विकासन्युज

एनआरएनएलाई राजनितिकरहित संंस्था बनाउने नवनिर्वाचित अध्यक्ष पन्तको प्रतिवद्धता

काठमाडौं। गैरआवासीय नेपाली संघ(एनआरएनए)का नवनिर्वाचित अध्यक्ष कुमार पन्तले संघलाई राजनीतिकरहित संस्थाका रुपमा स्थापित गर्ने बताएका छन् । शुक्रबार नयाँ कार्य समितिको सपथ ग्रहण कार्यक्रममा बोल्दै उनले संघको महाधिवेशन र चुनावतामा केही राजनितीक क्रियाकलाप तथा चलखेल बढि देखिएकोले यसको अन्त्यका लागि अाफु लागि पर्ने बताएका हुन् । कार्यक्रममा बोल्दै उनले आफ्नो कार्यकालयमा १० अर्ब रुपैयाँ लगानी भित्र्याउन पहल गर्ने, सम्पूर्ण गैर अावासीय नेपालीलाई निशुल्क सदस्यता वितरण गर्ने, घरमै बसेर अनलाइनका माध्यमबाट मतदान गर्न सक्ने व्यवस्था गर्ने लगायतका मुद्दाहरुलाई बिशेष प्राथमिकताका साथ लागू गर्ने बताए ।

सरकारले लाइसेन्स बन्द गरेका क्षेत्रमा लगानी गर्ने एनआरएनकाे घाेषणा; बैंकिङ र शिक्षामा ढाेका बन्द

काठमाडाैं । सरकारले लगानीकाे ढाेका बन्द गरेकाे क्षेत्रमा लगानी गर्न गैरआवासीय नेपाली संघ (एनआरएनए)ले  आह्रवान गरेकाे छ । बैकिङ क्षेत्रमा लगानी गर्न राष्ट बैंकले ढाेका बन्द गरेकाे झण्डै एक दशक भइसकेकाे छ । वाणिज्य बैंक, विकास बैंक, लघुवित्त लगायत सबै प्रकारका बैंक तथा वित्तीय संस्था खाेल्न राष्ट्र बैंकले लाइसेन्स बन्द गरेकाे छ । म मेरो एनआरएनए र मेरो नेपाल भन्ने मूल नारा सहित सम्पन्न गैरआवासीय नेपाली विश्व सम्मेलनकाे घाेषणा पत्रकाे पहिलाे बुँदामा नै सरकारले लाइसेन्स बन्द गरेकाे क्षेत्रमा लगानी गर्न एनआरएनले जाेड दिएकाे छ । यसका अर्थ एनआरएनहरूलाइ नेपालका कुन क्षेत्रमा लगानी गर्नु सरकारले राेकेकाे छ र कुन क्षेत्रमा लगानी गर्न प्राेत्साहित गरेकाे छ भन्ने विषयकाे पनि जानकारी नै नभएकाे पुष्टि भएकाे छ । एनआरएनले शिक्षा क्षेत्रमा पनि लगानी गर्न आह्रवान गरेकाे छ ।  शिक्षाकाे क्षेत्रमा पनि सहरी क्षेत्रमा समेत नयाँ स्कूल, कलेज तथा मेडिकल कलेज खाेल्न सरकारले राेकेकाे छ । ‘संविधान कार्यान्वयन भई मुलुक राजनीतिक स्थायित्व प्राप्त गर्दै आर्थिक विकासको दिशातर्फ उन्मुख भएकोले सामूहिक तथा व्यक्तिगत लगानी गर्नका लागि उपयुक्त वातावरण सिर्जना भएको अवस्थामा नेपालको जलविद्युत, पर्यटन, बैंकिङ्, स्वास्थ्य, शिक्षा, आधुनिक कृषि र सूचना तथा सञ्चार प्रविधि लगायतका क्षेत्रहरूमा लगानी गर्न यो सम्मेलन सबै गैरआवासीय नेपालीहरूमा हार्दिक आव्हान गर्दछ’ एनआरएनले जारी गरेकाे घाेषणा पत्रकाे पहिलाे बुँदामा उल्लेख गरिएकाे छ । सम्मेलनले गैरआवासीय नेपाली नागरिकता कार्यान्वयनमा हालसम्म भएको प्रगति समेतलाई मनन् गरी यथाशीघ्र कार्यान्वयनको लागि ऐन निर्माणमा तदारूकताका साथ लागि पर्न सरकारसँग माग गरेका छन् । नेपाली नागरिकता त्यागेर विदेशी नागरिकता लिएका पूर्व नेपालीहरूले निरन्तर सरकारसँग दाेहाेराे नागरिकताकाे माग गर्दै आएका छन् । वैदेशिक रोजगारलाई सुरक्षित, न्यायपूर्ण, मर्यादित र व्यवस्थित पार्न लागत खर्चमा पारदर्शिता, नियम कानुनको पूर्ण पालना, समस्यामा पर्ने कामदारहरूलाई न्याय, उद्दार र क्षतिपूर्तिका लागि स्वदेश र विदेशमा सेवा दिने न्यायिक संयन्त्र स्थापना तथा परिचालन गर्न  पनि सरकारसँग माग गरिएकाे छ ।  संघले विदेशमा काम गर्ने कामदारहरूको भावी सामाजिक सुरक्षाका कर्मचारी सञ्चय कोषकाे व्यवस्थासहित विभिन्न १२ बुँदे मागसहितकाे घाेषणापत्र जारी गरेकाे छ ।

