कात्तिक मसान्तभित्र दोस्रो किस्ता अनुदान लिइसक्न पुनर्निर्माण प्राधिकरणको आग्रह
ललितपुर । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले कात्तिक मसान्तभित्र निजी आवास पुनर्निर्माणका लागि दोस्रो किस्ता अनुदान लिइसक्न आग्रह गरेको छ । ललितपुरमा आयोजित कार्यक्रममा बोल्दै प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले समयमा नै दोस्रो किस्ता लिएर घर पुनर्निर्माण गर्न भूकम्प पीडित जनतालाई आग्रह गरेका हुन् । प्राधिकरणले २०७५ साल असार मसान्तभित्र पहिलो किस्ता लिएकालाई दोस्रो किस्ता लिने समय यही कार्तिक मसान्तसम्म तोकेको छ । सरकारले निजी आवास पुनर्निर्माणका लागि पहिलो किस्तामा ५० हजार, दोस्रोमा १ लाख ५० हजार र तेस्रो किस्तामा १ लाख रुपैयाँ अनुदान उपलब्ध गराउँदै आएको छ । निजी आवास पुनर्निर्माणका लागि ७ लाख ७६ हजार ९ सय १० लाभग्राहीसँग अनुदान सम्झौता भएकोमा ७ लाख ६८ हजार ५ सय ४९ लाभग्राहीले पहिलो किस्ता, ६ लाख १२ हजार १ सय ५ लाभग्राहीले दोस्रो किस्ता र ५ लाख ७ जार ४८ परिवारले तेस्रो किस्ता अनुदान लिइसकेका छन् । भूकम्पबाट क्षति भएकामध्ये ४ लाख ६९ हजार २ सय ५९ घर पुनर्निर्माण भइसकेका छन् भने १ लाख ९४ हजार ४ सय ५६ घर पुनर्निर्माणका क्रममा छन् । भूकम्प प्रभावित ३२ जिल्लामा ६० प्रतिशत घर पुनर्निर्माण सम्पन्न भए पनि ललितपुर जिल्लामा ३२ प्रतिशत लाभग्राहीले तेस्रो किस्ता लिएका छन् । प्रमुख कार्यकारी अधिकृत ज्ञवालीले शहरी क्षेत्रमा प्रत्येक घर पुनर्निर्माणमा ढिलाइ भएकोमा कारण बुझ्न आवश्यक भएको भन्दै एक घर एक परियोजना बनाएर अघि बढ्न कर्मचारीहरुलाई निर्देशन दिए । केन्द्रीय आयोजना कार्यान्वयन इकाई ९अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार० इकाईका उपनिर्देशक नारायणप्रसाद श्रेष्ठले शहरी क्षेत्रमा निजी आवास पुनर्निर्माणलाई द्रुत गतिमा अघि बढाउन सबैको सहयोग आवश्यक भएको भन्दै नभए अनुदान लिनबाट जनता वञ्चित हुने सम्भावना रहेको बताए । जिल्ला आयोजना कार्यान्वयन इकाई (अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार ललितपुर)का प्रमुख शिवराम गेलालले जिल्लामा प्रथम किस्ता लिई दोस्रो किस्ता नलिने, भूमिहीन व्यक्तिले सम्झौता गर्न नसक्नु, आर्थिक अभाव हुनु, कम क्षेत्रफलको जग्गा हुनु, जग्गाको स्वामित्व सम्बन्धी विवाद हुनु, केही लाभग्राही निजी आवास पुननिर्माण गर्न इच्छुक नहुनु लगायतका समस्या रहेको बताएका थिए ।
सुन्दर पर्यटकीय स्थल इलामको कन्यामः प्रदुषण हटाउँदा अझै बन्नेछ आकर्षण
