विकासन्युज

काठमाडौंमा सनराइज बैंकको निःशुल्क बस सेवा, कुन कुन रुटमा चल्छ ?

काठमाडौं । सनराइज बैंकले आफ्नो १२औं वार्षिक उत्सवको अवसर र नेपालीहरुको महान चाँड दशैंलाई मध्यनजर गर्दै निःशुल्क बस यात्राको सुविधा प्रदान गर्ने भएको छ । दशैंको बेला काठमाडौंमा सार्वजनिक यातायातको अभाव हुने समस्यालाई केहि हदसम्म न्युनिकरण गर्ने अभिप्रायले बैंकले निःशुल्क बस सेवा प्रदान गर्न लागेको हो । उक्त सेवा बैंकले दशैको टिकाको दिन अर्थात आश्विन २१ गते, मंगलबार संचालन गर्ने जनाएको छ । “सनराइज दशैं यात्राहामी संग संगै” भन्ने नाराको साथ बैंकले काठमाडौंको दुईवटा रुटमा बस सेवा संचालन गर्नेछ । जसमा बुढानिलकण्ठदेखि लगनखेलको रुट र चक्रपथ परिक्रमाको रुट रहनेछन् । साथै, बैंकले आश्विन महिनालाई १२औं वार्षिक उत्सवपूर्ण महिनाको रुपमा मनाउन विभिन्न १२ विधाहरुमा देशभर कार्यक्रमहरु गर्दै जाने जनाएको छ ।

दशैँको छुट्टीमा पनि आपत्कालीन सेवा, निशुल्क हटलाईन र रेडियो कार्यक्रम निरन्तर हुने

काठमाडाैं । नेपाल रेडक्रस सोसाइटीद्धारा सञ्चालित विभिन्न सेवाहरु दशैँको लामो छुट्टीमा पनि निरन्तर रहने व्यवस्था मिलाइएको छ । यस बीचमा कुनै विपद्का घटनाहरु आइपरेमा केन्द्रीय स्तरमा विपद् व्यवस्थापन विभागका उपनिर्देशक हरि मोहन श्रेष्ठको संयोजकत्वमा रहेको टोली सक्रिय रहने छ । सो स्ट्यान्डबाई टोलीमा रमेश घिमिरे, अनिल महर्जन, निमराज राउत, राजेन्द्र रोकाहा र सविता सिं रहेका छन् । यस्तै केन्द्रीय कार्यालयमा अवस्थित रक्तसञ्चार सेवा पनि सुचारु हुनेछ । दैनिक ६ जनाले ड्यूटी गर्ने व्यवस्था मिलाइएको र एक हजार २ सय यूनिट रगत स्टकमा राखिएको छ । दशैँ छुट्टीमा सामान्य तया यो स्टक पर्याप्त हुनेछ । शनिबारबाहेक हरेक दिन विहान ७ बजेदेखि बेलुका ७ बजेसम्म सञ्चालन हुँदै आएको नेपाल रेडक्रसको निशुल्क हटलाइन सेवा ११३० विजया दशमीका महाअष्टमी देखि एकादशी (असोज १९ गते देखि २२ गते सम्म) नेपाल टेलिकमका ग्राहकको लागि बन्द रहने रहेपनि एनसेलबाट आउने कलहरुका लागि भने यो सेवा विदाका ती दिनहरुमा पनि नियमित रहने छन् । दशैँको लामो छुट्टीमा पनि रेडक्रसका सेवा तथा गतिविधिबारे टिप्पणी, सुझाव, गुनासो वा प्रश्नहरु भएमा हटलाइन ११३० मा एनसेलका मोबाइल फोनबाट निशुल्क फोन गर्न र सेवा लिन सकिने व्यवस्था गरिएको हो । त्यस्तै हरेक शनिवार विहान ८ बजे प्रसारण हुने मानवताको लागि हातेमालो कार्यक्रम तथा हरेक मंगलबार बेलुकी ७ः१५ बजे प्रशारण हुने रेडियो कार्यक्रम रेडक्रस पनि विभिन्न एफएमबाट नियमित प्रसारण हुनेछन् ।

