मन्त्रिमण्डल पुनर्गठनकाे तयारी : युवराज खतिवडादेखि गोकुल बाँस्कोटासम्म हट्दै, क-कसले पाए मन्त्रीको आश्वासन ?
काठमाडौं । दशैं सकिएलगत्तै प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिमण्डल पुनर्गठन गर्ने प्रक्रिया सुरु गरेका छन् । पटकपटक पुनर्गठनको तयारी गरेर पनि विभिन्न कारणले रोकिएको मन्त्रिमण्डल पुनर्गठनको विषयलाई अघि बढाउने विषयमा नेपाल कम्युनिष्ट पाटीका शीर्ष नेतृत्वभित्र आन्तरिक गृहकार्य सुरु भएको प्रधानमन्त्रीनिकट स्रोतले जनाएको छ । दशैंलगत्तै मन्त्रीमण्डलमा हेरफेर गर्नेगरी प्रधानमन्त्री ओली र नेकपाका अध्यक्ष पुष्पकमल दाहालबीच आन्तरिक सहमति भइसकेको भए पनि चिनियाँ राष्ट्रपति सी जिङफिङको नेपाल भ्रमणका कारण एक साता पर सरेको स्रोतले जनाएको छ । ‘प्रधानमन्त्री अब पुनर्गठन रोक्नु हुँदैन भन्ने पक्षमा हुनुहुन्छ, कार्यदक्षता कम भएका मन्त्रीहरुलाई निरन्तरता दिन नसक्ने उहाँको अडानमा अर्का अध्यक्षज्यू पनि सहमत हुनुहुन्छ, सम्भवतः राष्ट्रपति अष्ट्रेलिया भ्रमणबाट आएलगत्तै शपथ ग्रहण हुनेगरी गुनर्गठनको कार्य अघि बढ्छ’ स्रोतले भन्यो । मन्त्रिमण्डलको सम्भावित पुनर्गठनमा हाल भएका अधिकांश चर्चित अनुहारहरु नै बाहिरिने चर्चा छ । पूर्व एमालेका तर्फबाट मन्त्री भएका अर्थन्त्री युवराज खतिवडा, सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटा, भौतिक पूर्वाधारमन्त्री रघुवीर महासेठ, संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डित, युवा तथा खेलकुदमन्त्री जगतबहादुर विश्वकर्मा, भूमिसुधारमन्त्री पद्मा अर्याललाई पदमुक्त गर्ने तयारी भएको बताइएको छ । त्यस्तै, पूर्व माओवादीतर्फ उद्योगमन्त्री मातृका यादव, खानेपानीमन्त्री बिना मगर, कृषिमन्त्री चक्रपाणी खनाललाई जिम्मेवारीमुक्त गर्ने चर्चा नेकपावृत्तमा छ । अर्थमन्त्री युवराज खतिवडाले अर्थमन्त्री बन्नुअघि प्रधानमन्त्रीलाई दिएको आश्वासन पूरा गर्न नसकेको, गैरराजनीतिक पृष्ठभूमिका कारण पार्टीभित्र निकै ठूलो दबाव झेल्नुपरेको र बजारमा निरन्तर रुपमा अर्थमन्त्रीको राजीनामा माग हुँदै आएका कारण उनलाई परिवर्तन गर्नुपर्ने निष्कर्षमा ओली रहेको बताइन्छ । त्यस्तै, अभिव्यक्तिकै कारण पार्टी र सरकारको बदनाम हुन थालेपछि सञ्चारमन्त्री गोकुल बाँस्कोटालाई परिवर्तन गर्ने निष्कर्ष ओलीले निकालेका बताइएको छ । तात्कालिन एमालेमा निकै कनिष्ठ रहेका कारण राज्यमन्त्री मात्रै बनाइएका बाँस्कोटालाई नेकपा एकीकरणपछि पोलिट व्यूरो सदस्य बनाएर मन्त्रीमा बढुवा गरिएको थियो । पत्रकारिता पृष्ठभूमि भएर पनि पत्रकारहरुप्रति असहिष्णु व्यवहार देखाएकै कारण आफ्नै पार्टीनिकट पत्रकारहरुले समेत सरकारलाई सहयोग गर्ने अवस्था नआएका कारण उनलाई पदमुक्त गर्न लागिएको स्रोतले जनाएको छ । ‘विभिन्न क्षेत्रगत संगठनहरुमा निरन्तर हार व्यहोरिरहेको अवस्थामा आउँदै गरेको उपनिर्वाचनमा पार्टीको सम्भावित पराजय टार्न पनि ‘बोल्ड डिसिजन’ लिनुपर्ने अवस्था आयो’– प्रधानमन्त्रीको भनाई उद्घृत गर्दै स्रोतले भन्यो । यातायात क्षेत्रको समस्या समाधान गर्न नसकेको बरु यातायात व्यवस्था विभागमा निरन्तर हस्तक्षेप गर्ने गरेको, ठेक्कापट्टा गर्ने कम्पनीहरुलाई कारबाहीको सट्टा पृष्ठपोषण गरेको गुनासो भौतिक पूर्वाधारमन्त्री महासेठप्रति प्रधानमन्त्रीको छ । कर्मचारीप्रति अति नै असहिष्णु भएका कारण कर्मचारी वृत्तबाट समेत असहयोग हुन थालेपछि सामान्य प्रशासनमन्त्री पण्डित पनि बहिर्गमनको सूचीमा थपिएका हुन् । जगत विश्वकर्मालाई पनि खेलकुद क्षेत्रको समस्या समाधान गर्न नसकेको र युवालक्षित कार्यक्रम ल्याउन नसकेको आरोप छ । उता पूर्व माओवादीतर्फ मन्त्री रहेका खानेपानीमन्त्री बिना मगरलाई पनि मेलम्ची लगायतका आयोजनाहरुमा प्रभावकारी ढंगले समन्वय गर्न