काठमाडौं । रमणीय र प्राकृतिक सौन्दर्यताको भरिपूर्ण उपहारको रुपमा कन्यामलाई लिने गरिएको छ । इलाम जिल्लाको सूर्योदय नगरपालिकामा पर्ने कन्याम मेची राजमार्गको पहुँचमा भएकोले पनि सहजै पुग्न सकिन्छ । झापाको चारआलीबाट मोडिएर उत्तरतर्फ लागेपछि करिब एक घण्टाको यात्रामा पुग्न सकिन्छ कन्याम । इलामको उकालो सुरु हुन साथ प्राकृतिक सुन्दरताको हराभराले मन आनन्दित बनाउन सुरु गर्छ, जब जो कोही कन्याम पुग्छ, त्यहाँको दृश्यसँग मान्छे आफैँ हराउँछन् । यातायातको सहज पहुँचमा रहेकाले सजिलै कन्याममा आवतजावत गर्न सकिन्छ । पहिले हुस्सु र चिसो हावापानीका कारण कमै मात्र मानिसहरुको आवतजावत हुने कन्याममा अहिले वर्ष भरिनै पर्यटकहरुले खचाखच हुने गरेको छ । बिदा मनाउन, माया प्रेम साट्न, बनभोज खान तथा शैक्षिक भ्रमणका लागि आन्तरिक र वाह्य पर्यटकहरु कन्याम पुग्ने गरेका छन् । ताप्लेजुङ जिल्लाको पाथिभरा देवीको मन्दिर दर्शन गर्न जाँदा र फर्किदा बाटैमा पर्ने कन्याम सबैको रोजाइमा पर्ने गरेको छ । अरुदिनमा भन्दा बिदाको दिनहरुमा पर्यटकहरुको भीड हुने गरेको छ । वर्ष भरिनै चिसोे हावापानी, डाँडै ढाक्ने चिया बगान, देउराली डाँडा, विभिन्न जातीको परम्परागत सांस्कृतिक आकर्षणहरु हुन् । कन्याममा घोडाले पनि पर्यटकहरुलाई आकर्षित गरेको छ । कन्याममो चिया बगानमा फोटो नखिच्ने र घोडा नचढ्ने पर्यटकहरु सायदै होलान् । पर्यटकले त्यहाँको कोसेली स्वरुप चिया, छुर्पी, ललिपप र अकवरे खुर्सानी जस्ता वस्तु खरिद गरेर ल्याउने गरेका छन् । कन्याममा चिया र छुर्पी व्यापार गरिरहेकी ४० वर्षीय मुना श्रेष्ठले पर्यटकको रोजाइमा इलामको कोशेली परेकोले ब्यापार वृद्धि हुदै गएको बताइन् । कन्यामको सुन्दरतामा भुल्नेहरु धेरै छन्, तर त्यहाँ समस्या र चुनौतीहरु भने नभएको हैन । पर्यटकीय गन्तव्य भएपनि भौतिक पूर्वाधारहरुको अभाव छ । मौसम बदलि भैरहने पर्यटकीय कन्याममा घुम्दाघुम्दै पानी पर्यो भने कतै टाउको लुकाउने ठाँउ छैन । सार्वजनिक शौचालयको अभावमा पर्यटकहरुलाई समस्या हुने गरेको छ । मानिसहरुको आवतजावत बढेसँगै फोहोरमैलाको मात्रा समेत बढेको छ । यसले कन्यामको सुन्दरतामा प्रत्यक्ष प्रभाव पारेको छ र सम्बन्धित निकायले ध्यान नदिएको देख्न सकिन्छ । सुन्दर कन्यामको चिया बगानको बीचबीचमा रक्सी, पानी र चिप्सको पाकेट लगाएतका फोहरले कन्यामलाई गिज्याइ रहेको देखिन्छ । पार्किङको सुविधा नहुनु कन्यामको अर्को समस्या हो । यस्ता समस्याहरु माथि नगरपालिका, वडा कार्यालय र सम्बन्धित निकायको ध्यान दिन सकेको छैन । कन्यामको अस्तव्यस्तताका बारेमा सूर्योदय नगरपालिका मेयर रणबहादुर राईले कन्याम क्षेत्रमा फोहोर नभएको र शनिवार सरसफाइ नहुने र आइतवार मात्रै हुने भएकाले पनि आइतबार केही फोहर जस्तो देखिएको हुनसक्ने बताए । उनले भने-‘हामीले २५ जना कर्मचारीलाई सरसफाइमा खटाएका छौँ । हामीले सकेसम्म सफा राख्ने प्रयास गरेका छौँ ।’ सूर्योदय नगरपानिकाको वडानम्वर ७ का अध्यक्ष लेखनाथ खड्काले कन्यामलाई सुधार गर्दै आएको र सरसफाइलाई पनि सुधार्ने प्रयास भइरहेको बताए । उनले भने-‘हामीले हाम्रो पर्यटकीय क्षेत्रको संरक्षण गर्नै पर्छ, हामी त्यसमा लागिरहेका छौँ । बिस्तारै कन्याम अझै आकर्षण बनाउँदै जान्छौँ ।’
