विकासन्युज

विश्वव्यापी आर्थिक वृद्धिदर तीन प्रतिशत हुने आइएमएफको प्रक्षेपण

वासिङ्टन । वित्तीय सङ्कटका कारण विश्वव्यापी आर्थिक वृद्धिदरमा थप कमी आउने प्रक्षेपण अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ)ले मङ्गलबार गरेको छ । निरन्तरको व्यापार विवादले गर्दा व्यवसायिक विश्वास र लगानीमा कटौति आउँदा विश्वव्यापी वित्तीय सङ्कटको अवस्था देखिएकाले सन् २०१९ मा विश्वको आर्थिक वृद्धिदर तीन प्रतिशत रहने कोषले बताएको छ । मुद्रा कोषले सन् २०२० का लागि विश्वको आर्थिक वृद्धिदर ३।४ प्रतिशत कायम रहने अनुमान गरेको थियो, तर कोषको ‘वर्ड इकोनोमिक आउटलुक’को मङ्गलबार सार्वजनिक पछिल्लो प्रतिवेदनमा यो दर तीन प्रतिशत रहने बताइएको छ । प्रतिवेदनले विश्वको अर्थतन्त्रमा क्रमशः एकरूपमा कमी आएको र सुधारको अनिश्चितता रहेको चेतावनी दिएको छ ।कोषका प्रमुख अर्थशास्त्री गीता गोपीनाथले भन्नुभयो, “विश्वव्यापी नतिजा जोखिमपूर्ण रहेको र यसमा नीतिगत कमजोरीहरू नभएको देखिएको छ ।” कोषले सन् २०१९ मा अमेरिकाको आर्थिक वृद्धिदर २।४ रहने बताएको छ । यो प्रक्षेपण जुलाईमा गरिएको अनुमानको दुई दशांशले कमी भएको जनाएको छ । व्यापार तनावले आर्थिक वृद्धिदरमा आएको न्यूनताका कारण अमेरिकी कुल ग्राहस्थ उत्पादन २.१ प्रतिशतमा विस्तार हने पनि कोषले बताएको छ । अमेरिकाका लागि व्यापारसम्वद्ध अनिश्चितताले गर्दा लगानीमा नकारात्मक प्रभाव छोडेको तर रोजगारी र उपभोग भने मजबुत रहने कोषका प्रमुख अर्थशास्त्री गोपीनाथले बताए । रासस/एएफपी

