकालले जानकारी दिए । भुसालको बैंक खातामा रु ६५ लाख जम्मा भएको पाइएको प्रहरीले जनाएको छ । महाशाखाको टोलीले पानस रेमिट र कृषि विकास बैंकको सफ्टवेयर ह्याक गरेर पैसा निकाल्ने कार्यमा संलग्न रहेको १२ जनालाई आइतबार पक्राउ गरी अनुसन्धान गरिरहेको छ । प्रहरीका अनुसार उनीहरुले कृषि विकास बैंकबाट सफ्टवेयर ह्याक गरी रु चार करोड ७३ लाख ९६ हजार विभिन्न व्यक्तिको नाममा पैसा पठाएको तथा पानस रेमिट नयाँ बानेश्वरबाट रु १२ लाख निकालेका थिए । रु १० लाख हुण्डीमार्फत विदेशी ह्याकरलाई पैसा पठाए पनि अन्य पैसा पठाउन भ्याएका थिएनन् । प्रहरीले रु ६० लाख बरामद गरिसकेको छ । यसका मुख्य योजनाकार अफ्रिकी मूलका पिटर रहेको र उनले भारतमा बसेर योजना बनाई नेपाली एजेण्टलाई प्रयोग गरेका खुल्न आएको महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक सहकुलबहादुर थापाले जानकारी दिए ।

गैरीधारामा इसुजुको नयाँ सोरुम सञ्चालनमा

काठमाडौं । राजधानीको गैरीधारामा जापानी गाडी इसुजुको नयाँ सोरुम खुलेको छ । नेपालका लागि इसुजु गाडीको अधिकृत वितरक कन्टिनेन्टल ट्रेडिङ इन्टरप्राइजेज प्रालिले सञ्चालनमा ल्याएको उक्त सोरुमको नेपालका लागि जापानी राजदूत मासामिची साइगोले शुक्रबार उद्घाटन गरेका हुन् । यो नेपालमा इसुजुको ११औं सोरुम हो । उद्घाटन समारोहमा इसुजु इन्डियाका डेपुटी म्यानेजिङ डाइरेक्टर केन ताकासिमाको पनि उपस्थिति थियो । सोरुम उद्घाटन समारोहलाई सम्बोधन गर्दै कन्टिनेन्टलका चेयरम्यान सुहृदराज घिमिरेले उक्त कम्पनीले इसुजुका चार मोडलका गाडी नेपाल भित्र्याएको जानकारी गराए । । इसुजुका ग्राहकलाई गाडी बिक्रीपछि प्रभावकारी सेवा र पार्टपुर्जा उपलब्ध गराउन कम्पनीले देशभरीमा १५ वटा वितरण तथा सर्भिस नेटवर्क विस्तार गरिसकेको पनि घिमिरेले बताए । वितरण र सर्भिस नेटवर्क अझै विस्तार गर्दै जाने कम्पनीको योजना छ । इसुजुका गाडीहरु निकै बलिया मानिन्छन् । सन् २०१७ यता कम्पनीले नेपालमा हजारभन्दा बढी गाडी बेचिसकेको र ग्राहकहरु निकै सन्तुष्ट रहेको पाइएको छ । कन्टिनेन्टलले नेपालमा इसुजुका दुई हजार गाडी बेच्ने लक्ष्य राखेको छ । त्यसका लागि देशभर सर्भिस सेन्टर खोल्ने र नयाँ मोडलका गाडीहरु ल्याउने कम्पनीको योजना छ । हाल नेपालमा उपलब्ध इसुजुका गाडीमा सुरुआती मूल्य २४ लाख ९० हजार तोकिएको सिंगल क्याब, ४४ लाख ९० हजार पर्ने एस क्याब, ६८ लाख ९० हजार पर्ने भी–क्रस २.५ र जिप भेरिएन्टको एसयुभी मक्स गाडी छन् । मक्सको मूल्य एक करोड ४४ लाख ९० हजार तोकिएको छ । इसुजु नेपालमा सबैभन्दा बढी वारेन्टी दिने ब्रान्डमा पर्छ । इसुजुका सबै मोडलमा तीन वर्ष वा एक लाख किलोमिटरको वारेन्टी छ । डिजेल इन्जिनमा इसुजु विश्वविख्यात कम्पनी हो । यसका डिजल इन्जिनहरु असाध्यै बलिया मानिन्छन् । ग्राहकको सन्तुष्टिलाई उच्च प्राथमिकता दिएर कारोबार गर्ने कम्पनीको प्रतिबद्धता छ । इसुजुको भारत र थाइल्यान्ड प्लान्टमा एसेम्बिङ भएका गाडी कन्टिनेन्टलले नेपालमा बिक्री–वितरण गर्छ । कन्टिनेन्टल ट्रेडिङ इन्टरप्राइजेजले यो वर्षभित्रै सर्भिस नेटवर्क १९ बनाउने र अर्को वर्षसम्ममा प्रत्येक ५० देखि १०० किलोमिटरको दुरीमा एउटा सर्भिस प्वाइन्ट खोल्ने व्यवस्था मिलाइरहेको छ ।

दशैँमा घर जाने अग्रिम टिकट काट्दाको सास्ती, बसपार्क अव्यवस्थित

काठमाडाैं ।  बिहिबार बुटवलकी प्रतिभा पोख्रेल टिकट काट्नै बसपार्कमा दुई घण्टा लाईन लागिन् । उनले लाईनमा दुई घण्टाको चर्को घाम मात्र सहिनन् सँगै लाईनमा लागेकी उनले अगाडि–पछाडिका पुरुषबाट दुव्र्यबहार पनि सहिन । ‘पन्ध्र गते जसरी नि घर जानुछ’ रुमालले मुख पुछ्दै उनले भनिन-जति समस्या भए पनि लाईनमा बस्नै पर्यो, महिला पुरुषको छुट्टाछुट्टै लाईन भए सहज हुन्थ्यो, तर यहाँ त भद्रगोल छ ।’ उनले थपिन- पछाडी आएको मान्छे के-के गरेर टिकट काटेर गईहाल्छ, लाईन लागेको मान्छे लाईनमै हुन्छ । यस्तै दशैँकै लागि अग्रिम टिकट काट्न बसपार्क पुगेकी भैरहवाकी रेणु शर्माको पनि प्रतिभाको जस्तै गुनासो थियो । साढे दश बजे टिकटका लागि लाईनमा बसेकी उनले साढे १ बजे टिकट पाईन् । तीन घण्टा लाईनमा लागेको गुनासो सुनाउँदै उनले कतिपयले लाईनमा नियतवस ठेलठाल र पेलपाल गर्ने गरेको बताईन् । उनले महिला र पुरुषको लाईन छुट्टाछुट्टै हुनु पर्ने अवस्थामा बसपार्क जस्तो सार्वजनिक ठाउँमा पनि एउटै लाईन लगाउँदा महिलाई समस्या हुने गरेको बताईन् । उनले भनिन-‘एकातिर त्यति लामो समय लाईनमा लाग्दाको दु.ख अर्को तर्फ लाईनको ठेलाठेल र पेलपालले पनि महिलाहरुलाई मानसिक यातना सहनु पर्ने बताईन् । महिलाहरुले बसपार्कमा महिला पुरुषको छुट्टा छुट्टै लाईन नहुँदा विभिन्न सास्तीहरु भोग्नु परेकोे गुनासो गरे । यस्तै उमेश कुँवरले काउण्टरमा गएर गाईघाटको टिकट मूल्य सोधे । उनलाई काउण्टरवालाले एक हजार दिनु भने पछि उनि टिकट नकाटी अर्को काउण्टरतर्फ लागे । अर्को काउण्टरवालाले नौ सय दिनु भनेपछि उनले गाईघाटको टिकट लिए । यस्ता अनेकौं समस्या र घटनाहरु अहिले बसपार्कमा सिर्जना हुँदै आएका छन् । सुरक्षा निकाय र यातायात व्यवसायीहरु भने लागे रहो मुन्ना भाई भने जसरी टारी रहेका छन् । महानगरीय प्रहरी प्रभाग नयाँ बसपार्कका प्रहरी निरीक्षक मुनेन्द्र थापाले आफुहरु महासंघ सँग समन्वय गरेर गाडी व्यवस्थापनमा लागेको बताए । ‘पहिले छुट्टाछुट्टै लाइन बनाउने सोच थियो उनले भने, पछिल्लो समयमा मान्छेहरुको भिड कम हुन थालेपछि र त्यति ठाउँ पनि नभएकोले दुईटा लाईन नगरेको हो ।’ गाडी भाडाको विषयमा काउण्टरवालाले तलमाथि गरे सिधैं कार्बाही गर्ने उनले बताए । उनले नर्मल बस भन्दा एसी र डिलक्स बसको भाडादर बढि लाग्ने भएका कारण यात्रु झुक्किने गरेको जानकारी दिए । हाल व्यवसायीहरुले डिलक्सको २० प्रतिशत र एसीको बसको ४० प्रतिशत बढि भाडा लिने गरेका छन् । ४६ हजारले लिए टिकट महानगरीय प्रहरी प्रभाग नयाँ बसपार्कका प्रहरी निरीक्षक मुनेन्द्र थापाले बिहिबार बेलुका सम्म ४६ हजार एक सय ५७ जनाले टिकट काटेको बताएका छन् । असोज पाँच गते देखि यातायात व्यवस्था विभागले दशैंको लागि अग्रिम टिकट बुकिङ खोलेको थियो । यातायात व्यवस्था विभागका महानिर्देशक गोगनबहादुर हमालले दशैंमा यात्रुलाई कुनै पनि समस्या र टिकटको अभाव नहुने बताईरहँदा यात्रुहरुले भने टिकट नपाउने गरेको गुनासो गरेका छन् । यातायात व्यवसायीहरु भने १९ गते सम्मको लागि नै टिकट सकिसकेको बताउँछन् । विभिन्न ठाउँबाट बसपार्कमा टिकट काट्न गएकाहरुको बसपार्कमा टिकट नपाएर अलपत्र पर्ने गरेका छन् । यता नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौलाले व्यवसायीले बस थप्ने योजना नबनाएको बताए । ‘बस थप्दैमा समस्याको समाधान हुने होइन’उनले भने,नागढुङ्गा सडकमा लामो समय जाममा पर्दा बसहरु समयमै बसपार्क आउन सकेका छैनन्, बस कहिले बसपार्क पुग्छन् टुङ्गो छैन, बस समयमै नफर्के पछि लाईनमा बस्नेलाई टिकट दिन पनि गाह्रो भइरहेको छ ।’