सिभिल बैंकको नयाँ शाखा काठमाडौंको काँडाघारीमा
काठमाडौं । सिभिल बैंक लिमिटेडलले काठमाडौेंको काँडाघारीमा नयाँ शाखा संचालनमा ल्याएको छ । उक्त शाखाको उद्घाटन बैंकका संचालक प्रतापजङ्ग पाण्डे तथा कागेश्वरी मनोहरा नगरपालिकाका मेयर कृष्णहरि थापाले गरेका हुन् । कार्यक्रममा सभापति तथा सिभिल बैंकका संचालक प्रताप जङ्ग पाण्डेले आर्थिक विकासको लागि बैंक अपरिहार्य रहेको बताएका छन् । सोही समारोहमा सिभिल बैंकका संचालक प्रताप जङ्ग पाण्डेद्वारा ईन्फिनिट एबिलिटि सेन्टरलाई २५ हजार रूपैयाँको चेक पनि हस्तान्तरण गरेका थिए । यसरी, सो बैंकले नेपालमा पहिलोपटक बचतकर्ताहरुले समान मासिक रकम बचत गरी योजनाको अन्त्यमा साँवा तथा ब्याजको एक्मुष्ठ रकमको लाभ पाउने एन्यूटी डिपोजिट निक्षेप योजना पनि ल्याएको छ । उक्त बैंकको शाखा संख्या १०० र एटिएम संख्या ६५ पुगेको छ ।
विरासत गुमाउँदै राष्ट्रिय वाणिज्य बैंक: ऋणको ब्याजदर आकाशियो, साउनमा लिएको ऋण नै १.३९% महँगाे
काठमाडौं । सबैभन्दा सस्तो ब्याजमा ऋण पाउने बैंक कुन हो भनेर सोध्ने हो भने सबैको उत्तर आउँछ राष्ट्रिय वाणिज्य बैंक । अरु बैंकले १५/१६ प्रतिशतसम्म ब्याज लिने दर सार्वजनिक गर्दा ६/७ प्रतिशतमा ऋण दिने बैंक हो राष्ट्रिय वाणिज्य बैंक । अझै सरकारले ल्याएको सहुलियतपूर्ण कर्र्जामा दिइने ब्याज अनुदान घटाउँदा त ब्याजदर ‘निशुल्कजस्तै’ हुन्थ्यो । तर अब यो अवस्था रहेन । सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंकले समेत महिनै पिच्छे आधार दर (बेस रेट) बढ्दा आम ऋणीकाे ब्याजको भार थोपरिएको छ । साउनमा ऋण लिएका ऋणीले अब ब्याजतिर्दा १.३९ प्रतिशत बढी ब्याज तिर्नुपर्ने भएको छ । बैंकले असार महिनाको ५.५० प्रतिशत आधार दर कायम गरेको सूचना प्रकाशित गरेको थियो । बैंकले कार्तिक १ गते प्रकाशित गरेको भदौको आधार दर बढाएर ६.८९ प्रतिशत पुर्याएको छ । बैंकले असारको सो आधार दरमा ०.७३ प्रतिशतले बढाएर साउनको बेस रेट ६.२३ प्रतिशत पुर्यायो । भदौ फेरि बेस रेट बढ्यो । भदौमै ऋण लिएका ऋणीले समेत कार्तिक महिनाको ऋणको ब्याजतिर्दा ०.