विकासन्युज

पूर्णिमा र भार्गवलाई प्राप्ति पश्चात शाइन रेसुङ्गाद्धारा एकीकृत कारोबार शुरु, संचालकमा ६ जना नियुक्त

काठमाडौं । शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकले पूर्णिमा विकास बैंक र भार्गव विकास बैंकलाई प्राप्ति(एक्विजिशन) गरी सोमबार(असोज २७ गते)देखि एकीकृत कारोबार शुरु गरेको छ । एक्विजिशन पश्चात शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक लिमिटेडको नामबाट एकीकृत कारोबार शुरु भएको छ । शाइन रेसुङ्गाले रुपन्देहीको सिद्धार्थनगरमा केन्द्रीय कार्यालय रहेको पूर्णिमा विकास बैंक र बाँकेको नेपालगञ्जमा केन्द्रीय कार्यालय रहेको भार्गव विकास बैंकलाई एकआपसमा गाभेर आजदेखि एकीकृत कारोवार सञ्चालन गरेको हो । यस सँगै सोही मितिबाट लागू हुने गरी बैंकको सञ्चालक समितिमा संस्थापक सेयरधनीको तर्फबाट ४ जना र सर्वसाधारण सेयरधनीको तर्फबाट २ जना गरी ६ जना नियुक्त भएका छन् । जसमध्ये संस्थापक सेयरधनीको तर्फबाट अध्यक्षमा राजेन्द्रप्रसाद श्रेष्ठ नियुक्त भएका छन् । त्यस्तै, सञ्चालकमा थानेश्वर पौडेल, डा. ताराप्रसाद उपाध्याय, ई. सुरज उप्रेती, मोहन चापागाई, सुर्दशन गौतम नियुक्त भएका छन् । यसरी, १० जिल्ला कार्यक्षेत्र रहेको शाइन रेसुङ्गा डेभलपमेण्ट बैंक लिमिटेड, ३ जिल्ला कार्यक्षेत्र रहेको पूर्णिमा विकास बैंक लिमिटेड र ५ जिल्ला कार्यक्षेत्र रहेको भार्गव विकास बैंक लिमिटेडको एक्विजिशन पश्चात बैंकको शाखा सञ्जाल ७१ पुगेको छ । साथै, बैंकको चुक्ता पूंजी २ अर्ब ६२ करोड, निक्षेप परिचालन २६ अर्ब ८७ करोड, कर्जा लगानी २३ अर्ब ८१ करोड रूपैयाँ पुगेको छ ।

प्रहरी महानिरीक्षक खनाल चिली प्रस्थान

काठमाडौं । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल इन्टरपोलको ८८ औँ महासभामा सहभागी हुन चिली प्रस्थान गरेका छन् । चिलीको सान्टियागोमा असोज २८ देखि कात्तिक १ सम्म सञ्चालन हुने महासभामा भाग लिन आइतबार राति उनी त्यसतर्फ प्रस्थान गरेका हुन् । महानिरीक्षक खनालसँग केन्द्रीय अनुसन्धान ब्यूरोका प्रहरी नायब महानिरीक्षक नीरजबहादुर शाही र इन्टरपोल शाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक उमेशराज जोशी पनि त्यसतर्फ प्रस्थान गरेका छन् । १९४ इन्टरपोल सदस्य राष्ट्रका प्रमुखको भेटमा विश्वको अपराध र सुरक्षा निकायले चाल्नुपर्ने कदमसम्बन्धी १९ बुँदामा छलफल हुने प्रहरी प्रधान कार्यालयले जनाएको छ । महानिरीक्षक खनाल चिली प्रस्थान गरेसँगै प्रहरी अतिरिक्त महानिरीक्षक पुस्कर कार्कीले प्रहरी प्रधान कार्यालयको दैनिक प्रशासनिक कामकाजको जिम्मेवारी समाल्नेछन् । रासस

लाभांश घोषणा र साधारणसभा आह्वानमा नयाँ बैंकहरु अगाडि, ठूला र पुराना बैंकहरु पछि पर्दै