नसक्दा आयोजना निर्माणमा ढिलाई भएको र भ्रष्टाचारको आरोप समेत लागेको भन्दै हटाउन लागिएको हो । त्यसो त पछिल्लो समय बिना र पुष्पकमल दाहालको सम्बन्ध सुमधुर बन्न नसकेको समेत चर्चा छ । उद्योगमन्त्री मातृका यादवले समेत पटकपटक विवादास्पद अभिव्यक्ति दिँदैगर्दा उद्योगी व्यवसायीहरु हतोत्साहित हुन थालेको निष्कर्षमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल पुगेको बताइएको छ । त्यस्तै, कृषिमन्त्री चक्रपाणि खनाल पनि माओवादीका तर्फबाट हटाइने मन्त्रीको सूचीमा रहेको बताइएको छ । सम्भावित नयाँ अनुहारहरु मन्त्रीगठन पुनर्गठनको चर्चासँगै पार्टीका दुई अध्यक्षहरुले पार्टीका विभिन्न तहका नेताहरुलाई मन्त्री बनाउने आश्वासन बाँड्न थालेका छन् । मन्त्रिमण्डल पूनर्गठनपछि पूर्व एकालेका तर्फबाट सुरेन्द्र पाण्डेलाई अर्थ मन्त्रालयको जिम्मेवारी दिने प्रधानमन्त्री ओलीले आश्वासन दिएको बताइएको छ । यसअघि समेत अर्थ मन्त्रालयको जिम्मेवारी सम्हालेर राम्रो कार्यसम्पादन देखाएका पाण्डे भन्दा उत्तम विकल्प पूर्व एमालेमा नरहेको समेत विश्लेषण हुन थालेको छ । त्यस्तै, हाल अर्थ समितिको सभापति रहेका कृष्णप्रसाद दाहाललाई मन्त्रिमण्डलमा प्रवेश गराउने आश्वासन ओलीले दिएको बताइन्छ । उनले उद्योग मन्त्रालयको माग गर्दै आएको बताइएको छ, यद्यपि अहिले पूर्व माओवादीको भागमा रहेको उक्त मन्त्रालय कसरी व्यवस्थापन गर्ने अन्यौलताका कारण उनलाई फरक जिम्मेवारी दिनसक्ने समेत चर्चा छ । मकवानपूरबाट अहिलेसम्म नेकपाको तर्फबाट कोहीपनि मन्त्री नभएको अवस्थामा उनलाई मन्त्री बनाएर काँग्रेसका तर्फबाट मन्त्री भइसकेका इन्द्र वानियाँको क्याम्पियनिङलाई ध्वस्त बनाउने रणनीतिअनुसार उनलाई मन्त्री बनाउन लागिएको हो । महेश बस्नेत र खगराज अधिकारी पनि नयाँ मन्त्रीका लागि आश्वासन पाएका अनुहारहरु हुन् । यी दुवैजना ओलीनिकटका हुन् । खगराज अधिकारीले संसदमा सरकारको बचाउमा खेलेको उल्लेख्य भूमिकाका कारण ओली उनीप्रति थप सकारात्मक बनेको बताइन्छ । प्रधानमन्त्री ओलीले संसदमा बोलेको अभिव्यक्ति रेकर्डबाट हटाउने माग गर्दा नियमापत्ति गर्ने व्यक्ति तिनै खगराज अधिकारी हुन् । त्यस्तै, राजेन्द्र गौतम, लेखराज भट्ट र प्रभु साहको नाम चर्चामा छ ।
नेपाल एग्रो लघुवित्त र नेष्डो समृद्ध लघुवित्तबीच मर्ज हुने
काठमाडौं । नेपाल एग्रो लघुवित्त वित्तीय संस्था लिमिटेड र नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्था लिमिटेडबीच मर्ज हुने भएको छ । दुई संस्था बीच मर्जरबारे गत असोज १७ गते समझदारी भएको नेपाल एग्रो लघुवित्तको प्रमुख कार्यकारी अधिकृत तेजेन्द्र शर्मा लम्सालले जानकारी दिए । मर्जरपछि नेपाल एग्रोको ४ लाख ९७ हजार ७७८ साधारण सेयर किनबेच बन्द गरिएको उनले बताए । दुई संस्थाबीच पुस मसान्तअघि नै मर्जर सम्पन्न गर्ने गरी काम अगाडि बढेको लम्सालले बताए । दुबैं संस्थाको डीडीए गरेर स्वाप रेसियो तय गरिने बताईएको छ ।
१६ प्रतिशत बोनस सेयर दिने प्रभु बैंकको घोषणा, बजारमा सेयर मूल्य बढ्यो
काठमाडौं । प्रभु बैंकले सेयरधनीलाई १६ प्रतिशत बोनस सेयर दिने भएको छ । बैंक संचालक समितिले गत आर्थिक वर्षको नाफाबाट १ अर्ब ४२ करोड २८ लाख २७ हजार रुपैयाँ बराबरको बोनस सेयर दिने निर्णय गरेको हो । हाल बैंकको चुक्ता पुँजी ८ अर्ब ८९ करोड २६ लाख रुपैयाँ छ । बोनस सेयरपछि चुक्ता पुँजी १० अर्ब ३१ करोड ५४ लाख रुपैयाँ हुनेछ । बोनस सेयरसँगै बैंकले लाभांशमा लाग्ने कर स्वरुप ७ करोड ४८ लाख रुपैयाँ नगद लाभांश पनि दिने भएको छ । सञ्चालक समितिको निर्णय राष्ट्र बैंकबाट स्वीकृत भई साधारणसभाबाट अनुमोदन भएपनि लगानीकर्ताको खातामा बोनस सेयर पठाइने बैंकले जनाएको छ । लाभांश घोषणासँगै बैंकको सेयर मूल्य बढ्न थालेको छ । दशैपछि खुलेको सेयर बजारमा अरु कम्पनीको सेयर मूल्य घट्दै गर्दा प्रभु बैंकको सेयर मूल्य ५ रुपैयाँले वृद्धि भई २७० रुपैयाँ कायम भएको छ ।