६६ ले बढी तिर्नुपर्ने भएको छ । पूर्ण सरकारी स्वामित्वमा संचालित बैंकले यसरी महिनैपिच्छे आधार दर परिवर्तन गरेपछि निजी बैंकबाट ऋण लिने ऋणीको हालत के होला यो सहजै अनुमान गर्न सकिन्छ । राष्ट्र बैंकले गरेको नीतिगत व्यवस्था अनुसार बैंकहरूले त्रैमासपछिमात्रै आधार ब्याजदर समायोजन गर्न सक्ने व्यवस्था राष्ट्र बैंकले गरेको छ । बैंकहरूले महिनै पिच्छे आधार दर प्रकाशित गरेपनि आधार दर बढेमा त्रैमासपछिमात्रै कार्यान्वयनमा लैजान पाउने राष्ट्र बैंक बैंक तथा वित्तीय संस्था नियम विभागका प्रमुख देवकुमार ढकालले बताए । हरेक महिना घटेको आधारदर मात्रै ब्याजमा समायोजन गर्न पाइन्छ,’ उनले भने ‘ बढेको दर कायम गर्न भने त्रैमास नै सकिनु पर्छ ।’ असारमा हायर पर्चेज ऋणको ९.५० प्रतिशतदेखि १०.५० प्रतिशत ब्याज तिर्दै आएका ऋणीले असोजमा सो १२.३९ प्रतिशतसम्म ब्याज तिर्नुपर्ने भएको छ । बैंकले भदौको आधार दर बढेकोले ब्याजको भार थपिएको हो । राष्ट्रिय वाणिज्य बैंकका डेपुटी प्रमुख कार्यकारी अधिकृत कविराज अधिकारीले बचतको ब्याज बढाएकोले यसको असर बेस रेटमा परेको बताए । बैंकले यस अघि बचतकर्तालाई दुईदेखि चार प्रतिशतमात्रै ब्याज दिँदै आएको थियो,’ उनले भने ‘अहिले बचतको ब्याज बढेर ६ प्रतिशत पुगेको छ ।’ ‘अब साउनमा ऋण लिएका ऋणीले ऋणको ब्याजतिर्दा अहिले बढेको वेसको आधारमा ब्याजतिर्नुपर्ने हुन्छ,’ उनले भने । राष्ट्र बैैंकको यो नियम विपरित बैंकले सार्वजनिक गरेको यो नयाँ रेटले सरकारी बैंकमाथि विश्वास राखेर ऋण दिने ऋणीलाई मर्कामा परेको छ । यस अघि निजी क्षेत्रबाट संचालिन अन्य वाणिज्य बैंकले ऋणको ब्याज बढेको र निक्षेपको ब्याज घटेको जानकारी महिनै पिच्छे एसएमएसबाट दिँदै आएका छन् ।
एनआरएन प्रतिनिधिको गतिविधिः विदेशमा बस्ने ८० लाख नेपालीहरु लज्जित
प्रधानमन्त्री केपी शर्मा ओलीले एकताका भनेका थिए नेपालीले चान्स पायो भने गर्छ । जुन कुरा विदेशमा बसेका नेपालीहरुले आफ्नो जन्मभूमिमा एनआरएन सम्मेलन मार्फत पुष्टि गरिदिए । विदेशमा बस्दा कडा अनुसाशनमा बस्नु परेकाहरु नेपाल जाँदा जेलबाट भर्खर छुटेका कैदीहरुझै देखा परे र त्यस्तै व्यवहोरा देखाए । उनीहरु मातृभुमिको भौतिक सम्पत्ति तोडफेड गर्नेदेखि गुण्डागर्दीसम्म उत्रिए, जस्ले गर्दा विदेशमा बस्ने ८० लाख नेपालीहरु लज्जित हुनु परेको छ । आफुहरु विदेशमा बस्दा विदेशको उदाहरण दिंदै नेपालभित्रको बेथिति, अनुशासनहीन, अन्याय, अत्याचार, भ्रष्टाचारबारे सामाजिक सञ्जाल मार्फत चर्को आलोचना गर्नेहरुले विदेशमा बसेर चाँही के सिकेछन् भन्ने कुरा एनआरएनको नवौं सम्मेलनमा विभिन्न देशबाट नेपाल गएका प्रतिनिधहरुले देखाएको तमासा लाजमर्दो, अमर्यादित छ । यस घटनाले कुकुरको पुच्छर १२ बर्ष ढुङ्ग्रोमा हालेपनि बाङ्गाको बाङ्गै भने झैं बिदेशमा जति वर्ष बसेपनि नेपालीहरुको बानी व्यहोरा जस्ताको तस्तै देखायो । हैनभने यही बेलामा आफुसंग भएका बौद्धिक योग्यता, सीप, दक्षता, क्षमता देशहितको लागि किन प्रस्तुत गर्न सकेनन् चिन्ताको