विकासन्युज

१० हजारको दशैं र २ लाखको दशैं,  ९२ वर्षीय हिमालय शम्शेरको दशैं अनुभव

काठमाडौं । दशैंको हर्ष उल्लास नै अर्कै । नवरात्री भरिनै मठ मन्दिर जानेको चहलपहल हुन्थ्यो । म अहिले पनि केटाकेटीले डम्बरु बजाएको आवाज सुन्न खोज्छु, त्यो समय कहाँ रह्यो र ? हिमालय शम्शेर झल्झली सम्झन्छन्–घटस्थापनाको दिन बिहान सबेरै बागमतीमा नुहाएर भद्रकाली, संकटा, महांकालको दर्शन गर्न गएको । उतिबेला वागमती सङ्गो थियो । घरमा धारो नभएर होइन, बगेको पानीमा नुहाउँदा पाप मोक्ष हुन्छ भन्ने आस्था थियो । वागमतीमा नुहाउनुको अनुभवनै ताजै छ मसँग । दशैं घरमा ब्राम्हणसँगै परिवारको एक जना चोखो खाएर जमरा पूजाको लागि बस्नु पथ्र्यो । महाअष्टमी र महानमवीमा गुह्ेश्वरी, शोभाभगवती, मैतीदेवी जान्थ्यौ । अहिले मानिसको चाप बढ्यो, दर्शन गर्न पनि सकिदैन । घरमै जमरा राख्ने प्रचलन थियो, ब्राम्हण राखेर । अहिले घरमा जमारा राख्न ब्राम्हण पाउनै छाड्यो । अहिले मन्दिरमा राखिन्छ । त्यसैले बच्चाहरूलाई यो संस्कारको बारेमा ज्ञान हुन छाडेको छ । नयाँ कपडा लगाउने, माछामासु खाने, मामाघर जाने प्रचलनले दशैं साना ठूला सबैका लागि अत्यन्त महत्व राख्थ्यो । घरमा काम गर्नेलाई नयाँ कपडा र जुत्ता दिने गरिन्थ्यो । तर, पनि घाँटी हेरेर हाड निल्नु पर्छ भने झै हुने खाने र हुँदा खानेले आफ्नै स्तरअनुसार दशैं मनाउँथे । दशैंका लागि धेरैले आफ्नै घरमा भएका वस्तुलाई जोहो गरेर राख्थे । अहिले नयाँ कपडा लगाउन दशैं कुर्न पर्दैन, इच्छा अनुसार जतिसुकै बेला लगाउन सक्ने गरी मानिसको आयस्तर बढेको छ । आयस्तरमा आएको परिवर्तनसँगै दशैंमा तडकभडक भित्रिएको छ । दशैंमा नचाहिने खर्च गरेर अहिले पारिवारिक बजेटमा विचलन आएको छ । जीवनको ९ दशक पार गरिसकेका हिमालय शम्शेर सम्झदै भन्छन् ‘खसीबोका, च्याङ्ग्रा÷भेडा काटेको हेर्न खुब मन पथ्र्यो । घरमै काटिन्थ्यो । त्यो अहिले छैन । मान्छेले दुःख गर्न छाडे । सबै वस्तु तयारी अवस्थामा पाइन्छ । यसले हाम्रो संस्कारलाई ओझेलमा पारेको छ । त्यतिबेला नहुनेले मात्र बजारमा किन्थे । तर, अहिलेजस्तो रोजी छाडी किन्न भने पाइदैन थियो । साउन भदौदेखि नै भारतबाट दशैंका लागि सामानहरू ल्याउने प्रचलन त्यति बेला पनि थियो । तर, ठूलो खर्च हुँदैन थियो । विशेषः दशैं केन्द्रीत नयाँ नोट राष्ट्र बैंकले साट्ने प्रचलन त्यतिबेला देखिनै थियो । पछिल्लो वर्ष नेपालीको घरायसी खर्च बढेको छ । गत वर्ष नेपालीले करिब २३ खर्ब रुपैयाँ खर्च गरेका छन् । सो खर्चमा केही बढ्यो भने पनि दशंैंमा मात्रै हुने खर्च करिब आठ खर्ब पुग्छ । ६ दशकअघिको बजार अहिले बजारमा आकाश जमिन फरक छ,’ उनी भन्छन् ‘पहिला कहाँ यस्तो थियो र काठमाडौंका अधिकांश भाग खेतैखेत थियो ।’ तर अहिले समयक्रमसँगै वस्तु तथा सेवाको उपलब्धता बढेको छ । दसैं आएसँगै बजारमा चहलपहल बढेको छ । जता हेर्यो उतै भिडभाड छ, व्यापारीदेखि सर्वसाधारणको । अन्य वर्षभरि हुने खर्च मध्ये एक तिहाइ दशैंमा हुने अनुमान सरकारले गरेको छ । किराना सामानदेखि लुगा–कपडा, गरगहना, सवारीसाधन, माछामासु, मदिरा, सफ्ट ड्रिङ्स, ग्याजेट, टेलिभिजन, वासिङ मेसिन, फ्रिजलगायत सरसामान दशैंमा बढी नै खरिद गर्ने गरिन्छ । कसै कसैले दशंैमा गाडी किन्ने योजना समेत बनाएका हुन्छन् । यतिमात्र होइन दशैंमा होटल/रेस्टुरेन्टदेखि सार्वजनिक सवारी साधन, एयरलाइन्सको कम्पनीहरूले पनि टन्न कमाउँछन् । चाडपर्वलाई लक्षित गरी बिक्रेता तथा