नेपाली बजारमा टोयोटाको सबैभन्दा सस्तो कार ‘इटिओस लिवा’, के छन् विशेषता?

काठमाडाैं । जापनिज अटोमेकर कम्पनी टोयोटाको नेपालका लागि आधिकारीक विक्रेता युनाइटेड ट्रेडर्स सिण्डिकेट प्रा.लि.ले टोयोटाका विभिन्न मोडेलहरु नेपाली बजारमा विक्री वितरण गर्दै आइरहेको छ । नेपालमा पाइने टोयोटाका कारहरुमध्ये‘इटिओस लिवा’ सबैभन्दा सस्तो मोडेलको रुपमा रहेको छ जसको नेपाली बजार मूल्य रु. ३६ लाख ७० हजार तोकिएको छ । यस कारमा प्रयोग भएको ११९७ सीसी ४ सिलिण्डर डिओएचसि पेट्रोल इञ्जिनले ७९ बिएचपिको पावर र १०४ एनएमको टर्क प्रोड्युस गर्दछ । त्यसैगरी यस कारमा ५ गियरहरु रहेका छन् भने कारले १८.२ केएमपीएलको माइलेज दिन्छ । ५ सिटर यस कारको डाइमेन्सनको कुरा गर्नुपर्दा यसको लम्वाई ३८८४ मिलिमिटर, चौडाई १६९५ मिलिमिटर र उचाई १५१० मिलिमिटर रहेको छ भने ग्राउण्ड क्लियरेन्स चाहिँ १७० मिलिमिटर रहेको छ । त्यसैगरी ४५ लिटरको फ्यूल ट्याङ्क क्यापासिटी रहेको यस कारको अगाडिको चक्काहरुमा डिस्क ब्रेक दिइएको छ भने पछाडिका चक्काहरुमा चाहिँ ड्रम ब्रेक दिइएको छ । यस कारका सेफ्टि फिचरहरुको रुपमा दुईओटा एयरब्याग्स्, एबीएस सिस्टम, ईबीडी सिस्टम, सेन्ट्रल लकिङ्ग, चाइल्ड सिट लक, रिभर्स पार्किङ्ग सेन्सरजस्ता विशेषताहरु रहेका छन् भने कम्फर्ट फिचर्सका रुपमा एयर कण्डिसन, फोल्डिङ्ग सिट, हाइट एडजस्ट गर्नमिल्ने ड्राइवर सिट, हेड रेस्ट, कार कुसन जस्ता विशेषताहरु रहेका छन् । त्यसैगरी अन्य फिचरहरुको रुपमा यस कारमा आउटसाइड रियर भ्यू मिरर्स, नयाँ अप्टिट्रन कम्बिमिटर,१२ भोल्टको ब्याट्री, ठूलो क्याविन स्पेस र बुट स्पेसजस्ता विशेषताहरु रहेका छन् । कम्पनीले जनाए अनुसार अहिलेको विशेष अफर अनुसार यस कारको खरिदमा रु. दुई लाख नगद छुटको व्यवस्था गरिएको छ । टोयोटाको नेपालमा विक्री भइरहेको सवैभन्दा महँगो मोडेल चाहिँ ल्याण्ड क्रुजर एसयूभी हो जसको नेपाली बजार मूल्य भने रु. चार करोड ५२ लाख रहेको छ।