लेखापरीक्षण पछि बैंकको नाफामा १८% सम्म तलमाथि, बिओके र एनआईशीको सबैभन्दा बढी
काठमाडौं । सूचीकृत कम्पनीको सेयर मूल्य उतारचढावमा विभिन्न पक्षले प्रभाव पारेकाे हुन्छ । माग र आपूर्तिकाे प्रभाव एवं कम्पनीको वित्तीय विवरणकाे प्रभाव मुख्य कारण हुन् भने व्यवस्थापकीय परिवर्तन, राजनीतिक परिवर्तन, अर्थतन्त्रमा देखिएकाे मुलभूत परिवर्तन लगायत अन्य धेरै कारण पनि हुन्छन् आज सूचीकृत कम्पनीका सेयर मूल्य प्रतिकित्ता ५० रूपैयाँ देखि २० हजार रुपैंयाँ भन्दा माथिसम्म किनबेच भइरहेकाे छ । वाणिज्य बैंकहरुकै कुरा गर्ने हो भने पनि मूल्यमा करिब ४ गुणासम्मको भिन्नता पाइन्छ, यी सबैका कारण वित्तीय अवस्थाको मूल्यांकन नै हो । साधारण शेयर निष्कासन गरेका सूचीकृत कम्पनीहरु ३/३ महिनामा आफ्नो वित्तीय विवरण प्रकाशन गर्नुपर्ने प्रावधान छ । त्यही रिपोर्टलाई नै हामी वित्तीय विश्लेषणको औजार मान्छौं । तर हामीले हेर्ने वित्तीय विवरण कत्तिको सही हुन्छ ? त्यो भने हामीले कतिपय अवस्थामा सोचिरहेका नै हुँदैनौं । हालसम्म ८ ओटा वाणिज्य बैंकहरुले आर्थिक वर्ष २०७४/७५ को लेखापरीक्षण प्रतिवेदन प्रकाशन गरेका छन् । बैंक अफ काठमाण्डू, सिटिजन्स बैंक, कुमारी बैंक, माछापुच्छ्रे बैंक, एनआईसी एशिया बैंक, सानिमा बैंक, सिद्धार्थ बैंक र सनराइज बैंकले त्यस्तो वित्तीय विवरण प्रकाशन गरिसकेका छन् । कुमारी, सिटिजन्स र एनआईशी एशिया बैंकको भने साधारणसभाले उक्त लेखापरीक्षण प्रतिवेदन समेत पारित गरिसकेको छ । लेखापरीक्षणपछिको वित्तीय विवरण प्रकाशन गर्ने ८ ओटा कम्पनीमध्ये बैंक अफ काठमाण्डू र एनआईशी एशिया बैंकको वितरणयोग्य नाफामा ठूलो भिन्नता देखिएको छ । बैंक अफ काठमाडौंको त्यस्तो भिन्नता करिब १८ प्रतिशत देखिएको हो । लेखापरीक्षण नगरिएको वित्तीय विवरणमा २ अर्ब ३१ करोड वितरणयोग्य नाफा देखाएको विओकेको लेखापरीक्षण गरिएको विवरणमा जम्मा १ अर्ब ८९ करोड रुपैंयामात्रै नाफा देखिएको छ, यो करिब १८ प्रतिशत कम हो । त्यस्तै, लेखापरिक्षण पूर्व ३ अर्ब ३५ करोड नाफा देखिएको एनआईशी एशिया बैंकको नाफा लेखापरीक्षण पछि ३ अर्ब २ करोडमा सीमित छ, यो करिब १० प्रतिशतको फरक हो । बाँकी ६ कम्पनीमध्ये ५ कम्पनीको नाफा लेखापरीक्षण नगरिएको विवरणको तुलनामा लेखापरीक्षणपछिको विवरणमा कमी आएको देखिँदा सानिमा बैंकको मात्रै नाफामा बढोत्तरी आएको देखिएको छ । सानिमा बैंकको लेखापरीक्षण गरिएको विवरणमा २ अर्ब २५ करोड ८१ लाख रुपैंया वितरणयोग्य नाफा देखिएको छ जुन सुरुको विवरणभन्दा १ करोड ४७ लाख रुपैंयाले बढी हो । बैंकहरुको लेखापरीक्षण गरिएको र नगरिएको विवरणमा अस्वाभाविक उतारचढाव देखिएपछि केही वर्षअघि नेपाल राष्ट्र बैंकले १५ प्रतिशतभन्दा धेरै उचारचढाव देखिए स्पष्टिकरण दिनुपर्ने व्यवस्था गरेको थियो । त्रिलोचन पंगेनी कार्यकारी निर्देशक रहेको बेला राष्ट्र बैंक नियमन विभागले त्यस्तो व्यवस्था गरेको हो । अहिले बैंकहरुले पूरानो लेखापरीक्षण प्रणालीलाई प्रतिस्थापन गरी नेपाल फाइनान्सियल रिपोर्टिङ स्ट्यान्नर्ड अनुसार लेखा राख्न थालेका छन्, यसबीचमा चार्टर्ड एकाउन्टेन्टहरुको गुणस्तरमा उल्लेख्य सुधार भएको समेत बताइन्छ । प्रत्येक बैंकमा कम्तीमा ४/५ जनासम्म चार्टर्ड एकाउन्टेन्टहरु पूर्णकालीन रुपमा खटिएका हुन्छन्, उनीहरुले आन्तरिक रुपमा लेखापरीक्षण गर्छन्, यद्यपि यी दुई विवरणहरुमा त्यति ठूलो भिन्नता देखिन गएको हो ।
दशैंमा खाद्यान्न भन्दा कपडाप्रति बढ्दो आकर्षण