काठमाडाैं । कुमारी बैंकले आर्थिक वर्ष २०७४/७५ को साधारणसभा आर्थिक वर्ष सकिएको करिब १० महिनापछि गर्यो । आर्थिक वर्ष २०७३/७४ को साधारणसभा समेत समयमा गर्न नसकेको बैंकले दुईओटै साधारणसभा एकैपटक गरेको थियो । त्यसो त कुमारी बैंकको साधारणसभाको यसअघिको इतिहास पनि त्यति उत्साहजनक थिएन, आर्थिक वर्ष २०७२/७३ को साधारणसभा बैंकले चैतमा मात्रै गरेको थियो । तर यो वर्ष कुमारीले कमाल नै गर्यो, आर्थिक वर्ष सकिएको १ महिना २० दिनमै लेखापरीक्षण सम्पन्न गरेर राष्ट्र बैंकबाट स्वीकृत गराएर लाभांश घोषणा गर्दै एजीएम समेत बोलाउन सफल भयो । अघिल्लो वर्ष पुस मसान्तमा मात्रै साधारणसभा गर्न सफल भएको सिटिजन्स बैंक तथा पुस ४ गते साधारणसभा गरेको एनआईसी एशिया बैंक यो वर्ष सबैभन्दा छिटो साधारणसभा बोलाउने बैंक बन्न सफल भए । सिटिजन्स र एनआईसी एशिया बैंकले असोज १० र कुमारी बैंकले चैत ११ गते साधारणसभा बोलाएका हुन् । त्यसो त सिटिजन्स बैंक र एनआईशी एशिया बैंक त्योभन्दा अघिल्ला वर्षहरुमा छिटो साधारणसभा बोलाउने बैंकको रुपमा चिनिन्थे, कुमारी बैंकले भने आफ्नो नराम्रो विगतलाई सच्याउँदै यो वर्ष छिटो साधारणसभा गर्नेमध्ये तेस्रो वाणिज्य बैंक बन्न सफल भएको हो । यो वर्ष उल्लेखित ३ ओटा बैंकले दशैंअघि नै साधारणसभा सम्पन्न गर्दा माछापुच्छ्रे बैंकले दशैं लगत्तै साधारणसभा सम्पन्न गरेको छ भने सानिमा बैंक, बैंक अफ काठमाण्डू, सिद्धार्थ बैंक र सनराइज बैंक गरी थप ४ ओटा कम्पनीले साधारणसभा बोलाएका छन् । त्यसबाहेक ग्लोबल आईएमई, जनता, मेगा, प्रभु र एसबीआईले भने राष्ट्र बैंकबाट लेखापरीक्षण प्रतिवेदन स्वीकृत गराएर लाभांश घोषणा गरेका छन् । नाफा र शेयरको बजार मूल्यमा उत्कृष्ठ मानिएका नबिल बैंक, स्ट्यान्डर्ड चार्टर्ड बैंक,  नेपाल इन्भेष्टमेन्ट बैंक, एभरेष्ट बैंक, हिमालयन बैंक जस्ता बैंकहरु भने अझैपनि लाभांश घोषणा गर्न सकिरहेका छैनन् । त्यस्तै सरकारी लगानी भएको नेपाल बैंक, कृषि विकास बैंक, राष्ट्रिय वाणिज्य बैंकले पनि अहिलेसम्म लाभांश घोषणा गर्न सकेका छैनन् । यी बैंकमध्ये राष्ट्रिय वाणिज्य बैंक भने अहिलेसम्म बजारमा सूचिकृत छैन । वाणिज्य बैंकहरुलाई अघिल्लो वर्ष लेखाप्रणाली परिवर्तन गर्नुपर्ने बाध्यताका कारणले गर्दा ढिलोगरी साधारणसभा बालाउनुपर्ने अवस्था भए पनि यो वर्ष भने त्यस्तो समस्या छैन । कम्पनी ऐनले दोस्रो बजारमा सूचिकृत पब्लिक कम्पनीहरुलाई आर्थिक वर्ष सकिएको ६ महिना अर्थात् पुस मसान्तभित्र साधारणसभा गरेर कम्पनी रजिष्ट्रार कार्यालयमा कम्पनी अद्यावधि गर्ने समयसीमा दिएको छ । सो समयभित्र विवरण नबुझाए कार्यालयले जरिवाना लिन्छ । त्यसका लागि बैंकहरुसँग अझै ३ महिनाको आरामदायी समय बाँकी छ । यद्यपि छिटो साधारणसभा गरेर लाभांश वितरण गर्न सके लगानीकर्ताहरु भने त्यस्तो कम्पनीमा लगानी गर्न बढी उत्साहित हुन्छन् । वाणिज्य बैंकहरुबीच तुलना गर्ने हो भने लाभांश घोषणा गर्ने र पुराना र स्थापित बैंकहरुभन्दा नयाँ बैंकहरुले अगाडि देखिएका छन् ।

दशैंको दक्षिणा के गर्नुहुन्छ ? विज्ञहरू भन्छन् – ‘बीमा गर्नुस् फाइदै फाइदा छ’