सेवा प्रदायकले विभिन्न ‘अफर’ ल्याएका हुन्छन् । हरेक वर्ष मूल्य बढ्दै गएको छ । पहिला दशैंमा घरबाट बाहिरिएका समेत घरमा जम्मा हुन्थे । अहिले घुम्न जाने कल्चरको विकास भएको छ । वर्षभरि पेशा व्यवसायमा लाग्नेहरूले दशैंमा स–परिवार घुम्न जाने प्रचलन बढ्दो छ । बजारदेखि मठमन्दिरसम्म व्यापार व्यवसाय बढेको छ । टोलटोलमा दुर्गाका मूर्तिहरू स्थापना गर्ने प्रचलन बढ्दो छ । यो हाम्रो कल्चर होइन । समयसँगै बजार विस्तार मात्रै होइन धर्म र संस्कृति पनि ट्रान्सफर भएर आएको हो । यद्यपि मूर्ति विसर्जन गर्दा वागमतीमा बगाइने फोहोरले वातावरणलाई समेत दूषित बनाएको छ । यो नभएको भए राम्रो हुन्थ्यो । तर, पनि परिवर्तनलाई रोक्न सकिदैन र रोक्न पनि हुँदैन । संचार माध्यमको आगमनपछि विज्ञापनले बजारलाई फराकिलो पार्दै गयो । विदेशी बजारमा बनेका सामानहरू नेपाल भित्र्न थाले । २०१३/१४ साल जतिबेला म नेपाल राष्ट्र बैंकको गभर्नर थिए । १०/१५ हजार रुपैयाँ भयो भने दशैं सकिन्थ्यो । अहिले दुई/तीन लाखले पनि पुग्दैन । पैसा महँगो थियो । वस्तुहरू सस्ता थिए । नेपालको जनसंख्यानै एक करोडको हाराहारीमा थियो । अहिले गिफ्ट कल्चर र पार्टी प्यालेसमा गएर दशैंको पार्टी दिने अध्यासले खर्च बढाएको छ । उतिबेला पनि भारतीय बजारबाट दशैंका लागि नेपाली बजारमा प्रशस्त सामान भित्र्न्थ्यो । केही सामान अन्य देशबाट पनि आउने गथ्र्यो । विदेशी मुद्रा सहज नहुँदा तेस्रो मुलुकबाट सामान ल्याउन सजिलो थिएन । डलर भनेको पन्ना, हिरा मोती जहवारत जस्तै थियो । सामान आयात गर्न आवश्यक पाउण्ड भारतीय रिजर्भ बैंकबाट लिनु पर्ने अवस्था थियो । राष्ट्र बैंक स्थापना हुुनुअघि हामीसँग वैदेशिक खाता थिएन । त्यति बेला नेपालबाट निर्यात भनेको खासमा जुटमात्रै थियो । धान, चामल, तेलमा हामी आत्मनिर्भर थियौं । कटन कपडा भारतबाट र ऊनका कपडा तेस्रो मुलुकबाट आउँथ्यो । दुई हजारमा राम्रो सुट पिस आउँथ्यो । ४/५ सयमा ब्राण्डेड जुत्ता नै आउथ्यो । अहिले किफायत गर्दा पनि १५ हजार रुपैयाँ त सुट कै पर्छ । दशैंका बेला अहिलेमात्रै होइन पहिला सामान्य अवस्थाको भन्दा अलिकति मूल्य वृद्धि हुन्थ्यो । सामानको मूल्य साउन/भदौदेखि नै बढ्न थाल्थ्यो । नाफा त महिला पनि व्यापारीले गर्थो । तर अहिले खर्च बढी भएकोले नाफा पनि बढी देखिएको हो । मान्छेले आफ्नो स्तरअनुसार १५/१६ हजार रुपैयाँ पर्ने ब्याकलेभल, रेडलेभल, ब्ल्यू लेभल, सुट पिसजस्ता उपहार दिन थालेका छन् । पहिला दशैंमा आफूले मान्नुपर्ने आफ्नै घर, मामाघर वा आफन्तसँगमात्रै टिका लगाउने प्रचलन थियो । पंचायती व्यवस्थाले राजा, प्रधानमन्त्री र आफूभन्दा उच्च ओहोदाका मानिससँग टिका थाप्ने कल्चर भित्र्यो । उतिबेला मामा घरमा टिका लगाउँदा ५ रुपैयाँ दक्षिणा पाइन्थ्यो । पहिला टिका थाप्नका लागि उर्दी नै जारी हुन्थ्यो निजामतिदेखि जंगीसम्मका अधिकृत स्तरका कर्मचारीलाई । दशैंको टिकामा पारिवारिक फेवर आउन छाडेको थियो । अहिले फेरि टिका पहिलाको जस्तै पारिवारिक बन्दै गएको छ । धर्म र राजतन्त्रसँगै थियो । दरवारमा टिका थाप्न जानु पथ्र्यो । राजा त्रिभुवन, महेन्द्र र वीरेन्द्रसँग टिका थाप्न जान्थ्यौं । दशैं बाहुन, क्षेत्री वा हिन्दु धर्मालम्बीको मात्रै थिएन । मुसलमानले पनि दशैं मान्थ्यो ।  घटस्थापनाको दिनदेखि कोजाग्रथ पूर्णिमासम्म प्राय कार्यालयहरू पनि विदा हुन्थ्यो । अहिले सरकारले विदा कटौती गर्दै लगेको छ । यसले दशैंलाई चटारो बनायो ।