सुनिता पुडासैनी काठमाडौं । पछिल्लो समय दशैंका लागि खाद्यान्न भन्दा नयाँ डिजाइन तथा ब्राण्डेड कपडा प्रति युवा वर्गको बढ्दो आकर्षण देखिएको छ । दशैंलाई लक्षित गरी नयाँ पुस्तामात्र नभइ आम मानिसको ध्यान बजारमा उपलब्ध भएको कपडामा केन्द्रीत भइरहेको खुद्रा व्यवसायी संघका अध्यक्ष पवित्र बज्राचार्यले बताए । खाद्यान्नमा मानिसहरुको झुकाव कम हुँदै आएसँगै व्यक्तित्व अनुसारको कपडा सबैको रोजाइ भएको अध्यक्ष बज्राचार्यले बताए । उपत्यकाको अधिकांश खुद्रा व्यवसायीले दशैं लक्षित सामान भन्दै बढी मात्रामा विक्री गर्न नसक्ने अवस्था रहेको छ, उनले भने ‘अधिकांश मान्छे आफ्नो घर जाने हुँदा दैनिक हुने व्यवसायमा पनि प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा असर पर्छ ।’ हाल मानिसले आफ्नो रुची अनुसार खाद्यान्नको उपभोग गर्ने हुँदा दशैंकै लागि भनेर मानिसहरु खाने कुरामा चासो नदेखाउने अध्यक्ष बज्राचार्यले जानकारी दिए । केही वर्ष अगाडी दशैं आयो भन्दै गर्दा छुट्टै खालको उमंग भित्रिने छाउने र मानिसको ध्यान मासु लगायत खाने कुरामा केन्द्रीत भएको पाइथ्यो भने हाल सबैको ध्यान कपडा केन्द्रित भएको छ । विकासित समाजको तयारीमा जुटेको हाम्रो समाजमा हाल डिजानदार कपडा खरिद गर्न देखि फरक फरक ठाँउ घुम्न जानेको संख्या अधिकांश रहेको फेन्सी संचालन गर्दै आएका ६५ वर्षीय हरि बोहोराको भनाइ छ । एक जोर नयाँ लुगा लगाउनका लागि पहिला दशैं नि कुर्नु पर्ने अवस्था थियो भन्दै बोहोराले समय बित्दै गएसँगै हरेक मानिसको चाहना र इच्छा परिस्थिति अनुसार परिवर्तन भएको बताए । एक महिनामा मात्र चार अर्बभन्दा बढीको कपडा आयात दशैलाई लक्षित गरी साउन महिनामा मात्र चार अर्ब २० करोड रुपैयाँको कपडा आयात छ । भन्सार विभागको तथ्यांक अनुसार गतवर्ष १० अर्ब ५५ करोड रुपैयाँको कपडा आयात भएको थियो । पछिल्लो समय चीनबाट तयारी पोसाकको आयात बढेसँगै कोरियन ब्राण्डका कपडाको पनि नेपाली बजारमा अत्याधिक माग रहेको हिमालयन सिटी सेन्टरका मामा भान्जा फ्रेडसिपका संचालक अमिर खतिवडाले बताए । प्रत्येक मानिसले आफ्ना आवश्यकता पुरा गर्नका लागि दशैं लक्षित गरि आफ्नो क्षमता अनुसार बजारमा उपलब्ध भएका सामानहरू खरिद गर्न पछाडि हटेका छैन् । अझै पनि दशैंमा नयाँ लुगा लगाउनै पर्छ भन्ने मान्यता हराएको छैन । व्यक्तिको इच्छा अनुसारको लुगा कपडा खरिद गर्नेको मात्रा बढ्दै गएको बताए । नयाँ पुस्ताहरू हाल पश्चिमी संस्कृति अगाल्दै गर्दा नेपालमा नै उत्पादन भएका कपडालाई ध्यान नदिएको हुँदा प्रत्येक वर्ष व्यवसायीले विशेष गरी भारत र चीनबाट आयात गर्दै आएको व्यवसायीले जानकारी दिए । हाल तयारी पोसाक भने अधिकांश चीनबाट नै आयात भईरहेको भन्सार विभागले जनाएको छ । बजारमा खुद्रा व्यापारको अवस्था दशैं लक्षित बजारलाई केन्द्रित गर्दै सरकारले ७३ वटा सहुलियत पसल खोले पनि सहज एवम् प्रयाप्त मात्रामा व्यवस्थापन नभएको नेपाल खुद्रा व्यापार संघका अध्यक्ष राजकुमार श्रेष्ठले भने । उपभोक्तालाई केन्द्रीत गरी अधिकांश मुख्य ठाँउमा सहुलियत पसल संचालन गरे पनि त्यसको सकारात्मक प्रभाव बजारमा नदेखिएको अध्यक्ष श्रेष्ठले बताए । बजारमा चाडपर्वको बेला खुद्रा सामानको मूल्यको विषयमा व्यवसायी तथा व्यापारीको विभिन्न कुरो आए मूल्य वृद्धि नहुने वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले जानकारी दिएको छ । दशैंको अवसरमा भने बजारमा खुद्रा सामानको मूल्य नबढेको बताउँदै दशैंको समयमा करिब ३० लाख मान्छे बाहिरिने हुँदा व्यापार घट्ने जानकारी अध्यक्ष श्रेष्ठ भन्छन् । सरकारले सहुलियत बजार सीमित ठाँउमा मात्र संचालन गर्दा उपभोक्ताहरूले पर्याप्त सेवा सुविधा प्राप्त गर्न नसकेको जनगुनासो आइरहेको नेपाल खुद्रा व्यापार संघका अध्यक्ष श्रेष्ठले बताएका छन् । आगामी वर्षदेखि सरकारले दशैंको अवसरमा सहुलियत पसल संचालन गर्दा उपभोक्तालाई सहज हुने माध्यम अपनाउनु पर्ने उनले बताए ।
दशैं आहारमा कसरी सन्तुलन मिलाउने ?
