विकासन्युज

गुहेश्वरीस्थित फोहोर पानी प्रशोधन केन्द्रको खानेपानी मन्त्री मगरले गरिन् निरीक्षण

काठमाडौँ । खानेपानी तथा सरसफाई मन्त्री बिना मगरले गुहेश्वरीस्थित फोहोर पानी प्रशोधन केन्द्र आयोजनाको निरीक्षण गरेकी छिन् । खानेपानी मन्त्रालय अन्र्तगतको आयोजना कार्यान्वयन निर्देशनालयले गुहेश्वरीमा निर्माण गरिरहेको फोहोर पानी प्रशोधन केन्द्र निर्माण अन्तिम चरणमा पुग्दै गर्दा मन्त्री मगरले शनिबार स्थलगत निरीक्षण गरेकी हुन् । निरीक्षणपछि उनले पशुपति क्षेत्रस्थित बागमति नदीमा बग्ने पानीलाई सफा पानी बनाउने लक्ष्य अन्तिम चरणमा पुगेको जानकारी दिइन् । आयोजनाको ९५ प्रतिशत काम सम्पन्न भईसकेको भन्दै उहाँले सबैको चाहाना अनुसार बागमतिलाई प्राण भरेर कंचन पानी बग्ने व्यवस्था मिलाउने बताइन् । उनले बढ्दो शहरीकरणले सबै शहरमा ढल व्यवस्थापनको समस्या बढ्दै गएको उल्लेख गर्दै काठमाण्डौमा भने चुनौतिपूर्ण नै बनेको बताइन् । उनले फोहरको व्यवस्थापकिय पक्ष प्रति मन्त्रालय गम्भीर रहेको भन्दै बागमतीको महत्वलाई कायम राख्दै जीवन्त बनाई सबै किसिमको धार्मिक संस्कारलाई सहजीकरण हुने गरि व्यवस्था मिलाईने आश्वासन पनि दिइन् । नदी सफाइका लागि अब गुहेश्वरीमा फोहोरपानी प्रशोधन केन्द्र बन्दैछ, जहाँ गोकर्णदेखि गुहेश्वरीसम्मको ढल जोडिनेछ । बाँकी सबै काम आगामी डिसेम्बरसम्म सकेर उद्घाटन गर्ने लक्ष्य रहेको खानेपानी मन्त्री मगरले जानकारी दिइन् । बाग्मतीलाई ढलरहित बनाउने अभियानमा यो निकै महत्वपूर्ण आयोजना भएको भन्दै मन्त्री मगरले भनिन,-‘पशुपतिनाथका भक्तजनहरुले बाग्मतीको पानी पिउन नसके पनि नुहाउनसक्ने बन्नेछ ।’ अहिले काठमाडौं उपत्यकामा घरघरबाट निस्कने ढल सिधै नदीमा मिसाइन्छ । यसले पानीकास्रोत प्रदुषित मात्रै भएको छैन, काठमाडौंको सभ्यतामाथि नै प्रश्न उठेको छ । ढललाई प्रशोधन केन्द्रसम्म पुर्याएर विभिन्न चरणमा प्रशोधन गरिनेछ । त्यसक्रममा ग्यास समेत निस्कनेछ । त्यो ग्यास प्रयोग गरेर बिजुली निकाल्ने योजना छ । गुह्येश्वरीबाट मात्र ३२० किलोवाट बिजुली निकाल्ने बताइएको छ । गुहेश्वरीमा दैनिक ३ करोड २४ लाख लिटर फोहोर पानी प्रशोधन गर्न सक्ने प्लान्ट बनेको छ । २ अर्ब ५५ करोड रुपैयाँ लागत रहेको गुहेश्वरीको प्रशोधन केन्द्रको निर्माण भारतीय कम्पनी भा टेक वाबाग लिमिटेडले गरिररहेको छ ।

नेपालमा आर्टिफिसयल इन्टिलिजेन्स सेवा बिस्तार, बैंकिङ प्रणालीको जोखिम न्यूनीकरणमा सहयोग पुर्याउने