महँगाे दशैं

बडादशैं २०७६ तपाईँ हाम्रो घरआँगनमा आइसकेको छ । असोज १२ गते फूलपातिदेखि वडा दशैं शुरु भइसकेको छ । फूलपातिदेखि नवमीसम्मका नौ दिनलाई नौरथा भनिन्छ । यो नौ दिनमा देवीका विभिन्न रुपलाई विभिन्न नाम दिएर पूजा आरधना गरिन्छ र दशमीका दिन आफ्ना मान्यजनहरुबाट टीका र जमरा ग्रहण गर्ने सांस्कृतिक परम्परा रहिआएको छ । परापूर्वकालमा असत्य माथि सत्यको विजय भएको, दानव माथि देवताले जीत हासिल गरेको जस्ता किवदन्तीहरु रहेका छन् । परापूर्वकालमा जे जसरी विजयादशमी मनाउन थालिए पनि पछिल्लो समय हिन्दु धर्माबलम्बीहरुकोे महान चाडका रुपमा बडादशैंलाई मनाइदै आएको छ । नेपालमा हिन्दुहरुको जनसंख्या धेरै छ, त्यसकारण पनि यो पर्वलाई नेपालीहरुले महान् पर्वका रुपमा मनाउने गरेका छन् । अहिले विभिन्न कामको शिलशिलामा घर बाहिर रहेकाहरु दशैं मनाउन घरमा भेला हुन थालेका छन् । देशभित्रै रहेका परिवारका सदस्यहरु घर फिर्ने क्रम जारी छ । बैदेशिक रोजगारीको शिलशिलामा रहेकाहरु पनि महान् चाड बडादशैं मनाउन घर आएका छन् । बसपार्क र विमानस्थलहरुमा बडादशैं मान्न घर जानेहरुको भीड देख्न सकिन्छ । एकैपटक धेरै मानिसहरु चाडपर्व मान्न घर जाने हुँदा गाडी र हवाई टिकटको अभाव हुने गर्छ । सामान्य अवस्थामा हुने भाडा भन्दा यो समयमा बढी भाडा लिएर कालोबजारी पनि हुने गरेको छ । अरु बेलाको भन्दा दोब्बर बढी गाडी भाडा तिर्नु पर्ने बाध्यात्मक अवस्था समेत सिर्जना हुने गरेका छन् । यसरी यातायातका क्षेत्रमा हुने गरेको अबैध धन्दा रोक्न राज्यले निगरानी गरिरहेको बताए पनि यात्रु ठगिनेक्रम भने उस्तै देखिन्छ । यसपटक खाद्यान्य र तरकारीको मूल्य पनि आकाशिएको छ । खसीबोका र च्याङ्ग्राको भाउ पनि बढेको छ । भारतबाट आउने प्याजको आयात बन्द हुँदा बजार भाउ आकाशिएको छ र यसपटकको दशैंको भान्सा प्याजरहित हुने संभावना छ । प्याज पाइएपनि धेरै मूल्य तिर्नु पर्ने अवस्था छ । दशैं पर्वमा नयाँ लुगा लगाउने, मीठा मीठा परिकारहरु खाने प्रचलन छ । त्यसकारण यो पर्व मनाउने नेपालीहरुलाई यस समयमा धेरै नै आर्थिक ब्ययभार पर्ने गर्छ । दुर्गा पूजा गर्ने र विजयादशमीका दिन मान्यजनहरुबाट निधारमा टीका र कानमा जमरासहित आशिष ग्रहण गरिन्छ । बडादशैंमा मान्यजनहरुबाट टीका, जमरा र आशिष ग्रहणसँग विभिन्न शिलशिलामा घरबाट टाढा रहेका आफन्तहरु भेला हुने र रमाइलो गर्ने अवसरका रुपमा समेत लिइन्छ । यो दशैं पर्वले हुने खाने भन्दा पनि हुँदा खानेहरुलाई समस्यामा पनि पार्ने गरेको छ । दशैंमा आफ्नै घरमा खसी काट्नै पर्ने, छोराछोरीहरुलाई नयाँ कपडा किनिदिनै पर्ने र समाज अनुसार चल्नु पर्ने नाममा ठूलाबडाको देखासिकी गर्दा हुँदा खानेहरुले आर्थिक ब्ययभार निकै बोक्नु पर्ने हुन्छ । तर, वर्षको एक पटक मनाइने महान् पर्वलाई हाँसीखुशी गरेर मनाउने पर्वका रुपमा मनाउनु पर्छ । अर्काको देखासिकी गरेर भन्दा पनि आफ्नो हैसियत अनुसार मनाउँदा धेरै आर्थिक ब्ययभार बोक्नु पर्दैन । ‘घाँटी हेरी हाड निलौं’ भन्ने कुरालाई मनन् गर्दै आफ्नो हैसियत र क्षमता अनुसार पर्वलाई मनाउन सकियो भने पर्व मनाउँदाको आर्थिक ब्ययभारले लामो समयसम्म पिरोल्ने छैन । पछिल्लो समय बडादशैंमा हुने छुट्टीको अवसरलाई विभिन्न पर्यटकीय र धार्मिक क्षेत्रहरु घुमफिर गर्ने परिपाटी शुरु भएको छ । कत्तिले यो छुट्टीमा राम्रा किताबहरु पढेर, राम्रो सिनेमाहरु हेरेर दशैं बिदालाई सदुपयोग गर्ने गर्छन् । वर्षभरी विभिन्न काममा व्यस्त रहनेहरुले दशैं पर्व हर्षोल्लासका साथ मनाएर आफूलाई पुर्नताजगी बनाउने अवसरका रुपमा समेत लिन्छन् । बडादशैंको यो माहौलमा हामी पनि भन्छौँ, हर्षोल्लासमय वातावरणमा दशैं मनाउनु होला । यो समयमा कसैलाई दुःखद् घटनाले नपिरोलोस् हामी कामना गर्छौँ । अन्त्यमा विकासन्युज परिवारकाे तर्फबाट सम्पूर्ण पाठक, विज्ञापन दाता, शुभेच्छुकसहित सम्पूर्ण नेपालीहरुमा बडादशैं २०७६ को हार्दिक मंगलमय शुभ कामना व्यक्त गर्दछ । बडादशैं सबैका लागि शुभ रहोस् ।

१२ वाणिज्य बैंककाे साढे १८ अर्बको लाभांश घोषणा, यी बैंकले लगानीकर्तालाई बनायो उत्साहित

