विद्युत प्राधिकरणका कर्मचारीसँग कार्यसम्पादन सम्झौता
काठमाडौं । नेपाल विद्युत प्राधिकरणले विद्युत् चुहावट नियन्त्रण र सेवा प्रवाह सुधारमा केन्द्रित भई वितरण तथा ग्राहक सेवातर्फका केन्द्र प्रमुखसँग कार्यसम्पादन सम्झौता गर्न सुरु गरेको हो । प्राधिकरणले शुक्रबार प्रदेश १को प्रादेशिक कार्यालय विराटनगरअन्तर्गतका २४ वितरण केन्द्र प्रमुखहरुसँग कार्यसम्पादन सम्झौता गरेको हुन्। प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङसँग प्रादेशिक कार्यालयका प्रमुख रामराज पाण्डेले कार्यसम्पादन सम्झौता गरेका गरेका छन् । वितरण तथा ग्राहक सेवा निर्देशनालयका उपकार्यकारी निर्देशक हरराज न्यौपानेसँग वितरण केन्द्र प्रमुखहरुले सम्झौता गरेका हुन् । प्राधिकरणले आफ्ना ७ प्रादेशिक तथा दुई प्रदेश डिभिजन कार्यालय र त्यसअन्तर्गत प्रत्येक वितरण केन्द्र प्रमुखहरुसँग कार्यसम्पादन सम्झौता गर्ने भएको छ । कार्यसम्पादन सम्झौतामा विद्युत् चुहावट नियन्त्रणलाई उच्च प्राथमितामा राखी यसको अंकभार ५० राखिएको छ । कार्यसम्पादनमा राखिएका सूचकहरुको वस्तुनिष्ठ मूल्याकंन गरी शाखा प्रमुखलाई पुरस्कार र दण्ड दिने व्यवस्था गरिएको छ । प्राधिकरणले चालु आर्थिक वर्ष २०७६/७७मा वितरणतर्फको विद्युत चुहावट ८.५० प्रतिशतमा झार्ने लक्ष्य राखेको छ । प्राधिकरणले गत आर्थिक वर्ष २०७५/७६मा वितरणतर्फको ११.२८ प्रतिशतको चुहावटलाई २.७८ प्रतिशत विन्दुले घटाएर ८.५० प्रतिशतमा झार्ने लक्ष्य तय गरेको हो । प्रादेशिक कार्यालय विराटनगरअन्तर्गत वितरण केन्द्रहरुलाई ११.८४ प्रतिशत रहेको विद्युत् चुहावटलाई ८.८७ प्रतिशतमा झार्ने लक्ष्य दिइएको छ । प्राधिकरणले लक्ष्यलाई पूरा गर्न धेरै विद्युत चुहावट भएका वितरण केन्द्रलाई धेरै र कम चुहावट भएकालाई कमको चुहावट नियन्त्रणको लक्ष्य दिएको हो । प्राविधिक र गैर प्राविधिक चुहावट नियन्त्रणका लागि मुलुकभर चालिएको अभियानलाई अझै सशत्त र प्रभावकारी बनाउन कार्यकारी निर्देशक घिसिङले निर्देशन दिए । घिसिङले चुहावट नियन्त्रणसँगै ग्राहकसँग प्रत्यक्ष सम्पर्क राख्ने वितरण केन्द्रहरुमा आचरणमा परिवर्तन गरी संस्थागत सुशासन कायम गर्न, वित्तीय अनुशासनमा रहन र जनतासँगको सम्बन्ध सुधारलाई कठोरता साथ लागू गर्न निर्देशन दिए । ‘आवको हाम्रो मुख्य लक्ष्य सेवा प्रवाहमा सुधार र सुशासन हो, सेवाग्राहीलाई दुःख दिने र उनीहरुबाट नाजायज फाइदा लिन खोज्ने कर्मचारीलाई तत्कालै कारबाही गर्छौं,’उनले निर्देशन दिए । ‘ग्राहकमा राखिएको मिटरमै प्राविधिकको आम्दानी लगायत सबैथोक छ, अनियमिता पनि त्यहीं हुन्छ,मिटर रिडिङ नगरी स्टक राख्ने वितरण केन्द्र प्रमुखलाई तत्कालै र यदि उसको सरुवा भएको रहेछ र पूर्वकार्यालय अन्तर्गतको ग्राहकमा स्टक युनिट राखिएको फेला परेमा त्यस्ता प्रमुखलाईसमेत कारबाहीको दायरामा ल्याइने छ ।’ प्राधिकरणसँग उपलब्ध स्रोतको अधिकतम प्रयोगमा ल्याइने उल्लेख गर्दै घिसिङले कार्यालयमा स्टक रहेका विद्युतको पोल, तार,ट्रान्सफर्मर लगायतका उपकरणको अधिकतम प्रयोग गर्न निर्देशन दिए । ‘आफ्नो कार्यालयलाई आवश्यक पर्नेभन्दा बढी सामान खरिद गर्ने केन्द्र प्रमुख, लेखा तथा स्टोर प्रमुखलाईसमेत कारबाहीको दायरामा ल्याइने छ’,उनले चेतावनी दिए । उपकार्यकारी निर्देशक न्यौपानेले विद्युतीय दुर्घटनालाई न्यूनिकरण गर्न सुरक्षामा ध्यान दिन, ग्राहकलाई दिइने सेवा प्रवाहलाई सुधार गर्न निर्देशन दिए । विद्युत चोरीको हुकिङ हटाएर मात्रै विद्युत् चुहावट नघट्ने भन्दै उनले प्राविधिक चुहावटतर्फ पनि ध्यान दिन निर्देशन दिए । कार्यसम्पादन सम्झौता मार्गनिर्देशक निर्देशिका भएकाले ग्राहकलाई दिने सेवामा सुधार र कार्यालयभित्रको कार्यसम्पादनमा चुस्तता आई समग्ररुपमा संस्थाको प्रशासनिक तथा वित्तीय अवस्थामा सकारात्मक प्रभाव पर्ने प्राधिकरणको अपेक्षा छ ।कार्यकारी निर्देशक घिसिङले समेत ऊर्जा मन्त्रालयसँग कार्यसम्पादन सम्झौता गरेका छन् । वितरण केन्द्र प्रमुखसँगको सम्झौतामा विद्युत् चुहावट घटाउने, प्रशासनिक खर्च घटाउने, बाँकी वक्यौता असुल गर्ने, स्तरिय, भरपर्दो तथा सुरक्षित विद्युत सेवा प्रदान गर्ने, ग्राहक सेवाको स्तरबृद्धि गर्ने लगायतका कार्यसम्पादन सूचांक निर्धारण गरिएको छ । हरेक क्षेत्रीय कार्यालय र त्यस मातहतका बितरण केन्द्रलाई चुहावट नियन्त्रण,औसत महसुल संकलनको अवधि घटाउने विषयलाई मुख्य लक्ष्य (टार्गेट)निर्धारण गरिएको छ । कार्य सम्पादनको हरेक चार/चार महिनामा मूल्याङकन गरिने प्राधिकरणले जनाएको छ ।हरेक वितरण केन्द्रलाई चुहावट नियन्त्रण र बक्यौता असुलीमा दिइएको टार्गेटको कम्तिमा ५० प्रतिशत प्रगति हासिल गरेमा प्रमुखलाई निश्चित रकम नगद प्रोत्साहन भत्तास्वरुप उपलब्ध गराउने व्यवस्था गरिएको छ । यसैगरि, टार्गेट हासिल गर्नेले पाएको नम्बर बढुवामा जोड्ने, विदेशमा आयोजना तालिम, सेमिनारमा जान प्राथमिकता दिने लगायतका गैर नगद प्रोत्साहन समेत पाउने छन् । तर, ५० प्रतिशतभन्दा कम लक्ष्य हासिल गरेमा त्यसलाई कमजोर कार्यसम्पादन मानी बढुवामा सोही अनुसार नम्बर दिने र नगद तथा गैर नगद प्रोत्साहन नपाउने लगायतको व्यवस्था गरिएको छ । प्राधिकरणले प्रमुखहरुलाई वितरण टान्सफर्मर, मिटर, केवल, पोल लगायतका उपकरण समयमै उपलब्ध गराउने र कानुनी परिधिभित्र रहेर स्वतन्त्रपूर्वक काम गर्न दिने प्रतिबद्धता जनाएको छ । सम्झौताको अनुगमन र मूल्याङकनका लागि प्रभावकारी प्रणाली बनाइने प्राधिकरणले बताएको छ । विद्युतीय सुरक्षा, आफ्नो कार्यालय