रनर मोटरसाइकलका नौ मोडलः मूल्य कति ? के छ दशैं अफर ?

काठमाडौँ । बंगलादेशी मोटरसाइकल उत्पादक कम्पनी ‘रनर मोटरसाइकल’ को नेपालका लागि आधिकारिक विक्रेता रमण मोटर्स प्रालिले नेपालमा उक्त ब्राण्डका ८० सीसीदेखि २०० सीसीसम्मका मोटरसाइकल र ११० सीसीको स्कुटर विक्री गर्दै आइरहेको छ । कम्पनीले जनाए अनुसार एक लाख ५२ हजार रुपैयाँ देखि लिएर तीन लाख ९९ हजार रुपैयाँसम्म मूल्य पर्ने मोटरसाइकल तथा स्कुटर नेपाली बजारमा विक्री हुँदै आइरहेका छन् । कम्पनीका विभिन्न ९ मोडेलहरु मध्येको ‘रनर हक’ नामक २०० सीसी अफरोड मोटरसाइकललाई ग्राहकले अत्यन्तै रुचाएको पाइन्छ । यस्तो छ मूल्य सूचि: रमण मोटर्सले दशैं, तिहार तथा छठको उपलक्ष्यमा फेस्टिभल अफर पनि सार्वजनिक गरेको छ जसअन्तर्गत रनर मोटरसाइकलका कुनैपनि मोडेलको खरिदमा रु. २० हजारसम्म नगद छुट पाइनेछ । त्यसैगरी छठपर्व सम्ममा बाइक अथवा स्कुटर खरिद गर्ने प्रत्येक १०० जनामध्ये एकजना भाग्यशाली विजेताले बंगलादेशको रनर फ्याक्ट्री घुम्ने अवसर पाउने कुरा रमण मोटर्सका विजनेश डेभलपमेन्ट हेड सन्तोष न्यौपानेले बताएका छन् । देशभर गरी करिव २५ स्थानमा डिलर रहेको रमण मोटर्सले सर्भिस र स्पेयर पार्टसको सुविधा, एक्सचेन्जमा उत्कृष्ट मूल्याङ्कन र स्पट फाइनान्स सुविधा सहित विगत केहि वर्षदेखि नेपाली बजारमा मोटरसाईकल तथा स्कुटर बिक्री गर्दै आइरहेको छ ।

