विकासन्युज

साताको पहिलो दिन प्रतितोला ६ सयले घट्यो सुन

काठमाडौं । साताको पहिलो दिन सुन प्रतितोला ६ सय रुपैयाँले घटेको छ । शुक्रबार ७० हजार ८ सयमा कारोबार भएको सुन आइतबार प्रतितोला ७० हजार २ सय रुपैयाँमा कारोबार भइरहेका छ । शुक्रबार तेजावी सुन प्रतितोला ७० हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो भने आइतबार ६९ हजार ९ सय रुपैयाँमा बिक्री वितरण भइरहेको छ । त्यस्तै चाँदी प्रतितोला १५ रुपैयाँ घटेर ८ सय ४५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।

देव विकास बैंक र सेलपेबीच सहकार्य

काठमाडौं । देव विकास बैंक लिमिटेडले नेपालमा डिजिटल भुक्तानी सेवा प्रवर्धन गर्नका लागि भर्खरै संचालनमा आएको नेपाल राष्ट्र बैंकद्वारा अनुमति प्राप्त भुक्तानी सेवा प्रदायक सेलपेसँग सहकार्य गरेको छ । सहकार्य सम्झौतामा बैंकका प्रमुख कार्यकारी अधिकृत विजय बहादुर श्रेष्ठ र सेलकम प्रा.लि. का प्रबन्ध निर्देशक पवन प्रधानले हस्ताक्षर गरेका हुन् । देव विकास बैंकका ग्राहकहरुले सेलपेमा आफ्नो खाता आवद्ध गर्ने वित्तिकै रु. १०० को मोबाइल रिचार्ज (टप–अप) पाउने, सेलपेमार्फत बिलहरुको भुक्तानी गर्दा आकर्षक लोयाल्टी पोईन्ट पनि पाउने छन् । सेलपे, सेलकम प्रा.लि.द्वारा संचालित, नेपाल राष्ट्र बैंकद्वारा अनुमति प्राप्त भुक्तानी सेवा प्रदायक हो, जसले मोबाइल तथा वेबको माध्यमबाट आफ्नो बैंक खातामार्फत डिजिटल माध्यमबाट भुक्तानी तथा रकम स्थानान्तरण सेवा प्रदान गर्दछ । भुक्तानी सुरक्षित तथा विश्वसनीय बनाउनका लागि सेलपेलाई विभिन्न अन्तर्राष्ट्रिय मापदण्ड अनुसार सुरक्षा प्रणालीभित्र रही विकास गरिएको छ । सेलपे मार्फत गरिएको भुक्तानी उही समयमा हुन्छ । ग्राहकहरुले सेलपेमा आवद्ध गरि सकिएका अन्य बैंकमा वा त्यहाँबाट देव विकास बैंकको खातामा दर्ता गरिएको मोबाइल नम्बर मार्फत रकम स्थानान्तरण गर्न सक्नेछन् भने सेलपे भुक्तानी विकल्प रहेका स्थानहरुमा सेलपे मार्फत अन्य व्यापारिक भुक्तानी गर्र्न सक्नेछन् । यसमार्फत मोबाइलको टप–अप, बिजुलीको बिल, खानेपानीको बिल, इन्टरनेटको बिल, केबलहरुको बिललगायत बिल भुक्तानी गर्न सकिने छ ।

उद्योग वाणिज्य सङ्घ इनरुवाको अध्यक्षमा साह विजयी

इनरुवा । उद्योग वाणिज्य सङ्घ इनरुवाको शनिबार राति सम्पन्न भएको निर्वाचनको परिणाम अनुसार अध्यक्षमा लोकतान्त्रिक समूहका वीरेन्द्रकुमार साह विजयी भएका छन् । पञ्चदेव मेहतालाई ४६ मतान्तरले पराजित गर्दै साह विजयी हुनु भएको हो । त्यसैगरी, उपाध्यक्षमा समावेसी समूहका गिरिराज अटल, सचिवमा रोशन खड्का, सहसचिवमा सुरेन्द्रकुमार साह, कोषाध्यक्षमा रमेश श्रेष्ठ, महिला सदस्यमा रीतादेवी साह तथा जुनु रावली विजयी भएको निर्वाचन समितिका संयोजक कृष्णप्रसाद दाहालले बताएका छन् । दुई महिला सदस्यका लागि तीन जनाको उम्मेदवारी परेको थियो । गत शनिबार सम्पन्न भएको मतगदानमा कूल एक हजार ३२५ मतदाता रहेको सङ्घमा एक हजार १८२ मत खसेको थियो । रासस

