विकासन्युज

बैंक अफ काठमाण्डूको १७ प्रतिशत लाभांश पारित, निक्षेप बढेर ८३ अर्ब नाघ्याे

काठमाडौं । बैंक अफ काठमाण्डूको प्रस्तावित १७ प्रतिशत लाभांश पारित भएको छ । बिहीबार सम्पन्न भएको बैंकको २५औँ वार्षिक साधारणसभाले सेयरधनीलाई सो मात्राको लाभांश दिने प्रस्तावलाई पारित गरेको हो । सभाले पारित गरे अनुसार बैंकका सेयरधनीले गत आर्थिक वर्षको नाफाबाट हालको चुक्ता पुँजीको ६ प्रतिशत बोनस र ११ प्रतिशत नगद लाभांश पाउने छन् । बैंकको चुक्ता पुँजी ८ अर्ब ६ करोड रुपैयाँ थियो । ६ प्रतिशत बोनस पछि बैंकको चुक्ता पुँजी ८ अर्ब ५४ करोड रुपैयाँ पुगेको छ । त्यसैगरी, सभाले गत आर्थिक वर्षको नाफा नोक्सान हिसाबमाथि छलफल गरि पारित गरेकाे छ । त्यस्तै, २०७६/०७७ का लागि लेखापरीक्षक नियुक्ति तथा निजकाे पारिश्रमिक १८ लाख ९० हजार रूपैयाँ निर्धारण गरेकाे छ । गत आर्थिक वर्षको वार्षिक प्रतिवदेन हेर्दा बैंकले सम्पूर्ण सूचांकहरुमा अघिल्लो वर्षभन्दा सुधार गर्दै आएको देखिन्छ । गत वर्ष ७६ अर्ब ९१ करोड रुपैयाँ रहेको बैंकको कुल निक्षेप ८.३४ प्रतिशतले बढेर ८३ अर्ब ३२ करोड रुपैयाँ पुगेको छ । त्यस्तै, बैंकले कुल कर्जामा ८.८२ प्रतिशत वृद्धि गरि ७६ अर्ब ३६ करोड रुपैयाँ पुर्याएको छ । ८३ अर्ब निक्षेप रहेको बैंकको जगेडा कोषमा पनि राम्रै रकम जम्मा भएको छ । गत असार मसान्ससम्म बैंकको जगेडा कोषमा ४ अर्ब ५२ करोड रुपैयाँ रहेको छ । बैंकको कर्जा निक्षेप अनुपात ९१.५० प्रतिशत, तरलता अनुपात २३.२४ प्रतिशत र निष्क्रिय कर्जा अनुपात १.५४ प्रतिशतमा झरेको छ । त्यस्तै, बैंकको पुँजीकोष अनुपात नेपाल राष्ट्र बैंकले तोकेको न्युनतम प्रतिशत भन्दा बढी अर्थात १४.३० प्रतिशत रहेको छ । बैंकको प्रतिसेयर आम्दानी २३ रुपैयाँ रहेको छ भने आधार दर ९.९ प्रतिशत रहेको छ । त्यस्तै, बैंकको निक्रिष्य कर्जा १.५४ प्रतिशत रहेको छ । जुन अघिल्लो वर्ष १.८२ प्रतिशत रहेको थियो ।

राष्ट्रिय वाणिज्य बैंकद्वारा ३० युवालाई निःशुल्क प्रशिक्षण

काठमाडौैं । राष्ट्रिय वाणिज्य बैंकले २८ वर्ष ननाघेका कम्तीमा स्नातक तह उत्तीर्ण ३० जना युवालाई निःशुल्क प्रशिक्षण दिने घोषणा गरेको छ । वित्तीय क्षेत्रमा आफ्नो जागिरे जीवन प्रारम्भ गर्न चाहने प्रदेश नं ३ का युवालाई लक्ष्य गरेर बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत ‘आरबिबी इम्पावरमेन्ट एकेडेमी’ कार्यक्रममार्फत प्रशिक्षण दिन लागेको हो । आज यहाँ पत्रकार सम्मेलन गरेर बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले ५५ वर्षको गर्विलो इतिहास बोकेको बैंकले युवा वर्गको वृत्तिविकासका निम्ति प्रशिक्षण कार्यक्रम ल्याएको जानकारी दिँदै भने, “प्रदेश नं ३ को अनुभवका आधारमा सातवटै प्रदेशमा प्रशिक्षण विस्तार गरिनेछ ।” व्यवस्थापन विषयमा उत्कृष्ट अङ्कका साथ स्नातकोपाधि वा स्नातकोत्तर गरेका युवाले तालीमका निम्ति राष्ट्रिय वाणिज्य बैंकको वेबसाइटमा गएर अनलाइन फाराम भर्न सक्नेछन् । बैंकले गत आव २०७५/०७६ मा पाँच अर्ब ३२ करोड खुद मुनाफा गरेको छ । यस अवधिमा बैंकको निक्षेप रु एक खर्ब ९० अर्ब, कर्जा रु एक खर्ब ४४ अर्ब रहेको छ । बैंकको हाल सातै प्रदेश, ७७ जिल्लामा २३८ वटा शाखा कार्यालय, २०४ वटा एटिएम र ९३ वटा शाखारहित बैंकिङ रहेको छ । बैंकले बैंकिङ क्षेत्रको बिस्तार, वित्तीय पहुँचका लागि वित्तीय साक्षरता, बैंकलाई प्रतिस्पर्धी बनाएर युवा लक्षित बैंकिङ कारोवार सञ्चालन, प्राथमिकता क्षेत्र तथा विपन्न वर्गमा कर्जा प्रवाह गर्दै नेपाल सरकारको नीति तथा कार्यक्रममा सघाउ पुर्याउँदै आएको छ । रासस