‘हिरोे एक्सपल्स २००’, नेपाली बजारमा सस्तो मूल्यमै स्तरीय एडभेन्चर बाइक

काठमाडाैं । हिरोको नेपालका लागि आधिकारिक विक्रेता नेपाल जेनेरल मार्केटिङ्गले हिरोको नयाँ उत्पादन ‘एक्सपल्स २००’ लाई तीन लाख ८५ हजार रुपैयाँ मूल्य तोक्दै नेपाली बजारमा केहि दिन अघि बाटविक्री वितरण शुरु गरेको छ । ‘एक्सपल्स २००’ एउटा अफरोड मोटरसाइकल हो जसलाई भ्रमणमा जान रुचाउने युवा पुस्तालाई लक्षित गरी निर्माण गरिएको हो । हाइ माउण्टेड मडगार्ड, अफरोडिङ्ग नव्बी टायर्स, इञ्जिन गार्ड, विन्ड सिल्ड, माथिपट्टि लगाइएको एक्जस्ट पाइप र नकल गार्डस् लगायतका फिचर्सले यस बाइकलाई एउटा उत्कृष्ट अफरोड मेशिन बनाएको छ । यस बाइकको अफरोडिङ्ग विशेषतालाई ध्यानमा राखेर कम्पनीले यसमा २२० मिलिमिटरको ग्राउण्ड क्लियरेन्स र त्यसैगरी अगाडि २१ इञ्चको र पछाडि भने १८ इञ्चको स्पोक व्हिल्स दिएको छ । यी ठूला चक्काहरुले जस्तोसुकै अप्ठ्याराहरुलाई पनि पार गरेर अगाडि बढ्न सक्छ । खास फिचरको रुपमा एक्सपल्स २०० मा ब्लूतुथ कनेक्टिभिटी र नेभिगेसनको फिचर सहितको फूल डिजिटल इन्स्ट्रुमेन्ट कन्सोल दिइएको छ । यस बाइकमा २०० सीसीको सिङ्गल सिलिण्डर, २ भल्भ, एयर–कुल्ड कार्बुरेटेड इञ्जिन समावेस गरिएको छ जसले १८.४ पिएसको पावर र १७.१ एनएमको टर्क प्रोड्युस गर्दछ । त्यसैगरी यस बाइकमा ट्रान्समिशन ड्यूटीको काम चाहिँ ५–स्पिड गियरबक्सले गर्दछ । दुवै चक्कामा डिस्क ब्रेक दिइएको यस बाइकमा सेफ्टि फिचरका रुपमा सिङ्गल च्यानल एबीएस दिइएको छ । त्यसैगरीअगाडि १९० मिलिमिटर सस्पेन्सन ट्राभल भएको टेलिस्कपिक फर्क दिइएको छ भने पछाडि चाहिँ १०–स्टेप एड्जस्टेवल मोनोसक पनि दिइएको छ । सिएट टायर्स प्रयोग भएको हिरो एक्सपल्स २०० को निर्माण क्वालिटी मजबुत रहेको कम्पनीको दावी छ । यस बाइकले नेपाली बजारमा होण्डाको एक्सआर १५० एल, रोयल इन्फिल्डको हिमालयन, यामाहाको एक्सटिजेड १२५ जस्ता मोडेलहरुसँग प्रतिष्पर्धा गर्नेछ ।

