विकासन्युज

नेपाल टेलिकमले देशभरका ५० शहरी क्षेत्रमा फोरजी सेवा सञ्चालनमा ल्याउने, बुधबारदेखि शुरु

सरकारी स्वामित्वको नेपाल टेलिकमले देशभरका ५० शहरी क्षेत्रमा चौथो पुस्ताको फोरजी सेवा सञ्चालनमा ल्याउने भएको छ । सो सेवा आउँदो बुधबारदेखि शुरु हुनेछ । निजी दूरसञ्चार सेवा प्रदायक एनसेलले देशका अधिकांश स्थानमा फोरजी सेवा पुर्याएको दाबी गरिरहँदा सरकारी स्वामित्वको टेलिकमले लामो प्रयास पछि सेवा विस्तार गर्न लागेको हो । कम्पनीले काठमाडौँमा कार्यक्रमको आयोजना गरी फोरजी सेवा विस्तार भएको घोषणा गर्ने र उक्त कार्यक्रमलाई प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्ने जनाइएको छ । टेलिकमले यसअघि २०७३ पुस १७ गतेदेखि काठमाडौँ र पोखरामा फोर जी सेवा पुर्याएको थियो । टेलिकमले बढी व्यवसायिक र व्यापारिक कारोबार हुने तथा बढी जनघनत्व भएका स्थान चयन गरेर सेवा विस्तार गर्न लागेको हो । टेलिकमका प्रवक्ता प्रतिभा वैद्यका अनुसार हालसम्मको तयारी अनुसार ५० शहरी तथा नगर क्षेत्रमा चौथो पुस्ताको फोरजी सेवा उपलब्ध गराउने तयारी अनुसार काम भइरहेको छ । त्यसका लागि करीब ११० बढी स्थानमा बिटिएस टावर जडान गरिसकेको छ । बुधबारसम्म त्यस्ता टावरको संख्या १५० सम्म पुग्नेछ । हरेक दिन एक दर्जन टावरको संख्या थपिएको र दु््रतगतिमा काम भइरहेकाले तोकिए भन्दा बढी स्थानमा सेवा पुर्याउने योजनामा आफूहरु रहेको प्रवक्ता वैद्यको भनाइ छ । उनका अनुसार चन्द्रगढी, विर्तामोड, दमक, विराटनगर, इनरुवा, धरान, धनकुटामा फोर जी सेवा सञ्चालनमा आउनेछ । यस्तै जनकपुर, जलेश्वर, मलङ्गवा, जलेश्वर, बारा, पर्सा, सिमरा, कलैया, गौरमा चौथो पुस्ताको फोरजी सेवा शुरु हुनेछ । यस्तै,धादिङ, काभ्रेपलान्चोक, सिन्धुपाल्चोक, विदुर, मन्थली, भिमेश्वर, सिन्धुलीमाडी, पर्वत, कुश्मा, बाग्लुङ, चितवन, सौराहा, तौलिहवा, बुटवल, देवदहमा त्यस्तो सेवा विस्तार हुनेछ । तुल्सीपुर, घोराही, बाँकेको नेपालगन्ज, कोहलपुर भीमदत्तनगर, झलारी, पिपलाडी, चौमला र अत्तरियामा सेवा सञ्चालनमा आउनेछ । कर्णाली प्रदेशको सुर्खेतमा सोही दिनदेखि उक्त सेवा सञ्चालनमा ल्याउने तयारी गरिएको टेलिकमका सहायक प्रवक्ता कृष्ण भण्डारीले जानकारी दिए । सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुलप्रसाद बाँस्कोटाले तोकिएको समयमा नै टेलिकमको फोरजी सेवा विस्तार गर्न दिनु भएको निर्देशन अनुसार नै काम शुरु भएको आठ महिना पुग्दा नपुग्दै मुलुकका ५० बढी स्थानमा एकै पटक उक्त सेवा पुग्न लागेको हो । फोरजी एलटीई सेवा आगामी माघसम्म देशभर विस्तार गर्ने लक्ष्य राखिएको छ । गत माघमा सम्झौता भए बमोजिम नै एक वर्षभित्र देशभर नै उक्त सेवा पुर्याउने लक्ष्यसाथ युद्धस्तरका काम भइरहेको टेलिकमले जनाएको छ । उक्त सेवा विस्तारका लागि टेलिकमले रु १८ अर्ब खर्च गरेको छ । मन्त्री बाँस्कोटाले डिजिटल नेपालको अवधारणालाई सरकारले