काठमाडौं । मांसहारीहरूको पर्व समेत भनेर चिनिने दशैं को लागि उपत्यकामा मात्रै २५ हजार भन्दा बढी पशुपंछी भित्रिएका छन् । दशैंको समयमा मासुका परिकार सबैभन्दा बढी बन्ने भएको कारण पनि यसैलाई लक्षित गर्दै हजारौंको संख्यामा पशुपंछीहरू भित्रिएका छन् । अन्य सामान्य दिन हप्तामा एकदुई पटक बन्ने मासुका परिकार दशैं जस्तो लामो चाडको समयमा दिनदिनै पाक्ने गर्छ । बनाउन सजिलो, मिठो र सबैलाई मनपर्ने भएकोले पनि मांसाहारी मानिसहरूका लागि मासुको परिकार पहिलो रोजाइ हो । मासुलाई सन्तुलन मिलाएर नखाने हो भने यसले हाम्रो स्वास्थ्यलाई नराम्रो असर पार्न सक्छ । मासुमात्र नभएर जुनसुकै पनि खानेकुराहरूको सन्तुलन मिलाएर नखादा त्यसले स्वास्थ्यमा निकै नै नराम्रो असर पार्छ । प्रस्तुत छ दसैंमा के कस्तो कुरामा खान ध्यान दिने भन्ने विषयमा आहर विज्ञ मिरा शाहसँग गरेको कुराकानीको आधारमा तयार पारिएको स्वास्थ्य टिप्सः धेरै मासु खादाका बेफाईदाहरू धेरै छन् । यसले कोलेस्ट्रोल, मधुमेहको विरामी, युरिक एसिड तथा मुटुको विरामीहरूले मासुको परीकार धेरै मात्रामा खाँदा स्वास्थ्यमा अन्य मानिसको दाँजोमा बढी असर गर्दछ । मासुमा पनि खसी, भैंसी, सुगुरको रातो मासु स्वास्थ्यको लागि घातक हुन्छ । खाने कुरा खादा उमेरले पनि मानिसलाई असर गर्छ । कति उमेरको व्यक्तिले कति खानु उपयुक्त हुन्छ भन्ने विषयमा विशेष ध्यान दिनुपर्छ । हामीले पाहुना आयो भन्दै दिनभरी खाएको खाएकै गर्नुहँुदैन र खाए पनि हरेक पटक खाँदा २÷३ पिस खानुपर्दछ । कस्तो मासु खाने ? सकभर मासुलाई जिन्दगीबाट केही टाढा नै राखेको राम्रो । मासु खाए पनि सकेसम्म चिल्लो र बोसो रहित मासु खानुपर्छ । यस्तो मासु खादा मानव शरिरलाई त्यति हानी पुर्याउँदैन । मुख्य रुपमा पोलेका, तारेका, रसायन प्रयोग गरी प्रशोधन गरिएका मासुले मानिसको शरीरमा कार्सिनोजेनिक भन्ने तत्व उत्पादन गरी दीर्घकालीन रुपमा मानिसमा क्यान्सर हुने सम्भावना हुन्छ त्यसैले चाडवाडमा मात्र नभएर अन्य समयमा पनि पोलेका मासुहरु खानु स्वास्थ्यको लागि राम्रो हुँदैन । बरु यस्तो मासुका परिकार भन्दा ग्रेभिवाला मासु खाँदा राम्रो हुन्छ । त्यो बाहेक ‘लिङ मिट’ जुन छाला र बोसो रहित हुनेगर्छ । त्यस्तो मासु सामान्य मासुभन्दा स्वस्थकर मानिन्छ । सकेसम्म खसीको मासु प्रयोग नगर्दा राम्रो । खाएपनि रातोमासुको तुलनामा सेतो मासु खाँदा धेरै स्वस्थकर मानिन्छ । धेरै मासु खानु स्वास्थ्यको लागि राम्रो मानिदैन । स्ट्यान्डर्ड मदिरा मात्र पिउने चाडवाडमा अर्को धेरै प्रयोगमा आउने सामग्री भनेको मदिरा हो । कति मानिसहरू मदिरा सेवन गर्नकै लागि दसैं जस्तो चाडलाई कुर्ने गर्छन् । कामको तनावबाट टाढा र साथीभाइ, परिवार तथा आफन्तजनसँगको भेटघाटलाई खुशीको रुपमा मनाउनलाई चाडवाडमा यसको व्यापक प्रयोग हुने गर्दछ । तर, मदिरा सेवन कहिले पनि स्वास्थ्यको लागि उचित भने होईन । थोरै मदिरा पनि स्वास्थ्यको लागि फाइदाजनक नभएको अवस्थामा चाडवाडमा अत्याधिक मदिरा सेवनले मानिसहरुमा मुटुरोगको समस्या निम्ताउने गर्दछ । अझै मुटुरोगीहरूले त यसको त झन् सेवन गर्नुहुदैन । मुटुरोग भएका बिरामीहरूले मदिरा सेवन गर्दा मुटुको चाल गडबडी हुने, रक्तचाप अनियन्त्रित हुने, मुटुको काम गर्ने क्षमता कमजोर हुने आदि समस्या आउने भएकोले