ऊर्जा सचिवस्तरीय बैठकः बुटवल-गोरखपुर प्रसारण लाइनमा नेपाल र भारतको समान हिस्सा

काठमाडौँ । नेपाल र भारत ‘न्यू बुटवल–गोरखपुर अन्तरदेशीय प्रसारण लाइन’ समान हिस्साका साथ निर्माण सहमत भएका छन् । यस्तै नेपालमा उत्पादन हुने विद्युत् बङ्गलादेश निर्यातका लागि त्रिदेशीय (नेपाल, भारत र बङ्गलादेश) बैठक आगामी तीन महिनाभित्र आयोजना गर्ने भएको छ । सोमबारदेखि शुरु भएको नेपाल र भारतका ऊर्जा सचिवस्तरीय संयुक्त निर्देशक समितिको बैठकले दोस्रो अन्तरदेशीय प्रसारण लाइन निर्माण गर्ने सम्बन्धी सम्झौता भएको ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव दिनेशकुमार घिमिरेले बैठकस्थल भारतको बेङ्लोरबाट राससलाई जानकारी दिए । ढल्केबर–मुजफ्फरपुर अन्तरदेशीय प्रसारणलाइन निर्माण भई सञ्चालनमा समेत आइसकेको सन्दर्भमा दोस्रो अन्तदेशीय प्रसारणलाइन निर्माणको ढाँचा टुङ्गो लागेको हो । सहमतिअनुसार सो प्रसारण लाइनमा निर्माणमा नेपाल र भारतको ५०÷५० प्रतिशत हिस्सा रहनेछ । सचिव घिमिरेका अनुसार नेपाल र भारतको समान लगानी रहने गरी संयुक्त कम्पनी स्थापना गरिनेछ । आगामी तीन महीनाभित्र दुई देशीय संयुक्त कम्पनी स्थापना गरिनेछ । नेपाल विद्युत् प्राधिकरण र भारतको पावर ग्रीड कर्पोरेशन अफ इन्डियाले समानरूपमा लगानी गरी कम्पनी स्थापना गर्ने सम्बन्धी सहमति भएको हो । यस्तै लगानी संरचना भने ८० र २० प्रतिशत हुने गरी व्यवस्था गरिएको छ । त्यसमा ८० प्रतिशततर्फ भने सहुलियतपूर्ण ऋण लिइनेछ । यस्तै २० प्रतिशतको हकमा भने नेपाल र भारतका तर्फबाट स्वपूँजीका रूपमा लगानी गरिनेछ । यस्तै आगामी छ महीनाभित्र ‘इम्प्लिमेन्टनशन अफ ट्रान्समिशन सिस्टम एग्रीमेन्ट’ (आइटिएस) गर्ने सहमति भएको छ । त्यो भनेको प्रसारण प्रणालीलाई एक अर्कामा अन्तरसम्बन्धित गर्ने विषय हो । दुई दिवसीय बैठकमा नेपालका तर्फबाट ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव घिमिरे र भारतका ऊर्जा सचिव एससी गर्गले नेतृत्व गरेका थिए । यस्तै सहसचिवस्तरीय संयन्त्रको नेतृत्वका नेपालका तर्फबाट ऊर्जा हेर्ने सहसचिव प्रवीणराज अर्याल र भारतका सहसचिव एसकेजी रहातेले गर्नुभएको थियो । मन्त्रिपरिषद्को यही असोज १७ गते बसेको बैठकले संयुक्त निर्देशक समितिको बैठकमा भाग लिन तालुकदार मन्त्रालयका सचिवलगायतका अधिकारीलाई स्वीकृति दिएको थियो । नेपाल पूर्वाधार सम्मेलनमा सहभागी हुन गत भदौ २६ गते यहाँ आउनुभएका भारतीय ऊर्जा राज्यमन्त्री आरके सिंहले ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनसँग गर्नुभएको शिष्टाचार भेटवार्ताका क्रममा सो प्रसारण लाइनको ढाँचा, निर्माण लागतलगायतका विषयलाई शीघ्र टुङ्गोमा पुर्याई निर्माण शुरु गर्ने सहमति भएको थियो । सोही सहमतिलाई ऊर्जा सचिवस्तरीय बैठकले टुङ्गोमा पुर्याएको छ । “हामीले लामो समयदेखि उठाउँदै आएको न्यू बुटवल गोरखपुर अन्तरदेशीय प्रसारण लाइन निर्माणमा सहमति जुटेको छ । यो ऐतिहासिक सहमति हो”, सचिव घिमिरेले