काठमाडौँ । सूचना प्रविधि क्षेत्रमा काम गर्दै आएको अमेरिकी कम्पनी सिथोसले नेपालमा पनि सेवा विस्तार गर्ने भएको छ । अमेरिकामा केन्द्रीय कार्यालय भएको सिथोसले भारतमा पनि सेवा प्रदान गर्दै आएको छ । नेपालको बैंकिङ क्षेत्र मार्फत सूचना प्रविधि तथा आर्टिफिसियल इन्टिलिजेन्स (एआई) को सेवा प्रदान गर्ने गरी नेपाल भित्रिएको राजधानीमा आयोजित कार्यक्रममा बताइयो । कार्यक्रममा सिथोस अमेरिकाका अध्यक्ष खगेन्द्र जिसीले आर्टिफिसियल इन्टिलिजेन्स नेपालमा ज्यादै आवश्वक भएकाले सिथोस नेपाल प्रवेश गरेको बताए । नेपालको बैंकिङ प्रणालीमा रिस्क मेनेजमेण्ट, ह्याकिङ लगायतका समस्या न्यूनीकरणमा सिथोसको एआई प्रणालीले सहयोग पुर्याउने विश्वास जिसीको छ । कम्पनीले बैंकिङ क्षेत्रमा आर्टिफिसियल इन्टिलिजेन्स मार्फत ग्राहकलाई सेवा प्रदान गर्छ । त्यसका साथै कर्जाको भ्यालुएसन र कर्जा दिन मिल्ने रकमलाई समेत गणना गरी छिटो छरीतो र प्रभावकारी सेवा प्रदान गर्छ । सिथोसले बैंकिङ क्षेत्रको नियमन, परिपालना तथा सम्भावीत ठगीलाइ पहिचान तथा नियन्त्रण गर्ने प्रविधिक सेवा प्रदान गर्ने सिथोस नेपालका अध्यक्ष दक्ष पौडेल सुवासले जानकारी दिए । उनले भने–‘सिथोसले बैंकिङ क्षेत्रमा मात्र नभई आर्टिफिसियल इन्टिलिजेन्सले धेरै क्षेत्रको व्यवसाय व्यवस्थापनलाई सरल र सहज बनाईदिने छ, यसले नेपालको बैंकिङ क्षेत्रको प्राविधिक पक्षलाई पनि झनै मजबुत र अझै सरल बनाउन सहयोग गर्नेछ ।’ पौडेलका अनुसार सिथोसले विकास गर्ने एआई बैंकिङ, बिमा, रियलस्टेट, हस्पीटालिटी लगायत विविध क्षेत्र तथा व्यापार व्यवसायमा प्रयोग गरेर खर्च कम गरी आम्दानी वढाउन सकिन्छ । आगामी दिनमा सिथोसले नेपालको सहकारी क्षेत्रमा पनि यो सेवा बिस्तार गर्ने पौडेलले बताए । सिथोसले मार्केट रिसर्चका साथै सेन्टीमेन्ट एनालीसिस, जोखिम व्यवस्थापना, लगानी प्रक्षपण लगायतका सेवाहरु प्रविधिको मद्दत मार्फत प्रदान गर्न सकिने एआइको विकास गरेको छ । सिथोसको एआई सेवा लिने तथा दिने दुबैलाइ प्रविधिको प्रयोग मार्फत सहज, सरल र प्रभावकारी क्रियाकलापका लागि मद्दत गर्छ । यसले औठा छाप, आवाज, तस्वीर, सन्देश, फोन मार्फत सम्बन्धीत व्यक्तिको पहिचान गरी कारोबार गर्नमा सहज गराउने कम्पनीले जनाएको छ । सिथोसले कर्मचारीको उत्पादकत्व वढाउनुका साथै संस्थागत खर्चमा कमी ल्याइ सेवा प्रदान गर्न मुख्य भूमिका निर्वाह गर्ने सिथोस नेपालका विज्ञ केएन मिश्राको भनाई छ । भारतमा पनि सिथोसले विकास गरेको एआईलाई बैंकिङ, बीमा, रियलस्टेट, हस्पीटालिटी लगायत क्षेत्रले प्रयोग गरिरहेको छन् भने अमेरिकामा यसको प्रयोग अझै वढी छ ।