काठमाडौं । १२ ओटा वाणिज्य बैंकहरुले साढे १८ अर्बको लाभांश प्रस्ताव गरेका छन् । दशैं बिदा शुरु हुने अन्तिम दिनसम्म आइपुग्दा सञ्चालनमा रहेका २८ मध्ये ८ वाणिज्य बैंकले कुल १८ अर्ब ६२ करोडको लाभांश प्रस्ताव गरेका हुन् । घोषणा गरिएका लाभांशमध्ये १० अर्ब ६७ करोड रुपैंयाको नगद लाभांश र ७ अर्ब ९५ करोड रुपैंयाको बोनस शेयर वितरण गर्ने प्रस्ताव गरिएको छ । हालसम्म लाभांश घोषणा भएका बैंकहरुको औसत लाभांश १७.३७ प्रतिशत रहेको देखिएको छ । जसमध्ये ९.९५ प्रतिशत नगद लाभांश र ७.४२ प्रतिशत बोनस शेयर रहेको देखिएको छ । लाभांश प्रस्ताव गर्ने कम्पनीहरुमा बैंक अफ काठमाडौं, सिटिजन्स, ग्लोबल आईएमई, जनता, कुमारी, माछापुच्छ्रे, मेगा, एनआईसी एशिया, सानिमा, नेपाल एसबीआई, सिद्धार्थ र सनराइज बैंक छन् । तीमध्ये सिटिजन्स, एनआईसी एशिया र कुमारी बैंकले साधारणसभाबाट लाभांश प्रस्ताव पारित समेत गरिसकेका छन् । हालसम्म लाभांश प्रस्ताव गर्ने वाणिज्य बैंकमध्ये सर्वाधिक लाभांश ग्लोबल आईएमई बैंकले दिएको छ । ग्लोबलले १२.७५ प्रतिशत नगद र त्यति नै बोनस शेयर दिएको हो । त्यस्तै, सिद्धार्थ बैंकले १० प्रतिशत बोनस र १५.२५ प्रतिशत नगद तथा एनआईसी एशिया बैंक र सानिमा बैंकले १० प्रतिशत बोनस शेयर ११.०५२६ प्रतिशत नगद लाभांश दिएका छन् । बाँकी ४ बैंकले भने २० प्रतिशतभन्दा कम लाभांश प्रस्ताव गरेका छन् । २० प्रतिशतभन्दा कम लाभांश दिनेहरुमा बैंक अफ काठमाण्डूले ६ प्रतिशत बोनससहित जम्मा १७ प्रतिशत, नेपाल एसबीआई बैंकले ६ प्रतिशत बोनससहित १६.८४ प्रतिशत, माछापुच्छ्रे बैंकले ५ प्रतिशत बोनससहित १६ प्रतिशत, सनराइजले १० प्रतिशत बोनससहित १५.८ प्रतिशत, सिटिजन्स बैंकको ३ प्रतिशत बोनससहित १५ प्रतिशत, जनता बैंकको ६ प्रतिशत बोनससहित १२ प्रतिशत, मेगा बैंकको ११ प्रतिशत नगद लाभांश र कुमारी बैंकको १० प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि लाग्ने नगद लाभांशको प्रस्ताव गरिएको छ । यी मध्ये बैंक अफ काठमाण्डू बाहेक बाकी सबै बैंकले लगानीकर्तालाई गत वर्षकोभन्दा बढी लाभांश प्रस्ताव गरेर खुसी बनाएका छन् । गत वर्ष ५.२७ प्रतिशत लाभांश(३.६३ प्रतिशत बोनस र १.६४ प्रतिशत नगद) दिएको सिटिजन्स बैंकले यस वर्ष लगानीकर्तालाई १५ प्रतिशत लाभांश दिएकाे छ। जुन अघिल्लो वर्षको भन्दा करिब १० प्रतिशत बढी हो । त्यस्तै, ग्लोबल आईएमई बैंकले अहिलेसम्मकै उच्च अर्थात २५ प्रतिशत लाभांश(१२.५ प्रतिशत बोनस र १२.