काठमाडौ । दशैंमा टीका लगाएर दक्षिणा लिनु दिनु नेपालीहरुको संस्कार नै हो । सालैपिच्छे यस्तो दक्षिणाको रकम बढ्दै गएको पनि हामी पाउँछौं । टिका लगाएर सिक्का दिने चलनबाट नोट दिने प्रचलन आएकोे १५÷२० वर्ष मात्रै भएको छ, तर अहिले दक्षिणाको ‘रेट’ निकै माथि पुगिसक्यो । अझ ठूलो परिवार भएको ठाउँका छोरीचेलीहरुको त पैसाले झोला नै भरिने समेत गर्छ । तर हामी त्यसरी आएको पैसालाई कति सदुपयोग गरिरहेका छौं त ? बीमा क्षेत्रका अभ्यासकर्ता र विज्ञहरु सांस्कृतिक पर्वहरु मनाउँदा हुने अनावश्यक खर्चहरुलाई व्यवस्थापन गरी भैपरी खर्चको स्रोत जुटाउनका अतिरिक्त जीवनका सम्भावित जोखिम न्यूनीकरणमा लगाउनुपर्ने सुझाव दिन्छन् । त्यसका लागि बीमा एउटा उपयुक्त माध्यम भएको समेत उनीहरुको तर्क छ । त्यस्तो रकम संरक्षणको लागि बीमा कम्पनीहरुले आवश्यक प्रोडक्ट ल्याइसकेको समेत उनीहरुको दाबी छ । बीमाविज्ञ भोजराज शर्मा दक्षिणा लिनेदिने प्रचलन बालबालिकादेखि वयस्क र वृद्धवृद्धाहरुसम्म रहेको भन्दै कम्तीमा पनि बालबालिकाहरुले जम्मा गर्ने पैसालाई बीमामा लगाउन सके यसले उनीहरुको भविष्यको शिक्षा र सुरक्षामा महत्वपूर्ण योगदान गर्ने र राम्रो प्रतिफल दिनसक्ने बताउँछन् । बालबालिकाहरुलाई अरु क्षेत्रमा लगानीको लागि पर्याप्त ज्ञान र नहुने र उपयुक्त रुपमा खर्च गर्ने ठाउँ पनि नहुने अवस्थामा बीमामार्फत् त्यस्तो परिचालन उनीहरुका लागि फाइदाजनक हुने उनको भनाई छ । बीमा कम्पनीहरुले अहिले ल्याएको बीमा पोलिसीबाटैे पनि त्यस्तो रकम सदुपयोग गर्नसक्ने भए पनि बीमा कम्पनीहरुले त्यसलाई नै फोकस गरेर नयाँ पोलिसी ल्याउन वा भएका पोलिसीहरुलाई त्यो कोणबाट प्रचार गर्नसक्ने समेत उनको सुझाव थियो । सन नेपाल लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत राजकुमार अर्याल अहिले आफूहरुले दैनिक ५ रुपैंया १० लाखसम्मको बीमा गर्ने पोलिसी ल्याएको भन्दै यस्तो पोलिसीलाई सदुपयोग गरेर बीमा गर्न सकिने धारणा राखे । अनावश्यक रुपमा खर्च हुने त्यस्तो रमकलाई बीमाको दायरामा ल्याउन सके यसले बीमाको पहुँच र आकार विस्तारमा महत्वपूर्ण योगदान गर्ने उनको भनाई थियो । युनियन लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत मनोजलाल कर्ण भने दक्षिणमात्रै नभएर चाडबाडमा हुने अरु अनावश्यक खर्चहरु समेत चताएर खुत्रुकेमा बचत गर्ने र खुत्रुकेको बचतलाई बीमासँग जोड्ने परिपाटी बसाउनुपर्नेमा जोड दिन्छन् । ‘हामी पैसा हुँदा अनावश्यक रुपमा खर्च गर्ने तर कहिलकाहीँ पैसा नभएर चाहिएको काम पनि गर्न नसक्ने अवस्थामा हुन्छौं, त्यसलाई सदुपयोग गर्न सक्यौं भने मात्रै पनि जीवनमा अभाव आइपर्दैन, यसमा बालबालिका मात्रै होइन वयस्क