अन्तर्गत ग्रामिण विद्युतीकरण, गुणस्तरीय र भरपर्दो विद्युत आपूर्ति लगायतका विषयलाई सम्झौतामामा समेटिएको छ । प्राधिकरणले चुहावट नियन्त्रणका लागि चोरी नियन्त्रण गर्ने,महशुल बक्यौता असुलीमा कडाइ गर्ने, प्राविधिक चुहावट घटाउन ट्रान्सफर्मर, बितरण लाइन तथा सबस्टेसनको सुदृढीकरण तथा थप गर्ने लगायतका काम अभियानकै रुपमा चलाइरहेको छ । प्राधिकरणले गैर प्राविधिक चुहावट नियन्त्रणका लागि चोरी नियन्त्रण गर्ने,महशुल बक्यौता असुलीमा कडाइ गर्ने, मिटर वाईपास तथा हुकिङ गरी चोरी गर्नेलाई कडा कारवाही गर्ने, बन्द मिटर फेर्ने, मिटर लिन प्रोत्साहित गर्ने मिटर रिडिङ नभएको (स्टक युनिट) ग्राहकको पहिचान गर्ने लागयतका काम अभियानकै रुपमा चलाएको हो । मिटर लिन प्रोत्साहित गर्न सुकुम्वासीलाई पनि मीटर सहज रुपमा दिने, स्थानीय तहको सिफारिस विनानै मिटर जडान गर्ने, अति विपन्नहरुलाई निशुल्क मिटर वितरण गरिरहेको छ ।
अफगानिस्तानको मस्जिदमा भएको विस्फोटनमा ६२ जनाको मृत्यु
जुबा । अफगानिस्तानको नन्गाहार प्रान्तका रहेको एक मस्जिदमा शुक्रबार भएको विस्फोटनमा परी ६२ जनाको मृत्यु भएको छ । देशको पूर्वी भागमा पर्ने नन्गाहर प्रान्तमा अवस्थित मस्जिदको छत नै खस्नेगरी भएको उक्त विस्फोटमा कैयौँ घाइते भएका छन् । उक्त प्रान्तका प्रान्तीय प्रवक्ताले मस्जिदमा भएको विस्फोटनमा कम्तीमा ६२ जनाको मृत्यु भएको पुष्टी गरेका छन् । संयुक्त राष्ट्रसंघले अफगानिस्तानमा हिंसाको स्तर अस्वीकार्य भएको जनाएको भोलिपल्ट यो विस्फोट भएको हो । राष्ट्रसंघका अनुसार जुलाई र सेप्टेम्बरको बीचमा अफगानिस्तानमा ज्यान गुमाउने गैरसैनिकको संख्या ११ सय ७४ थियो । गत शुक्रबार प्रार्थना भइरहेका बेला विस्फोटन भएको बताइएको छ । उक्त विस्फोटन कसले गराएको भन्ने अझै स्पष्ट भएको छैन । तर उक्त क्षेत्रमा तालिबान र इस्लामिक स्टेट (आइएस) दुवै समूह सक्रिय छन् । घटनामा परी कम्तीमा ३३ जना घाइते भएका प्रान्तीय प्रवक्ता अट्टौल्लाह खोग्यानीले बताए । प्रान्तीय राजधानी जलालाबाददेखि ५० किलोमिटर टाढा हास्का मिना भन्ने जिल्लामा रहेको मस्जिदमा सो विस्फोटन भएको हो । प्रत्यक्षदर्शीहरूले मस्जिदको छत खस्नुअघि ठूलो आवाजसहितको विस्फोटनको आवाज सुनेको बताएका छन् । विस्फोटनका बेला ३ सय ५० भन्दा बढी व्यक्ति मस्जिदमा रहेका स्थानीय बासिन्दा ओमार घोर्जाङ्ले जानकारी दिए । उनले विस्फोटनपछिको घटनामा परी केहीको घटनास्थलमै मृत्यु भएको र घाइतेहरुलाई एम्बुलेन्समा राखेर लगेको आफुहरुले देखेको बताए । दर्दनाक घटनाप्रति संयुक्त राष्ट्रसंघ लगायतका अन्तर्राष्ट्रिय निकाय र विभिन्न देशहरुले चर्को आलोचना गरेका छन् । उनीहरुले यस्ता विभत्स घटनाले कसैको पनि हित नहुने भएकाले यस्ता क्रियाकलाप रोक्न आग्रह पनि गरेका छन् । रासस/एएफपी