मदिराबाट टाढा रहन पर्छ । सामान्य अवस्था भएका मानिसहरुले नेशनल इन्स्टिच्युट अफ अल्कोहल अब्यूज एण्ड अल्कोहलिज्मले तय गरेको स्ट्यान्डर्ड ड्रिन्क्स सेवन गर्दा राम्रो हुन्छ । नेशनल इन्स्टिच्युट अफ अल्कोहल अब्यूज एण्ड अल्कोहलिज्मको अनुसार १४ ग्राम मदिरा रहेका कुनै पनि पेय पदार्थलाई स्टान्डर्ड ड्रिंक्स भनिन्छ । अमेरिकन हार्ट एसोसिएसन तथा अमेरिकन डाइबेटिज एसोसिएसनका अनुसार ह्विस्की, बियर ३४० मिलि, तथा वाइन, साइडर १४० मिलि स्टान्डर्ड ड्रिंक्स हो भन्ने मान्यता रहेको छ । त्यसैगरी मदिरा सेवन गर्नलाई ४५ वर्षमाथिका स्वस्थ शरीर भएका महिलाहरूले दैनिक एक तथा पुरुषहरूले दिनको दुई स्टान्डर्ड ड्रिंक्स पिउन सकिने बताइन्छ । खाली पेटमा रक्सी कहिले पनि नखाने । खाली पेटमा रक्सी खाँदा बेहोस् भइने र अस्पताल नै भर्ना हुने अवस्था आउँछ । धेरै खाएर एकै ठाउँमा लामो समय नबसौं चाडवाडको समयमा जुवातास एकदम खेल्ने चलन पनि रहेको छ जसले गर्दा मानिसमा व्यायमको कमी हुने गर्दछ । जुवातास खेल्ने मानिस लामो समयसम्म एकै ठाउँमा जुवा खेल्दै, मसालेदार खाना खाँदै, आरामका साथ दिनरात नभनी खेल्ने गर्छन् । यसकारण पनि चाडबाडको समयमा बडी हार्टअट्याक, हाई प्रेसर भएर मुटुको नलीहरू पनि फुटिएको देखिन्छ । त्यसैले खानपान र वायमालाई यस समयमा विशेष ध्यान दिन जरुरी छ । खानामा कार्बोहाईड्रेट कम गर्ने हाम्रो दैनिकको खानामा मासु बाहेक सबैभन्दा बढी रुपमा प्रयोग हुने भनेको चामलको भात र आलु हो । तरकारीको राजा भनेर चिनिने आलुको चाडवाडमा धेरै पारिकार बन्ने गर्छन् । आलु र चामलको भातमा सबैभन्दा बढी कार्वोहाईड्रेट हुने गर्छ । जसले सुगरको बिरामीलाई सबैभन्दा बढी असार गर्छ । त्यसैले समग्रमा बोसो कम गर्नको लागि भात, आलु र गुलियो कुराहरु पनि घटाउन जरुरी हुन्छ । यी कुराहरुमा ध्यान दिए चाड पनि मज्जाले मनाउन सकिन्छ र स्वास्थ्य पनि राम्रो रहन्छ । खानेकुरा साँचेर नराख्ने खानेकुराहरूलाई राम्रोसँग स्टोर गरेर राख्न नसक्दा पनि मानिसहरू चाडवाडमा बिरामी पर्ने गर्छन् । सबैभन्दा पहिला सकेसम्म खानेकुराहरू जति ताजा खायो त्यति नै राम्रो हुन्छ । तर, धेरै नै भएको अवस्थामा खाना साँचेर राख्दा खानालाई हावा नछिर्ने तरिकाले छोपेर राख्नु पर्छ । राम्ररी नछोपेको अवस्थामा हावा छिरेर खानेकुरामा ब्याक्टेरिया उत्पन्न हुन्छ । पकाएको मासुका परिकार र नपाएको मासुका परिकारलाई छुट्टाछुट्टै राख्नुपर्दछ र २ दिन भन्दा बढी लामो समय खाना स्टोर गर्नु हुँदैन । धेरै स्टोर गरेको खाना खाँदा फुड पोइज हुने सम्भावना हुन्छ । खाने वित्तिकै नसुत्ने कहिले पनि खाएको वित्तिकै सुत्नु हुँदैन । खाना खाएर सुतेको अवस्थामा मुटुका धड्कहरू बन्द हुन गई मानिसको मृत्यु हुने हुन्छ । त्यसैले पनि हामी कतिपय अवस्थामा बेलुका खाना खाएर सुतेको मानिस बिहान मृत अवस्थामा भेटिन्छ । खाना खाएपछि २ घण्टासम्म सुत्न हुँदैन ।
पृथ्वी नारायणले दोहोरो कुरा गरेको विश्वास गरिने नुवाकोटको भैरवी मन्दिरः धार्मिक एवम् ऐतिहासिक थलो