अर्को अन्तर्राष्ट्रिय सम्मेलनको तयारीमा सरकार, राष्ट्रसंघसहित ८० देशका ११ सय प्रतिनिधि आउने

काठमाडौं । चिनियाँ राष्ट्रपतिको स्वागत र विदासँगै नेपालले अर्को सम्मेलनको तयारी थालेको छ । नेपालले राष्ट्रसंघीय अन्तर्राष्ट्रिय कार्यक्रम स्केलिङ अप न्यूट्रिशन मुभमेन्ट (सन मुभमेन्ट) को अन्तर्राष्ट्रिय सम्मेलन आयोजनाका लागि तयारी थालेको हो । मानव र पृथ्वीलाई सँगै पोषित गर्दै भन्ने नारा बोकेको यो अभियानको विश्वव्यापी सम्मेलन नेपाल सरकार र सन मुभमेन्टको संयुक्त आयोजनामा यही कात्तिक १८ गते देखि २१ गतेसम्म (नोभेम्बर ४–७) काठमाडौंको होटल याक एण्ड यतिमा सञ्चालन हुने राष्ट्रिय योजना आयोगका सदस्य डा.उषा झा बताइन् । सम्मेलनमा पोषण सम्बन्धि विभिन्न देशका विज्ञबाट २५ वटा कार्यशाला गोष्ठी हुनेछ । ८० देशका प्रतिनिधिहरूको सहभागिता रह्ने उक्त सम्मेलनमा ६१ वटा वुथ बनाएर पोषण सम्बन्धि कार्यक्रम बनाउने तयारी नेपालले गरेको छ । ग्लोबल रुपमा पोषणलाई कभरेज गर्न अबका दिनमा चालिने कदमका विषयमा गहन छलफल हुने डा. झाले बताइन् । सन् मुभमेन्ट अभियानमा ६१ देशका सदस्य रहेका छन् । सो कार्यक्रम गर्न राष्ट्रिय योजना आयोगले गत फ्रेबु्रअरीमा ग्लोबल टेण्डर हालेको थियो । यसमा नेपाल छनोट भएको हो । कार्यक्रममा युनिसेफकी कार्यकारी निर्देशक, संयुक्त राष्ट्र संघका प्रतिनिधि, सन मुभमेन्टकी कार्यक्रम संयोजक तथा विभिन्न देशका सरकार प्रमुखहरु समेत गरी १ हजार देखि  ११ सय सहभागी रहने बताइएको छ । जसमा कुपोषण अन्त्यका लागि विश्वभरि भइरहेका प्रभावकारी प्रयासहरुबारे छलफल हुने बताइएको छ । आगामी वर्षको डिसेम्बरमा जापानको टोकियोमा ‘वृद्धिका लागि पोषण टोकियो शिखर सम्मेलन’ आयोजना हुँदैछ । सो सम्मेलनलाई दृष्टिगत गर्दै छलफल हुने समेत बताइएको छ । पछिल्ला वर्षहरुमा नेपालले गैर आयगत विकासको क्षेत्रमा उल्लेख्य सुधार गर्दै आएका छन् । यस्तो क्षेत्र अन्तर्गत सुशासन कायम गर्ने, खानेपानी तथा सरसफाइको विकास, निरक्षरता उन्मुलन, कुपोषणको अन्त्य, सामाजिक समता तथा न्याय जस्ता पक्षरु पर्दछन् । आयगत क्षेत्रहरुको विकासमा भने नेपालले सोचेअनुरुप प्रगति हासिल गर्न सकेको छैन । बुधबारमात्रै प्रकाशित तथ्यांकले भोकमरी निवारणमा उल्लेख्य सफलता हासिल गरेको देखाएको छ । उक्त इन्डेक्समा नेपाल ७३ औं स्थानमा रहँदा दक्षिण एशियामा श्रीलंकापछिको दोस्रो कम कुपोषणयुक्त मुलुक बन्न सफल भएको हो । विश्वका ११७ देशमा भएको सर्भेक्षणमा श्रीलंका ६६ औं स्थानमा रहँदा बंगलादेश ८८ औं र भारत १०२ औं स्थानमा रहेको रिपोर्टले देखाएको छ ।

युनाइटेड फाइनान्स र एस्.वी. सोलुसन्सबीच कर्जा अटोमेसन र डिजिटाजेसनसम्बन्धी सम्झौता