१२ अर्ब लगानी भित्र्याउन काम सुरु गरिसक्यौंः एनआरएनएका अध्यक्ष कुमार पन्त

काठमाडौँ । गैर आवासीय नेपाली संघ (एनआरएनए) का नवनिर्वाचित पदाधिकारीहरुले एक स्वरमा नेपाललाई समृद्ध बनाउनको लागि आफ्नो प्रतिबद्धता जनाएका छन् । शनिबार नवनिर्वाचित पदाधिकारीलाई राजधानीमा आयोजित सम्मान तथा बधाई कार्यक्रममा बोल्दै उनीहरुले यस्तो प्रतिबद्धता जनाएका हुन् । कार्यक्रममा बोल्दै नवनिर्वाचित अध्यक्ष कुमार पन्तले मुलुक समृद्ध बनाउनको लागि गैरआवासीय नेपालीहरुले अहम भूमिका खेल्दै आएकोले आगामी दिनमा नेपालको विकास र समृद्धिको लागि झन ठूलो योगदान पुर्याउने विश्वास दिलाए । उनले भने,‘हामी यो देशको विकासमा केही गर्छौं भनेर लागिरहेका छौं । नयाँ भिजनसहित हाम्रो फ्रेश टिम निर्वाचित भएर आएको छ ।’ पन्तले आफूहरुसँग अत्यन्त छोटो समय रहेकोले आफ्नो २ वर्षे कार्यकालमा यसअघि गरेका वाचा तथा प्रतिबद्धताहरु पूरा गरेरै छोड्ने पनि स्पष्ट पारे । उनले भने,‘हामीसँग अब टाईम लिङगरिङ गर्ने छुट छैन् । यो २४ महिनामा हामीले गरेका सबै वाचा तथा प्रतिबद्धताहरु पूरा गर्नुपर्छ । हामी आजैबाट दत्तचित्त भएर लागिपरेका छौं ।’ अध्यक्ष पन्तले मुलुकमा रोजगारीको अवसर सिर्जना गर्नको लागि एनआरएनएले ठूलो भूमिका निर्वाह गर्ने पनि बताए । उनले भने,‘गैरआवासीय नेपालीहरुले विदेशमा हाँसिल गरेको ज्ञान, सिप, पुँजी र लगानी नेपाल भित्र्याउनेछौं । हामी यो देशको विकास र समृद्धिको लागि सामूहिक लगानी ल्याउँछौं । पछिल्लो समय हामीले नेपालमा सामूहिक लगानी सुरु गरिसकेका छौं । यसैको उदाहरण हो २७ मेगावाटको तोर्दी खोला हाईड्रोपावर, जुन हामीले निर्माण सम्पन्न गरिसकेका छौं ।’ त्यस्तै, नेपाल सरकारसँग १२ अर्व लगानी भित्र्याउने भनेर एमओयु पनि गरिसकेको उनले सुनाए । विश्वभरि छरिएर रहेका ८० लाख गैरआवासी नेपालीहरुले मातृभूमी नेपाल समद्ध र धनी भएको हेर्न चाहेको सुनाउँदै त्यसकै लागि काम गर्ने पनि पन्तले बताए । उनले भने,‘हामी मुलुक समृद्ध बनाउने अभियानमा होमिएका छौं । अहिले स्वर्णिम अवस्था हो । अहिलेको पुस्ताले केही नगरे आउने पुस्ताले हामीलाई धिक्कार्नेछ । हामीले अर्को पुस्ताले वाह भन्ने काम गर्नुपर्छ ।’ नवनिर्वाचित पदाधिकारी उच्च मनोबलका साथ आएकोले नेपाललाई समृद्ध बनाउनेगरि काम गर्ने र नेपालको विकसित हुने भाग्य रहेको पनि उनले बताए । नवनिर्वाचित उपाध्यक्ष मन केसीले आफूहरुले दिर्घकालिन योजनासहित काम गर्ने बताए । त्यस्तै, अर्का उपाध्यक्ष सोनाम लामाले आफूले सुरुदेखि नै दोहोरो नागरिकताको निरन्तरताको बारेमा वकालत गरिरहेकोले उक्त काम पूरा गर्नको लागि सदैव प्रयास गर्ने स्पष्ट पारे । कार्यक्रममा अर्का उपाध्यक्ष अर्जुन कुमार श्रेष्ठले अहिलेको नयाँ निर्वाचित टिमले धेरै कुरा बोल्नेभन्दा पनि बोलेका कुरा पूरा गर्ने र पूरा गर्नसक्ने कुरामात्रै बोल्ने स्पष्ट पारे । कार्यक्रममा नवनिर्वाचित महासचिव डा. हेमराज शर्माले नवौं विश्व सम्मेलनमा निर्वाचनको क्रममा उत्पन्न समस्याका कारण संघको छविमा केही प्रश्न उठेको भएपनि त्यसलाई छिटपुट घटनाको रुपमा चित्रण गरे । नवनिर्वाचित सचिव आर.के. शर्माले मध्यपुर्व एशियामा रहेका श्रमिक नेपालीहरुको समस्या समाधानको लागि आफूहरु सधैं लागिपर्ने बताए । त्यस्तै, सह–कोषाध्यक्ष लोक दाहालले पनि आफूहरु देशको विकास र समृद्धिमा एकजुट भएर लागिपर्ने बताए । अमेरिका क्षेत्रीय महिला संयोजक उमा कार्की थापाले विदेशमा बसेपनि आफूहरुको मन, मस्तिष्कमा नेपाल रहेको सुनाउँदै मातृभुमीको विकासमा जहिल्यैपनि जोडिने विश्वास दिलाईन् । त्यस्तै, एशिया प्यासिफिक डेपुटी रिजनल कोअर्डिनेटर खगेन्द्र न्यौपानेले पनि श्रमिकको समस्या समाधानको लागि आफूहरुले पहल गर्ने र नेपालको विकास र समृद्धिमा टेवा पुर्याउने बचनबद्धता व्यक्त गरे । एसिया प्यासिफिक क्षेत्रीय संयोजक रोविन्द प्रसाद श्रेष्ठ ‘गोविन्द’ ले श्रमिकको मुद्दालाई आफूहरुले जोडदार रुपमा उठाउने र श्रमिक फण्ड बलियो बनाउने बताए ।

