साताको शेयर बजार : अर्बको हाराहारीमा कारोवार
काठमाडौं । धितोपत्र बजारमा साता अपेक्षाकृतरुपमा बजारले गति लिन सकेन । निरन्तर ओरालो लागेको कारोवार मापनक नेप्से परिसूचक एक दिन मात्रै थामियो । अन्य दिन भने नेप्सेले आरोलो यात्रा नै कायम गर्यो । धेरैले यसलाई चाडबाडको असरका रुपमा समेत चित्रण गरेका छन् । चाडबाड शुरु हुन लागेका कारण नेप्से मात्रै नभई कारोवार रकममा समेत गिरावट आई बजार एक हजार १२९ को विन्दुमा झरेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कूल १७१ कम्पनीको ४० लाख ४१ हजार ९१९ कित्ता शेयर कारोवार भयो । कारोवार भने अर्बको हाराहारीमा मात्रै रह्यो । कूल रु एक अर्ब १९ लाख ७० हजार ८५७ बराबरको भएको स्टकले जानकारी दिएको छ । साताको पहिलो दिन नै शेयर कारोवार मापक नेप्से परिसूचक ओरालो लाग्यो । सो दिन नेप्से १६.०५ बिन्दु अर्थात् १.३९ प्रतिशतले घटेर एक हजार १३९.२५ बिन्दुमा पुग्यो । कूल १६६ कम्पनीको आठ लाख ४८ हजार ६६२ कित्ता शेयर रु २२ करोड ६९ लाख ५० हजार २३८ मूल्यमा खरीद बिक्री भए । साताको दोस्रो नेप्से परिसूचक झिनो अङ्कले बढ्यो । सो दिन नेप्से परिसूचक १.७३ अङ्कले बढेर एक हजार १४०.९८ मा पुग्यो । कूल १७० कम्पनीको सात लाख ४३ हजार ३१५ कित्ता शेयर रु १७ करोड ७२ लाख ७९ हजार ३९ मा खरीद बिक्री भए । साताको तेस्रो दिन नेप्से परिसूचक पुनः ओरालो लाग्यो । सो दिन नेप्से परिसूचक ६.४२ बिन्दुले घटेर एक हजार १३४।५६ बिन्दुमा झर्यो । कूल १७१ कम्पनीको आठ लाख ७३ हजार ७९ कित्ता शेयर रु २१ करोड ८२ लाख ७८ हजार ४४९ मूल्यमा खरीद बिक्री भए । बुधबार पनि नेप्सेको ओरोलो यात्रा कायम रह्यो । सो दिन नेप्से परिसूचक ३.०३ अङ्कले घटेर एक हजार १३१.५३ मा पुग्यो । कूल १६६ कम्पनीको सात लाख ७७ हजार ७३५ कित्ता शेयर रु १६ करोड ६९ लाख २१ हजार ७७९ मा खरीद बिक्री भए । साताको अन्तिम दिन पनि नेप्सेको ओरालो यात्रा आज पनि कायम रह्यो । सो दिन नेप्से १.७३ बिन्दुले घटेर एक हजार १२९.८० बिन्दुमा पुग्यो । नेप्से आरोलो लाग्दा कारोवार रकमसमेत सस्तैमा समेटिएको छ । कूल १६८ कम्पनीको सात लाख ९९ हजार १२८ कित्ता शेयर रु २१ करोड २५ लाख ४१ हजार ३५२ मूल्यमा खरीद बिक्री भए । यस साता पनि बजार पूँजीकरणका आधारमा नेपाल दूरसञ्चार कम्पनी नै शीर्ष स्थानमा रह्यो । नवील बैंक, नेपाल इन्भेस्टमेन्ट बैंक, एभरेष्ट बैंक, स्ट्याण्र्डड चार्टड बैंक, नेपाल लाइफ इन्स्योरेन्स कम्पनी, हिमालयन बैंक, कृषि विकास बैंक, एनएमबी बैंक र एनआइसी एशिया बैंक क्रमशः शीर्ष स्थानमा रहे । स्टकमा यस साता विभिन्न चार कम्पनीका शेयर सूचीकृत भए । त्यसमा लुम्बिनी विकास बैंकको ३७ लाख ७१ हजार ९७२ कित्ता शेयर लाभांश, सिद्धार्थ म्युअल फण्डको १२ करोड एकाइ साधारण शेयर, सिद्धार्थ इन्स्योरेन्सको १३ लाख ४० हजार ८१६ कित्ता शेयर लाभांश र सगरमाथा इन्स्योरेन्स कम्पनीको ४६ लाख २९ हजार ३१० कित्ता शेयर लाभांश सूचीकृत भएका छन् । रासस