अगाडि बढाएको सन्दर्भमा फोरजी सेवा एउटा महत्वपूर्ण साधन भएको बताउँदै आएका छन् । सूचना तथा प्रविधिको क्षेत्रमा प्रभावकारी काम गर्ने लक्ष्यका साथ गत माघमा फोरजी सेवाका लागि आवश्यक पर्ने ‘कोर नेटवर्क’ र ‘रेडियो एक्सेस नेटवर्क’ जडानका लागि चिनियाँ कम्पनी जेडटीई कर्पोरेसन र हङकङको सीसीएसआई कम्पनीसँग सम्झौता गरेको थियो । सम्झौता अनुसार तोकिएको अवधि पूरा हुन चार महिना बाँकी रहेको भएपनि निर्धारित समयमै काम सकिने देखिएको छ । नेपालमा हरेक काम तोकिएको समयमा पूरा नहुने र अनेकन बाहना बनाएर पन्छने प्रवृत्तिबाट आहात भएको देशले फोरजी सेवा भने तोकिएको समयमा नै पाउने भएका छन् । उक्त सेवा विस्तारका लागि साँझ बिहान नभनी दैनिक १८ घण्टा बढी काम भइरहेको छ । परिचालन तथा आवश्यक समन्वयका लागि टेलिकमका प्रबन्ध निर्देशक डिल्लीराम अधिकारीले नेतृत्व लिइरहेका छन् । कुन स्थानको काम के भयो, प्रगति के छ भन्ने देखि समस्या समाधानका लागि प्रबन्ध निर्देशक स्वयम् नै लागेपछि अन्य कर्मचारीलाई दबाब परेको छ । दैनिक नै नयाँ नयाँ प्रगतिका विवरण टेलिकममा प्राप्त भइरहेका छन् । प्रतिस्पर्धाको युगमा निजी सेवा प्रदायकले करिब करिब देशभर सेवा पुर्याइरहेको अवस्थामा सरकारी स्वामित्वको कम्पनीपछि परेको त होइन भन्ने आम नागरिकको गुनासोलाई सम्बोधन हुने गरी काम भइरहेको टेलिकमले जनाएको छ । टेलिकमले फोरजीका लागि आवश्यक पर्ने ‘कोर नेटवर्क’ काठमाडौं र बुटवलमा राखेको छ । टावरको फाउन्डेसन, विद्युत् जडान, घरवालासँगको सम्झौता, जग्गा भाडाको सबै काम सम्पन्न गरिसकेको छ । देशभर सेवा विस्तार गरेर थप ६५ लाख ग्राहक थप्ने योजनासाथ काम भइरहेको टेलिकमको दावी छ । गत असार मसान्तको विवरण अनुसार हाल टेलिकमको ग्राहक दुई करोड २६ लाख ९६ हजार छन् । त्यसमा मोबाइल फोन प्रयोग गर्नेको सङ्ख्या मात्रै दुई करोडको हाराहारीमा रहेको नेपाल दूरसञ्चार प्राधिकरणले जनाएको छ । टेलिकमले गत शुक्रबार मात्रै फोरजी विस्तार गर्ने स्थानको आवश्यक परिक्षण गरेको थियो । केही दिन पहिले रासससँग कुरा गर्दै सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले नेपाल टेलिकमको फोरजी सेवा विस्तार युद्धस्तरमा भइरहेको र तोकिएको समयमा पूरा हुने विश्वास व्यक्त गरेका थिए । उनले टेलिकमको फोरजी सेवा विस्तार र सञ्चालनको अन्तिम तयारी भइरहेको र त्यसका लागि आवश्यक सबै संयन्त्र परिचालन गरिएको बताए । यस्तै टेलिकमले दशैंको अवसरमा आइतबार घटस्थापनादेखि नै फोरजी र अन्य सेवामा विशेष छुट दिएको छ । टेलिकमको फोरजी सीम परिवर्तन गर्दा कुनै शुल्क नलाग्ने जनाएको छ । कम्पनीका अनुसार पहिलो पटक फोरजी नेटवर्कमा दर्ता हुने ग्राहकले दुई दिनको समयसहितको दुई सय एमबि डाटा बोनस पाउने व्यवस्था गरेको छ । दोस्रो र तेस्रो पुस्ताका सीम चलाइरहेका ग्राहकले सामान्य रुमपा नै आफ्नो सीमलाई फोर जी बनाउन सक्ने जनाएको छ । रासस