व्यक्तिले पनि सोच्न आवश्यक छ, चाडवाडमा जुवातास खेल्ने, जाँडरक्सी खाने वा अरु अनावश्यक खर्च गर्ने प्रवृत्ति त्यागेर बीमा गरे कसैले पनि भविष्यमा अभावको सामना गर्नुपर्दैन’ कर्णले सुझाव दिए । त्यसो त चाडपर्वमा आएको पैसा निर्जीवन बीमाको क्षेत्रमा झनै उपयुक्त हुने तर्क समेत निर्जीवन बीमा क्षेत्रका विज्ञहरुको छ । १/२ हजार रुपैंयाको लोभमा आफ्नो सवारी साधन वा सम्पत्तिको बीमा नगर्ने तर क्षति भएपछि उठ्नै नसक्नेगरी डुबेका व्यक्तिको कमी नभएको भन्दै उनीहरु सबैभन्दा पहिले चाडबाडबाट संकलन हुने त्यस्तो बचतले आफू र आफ्नो सम्पत्तिको सुरक्षा गर्न उनीहरुको सुझाव छ । सगरमाथा इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत चंकी क्षेत्री चाडवाडलाई दक्षिणा र आशिर्वादबाट माथि उठेर समृद्धिसँग जोड्नुपर्ने भन्दै अनावश्यक खर्चको कटौती र बीमामा सहभागिता त्यसको एउटा आधार भएको बताउँछन् । निर्जीवन बीमाको शुल्क बीमांकभन्दा ज्यादै न्यून हुने भएकोले यस्तो अवसरहरुबाट प्राप्त हुने रकमलाई सम्भावित जोखिम हटाउने काममा लगाउन उनको सुझाव थियो । अहिले बीमा कम्पनीहरुले विभिन्न बीमा योजनाहरु सार्वजनिक गरेको भए पनि दशैं तिहारलक्षित योजना भने ल्याएको पाइँदैन । यद्यपि त्यस्तो योजना ल्याउनुपर्ने आवश्यकता भने बीमकहरुले समेत महशुस गरेका छन् । ‘बीमा जीवनको एउटा अभिन्न अंग हो भनेपछि यसलाई हामीले दैनिक जीवनसँग जोड्न सक्नुपर्छ । हाम्रो संस्कृति, परम्परा, रीतिरिवाज र आर्थिक अवस्थाअनुकुल नयाँ योजनाहरु ल्याउनु हाम्रो दायित्व हो तर यसका हामी चुकिरहेको अवश्य हो’ अर्का एकजना बीमकले भने । जनरल इन्स्योरेन्स कम्पनीका महाप्रबन्धक एसके टमोट भने सुरुमा वालबालिकाहरुमा बीमासम्बन्धी शिक्षा उपलब्ध गराउनुपर्ने भन्दै कम्तीमा पनि विद्यालय तहसम्म बीमा शिक्षा अनिवार्य गराउनुपर्ने तर्क गर्छन् । त्यसो हुन सके बालबालिकामा बीमासम्बन्धी ज्ञान बढ्ने र यसले बीमा क्षेत्रको पहुँच विस्तारमा महत्वपूर्ण भूमिका खेल्ने उनको तर्क छ । अहिले जीवनबीमा क्षेत्रमा गरिने लगानीले जोखिमका अतिरिक्त पनि औसत १० प्रतिशतसम्मको प्रतिफल दिँदै आएको छ । यो क्षेत्रमा गरिने लगानीले अनिवार्य बचतलाई प्रोत्साहन गर्नुका साथै बीमा अवधिअघि आवश्यकता पर्दा समेत बीमा पोलिसी धितोमा राखेर ऋण लिन पाउने सुविधा समेत दिन्छ, त्यसैले जोखिमरहित र उच्च प्रतिफलको लगानीका लागि बीमा क्षेत्र बीमा क्षेत्रका सरोकारवालाहरु बताउँछन् । निर्जीवन बीमाले भने जोखिम न्यूनीकरण गर्ने काम गर्छ । एकदमै न्यून शुल्कमा ठूलो बीमांक बराबर बीमा हुने भएकोले यसले ठूलो सम्भावित क्षतिबाट बचाउँछ । तपाइँहरु पनि आफ्नो बचतलाई सदुपयोग गर्ने कि ?