भने, “नेपाल, भारत र बङ्गलादेशबीच ऊर्जा आदानप्रदान गर्नेसम्बन्धी विषयमा समेत सहमति जुटाउनका लागि तीन महीनाभित्र त्रिदेशीय बैठक आयोजना गरी महमति खोजिने छ ।” बङ्गलादेशले सन् २०४० सम्म नेपालबाट नौ हजार मेगावाट विद्युत् लैजाने प्रतिबद्धता जनाएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुनले गत वर्षको भदौमा गर्नुभएको बङ्गलादेश भ्रमणमा बङ्गलादेशी उच्च सरकारी अधिकारीले सो प्रतिवद्धता जनाएका थिए । न्यू बुटवल गोरखपुर प्रसारणलाइन पनि ४०० केभी क्षमतामा नै निर्माण हुनेछ । सो प्रसारण लाइनको निर्माणका विषयमा दुई देशबीच सैद्धान्तिक सहमति भए पनि कुन विधि र ढाँचामा निर्माण गर्ने भन्ने विषयमा थप परामर्श जरुरी रहेको भन्दै सहमति हुन सकेको थिएन । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पुन र भारतका ऊर्जा राज्यमन्त्री सिंहबीच गत भदौमा भएको छलफलका क्रममा सो प्रसारण लाइनका विषयमा देखिएका विवादलाई समाधान गरी निर्माण शुरु गर्ने र सम्बद्ध निकायले आवश्यक तयारी गर्ने सहमति भएको थियो । अमेरिकी सहयोगको मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एससीसी)सँग सम्बन्धित आयोजनामा न्यू बुटवल गोरखपुर प्रसारण लाइनसमेत जोडिएकाले त्यसलाई सरकारले ठूलो महत्वमा राखेको छ । सो प्रसारणलाइन निर्माणका लागि संयुक्त कम्पनी बनाएर जान सकिनेमा नेपालको जोड रहँदै आएको थियो । सो प्रसारणलाइनको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार भइसकेको छ । प्राधिकरणको बुटवलमा रहेको सब–स्टेशनपूर्व रोहिणी खोलानजिक अर्को सबस्टेशन बनाउने र नेपालबाट भारत निर्यात गर्न तथा भारतबाट विद्युत् आयात गर्नसमेत सहज हुने छ । सो प्रसारण लाइनको विस्तृत आयोजना प्रतिवेदन (डीपीआर) सन् २०१५ मा तयार भएको थियो । यो प्रसारणलाइन आयोजना निर्माण गर्न दुवै देश सहमत भई निर्माण ढाँचासमेत टुङ्गो लगाएको हो । कूल १४० किलोमिटर लामो प्रसारणलाइनको २० किलोमिटर नेपालमा र बाँकी १२० किलोमिटर नेपाल–भारत सिमानादेखि भारतको गोरखपुर पु¥याउने योजना तय भएको छ । बूढीगण्डकी र मस्र्याङ्दी करिडोरलगायत स्थानमा उत्पादन भएको विद्युत् बढी हुँदा भारत निर्यात गर्न सो प्रसारण लाइन सहज हुने विश्वासका साथ दुवै मुलुकले उक्त परियोजनालाई प्राथमिकतामा राखेका हुन् । सरकारले १० वर्षमा १५ हजार मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य राखेको सन्दर्भमा सोही प्रसारण लाइनमार्फत करीब दुई हजार मेगावाट विद्युत् निर्यात गर्ने लक्ष्य राखेको छ । विद्युत्को मुख्य माग हुने भैरहवा, बुटवल, नारायणगढ, पोखरा, दाङलगायतका शहरसमेत उक्त प्रसारण लाइनको नजिक पर्ने भएकाले सरकारले प्राथमिकतामा राखेको हो । सरकारले प्रस्ताव गरेको प्रसारणलाइन गुरुयोजनामा पनि अन्तरदेशीय प्रसारण लाइनको निर्माण, आन्तरिक प्रसारण लाइनको विकास तथा विस्तारलाई जोड दिइएको छ । हाल दुई देशबीच ११ स्थानमा अन्तरदेशीय प्रसारण लाइन निर्माण गर्ने प्रस्ताव गरिएको छ । इनर्जी बैंकिङमा सहमति यस्तै सचिव घिमिरेका अनुसार बैठकमा इनर्जी बैंकिङका बारेमा समेत सहमति भएको छ । भारतले अन्तरदेशीय विद्युत् व्यापार तथा आदानप्रदानका लागि स्पष्ट नीतिगत तथा कानूनी प्रबन्ध गर्ने विश्वास दिलाएको छ । “इनर्जी बैंकिङको सन्दर्भमा हामीले राखेको प्रस्तावलाई भारतीय पक्षले सकारात्मक रूपमा लिँदै सबै नीतिगत एवं व्याववहारिक विषयमा स्पष्ट गर्ने प्रतिवद्धता जनाएको छ”, सचिव घिमिरेले भने । नेपाल विद्युत् प्राधिकरणले गत साउनको अन्तिम सातादेखि एकसाता २५० मेगावाट विद्युत् भारत निर्यात गरेर इनर्जी बैंकिङको अभ्यास गरेको थियो । यस्तै, रक्सौल–गोरखपुर प्रसारण लाइनमार्फत प्राधिकरणले ४५ मेगावाट विद्युत् विहारमा निर्यात गरिरहेको छ । भारतले इनर्जी बैंकिङका विषयमा नीतिगत व्यवस्था गर्ने प्रतिबद्धता यसअघि नै जनाइसकेको छ । चालू आवको अन्तिमसम्ममा माथिल्लो तामाकोशी (४५६ मेगावाट), रसुवागढीलगायत सरकारी लगानीका र निजी क्षेत्रले निर्माण गरेका विभिन्न आयोजनाबाट एक हजार ३०० मेगावाट विद्युत् राष्ट्रिय प्रसारण प्रणालीमा जोडिने भएकाले आन्तरिक खपतसँगै भारत निर्यात गर्नुपर्ने बाध्यता रहेको छ । बैठकमा सो विषयलाई नेपालले प्राथमिकताका साथ उठाएको र सहमतिसमेत भएको छ । प्राधिकरणले वर्षायाममा बढी भएको विद्युत् भारत पठाउने र हिँउदको समयमा आयात गर्ने लक्ष्य राखेको छ । गत माघमा सम्पन्न भएको पोखरा बैठकले दुई देशबीच इनर्जी बैंकिङमा सैद्धान्तिक सहमति जनाएको थियो । बैठकले प्राधिकरण र भारतको केन्द्रीय विद्युत् प्राधिकरणले तयार पारेको इनर्जी बैंकिङसम्बन्धी प्रस्तावलाई स्वीकार गरेको थियो । भारतीय पक्षले सो व्यवस्था कार्यान्वयनका लागि आवश्यक कानूनी प्रबन्ध गर्ने विश्वास दिलाएको थियो । दुई प्रसारण लाइनको क्षमता वृद्धि हुने बैठकमा नेपालले राखेको रक्सौल–परवानीपुर र कुशाहा–कटैया अन्तरदेशीय १३२ केभी प्रसारण लाइनको क्षमता वृद्धिका विषयमा समेत सहमति भएको छ । ती प्रसारणलाइनको ‘सिङ्¬गल सर्किट’ यसअघि नै सञ्चालनमा आइसकेको छ । त्यसमा अर्को सर्किट थपेर डबल सर्किट बनाउने नेपालको तयारी छ । रक्सौल–परवानीपुर प्रसारण लाइनको नेपालतर्फको काम प्राधिकरणले गर्नेछ भने भारततर्फको लाइन अभिवृद्धिका लागि भारतले सहयोग उपलब्ध गराउने सहमति भएको छ । “भारतीय पक्ष आफ्नो भूमितर्फ प्रसारण लाइनको क्षमता वृद्धिका लागि अनुदान उपलब्ध गराउन सैद्धान्तिकरूपमा सहमत भएको छ”, सचिव घिमिरेले भने । यस्तै कुशाहा–कटैया अन्तरदेशीय प्रसारण लाइनको क्षमता विस्तारका विषयमा समेत सहमति भएको छ । हाल ती प्रसारणलाइनबाट नेपालले आवश्यकताका आधारमा विद्युत् आयात गरिरहेको छ । यस्तै नेपालगञ्ज र भैरहवा जोडिएका प्रसारण लाइनको क्षमता वृद्धि तथा विस्तारका विषयमा समेत सहमति भएको छ । सचिवस्तरीय बैठकमा विगतदेखि नै नेपालले उठाउँदै आएका सहमति भएको भन्दै सचिव घिमिरेले भने, “बैठक महत्वपूर्ण रह्यो र रणनीतिक महत्वका विषयमा सहमति भएका छन् ।” रासस