पिपल्ला बजारमा छड्के अनुगमनः भेटियो पाँच लाख बराबरको अखाद्य वस्तु

डोटी । जिल्लामा दशैँ, तिहारलगायतका चाडपर्वमा अखाद्य वस्तु बिक्री वितरण नहोस् भन्ने उद्देश्यले जिल्ला प्रशासन कार्यालय डोटीको अगुवाइमा शनिबार बजार अनुगमन गरिएको छ । जिल्ला प्रशासन कार्यालय, दिपायल सिलगढी नगरपालिका, खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय, उद्योग वाणिज्य सङ्घ, नेपाल प्रहरी, सशस्त्र प्रहरी, उपभोक्ता अधिकार मञ्च, पत्रकारसहितको टोलीले शनिबार दिपायलको प्रमुख व्यापारी केन्द्र पिपल्ला बजारमा छड्के अनुगमन गरेको हो । अनुगमनका क्रममा दिपायलको पिपल्ला बजारमा रहेको दिल्पेश्वर जनरल स्टोरमा करिब रु पाँच लाख बराबरको म्याद नाघेको अखाद्य वस्तु फेलापरेको अनुगमनमा गएका दिपायल सिलगढी नगरपालिकाका निमित्त प्रशासकीय अधिकृत भोजराज शर्माले जानकारी दिएका छन् । उनले भने, “करिब पाँच लाखबराबरको अखाद्य वस्तु हामीले फेला पारी जफत गरेका छौँ, कानूनी प्रक्रियाअनुसार नष्ट गर्छौँ ।” दिपायलको पिपल्ला बजारमा अखाद्य वस्तु बिक्री वितरण हुन थालेको खबर व्यापक रूपमा आउन थालेपछि टोलीले बजारमा छड्के अनुगमन गरेको प्रमुख जिल्ला अधिकारी टेकनारायण पौडेलले बताए । बजार अनुगमनका क्रममा टोलीले करिब लाखौँ मूल्यका बिस्कुट, चाउचाउ, दालमोट, विभिन्न मसला आइटम, जुस, चक्लेट, गुल्कोजसहितका अखाद्य वस्तु फेला पारेको अनुगमन समितिका सदस्य तथा जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक दिलीपसिंह देउवाले बताएका छन् । उपभोक्ताहरु अखाद्य वस्तु प्रयोग नगरुन भन्ने उद्देश्यले आफूहरु अहिले निकै सुक्ष्म रुपमा खाद्य तथा दैनिक उपभोग्य वस्तुको जाँच गर्न लागेको खाद्य प्रविधि तथा गण नियन्त्रण डिभिजन कार्यालय डोटीका प्रमुख नारायण रावतले जानकारी दिए । जिल्लामा वर्षेनी ठूलोमात्रामा अखाद्य वस्तु विक्री वितरण हुँदै आएको छ । यहाँको बजार क्षेत्रमा खासै उक्त अखाद्य वस्तु बिक्री वितरण नहुने गरे पनि यहाँका ठूलो डिलर व्यापारीहरुले गाउँघरमा उक्त म्याद सकिएको अखाद्य वस्तु बिक्री वितरणका लागि पठाउने गरेको स्थानीयवासीको आरोप छ । रासस

विश्व मुटु दिवसः मुटुलाई स्वस्थ राख्न कस्तो खानेकुरा खाने ?