चीनले ९१९ मेगावाटको जलाशययुक्त आयोजना बनाउने, लगानी सम्मेलनकाे प्रस्तावले सार्थकता पायो

काठमाडौं । सरकारी स्वामित्वको हाइड्रोइलेक्ट्रिसिटी इन्भेस्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनी (एचआइडीसीएल) र चीनको पावर चाइनाले संयुक्तरुपमा दुई जलाशयुक्त आयोजना संयुक्तरुपमा निर्माण गर्ने भएका छन् । ती आयोजनाको कूल लागत रु दुर्ई खर्ब बढी रहने छ । चिनियाँ राष्ट्रपति सी चिनफिङका नेपालको दुई दिवसीय राजकीय भ्रमणमा क्रममा आज ती आयोजना निर्माण गर्नेसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको हो । ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनका अनुसार कूल ७६२ मेगावाट क्षमताको तमोर जलाशययुक्त आयोजना र १५७ मेगावाट क्षमताको माडी खोला जलाशयुक्त आयोजना निर्माण गर्ने विषयमा समझदारी भएको हो । नेपाल र चीनका दुई सरकारी कम्पनीको समन्वयमा प्रदेश नं १ मा रहेको रणनीतिक महत्वको तमोर जलविद्युत् आयोजना निर्माण गर्ने समझदारी भएको हो । प्रधानमन्त्री अध्यक्ष रहने लगानी बोर्डमा पेश गरिएको प्रस्तावमा एचआइडीसीएल र पावर चाइनाले विभिन्न ढाँचा प्रस्ताव गरेका थिए । मन्त्री पुनका अनुसार आगामी एक वर्षभित्र आयोजनाको निर्माणसम्बन्धी सबै तयारी गर्ने छ । पुनका अनुसार माडी जलाशययुक्त आयोजना प्रदेश नं ५ को रोल्पामा अवस्थित छ । एचआइडीसीएलका प्रमुख कार्यकारी अधिकृत छविराज पोखरेलका अनुसार लामो समयदेखि चर्चामा रहेको तर प्रक्रिया अगाडि बढ्न नसकेको तमोर जलाशययुक्त आयोजनालाई सरकारी–सरकारी कम्पनीबीचको साझेदारीमा निर्माण गर्ने गरी छनोट भएको छ । लगानी बोर्डमा त्यससम्बन्धी प्रस्ताव यसअघि नै दर्ता भएको थियो । नेपाल र चिनियाँ सरकारी कम्पनीबीचको सहकार्यमा आयोजना निर्माणको समझदारी भएको यो पहिलोपटक हो । हालसम्म यो ढाँचामा आयोजना निर्माण भएका थिएनन् । नेपाल र चीनको निजी कम्पनीको सहकार्यमा सिनो सगरमाथा हाइड्रोपावरले लमजुङमा ५० मेगावाट क्षमताको माथिल्लो मस्र्याङ्दी ‘ए’ जलविद्युत् आयोजना निर्माण गरी सञ्चालनमा ल्याइसकेको छ तर सरकारीस्तरमा नै आयोजना निर्माणका लागि सरकारी कम्पनीस्तरको प्रयास भने यो पहिलोपटक हो । यसअघि नै बोर्डमा गरिएको प्रस्तावमा पनि दुई वटा ढाँचा प्रस्तुत गरिएको थियो । त्यसमा नेपाली साझेदार र सर्वसाधारणको ४६ प्रतिशत तथा पावर चाइनाको ५४ प्रतिशत लगानी हुने गरी प्रस्ताव गरिएको थियो । यस्तै दोस्रो प्रस्तावमा एचआइडीसीएल, नेपाली लगानीकर्ता र सर्वसाधारणको गरी कूल ७१ प्रतिशत लगानी रहने प्रस्ताव गरिएको थियो । त्यसमा पावर चाइनाको मात्रै २९ प्रतिशत लगानी हुने प्रस्ताव गरिएको थियो । सोही प्रस्तावअनुसार नै आयोजना अगाडि बढाइनेछ तर लगानीको