९ अर्ब ६७ करोड बराबरको हिमालयन बैंकको सेयर किनबेच हुँदै, सरकारले कति पाउँला राजश्व ?

काठमाडौं । बजार मूल्यका आधारमा हिमालयन बैंकको करिव ९ अर्ब ६७ करोड रुपैयाँ मूल्य बराबरको सेयर कारोबार हुन लागेको छ । उक्त सेयर बेलायतको डेभलपमेन्ट फाइनान्स इन्स्टिच्युशन, सीडीसीले किन्न लागेको हो । हिमालयन बैंकको १ करोड ७० लाख ४० हजार कित्ता सेयर सीडीसीले किन्दै छ । तर कति मूल्यमा कारोबार हुन लागेको हो त्यो खुलाईएको छैन । नेप्सेमा १८० दिन कारोबार भएको औसत मूल्य प्रतिकित्ता ५६७ रुपैयाँ ९३ पैसा छ । औसत मूल्यका आधारमा सेयर कारोबार हुने हो भने ९ अर्ब ६७ करोड ८७ लाख २० हजार रुपैयाँ पर्छ । नेपालमा साधारण सेयरभन्दा संस्थापक सेयर कम मूल्यमा कारोबार हुने गरेको छ । त्यस्तै, ठूलो परिणाममा सेयर कारोबार हुँदा औसत मूल्य भन्दा कम मूल्यमा कारोबार हुने गरेको छ । यो कारोबार कति मूल्यमा हुन लागेको हो र यसबाट सरकारले कति राजश्व प्राप्त गर्छ भन्ने अहिलेसम्म आधिकारिक रुपमा कुनै पक्षले बोलेको छैन । पाकिस्तानको हविव बैंक र बेलायतको सीडीसीबीच हुने कारोबार नेपालमा नै भए नेपाल सरकारले यसबाट करोडौं राजश्व प्राप्त गर्छ । तर एनसेलको जस्तै विदेशमा नै कारोबार भएको नेपाल सरकार ठगिने सम्भावना छ । हिमालय बैंकको २० प्रतिशत सेयर हिमालयन बैंक स्थापनादेखि नै २० प्रतिशत सेयर धारण गरकोे पाकिस्तानको हविल बैंकले आफ्नो सेयर सीडीसीलाई बेच्न लागेको हो । कारोबारको लागि नेपाल राष्ट्र बैंकले स्वीकृत गरेको छ । सेयर बिक्री प्रक्रिया अन्तिम चरणमा पुगको र यसै साता हिमालयन बैंक सञ्चालक समितिको बैठकले सहमतिको अन्तिम निर्णय दिने तयारी भईरहेको बैंक स्रोतले बतायो । ‘आगामी बुधबार बस्ने सञ्चालक समितिको बैठकले सेयर कारोबारको लागि सहमति दिन सक्छ’ स्रोतले भन्यो । उक्त सेयर कारोबारका लागि बैंकका सबैं प्रवद्धक र राष्ट्र बैंकबाट सहमति लिइसकेकोले सञ्चालक समितिको निर्णयसँगै लेनदेन कारोबार हुने बताइएको छ । सीडीसी बेलायतको प्रशिद्ध वित्तीय संस्था हो । यसमा ६० प्रतिशत सेयर बेलायतका सरकारी निकायहरुको छ भने ४० प्रतिशत सेयर विश्वका विभिन्न बैंक तथा वित्तीय संस्थाको रहेको छ । हविव बैंक पनि सीडीसीको सेयर होल्डर भएकोले यो कारोबार केही सहज भएको स्रोतले बतायो ।