नेपालका उपभोक्ता भारतीय बजारमा
काठमाडौं । व्यापारीले प्रतिस्पर्धात्मक व्यापार गर्न नसक्दा नेपाली उपभोक्ता भारतीय बजार रुपैडिया जाने गरेका छन् । सरकारी निकायको उदासिनता र व्यापारीको उपभोक्ता आकर्षण गर्ने प्रतिस्पर्धात्मक व्यापार गर्न नसक्दा नेपाली उपभोक्ताको आकर्षण बढ्न नसकेको उपभोक्ता हित संरक्षणमञ्च बाँकेका अध्यक्ष वसन्त गौतम बताए । “गुणस्तरीय वस्तु तथा सेवा उपयोग गर्न पाउनु उपभोक्ताको अधिकार हो, भारतीय व्यापारीको तुलनामा नेपालगञ्जका व्यापारीले प्रतिस्पर्धात्मक व्यापार गर्न नसक्नु र रुपैडियामा सस्तोमा पाइन्छ भन्ने भ्रम चिर्न नसक्नु कमजोरी हो”, अध्यक्षले भने, “नेपालगञ्जका व्यापारीमा उपभोक्ता आकर्षण गर्ने व्यवहारिकता भन्दा पनि वस्तु तथा सेवा लाद्ने प्रवृति पनि हानिकारक छ ।” चाडपर्व मात्र होइन, अन्य समयमा पनि दैनिक उपभोग्य सामग्रीका लागि नेपाली उपभोक्ता भारतीय बजार रुपैडियामै निर्भर रहने गरेका छन् । नेपालगञ्जमै सस्तो पाइने सामान किन्न समेत नेपाली उपभोक्ता भारतीय बजारमा जाने गरेका छन् । हिन्दूहरूको मुख्य पर्व दशैं शुरू भए पनि नेपालगञ्ज बजार सुनसान छ । तर, सीमा पारी भारतीय बजार रुपैडियामा दशैंँको किनमेल गर्न नेपाली उपभोक्ताको चहलपहल बढेको छ । घरायसी उपभोगका सामानसँगै चाडपर्वका लागि आवश्यक पर्ने खानेकुरा र लत्ताकपडा खरीदका लागि दैनिक सयौंको सङ्ख्यामा स्थानीयवासी सीमावर्ती बजारतिर जाने गरेका छन् । चाडवाडका समयमा कालोबजारी, चर्को महङ्गी, अनियन्त्रित मूल्य र गुणस्तरहीन उपभोग्य सामग्री बिक्री हुने क्रम निरन्तर बढेपछि उपभोक्ता सीमापारिका भारतीय बजारप्रति आकर्षित हुने गरेका छन् । “न मूल्यको ठेगान हुन्छ न उचित सामानको” सीमावर्ती बजारमा किनमेल गर्दै गरेका नेपालगञ्ज उपमहानगरपालिका–१० का किशोर श्रेष्ठले भने, “नेपालगञ्जमा एउटै समानको पसलैपिच्छे फरकफरक मूल्य हुन्छ, सामान पनि गुणस्तरहीन हुने भएकाले सीमा क्षेत्रका बासिन्दा भारतीय बजारप्रति आकर्षित भएका हुन् ।” चाडवाडका समयमा वर्षभरि बिक्री हुन नसकेका उपभोग्य वस्तु र लत्ताकपडा जसरी पनि बिक्री गर्ने व्यवसायीको क्रियाकलापले सीमापारिको रुपैडिया बजारमा नेपालीको घुइँचो लाग्नुको मुख्य कारण भएको बताए । दशैंँको किनमेल गर्न भारतीय बजार रुपैडियामा नेपाली उपभोक्ताको लर्को लागेपछि यतिबेला नेपालगञ्जका व्यापारी चिन्तित् छन् । नेपालगञ्जमात्र नभइ बाँकेका ग्रामीण क्षेत्र र सुर्खेत, दैलेख, जाजरकोट, दाङलगायतका उपभोक्तासमेत किनमेलका लागि भारत जाने गरेका छन् । चिनी, तेल, आलु