काठमाडौं । सरकारले धौवादीको फलाम खानी उत्खनन् गर्न कम्पनी दर्ता गरेको छ । नेपालमा फलाम खानी सञ्चालनमा ल्याउन सरकार र निजी क्षेत्रको लगानीमा धौवादी फलाम कम्पनी दर्ता भएको हो । सरकारको २ अर्ब २० करोड र निजी क्षेत्रको १८ करोड लगानी रहने कम्पनी दर्ता भएको हो । फलामको धाउ (कच्चा फलाम) उत्खनन् गर्ने उद्देश्यसहित सरकारले कम्पनी दर्ता गरेको जनाइएको छ ।
३ मन्त्रालय संस्थापक र खानी तथा भूगर्भ विभाग, निजी क्षेत्रका स्थापित कम्पनी र महालेखाको लगानीमा कम्पनी दर्ता भएको हो । २२५८३६ दर्ता नम्बर रहेको उक्त कम्पनीको नाम ‘धौवादी फलाम कम्पनी’ राखिएको छ । कम्पनी रजिष्ट्रारको कार्यालयबाट कम्पनीले दर्ता प्रमाणपत्र लिइसकेको छ ।
कम्पनीमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको १ अर्ब अर्थ मन्त्रालयको ५० करोड, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले २५ करोडको लगानी गर्ने छन् । त्यस्तै, निजी क्षेत्रको स्थापित कम्पनीहरुको १८ करोड लगानी रहने छ । खानी तथा भूगर्भ विभागको २० करोड र महालेखाको २५ करोड लगानी रहेको कम्पनी दर्ता भएको कम्पनी रजिष्ट्रारको कार्यालयले जनाएको छ ।
कार्यालयले दिएको जानकारी अनुसार संस्थापक सदस्यमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, अर्थ मन्त्रालय र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय रहेका छन् । कम्पनीको कार्यालय काठमाडौं महानगरपालिका वडानम्बर ३ मा हुने उल्लेख छ । पब्लिक सरकारी कम्पनीको रुपमा सो कम्पनी दर्ता भएको हो । खानी तथा भूगर्भ विभागका महानिर्देशक डा. सोमनाथ सापकोटाले फलाम उत्पादन भएपछि नेपालका स्टील कम्पनीहरुले प्रयोग गर्ने बताए ।