काठमाडौं । वि.स. १९९७ सालमा जन्मिएका हरिनारायण सिंह धामी नुवाकोटको भैरवी मन्दिरका पुजारी हुन् । उनलाई भक्तहरूले ‘धामी’ भनेर समेत बोलाउने गर्छन । भैरवी मन्दिरको स्थापना लिच्छवी कालमा भएको हो । वि.स. १८१९ मा भैरवी मन्दिर स्थापना भएको हो । सो मन्दिरमा पृथ्वी नारायण शाहले सवारी गरेका पाइन्छ । भैरवीको मन्दिरको इतिहास लामो रहेको जानकारहरूले बताउँछन् । सोही कारण सबै कुरा थाहा पाउन गाह्रै पर्ने उनीहरूको तर्क छ । वि.स. २०७२ सालको भूकम्पले मन्दिरमा क्षति पुर्याएको छ । पुजारी धामीले उनी भैरवी मन्दिरको छेवैमा रहँदा भूकम्प गएको सम्झिए । अहिले भैरवी मन्दिर निर्माणधिन अवस्थामा रहेको छ । भैरवी मन्दिरमा ब्राम्ह्णहरूले फूलपाती भित्र्याउने गरेको स्थानीयले जानकारी दिएका छन् । धामीले भने भैरवी मन्दिरमै आफ्नो समय बिताउँदै आएका छन् । मन्दिर तथा संस्कृतिको विकासका लागि आम मानिसहरूले केही कुरामा सुधार गर्न आवश्यक रहेकोमा जोड दिए । धामीको विचारमा सुधार मानिसको दृष्टिकोणमा हुन जरूरी छ । साथै, भैरवी मन्दिरको निर्माणका लागि सरकारले पहल गर्दै आएको र सो स्थानमा काम समेत विस्तारै अघि बढदै गरेको उनको बुझाइ छ । भैरवी मन्दिरमा पुरानै कला शैलीका प्रयोग गरेर मर्मत हुँदैछ । सरकारी तहबाट परम्परागत शैली अपनाएर मन्दिर बनाउने निर्णय भएको पाइन्छ । पृथ्वी नारायण शाहलाई भैरवीसँग जोडेर हेर्दा पृथ्वी नारायण शाहले गोरखा विजय गरेपश्चात नुवाकोट विजय गरेका हुन् । उनकै पालामा साततले दरवारको निमार्ण भएको हो । यस्तै, भैरवी मन्दिरमा लाग्ने जात्राको प्रवद्र्धन पृथ्वी नारायण शाहले गरेको जानकारहरूले बताएका छन् । सोही समयमा पृथ्वी नारायण शाहले काठमाडौं विजय गरेका थिए । उनले काठमाडौं विजय गरे पश्चात पुर्खा मेघराम मेधेसी शाहीलार्ई जात्रा पर्व संचालन गर्नको लागि लालमोहर गरेका थिए । चैत्र शुल्क पूर्णीमाको रातमा नुवाकोटको भैरवीको रथ देवघाटसम्म लैजाने चलन छ । यस्तै, रातको समयमा बलि भोग दिने प्रचलन छ । सो जात्रा पृथ्वी नारायण शाहको लालमोहर अनुसार मनाउँदै आएको हो । नुवाकोटमा नाग जात्रा, सिन्दुर जात्रा मनाउने चलन रहँदै आएको छ । यस्तै, विगतमा देवी घाटसम्म सुनको रथ लगिएको जानकारी पाइएको छ । लावा लस्कर सहित देवी घाट जाने लगायतका विभिन्न लामै प्रक्रियाबाट मेला समापन गरिने पाइएको छ । नुवाकोटको भैरवी मन्दिरको संस्कृतिसँग आवद्ध रहँदै आएका जानकारका अनुसार यहाँ पृथ्वी नारायण शाहलाई देवता मान्ने चलन छ ।’ पृथ्वी नारायण शाहले भैरवीसँग दोहोरो कुरा गरेको विश्वास मानिन्छ । पृथ्वी नारायण शाहको देहान्त देवीघाट भएको हो । पृथ्वी नारायण शाहको देहान्त भएको सो स्थान अहिले जालपाको रुपमा परिचित छ । हिन्दुहरुको महान चाड विजया दशमीमा नुवाकोटको भैरवी मन्दिरबाट फूलपाती भित्र्याउने गरिन्छ । यस्तै, विजया दशमीमै गोरखाबाट फूलपाती काठमाडौं लैजाने प्रचलन रहँदै आएको छ । सोही प्रयोजनका लागि जिल्ला प्रहरी कार्यालय तथा सैनिकहरूको समेत उपस्थिति रहने स्थानीयले जानकारी दिएका छन् । ऐतिहासिक दरवारक्षेत्रकोे खर्च केन्द्रीय बजेटबाटै गोरखा दरवार, हनुमान ढोका दरवार तथा नुवाकोट दरवारमा दशैंका बेला पूजाआजा गर्न लाग्ने खर्च केन्द्रीय बजेटबाटै हुँदै आएको छ । देश संघीय व्यवस्थामा गएयता अष्टमी, नवमी, दशमी लाग्ने खर्च स्थानीय सरकारले नै गर्नुपर्ने भएपनि यसका लागि सम्पूर्ण खर्च संघीय सरकारले व्यहोर्दै आएको छ । यति उतिभन्दा पनि आवश्यक खर्च संघीय बजेटबाट हुँदै आएको पुजारी धामी बताउँछन् ।