एनसेलको दशैं अफरः प्रत्येक रिचार्जमा १ जिबीसम्मको डेटा बोनस

काठमाडौं । दशैंको अवसरमा एनसेलले आफ्ना ग्राहकहरुका लागि दशैं अफर ल्याएको छ । यस अन्तर्गत एनसेलका ग्राहकहरुले प्रत्येक रु १०० भन्दामाथिको रिचार्जमा डेटा बोनस पाउँनेछन् । १०० रुपैयाँदेखि १००० रुपैयाँसम्मको प्रत्येक रिचार्जमा ग्राहकले रिचार्ज गरको रकमको आधारमा १०० एमबी देखि १ जिबीसम्म डेटा बोनस पाउनेछन् । यो योजना शुक्रबार (असोज १७) बाट १५ दिनका लागि संचालनमा रहने छ । यो योजनामा रु १०० ब्यालेन्स रिचार्ज गर्ने ग्राहकले बोनस स्वरुप एक दिन समयावधि रहेको १०० एमबी डेटा पाउने छन् । रु २०० रिचार्ज गर्नेहरुले दुई दिन समय सिमा रहेको २०० एमबी र रु ३०० को रिचार्जमा ग्राहकहरुले तीन दिनको समयावधि भएको ३०० एमबी डेटा पाउने छन् । त्यसैगरी, रु ५०० रिचार्जमा ग्राहकले पाँचदिनभित्र प्रयोग गर्न मिल्ने ५०० एमबी डेटा प्राप्त गर्नेछन् भने रु १००० को रिचार्जमा १० दिन समयसिमा रहेको १ जिबी डेटा डेटा पाउने छन् । रिचार्जमा बोनस पाईने यो अफरले ग्राहकलाई थप फाईदा प्रदान गर्ने र चाडपर्वको बेलामा सम्पर्कमा रहि रहनका साथै यसलाई उल्लासमय बनाउन सहयोग पुर्याउने एनसेलको विश्वास रहेको छ ।

एनआईसी एशियाले ल्यायो दक्षिणा प्लस योजना, ग्राहकलाई थप १० प्रतिशत रकम दिने

काठमाडौं । एनआईसी एशिया बैंकले बडा दशैंलाई लक्षित गरेर दक्षिणा प्लसको योजना सार्वजनिक गरेको छ । यो योजना अन्तर्गत दशैंमा टीका लगाएर यस बैंकको मोबैंक प्रयोग गरी दक्षिणा रकम ट्रान्सफर गर्दा दक्षिणा प्राप्त गर्ने व्यक्तिलाई बैंकको तर्फबाट थप रकम प्रदान गरिनेछ । दक्षिणा प्लस नाम दिइएको एस योजना अन्तर्गत मोबैंकको प्रयोग गरी दक्षिणा दिँदा पाँच जनासम्मलाई दक्षिणा रकमको १० प्रतिशत वा अधिकतम १०० रुपैयाँ बैंकको तर्फबाट थप हुनेछ । दक्षिणा प्लस योजना यस बैंकमा आबद्ध ग्राहकलाई मात्र लागू हुनेछ भने यो विशेष उपहार विजया दशमी टीकाको दिनदेखि कोजाग्रत पूर्णिमासम्म उपलब्ध हुनेछ । यो योजना एनआईसी एशिया बैंकको मोबैंक प्रयोग गरी फण्ड ट्रान्सफर मार्फत् दक्षिणा प्रदान गर्दा मात्र लागू हुनेछ भने दक्षिणा दिने व्यक्तिले रिमाक्र्समा “दक्षिणा प्लस” लेख्नुपर्नेछ । ‘सोच बदलौं’ नारालाई समाजमा स्थापित गराएर समाजमा बैचारिक शुद्धता ल्याउने प्रयत्नलाई दशैंसँग जोड्दै यस बैंकले दशैंमा प्रयोग हुने नयाँ नोटलाई सफा राखौं भन्ने मूल सन्देशका साथ डिजिटल दक्षिणातर्फ ग्राहकलाई उत्प्रेरित गर्न दक्षिणा प्लसको योजना अघि सारेको बैंकले जनाएको छ । साथै, यो योजना बैंकको यसपालीको चाडपर्वलाई लक्षित गरी ल्याईएको “सोच बद्लौं-मोबैंक डाउनलोड गरौं, यसपालीको चाडपर्वमा खुशी अपलोड गरौं” भन्ने अभियान अन्तर्गत ल्याइएको हो । दीर्घकालीन रुपमा नेपाली अर्थतन्त्रलाई नगदरहित बनाई डिजिटल भुक्तानीलाई व्यवस्थित गर्न पनि यस दक्षिणा प्लस अफरले आम जनमानसमा डिजिटल भुक्तानीप्रति सकारात्मक दृष्टिकोण बनाउने अपेक्षा बैंकले राखेको छ । बैंकले बडा दशैंको पावन अवसरमा दक्षिणा प्लस बाहेक अन्य विभिन्न छुट अफरहरु पनि ल्याएको छ । भाटभटेनी, सेल्सबेरी, सेलवेज जस्ता डिपार्टमेन्ट स्टोरहरुसँग सहकार्य गरी यस बैंकको कार्ड वा मोबैंक मार्फत् भुक्तानी गर्ने ग्राहकहरुलाई १५ प्रतिशतसम्मको छुट प्रदान गर्ने व्यवस्था पनि गरेको छ ।