तथा प्याजमा प्रतिकिलोमा १५ देखि ५० रुपैयाँसम्म सस्तोमा पाइने गरेको दशैंँका लागि सामान किन्न रुपैडिया पुग्नुभएकी खजुरा गाउँपालिका– २ सीतापुरकी चित्रा थापाले भनाई छ । नेपालगञ्ज भन्सारमा भेटिएका कोहलपुर नगरपालिका –८ पिपरीका मोहन खड्काले नेपाली बजारमा अत्यन्त चर्को मूल्यका कारण सीमापारि जान बाध्य भएको गुनासो गरे । स्थानीय मङ्गलीमाया श्रेष्ठको बुझाइमा नेपालगञ्जका व्यापारीले पसलैपिच्छे फरकफरक दरमा सामान बेचेर विश्वास गुमाएका छन् । नेपाली उपभोक्ता नेपालगञ्जमै रोक्ने लक्ष्य उद्योग वाणिज्य सङ्घको प्रत्येक निर्वाचनका बेला चुनावी नारा बन्ने गर्दछ, तर निर्वाचनपछि सेलाउँदै जाने गरेको छ । सङ्घका अहिलेका अध्यक्ष नन्दलाल वैश्यले भने, “हामी सङ्घका तर्फबाट धेरै नै प्रयास गरेका छौं, हाम्रो मात्रै प्रयासले केही हुन सकेको छैन ।” वाणिज्य सङ्घको तथ्याङ्क अनुसार, भारतीय बजार रुपैडियामा नेपाली उपभोक्ताले प्रत्येक दिन करीब पाँच करोड रुपैयाँ बराबरको घरायसी सामान खरीद गर्ने गरेका छन् । गतवर्ष दशैँमा रुपैडिया किनमेल गर्न जाने नेपाली उपभोक्तालाई स्वदेशमै रोक्न वाणिज्य सङ्घलगायत विभिन्न वस्तुगत सङ्घहरुले दशैं सस्तो बजार सञ्चालन गरे पनि सोंचे अनुसार सफल नभएको वितरक सङ्घका अध्यक्ष अमित बस्नेतले बताए । पछिल्लो एक सातायता किनमेल गर्न भारतीय बजार रुपैडियातर्फ जाने नेपाली उपभोक्ताको भीड बढेको जमुनाहस्थित इलाका प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब निरीक्षक माधव रिजालले बताए । दैनिक करीब दुई÷तीन सय नेपाली उपभोक्ता किनमेलका लागि रुपैडिया जाने गरेका जानकारी दिँदै त्यसैले नीतिगत तहबाटै योजनावद्ध रुपमा भन्सार कार्यालय, सम्बद्ध सरकारी कार्यालय र नागरिकसँग सहकार्य गरी नियमित पहल कदमीको खाँचो देखिएको नेपाल उद्योग वाणिज्य महासङ्घका केन्द्रीय सदस्य कृष्णप्रसाद श्रेष्ठको भनाई छ । रासस
भन्सार छलेर ल्याएको ठूलो परिमाणको तयारी कपडा बरामद
काठमाडौं । काठमाडौँको बूढानीलकण्ठबाट प्रहरीले भन्सार छलेर ल्याइएको ठूलो परिमाणको तयारी कपडा बरामद गरेको छ । विशेष सूचनाका आधारमा महानगरीय प्रहरी प्रभाग बूढानीलकण्ठबाट खटिएको प्रहरी टोलीले बिहान अन्दाजी १०ः०० बजे गाडीको हुटमुनी फल्सबटमभित्र लुकाएर ल्याएको अवस्थामा कपडा बरामद गरिएको महानगरीय प्रहरी परिसरका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक उत्तमराज सुवेदीले बताए । वरिष्ठ उपरीक्षक सुवेदीका अनुसार घटनाको अनुसन्धान भइरहेको छ । बूढानीलकण्ठ नगरपालिका– ५ विष्णुमतीमा बा५ ख ६९३९ नं को बसको हुटमुनी सोच्दै नसोचेको ठाउँमा फल्सबटम बनाएर ४० बोरा कपडा राखेर ल्याएको पाइएको महानगरीय प्रहरी प्रभाग बूढानीलकण्ठका प्रहरी निरीक्षक भूपेन्द्र गिरीले जानकारी दिए । भन्सार छलेर ल्याइएको लाखौंँको कपडा बरामद भएको छ, कपडा ल्याउने व्यक्ति र चालक फरार रहेकाले खोजी जारी छ, योजनाबद्ध रुपमा कपडा ल्याइएको पाइयो, अन्य थप अनुसन्धान भइरहेको जनाएका छन् । रासस