निर्माण सामग्रीमा ठगिँदै उपभोक्ता, २३ सञ्चालक पक्राउ, ३५ गाडी नियन्त्रणमा

काठमाडौँ । अन्यत्र जस्तै पछिल्लो समय निर्माण सामग्री ‘सप्लाई’ गर्ने व्यवसायीले उपभोक्तालाई ठगी गर्दै आएको खुलेको छ । उनीहरुले गाडीमा ढुङ्गा, गिटी, बालुवा वा इँट्टा कम राख्न मिल्ने बनाएर उपभोक्तालाई ठगी गर्दै आएको पाइएको हो । सर्वसाधारणहरुलाई निर्माण सामग्री इँट्टा, गिट्टी, बालुवा, चिप्स र ढुङ्गा ढुवानी गर्ने मिनि ट्रकहरुमा परिमाण कम राख्न मिल्ने गरी पाँच इन्चसम्मको फलामे र काठको बक्स बनाइ ठगी गरेको पाइएको महानगरीय अपराध नियन्त्रण महाशाखाका प्रमुख सहकुलबहादुर थापाले जानकारी दिए । उनले यो पनि एक प्रकारको फल्स बटम बनाएर गरिएको ठगी जस्तै भएको बताए । काठमाडौँको स्वयम्भू, बालाजु र महाराजगञ्जमा गरिएको खोजी अभियानका क्रममा आज बिहान २३ डिपोका सञ्चालकलाई पक्राउ गरिएको थापाले जानकारी दिए । उनीहरुले त्यसरी प्रयोग गरिएको ३५ मिनि ट्रकलाई रङ्गेहात नै फेला पारी नियन्त्रणमा लिइएको छ । काठमाडौँ उपत्यकामा भएका अन्य डिपोका सञ्चालकसमेत खोजी भइरहेको बताए । पक्राउ पर्ने जयमहालक्ष्मी सप्लायर्सका प्रकाश श्रेष्ठ, बज्र इन्टरप्राइजेज सप्लायर्सका वीरेन्द्र कुँइकेल, शिवशक्ति सप्लायर्सका अर्जुन भुजेल, गरिमा सप्लायर्सका दीपेन्द्र केसी, कामना इन्टरप्राइजेजका बद्री गिरी, जेबिएस सप्लायर्सका बाघे भन्ने सुकबहादुर लामा, शुभकामना सप्लायर्सका सुरेन्द्र केसी, खाँडादेवी निर्माण सप्लायर्सका प्रकाश भण्डारी, सेतीदेवी सप्लायर्सका राजु थापा र पञ्चेश्वर सप्लायर्सका महेश्वर श्रेष्ठ रहेका छन् । यस्तै धनेश्वर सप्लायर्सका सन्तोष कुँवर, श्रीभूमि सप्लायर्सका श्यामबहादुर मगर, नो नेम सप्लायर्सका पुष्कर