म्यान्माबाट नेपाललाई बुद्धका ३० मूर्ति प्रदान
म्यान्मा । यङ्गोनस्थित सितागु अन्तरर्राष्ट्रिय बौद्ध प्रतिष्ठानले नेपाललाई गौतम बुद्धका ३० मूर्ति प्रदान गरेको छ । प्रतिष्ठानका संस्थापक सितागु सायदले राष्ट्रपति विद्यादेवी भण्डारी, परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली र लुम्बिनी विकास कोषका कोषाध्यक्ष सुरेन्द्र शाक्यमार्फत बुद्धका विभिन्न मुद्राका मूर्ति हस्तान्तरण गरेका हुन् । उक्त अवसरमा परराष्ट्रमन्त्री ज्ञवालीले लुम्बिनीको विकासमा संयुक्त राष्ट्र सङ्घका महासचिव ऊ थान्त(म्यान्मा)को योगदान भुल्न नसकिने बताउँदै ती मूर्ति नेपाल म्यान्मा दिगो सम्बन्धको प्रतीक भएको स्पष्ट पारे । उनले साझा संस्कृति र दर्शन बोकेका नेपाल र म्यान्माबीच सम्बन्ध अझ प्रगाढ हुने पनि बताए । बुद्धका शान्ति, करुणा, मैत्री, अहिंसाका सिद्धान्त अझै सान्दर्भिक भएको बताउँदै नेपाल भ्रमण वर्षमा नेपाल र खासगरी लुम्बिनी आउन म्यान्मालीलाई आग्रह गरेका थिए । म्यान्माका धार्मिक मामिला तथा संस्कृतिमन्त्री थुरा आङ कोले बुद्धका मूर्ति नेपाल म्यान्मा सम्बन्धका प्रतीक हुने बताए । प्रतिष्ठानका संस्थापक भिक्षु सायदले बुद्धले बुद्धत्व प्राप्त गरेपछि विभिन्न ठाउँमा बौद्धधर्मको प्रचारप्रसारका लागि बुद्ध जान नसकेको स्थानहरुमा बुद्धका मूर्ति लगिएको र ती मूर्तिका प्रतिकृति फिर्ता गरी पुनः नेपाललाई दिने काम भएको जानकारी दिए । कोषका कोषाध्यक्ष सुरेन्द्र शाक्यले बुद्धका ती मूर्ति लुम्बिनीस्थित सङ्ग्रहालयमा संरक्षण गरी राखिने प्रतिबद्धता व्यक्त गरे । सो अवसरमा परराष्ट्र सचिव शङ्करदास वैरागी, राष्ट्रपति कार्यालयका सचिव डा.हरि पौडेल, राष्ट्रपतिका प्रमुख स्वकीय सचिव डा.भेषराज अधिकारी, नेपालका लागि म्यान्माका राजदूत भीमकृष्ण उदास तथा मन्त्रालय र राष्ट्रपति कार्यालयका उच्चपदस्थ पदाधिकारीलगायत प्रतिनिधिमण्डलका सदस्यको सहभागिता थियो । रासस
दरबार हाइस्कूल पुनःनिर्माणका ८० प्रतिशत, आगामी माघसम्ममा काम सकिने लक्ष्य
काठमाडौं । निर्धारित समयमै काम सक्ने गरी रानीपोखरीस्थित ऐतिहासिक दरबार हाइस्कूल (भानु माध्यमिक विद्यालय)को पुनःनिर्माण काम ८० प्रतिशत सकिएको छ । चीन सरकारको पूर्ण सहयोगमा निर्माण गरिएको यस भवनको ठेक्का चिनियाँ कम्पनी साङ्घाई कन्स्ट्रक्सनले लिएको छ । तोकिएको समयमै सक्ने गरी चीन र नेपालका गरी दैनिक एक सय कामदारले काम गरिरहेका छन् । निर्माणको कामअन्तर्गत अहिले रङ्गरोगनको कम भइरहेको छ । आगामी माघ महिनासम्ममा निर्माणको सबै काम सकिने जनाइएको छ । ८५ करोड रुपैयाँको लागतमा नौ रोपनी जमीनमा निर्माण गर्न लागिएको यो विद्यालयको भवन चारतले र ४० कक्षाकोठे हुने भएको छ । यस भवनको नमूना ‘चाइना एभिएसन प्लानिङ एण्ड डिजाइनिङ इन्स्टिच्युट’ले गरेको हो । निर्माण व्यवस्थापक राजेन्द्र केसीले निर्माण शुरु भएको १९ महीनामै नेपाल सरकारलाई भवन हस्तान्तरण गर्ने गरी काम अघि बढिरहेको बताए । वि.