अमेरिकामा अर्थमन्त्री खतिवडाले के के गर्दैछन् ?

काठमाडौँ । अर्थमन्त्री डा युवराज खतिवडा विश्व बैंक समूह र अन्तर्राष्ट्रिय मुद्राकोषको संयुक्त वार्षिक बैठकमा सहभागी हुन मंगलबार संयुक्त राज्य अमेरिका प्रस्थान गरेका छन् । संयुक्त राज्य अमेरिकाको वाशिङटन डीसीमा आयोजना हुने बैठकका अतिरिक्त विश्व बैंक समूह तथा अन्तर्राष्ट्रिय मुद्राकोषका वरिष्ठ अधिकारीहरुसँग द्विपक्षीय छलफल गर्ने कार्यक्रम रहेको उनको सचिवालयले जनाएको छ । मन्त्री खतिवडाले अन्तर्राष्ट्रिय विकास संस्थाबाट नेपालको नीतिगत सुधारका लागि प्राप्त हुँदैआएको सहायतालाई थप प्रभावकारी बनाउने उपायलगायत सहायताका थप क्षेत्र र सम्भावनाबारे विस्तृत छलफल गर्नुहुने कार्यक्रम तय भएको छ । उनले सङ्घीयता कार्यान्वयनको क्रममा नेपालले हासिल गरेका अनुभवको आदानप्रदान गर्ने कार्यक्रममा समेत सहभागिता जनाउने छन् । साथै विश्व बैंकको अन्तर्राष्ट्रिय विकास संस्थासँग नेपालको सहकार्य ५० वर्ष पुगेको अवसरमा आयोजना हुने कार्यक्रममा सहभागी हुनु हुनेछ । नेपाललाई सहयोग गरिरहेका अन्य दातृ मुलुक तथा संस्थाका उच्च पदाधिकारीहरुसँग पनि उनले द्विपक्षीय भेट गर्नेछन् । दक्षिण एशियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क)को अध्यक्षता हाल नेपालले गरिरहेको परिप्रेक्ष्यमा सार्कका अर्थमन्त्रीहरु सम्मिलित अनौपचारिक बैठकको अध्यक्षतासमेत अर्थमन्त्री डा खतिवडाले गर्ने कार्यक्रम तय भएको छ । प्रतिनिधिमण्डलमा अर्थ मन्त्रालय, अन्तर्राष्ट्रिय आर्थिक सहायता समन्वय महाशाखाका सहसचिव श्रीकृष्ण नेपालसमेत सहभागी छन् । अर्थमन्त्री डा खतिवडा कात्तिक ६ गते स्वदेश फर्किने कार्यक्रम छ । रासस