विषय छ । किन आर्थिक सहयोग गर्न सकेनन् विपन्न परिवारलाई ? सोचनीय छ । के यसैको लागि नेपाल छनौट गरिएको हो सम्मेलनको लागि ? जाबो एउटा विद्युतीय भोटिङ मेसिन समेत व्यवस्था गर्न नसक्ने एनआरएनले के चाँही गर्ला चिन्ताको विषय छ । हुन् त पद बिना भोक, प्यास, निन्द्रा समेत नलाग्ने केही नेपालीहरु विदेशमा पहिलो पाइला टेक्ने बित्तिकै संघ संगठन खोल्नतिर लाग्छन् । २-३ घरका नै जम्मा भएर किन नहोस् उनीहरु एउटा न एउटा नाम दिएर संस्था खोलीहाल्छन् । जातीको नाममा, भाषीको नाममा, जिल्लावासीको नाममा, पार्टी विचारधारको नाममा मात्रै हैन कि पछिल्लो समयमा त एउटै थरको नाममा समेत संस्था खोलिन थालेका छन् । तर, बिडम्वना सबै नेपाली अटाउने संगठन अझसम्म खोलिएका छैनन् । १६ वर्ष अगाडि स्थापना भएको एनआरएन चाँही विगतमा हो कि जस्तो थियो, तर अहिले आएर त्योपनि भ्रम रहेछ । राजनीतिक आस्था भएकाहरुले एनआरएन भित्र उनीहरुकै राजनीतिक आस्था लाद्न खोजेपछि आम गैर आवासीय नेपालीहरुमा वितृष्णा जाग्दैछ । यसरी राजनीतिक आस्था भएकाहरुले उनीहरुकै राजनीतिक आस्था लाद्न खोजेपछि के फरक रह्यो र कांग्रसको जनसम्पर्क समिति, कम्युनिष्टको प्रवासी नेपाली मञ्च तथा एनआरएनमा ? अनिलभक्त खरेल विदेशमा आएको लामो समय भएपनि नेपालको नशाबाट नउत्रिएकाहरुले आप्mनो श्रमलाई ढाकछोप गर्दै नेपालमा झैं आफुलाई सञ्चारकर्मी, पत्रकार, कलाकार, साहित्यकार, पार्टीको पदाधिकारी सम्झिएर एनआरएनमा सक्रिय भएपछि एनआरएन यस्तो अवस्थामा आएको हो भन्दा अत्युक्ति नहोला । यसरी राजनीतिक पार्टीका झुण्डहरु बसेर राजनीतिक गर्ने थलो बनाएपछि एनआरएनप्रति सबैको बितृष्णा जाग्नु त स्वभाविकनै हो । कतै त्यही तत्वहरुले एनआरएनलाई मागी खाने भाँडो त बनाइरहेका छैनन् भन्ने अहिले ठूलो प्रश्न चिन्ह खडा भएको छ एनआरएनमा लाग्नेहरुका लागि । यसरी आफ्नो हैशियत र क्षमता भुलेर हावा तालमा नेपालका राजनीतिक पार्टीका पछाडि लागेर सपनाको महल बनाउन तल्लीन एनआरएनप्रति विदेशमा बस्ने आम नेपालीहरुको खास चासो छैन । एनआरएनप्रति विदेशमा बस्ने नेपालीहरुको मात्र हैन कि नेपालमा रहेका नेपालीहरु र सरकारले पनि चासो दिएका छैनन् । जुन पुष्टि समेत भैसकेको छ । यदि चासो दिएको हुन्थ्यो भने चिनियाँ राष्टपति आउँदा बनाइएका ३ दिने विकासलाई १० दिने बनाउन सक्थ्यो । चिनियाँ राष्टपतिको विदाइसंगै सडकका दायाँ बायाँ रहेका सजिसजावट हटाइने थिएनन् । राष्टपतिले कार्यक्रम उद्घाटन गर्नु मात्रै ठूलो उपलब्धी हैन । आफ्नो घरमा पाहुना आउँदा स्वागत गर्न कन्जुस्याई गर्नेहरुले भोलि भिजिट नेपाल २०२० कसरी सफल पार्लान् त्यो पो चिन्ताको विषय भएको छ । – भर्जिनिया
उपभोक्ता ठग्ने १५ व्यापारिक फर्म कारबाहीमा, कुन कुन परे ?