कृषि विकास बैंकको अफिसियल बैकिङ्ग पार्टनरमा एनआरएन

काठमाडौं । कृषि विकास बैंक र एन.आर.एन पार्टनर कम्पनीबीच अफिसियल बैकिङ्ग पार्टनरको रुपमा कार्य गर्नका लागि सम्झौता भएको छ । उक्त सम्झौतामा कृषि विकास बैंकको तर्फबाट बैंकका प्रमुख कार्यकारी अधिकृत(सीईओ) अनिलकुमार उपाध्याय र एन.आर.एन पार्टनर र आईडिया फर नेपालको तर्फबाट अध्यक्ष गोर्कणप्रसाद श्रेष्ठले हस्ताक्षर गरेका छन् । उक्त सम्झौताले विदेशबाट प्राप्त हुने रेमिट्यान्स रकमलाई उत्पादन क्षेत्रमा उपयोग गर्न थप मद्दत पुग्ने छ । व्यवसायिक कृषि, पर्यटन होटेल इ-पारकिङ्ग, रेमिट्यान्स र भुक्तानी सेवा व्यवसाय थप वृद्धि हुने देखिन्छ । कार्यक्रममा कृषि विकास बैंकका सीईओ उपाध्यायले यस सम्झौताले भविष्यमा रेमिट्यान्स व्यवसाय अभिवृद्धिका लागि थप टेवा पुग्नका साथै रेमिट्यान्स रकमको पूर्ण सदुपयोग गर्न र विदेशमा रहने नेपालीहरुले नेपालमा रकम पठाउन थप सहज र सरल हुन समेत मद्दत पुग्ने बताएका छन् । सोहि अवसरमा एन.आर.एन पार्टनरका अध्यक्ष श्रेष्ठले भविष्यमा यस सम्झौताका कारणले दुर्गम ग्रामिण क्षेत्रहरुमा रेमिट्यान्स सेवालाई सहज र सरल सहित पहुंच वृद्धि गर्न सम्भावित सहकारी तथा व्यक्तिहरुलाई एजेन्टको रुपमा परिचालन गर्न सकिने बताएका थिए ।