चार किलोग्राम चरेससहित दुई युवा पक्राउ

काठमाडौँ । नेपाल प्रहरीले चार किलोग्राम चरेससहित दुई युवालाई पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत्त महाराजगञ्जको टोलीले अवैधरूपमा चरेस बोकेर हिँडिरहेका जाजरकोटका २३ वर्षीय भुवन बुढामगर र २८ वर्षीय नवीनप्रकाश पुनलाई मङ्गलबार साँझ पक्राउ गरेको हो । वृत्तका प्रमुख प्रहरी नायब उपरीक्षक उमेश लम्सालले झोलामा चरेस बोकेर हिँडिरहेको अवस्थामा उनीहरुलाई गोङ्गबुबाट पक्राउ गरिएको जानकारी दिए । “चरेस बेचबिखन गर्न हिँडेको भन्ने अनुसन्धानमा खुल्न आएको छ”, उनले भने । पक्राउ परेका दुवैलाई लागुऔषध ऐन, २०३३ अन्तर्गत मुद्दा चलाइने वृत्तले जनाएको छ । रासस

एनआरएनकाे भवन बनाउन उम्मेदवारसँग १०/१० लाख रूपैयाँ उठाइदै, निर्वाचनबाटै २ कराेड उठ्ने

काठमाडाैं ।  गैरआवासीय नेपाली सङ्घ (एनआरएन)को निर्वाचनमा सम्भवतः नेपालकै सबभन्दा बढी उम्मेद्वारी दर्ता शुल्क तोकिएको छ । सङ्घको बुधबार हुने निर्वाचनमा उम्मेद्वारी दर्ता शुल्क रु एक लाखदेखि १० लाखसम्म तोकिएको सङ्घका प्रमुख निर्वाचन आयुक्त शिव रिजालले जानकारी दिए । अध्यक्षको दर्ता शुल्क रु १० लाख तोकिएको छ भने अन्तर्राष्ट्रिय समन्वय समिति (आईसीसी सदस्य) को रु एक लाख तोकिएको छ । गत महाधिवेशनमा अध्यक्षको उम्मेदवारको दर्ता शुल्क रु सात लाख ५० हजार रहेको थियो । गत महाधिवेशनभन्दा यसवर्ष रु दुई लाख ५० हजार बढाएर रु १० लाख पुर्याइएको हो । निर्वाचन प्रमुख आयुक्त रिजालका अनुसार उपाध्यक्षको रु सात लाख, महासचिवको रु छ लाख, सचिव र कोषाध्यक्षको रु पाँच लाख, सहकोषाध्यक्षको रु चार लाख, महिला तथा युवा संयोजकको रु तीन लाख ५० हजार, क्षेत्रीय संयोजकको रु तीन लाख ५० हजार, क्षेत्रीय उपसंयोजकको रु दुई लाख ५० हजार, क्षेत्रीय महिला तथा युवा संयोजकको रु दुई लाख ५० हजार र आईसीसी सदस्यहरुको रु एक लाख उम्मेदवार दर्ता शुल्क तोकिएको छ । ४२ सदस्यीय सङ्घकाे कार्यसमिति १२ जना पदाधिकारी हुनेछन् । सबै उम्मेदवारबाट रू २ कराेड भन्दा बढी संकलन हुने अपेक्षा गरिएकाे छ । उक्त रकम सङ्घको भवन बनाउन प्रयाेग हुने बताइएकाे छ । सङ्घको नवौँ नेपाली विश्व सम्मेलन तथा अन्तरराष्ट्रिय महाधिवेशन आजदेखि काठमाडौँमा शुरु भएको छ । तीन दिनसम्म चल्ने सम्मेलनमा ८१ मुलुकका करीब दुई हजार ५०० प्रतिनिधि सहभागी छन् । सङ्घकाे अध्यक्ष पदमा कुमार पन्त र कुल आचार्यबीच प्रतिस्पर्धा हुँदैछ । सङ्घको नयाँ नेतृत्वका लागि प्रत्येक दुई/दुई वर्षमा निर्वाचन हुने गर्दछ । कूल ४२ पदका लागि दिउँसो ३ बजेदेखि साँझ ८ बजेसम्म हुने निर्वाचनमा विद्युतीय यन्त्रबाट मतदान हुनेछ । निर्वाचनका लागि आज राति ९ बजेदेखि भोलि बिहान १०ः३० बजेसम्म उम्मेद्वार मनोनयनको समय तोकिएको छ । निर्वाचनमा करीब २ हजार ४०० मतदान हुने अनुमान गरिएकाे छ ।