काठमाडौं । शरीरको महत्वपूर्ण अंग मुटुको ख्याल नगर्दा बर्ष लाखौं मानिसहरुले ज्यान गुमाउने गरेका छन् । अस्वस्थ जीवनशैलीको कारण मानिसहरु मुटुरोगको शिकार भई ज्यान गुमाउन बाध्य छन् । विश्वमा एक समस्याको रुपमा रुपमा देखिएको मुटुरोग नेपालमा पनि समस्याकै रुपमा देखिन थालेको छ । गंगालाल अस्पतालका अनुसार नेपालमा मुटु रोगीको संख्या २ गुणाले बढेको छ । सस्तो र मिठोको नाममा हरेक दिन बाटोे किनारमा बेच्न राखेको तेलमा मज्जाले तारेको मसालेदार खानाहरु खाने, खाने बित्तिकै ओछ्यानमा पल्टने, मिठो खाना पाकेको दिन एकैपटक ३ थाल खाने, मासुको परिकार भनेपछि कति खाने भन्ने बिर्सने, १०–१५ रुपैंया त हो नि भन्दै २० मिनेटको बाटोमा गाडी चढ्ने जस्ता हाम्रो अस्वस्थ जीवनशैलीले हामीलाई मुटुरोग जस्तो खतरनाक रोगबाट ग्रसित बनाउँदै लैजान्छ । यदी हामीले समयमा नै हाम्रो अस्वस्थ जीवनशैलीलै नत्याग्ने हो भने हामीले आफु र आफ्नो मुटुलाई बचाउन सक्दैनौं । प्रस्तुत छ मुटुलाई कसरी स्वस्थ राख्ने बिषयमा आहार तथा पोषण बिशेषज्ञ मिरा शाहसँग बिकासन्युजले गरेको कुराकानीमा आधारित हेल्थ टिप्स : मुटुलाई कसरी स्वस्थ राख्ने ? मुटुलाई कसरी स्वस्थ राख्ने कुरा मुटुरोगी भएका व्यक्ती र उनीसँग सम्बन्धित व्यक्तीहरु बाहेक कमैलाई ज्ञान हुने गरेको पाईन्छ । हामी धेरैलाई मुटुलाई स्वस्थ राख्नुपर्छ भन्ने ज्ञान त छ, तर कसरी स्वस्थ राख्ने भन्नेबारे हामी धेरै अनविज्ञ छौं । मुटुलाई स्वस्थ राख्ने विभिन्न उपायहरु छन् । दैनिक आधा घण्टा हिँड्ने, उच्च रक्तचाप, मधुमेह, शरीरको तौल, कोलस्ट्रोलको मात्रा कति छ भनेर वर्षमा कम्तिमा एकपटक स्वास्थ्य परीक्षण गर्ने र खानेकुरामा बिशेष ध्यान दिने हो भने हामी मुटुरोगबाट सजिलै बच्न सक्छौं । हामीले खानेकुरामा मात्रै पनि बिशेष ध्यान दिन सक्यौं भने हामी मुटोरगबाट ८० प्रतिशत बच्न सक्छौँ । मुटु रोगका लागी एउटा भिन्न खालको आहार पद्धति छन्, जसलाई उपचारात्मक जीवनशैली परिवर्तन आहार भनिन्छ । यो आहार मुटुरोगीका लागी बिशेष रहेको छ । यस्तो आहारले मुटुको जोखिम, पक्षघात कम गर्न सहयोग पुर्याउन मद्दत गर्दछ । यो आहारको मुख्य उद्देश्य रगतमा कोलेस्ट्रोलको मात्रालाई घटाई रक्तनलीलाई सफा बनाएर मुटुलाई स्वस्थ राख्न मद्दत गर्दछ । के खाने के नखाने ? मुटुलाई मात्र नभएर शरीरका अन्य विभिन्न भागलाई स्वस्थ राख्न हामीले आफ्नो आहारमा पर्याप्त मात्रामा पानीमा घोलिने रेसायुक्त खानेकुरालाई प्रााथमिकता दिनुपर्छ । आफ्नो तौल तथा कामको आवश्यकता अनुसार मात्र क्यालोरीको सेवन गर्नुपर्छ । -खानामा चिल्लो पदार्थको जम्मा क्यालोरीको १५ देखी २० प्रतिशत मात्र प्रयोग गर्ने । – खाद्यपदार्थबाट पाउने कोलेस्ट्रोल बढीमा २०० मिलि ग्राम मात्र प्रयोग गर्नुपर्छ । – जनावरबाट पाउने चिल्लो पद्धार्थ बढीमा ७ प्रतिशतमात्र सेवन गर्नुपर्छ । – दैनिक भोजनमा १५ देखी २५ ग्राम फाइबरको प्रयोग गरेमा राम्रो हुन्छ । – टीएल्सि डाइटमा प्रयाप्त मात्रमा फलफूल तथा हरियो सागपात, तरकारी, रेसायुक्त खानेकुरा, दाल(गेडागुडी, बिउ इत्यादि रहेका हुन्छन् । – दैनिक ३० मिनेटसम्म नियमित शारीरिक व्यायाम गर्ने । साइकिल चलाउने, कुद्ने, दौडने, पौडी खेल्ने जस्ता कृयाकलाप आदी आफ्नो स्वास्थ्य अवस्था हेरेर गर्ने । – खानेकुरामा चिल्लोको कम प्रयोग गर्ने, कोलेस्ट्रोललाई नियन्त्रणमा राख्ने, रातो मासुलाई सक्दो आफ्नो खानाबाट हटाउन कोसिस गर्ने । अण्डाको पहेँलो भाग नाखाने, नूनको कम प्रयोग गर्ने । – मासु खाए पनि थोरै मात्रामा सेतो मासु(कुखुरा, माछा)को प्रयोग गर्ने, अण्डाको सेतो भाग मात्र खाने । – फलफूलमा स्याउ, केरा, खरबुजा, सुन्तला, मेवा, नास्पाति, आरु, अम्बा, एभोकाडो, मौसम अनुसारको ताजा फलफूल आदिको सेवन गर्ने । – तरकारीहरुमा ब्रोकाउलि, काउलि, सेलेरि, काक्रो, पालुङो, रायो, मुनटा, गान्ते मुला, गाजर्, सबै प्रकारको, मौसम अनुसारको तरकाारिको प्रयोग गर्ने । – अन्नहरुमा जौ, उसिनेको चामल, कोदो, फापर आदि तथा दालहरुमा सबै प्रकारको सिमि, राज्मा, गेडागुडी, बदाम, ओखर, काजु, फर्सीको बिउ, आलसको बिउ, सूर्यमुखीको बिउ आदिको प्रयोग गर्ने । – ३६ जना व्यक्तीमा ३२ दिनसम्म यो उपचारात्त्मक जीवनशैली परिवर्तन (टी.एल.सि) आहार लागु गरिएको एउटा अध्यययनले उच्च कोलेस्ट्रोल भएको ११ प्रतिशत व्यक्तीमा खराब कोलेस्ट्रोल कम भएको देखिएको थियो । आहारको विशेषताहरुः – रोग प्रतिरोधात्मक क्षमता बढाउने । – शरिरको तौल नियन्त्रण । – नियमित शारिरिक अभ्यास, कम क्यालोरीयुक्त खानाको सेवन, खानेकुरामा प्रयाप्त मात्रामा रेसायुक्त पधार्थको प्रयोगले शरिरको तौल घटाउन सहयोग पुर्याउँदछ । – रगतमा चिनीको मात्रा नियन्त्रण । – हाम्रो शरीरको रगतमा भएको ग्लुकोजको मात्रालाई समेत नियन्त्रणमा ल्याउन मद्दत गर्दछ । खानेकुरामा अत्याधिक मात्रामा रेसाको प्रयोगले ग्लुकोजको मात्रालाई मिलाउन मद्दत गर्दछ । – उच्च रक्तचापलाइ नियन्त्रण गर्दछ । – यसको मूख्य उद्देश्य चिल्लो पदार्थलाई एकदम कम गरेर राम्रो एल्डिएल कोलस्टोरोल बढाउने काम गर्दछ ।