उत्तर कोरियाले लगानी फिर्ता लैजान कुनै चासो देखाएन

काठमाडौं । उत्तर कोरियाको लगानीमा नेपालमा संचालन भएका लगानीहरू फिर्ता लैजान उद्योग विभागले पत्र काटेपनि उनीहरूले यस विषयमा कुनै चासो देखाएका छैनन् । विभागले ४५ दिने सूचना लगानी फिर्ता लैजान भने पनि अहिलेसम्म कोरियाली लगानीकर्ताले कुनै चासो नदेखाएका हुन् । विभागले भदौ ३१ गते सूचना निकालेर नेपालीमा भएको लगानी फिर्ता लैजान सूचना निकालेको हो । नेपालमा पर्यटन, सूचना प्रविधि र सेवामूलक क्षेत्रमा गरी ९ वटा उद्योगमा उत्तर कोरियाली कम्पनीहरु सञ्चालनमा रहेका छन् । उत्तर कोरियाको लगानीमा नेपालमा २३ करोड ८८ लाख १९ हजार चुक्ता पुँजी भएको उद्योग प्रतिष्ठान दर्ता भएको उद्योग विभागको तथ्यांकमा उल्लेख छ । उत्तरी कोरियाली लगानी रहेका ९ वटा कम्पनीहरुमा ३ सय ४६ जनालाई रोजगारी दिइएको छ । उत्तर कोरियाले राजधानी काठमाडौंमा नै धेरै लगानी गरेको छ । ९ वटा कम्पनी मध्ये ७ वटा काठमाडौं र ललितपुर तथा तनहुँमा एक–एक वटा सेवामूलक कम्पनी सञ्चालन गरिरहेको छ । उत्तर कोरियाले सबैभन्दा धेरै सफ्टवेर डेभलमेण्टको क्षेत्रमा लगानी गरेको छ । काठमाडौंमा नै २ वटा सफ्टवयेर डेभलमेण्ट कम्पनीमा ११ करोड ५० लाख लगानी गरेको छ । ६ वटा होटल तथा रेष्टुरेण्टमा ७ करोड ९० लाख लगानी गरेको छ । तनहुँमा ‘ने कोरिया हस्पिटल’ प्रालि ४ करोड ४८ लाख १९ हजार चुक्ता पुँजीमा संचालन भएका छन् । उद्योग विभागले उत्तर कोरियाली लगानीकर्ताहरुलाई उद्योग तथा व्यापार बन्द गर्न ३ पटक पत्र काटिसकेका छन् । उद्योग विभागको कानुन शाखाका निर्देशक टंकबहादुर महतले ४५ दिन भित्र उत्तर कोरियाको लगानी फिर्ता हुन नसक्ने बताए । उनले भने–‘कानुनी प्रकिया पूरा गर्न ४ देखि ५ महिना लाग्छ । तर, उत्तर कोरियाका लगानी कर्ताले हामी उद्योग बन्द गर्ने प्रक्रियामा छौं भनेर कुनै जानकारी दिने पर्ने हो तर दिएका छैन । उद्योग विभागका विदेशी लगानी शाखाका निर्देशक प्रशान्त बोहराले उत्तर कोरियाको लगानी प्रतिबन्ध र नेपालमा गरेको लगानी फिर्ताको विषयमा पत्र काटे पछि कुनै जानकारी नदिएको बताए । उद्योग विभागका निर्देशक प्रेम लुइटेलले उत्तर कोरियाको लगानी फिर्ता लैजान विषयमा उत्तर कोरियाले कुनै जानकारी नदिएको बताए । उनले भने २० दिनसम्ममा त हामी यसरी अगाडि बढिरहेका छौं भनेर विभागलाई जानकारी दिनु पर्ने हो तर त्यस्तो कुनै जानकारी दिएको छैन विभागले उद्योग दर्ता गर्दा राखेका शर्तहरु पुरा गरेको छ कि छैन भनेर हेर्ने मात्रै हो । उत्तर कोरियाको लगानीका विषयमा विभागलेभन्दा पनि उद्योग र परराष्ट्र मन्त्रालयबीच छलफल भैइरहेको बताए ।

अब एकल पुरुषलाई पनि भत्ता !