सिटिसी मलमा दशैंको अफरै अफर, निःशुल्क मोबाइल बीमा

काठमाडौँ । सिटिसी मोबाइल हब सुन्धाराले दशैंको अवसर पारेर अफरै अफर सहित मोबाइल मेला सञ्चालन गरिरहेको छ । अघिल्लो आइतबारबाट सुरु भएको मोबाइल मेलामा मोबाइल खरिद गर्दा निःशुल्क मोबाइल इन्स्योरेन्स सेवा पाइने मोबाइल हबले जनाएको छ । विभिन्न मोबाईल कम्पनीहरुसँगको सहकार्यमा सञ्चालति अफरै अफर सहितको मोबाईल मेलामा ६० प्रतिशतसम्मको छुटमा मोबाइल किन्न सकिने मोबाइल हबका प्रबन्ध निर्देशक संगम राईले बताए । साथै बाईवान गेट वान फ्रि अफर मेलाको आकर्षण रहेको छ । मोबाइल मेलामा मेरो सुरक्षासँगको सहकार्यमा निःशुल्क मोबाइल बीमाको समेत व्यवस्था गरिएको छ । यसबाट मोबाइल चोरी हुने, फुट्ने वा कुनै किसिमको समस्या आएमा तत्काल सेवाग्रहीले त्यसको समाधान पाउने राईले बताए । मेलामा आउने ग्राहकका लागि निशुल्क पार्किङको व्यवस्था गरिएको पनि मेलाको आयोजकले जनाएको छ । त्यसैगरी हरेक मोबाइलको खरिदमा सिनेमाको टिकट निशुल्क बितरण हुनेछ भने गल्फमा सहभागी भई २ स्कोर गरे साधारण मोबाईल, ३ स्कोर गरे आफुले खरीद गरेको मोबाईलमा ५० प्रतिशत छुट र ४ स्कोर गरे खरीद गरेको मोबाइल निःशुल्क पाइनेछ । हरेकदिन मेला अवलोकनकर्ता मध्येबाट लक्कि ड्र मार्फत एक जनाले स्मार्ट फोन जित्न सक्ने छन् भने हरेक मोबाईलको खरिदमा ग्राहकले हात खाली नजाने उपहार समेत पाउनेछन् । असोज ५ गत्ते बाट दशै, तिहार र छठ कार्तिक १६ सम्ममा मोबाईल खरिद गर्ने सबै ग्राहकलाई लक्की ड्रमा सहभागी गराई प्रथम पुरस्कार स्वरुप यामाहा को रे जेट आर स्कूटर प्रदान गरिनेछ । दोस्रो पुरस्कारमा एक जनालाई बाली भ्रमणको प्याकेज र तेस्रो पुरस्कारमा डेलको एउटा ल्यापटप बितरण गरिनेछ । मोबाइल मेला दशैंको फूलपातीका दिनसम्म सञ्चालन हुनेछ भने अफरहरु कार्तिक १६ गतेसम्म लागू हुनेछन् ।