मात्रा के कति हुने भन्नेबारेमा भने केही बताइएको छैन । सरकारले प्रस्ताव गरेअनुसार प्रदेश नं १ को ऊर्जा सुरक्षाका लागिसमेत महत्वपूर्ण मानिएको सो आयोजनालाई सरकारी कम्पनीस्तरमा नै अगाडि बढाउने गरी प्रस्ताव गरिएको एचआइडीसीएलका प्रमुख कार्यकारी अधिकृत पोखरेलको भनाइ छ । समझदारीपत्रमा उपस्थित ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव दिनेशकुमार घिमिरेका अनुसार माडी जलाशययुक्त आयोजनामा एचआइडीसीएलको २६ प्रतिशत र पावर चाइनाको ७४ प्रतिशत लगानी रहनेछ । तमोर आयोजनाको ऋण व्यवस्थापन तथा अन्य कार्य पावर चाइनाले गर्नेछ । सोहीअनुसार नै समझदारी गरिएको पोखरेलको भनाइ छ । सार्वजनिक – निजी साझेदारीमा आयोजना निर्माण गर्ने गरी प्रस्ताव गरिएको हो । सो आयोजनालाई पूर्वको मोतीका रुपमा समेत ऊर्जा क्षेत्रमा लिने गरिएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय मातहत रहेको एचआइडीसीएलले निर्माणाधीन विभिन्न जलविद्युत् आयोजनामा लगानी गरेको छ । गत चैत १५ र १६ गते सम्पन्न भएको लगानी सम्मेलनमा ऊर्जातर्फ सोही आयोजनाका लागि दुई वटा प्रस्ताव प्रस्तुत भएको थियो । सो आयोजनाको अनुमानित लागत रु एक खर्ब ८० अर्ब जति लाग्नेछ । आयोजनाको विस्तृत परियोजना प्रतिवेदन तयार भएपछि मात्रै के कति लगानी लाग्ने हो त्यसको पुष्टि हुनेछ । गत साउन १६ गतेको बोर्ड बैठकले एचआइडीसीएल तथा पावर चाइना संयुक्त र कतारको नेब्रस पावर तथा जापानको फुजी इलेक्ट्रिकलाई छनोट गरी प्रस्ताव माग गरिएको थियो । हाल उक्त प्रस्तावमाथि ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनको संयोजकत्वमा गठित समितिले मूल्याङ्कन गरेको थियो । सोही समितिको मूल्याङ्कनअनुसार नै आज समझदारीपत्रमा हस्ताक्षर भएको हो । लगानी सम्मेलनमा आएको प्रस्तावका आधारमा निर्णय भएको समझदारीपत्र हस्ताक्षर समारोहमा सहभागीले बताएका छन् । तमोर जलाशयुक्त आयोजना निर्माणपछि हाल निर्माण भई सञ्चालनमा आइसकेको एक र निर्माणाधीन आयोजना समेत विस्थापित हुनेछ । ऊर्जा उत्पादनको हिसाबले बूढीगण्डकी जलविद्युत् आयोजनाको हाराहारीमा नै सो आयोजनासमेत रहेकाले पनि आकर्षक आयोजनाको रुपमा लिइन्छ । आयोजनाबाट विशेष गरी पूर्वी नेपालको पाँचथर, ताप्लेजुङ, तेह्रथुम र सङ्खुवासभा जिल्ला प्रभावित हुनेछ । बूढीगण्डकी जलविद्युत् आयोजनामा करीब ५० हजार बासिन्दालाई क्षतिपूर्ति दिएर हटाउनुपर्ने अवस्था रहेको छ । तमोरमा भने असाध्यै कम मात्रै क्षतिपूर्ति दिनुपर्ने अनुमान गरिएको छ । हस्ताक्षर समारोहमा मन्त्री पुन, सचिव घिमिरे र लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारीलगायतको सहभागिता थियो भने पावर चाइनाका उच्च अधिकारी सहभागी थिए ।