हिंसात्मक प्रदर्शनपछि चिलीमा राष्ट्रपतिद्धारा संकटकालको घोषणा

सान्टियागो, चिली । चिलीको सान्टियागो राज्यमा शुक्रबार संकटकालको घोषणा गरिएको छ ।  मेट्रो टिकटको मूल्यबृद्धि भएको विरोधमा हिंसात्मक आन्दोलन भएको भोलीपल्ट चिलीका राष्ट्रपतिले संकटकालको घोषणा गरेका हुन् । संकटकालघोषणासँगै सुरक्षाको जिम्मेबारी सेनालाई दिइएको अधिकारीहरुले बताएका छन् । शुक्रबार भएको प्रदर्शनका क्रममा प्रहरी र प्रदर्शनकारीकाबीचमा धेरै ठाउँमा झडप भएको थियो । प्रदर्शनकारीले स्टेशन र सवारी साधनहरुमा आक्रमण गरेर क्षति पु¥याएका छन् । प्रदर्शनकारीको तोडफोडका कारण कम्तीमा १६ ओटा बस र दर्जनौ स्टेशनहरु क्षतिग्रस्त भएका छन् । मध्यरातमा राष्ट्रपति सेबास्टीअन पिनेराले संकटकाल लागु गरिएको घोषणा गरे। उनले अहिलेलाई १५ दिनका लागि मात्रै संकटकाल लागु हुने उल्लेख गरेका थिए । रासस/एएफपी