९ दिनमा नै ९१ वटा पसल अनुगमन, साढे ६ लाख जरिवाना

काठमाडौं । वाणिज्य आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागले असोज महिनाको ९ दिनमा नै ९१ वटा पसलमा अनुगमन गरेको छ । १ गते देखि ९ गतेसम्म गरेको ९१ वटा पसल मध्य २५ वटालाई कार्वही गरी ६ लाख ३० हजार जरिवाना गरेको छ । साउनको सुरुवातदेखि नै बजार अनुगमन गर्न थालेको विभागले झण्डै डेढ महिनामा विभिन्न स्थानका ४ सय पसलमा अनुगमन गरेको हो । अनुगमन गरिएका ४०१ पसलमध्ये १ सय ७४ पसललाई जरिवाना गरिएको विभागले जनाएको छ । साउनदेखि असोज ९ गतेसम्म २४ लाख ४७ हजार जरिवाना गराएको छ । अनुगमनको क्रममा उपभोक्तालाई धेरै ठगेका ४५ वटा पसलमा शिलबन्दी तथा कारोबार नै रोक्का छ । २ वटालाई भने मुद्दा दायर गरेको छ । उद्योग, वाणिजय तथा आपूर्ति मन्त्री मात्रृकाप्रसाद यादवले सरकारी संस्थानहरुको समन्वयमा ७३ स्थानमा सहुलियत मुल्य पसल सञ्चालन गरिएको बताए । उनले भने–‘असोज १३ गतेदेखि भेँडा च्याङ्ग्रा तथा खसीबोका बिक्री समेत सुरु हुनेछ ।’

सरकारले रुग्ण उद्योग नबेच्ने, निजी क्षेत्रसंग मिलेर सञ्चालन गर्ने

काठमाडौं । सरकारले रुग्ण बनेर बसेका सबै उद्योगहरु निजी क्षेत्रसँग मिलेर सञ्चालन गर्ने भएको छ । ७ वटा रुग्ण उद्योगहरुलाई सरकारले सञ्चालन गर्ने प्रक्रिया अगाडि बढाएको हाे । हेटौंडा कपडा उद्योग, बुटवल धागो कारखाना, गोरखकाली रवर उद्योग र ओरियन्टल म्याग्नेसाइट, वीरगंज चिनी कारखाना, वीरगंज चुरोट कारखाना र विराटनगरको रगुपती जुटमिललाई सरकारले सञ्चालन गर्ने भएको हो । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृका यादवले ७ वटा उद्योग सञ्चालनको लागि प्रकृया अघि बढिसकेको जानकारी दिए । उनले भने-रुग्ण बनेर बसेको उद्योग सञ्चालनको लागि निजी क्षेत्र र विदेशी लगानीकर्ताले सञ्चालन गर्न मागिरहेको छन, तर सरकारले निजी क्षेत्रसँग मिलेर सञ्चालन गर्ने बताए । ‘हामी कुनै पनि रुग्ण उद्योग बेच्चे पक्षमा छैनाै‌‌‌‌, सरकारले बरु निजी क्षेत्रलाई लिजमा दिन्छौ‌‌’- उद्योगमन्त्री यादवले भने । सरकारले सञ्चालन गर्न हेटौंडा कपडा उद्योग र बुटवल धागो कारखाना मन्त्रिपरिषद्बाट फिर्ता आएको थियो । अर्थमन्त्री डा. युवराज खतिवडा र अर्थमन्त्रालयको सल्लाहमा फेरि प्रस्ताव बनाएर मन्त्रिपरिषद्मा पेश गरिनेछ । मन्त्रिपरिषदबाट गरी सञ्चालनको प्रक्रिया अगाडि बढ्ने बताए ।