काठमाडाैं । अब एकल पुरुषलाई पनि सामाजिक सुरक्षा भत्ता दिइने भएकाे छ ।  सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकाकाले यसै आर्थिक वर्षदेखि लागु हुनेगरी एकल पुरुषले पनि मासिक रु ५०० का दरले भत्ता पाउने व्यवस्था गरेको हो । गाउँपालिकाले कार्यविधि बनाइसकेकाले यस आवको साउनदेखि नै लागू हुने गरी भत्ता वितरण गर्न लागिएको हो । गाउँपालिकाभित्र करीब ३५० एकल पुरुष भएको अनुमान गरिएको हँुदा नाम सङ्कलन गरेर एकिन विवरण प्राप्त भएपछि वितरण गरिने कार्यक्रम रहेको गाउँपालिका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले बताएका छन् । महिला र पुरुष समान भनिँदै आएका सन्दर्भमा एकल पुरुषलाई पनि मासिक भत्ता दिन उपयुक्त ठहर गरी आन्तरिक स्रोतबाट प्रदान गर्ने गरी गाउँपालिकाको सभाले रु २० लाख बजेट पारित गरेको अध्यक्ष शेर्पाको भनाइ छ ।

तीन सहकारीकाे भयाे एकीकरण, कुन कुन गाभिए ?

पाल्पा । बगनासकाली गाउँपालिकामा बलियो पूँजी र उचित व्यवस्थापनका लागि फरक पहिचानका सहकारी एकीकरण भएका छन् । फरक पहिचानसहित स्थापना भएका पूँजी र व्यवस्थापन कमजोर रहेका सहकारी संस्थाबीच एकीकरण गरिएको छ । यहाँस्थित तीन सहकारी एकीकरण भएपछि गाउँपालिकास्तरीय सहकारी बनेको हो । वडा नं ८ स्थित बराङ्दी स्वावलम्बन विकास बचत तथा ऋण सहकारी, महिला जागृति बराह बहुउद्देश्यीय सहकारी र वडा नं ९ स्थित सिर्जना सहकारी संस्था एकीकरण भएका हुन् । गाउँपालिकाबाट एकीकरणका लागि सैद्धान्तिक सहमतिअनुरुप एकीकरण गरिएको बगनासकाली बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष कृष्णप्रसाद भुसालले बताएका छन् । सहकारी एकीकरणले पूँजी बलियो र प्रभावकारी व्यवस्थापन हुने उनको विश्वास छ । एकीकरणपछि सहकारी सदस्यमा आर्थिक पहुँच विस्तार हुनेछ । एकीकरणपछि नयाँ बनेको सहकारीको नाम बगनासकाली बहुउद्देश्यीय सहकारी संस्था राखिएको छ । सहकारीका शेयर सदस्यको सङ्ख्या एक हजार २२५ पुगेको छ । शेयर पूँजीतर्फ रु १७ लाख, बचततर्फ रु ३८ लाख र रु दुई करोड ८० लाख ऋण लगानी छ । गाउँपालिकाका अध्यक्ष कृष्णप्रसाद बस्यालले गरिबी हटाउन र व्यावसायिक बनाउन सहकारीको ठूलो भूमिका रहेको बताए । ससाना पूँजीमा सञ्चालित सहकारी एककीरण गरी नमूना काम भएको उनको भनाइ छ । गाउँपालिकाका उपाध्यक्ष सरस्वती चिदीले सहकारीले गरीब तथा विपन्न समुदायका नागरिकको जीवनस्तर सुधार ल्याउन सफलदायी हुने विश्वास व्यक्त गरेका छन् । जिल्ला सहकारी सङ्घका अध्यक्ष धु््रवराज अधिकारीले सहकारीको मूल्य र मान्यताअनुसार नै सहकारीको एकता र उचित व्यवस्थापन गर्न खाँचो रहेको बताएका छन् । रासस