गाउँकाे घर टपक्कै टिपेर प्रज्ञा प्रतिष्ठानको हलमा, फुरूङ्ग भए साहित्यप्रेमी

काठमाडाै । हिउँदको शुरुआतसँगै पाँच बज्दा नबज्दै सूर्यास्त हुने तरखरमा थियो । राजधानीमा हल्का चिसोको महसुस हुन थालिसकेको थियो । यता नेपाल प्रज्ञा प्रतिष्ठानमा भने कला संस्कृतिका माध्यमबाट साहित्यप्रेमीको मन तताउने तयारी हुँदै थियो । कला, साहित्य तथा संस्कृतिमा गहिरो लगाब भएका मूर्धन्य व्यक्तित्वको प्रतिष्ठान परिसरमा बाक्लै उपस्थिति थियो । तिनै साहित्यप्रेमीको मन तताउन प्रतिष्ठानमा सांस्कृतिक कार्यक्रमको तयारी तीव्र भइरहेको थियो । दोस्रो चीन र दक्षिण एशिया साहित्य सम्मेलन, २०७६ मा सहभागी हुन नेपाल आएका विदेशी साहित्य अनुरागी पनि नेपाली कला संस्कृतिको अवलोकन गर्न व्यग्र प्रतिक्षामा थिए । नेपाल प्रज्ञा प्रतिष्ठानले सम्मेलनमा सहभागी हुन काठमाडौँ आएको स्वदेशी तथा विदेशी साहित्यकर्मीको स्वागतमा आज साँझ सांस्कृतिक कार्यक्रमको आयोजना गरेको थियो । साँझ ५ बजेका लागि कार्यक्रम आयोजना गरिए पनि तयारी स्वरुप केही समय ढिला भएको थियो । प्रतिष्ठान परिसरमा उपस्थित साहित्य अनुरागीभित्र हलमा प्रवेश गर्दा पर्दा बन्द थियो । साहित्यप्रेमी कतिबेला पर्दा खुल्छ र कला संस्कृतिमा रम्न पाइन्छ भनेर व्यग्र प्रतिक्षामा थिए । झण्डै आधा घन्टा ढिला गरी हलको पर्दा खुल्यो, पर्दाभित्र समग्र नेपालको ग्रामीण भेगको वस्तुस्थित झल्कने गरी घरको स्वरुप दिइएको थियो । लाग्थ्यो प्रतिष्ठानको हलभित्रै ग्रामीण भेग हुने घर टपक्कै टिपेर ल्याइएको छ । खरको छाना । पिँढीको खाँबो, झ्याल र ढोकामा ‘खोटो’ दलिएको, छानामाथि नाङ्ग्लामा गुन्द्रक, खुर्सानी सुकाइएको, पिँढीको ‘बलो’मा मकैको झुत्ता झुण्डयाइएको, अनि उज्यालोका लागि ‘लालटिन’ बालिएको, पिँढीमा जाँतो, डोको… यस्तैयस्तै । विदेशीका माझ ती ग्रामीण पर्यटन प्रवद्र्धनको उत्कृष्ट नमूना नै थिए । तीनै घरको पिँढीमा कलाकार बाद्यवादनको साधनसहित तम्तयारी अवस्थमा बसेका थिए । प्रतिष्ठानको सिङ्गो टोली अन्तरहिमाली सांस्कृतिक एवं साहित्यिक सम्बन्ध प्रवद्र्धन गर्दै नेपाली कला, संस्कृति विदेशी साहित्यकारलाई देखाउन आतुर थियो । प्रतिष्ठानकै आयोजनामा गरिएको सो सांस्कृतिक कार्यक्रममा सांस्कृतिक संस्थान (नाचघर)का कलाकारले नेपालको कला संस्कृति झल्कने कलाकृति र नृत्य प्रस्तुत गरेका थिए । नेपालको सांस्कृतिक वैभव पस्केका थिए । पश्चिमा संस्कृतिको गलत प्रभाव चिरेर एशियाली संस्कृतिको प्रवद्र्धन गर्ने उद्देश्यका साथ कार्यक्रमको आयोजना गरिएको थियो । मादल, ढोलक, बाँसुरीलगायत परम्परागत नेपाल लोकबाजाका साथको प्रस्तुतिबाट नेपालीसहित विदेशी साहित्यप्रेमी मन्त्रमुग्ध भएका थिए । कार्यक्रममा प्रस्तुत गरिएका गीत, सङगीत तथा नृत्यले विदेशी पाहुँनामाझ नेपाल कला संस्कृतिकमा निकै धनी भएको प्रतीत गरेको थियो । पूर्वी, पश्चिमी, हिमाल, पहाड, तराई तथा उपत्यकाका जनजाति विदेशका गीत सङ्गीतले प्रतिष्ठान गुन्जायमान बनेको थियो । सास्कृतिक कार्यक्रममा मञ्जुश्री नाच, झागन, सेब्रु, कौडा, टप्पा, धिमे, साकेला, भुम्रा र हुड्केली गीत तथा नृत्य प्रस्तुत गरिएको थियो । कार्यक्रममा प्रस्तुत गरिएका नेपाली कला संस्कृतिले साहित्यिक पर्यटन प्रवद्र्धनमा ठूलो योगदान पु¥याउने साहित्य अनुरागीको भनाइ थियो । कार्यत्रममा नेपाल प्रज्ञा प्रतिष्ठानका उपकुलपति डा जगमान गुरुङले यस्ता सांस्कृतिक कार्यक्रममले एशियाली मुलुकबीच सद्भाव, सहिष्णुता, समन्वय, सहअस्तिस्व र शान्तिको भावना जागृत गराउने विश्वास व्यक्त गर्नुभयो । सम्मेलनमा नेपाल, चीन, भारत, पाकिस्तान, बङ्गलादेश, श्रीलङ्का र माल्दिभ्सबाट संस्थागत प्रतिनिधित्वका साथै विदेशका २० र नेपालका ४० गरी ६० साहित्यकारको सहभागिता हुनेछ । आगामी कात्तिक ३ गतेसम्मे चल्ने सम्मेलनमा चार नेपाली र १२ अन्य देशका गरी १६ कार्यपत्र प्रस्तुत हुनेछ । सम्मेलनका अवसरमा नेपाल भ्रमण वर्ष २०२० लाई सफल पार्न सांस्कृतिक एवं पर्यटकीयस्थलको अवलोकन गराई पर्यटन प्रवद्र्धनसमेत गरिने कार्यक्रम छ । असोज ३० गते चन्द्रागिरि तथा आगामी कात्तिक १, २ र ३ गते विदेशी सहभागीलाई काठमाडौँ र पोखराका पर्यटकीय, ऐतिहासिक, पुरातात्विक एवम सांस्कृतिकस्थलको भ्रमण गराइनेछ । यसअघि पहिलो सम्मेलन सन् २०१७ मा चीनको सिचुवान प्रान्तस्थित छेन्दुमा भएको थियो । साँझ छिप्पिसकेको थियो । हुड्केली नृत्यले तातेका साहित्यप्रेमी प्रतिष्ठानको हलबाट बाहिरिँदै गर्दा भन्दै थिए, “बाहिर कस्तो चिसो भइसके छ ।”