सं २०७२ बैशाख १२ गते गएको भूकम्पले क्षति पु¥याएको उक्त हाइस्कूल को पुनःनिर्माणको शिलान्यास गत साउन १८ गते भएको थियो । विसं १९१० मा राणाका छोराछोरी पढाउन तत्कालीन प्रधानमन्त्री जङ्गबहादुर राणाको पालामा सो विद्यालय स्थापना गरिएको थियो । विसं १९६४ मा संस्कृत पढ्नका लागि मात्र सर्वसाधारणका छोराछोरीलाई पनि खुला गरिएको सो विद्यालयमा विसं २०४८ देखि अन्य विषय पनि पाउने भएका थिए । वि.सं २०३० मा राष्ट्रिय शिक्षा पद्धति ऐन लागू भएपछि उक्त विद्यालय जिल्ला शिक्षा कार्यालयमार्फत सञ्चालन हुँदै आएको छ । अहिले विद्यालय निर्माण गर्दा बाहिरी आवरण यसअघिको जस्तै देखिए पनि भित्र आधुनिक सामग्री प्रयोग गरिने बताइएको छ । निर्माण गर्दा माटो, इँटा र सुर्खी, माटो र चुना प्रयोग भएकामा मर्मतमा भने सिमेन्ट प्रयोग गरिएको थियो । भूकम्प अघि उक्त भवनमा भानु मावि र संस्कृत मावि पनि सञ्चालित थियो । हाल ती दुवै विद्यालयमा गरी ३०० विद्यार्थी अध्ययनरत छन् भने ३५ शिक्षक कार्यरत छन् । ती विद्यार्थीलाई अहिले वाल्मिकी विद्यापीठको खाली स्थानमा टहरा बनाएर पठनपाठन गराइएको छ । लामो समय काठमाडौँ महानगरपालिका र पुरातत्व विभागबीच नक्सापासको विषयमा कुरा नमिलेकाले भूकम्प गएको तीन वर्षपछि मात्रै यस विद्यालयको पुनःनिर्माणको काम शुरु भएको हो । चिनियाँ सरकारसँग भूकम्पका कारण अतिप्रभावित १४ जिल्लाका एक–एक र अन्य तीन जिल्लामा गरी १७ विद्यालय निर्माण गर्ने सहमति भएको थियो । गोरखा भूकम्पका कारण सात हजार ५ सय विद्यालयमा क्षति पुगेको र हालसम्म तीन हजार ६ सय विद्यालय भवन निर्माण भइसकेको राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले जनाएकोे छ । एउटा मावि विद्यालय सञ्चालन हुनका लागि ग्रामीण क्षेत्रको प्रत्येक कक्षामा ४० र शहरमा ५५ विद्यार्थी रहनुपर्ने कानूनी व्यवस्था रहको छ । रासस
पश्चिमी वायुको प्रभावले देशभर चिसो बढ्यो
काठमाडौं । पश्चिमी वायुको प्रभावले देशभर आङ्शिकदेखि सामान्य बदली भई चिसो बढेको छ । उक्त वायुको प्रभावले देशका उच्च पहाडी भू–भागका केही स्थानमा हल्का हिमपात र पहाडी भेगका केही स्थानमा क्षणिक वर्षाको सम्भावना रहेको मौसमपूर्वानुमान महाशाखाले जनाएको छ । मनसुन बाहिरिएसँगै निरन्तर न्यूनतम तापक्रम घट्नेक्रम शुरु भएकाले चिसो महसुस भएको महाशाखाका मौसमविद् गङ्गा नगरकोटीले बताउनुभयो । राति देशका पूर्वी भू–भागमा आङ्शिकदेखि सामान्य बदली