कान्तिपुर इञ्जिनियरिङ कलेजमा दोस्रो अन्तराष्ट्रिय सम्मेलन सम्पन्न

काठमाडौँ । कान्तिपुर इञ्जिनियरिङ कलेजले इन्जिनीयरिङ र प्रविधि विषयको दोस्रो अन्तराष्ट्रिय सम्मेलन असोज ९ गते कलेज परिसर धापाखेल ललितपुरमा सम्पन्न गरेको छ । सो सम्मेलनको उद्घाटन नास्टका उपकुलपति डा. सुनिलबाबु श्रेष्ठले गरेका थिए । कान्तिपुर इन्जिनीयरिङ कलेजका प्रिन्सिपल रामेश्वर रिजालले स्वागत भाषण गरे भने भने नेपाल इन्जिनीयरिङ परिषदका उप–सभापति अर्नराज सिलवाल र नेपाल इन्जिनीयस् एसोसिएसनका उप सभापति आसीस घिमिरेले केइसी सम्मेलनका बारेमा मन्तव्य राखे । सो उद्घाटन समारोहको अध्यक्षता कान्तिपुर इन्जिनीयरिङ कलेजका अध्यक्ष डा. ताराप्रसाद पोखरेलले गरेका थिए ।

ट्राफिक कार्यालयद्वारा १७ लाख ५२ हजार राजश्व सङ्कलन

मिक्लाजुङ । जिल्ला ट्राफिक प्रहरी कार्यालय पाँचथरले एक वर्षको अवधिमा रु १७ लाख ५२ हजार राजश्व सङ्कलन गरेको छ । गत आव ०७५/७६ को अवधिमा उक्त रकम राजश्व सङ्कलन गरिएको कार्यालय प्रमुख जनक तिम्सिनाले जानकारी दिएका छन् । ट्रक, बस, ट्र्याक्टर, जीप कार, मोटरसाइकललगायत तीन हजार पाँच वटा सवारीलाई कारवाही गर्दा उक्त राजश्व सङ्कलन भएको उनले बताए । तीन सय ८१ ट्रकलाई कारबाही गर्दा रु दुई लाख १२ हजार ५००, ११४ बसलाई कारवाही गर्दा रु ५८ हजार, ९३६ जीप तथा कारलाई कारवाही गर्दा रु पाँच लाख ३५ हजार, ३२२ ट्र्याक्टरलाई कारवाही गर्दा रु एक लाख ९० हजार, एक हजार १९१ मोटरसाईकललाई कारवाही गर्दा रु सात लाख २६ हजार र अन्य विविध ६१ वटा सवारीलाई कारवाही गर्दा रु ३० हजार ५०० राजश्व सङ्कलन भएको हो । यस्तै, गत आव ०७४/७५ मा दुई हजार ७९५ सवारीलाई कारवाही गर्दा रु १६ लाख ५० हजार ५०० राजश्व सङ्कलन भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय पाँचथरले जनाएको छ । बढिजसो सवारी साधानहरुको कागजतहरु (बिलबुक, लाइसेन्स) नभएका तथा ट्राफिक नियम उल्लङ्घन गर्नेलाई कारवाही गरिएको कार्यालय प्रमुख तिम्सिनाले बताएका छन् । रासस

राष्ट्रिय वाणिज्य बैंक बौद्ध शाखाले गर्यो शुभकामना आदान प्रदान कार्यक्रम

काठमाडौँ । राष्ट्रिय वाणिज्य बैंक लिमिटेड शाखा कार्यालय बौद्ध शाखाको आयोजनामा नेपालीहरुको महान चाडपर्व विजया दशमी, शुभ दिपावली, नेपाल सम्वत् एवं छठ पर्वको अवसरमा शुभकामना आदान प्रदान सम्पन्न भएको छ । काठमाडौं क्षेत्र नम्बर ३ का सांसद कृष्ण राईको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले नेपालीहरुको चाडपर्वको अवसरमा शुभकामना ब्यक्त गर्दै रावा बैंकको बेस रेट सबैभन्दा कम भएकोले सस्तो दरमा कर्जा उपलब्ध गराईरहेको बताए । कार्यक्रममा काठमाडौं क्षेत्र नम्बर ३ का प्रदेशसभा सांसद छिरिङ्ग लामा, बैंकका उपकार्यकारी अधिकृत टेकराज जोशी, ब्रान्च अपरेशन विभागका प्रमुख सरोज बस्नेत, बौद्ध ब्यापार संघका अध्यक्ष दीपक चौलागार्इँ लगायतले शुभकामना मन्तब्य ब्यक्त गरेका थिए । बैंकका ३ नम्बर प्रादेशिक कार्यालयकी प्रमुख सोनी श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको सो कार्यक्रमको संचालन शाखा कार्यालय बौद्धका प्रबन्धक सुरेश सापकोटाले गरेका थिए ।