काठमाडौं । युनाइटेड फाइनान्स लिमिटेड र एस् वी. सोलुसन्स् प्रा.लि.बीच आन्तरिक कर्जा प्रक्रियालाई डकुमेन्ट मेनेजमेन्ट सिस्टमद्वारा अटोमेसन र डिजिटाजेसन गर्ने सम्बन्धी सम्झौता भएको छ । उक्त सम्झौतामा युनाइटेड फाइनान्स लि.का प्रमुख कार्यकारी अधिकृत अजय कुमार मिश्र र एस् वी. सोलुसन्स् प्रा.लि.का अध्यक्ष विपुल ढकालले हस्ताक्षर गरेका हुन् । अब बैंकले सम्झौता अनुसार डकुमेन्ट मेनेजमेन्ट सिस्टममा उल्लेख भएबमोजिम आन्तरिक कर्जा र स्वीकृति प्रक्रियालाई अटोमेट र डिजिटाज्ड गर्न सक्नेछ । यसरी, युनाइटेड फाइनान्स लि.ले प्रदान गरेको अनलाइन पोर्टलबाट अनलाइल लोन इलिजीबिलिटी सेवा उपयोग गरी ग्राहकले जुनसुकै लोन प्रोडक्टका लागि अनलाइल मार्फत लोन इलिजीबिलिटी चेक गर्न सक्ने र सोको लागि निवेदन समेत गर्न सक्नेछन् । त्यसैगरी, एस् वी. सोलुसन्स् प्रा.लि.ले डिजिटाइजेसन र अटोमेसन बैंकिङ प्रोडक्टस् र प्रोसेस जस्तै लोन अप्रुभिङ सिस्टम, अनलाइल लोन इलिजीबिलिटी, अनलाइल अकाउन्ट ओपनिङ, डकुमेन्ट मेनेजमेन्ट सिस्टम, भेन्डर मेनेजमेन्ट सिस्टम, मेमो मेनेजमेन्ट र मोवाइल एप्लिकेसन जस्ता सेवा उपलव्ध गराउदै आएको छ ।

त्रिवि निजीतर्फकाे स्नातकोत्तर तहको परीक्षा फाराम भर्ने समय थप

काठमाडौं । विद्यार्थीको परीक्षा फाराम भर्ने चाप बढेपछि त्रिभुवन विश्वविद्यालयले समय थप गरेको छ । निजीतर्फको स्नातकोत्तर तह दोस्रो वर्षको परीक्षाको फाराम भर्नेको सङ्ख्यामा बढेपछि कात्तिक ८ गतेसम्मका लागि समय थप गरिएको परीक्षा नियन्त्रण कार्यालयका सहनियन्त्रक पशुपति अधिकारीले जानकारी दिएका छन् । उनका अनुसार दोब्बर दस्तुरमा कात्तिक १९ गतेसम्मका लागि समय थप गरिएको छ । अहिलेसम्म जनप्रशासनमा पाँच हजार र राजनीतिकशास्त्रमा छ हजारले परीक्षा फाराम भरिसकेका छन् । भोलि शुक्रबारसम्म तोकिएको दस्तुर र १५ गतेसम्म दोब्बर दस्तुरमा फाराम भर्ने समय तोकिएको थियो । गत वैशाखमा त्रिविले स्नातकोत्तर तहको जनप्रशासन र राजनीतिक शास्त्र विषयको निजीतर्फको फाराम खुल्ला गरेको थियो । सेमेष्टर प्रणाली शुरु भैसकेकाले यस वर्ष निजीतर्फको अन्तिम परीक्षा हुने भएकाले फाराम भर्ने विद्यार्थीको सङ्ख्या बढेको बढेको छ । सहनियन्त्रक अधिकारीले वार्षिक परीक्षाअन्तर्गत निजीतर्फ भर्ना लिने वा नलिने भन्नेमा अझै निर्णय नगरिएको बताएका छन् । रासस