एनआरएनए निर्वाचनः अमेरिकाज क्षेत्रको सहसंयोजकमा पोखरेल प्रबल दाबेदार

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को विश्व सम्मेलनमा सहभागी हुन विभिन्न देशबाट प्रतिनिधि आउने क्रम जारी छ । हुनतः दशैंतिहारको अवसर पारेर एनआरएनएले विश्व सम्मेलन तथा अन्तराष्टिय महाधिवेशन गर्ने हुनाले एनआरएनहरुलाई चाडबाड मनाउने र महाधिवेशनमा सहभागी हुने एक पथ दुई काज हुने गरेको छ । महाधिवेशन नजिकिँदै जाँदा चुनावको माहोल पनि तात्दै गएको छ । काठमाडौंमा यही अशोज २८ देखि ३० सम्म हुने महाधिवेशनमा उम्मेदवारी घोषणा गर्नेक्रम तीब्र बनेको छ । अमेरिकाको टेक्सासमा बसेर विभिन्न ब्यवसायमा आफूलाई स्थापित गरेका राम सि. पोखरेल यो भिडमा फरक अनुहारका रुपमा देखिएका छन् । एनआरएन अमेरिकाको उपाध्यक्ष भइसकेका पोखरेल एनआरएन अभियानमा लामो मसयदेखि सक्रिय छन् । अमेरिकाज क्षेत्रको सह–संयोजकमा आफ्नो उम्मेदवारी घोषणा गरेपछि पोखरेलको चर्चा चुलिएको छ । पदका पछि दगुर्नेहरुको भिडमा उनी फरक छन् । उनी पदमा नभएका बेलामा पनि नेपाली समुदायको हितमा निरन्तर लागि परेका हुन्छन् । नेपाली समुदायमा कुनै समस्या आई पर्दा पहिला गुहार्ने नाम हो राम सि. पोखरेल । उनको ब्यवसाय एउटा सिस्टममा अगाडि बढेको छ, उनी भने समाज सेवामा सक्रिय देखिन्छन् । सामाजिक गतिविधिसँगै प्रवासी नेपालीहरुलाई मातृभूमीसँग जोड्नु पर्छ भनेर पोखरेल सन् २००८ मा एनआरएनए अमेरिकाको सदस्य बने । उनलाई गैरआवासीय नेपालीहरुले सन् २०१५ मा सोही संस्थाको उपाध्यक्षमा निर्वाचित गरे । मतदाताहरुले दिएको जिम्मेवारी कुशलतापूर्वक निर्वाह गरेका पोखरेलले एनआरएनए अभियानमा रहेर धेरै अनुभव हासिल गरिसकेका छन् । तिनै अनुभवलाई प्रयोग गर्दै उनी अमेरिकाज क्षेत्रको सह–संयोजक बनेर एनआरएनए अमेरिका र एनआरएनए आइसिसीबीच पुलको काम गर्दै मुलुकलाई समृद्ध बनाउन योगदान गर्ने आफ्नो योजना सुनाउँछन् । भद्र स्वभावका उनी टेक्सासको नेपाली समुदायमा आँखामा राख्दा पनि नविझाउने ब्यक्तिका रुपमा परिचित छन् । उनले टेक्ससका नेपालीहरुले संगठित हुन स्थापना गरेका नेपाली समाज टेक्ससको सन् १९९८ मा साधारण सदस्यता लिएर सामाजिक अभियन्ताका रुपमा सक्रिय भएका थिए । छोटो समयमै उनले नेपाली समुदायमा निश्वार्थ समाजसेवा गर्ने ब्यक्तिका रुपमा आफ्नो छाप छाड्न सफल भए । त्यसपछि नेपाली समुदायले उनलाई सन् २००७ मा नेपाली समाज टेक्ससको अध्यक्षको जिम्मेवारी सुम्पियो । उनले दुई बर्ष समाजको नेतृत्व गर्दा नेपाली समुदायमा निकै लोकप्रियता हासिल गरे । उनले अमेरिकाको पहिलो लायन्स क्लब ड्यालस एभरेष्ट लायन्स क्लबको आफ्नै अगुवाइमा सन् २००२ मा स्थापना गरे । सन् २००८ मा उनले अध्यक्षको जिम्मेवारी समेत सफलतापूर्वक निर्वाह गरे । ड्यालसमा नेपाली समुदायले ठूलो मन्दिर निर्माण गरेको छ । उक्त मन्दिरको पोखरेल बोर्ड अफ ट्रस्टी हुन् । समाज सेवामा उनको सक्रियता छँदैछ, समाजिक कामका लागि आवश्यक आर्थिक सहयोग जुटाउन पनि नेपाली समुदायले सबैभन्दा पहिले सम्झने नाम हो राम सि. पोखरेल । अमेरिकाज क्षेत्रका अमेरिका, क्यानडा, चिली, ब्राजिललगायतका मुलुकमा मात्रै एनआरएनए राष्ट्रिय सनन्वय समिति गठन भएका छन् । तीबाहेकका मुलुकमा नेपालीको उपस्थिति उल्लेख्य भए पनि उनीहरु संगठित हुन सकेका छैनन् । पोखरेल आफू सहसंयोजकमा निर्वाचित भए ती मुलुकमा रहेका एनआरएनहरुलाई संगठित गराएर राष्ट्रिय समन्वय परिषद् स्थापना गर्ने योजनामा छन् । अमेरिकाज क्षेत्रभित्र रहेका राष्ट्रहरुमा बस्ने नेपालीलाई पर्ने समस्या समाधान गर्न आफूले पहल गर्ने पोखरेल बताउँछन् । एनआरएनए अभियानमा महत्वपूर्ण भुमिका खेलिरहेका अमेरिका र क्यानडाका एनआरएनए एनसिसिमा एनआरएनएहरुलाई संगठित गर्न राष्ट्रिय परिषदसँग मिलेर कामहरु गर्ने आफूले ध्यान केन्द्रित गर्ने बताए । नेतृत्व तहमा बसेर आफ्नो क्षमता देखाइसकेका पोखरेल एनआरएनए अमेरिकाज क्षेत्रको सह–संयोजकका प्रवल दावेदार हुन् । त्यस क्षेत्रका प्रतिनिधि पनि पोखरेलको विकल्पमा अर्को उम्मेदवार नदेखेको बताउँछन् । पोखरेल आफ्नो विजय हुने कुरामा ढुक्क छन् ।