थापा, श्रीकाली भैरव सप्लायर्सका वुद्धिराज थापामगर, कुण्डला सप्लायर्सका मदन प्रधान, कालिका सप्लायर्सका तोपनारायण श्रेष्ठ, आर्कष सप्लायर्सका अर्जुन श्रेष्ठ, स्वयम्भू सप्लायर्सका कृष्णहरि नगरकोटी, महालक्ष्मी सप्लायर्सका मनोहर श्रेष्ठ, भ्याली क्वालिटी सप्लायर्सका विजय भन्ने जोगबहादुर तामाङ, गोरखाली सप्लायर्सका गोपाल भण्डारी, विज्ञान सप्लायर्सका सिंहबहादुर तामाङ र नवअरुण सप्लायर्सका रामकृष्ण श्रेष्ठसमेत पक्राउ परेका छन् । महानगरीय अपराध महाशाखा टेकुबाट खटिएको प्रहरीले लोड गरी ढुवानी गर्न तयारी अवस्थामा रहेका सामग्रीसहित सवारीसाधन समेत नियन्त्रणमा लिएको छ । यस्तो गुनासो आएपछि अनुसन्धानका लागि टोली खटाइएको थियो । ग्राहकहरुलाई १०० क्यूफिट ढुवानी भनि बिक्री गर्दा जम्मा ८२ दशमलब ६३ क्यूफिट मात्र सामग्री ढुवानी हुने गरेको र प्रति ढुवानीमा एक हजार ६२० रुपैयाँदेखि दुई हजार २०० रुपैयाँसम्म ग्राहकहरुलाई नोक्सानी हुने प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको महाशाखाले जनाएको छ । एक टिपमा झण्डै २०० इँट्टा कम हुने देखिएको प्रहरीले जनाएको छ । महाशाखा प्रमुख थापाले भन्नुभयो, “एकै टिपमा यति धेरै ठगी छ भने एउटा घर बनाउँदा उपभोक्ता कति ठगिन्छन् होला ।” आज भएको पत्रकार सम्मेलनमा बोल्दै महाशाखाका प्रमुख थापाले केही उजुरी प्राप्त भएको र बाँकी रहेका पीडित सर्वसाधारणलाई पनि जाहेरी दिन आग्रह गरे । उनीहरुलाई ठगी मुद्दा चलाउने तयारी प्रहरीले गरेको छ । उक्त मुद्दामा दोषी ठहर भए पाँच वर्ष जेल र बिगो बराबरको जरिवाना हुने कानूनी व्यवस्था छ । यस्तो ठगी अन्य जिल्लामा पनि हुन सक्ने भएकाले कारवाही अभियान देशव्यापी बनाउने प्रहरीले जनाएको छ । रासस