शेयर बजारमा ६ सातापछि नेपाल लाइफले हिमालयन बैंकलाई उछिन्यो, कसको अवस्था कस्तो ?

काठमाडौं । ६ हप्तापछि शेयर बजारमा नेपाल लाइफ इन्स्योरेन्सले हिमालय बैंकलाई पुनः उछिनेको छ । बजार पुँजीकरणका आधारमा अघिल्लो हप्तासम्म छैटौं स्थानमा रहेको हिमालयन बैंकलाई नेपाल लाईफ इन्स्योरेन्सले पछि पारेको हो । यसअघि गत साउन ३० गतेदेखि हिमालयन बैंक नेपाल लाइफ भन्दा माथिल्लो स्थानमा रहँदै आएको थियो । हाल नेपाल लाइफ इन्स्योरेन्को बजार पुँजीकरण ४१ अर्ब ५५ करोड रुपैंया छ । नेपाल लाइफको साधारण शेयरको मूल्य दोस्रो बजारमा ७५६ रुपैंया छ । ५ करोड ४९ लाख ६१ हजार कित्ता शेयर भएको नेपाल लाइफको सोही मूल्य र शेयर संख्याका आधारमा नेपाल लाइफको बजार पुँजीकरण ४१ अर्ब ५५ करोड रुपैंया भएको हो । त्यस्तै, हाल हिमालयन बैंककाे बजार पुँजीकरण ४१ अर्ब ४९ करोड रुपैंया छ । हिमालयन बैंकको साधारण शेयरको मूल्य दोस्रो बजारमा ४७८ रुपैंया छ । ८ करोड ५२ लाख २ हजार कित्ता शेयर भएको नेपाल लाइफको सोही मूल्य र शेयर संख्याका आधारमा नेपाल लाइफको बजार पुँजीकरण ४१ अर्ब ४९ करोड रुपैंया भएको हो । गत साता हिमालयन र नेपाल लाइफ दुबैको शेयर मूल्यमा गिरावट आए पनि नेपाल लाइफ इन्स्योरेन्सको भन्दा हिमालयन बैंकको शेयर मूल्यमा  उच्च गिरावट देखिएसँगै पुँजीकरणका आधारमा नेपाल लाइफले हिमालयनलाई उछिन्न सफल भएको हो । शेयर बजारमा एभरेष्ट बैंक र स्ट्यान्डर्ड चार्टर्ड बैंकसँगै नेपाल लाइफ र हिमालयन बैंकबीच बढी प्रतिस्पर्धा हुने गरेको छ । सबैभन्दा ठूलो कम्पनीको रुपमा रहेको नेपाल टेलिकम लामो समयदेखि पहिलो स्थानमै छ । त्यस्तै, दोस्रोमा नबिल, तेस्रोमा नेपाल इन्भेष्टमेन्ट बैंक, चौथो र पाँचौंमा एभरेष्ट र स्ट्यान्डर्ड चार्टर्ड बैंक, छैटौं र ७ औं स्थानमा नेपाल लाइफ इन्स्योरेन्स र हिमालयन बैंक , आठौंमा कृषि विकास बैंक, नवौंमा एनएमबि बैंक र दशौंमा एनआईशी एशिया बैंक छन् । गत साता पनि समग्र शेयर बजारमा गिरावट आउँदा कुल बजार पुँजीकरण १४ खर्ब ६७ अर्बबाट घटेर १४ खर्ब ३५ अर्बमा झरेको छ । नेप्से परिसूचक भने यो अवधिमा ११५५ अंकबाट घटेर ११२९ अंकमा आएको थियो ।