पछिल्लो समय महिलाको नाममा भू–स्वामित्व बढ्दै
काठमाडौं । पछिल्लो समय दाङमा पनि महिलाको नाममा भू–स्वामित्व बढ्दै गएको छ । मालपोत कार्यालय घोराहीबाट चालू आर्थिक वर्षको डेढमहिनामा ६२३ महिलाले आफ्नो नाममा जग्गा पास गराएका छन् । समयक्रमसँगै महिला पनि सचेत एवं चनाखो बन्न थालेको भन्दै यसरी जग्गापास गर्ने हिलाको सङ्ख्यामा वृद्धि भएको मालपोत अधिकृत चेतलाल न्यौपानेले जानकारी दिए। “महिला पनि सचेत बन्न थालेका छन्”, उनले भने, “पछिल्लो समय महिलाले आफ्नो नाममा जग्गा पास गर्ने गरेका छन् ।” सरकारले महिला, दलित र ज्येष्ठ नागरिकका नाममा घरजग्गा पास गर्दा २५ प्रतिशत छुटसमेत दिने गरेकाले पनि थप आकर्षण पैदा गरेको बताए । यसरी महिलाको नाममा जग्गा पास हुन थालेपछि महिला हिंसाका घटनापनि न्यूनीकरण हुने गरेका बताइन्छ । साथै मालपोतमा रजिष्टेशन पास गर्नेको सङ्ख्या पनि वृद्धि भएको छ । मालपोत अधिकृत न्यौपानेका अनुसार चालु आर्थिक वर्षको साउनदेखि अहिलेसम्म घोराहीबाट एक हजार २१२ घरजग्गा पास भएका छन् । जसमा ६२३ महिलाको सङ्ख्या छ भने ५८९ पुरुषको सङ्ख्या छ । रासस
एमबिबिएस र बिडिएस तहको प्रवेश परीक्षा पुनःप्रकाशित
काठमाडौं । काठमाडौं विश्वविद्यालयले चिकित्सा शिक्षाअन्तर्गत एमबिबिएस र बिडिएस तहको प्रवेश परीक्षा पुनः प्रकाशित गरेको छ । असोज ६ गते प्रकाशित नतिजामा प्राविधिक त्रुटि भएको जनाउँदै विश्वविद्यालयले त्रुटिलाई सच्याउँदै पुनः परीक्षाफल प्रकाशित गरेको हो । पहिलो नजिताबाट २५० विद्यार्थीको नतिजामा परिवर्तन देखिएको छ । विश्वविद्यालयका स्कुल अफ मेडिकल साइसेन्सका डीन प्रा रोजेन्द्र कोजुले पहिलोपटक प्रकाशित नतिजामा प्राविधिक त्रुटि भेटिएकाले दोस्रो नतिजा प्रकाशित गरिएको जनाए। विश्वविद्यालयले पुनःप्रकाशित नतिजामा चित्त नबुझे विद्यार्थीले आफ्नो उत्तरपुस्तिका हेर्नसक्ने व्यवस्था मिलाएको जाएको छ । त्रिभुवन विश्वविद्यालय र काठमाडौँ विश्वविद्यालयले चिकित्सा शिक्षाअन्तर्गत एमबिबिएस तहको प्रवेश परीक्षाको नतिजा गत असोज ६ गते सार्वजनिक गरेका थिए । चिकित्सा शिक्षातर्फ एमबिबिएसका लागि दुई विश्वविद्यालयले लिएको प्रवेश परीक्षामा करीब १९ हजार विद्यार्थी सहभागी भएकामा आठ हजार ७५६ विद्यार्थी उत्तीर्ण भएका थिए । त्रिविवि चिकित्साशास्त्र अध्ययन संस्थानले असोज ३ गते शुक्रबार र काठमाडौँ विश्वविद्यालयले असोज ४ गते शनिबार परीक्षा सञ्चालन गरेका थिए । त्रिविअन्तर्गतका कजेजमा चार हजार २६९ र काठमाडाैं विश्वविद्यालयअन्तर्गत