प्रदेश प्रमुख र मुख्यमन्त्रीका लागि काठमाडौंमा आवास गृह, प्रधानमन्त्री ओलीले गरे शिलान्यास

काठमाडाैं । सरकारले ८५ करोड  लागतमा  सातवटै प्रदेश प्रमुख र मुख्यमन्त्रीका लागि काठमाडौंमा आवास गृह बनाउन शुरू गरेकाे छ । साेमबार प्रधानमन्त्री केपी शर्मा ओलीले भवनहरूकाे शिलान्यास गर्दै भवन निर्माणकाे काम शुरू गरेका हुन् । ललितपुरको सैंबुमा निर्माण हुने प्रदेश प्रमुख र मुख्यमन्त्रीका लागि सुविधासम्पन्न र अत्याधुनिक आवास तथा सम्पर्क कार्यालय दुई वर्षमा बनाइसक्ने गरी ठेक्का सम्झौता गरिएको छ।  सांसद आवासका लागि छुट्याइएको १४९ रोपनी ४ आना ३.२८ दाम जग्गामा भवन निर्माण हुने जनाइएकाे छ । मन्त्री निवासका साथै राष्ट्रिय सभा अध्यक्ष, उपाध्यक्ष, प्रतिनिधिसभा उपसभामुखका लागि २७ वटा आवास भवन निर्माण गर्ने तयारीलाई समेत सरकारले तीव्रता दिएको छ। सो भवन निर्माणका लागि १ अर्ब ४५ करोड रुपैयाँ विनियोजन गरिएको छ। केसी कन्सट्रक्सन तथा समानान्तर ज्वाइन्ट भेन्चरले सो भवन निर्माणको ठेक्का पाएको छ। प्रदेश प्रमुख र मुख्यमन्त्रीका लागि छुट्टाछुट्टै गरी १४ वटा भवन बन्नेछन्। जसमा भुइँतला सचिवालय, प्रतिक्षालय र गोप्य कोठाका साथै बैठक कक्ष, योगा कक्ष पनि हुनेछन् ।  ५० वटा गाडी अट्ने पार्किङ क्षेत्रको सुविधा समेत रहेको उक्त स्थानमा नीजि सुरक्षाकर्मीका लागि समेत छुट्टै व्यवस्थापन गर्नेगरी भवन बनाइने छ । कार्यक्रममा बाेल्दै प्रधानमन्त्री ओलीले   देश विकासको अभियान र विकास निर्माणका  अनेक क्षेत्रजस्तै यातायात, कृषि, उद्योगलगायतका क्षेत्रमा सरकारले काम गरिरहेको  बताए । उनले रोजगारी, जेष्ठ नागरिक बीमा, बैङ्क खाता जस्ता अभियान सञ्चालन गरेर सरकारले जनताका आवश्यक्ता सम्बोधन गर्दै आएको बताए ।