५ प्रतिशत नगद) दिने प्रस्ताव गरेको छ । अघिल्लो आर्थिक वर्ष २०७४÷०७५ मा बैंकले १६ प्रतिशत बोनस सेयर मात्र वितरण गरेको थियो । जनता बैंकले सेयरधनीलाई गत वर्ष ८ प्रतिशत नगद लाभांश मात्रै वितरण गरेको थियो । तर यस आर्थिक वर्षमा बैंकले सेयरधनीलाई १२ प्रतिशत लाभांश(६ प्रतिशत बोनस र ६ प्रतिशत नगद) दिने प्रस्ताव गरेको छ । गत वर्ष ८.५ प्रतिशत बोनस मात्रै दिएको कुमारी बैंकले यो पालि १०.२५ प्रतिशत लाभांश(१० प्रतिशत बोनस र ०.२५ प्रतिशत नगद) वितरण गरेको छ । जुन अघिल्लो वर्षको भन्दा करिब २ प्रतिशत बढी हो । त्यसैगरी, माछापुच्छ्रे बैंकले गत वर्ष १० प्रतिशत नगद लाभांश मात्रै वितरण गरेको छ । जसले यस वर्ष १६ प्रतिशत लाभांश(११ प्रतिशत नगद र ५ प्रतिशत बोनस) दिने घोषणा गरिसकेको छ । मेगा बैंकले गत वर्ष सेयरधनीलाई ७.८५ प्रतिशत लाभांश(६.८५ प्रतिशत नगद र १ प्रतिशत बोनस) दिएको थियो । जुन यस वर्षकोभन्दा घटी हो । बैंकले यस वर्ष सेयरधनीलाई ११.७५ प्रतिशत नगद लाभांश मात्रै दिने प्रस्ताव गरेको छ । बैंकले बोनस नदिएको सेयरधनी केही निरास देखिएपनि गत वर्षको भन्दा बढी नगद लाभांश घोषणाले उनीहरुमा केही हदसम्मको खुसी छाएको देखिन्छ । त्यस्तै, एनआईसी एशियाले यस वर्ष गत वर्षकोभन्दा दोब्बर लाभांश घोषणा गरेको छ । गत वर्ष १०.५३ प्रतिशत लाभांश(१० प्रतिशत बोनस र ०.५३ प्रतिशत) वितरण गरेको बैंकले यस आवमा २१.०५ प्रतिशत लाभांश(१० प्रतिशत बोनस र ११.०५ प्रतिशत नगद) दिएकाे हाे । सानिमा बैंकले गत वर्ष १४ प्रतिशत नगद लाभांश मात्रै वितरण गरेको थियो । यस वर्ष बैंकले २१.०५ प्रतिशत लाभांश(११.०५ प्रतिशत नगद र १० प्रतिशत बोनस) प्रस्ताव गरी सेयरधनीहरुमा खुसी ल्याएको छ । एसबिआई बैंकले चालु आवमा गत वर्षको एक प्रतिशत बढी लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । बैंकले चालु आवमा १६.८४ प्रतिशत लाभांश(१०.८४ प्रतिशत नगद र ६ प्रतिशत बोनस) वितरण गर्ने प्रस्ताव गरेको छ । सिद्धार्थ बैंकले पनि गत वर्षको भन्दा बढी लाभांश घोषणा गरेको छ । १३.१६ प्रतिशत लाभांश(८.१६ प्रतिशत नगद र ५ प्रतिशत बोनस) वितरण गरेको बैंकले यस वर्ष २५.२५ प्रतिशत लाभांश(१५.२५ प्रतिशत नगद र १० प्रतिशत बोनस) दिर्ने प्रस्ताव गरेको छ । गत वर्ष बोनस नदिई ११.५ प्रतिशत नगद लाभांश मात्रै दिएको सनराइज बैंकले यस वर्ष बोनस र नगद दुबै दिने घोषणा गरेको छ । बैंकले यस वर्ष सेयरधनीहरुलाई ५.८ प्रतिशत नगद र १० प्रतिशत बोनस गरी १५.८ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरिसकेको छ ।