दुहबी-कटहरी प्रसारण लाइन ४५ दिनभित्रमा सम्पन्न गरिने

काठमााडोँ । विवादको भूमरीमा फसेको दुहबी–कटहरी प्रसारण लाइन आगामी ४५ दिनभत्र निर्माण सक्ने गरी सहमति भएको छ । सो प्रसारण लाइनको क्षमता ३३ केभी रहेको छ । मोरङको ग्रामथान गाउँपालिकास्थित गिदनीय टोलका स्थानीयले करीब तीन किलोमिटर तार तान्न नदिएपछि निर्माणमा अवरोध भएको थियो । अवरोध हटाउन प्रदेश–१ का मुख्यमन्त्री शेरधन राईले शुक्रबार त्यस क्षेत्रका सङ्घीय सांसद अमनलाल मोदी, प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ, गाउँपालिका अध्यक्ष, उद्योग सङ्गठन मोरङका अध्यक्ष भीम घिमिरेलगायतसँग छलफल गरेका गर्नुभएपछि उक्त सहमति भएको हो । छलफलमा प्रसारण लाइन निर्माणको अवरोध हटाउन आवश्यक प्राविधिक पक्षको अध्ययन गरी ४५ दिनभित्रमा निर्माण सक्ने निर्णय गरिएको मुख्यमन्त्री राईले जानकारी दिए । “यो प्रसारण लाइन बन्न नसन्दा मोरङका उद्योग तथा आम उपभोक्तालाई गुणस्तरीय र भरपर्दो विद्युत् पाउन सकिरहेका छैनन्, त्यसैले विधि सम्वत् रुपमा समस्या समाधान गरी निर्माण तत्काल शुरु गरौँ”, उनले भने, “तारलाई भूमिगत गर्ने या अन्य विकल्प के के हुन्छन् प्राविधिक विकल्पको तत्काल खोजी गरी ४५ दिनभित्र काम सम्पन्न गरौँ, यसका लागि सम्पूर्ण उपायहरु अपनाइने छ ।” मुख्य मन्त्री राईले निर्माणमा अवरोध हटेपछि समस्या समाधान गर्न पहल गर्दै यसअघि मोरङ क्षेत्र नम्बर ४ का सङ्घीय सांसद अमनलाल मोदीसहित ग्रामथान गाउँपालिका अध्यक्ष, उद्योगी, व्यवसायी लगायतसँग छलफल गरेका थिए । आज भएको छलफलमा सांसद मोदीले यो प्रसारण लाइन निर्माणमा आफूले कहिले पनि अपरोध नगरेको प्रष्ट पारे । “प्रसारण लाइन निर्माणमा मोदीले पैसा मागेर अवरोध गर्यो भन्ने सम्मका गलत आरोप म माथि लगाइयो, तर मैलै अवरोध गरको छैन, लाइन निर्माण हुनुपर्छ भन्दै शुरुबाटै निरन्तर सहयोग गरिरहेको व्यक्तिमाथि झुटो आरोप लगाइयो”, उनले भने, “यस्ता आरोपमा कुनै सत्यता छैन, लाइन निर्माण गर्न तत्काल शुरु गरौँ यसमा मेरो पूर्ण सहयोग रहने छ ।” प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले त्यस क्षेत्रमा विद्युत् आपूर्तिलाई सुधार गर्न पहल गरिने बताउनुभयो । प्राधिकरणले कहिले पनि प्रसारण लाइन निर्माणमा सङ्घीय सांसदले पैसा मागेर अवरोध गरेको नभनेको स्पष्ट पारे । प्रसारण लाइनको ग्रामथानको गिदनीय टोलमा तीन किलोमिटर क्षेत्रमा बाहेक सबै स्थानमा लाइन निर्माण भइसकेको छ । सबस्टेसन निर्माण भइसकेको छ । तीन किलोमिटर तार तानिसकिएपछि प्रसारण लाइन र सबस्टेसनको चार्ज गरी सञ्चालनमा ल्याइने छ । उद्योग सङ्गठन मोरङ अध्यक्ष घिमिरेले विद्युत्भार कटौतीको अन्त्य भए पनि ट्रिपिङ र लो भोल्टेज लगायतको समस्या समाधान नभएकाले उद्योगी÷व्यवसायीले ठूलोे आर्थिक नोक्सानी व्यर्होनु परिरहेको गुनासो गरे । अहिले कटहरी क्षेत्रमा टंकीसिनबारी र विराटनगर रानी सबस्टेसनको ११ केभी प्रसारण लाइनबाट विद्युत् आपूर्ति भइरहेको छ । टंकिसिनबारी सबस्टेसन अब थप लोड धान्न सक्ने अवस्थामा छैन । दुहबी–कटहरीको ३३ केभी प्रसारण लाइन सञ्चालनमा आउना साथ कटहरी–रंगेली करिडोरमा देखिएको विद्युत् आपूर्तिको समस्या समाधान हुन्छ, विराटनगरमा समेत भोल्टेजको समस्या देखिँदैन । रासस