चार हजार ४८७ विद्यार्थी उत्तीर्ण भएका थिए । ती दुवै विश्वविद्यालयका न्यूनतम उत्तीर्णाङ्क प्रतिशत ५० रहेको थियो । ती दुवै विश्वविद्यालयका २२ कलेजमा एमबिबिएस तहको अध्ययन अध्यापन हुने गर्दछ । मन्त्रिपरिषद्को २०७५ असोज २८ गते बैठकले चिकित्सा शिक्षाअन्तर्गत स्नातक तहका एमबिबिएस र बिडिएसको शुल्क निर्धारण गरेको थियो । एमबिबिएसका लागि काठमाडौं उपत्यकामा रु ३८ लाख ५० हजार तथा उपत्यका बाहिर रु ४२ लाख ४५ हजार र बिडिएस कार्यक्रमका लागि रु १९ लाख ३२ हजार ६१२ शुल्क रहेको छ । रासस
गोदाममै थन्किए चार हजार टन जडीबुटी
काठमाडौं । नेपालगञ्जका गोदाममा झण्डै चार हजार टन जडीबुटी थन्किएका छन् । भारतले नेपालबाट निकासी हुँदै आएको ५४ प्रकारका जडीबुटीमा प्रतिबन्ध लगाएपछि जडीबुटी निकासी हुन नसकेर गोदाममै थन्किएका हुन् । नेपालबाट रिठा, कुटकी, दालचिनी, पखानवेद, चुत्रो बोक्रा, चुत्रो काठ, अमला, सिकाकाइ, पदमचाल, तेजपात, सुगन्ध कोकिला, अश्वगन्धा पाउडर, जटामासी मार्क, अमलवेद, टिमुर, सुगन्धवाल र क्यामोमाइललगायतका जडीबुटीको आयातमा भारतले छ महीनादेखि प्रतिबन्ध लगाएको छ । नेपाल जडीबुटी व्यवसायी सङ्घका केन्द्रीय अध्यक्ष मोहम्मद याकुब अन्सारीले केही वर्षदेखि ‘ट्रान्जिट परमिट’ को नाममा भारतले विभिन्न प्रकारका अवरोध सिर्जना गरेकाले जडीबुटीको निकासी न्यून हुँदै गएको बताए । रासस
उपभोक्ताको रोजाइमा बाजुराको स्याउ
काठमाडौं । खानामा रसिलो र स्वादिलो हुने बाजुराको हावापानीमा फलेको प्राङ्गारिक स्याउ धनगढीलगायतका शहरी क्षेत्रका उपभोक्ताको रोजाइमा पर्न थालेको छ । त्यहाँ फलेको प्राङ्गारिक स्याउ रसिलो र स्वदिष्ट हुने भएकोले धेरैको रोजाइमा पर्ने गरेको होे । वर्षभरी भारतबाट आयात हुने स्याउ किनमेल गर्ने बानी परेका स्थानीयवासी नजिकिँदै गरेको वडादशैँको मुखमा स्वदेशमै उत्पादन भएको स्याउ पहिलो पटक आफ्नै बजारमा पाउँदा खुशी छन् । बाजुराका उत्तरपूर्वी क्षेत्रका स्वामीकात्तिक, जुकोट, जगन्नाथ, पाण्डुसैनलगायतका गाउँमा यो वर्ष स्याउको उत्पादन राम्रो रहेको छ । “यो स्याउ खानामा निकै रसिलो र स्वादिलो छ”, कृषि ज्ञान केन्द्र बाजुराका अधिकृत मीनप्रसाद जैशीले भन्नुभयो, “भारतबाट आयातित स्याउमा ‘हरमन’ वा अन्य विषादीको प्रयोग हुने गरेकामा यहाँको स्याउ कुनै पनि विषादी प्रयोग नगरी उत्पादन हुने गरेको छ ।” बजारीकरणको समस्याः बाजुरामा उत्पादन भएको स्याउ तराईका शहरी क्षेत्रका उपभोक्ताको रोजाइमा पर्न थालेपनि यसको बजारीकरण गर्न भने समस्या छ । स्याउ फल्ने गाउँसम्म सडकको पहँुच पुग्न नसकेको र भएका सडक पनि बिग्रेभत्किएका कारण स्याउको बजारीकरण हुन नसक्दा स्थानीय कृषकले यसको उचित मूल्य पाउन सकेका छैनन् । दुई सय ३० हेक्टर जग्गामा गरिएको स्याउ खेतीबाट यो वर्ष एक हजार ५० मेट्रिकटन स्याउ उत्पादन हुने अनुमान गरिएको छ । पहिलो पटक स्वामीकात्तिक सहकारी संस्थाको पहलमा ‘जसले खायो, उसले स्वाद थाहा पायो’ भन्ने नारासहित त्यहाँ उत्पादन भएको स्याउ तराईका शहरी क्षेत्रमा बजारीकरण गर्न थालिएको छ । सो संस्थाको पहलमा ६० क्वीन्टल स्याउ धनगढी पु¥याइएकामा तीन दिनमा झण्डै ३६ क्वीन्टल बिक्री भइसकेको छ । सो स्याउ काठमाडौँं पठाउने तयारी पनि संस्थाले गरेको छ । यसको बजारीकरण गर्नका लागि कृषि ज्ञान केन्द्रले किसानलाई कार्टून उपलब्ध गराउनुका साथै ढुवानीमा सहयोग गरेको जनाएको छ । “स्याउ बेच्न नसकेका किसानको परिश्रम, व्यथा, समस्या देख्दा चित्त दुःख्यो”, संस्थाका अध्यक्ष मेघबहादुर शाहीले भने, “स्याउ किसानले भोगेका समस्यामा कसैले चासो नदिएपछि सहकारी आफैले बजारीकरणको पहल गरी किसानलाई थोरै भए पनि राहत दिने प्रयत्न गरेको हो ।‘‘ बाजुरा सदरमुकाम मार्तडीदेखि कोल्टीसम्मको सडक बिग्रेका कारण त्यहाँ उत्पादन भएको स्याउ धनगढीसम्म पु¥याउन कर्णाली नदी पारीका कालीकोट, दैलेख, सुर्खेत, बाँके हुँदै बर्दियाको बाटो प्रयोग गर्नुपरेको छ । बारीमा एक दाना स्याउको मूल्य एक रुपैयाँ स्याउ फल्ने गाउँमा यतिबेला एक दाना स्याउ एक रुपैयाँमा पाउने गरेको छ । ‘‘गाउँमा एक रुपैंयामा एक दाना पाउँदा सदरमुकाम मार्तडीमा १० रुपैयाँमा एक दाना पाउँछ”, सहकारीका अध्यक्ष शाहीले भने, “यस्तो अवस्थामा सडकको पहुँच पुर्याउन सकिए किसानले आफ्नो स्याउको उचित मूल्य पनि पाउँथे ।” सहकारी संस्थाले भने ग्रेडिङ गरिएको स्याउ किसानबाट प्रतिकिलो रु १५ देखि रु २५ मा खरीद गरेर धनगढी बजारमा पुर्याएको हो । धनगढी बजारमा उक्त स्याउको मूल्य एक किलोको रु १०० पाँच किलो भन्दा बढी लिनेलाई प्रतिकिलो रु ९० र प्रति कार्टून २० किलोको पोका लिनेलाई प्रतिकिलो रु ७५ तोकिएको छ । भारतबट आयातित स्याउको भने स्थानीय बजार मूल्य प्रतिकिलो रु १०० देखि रु १८० सम्म छ । रासस
१२५ घण्टा पढेर विश्व रेकर्ड राखे बझाङका मुकेश जोशीले…
काठमाडौं । बझाङका मुकेशराज जोशीले १२४ घण्टा ३० मिनेट किताब पढेर विश्व किर्तिमानी राखेका छन् । छ दिन पाँच रात किताब पढेर उनले विश्व रेकर्ड राखेका हुन् । बझाङ जयपृथ्वी नगरपालिकाका जोशीले सो दिनमा २२ वटा किताब पढेका हुन् । गिनिज इभेण्टको अायोजनामा उनले गत पाँच गते बिहान ११ : ३० देखि पढ्न शुरु गरेका थिए । १२४ घण्टा ३० मिनेट सम्म उनले इतिहास, विभिन्न प्रख्यात व्यक्तिहरूको जीवनी तथा अन्य उपलब्ध किताबहरू पढेको बताए । यसभन्दा अगाडि यो विधामा नेपालकै दीपक शर्माको नाम थियो । उनले ११३ घण्टासम्म पढेर सन् २००८ मा गिनिज बुकमा नाम लेखाएका थिए । जोशीले प्रमाणपत्र पाउन भने बाँकी रहेको छ ।