नेपालमा उत्पादित सुन्तला तथा जुनार अब सजिलै चिनियाँ बजारमा

काठमाडौं । चिनियाँ राष्ट्रपति सी जीङपिङले नेपाल भ्रमणको क्रममा नेपालमा उत्पादित सुन्तला, कागती, जुनार तथा फलफूलहरु चीन निर्यात गर्न पाउने सहमति भएकाे छ । लामो समयदेखि झन्झटिलो क्वारेन्टाईनका कारण सुन्तला तथा जुनारजन्य फलफूल निर्यातमा चीनले रोक लगाएको थियो । हालै चिनीयाँ राष्ट्रपतिको राजकिय नेपाल भ्रमणका बेलामा भएको २० बुदेँ सहमति भित्र कृषि क्षेत्रबाट कृषि तथा पशुपन्छी विकास मन्त्री चक्रपाणी खनालले सो प्रस्ताव राखेका हुन् । जस अन्तर्गत नेपालको सुन्तला, कागती साथै जुनार चीनमा निर्यात गर्न चीन सरकारले स्विकृति दिनु पर्ने रहेको थियो उक्त प्रस्ताव सहजै स्वीकृत भएको छ । चिनियाँ राष्ट्रपतिका साथै प्रधानमन्त्री केपी ओलीको उपस्थितिमा चिनियाँ राजदूत र कृषि मन्त्रालयका सचिव डा. युवकध्वज जिसीबीच सो विषयमा साझेदारी भएको थियो । उक्त साझेदारीमा चिनियाँ मापदण्ड भित्र परेका सबै नेपाल फलफूल नेपालबाट चिनियाँ बजारमा सहजै लैजान सक्ने कृषिमन्त्रालयले जनाएको छ ।

चार करोड लगानीमा वातावरण मैत्री उद्योग सञ्चालन

काठमाडौं । रुपन्देहीको तिलोत्तमा नगरपालिका–१४ बनकट्टीमा चार करोड रुपैयाँको लगानीमा वातावरण मैत्री उद्योग सञ्चालनमा आएको छ । आईतबार तिलोत्तमा नगरपालिकाका नगरप्रमुख बासुदेव घिमिरेले औपचारिक रुपमा एक कार्यक्रमका बीच उद्घाटन गरेका हुन् । प्लाष्टिक झोलाले फैलाउँदो वातावरणीय प्रदषणलाई मध्यनजर गर्दै साङ्लो गु्रपले पहिलो उद्योगको रुपमा साङ्लो गु्रप एण्ड ईण्डष्ट्रिज प्रा.लि.को नामबाट उक्त नन् ओभन उद्योग सञ्चालनमा ल्याएको छ । सम्भवतः नेपालमै पहिलो पटक मल्टीकलर प्रिन्टिङको सुविधा सहित उत्पादन सुरु गरिएको उक्त झोलाले द्रुतगतिमा बजार विस्तार गर्न सक्ने विश्वास पनि ब्यक्त गरिएको छ । संस्थाका अध्यक्ष खिमानन्द भुषालको अध्यक्षता र तिलोत्तमा नगरपालिकाका नगर प्रमुख बासुदेव घिमिरेको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा स्वागत मन्तव्य राख्ने क्रममा कम्पनीको संक्षिप्त जानकारी गराउँदै अध्यक्ष खिमानन्द भुषालले समयको माग र बदलिंदो परिस्थितिसँगै सहयात्रा गरौं भन्ने उद्देश्यले सानो सानो पुँजिलाई एकिकृत गरी साङ्लो गु्रप एण्ड इण्डष्ट्रिज प्रा.लिको स्थापना गरेर वातावरण मैत्री उद्योग सञ्चालनमा ल्याएको बताए । उनले तिलोत्तमा नगरपालिकाले अगाडी सारेको ग्रीन तिलोत्तमा, क्लिन तिलोत्तमा र राष्ट्रिय स्तरमै वातावरण सुरक्षाको लागि साङ्लो ग्रुप एण्ड ईण्डष्ट्रिज प्रा.लि. स्थापना सहयोगी भूमिकामा रहिरहने धारणा व्यक्त गरे । वर्तमान समयमा उद्योगले १३ जनालाई प्रत्यक्ष रोजगारी दिएको जानकारी गराउँदै अध्यक्ष भुषालले निकट भविष्यमै कृषि, यातायात, सहुलियत सपिङ मल लगायत उत्पादनमूलक क्षेत्रमा लगानी बढाउने उद्देश्य बोकेको जानकारी दिएका छन् । प्रमुख घिमिरेले नगरपालिकाका सबै बजारहरुमा आफ्ना उत्पादनहरु पु¥याएर पूर्ण प्लाष्टिक झोला मुक्त गर्ने नगरपालिकाको अभियानमा सहयोग गर्नपनि आग्रह गरेका छन् । एक्लो प्रयासले कुनैपनि कामलाई सफलताको सिढीमा चढाउन असम्भव हुने हुँदा २५ जनाको संयुक्त लगानीमा सञ्चालनमा आएको उद्योग एक जनाको लागि उपयुक्त स्थान भएकोले फरक फरक क्षेत्रका अन्य २४ वटा उद्योगहरु पनि सञ्चालनमा ल्याउने महत्वाकांक्षी योजना ल्याएको बताएका छन् ।