काठमाडौंमा सनराइज बैंकको निःशुल्क बस सेवा, कुन कुन रुटमा चल्छ ?

काठमाडौं । सनराइज बैंकले आफ्नो १२औं वार्षिक उत्सवको अवसर र नेपालीहरुको महान चाँड दशैंलाई मध्यनजर गर्दै निःशुल्क बस यात्राको सुविधा प्रदान गर्ने भएको छ । दशैंको बेला काठमाडौंमा सार्वजनिक यातायातको अभाव हुने समस्यालाई केहि हदसम्म न्युनिकरण गर्ने अभिप्रायले बैंकले निःशुल्क बस सेवा प्रदान गर्न लागेको हो । उक्त सेवा बैंकले दशैको टिकाको दिन अर्थात आश्विन २१ गते, मंगलबार संचालन गर्ने जनाएको छ । “सनराइज दशैं यात्राहामी संग संगै” भन्ने नाराको साथ बैंकले काठमाडौंको दुईवटा रुटमा बस सेवा संचालन गर्नेछ । जसमा बुढानिलकण्ठदेखि लगनखेलको रुट र चक्रपथ परिक्रमाको रुट रहनेछन् । साथै, बैंकले आश्विन महिनालाई १२औं वार्षिक उत्सवपूर्ण महिनाको रुपमा मनाउन विभिन्न १२ विधाहरुमा देशभर कार्यक्रमहरु गर्दै जाने जनाएको छ ।

दशैँको छुट्टीमा पनि आपत्कालीन सेवा, निशुल्क हटलाईन र रेडियो कार्यक्रम निरन्तर हुने