आन्तरिक उडानका सबै वायुसेवा कम्पनीले जेष्ठ नागरिकलाई ५० प्रतिशत छूट दिने

काठमाडाैं । आन्तरिक उडानका सबै वायुसेवा कम्पनीले विपन्न वर्गका जेष्ठ नागरिकलाई मात्र भाडामा ५० प्रतिशत छूट दिने भएका छन् । वायुसेवा संचालक संघको बिहीबार बसेको बैठकले विपन्न जेष्ठ नागरिकलाई मात्र छूट दिने र्णिय गरेको हो । छूट हवाई भाडाको सबैभन्दा माथिल्लो दरबाट मात्र लागु हुने र ठूला विमानस्थलमा प्रतिदिन प्रतिसेक्टरमा २ जना विपन्न जेष्ठ नागरिकलाई मात्र यो सुविधा उपलब्ध गराउने संघका अध्यक्ष क्या रामेश्वर थापाले जानकारी दिए  । साना विमानस्थलमा भने प्रतिदिन प्रतिसेक्टर १ जनाका लागि मात्र यस्तो सुविधा उपलब्ध हुने भएको छ । अब जेष्ठ नागरिकले छूट पाउन भने हवाई कम्पनीको काउन्टर मै उपस्थित भई आफू विपन्न भएको स्वघोषणा गर्नुपर्ने शर्त कम्पनीहरुले राखेका छन् । यसअघि नेपाल एयरलाइन्सले सबै आन्तरिक उडानमा ५० प्रतिशत छूटको घोषणा गरेको थियो । श्री एयरले समेत ८५ वर्ष भन्दा माथिका नागरिकलाई मात्र ५ सय र ७५ वर्षभन्दा माथिका दुई जनालाई एक उडानमा छूट घोषणा गरेको थियो । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले ७० वर्षभन्दा माथिका सबै नागरिकलाई आन्तरिक हवाई भाडामा ५० प्रतिशत छूटको घोषणा गरेका थिए ।

मासुको मूल्य नघटाए सरकारले नै सुपथमूल्यमा खसीबोका बिक्री गर्ने

काठमाडौं । मासु व्यापारीहरूले बजारमा आफ्नो मनोमानी तरिकाले मासुको मूल्य निर्धारण गरी बिक्रि गरिरहेका छन् । बजारमा मासु पसलै पिच्छे मासुको मूल्य फरक फरक देख्न सकिन्छ । भारतबाट खसीबोका आयात रोकिएपछि नेपालमा खसीबोकाको मूल्य एकाएक वृद्धि भएको हो । अहिले बजारमा १ हजार देखि १३ सय रुपैयाँसम्म खसीको मासुको मूल्य सूची नै राखेर व्यापारीहरूले बिक्रि गरिरहेका छन् । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री मातृकाप्रसाद यादवले शुक्रबार उद्योग मन्त्रालयमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै मासुको मूल्य व्यापारीहरूले मनोमानी तरिकाले बढाएको र उपभोक्ताहरू मारमा परेको बताए । शनिबार मासु व्यावसायीहरूसँग बसेर के कारणले मासुको मूल्य बढेको भनेर छलफल गर्ने बताए । उनले भने दशैंको मुखैमा व्यापारीले किन मूल्य बढाए यसको कारण वा तथ्यांक चाहिने बताए । नेपालमा राँगा र भैसीको मासुमा केहि अभाव भैरहेको छ त्यसका लागि पनि सरकारले छलफल गर्छ । नेपाल खसीबोकामा आत्मनिर्भर भइसकेका बेला पनि व्यापारीले हाहाकार मच्याएर बजारमा खसीबोकाको अभाव देखाइरहेका छन् । हामीले व्यावसायीहरूलाई भोलि नेपालमा खसीबोकाको आत्मनिर्भर भइसकेको बेला पनि किन मासुको मूल्य वृद्धि गरेको भनेर सोेध्ने बताए ।