काठमाडौं । तिहारका लागि करिब २५ लाख फूलकाे माला आवश्यक पर्ने भएको छ । पछिल्लो समयमा ८० प्रतिशत फूल आन्तरिक उत्पादनले नै पुग्ने गरेकाे हुँदा २० प्रतिशत भारतबाट आयात हुँदै आएको फ्लोरिकल्चर एशोसिएसन नेपालको अध्यक्ष कुमार कसजु श्रेष्ठले बताए ।
फ्लोरिकल्चर एशोसिएसन नेपालको आयोजनामा ललितपुरमा हुने लागेको १३ औं गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनी व्यवसायीलाई हौसला दिनकै लागि प्रत्येक वर्ष हुँदै आएको संयोजक शिवबहादुर खड्काले पत्रकार सम्मेलन मार्फत जानकारी दिएका छन् ।
फूलको पर्व नजिकीएसँगै घर आँगन र बगैंचामा सजाउन तथा पाहुनाको सत्कारका लागि फूलको प्रवद्र्धन हुँदै आएको छ । ‘रोपेर फूल गोदावरी, सजाऔ घर आँगन वरिवरि’ भन्ने नाराको साथ कात्तिक १ गते विहान ११ बजे उक्त मेलाको उद्घाटन गर्ने आयोजकले जानकारी दिएका छन् ।
पछिल्लो समय फूलको महत्वको बारेमा सरकारले चासो दिएको फ्लोरिकल्चर एशोसिएसन नेपालको अध्यक्ष श्रेष्ठले खुसी व्यक्त गरेका छन् ।
हालै सम्पन्न चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमणको अवसरमा करिब १ करोड रुपैयाँ फूलमा खर्च गरेको भन्दै फूलले आत्मियता प्रदान गर्ने हुँदा हाल स्वागतका लागि फूल अनिवार्य भईसकेको हुँदा नेपाली बजारमा प्रतिवर्ष १० देखि १५ प्रतिशतको दरले फूलको माग बढी रहेको अध्यक्ष श्रेष्ठले बताए ।
तिहार तथा छठको अवसरलाई ध्यानमा राखि प्रत्येक वर्ष हुने मेला अघिल्लो वर्षहरुमा कृषि विकास मन्त्रालयको तथा विभागको सहयोगमा आयोजना गरिएको थियो, भने यस वर्ष फ्लोरिकल्चर एशोसिएसन नेपालले आफ्नै साधन, स्रोतमा सञ्चालन गर्न लागेको मेला संयोजक खड्काले बताए ।
कात्तिक एक गतेदेखि चार गतेसम्म हुने उक्त मेलामा ४४ वटा व्यवसायिक स्टल, ४ वटा सूचनामुलक र गोदावरी फूलको प्रतिस्पर्धात्मक प्रदर्शनी स्टल १ सहित जम्मा ४९ वटा प्रदर्शनी कक्ष रहने छन् । पुष्प व्यवसायीहरुको व्यवसाय प्रवद्र्धनमा हौसला प्रदान तथा व्यवसायिहरु बीचको प्रतिस्पर्धात्मक भावनाको विकास गरी गुणस्तरिय उत्पादनमा टेवा पुर्याउने उद्देश्यले उक्त मेला आयोजना गर्न लागिएको हो ।
सामान्य रुपमा वि.सं. २०११ सञ्चालन भएको पुष्प व्यवसायले आर्थिक वर्ष २०७५/७६ सम्म आइपुग्दा ७ सय भन्दाबढी रहेका छन्, भने ४३ वटा जिल्लामा पुष्प खेती विस्तार भएको छ । करिब १ सय ५७ हेक्टरमा फैलिएको पुष्प व्यवसायमा आश्रित भई करिब साढे ४३ हजारले प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा काम गरिरहेका छन् । त्यसैगरी आर्थिक वर्ष २०७५/२०७६ सालमा २ अर्ब ४२ करोड रुपैयाँ वरावरको कारोबार भएको थियो ।