विदेशका अस्पतालको ‘कोमा’मा २३ नेपाली, जेलमा छन् ५ सय ३७ जना

काठमाडौं । वैदेशिक रोजगारका क्रममा दुर्घटना भई अचेत भएका २३ नेपाली विभिन्न देशको अस्पतालका कोमामा रहेका छन् । विदेशका अस्पतालको कोमामा रहेका बिरामीलाई नेपाल ल्याउने बैदेशिक रोजगार निर्णय बोर्डले निर्णग गरेको छ । तर, कोमा केयर सेन्टरको अभावमा ती व्यक्तिलाई नेपाल ल्याउन सकिएको छैन । सरकारले वैदेशिक रोजगारको क्रममा घाइते तथा बिरामी भई कोमामा रहेका २५ जना नेपालीहरु मध्ये २ जनालाई काठमाडौं ल्याएर उपचार गराइएको बोर्डले जनाएको छ । कोमा सेन्टरको अभावमा सबैलाई नेपाल ल्याउन सकिएको छैन–बोर्डका कल्याण पुनास्र्थापना तथा सञ्चार शाखाका निर्देशक दीनबन्धु सुवेदीले बताए । पछिल्लो समय कतारमा १५ जना, साउदी अरबमा ७ र कुवेतमा १ जना नेपाली कोमामा छन् । कोमामा रहेका बिरामीलाई ल्याउनु अगाडि परिवारको स्वीकृति, सरकारी अस्पतालको स्वीकृति र बिरामी रहेको देशको कम्पनी तथा दुतावासको स्वीकृति पत्र अनिवार्य रहेको बोर्डका कल्याण पुनास्र्थापना तथा सञ्चार शाखाका निर्देशक सुवेदीले बताए । कतारमा कोमामा रहेका ७ जना बिरामीलाई नेपाल ल्याउने तयारी भएपनि अस्पतालमा आईसियूको अभावको कारण काम अगाडि बढाउन सकिएको छैन-निर्देशक सुवेदीले भने । कोमामा रहेको बिरामीलाई वीर अस्पतालमा आईसियू वेड व्यवस्थापनको अनुरोध गर्दै वैदेशिक रोजगार बोर्डले पत्र लेखेपछि अस्पतालले आईसियू वेडको अवस्था अत्याधिक कम भएको हुँदा व्यवस्थापन गर्न मुस्किल भईरहेको जवाफ फर्काएको छ । बोर्डकै सहयोगमा कोरियामा रहेका झापाका ओमनाथ ढकाल र संयुक्त अरब इमिरेट्सबाट पर्वत घर भएका कुमार कामीलाई नेपाल ल्याएर उपचार भइरहेको छ । कतारमा कोमामा रहेका  दिनेशकुमार चौधरी, देवेन्द्रकुमार थापा, भक्तबहादुर मगर , सुबेन्द्र घिसिङ्ग, मनराज डांगी, लिलाराम सापकोटा, अभिषेक कुमाल, भरतराम लवाद, श्रीबहादुर नेम्बाङ, लियामत कवारी , दिनेशकुमार राई, ओमबहादुर कुम्हाल, छविराज आले, भीमबहादुर थापा, राजाराम चमार । साउदी अरबमा कोमामा रहेका महेन्द्र गुरुङ्ग, बाटुली सुनार, मनोजकुमार माझी, चण्डेश्वरविन मुखिया, प्रकाश गुरुङ्ग, बेदबहादुर भुजेल र देवराज दर्जी । कुवेतमा कोमामा रहेका गंगाबहादुर मगर । ५ सय ३७ जना नेपाली विभिन्न देशको जेलमा वैदेशिक रोजगारमा गएका ५ सय ३७ जना नेपाली विविध देशका जेलमा रहेको वैदेशिक रोजगार बोर्डले जनाएको छ । वैदेशिक रोजगारमा गएका मध्ये सबैभन्दा २०१ जना मलेसिया र १८२ जना यूएईको जेलमा रहेका छन् । त्यस्तै कुवेतमा ५८, ओमनमा २, साउदी ४९, कतारमा ३५ र बहराइनमा ५ जना नेपाली जेलमा रहेका छन् ।