वीरगञ्ज । वीरगञ्जस्थित गुणस्तर तथा नापतौल कार्यालयले नापतौल अनुमति नलिइ वर्षौंदेखि उपभोक्तालाई ठग्दै आएका बारा र पर्साका १५ व्यापारिक फर्ममा छापामारी कारबाही प्रक्रिया अगाडि बढाएको छ । उद्योग स्थापनाकालदेखि हालसम्म नापतौल अनुमतिपत्र नलिएको, नापतौल यन्त्र जाँच नगरेको, उपभोक्तालाई ठग्दै आएको र राजश्व छलि गरेको देखिएपछि कारबाही थालिएको हो । पर्साका पोखरीया नगरपालिकास्थित सञ्जिव एण्ड विजय जेनेरल स्टोर, कुशवाहा विज भण्डार, सञ्जय किराना पसल, किशन बीज भण्डार विनोद किराना पसल तथा बाराका बहुवरीमा रहेको महावीर प्लाष्टिक उद्योग, न्यू शङ्कर टेक्स्टाइल इण्डष्ट्रिज, प्रोग्रेसिभ आइरन स्टोर, कोहिनुर टेक्स्टायल, हिमालय स्टेशनरी एण्ड पेपर मिल, पे्रस्टिज म्याट उद्योग, प्रेस्टिज फुटवेयर इण्डष्ट्रिज, विनायक वायर उद्योग, बालाजी इण्डष्ट्रिज र अनटेलान्टिक टेक्स्टाइललाई कारबाही गरिएको छ । ती फर्मलाई तीन दिनभित्र कार्यालयमा हाजिर हुन भनिए पनि हाजिर नभई अटेर गरेकाले स्टेण्डर नापतौल ऐन २०२५ को दफा ३० (१) अन्तर्गत रु १० हजार जरिवाना र एक वर्ष कैदको व्यवस्था गरिएको कार्यालय प्रमुख शशिभूषण यादवले बताएका छन् । फर्मका सञ्चालकलाई प्रहरी लगाएर पक्राउ गरिनेसमेत उनले जानकारी दिए । रासस
दैनिक ७० भन्दा बढी ट्रक कन्टेनर केरूङतर्फ प्रस्थान
काठमाडौं । बडादशैं समाप्तीसँगै सामान लिनका लागि दैनिक ७० ८० वटा ट्रक कन्टेनर रसुवागढी नाकाको मितेरी पुलबाट केरूङतर्फ प्रस्थान भइरहेको छ । वर्षायाम समाप्तिसँगै पहिरो जाने समस्या हल भएकाले चिनियाँ सामग्री लिन जाने आउने सवारी साधन गुडाउन सहज हँुदै गएको छ । केरूङमा सामान लिन गएका ट्रक कन्टेनर दैनिक रूपमा ६० वटाको हाराहारीमा नेपाल फर्कने गरेको सीमा प्रहरी चौकी टिमुरेका प्रहरी निरीक्षक खेम नेपालले बताएका छन् । यसरी नेपाली बजारमा खपत हुने सामान आयातका लागि केरूङ जाने ट्रक कन्टेनरको सङ्ख्या दिनानुदिन बढ्न थालेको हो । विसं २०७२ मङ्सिर १५ गतेदेखि पूर्णरूपमा चालू रहेको नेपालको उत्तरी रसुवागढी नाकाबाट आयात हुने मालवस्तुमा स्याउ, ओखर, स्याउपाती जस्ता फलफूल र अन्य सामानमा जुत्ता, चप्पल, थर्मस, रोल कपडा, तयारी पोशाक, चक्लेट, बच्चाको खेलौना, इलेक्ट्रिक सामान, नेपालमा निर्माणाधीन हाइड्रो पावरका उपकरणलगायतका मालवस्तु रहेको रसुवा भन्सार कार्यालय टिमुरेले जनाएको छ । आयात हुने सामग्री छिटोभन्दा छिटो केरूङबाट नेपाल पठाउन मुसा ट्रान्सपोर्टले सबैभन्दा बढी सामान ट्रकमा लाग्ने गरेको र ढुवानीका लागि सो कम्पनी केरूङका क्षेत्रमा सबैभन्दा ठूलो ढुवानी कम्पनी मानिएको व्यापारीले बताएका छन् । गत भदौ ३१ गतेदेखि पुनः सञ्चालनमा आएको स्याफ्रुबेंसी मैलुङ–बेत्रावती खण्ड र धुञ्चेतर्फको पासाङल्हामु मार्गसमेतका दुवै राजमार्ग सञ्चालनमा आएको छ । रासस
एनएमबि बैंकको कम्पनी सचिवमा अधिकारी नियुक्त
काठमाडौं । एनएमबि बैंक लिमिटेडको कम्पनी सचिवमा ध्रुवप्रसाद अधिकारी नियुक्त भएका छन् । बैंकको बिहीबार बसेको संचालक समितिको ३९२औं बैठकले कम्पनी सचिवमा अधिकारीलाई नियुक्त गर्ने निर्णय गरेको हो । बैंठकले कात्तिक १ गतेदेखि लागु हुनेगरी अधिकारीलाई कम्पनी सचिव पदमा नियुक्त गरेको हो ।