रही मध्य तथा पश्चिमी भू–भागमा आङ्शिक बदली भई मध्यपहाडी भू–भागका एक/दुई स्थानमा वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । आइतबार देशभर आङ्शिकदेखि सामान्य बदली रही देशका पूर्वी र पहाडी भू–भागका एक÷दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको बताइएको छ । त्यस्तै सोमबार देशका मध्य तथा पूर्वी भू–भागमा आङ्शिकदेखि सामान्य बदली रही पहाडका केही स्थानमा क्षणिक वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । महाशाखाको पछिल्लो विवरणअनुसार आज काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम १५.५ डिग्री र अधिकतम तापक्रम २५.२ डिग्री सेल्सियस रहेको छ । पोखराको न्यूनतम तापक्रम १८.२ र अधिकमत तापक्रम २८.० डिग्री रहेको छ । सबैभन्दा कम जुम्लाको न्यूनतम तापक्रम ६.५ डिग्री सेल्सियस छ । रासस
शेयर बजारका ८१ ओटा कम्पनी नेप्सेको कारबाहीमा, अब के हुन्छ ?
काठमाडौं । दोस्रो बजारमा सूचीकृत ८१ कम्पनीहरु नेपाल स्टक एक्सचेञ्जको कारबाहीमा परेका छन् । नियमानुसार समयभित्र वार्षिक नबीकरण शुल्क नबुझाएसछि उनीहरु कारबाहीमा परेको नेपाल स्टक एक्सचेञ्जले जनाएको छ । सबै कम्पनीहरुको सूचीकरण स्थगित गरिएको छ । कारबाहीमा पर्ने कम्पनीहरुमा १९ ओटा माइक्रोफाइनान्स कम्पनी, १८ ओटा विकास बैंक, १३ ओटा हाइड्रोपावर कम्पनी, १२ ओटा फाइनान्स कम्पनी, ११ ओटा उत्पादनमूलक कम्पनी, २/२ ओटा इन्स्योरेन्स, ट्रेडिङ, होटल र अन्य समूहका कम्पनी छन् । कारबाहीमा पर्नेमा नेपालकै सबैभन्दा धेरै बजार पुँजीकरणभएको नेपाल टेलिकमदेखि चर्चित विकास बैंकहरु, बीमा कम्पनीहरु समेत छन् । नेप्सेले सूचीकरण स्थगित गरेसँगै ८१ ओटै कम्पनीका कारोबारहरु स्वतः रोक्का हुनेछन् । नेप्सेलाई आवश्यक शुल्क बुझाएर सूचीकरण स्थगित फुकुवा गरेपछि मात्रै ती कम्पनीहरुका कारोबार सूचारु हुनेछन् । यसो हुँदा धेरैजसो कम्पनीहरुको कारोबार आइतबार हुनेछैन । नेप्सेले धितोपत्र सूचीकरण नियमावली २०७५ को विनियम (१) (क) बमोजिम सूचीकरण स्थगन गरेको जनाएको छ । उक्त विनियममा प्रत्येक आर्थिक वर्ष सकिएको ३ महिनाभित्र सूचीकृत कम्पनीहरुले वार्षिक नवीकरण नबुझाएमा त्यस्तो कम्पनीहरुको धितोपत्र बजारको सूचीकरण स्थगित गर्न सकिने उल्लेख गरिएको छ । [pdf id=176078]
बजार पुँजीकरणमा एनआईशी फेरि आठाैं स्थानमा, १२००% बढ्दा पनि कारोबार अर्ब पुगेन
काठमाडौं । गत साता शेयर बजारको कारोबार करिब १२०० प्रतिशत अर्थात् १२ गुणाले बढ्यो । अघिल्लो साता ६ करोड ३८ लाखमा सीमित भएको बजारको कारोबार ११.८५ गुणाले बढेर ८२ करोड पुगेको हो । यद्यपि ४ दिनको कारोबार पनि १ अर्ब पुग्न भने सकेन । दशैं सकिएपछि खुलेको बजारमा अझै लगानीकर्ताहरु सक्रिय नुहँदा कारोबार बढ्न नसककाे हो । बजारमा यो साता एनआईशी एशिया बैंकले अघिल्लो साता कृषि विकास बैंकले लिएको आठौं सर्वाधिक बजार पुँजीकरण भएको कम्पनीको स्थान फेरि हात पारेको छ । अघिल्लो साता एनआईशी एशिया बैंक नवौं स्थानमा थियो । अरु स्थानमा भने कुनै परिवर्तन भएकाे छैन ।