काठमाडाैं । नेपाल रेडक्रस सोसाइटीद्धारा सञ्चालित विभिन्न सेवाहरु दशैँको लामो छुट्टीमा पनि निरन्तर रहने व्यवस्था मिलाइएको छ । यस बीचमा कुनै विपद्का घटनाहरु आइपरेमा केन्द्रीय स्तरमा विपद् व्यवस्थापन विभागका उपनिर्देशक हरि मोहन श्रेष्ठको संयोजकत्वमा रहेको टोली सक्रिय रहने छ । सो स्ट्यान्डबाई टोलीमा रमेश घिमिरे, अनिल महर्जन, निमराज राउत, राजेन्द्र रोकाहा र सविता सिं रहेका छन् । यस्तै केन्द्रीय कार्यालयमा अवस्थित रक्तसञ्चार सेवा पनि सुचारु हुनेछ । दैनिक ६ जनाले ड्यूटी गर्ने व्यवस्था मिलाइएको र एक हजार २ सय यूनिट रगत स्टकमा राखिएको छ । दशैँ छुट्टीमा सामान्य तया यो स्टक पर्याप्त हुनेछ । शनिबारबाहेक हरेक दिन विहान ७ बजेदेखि बेलुका ७ बजेसम्म सञ्चालन हुँदै आएको नेपाल रेडक्रसको निशुल्क हटलाइन सेवा ११३० विजया दशमीका महाअष्टमी देखि एकादशी (असोज १९ गते देखि २२ गते सम्म) नेपाल टेलिकमका ग्राहकको लागि बन्द रहने रहेपनि एनसेलबाट आउने कलहरुका लागि भने यो सेवा विदाका ती दिनहरुमा पनि नियमित रहने छन् । दशैँको लामो छुट्टीमा पनि रेडक्रसका सेवा तथा गतिविधिबारे टिप्पणी, सुझाव, गुनासो वा प्रश्नहरु भएमा हटलाइन ११३० मा एनसेलका मोबाइल फोनबाट निशुल्क फोन गर्न र सेवा लिन सकिने व्यवस्था गरिएको हो । त्यस्तै हरेक शनिवार विहान ८ बजे प्रसारण हुने मानवताको लागि हातेमालो कार्यक्रम तथा हरेक मंगलबार बेलुकी ७ः१५ बजे प्रशारण हुने रेडियो कार्यक्रम रेडक्रस पनि विभिन्न एफएमबाट नियमित प्रसारण हुनेछन् ।

एनसेलको दशैं अफरः प्रत्येक रिचार्जमा १ जिबीसम्मको डेटा बोनस

काठमाडौं । दशैंको अवसरमा एनसेलले आफ्ना ग्राहकहरुका लागि दशैं अफर ल्याएको छ । यस अन्तर्गत एनसेलका ग्राहकहरुले प्रत्येक रु १०० भन्दामाथिको रिचार्जमा डेटा बोनस पाउँनेछन् । १०० रुपैयाँदेखि १००० रुपैयाँसम्मको प्रत्येक रिचार्जमा ग्राहकले रिचार्ज गरको रकमको आधारमा १०० एमबी देखि १ जिबीसम्म डेटा बोनस पाउनेछन् । यो योजना शुक्रबार (असोज १७) बाट १५ दिनका लागि संचालनमा रहने छ । यो योजनामा रु १०० ब्यालेन्स रिचार्ज गर्ने ग्राहकले बोनस स्वरुप एक दिन समयावधि रहेको १०० एमबी डेटा पाउने छन् । रु २०० रिचार्ज गर्नेहरुले दुई दिन समय सिमा रहेको २०० एमबी र रु ३०० को रिचार्जमा ग्राहकहरुले तीन दिनको समयावधि भएको ३०० एमबी डेटा पाउने छन् । त्यसैगरी, रु ५०० रिचार्जमा ग्राहकले पाँचदिनभित्र प्रयोग गर्न मिल्ने ५०० एमबी डेटा प्राप्त गर्नेछन् भने रु १००० को रिचार्जमा १० दिन समयसिमा रहेको १ जिबी डेटा डेटा पाउने छन् । रिचार्जमा बोनस पाईने यो अफरले ग्राहकलाई थप फाईदा प्रदान गर्ने र चाडपर्वको बेलामा सम्पर्कमा रहि रहनका साथै यसलाई उल्लासमय बनाउन सहयोग पुर्याउने एनसेलको विश्वास रहेको छ ।