प्रदेश ३ का पर्यटकीय स्थलः आम्दानीको मुख्य श्रोत

काठमाडौँ । विश्व सम्पदा सूचिमा रहेको चितवन राष्ट्रिय निकुञ्ज र त्यस वरपर रहेका वनजङ्गल त्यहा रहेका बाघ गैडा जस्ता दूर्लभ बन्यजन्तुका कारण आउने पर्यटनका लागि विश्वमै ख्याति प्राप्त छ चितवन । यसैले संघीय गणतन्त्र नेपाल वन्दै गर्दाको राजनीतिक सीमानामा प्रदेश नम्वर ३ मा पर्ने चितवन पर्यटकीय दृष्टिले समग्र यो प्रदेशकै अगुवा क्षेत्र पनि हो । “चितवन प्रदेशकै अगुवा पर्यटकीय क्षेत्र हो जसले प्रदेश भरीका पर्यटकीय क्षेत्रहरुको नेतृत्व गर्न सक्षम छ”, क्षेत्रीय होटल संघका पूर्व अध्यक्ष सुमन घिमिरेले भने,“ प्रदेश नम्वर ३ पर्यटकिय क्षेत्रहरुको प्रचुर सम्भावना वोकेको क्षेत्र भएकाले पनि यो प्रदेशको आम्दानीको मुख्य श्रोत पनि पर्यटन नै हुनुपर्छ ।” चितवन सहित काठमाण्डौ, भक्तपुर, ललितपुर, मकवानपुर, सिन्धुली रामेछाप, दोलखा, रसुवा नुवाकोट, धादिङ्ग, काभ्रे र सिन्धुपाल्चोक गरि १३ वटा जिल्लाहरु रहेको प्रदेश नम्वर ३ ले २० हजार ३ सय वर्ग किलो मिटर क्षेत्र ओगटेको छ । ५५ लाख २९ हजार ४५२ जनसख्या रहेको यो प्रदेशका पर्यटकिय क्षेत्रहरुलाइ यसरी विश्लेषण गर्न सकिन्छ । वन र वन्यजन्तुमा आधारित पर्यटन प्राकृतिक सुन्दरताले ख्याती प्राप्त नेपालमा पर्यटक आउने मुख्य आधार मध्येको एक यहाँका वन र वन्यजन्तु नै हुन् । यसको अवलोकनकै लागि देश विदेशवाट लाखौँ पर्यटक नेपाल भित्रिरहेका छन् । प्रदेश नम्वर तीनमा नेपालकै पहिलो र ठूलो चितवन राष्ट्रिय निकुञ्ज, राजनीतिक इतिहास वोकेको शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्ज, हिमाली भेगमा रहेको लाडटाङ्ग राष्ट्रिय निकुञ्ज, गौरीशंकर संरक्षण क्षेत्र लगाएतका वनजङ्गल र यस भित्र रहेका वन्यजन्तु तथा वनस्पतिहरु छन् । यसका अलवा मकवानपुरसँग सिमाना जोडिएको पर्सा वन्यजन्तु आरक्षण क्षेत्र पनि यहि प्रदेशमा पर्छ । २०२९ सालमा स्थापना भएको चितवन राष्ट्रिय निकुञ्ज भित्र रहेका वाघ, गैडा जस्ता दूर्लभ वन्यजन्तु तथा चराचुरुङ्गी यो क्षेत्रका आर्कषण हुन् । ९३२ वर्ग किलो मिटर क्षेत्रफलमा फैलिएको यस निकुञ्ज स्थापना देखि हाल सम्मको साढे चार दशकको अवधिमा २७ लाख ३८ हजार ८४३ विदेशी पर्यटकले निकुञ्ज अवलोकन गर्दा १ अर्व ९३ करोड ७० लाख ८४ हजार २८६ राजश्व संकलन गरेको निकुञ्जको तथ्याङ्गकले पनि यसप्रतिको पर्यटकको वढ्दो आर्कषण प्रष्ट गर्छ । निकुञ्जमा रहेका ६६० चराचुरी, विसहजारी ताल जस्ता रामसार क्षेत्रमा सुचिकृत तालतलैयाले यसको आकर्षण अझै वढाएको छ । चितवन राष्ट्रिय निकुञ्जका प्रमुख सरक्षण अधिकृत रामचन्द्र कँडेल भन्छन्, “वन्यजन्तु (हात्ती )माथि चडेर वन्यजन्तु (वाघ, गैडा जस्ता जनावर) हेर्न आउने चितवनको पर्यटकको विशेषता हो ।” यस्तै, प्रदेश नम्वर ३ मा रहेको शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जले १५९ वर्ग किलो मिटर क्षेत्रफल ओगटेको छ ।निकुञ्जका अनुसार २०५८ फागुन ६ गते शिवपुरी राष्ट्रिय निकुञ्जको नाममा स्थापित यो निकुञ्जमा नागार्जुन क्षेत्र थप गरेर २०६५ फागुन १२ गतेवाट शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जका नाममा सञ्चालनमा आएको हो । वाग्मती, विष्णुमती, इन्द्रावती र त्रिशुलीनदीको जलाधार क्षेत्रको संरक्षणका रुमा रहेको यो निकुञ्जमा स्वच्छ र सफाखानेपानी आपूर्तिका साथै रुख विरुवाको माध्यमबाट वायू प्रदुषणलाई शुद्धिकरण गरी काठमाडौँ र वरपरको वस्तीमा वातावरणीय स्वच्छता कायमखगर्नु र शिवपुरी–नागार्जुन क्षेत्रको जैविकविविधता संरक्षणमा टेवा पुगेको विश्वास गर्न सकिन्छ । यस निकुञ्ज उच्च हिमश्रृंखला हरियाली पहाड, मनोरम झरना, ताल तलैया, नदीनाला दुर्लभ वन्यजन्तु चराचुरुङ्ी वनस्पती जैविक विविधता एवम् ऐतिहासिक धार्मिक तथा सांस्कृतिक सम्पदाले सम्पन्न भएकाले पनि पर्यटकहरुको मन तानिरहेको छ । यस निकुञ्जमा रहेको ध्वासे चितुवा, सामान्य चितुवा, हिमाली कालो भालु, सालक रतुवा जस्ता जनावर र ३११ प्रजातीका चराचुरुङ्गी, १०६ प्रजातीका पुलती यसका विशेष आर्कषण हुन् । यस्तै रसुवामा रहेको लाडटाङ्ग राष्ट्रिय निकुञ्ज र सिन्धुपाल्चोकमा रहेको गौरीशंकर संरक्षण क्षेत्र भित्र रहेका रेडपाण्डा, कस्तुरी मृग हिउ चितुवा धोरल, घोरल आदीले पनि पर्यटन तानि रहेको छ । मकवानपुर सग जोडिएको पर्सा वन्यजन्तु आरक्षणमा रहेका वाघ गैडा जस्ता जनावर पनि यस क्षेत्रकै सम्पत्ति र पहिचान हुन् । धार्मिक तथा साँस्कृतिकमा आधारित पर्यटन काठमाडौँको पशुपति मन्दिर विश्वकै हिन्दूधर्मालम्वीहरुको आस्थाको केन्द्र हो । विशेषत यहाँ भारतिय पर्यटकहरु वढी आउँछन् । पशुपति मन्दिर आएका धार्मिक पर्यटकलाइ मनकामना, देवघाट, वालमीकी आश्रम लगाएतका क्षेत्रमा लैजाने प्याकेज कार्यक्रम हुन जरुरी छ । काठमाण्डौका विभिन्न धार्मिक मठमन्दिर तथा पुरातात्विक क्षेत्र, चितवनको कालिगण्डकी र त्रिशुलीको संगम देवघाट तथा ऋषि वालमीकीले रामायण लेखेको र लवकुश जन्मि शिक्षा दिक्षा लिएको वालमिकी आश्रम, नुवाकोटको दरबार परिसर भित्रको भैरवी मन्दिर, तलेजु मन्दिर, राउतबेशीको दुप्चेश्वर महादेव, देवीघाटस्थित जालपादेवी मन्दिर, कविलासको नाट्येश्वर महादेव मन्दिर यो क्षेत्रकै धार्मिक पर्यटकीय क्षेत्र हुन् । चर्म रोगहरु निको हुने विश्वास गरिएको सिन्धुपाल्चोकको तातोपानी, कालकुट विष सेवन गरेपछि त्यसको मुक्तिका लागि शिव भगवानले ध्यान गरेको विश्वास गरिने रसुवाको गोसाइ कुण्डले पनि पनि आन्तरिक धार्मिक पर्यटकको मन तानी रहेको छ । यस्तै, धादिङ्गको पात्लेमा रहेको चमेरे गुफा यो सगै रहेको शिव पार्वतीको मन्दिर, लामागुरु, भैरवी मन्दिर, टोड्के चुली, वौद्ध मार्गीहरुको पवित्र सडक साङ्ककर्म देछेन लिङ्ग बौद्ध गुम्वा, रोदिघर, उत्खनन्, ऐतिहासिक एवम् पुरातात्विक वस्तुहरुको लघु संग्रालय, थुम्की डाँडा लगायतका स्थलहरु आकर्षकका केन्द्रहरु छन् । पात्ले गाँउको मनोरम दृश्यावलोकन सगै सितल हावा, शान्त प्राकृतिक वातावरणका अतिरिक्त स्थानीय गुरुङ खानाका परिकारले स्वदेशी तथा विदेशीको मन तानिरहेको छ । मकवानपुरको त्रिवेणीधाम, त्रिखण्डी, ऋषेश्वरमन्दिर, भुटनदेवी, वनखण्डीदेवी, चुरियामाई लगायतका मठमिन्दर पनि यहि क्षेत्रमा छ । यो क्षेत्रमा रहेका तामाङ, चेपाङ, थारु, ब्राम्हण, क्षेत्री, मगर, गुरुङ लगायत जातिहरुको भेषभूषा तथा साँस्कृतिक रीतिरिवाज पनि पर्यटकका लागि आर्कषण बनिरहेका छन् । ऐतिहासिक तथा पुरातत्वमा आधारित पर्यटन प्रदेश नम्वर तीन भित्र रहेको एतिहासिक तथा परातात्विक क्षेत्र मध्येमा सवै भन्दा वढी महत्व जोडिएको क्षेत्र हो काठमाण्डौको सुन्दरी जल र यसमा रहेको संग्राहलय । २००७ सालको जनआन्दोलन, प्रजातन्त्र वहाली र यसपछिका विभिन्न राजनैतिक घटनाक्रमहरु सग सुन्दरी जल जोडिएको छ । यहाँ रहेको सग्रहालयमा यिनै वस्तुहरु राखिएका छन् । जुन अहिले नेपालको इतिहास अध्ययन गर्ने देखि चाख लिनेहरुको लागि समेत आर्कषण वनी रहेको छ । वहादुर शाहाले वनाएको विश्वास गरिने चितवनको पुरानो सदरमुकाम उपरदाङ्गगढी, मकवानपुरको हेटौँडामा रहेको सहिद स्मारक, चिसापनी गढी, अशोककालीन चैत्य, लिच्छिवीकालीन शिलालेख पनि ऐतिहासिक पर्यटकिय क्षेत्रमा पर्छ । हेटौँडा उपमहानगरपालिका–११ मा रहेको सहिद स्मारक सहिदको योगदान स्मरण गर्ने र उनीहरुप्रति श्रद्धासुमन ब्यक्त गर्नेहरुका लागि अध्ययन र अनुसन्धान गर्नेहरुको थलो वनेको छ । यहाँ राष्ट्र, राष्ट्रियता, राष्ट्रिय अखण्डता र लोकतन्त्रका लागि भएको संघर्षमा वलिदान दिएकाहरुको प्रतिमा कुँदिएका छन् । सहिद स्तम्भ निर्माणबाट सुरु गरिएको हो स्मारकमा १२ सहिदहरुको मुखाकृति कुँदिएको सहिद स्तम्भ छ । स्तम्भमा राष्ट्रियताको लागि अंग्रेजविरुद्धको सङ्घर्षमा मारिएका भीमसेन थापादेखि २००७ सालको प्रजातन्त्र प्राप्तिको राणा शासन विरोधी सङ्घर्षमा हत्या गरिएका दशरथ चन्द, गङ्गालाल श्रेष्ठ, धर्मभक्त माथेमा र शुक्रराज शास्त्रीको मुखाकृति कुँदिएका छन् । यसैगरी किसान संघर्षमा ज्यान गुमाएका भीमदत्त पन्त, पञ्चायती शासनविरुद्धको आन्दोलनमा सहिद भएका क्याप्टेन यज्ञबहादुर थापा, दुगानन्द झा, रत्नकुमार वान्तवा, वीरेन राजबंशी, मुनेश्वरी यादव र प्रभाकर पौडेलको मुखाकृति कुँदिएको छ स्तम्भ पनि यहाँ रहेको छ । जुन आन्तरिक तथा विदेशी पर्यटकको आर्कषण वनी रहेको छ । यस्तै, मकवानपुरकको गढी, सिन्धुलीको सिन्धुलीगढी, नुवाकोटको नुवाकोटे दरवार, धादिङ्गको सित्लेमा रहेको पुरातात्विक वस्तुहरुको लघु संग्रालय, चितवनको सौराहामा रहेको थारु र शक्तिखोरमा रहेको चेपाङ्ग संग्राहलयले पनि यहाँको ऐतिहासिक तथा पुरातात्विक वस्तुहरुको पहिचान दिन्छ । धादिङ्गको सिद्धलेक पनि ऐतिहासिक तथा प्राकृतिक तथा सांस्कृतिक हिसावले अत्यन्त महत्वपूर्ण स्थान हो । धादिङ जिल्लाको नलाङ र सलाङ गाविसको विचमा अवस्थित उक्त स्थानवाट धादिङ जिल्लाको ४९ वटा गाविस र नेपालको १ दर्जन भन्दा वढी जिल्लाहरु देख्न सकिन्छ । प्याराग्लाईडिङको लागि उपयुक्त स्थान मानिने यो क्षेत्र श्रीमहादेवले परापुर्वकालमा पार्वतीलाई छली श्लेश्मान्तक वनमा क्रिडा गर्न जाँदा सिद्धलेकमा थकाइ मार्न बस्दा त्यस ठाँउको दृश्य रमाइलो लागि आफ्नो एक अंश त्यही रहेर सिद्धबाबा नामले प्रख्याती कमाएको किंवदन्ती रहेको छ । संस्कृतिविद् डीआर पोख्रेल भन्छन्, “ऐतिहासिक पुरातात्विक केन्द्रहरु हाम्रा पहिचान र सम्पत्ति हुन् । यिनको संरक्षण गर्न सकेमात्रै पनि पर्यटनको प्रर्वधन गर्न सकिन्छ ।” र्याफ्टिङमा आधारित पर्यटन र्याफ्टिङमा आधारित पर्यटनलाई साहसिक जलयात्राका रुपम पनि लिइन्छ । प्रदेश नम्वर ३ को र्याफ्टिङमा आधारित पर्यटनको चर्चा गर्दा त्रिशुली नदीलाई सवै भन्दा महत्वपूर्ण मान्न सकिन्छ । राजधानी काठमाडौँबाट नजिक रहेका कारण पनि यो जलयात्राका लागि वढी उपयुक्त मानिन्छ । पृथ्वी राजमार्ग सगै रहेका कारण पनि यो नदी र्याफ्टिङ्गका लागि वढी उपयोगी पनि छ । यस नदीमा मुख्यतः धादिङ जिल्लाको बैरेनीदेखि चितवन जिल्लाको नारायणघाट सम्म नै १०६ किलोमिटर दुरीसम्म र्याफ्टिङ गर्न सकिन्छ । यहाँ एक देखि चार दिन सम्मको प्याकेजमा र्याफ्टिङका गतिविधीहरु सञ्चालन भै रहेका छन् । त्रिशुली नदीमा साना र ठुला गरी करिब ६० वटा र्याफ्टिङहरु छन् । यहाँ अधिकतम ४ ग्रेट सम्मका र्यापिडहरु छन् । यस्तै, त्रिशुली र नारायणी नदीमा जलयात्रा सहितको र्याफ्टिङका गतिविधीहरु सञ्चालन गरि मनकामना, देवघाट र वालमीकि आश्रमलाइ जोडेर ‘टूर प्याकेज’ गराउन सकिने हो भने यसले धार्मिक पर्यटनको विकासमा फड्को मार्न समेत सहयोग पुर्याउँछ । मनकामनावाट केवुलकारमा हरर हानिएका पर्यटकलाई त्रिशुलीमा र्याफटिङमा सरर देवघाट ल्याउन सकिन्छ । देवघाटमा एक वा दुई दिन राखेर यस वरपरका धार्मिक क्षेत्रहरुको अवलोकन पछि पुन नारायणीमा जलयात्रा गराएर त्रिवेणी पुर्याउन सकिने सम्भावना तर्फ सम्वन्धित निकायको ध्यान जानु जरुरी छ । नारायणीमा जलयात्राका क्रममा त्यहा देखिने जलचरहरु, चितवन निकुञ्ज भित्रका वाघ गैडा जस्ता जङगली जनावर र चराचुरुङ्गीहरुले कसको पो मन नलोभ्याउला र ? अझै त्रिवेणी पुगेर जङ्गलको यात्रा ‘जङ्गल वार्क’ गर्दै वालमीकि आश्रम पुग्दा नयाँ अनुभव गर्न सकिन्छ । पदमार्गमा आधारित पर्यटन प्रदेश नम्वर तीनका प्रायः जिल्लाहरुमा पदयात्रामा आधारित पर्यटनको धेरथोर विकास भएको देखिन्छ । धादिङमा पदमार्गका लागि रुवी क्षेत्र विस्तार हुदै छ । यो पदमार्गमा धादिङ्गको उत्तरी क्षेत्रका पर्यटकीय सम्भाब्यता बोकेको गणेश हिमाल क्षेत्र सम्म रहेको रुविभ्याली पुग्न सकिन्छ । यसको प्रमुख आकर्षण नै गणेश हिमश्रृंखलाको दृश्यावलोकन हो । यो क्षेत्रको पर्यटन विकासका लागि सरकारी तथा गैर सरकारी सस्थाहरुले विभिन्न सहयोग गरि रहेका भए पनि यो प्रयाप्त हुन सकेको छैन । यो क्षेत्रमा पर्ने विभिन्न गाउँ वस्तिहरुमा रहेका जतिय पहिचान झल्कने संस्कृतिहरुले पर्यटकको मन लोभ्याउँछ नै यसले हिमाल हेरेर मनोरञ्जन लिने पर्यटकलाइ आर्कषण गरि रहेको छ । यो मार्गमा छोटो दुरीका लागि ३ दिन देखि लामो दुरीका लागि २१ दिन सम्मका प्याकेज कार्यक्रमहरु पर्यटकका लागि दिइरहेको छ । यस्तै, धादिङ्गको हुग्दिवाट चितवनको सिराइचुली, उपदाङ्गगढी भएर चितवनको शक्तिखोर झर्ने चेपाङ्ग पैदल यात्राको पनि यहाँ विकास भएको छ । सूर्योदयका लागि आर्कषक चितवनकै भ्यू सिराइ चुली देखि पुरानो सदरमुकाम उपरदाङ्गगढी सम्म यो मार्गमा पर्छ । दुई देखि तिन दिन सम्मको यो पैदल रुटमा पर्ने चेपाङ्ग, गुरुङ्ग, मगर लगाएतका जनजातीहरुको रितिरिवाज तथा संस्कृतिहरु पर्यटकका लागि आर्कषण वन्ने गरेका छन् । वन र वन्यजन्तुमा आधारित सौराहा आउने पर्यटकलाइ सौराहा भन्दा करिव २० किलो मिटर उत्तरमा रहेको शक्तिखोरमा ल्याएर उकालो उकाल्न सक्ने हो भने यो पदमार्गले विकास गर्न सक्ने छ । यसका लागि पहाडी क्षेत्रमा पर्यटका लागि आवश्यक पूर्वाधारको विकास हुन जरुरी छ । रसुवामा रहेको लाङ्गटाङ्ग निकुञ्ज र यस सगै रहेको गणेश हिमाल, गोसाइकुण्ड लगाएतका क्षेत्रलाइ समेटेर यहाँ लाङ्गटाङ्ग पैदल मार्ग वनाइएको छ । यो मार्गमा विशेषत पर्यटकिय क्षेत्रहरु स्याफ्रूवेसी, खामजिङ्ग,सेर्पा गाउँ, रिम्चे हँुदै लाङ्गटाङ्ग क्याङ्गजेन सम्म पुगेको छ । गएको वर्ष आएको भूकम्पले यो मार्ग क्षति पुगेपछि अहिले पूर्ननिर्माणको काम पनि भै रहेको छ । विशेष जिल्ला प्राविधिक कार्यालयले यो क्षेत्रको पर्यटकीय मार्गको विकासका लागि योजना अघि सारेको देखिन्छ । विशेष त गणेश हिमाल र यसको हिमाल सृखला सम्म पुग्नका लागि वनाइएको पैदल मार्गमा पर्ने लाङ्गटाङ्ग खोलामा असहज गहिरो खोचमा पहिरोले समस्या भएपछि यो वर्ष मर्मत सुधार गरिएसँगै यो मार्ग पनि अहिले सञ्चालनमा रहेको हो । निश्कर्ष:  दुई विशाल छिमेकीहरु उत्तरमा चीन र दक्षिणमा भारत सम्मको सिमाना जोडिएको नेपालको प्रदेश नम्वर ३ मा रहेको पर्यटकीय क्षेत्रहरुको सम्भावना र यसको विकासमा जोड दिन जरुरी छ । तर, भूकम्पले क्षति पुगेका कतिपय पर्यटकीय क्षेत्रहरु पूर्ननिर्माण हुन नसक्दा यसले पर्यटनको विकासमा समेत अवरोध पुगेको छ । क्षेत्रीय होटल संघ सौराहाका पूर्व अध्यक्ष सुमन घिमिरको भनाईलाई आधार मान्ने हो भने पुनर्निर्माणमा रहेका सडक तथा अन्य पूर्वाधार विकासलाई छिटो भन्दा छिटो काम सकेर पर्यटन क्षेत्रको विकासमा लाग्ने हो भने यसले प्रदेश नम्वर ३ कै विकासमा फड्को मार्नेछ ।