विश्व मुटु दिवसका अवसरमा नर्भिकमा क्याथ ल्याव उद्घाटन

काठमाडौँ । नर्भिक इन्टरनेशनल हस्पिटलले शनिबार एक विशेष समारोहकावीच नव जडित क्याथ ल्याव सेवाको उद्घाटन गरेको छ । विश्व मुटु दिवसकाअवसर पारेर कवि÷गीतकार तथा नर्भिकका अध्यक्ष बसन्तकुमार चौधरीले सो सेवाको उद्घाटन गरेका हुन् । नयाँ क्याथ ल्याव नर्भिकले सन् २००० को अगस्ट महिनामा जडान गरेको राष्ट्रकै पहिलो क्याथ ल्यावपछिको तेस्रो पुस्ताको क्याथ ल्याव हो । उक्त क्याथ ल्याव अत्यन्तै नविनतम् सुविधा र प्रविधिले सुसज्जित भएको हुँदा मुटुका रक्तनली हातखुट्टाका रक्तनली र मुत्रप्रणालीका रक्तनली आदिको इन्टरभेन्सन्स् सुरक्षित छिटो र छरितो गर्न सकिनुका साथै न्युरो नेभिगेसनमा समेत अत्यन्त भरपर्दो हुनेछ । नर्भिकले विविध कार्यक्रमका साथ शनिबारनै विश्व मुटु दिवस मनाएको छ । यस वर्षको विश्व मुटु दिवस असोज १२ गते आइतबार गरेको छ ।

एनएमबि र ओमको एकीकृत कारोबारको शुरु, चुक्तापूँजी ११ अर्ब ५३ करोड

काठमाडौँ । एनएमबि बैंक लि. र ओम डेभलपमेन्ट बैंक लि.बिच शनिबारदेखि एकीकृत कारोवारको शुरु भएको छ । दुबै संस्था गाभिएपश्चात बैंकको चुक्तापूँजी ११ अर्ब ५३ करोड र कोष ८ अर्ब ६२ करोड गरि कूल पूँजी २० अर्ब १५ करोड पुगेको छ । मर्जपश्चात बैंकको नाम एनएमबि बैंक लि. र मुख्य कार्यालय एनएमबि भवन, बबरमहल, काठमाडौं रहको छ । दुबै संस्था गाभिए पश्चातको एनएमबि बैंकको तीन नम्बर प्रदेशमा शाखाहरुको सञ्जाल ४४ वटा, गण्डकी प्रदेशमा ३९ वटा र पाँच नम्बर प्रदेशमाशाखा सञ्जाल २९ वटा गरी कूल शाखा सञ्जाल १६३, एटिएमहरुको सञ्जाल १२८ पुगेको छ भने एक्स्टेन्सन काउण्टरहरुको संख्या ५ पुगेको जनाएको छ । एकिकृत कारोवारको शुभारम्भ गण्डकी प्रदेशका अर्थमन्त्री किरण गुरुङ्गको उपस्थितीमा गण्डकी प्रदेशको पोखरामा भएको हो । कार्यक्रममा नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीवि नेपालको शुभकामना सन्देश नेपाल राष्ट्र बैंकको पोखरा निर्देशक डा. डिल्लीराम पोखरेलबाट पढेर सुनाईएको थियो ।