एनआईसी एशियाले ल्यायो दक्षिणा प्लस योजना, ग्राहकलाई थप १० प्रतिशत रकम दिने

काठमाडौं । एनआईसी एशिया बैंकले बडा दशैंलाई लक्षित गरेर दक्षिणा प्लसको योजना सार्वजनिक गरेको छ । यो योजना अन्तर्गत दशैंमा टीका लगाएर यस बैंकको मोबैंक प्रयोग गरी दक्षिणा रकम ट्रान्सफर गर्दा दक्षिणा प्राप्त गर्ने व्यक्तिलाई बैंकको तर्फबाट थप रकम प्रदान गरिनेछ । दक्षिणा प्लस नाम दिइएको एस योजना अन्तर्गत मोबैंकको प्रयोग गरी दक्षिणा दिँदा पाँच जनासम्मलाई दक्षिणा रकमको १० प्रतिशत वा अधिकतम १०० रुपैयाँ बैंकको तर्फबाट थप हुनेछ । दक्षिणा प्लस योजना यस बैंकमा आबद्ध ग्राहकलाई मात्र लागू हुनेछ भने यो विशेष उपहार विजया दशमी टीकाको दिनदेखि कोजाग्रत पूर्णिमासम्म उपलब्ध हुनेछ । यो योजना एनआईसी एशिया बैंकको मोबैंक प्रयोग गरी फण्ड ट्रान्सफर मार्फत् दक्षिणा प्रदान गर्दा मात्र लागू हुनेछ भने दक्षिणा दिने व्यक्तिले रिमाक्र्समा “दक्षिणा प्लस” लेख्नुपर्नेछ । ‘सोच बदलौं’ नारालाई समाजमा स्थापित गराएर समाजमा बैचारिक शुद्धता ल्याउने प्रयत्नलाई दशैंसँग जोड्दै यस बैंकले दशैंमा प्रयोग हुने नयाँ नोटलाई सफा राखौं भन्ने मूल सन्देशका साथ डिजिटल दक्षिणातर्फ ग्राहकलाई उत्प्रेरित गर्न दक्षिणा प्लसको योजना अघि सारेको बैंकले जनाएको छ । साथै, यो योजना बैंकको यसपालीको चाडपर्वलाई लक्षित गरी ल्याईएको “सोच बद्लौं-मोबैंक डाउनलोड गरौं, यसपालीको चाडपर्वमा खुशी अपलोड गरौं” भन्ने अभियान अन्तर्गत ल्याइएको हो । दीर्घकालीन रुपमा नेपाली अर्थतन्त्रलाई नगदरहित बनाई डिजिटल भुक्तानीलाई व्यवस्थित गर्न पनि यस दक्षिणा प्लस अफरले आम जनमानसमा डिजिटल भुक्तानीप्रति सकारात्मक दृष्टिकोण बनाउने अपेक्षा बैंकले राखेको छ । बैंकले बडा दशैंको पावन अवसरमा दक्षिणा प्लस बाहेक अन्य विभिन्न छुट अफरहरु पनि ल्याएको छ । भाटभटेनी, सेल्सबेरी, सेलवेज जस्ता डिपार्टमेन्ट स्टोरहरुसँग सहकार्य गरी यस बैंकको कार्ड वा मोबैंक मार्फत् भुक्तानी गर्ने ग्राहकहरुलाई १५ प्रतिशतसम्मको छुट प्रदान गर्ने व्यवस्था पनि गरेको छ ।

कृषि विकास बैंकको अफिसियल बैकिङ्ग पार्टनरमा एनआरएन

काठमाडौं । कृषि विकास बैंक र एन.आर.एन पार्टनर कम्पनीबीच अफिसियल बैकिङ्ग पार्टनरको रुपमा कार्य गर्नका लागि सम्झौता भएको छ । उक्त सम्झौतामा कृषि विकास बैंकको तर्फबाट बैंकका प्रमुख कार्यकारी अधिकृत(सीईओ) अनिलकुमार उपाध्याय र एन.आर.एन पार्टनर र आईडिया फर नेपालको तर्फबाट अध्यक्ष गोर्कणप्रसाद श्रेष्ठले हस्ताक्षर गरेका छन् । उक्त सम्झौताले विदेशबाट प्राप्त हुने रेमिट्यान्स रकमलाई उत्पादन क्षेत्रमा उपयोग गर्न थप मद्दत पुग्ने छ । व्यवसायिक कृषि, पर्यटन होटेल इ-पारकिङ्ग, रेमिट्यान्स र भुक्तानी सेवा व्यवसाय थप वृद्धि हुने देखिन्छ । कार्यक्रममा कृषि विकास बैंकका सीईओ उपाध्यायले यस सम्झौताले भविष्यमा रेमिट्यान्स व्यवसाय अभिवृद्धिका लागि थप टेवा पुग्नका साथै रेमिट्यान्स रकमको पूर्ण सदुपयोग गर्न र विदेशमा रहने नेपालीहरुले नेपालमा रकम पठाउन थप सहज र सरल हुन समेत मद्दत पुग्ने बताएका छन् । सोहि अवसरमा एन.आर.एन पार्टनरका अध्यक्ष श्रेष्ठले भविष्यमा यस सम्झौताका कारणले दुर्गम ग्रामिण क्षेत्रहरुमा रेमिट्यान्स सेवालाई सहज र सरल सहित पहुंच वृद्धि गर्न सम्भावित सहकारी तथा व्यक्तिहरुलाई एजेन्टको रुपमा परिचालन गर्न सकिने बताएका थिए ।