एक करोडभन्दा बढी खानेपानीको बक्यौता असुल्न बाँकी, पानीकाे महशुल नतिर्ने कसकाे कति ?

राजविराज । सप्तरीस्थित खानेपानी डिभिजन कार्यालयले रु एक करोडभन्दा बढी बक्यौता असुल गर्न बाँकी रहेको जनाएको छ । करिब ५६ वर्ष अघि स्थापना भएको उक्त कार्यालयमा ग्राहकले लामो सयमदेखि प्रयोग गरेको पानीको महशुल नर्तिदा रु एक करोड २१ लाख ८६ हजार २१७ बक्यौता असुल्न बाँकी रहेको सूचना अधिकारी प्रकाशचन्द्र गुप्ताले बताएका छन् । कार्यालयका लेखा प्रमुख अजयबडियैत यादवका अनुसार लामो समयदेखि महशुल उठाउन बाँकी रहेका ग्राहकमध्ये राजविराज नगरपालिका–८ निवासी बिमला अर्यालकोे रु ७९ हजार, ८४०, बद्रीनारायण यादवको रू ७९ हजार ७४५, उदायबहादुर पाण्डेको रू ६२ हजार ५९०, अनिता भगतको २२ हजार ३५० र वडा नं ४ का राधादेवी साहको ३२ हजार ३५० रहेकाे छ । चार लाख ५० हजार लिटर क्षमताको ट्याङ्कीबाट नगरपालिकाभित्र दुई हजार छ सय ग्राहकको घरमा पाइप जडान गरिएको छ तर पुरानो नक्साअनुसार बनाइएको पुरानो राजविराज नगरपालिका शहरमा नयाँ संरचनाअनुसार क्षेत्रफल बढेकाले एउटा ट्याङकीबाट सबै ग्राहकलाई समेटन नसक्ने सरोकारवालाको भनाइ छ । अहिले राजविराज नगर क्षेत्रभित्र खानेपानी कार्यालयले बिहान एकदेखि डेढ घण्टा र साँझ एक घण्टा पानी दिने गर्दछ । राजविराज बजार क्षेत्रमा अधिकांश ठाउँमा पानी तान्ने ट्युबेलमासमेत आइरनयुक्त पानी आउनाले पनि यहाँका जनता शुद्ध पानी पिउनबाट बञ्चित रहेको राजविराज नगरपालिका–३ का बिन्दु चौधरीले बताए । रासस