एनआरएनएका नवनिर्वाचित पदाधिकारीद्वारा सपथ ग्रहण
काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) का नवनिर्वाचित पदाधिकारीहरुको सपथ ग्रहण सम्पन्न भएको छ । शुक्रबार संघले केन्द्रीय कार्यालय बालुवाटारमा अायोजना गरेको कार्यक्रममा प्रमुख निर्वाचन अायुक्त शिवप्रसाद रिजालले सयुंक्त रुपमा पदभार तथा गोपनियताको सपथ गराए । कार्यक्रममा निर्वाचित सम्पूर्ण पदाधिकारीलाई प्रमाणपत्र पनि वितरण गरिएको थियो । कार्यक्रममा पूर्व अध्यक्षहरुको समेत सहभागिता रहेको थियो । पूर्व अध्ययक्ष शेष घलेले नयाँँ कार्यसमितिलाई बधाइका साथै अझ शसक्त र सामाजिक संस्थाका रुपले काम गर्न अाग्रह गरे । संघको अध्ययक्षमा कुल आचार्यलाई हराउँदै कुमार पन्त विजयी भएका हुन् । पन्तले १२१७ मत ल्याउँदा आचार्यले १०७० मत ल्याए । यस्तै उपाध्यक्षमा डा. बद्री केसी, अर्जुन कुमार श्रेष्ठ, सोनाम लामा, मन केसी र रविना थापा विजयी भएका छन् । यसैगरी महासचिवमा हेमराज शर्मा र कोषाध्यक्षमा पन्त महेशकुमार श्रेष्ठ विजयी भएका छन् भने सचिवमा गौरी जोशी र आरके शर्मा विजयी भएका छन् । यस्तै, सह–कोषाध्यक्षमा लोक दाहाल विजयी भएका छन् । यसैगरी युराेप संयाेजकमा नारायण प्रसाद आचार्य विजयी हुँदा उपसंयोजकमा कृष्ण प्रसाद तिमल्सिना, शुक्रराज न्याैपाने र मुक्त बहादुर गुरुङ विजयी भए । यसैगरी महिला संयोजकमा भोमादेवी लिम्बू, युवा संयोजकमा हिमाल गुरुङ, मध्यपूर्व क्षेत्रको संयोजकमा प्रविन गुरुङ, उपसंयोजकमा मनोजकुमार श्रेष्ठ र राजेन्द्र अर्याल, महिला संयोजकमा सुमित्रादेवी पौडेर र युवा संयोजकमा राजु रेग्मी चयन भए । अफ्रिका क्षेत्रको संयोजकमा रोशन थापा र महिला संयोजकमा मनकला थापा निर्वाचित भएका छन् । एसिया प्रशान्त क्षेत्रको संयोजकमा गोविन्द श्रेष्ठ, उपक्षेत्रीय संयोजकमा खगेन्द्र न्यौपाने र पारसमणि पोखरेल, महिला संयोजकमा अमृता थापा र युवा संयोजकमा दीपकप्रसाद कँडेल चयन भएका छन् । अमेरिका क्षेत्रको संयोजकमा राजन त्रिपाठी, उपसंयोजकमा रामसी पोखरेल विजयी भएका छन् । त्यस्तै महिला संयोजकमा उमा कार्की थापा र युवा संयोजकमा विमला सापकोटा चयन भएका छन् । ओसिएन क्षेत्रको संयोजकमा होमनाथ पाण्डे, उपसंयोजकमा नवीन कँडेल विजयी भएका छन्। त्यस्तै महिला संयोजकमा जानकी पौडेल र युवा संयोजकमा राजकुमार थपलिया विजयी भएका छन् । बिहीबार राति ११ बजेदेखि सुरु मतगणनाकाे नतिजा शुक्रबार मध्यान्ह आएको हो ।