४० प्रतिशत शेयर स्वामित्व रहेको वेतन कर्णालीको डीपीआर पुससम्म

काठमाडौं । वेतन कर्णाली जलविद्युत् आयोजनाको विस्तृत आयोजना प्रतिवेदन (डीपीआर) पुससम्म तयार हुने भएको छ । नेपाल इन्जिनीयरिङ कम्पनीले यस आयोजनाको डीपीआर बनाउने जिम्मा पाएको र पुससम्ममा डीपीआर तयार हुने बताइएको छ । कर्मचारी संचयकोषले वेतन कर्णाली सञ्चयकर्ता हाइड्रोपावर कम्पनी स्थापना गरी अगाडि बढाएको कम्पनीको प्रबन्ध निर्देशक दीपक रौनियारले बताए । ‘कम्पनीको डीपीआर ड्राफलाई इन्जिनियरले अन्तिम रुप दिन लागिएको छ ,’उनले भने ‘ पुससम्म यो तयार हुन्छ ।’ कर्मचारी संचय कोषका संचयकर्ताहरूको अधिकांश शेयर लगानी रहेको वेतन कर्णालीमा अहिले प्राविधिक पक्षको काम भइरहेको रौनियारले बताए । ऋण लगानी मात्र गर्दै आएको संचय कोषले जलविद्युत् आयोजना निर्माणमा आफैले लगानी गर्न लागेको भने यो पहिलो पटक हो । आयोजना निर्माणको लाग्ने लगानी भने अन्तिम डीपीआर आएपछि थाहा हुने रौनियारले बताए । कर्णाली प्रदेशको सुर्खेत र अछाम जिल्लामा निर्माण हुने यस आयोजना शुरूमा ६८८ मेगावाट क्षमताको हुने बताइएको थियो । तर, अहिले त्यसलाई घटाएर ४४२ मेगावाट बराबरको विद्युत् उत्पादन गर्ने गरी डीपीआर तयार गर्न लागिएको रौनियारले जानकारी दिए । कम्पनीको अधिकृत पुँजी २० अर्ब रुपैयाँ र जारी पुँजी १० अर्ब रुपैयाँ रहेको छ । यसमा संचय कोषका झन्डै ६ लाख संचयकर्ताको ४० प्रतिशत सेयर स्वामित्व रहने छ । संचयकोषले संचयकर्तालाई प्रदान गर्ने लाभांशको ५० प्रतिशत रकम विगत ३ वर्षदेखि उक्त आयोजनाको पूँजी निर्माणका लागि छुट्टाउँदै आएको छ । हालसम्म उक्त पूँजी करिब ५ अर्ब पुग्न लागेको छ । आयोजनामा संचयकर्ताबाट करिब ९ अर्ब रुपैयाँ स्वपुँजी जुट्ने अनुमान गरिएको छ । अबको ३ वर्षभित्र जम्मा गर्ने बताइएको छ । आयोजनामा लगानी नभएसम्म संचयकर्ताले संचित रकमको ब्याज पाउँदैनन् । संचयकर्ता हाइड्रोपावर कम्पनी लिमिटेडले निर्माण गर्न लागेको आयोजनाका लागि स्रोत जुटाउने सन्दर्भमा कर्मचारी संचय कोषले नेपाल एसबीआई बैंक र नविल बैंकसँग सम्झौता गरिसकेको छ । यी दुई बैंकले आयोजनाका लागि आवश्यक कुल ऋणमध्ये आंशिक अर्थात २५ अर्ब रुपैयाँसम्मको ऋण सहयोग गर्ने सम्झौता भएको छ । स्रोत जुटाउन बैंकहरू सहवित्तीयकरण समूह गठन गरी ऋण व्यवस्थापन गर्ने छन् । अर्धजलासययुक्त (पिकिङ रअ अफ दी रिभर) प्रकृतिको यो आयोजना निर्माण गर्न पहिला ७० अर्ब रुपैयाँ लाग्ने अनुमान गरिएको थियो । कोषका सञ्चयकर्ताबाट ६ वर्षमा ९ अर्ब रुपैयाँ स्वपुँजी जुट्ने अनुमान गरिएको छ । ५० अर्ब रुपैयाँ बैंकबाट ऋण लिने योजना तय भएको छ । कोषका संचयकर्ताले वर्षेनी औसत १ अर्ब ३० करोड रुपैयाँ नाफा पाउने गरेका छन् । काम सुरु गरेको ६ वर्षमा आयोजना काम सम्पन्न गर्ने लक्ष्य तय भएको छ । आयोजनाको सुरुङ ६.६ किलोमिटर लामो हुनेछ । १६ किलोमिटर लामो पहँुचमार्ग र ५ किलोमिटर लामो प्रसारणलाइन बनाउनु पर्ने देखिएको छ । संचयकोषले विभिन्न जलविद्युत् आयोजनामा ऋण लगानीमात्र गर्दै आएको थियो । कोषले माथिल्लो तामाकोशी जलविद्युत् आयोजनामा १२ अर्ब रुपैयाँ लगानी गरेको छ । त्यस्तै, चिलिमे हाइड्रोपावर कम्पनी अन्तर्गतको रसुवागढी, सान्जेन–१, सान्जेन–२ र मध्यभोटेकोशी जलविद्युत् आयोजनामा गरी कोषले थप १६ अर्ब रुपैयाँ लगानी गरेको छ ।