एनआईबीएल र इसेवा फोन पेबीच अनलाईन भुक्तानी सम्झौता

काठमाडौँ । नेपालको पहिलो पेमेन्ट गेटवे इसेवा फोन पे प्रालि र नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेड(एनआईबीएल) बीच अनलाइन भुक्तानी सम्झौता भएको छ । सम्झौतासँगै अब नेपाल इन्भेष्टमेन्ट बैंकबाट इसेवामा रकम लोड गर्न तथा विभिन्न वस्तु तथा सेवाहरूको सहजै भुक्तानी गर्न सकिनेछ । ग्राहकहरूले बैंकको इन्टरनेट बैंकिङ तथा कुनै पनि शाखा मार्फत सहजै इसेवामा रकम लोड गर्न सक्नेछन् भने इसेवा खातामा भएको रकम पनि सिधै बैंकमा जम्मा गर्न सक्नेछन् । इसेवाबाट मोबाईल रिचार्ज, टेलिफोन, इन्टरनेट, बिजुली तथा खानेपानीको महशुल भुक्तानी, हवाइ जहाज तथा बसको टिकट, विद्यालय/क्याम्पसको शुल्क भुक्तानी, होटेल र रेष्टुरेण्टको बिल भुक्तानी लगायत विभिन्न सुविधा उपभोग गर्न सकिनेछ । पछिल्लो समयमा इसेवाले क्युआरकोड मार्फत गरिने भुक्तानीलाई प्रवद्र्धन गरिरहेको छ । हाल इसेवामा ५५ हजार क्युआर मर्चेन्ट आबद्ध भइसकेका छन् भने क्युआर कोडमा इसेवाले आकर्षक क्यास ब्याक तथा छुटको व्यवस्था समेत गरेको छ । अबदेखि नेपाल इन्भेष्टमेन्ट बैंकका ग्राहकले इसेवामा पैसा लोड गरी सजिलै क्युआर कोड मार्फत भुक्तानीको सुविधा पनि लिन सक्नेछन् ।

नेपाल चेम्बर र पीएचडी चेम्बरबीच व्यापार तथा लगानी अभिवृद्धि सम्बन्धी छलफल

काठमाडौँ । भारत भ्रमणको अवसरमा नयाँदिल्ली स्थित पिएचडी चेम्बर अफकमर्स एण्ड इन्ड्रष्ट्रिजले आयोजना गरेको कार्यक्रममा नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठले संबोधन गरेका छन् । उक्त अवसरमा उनले द्धिपक्षीय व्यापारमा पारवहन ढुवानी लागत घटाउनु पर्ने, सिमावर्ती क्षेत्रका चेम्बरहरु बीच सहकार्य गराउनु पर्ने, व्यापार मेला÷प्रर्दशनीमा सहभागिता जनाउनु पर्ने र चेम्बरले आउदो फागुनमा आयोजना गर्ने नेपाल चेम्बर एक्पोमा भारतीय उद्योगी व्यवसायीको सहभागिता जनाउन अनुरोध गरे । नेपालका लागि भारतीय राजदूत मन्जिभसिंह पुरीको प्रमुख आतित्थ्यतामा सम्पन्न भएको सो कार्यक्रमा नेपालका लागि पूर्व राजदूत तथा इन्डिया नेपाल सेन्टर, पीएचडीका अध्यक्ष के.भी. राजनले नेपालसँग भारतको घनिष्ट सम्बन्ध रहेको बताए । यसबाट लगानी र व्यापार एवम् आर्थिक कृयाकलापमा वृद्धि गर्न यस्ता कार्यक्रमले ठोस सहयोग पुर्याउने बताए । साथै उनले इन्डिया नेपाल सेन्टरको स्थापनामा चेम्बर सह संयोजक भई कार्य गरिरहेको र यसमा आगामी दिनहरुमा थप तीब्रता आउने आशा एवम् विश्वास व्यक्त गरे । उक्त अवसरमा पीएचडी चेम्बर अफ कमर्स एण्ड इन्ड्रष्ट्रिजका अध्यक्ष डा. डिके अग्रवालले भारतको नेपालसँग परापूर्वकालदेखि साँस्कृतिक, आर्थिक एवम् व्यापारिक सम्बन्ध रहेको र दुई चेम्बरबीच सहकार्य गरी यो सम्बन्ध अघि बढी मजबुतगर्न लगानी, पर्यटन व्यापारमा जोड दिन आफू र आफ्नो संस्था इन्डिया नेपाल सेन्टर मार्फत र द्धिपक्षीय रुपमा समेत तयार रहेको बतए । सो अवसरमा नयाँदिल्ली स्थित नेपाली राजदुतावासका मिनिष्टर (इकोनोमिक) नीता पोखरेल अर्याल, नेपाली व्यवासायिक प्रतिनिधि मण्डलका सदस्यहरु उद्यमी, व्यवशायी, रिभर्सबायर सेलर मिटका सहभागी प्रतिनिधिहरुको समेत उपस्थिती थियो ।