थपियो पेमेन्ट एण्ड डिपोजिट गेट वे, स्मार्ट कार्ड नेपाललाई राष्ट्र बैंकको अनुमति

काठमाडौँ । नेपाल राष्ट्र बैंकले स्मार्ट कार्ड नेपाल प्रालिलाई भुक्तानी तथा बचत सेवा प्रदायकको अनुमति प्रदान गरेको छ । राष्ट्र बैंकको असोज २७ गतेको निर्णय अनुसार स्मार्ट कार्ड नेपालले अनुमति प्राप्त गरेको हो । विसं. २०७१ सालमा स्थापना भएको स्मार्ट कार्ड डिजिटल प्रविधियुक्त पेमेन्ट एण्ड डिपोजिट गेट वे कम्पनी भएको प्रमुख कार्यकारी अधिकृत शिव दास सिंले बताए । कम्पनीले अनुमति पत्र पाइसकेको र आवश्यक तयारी समेत भइसकेकोले छिट्टै सेवा सञ्चालनमा ल्याउने उनले बताए । कम्पनीले अत्याधुनिक प्रविधियुक्त प्रिपेड स्क्र्याच कार्ड र डिजिटल बालेटको माध्यमबाट नेपालको वित्तीय क्षेत्रमा सेवा प्रवाह गर्ने जनाइएको छ । कम्पनीको आफ्नै प्रिपेड स्क्र्याच कार्ड मार्फत नेपालका सबै बैंक तथा वित्तीय संस्थाको खातामा तुरुन्तै रकम जम्मा गर्न सकिने कम्पनीले जनाएको छ । उक्त कार्ड मार्फत कम्पनीको आफ्नै डिजिटल वालेट लोड गरी सोही वालेट मार्फत विभिन्न आर्थिक कारोबारहरु गर्न सकिने छ । कम्पनीले आफ्नो सेवा प्रवाहको लागि वेब एप्लीकेशन र मोबाइल एप्लीकेशन उपलब्ध गराएको छ । कम्पनीले सम्पूर्ण प्रयोगकर्ता समक्ष वित्तीय पहुँच पुर्याउनुका साथै नगद कारोबारलाई प्रोत्साहन गर्दै सानो सानो पैसालाई समेत बैंकिङ च्यानलमा ल्याई बचत गर्ने बानीको विकासलाई प्राथमिकता दिंदै नेपालको विशेष गरी ग्रामीण भेगमा समेत सेवा प्रवाह गर्ने तयारी गरेको जनाएको छ । कम्पनी सञ्चालक समितिको अध्यक्षमा प्रतापजंग पाण्डे र सञ्चालकहरुमा अम्बिकाप्रसाद पौडेल, चिरञ्जीवी थापा, तिलकबहादुर रानाभाट, रमेश दियाली र प्रमोटर सेयर सदस्य सनराइज होल्डीङ्स प्रालि(सुवास अमात्य, रमेशकुमार पण्डित) रहेका छन् ।