एनआरएनहरुलाई व्यवसायी चन्द्र ढकालको आग्रह – सातै प्रदेशमा ‘चन्द्रागिरि’ बनाउनुस्

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष एवम् आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपाल संघीय व्यवस्थामा प्रवेश गरेसँगै लगानीको वातावरण बन्दै गएको भन्दै यहाँ लगानी गरेर मुनाफा कमाउन गैर आवासीय नेपालीहरुलाई आग्रह गरेका छन् । गैर आवासीय नेपाली संघको नवौँ महाधिवेशनलाई मंगलबार सम्बोधन गर्दै ढकालले सरकारले हाल लगानी गर्न उद्यमीहरुलाई उत्साहित गरेको र तीनै तहका सरकारहरुबीच लगानी भित्र्याउन प्रतिस्पर्धा नै भएको भन्दै देशमा लगानीको वातावरणमा निकै ठूलो सुधार भएको समेत बताए । उनले चन्द्रागिरि पर्यटकीय क्षेत्रको आवश्यकता हरेक प्रदेशमा आवश्यक भएको भन्दै मुख्यमन्त्रीहरुले लगानी गर्न आग्रह गर्ने गरेको भन्दै ढकालले उनीहरुलाई त्यस्तो क्षेत्रमा लगानी गर्ने विकल्प समेत भएको बताए । ढकालले आफूसँग गैर आवासीय नेपालीहरुसँग मिलेर काम गरेको अनुभव समेत भएको भन्दै २७ मेगावाटको दोर्दीखोला जलविद्युत र काठमाडौँमा रहेको चन्द्रागिरि केबलकार गरी दुईओटा प्रोजेक्टमा एनआरएनहरुको समेत लगानी भएको उल्ल्ेख गरे । ‘यी प्रोजेक्टहरु नेपाली उद्यमशीलताको क्षेत्रमा राम्रा उदाहरणका रुपमा स्थापित भएको सबैमा विदितै छ’ उनले भने । यो सफलताले नेपालमा गैर आवासीय नेपाली साथीहरुसँगको संयुक्त लगानीमा धेरै काम गर्न सकिन्छ भन्ने उदाहरण नै बनेको भन्दै भन्दै ढकालले भने – ‘आउनुहोस् संयुक्त लगानी गरौँ या तपाईँहरु व्यक्तिगत रुपमै आएर लगानी गर्नुहोस् ।’ आफू विदेश जाँदा कतिपय नेपाली साथीहरुले नेपालमा लगानीको वातावरण नै छैन भन्नेजस्ता कुरा गर्ने गरेको स्मरण गर्दै उनले अमेरिकामा पनि व्यवसाय गरिरहेका साथीहरुका त्यहीँको सरकारसँग आ–आफ्नै गुनासा रहेको भन्दै कहिँपनि सोचेजस्तो नहुने भएकोले केही अवरोधहरुलाई व्यवसायीले सहज रुपमा ग्रहण गर्नुपर्ने समेत बताए । ढकालको विचारमा जलविद्युत, पर्यटन, कृषि लगायतमा क्षेत्रमा एनआरएनएहरुले लगानी गरेर राम्रो लाभ लिनसक्ने ठाउँ छ । ‘आफूले संसारमा आर्जन गरेको सीप, ज्ञान र प्रविधिलाई नेपालमा लगाउन सकिएमा यसले राम्रै प्रतिफल दिन सक्छ’ उनको सुझाव थियो । कार्यक्रममा अर्थमन्त्री युवराज खतिवडाले पनि चन्द्रागिरि केवलकारबाट सफलता पाएका ढकालकै उदाहरण दिँदै केवलकार एनआरएनहरुको लगानीको अर्को नाफामूलक क्षेत्र भएको टिप्पणी गरे । ढकालप्रति इगिंत गर्दै अर्थमन्त्री खतिवडाले भने –‘केवलकारमा लगानी गरेर अनुहार हँसिलो बनाउने मान्छे यहीँ हुनुहुन्छ ।’

एडभेञ्चर मोटरसाइकल ‘एक्सपल्स २००’ सार्वजनिक, मूल्य ३८५ हजार रुपैयाँ मात्र

काठमाडौं । हिरो मोटर साइकलको आधिकारिक बिक्रेता नेपाल जेनरल मार्केटिङले प्रिमियम मोटर साइकल ‘एक्सपल्स २००’ सार्वजनिक भएको छ । हिरो मोटर कर्पले उत्पादान गरेको यस मोटर साइकल एक्स्पल्स २००को मूल्य तीन लाख ८५ हजार रुपैयाँ तोकिएको छ । कम्पनीका अुनसार यो बाइक देशभरका नेपाल जेनरल माकेटिङल सम्पूर्ण डिलरहरुमा उपलब्ध हुनेछन् । हिरो मोटर कर्पको यस उत्पादनले ग्राहकहरुमाझ आधुनिक डिजाइन, प्रविधि र सबैभन्दा अलग बनौटका उत्पादन प्रस्तुत गर्ने कम्पनीको लक्ष्यलाई प्रतिबिम्बित गरेको छ । भ्रमणमा जान रुचाउने युवा पुस्ताहरु लक्षित गरि निर्माण गरिएको एक्स्पल्स २०० आधुनिक संरचना र सवारी सहजताको सही संयोजन खोजिरहेका युवाहरुको लागि उत्कृष्ट मोटरसाइकल हुने कम्पनीले जनाएको छ ।