दक्षिण एशियाको आर्थिक वृद्धिदर औसत ७ प्रतिशतको हाराहारीमा भइरहन सक्ने
काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले भारतको नयाँ दिल्लीमा भएको विश्व आर्थिक मञ्चको कार्यक्रममा दक्षिण एशियाली मुलुकको आर्थिक परिदृश्य विषयमा सम्बोधन गरेका छन् । सम्बोधन कार्यक्रममा अर्थमन्त्री डा. खतिवडाले दक्षिण एशियाली मुलुकको विकासका लागि देशहरुबीच एक आपसमा गहिरो आवद्धता, यातायात, उर्जा, सञ्चार लगायतमा वढी कनेक्टिभिटी र वित्तीय एकिकरण हुनु पर्नेमा जोड दिएका छन् । उनले आर्थिक विकासको चरण, मानव स्रोत तथा प्राकृतिक स्रोतले दक्षिण एशियाको आर्थिक वृद्धिदर औसत ७ प्रतिशतको हाराहारीमा भइरहन सक्ने उल्लेख गर्दै यस क्षेत्रका वस्तु र सेवाको बाह्य मागले समेत यसमा असर पार्ने बताए । दक्षिण एशियाली मुलुकबाट वैदेशिक रोजगारीमा कामदार जाने गरेका र यसबाट प्राप्त रेमिट्यान्स र पर्यटनमा विश्व अर्थतन्त्रमा आएको सुस्तताले असर गर्न सक्ने बताए । अर्थमन्त्री डा. खतिवडाले दक्षिण एशियाली व्यापारका क्षेत्रमा दक्षिण एशियाली राष्ट्रहरुबीच एक अर्कामा प्रतिष्पर्धा गर्ने क्षेत्र धेरै भएपनि पर्यटन क्षेत्रमा भने प्रतिष्पर्धा होइन परिपूरक भूमिका रहन सक्ने भनाई राखेका छन् । यस क्षेत्रमा पर्यटनको विकासबाट रोजगारी सिर्जना र आम्दानीको पुनर्वितरणमा सहयोग हुने बताउंदै उनले दक्षिण एसियालीमुलकहरुको सहकार्यवाट पर्यटन विस्तार भई आर्थिक वृद्धिलाई सहयोग पुग्ने कुरा वताए । गौतम वुद्धको जन्मस्थल लुम्विनी र सगरमाथाको देश नेपालले पर्यटकहरुलाई धेरै कुरा दिन सक्ने बताउंदै उनले सन् २०२० लाई नेपालले भ्रमण वर्षको रुपमा मनाउने भएकोले नेपाल भ्रमण गर्नका लागि सहभागीहरुलाई आवहन गरे । सम्बोधनका क्रममा अर्थमन्त्री डा. खतिवडाले नेपालले पूर्वाधार क्षेत्रमा वित्तीय अभाव पुरा गर्न सार्वजनिक निजी साझेदारी, समिश्रित वित्त तथा सम्भाव्यता न्यून परिपूर्ति कोष लगायतका लगानीका विभिन्न माध्यम अपनाएको जानकारी गराए । भारत र चीन नेपालमा धेरै वैदेशिक लगानी गर्ने देश भएको उल्लेख गर्दै उनले नेपालमा वैदेशिक लगानीका लागि उपयुक्त वातावरण भएको बताए । उनले नेपालमा सार्वजनिक ऋणको अंश कुल गार्हस्थ्य उत्पादनको ३० प्रतिशत भएको उल्लेख गर्दै ऋणको उपयोग गरी लगानी वढाउने र आर्थिक वृद्धि गर्ने ठाउँ भएको बताए । अर्थमन्त्री डा. खतिवडाले अमेरिकाका वाणिज्य मन्त्री विलवर रोस, भारतका वाणिज्य मन्त्री पियुस गोयल तथा विभिन्न देशका अर्थमन्त्री र वरिष्ठ अर्थशास्त्री सम्मिलित अनौपचारिक भेटघाटको सेसनमा पनि आफ्ना भनाई राखेका छन् । उक्त सेसनमा अन्तर्राष्ट्रिय व्यापारमा देखिएका चुनौती, द्विपक्षीय तथा बहुपक्षीय व्यापारका विविध पक्ष, वैदेशिक लगानी, रोजगारी सिर्जना, विश्वव्यापार संगठनको प्रभावकारिताका लागि चाल्नुपर्ने कदम, विश्व अर्थतन्त्रमा दक्षिण एशियाली मुलुकको भूमिकालगायत समसामयिक विषयमा छलफल भएको थियो । कार्यक्रमको समयमा अर्थमन्त्री डा.युवराज खतिवडा र विश्व आर्थिक मञ्चका अध्यक्ष बर्ज ब्रेण्ड बीच द्धिपक्षीय भेटघाट भएको छ । भेटका क्रममा अर्थमन्त्री डा. खतिवडाले नेपालको विकास एजेण्डा, आर्थिक स्थिति, संघीयताको कार्यान्वयनमा भएका कार्य, लगानीको वातावरणमा भएको सुधार, राजस्व क्षेत्रमा भएका सुधार लगायतका विषयमा जानकारी गराएका छन् ।