साताको शेयर बजार : अर्ब पनि पुगेन कारोवार

काठमाडौं । दशैंको लामो बिदापछि खुलेको शेयरबजार उतार चढावपूर्ण अवस्थामा नै रही बन्द भयो । चालू आर्थिक वर्षको पहिलो त्रैमासको अन्तिम सातासम्म आइपुग्दा बजारले ओरालोको यात्रा नै तय गर्याे । धितोपत्र बजारमा यस साता कूल १ सय ६० कम्पनीको शेयर कारोवार भए । कूल ३२ लाख ८७ हजार ९ सय ६६ कित्ता शेयर ८० करोड ७५ लाख ५६ हजार ६ सय १२ रुपैयाँ मूल्यमा खरीदबिक्री भए । चिनियाँ राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमणका कारण साताको पहिलो दिन आइतबार सरकारले सार्वजनिक बिदा दिएका कारण बजार बन्द भयो । सोमबारदेखि बिहीबारसम्म खुलेको बजार उकालो लाग्ने अपेक्षा रहे पनि लय समात्न सकेन । सोमबार नेप्से परिसूचक दोहोरो अङ्कले घट्यो । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से १२.०५ विन्दुले घटेर एक हजार १३६.९६ विन्दुमा पुग्यो । कूल १ सय ५४ कम्पनीको आठ लाख ३३ हजार ७५३ कित्ता शेयर २१ करोड ८६ लाख ३५ हजार ६ सय ९१ रुपैयाँ मूल्यमा खरीदबिक्री भए । मङ्गलबार नेप्से परिसूचकमा सामान्य सुधार भयो । सो दिन नेप्से परिसूचक ३.६२ विन्दुले बढेर एक हजार १४०.५८ विन्दुमा पुग्यो । कूल १ सय ५० कम्पनीको सात लाख १९ हजार ३३० कित्ता शेयर २० करोड ९२ लाख ६ हजार ६३१ रुपैयाँ मूल्यमा कारोवार भयो । बुधबार नेप्से परिसूचक पाँच अङ्कले ओरालो लाग्यो । नेप्से ५.०१ अङ्कले घटेर एक हजार १३७.०३ मा पुग्यो । स्टकका अनुसार कूल १ सय ५९ कम्पनीका सात लाख ३६ हजार ८८३ कित्ता शेयर १९ करोड ६६ लाख १८ हजार ९ सय ३६ रुपैयाँमा खरीदबिक्री भए । साताको अन्तिम दिन बिहीबार धितोपत्र बजारमा सामान्य वृद्धि भयो । सो दिन नेप्से परिसूचक ०.७१ अङकले बढेर एक हजार १३७.७५ मा पुग्यो । स्टकका अनुसार सो दिन कूल १ सय ६० कम्पनीका नौ लाख ९८ हजार कित्ता शेयर १८ करोड २९ लाख ९४ हजार ९ सय ५ रुपैयाँमा खरीदबिक्री भए । स्टकमा यस साता मिथिला लघुवित्त वित्तीय संस्थाको ६८ हजार ९४६ कित्ता शेयर लाभांश सूचीकृत भए । बजार पूँजीकरणका आधारमा पनि यस साता नेपाल दूरसञ्चार कम्पनी नै शीर्षस्थानमा रहेको छ । यस्तै नबिल बैंक, नेपाल इन्भेष्टमेन्ट बैंक, स्ट्याण्डर्ड चार्डट बैंक, एभरेष्ट बैंक, हिमालयन बैंक, नेपाल लाइफ इन्स्योरेन्स कम्पनी, एनआईसी एशिया बैंक, कृषि विकास बैंक र एनएमबी बैंक शीर्ष दशमा रहेका छन् । ८२ कम्पनीको कारोवार रोक्का नेपाल स्टक एक्सचेञ्जले धितोपत्र सूचीकरण विनियमावलीअनुसार सूचीकरणको वार्षिक शुल्क नबुझाएका कारण ८२ कम्पनीको कारोवार स्थगित गरेको जनाएको छ । स्टकका सूचीकरणका शाखाका अनुसार लघुवित्त १९, व्यापार तीन, होटल दुई, अन्य दुई उत्पादन ११, विकास बैंक १८, बीमा दुई, वित्त ११ र जलविद्युत्का १३ कम्पनीको कारोवार स्थगित गरेको हो । रासस

प्रदेश सरकारको लगानीमा हेटौँडा–काठमाडौँ सुरुङमार्ग

काठमाडौं । हेटौँडा–काठमाडौँ सुरुङमार्ग प्रदेश नं ३ सरकार आफैँले निर्माण गर्ने भएको छ । प्रदेश सरकारले हेटौँडा काठमाडौँलाई सुरुङमार्गमार्फत जोड्ने तयारीलाई तीव्र पारेको हो । सुरुङमार्गलाई प्रदेश सरकारले आफ्नो पहिलो नीति तथा कार्यक्रममा नै गौैरवको आयोजनाको रुपमा अगाडि सारेको भए पनि निजी कम्पनीको केन्द्र सरकारको सम्झौता अवधि बाँकी नै रहेका कारण पहिलो वर्ष प्रदेशले उक्त मार्ग निर्माण गर्ने आधार बनाउन सकेको थिएन । तर, यस वर्ष भने कानूनी तथा प्राविधिक तयारी पूरा गरेर प्रदेश सरकार आफैँले केन्द्र र स्थानीय तहसँग समेत सहकार्य गर्नेगरी काम शुरु गरेको छ । प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालय स्रोतका अनुसार आगामी तीन महीनाभित्र बोलपत्रसमेत आह्वान गर्ने तयारी भइसकेको छ । तीन वर्षभित्र निर्माण सम्पन्न गरिसक्ने परियोजना निर्माणका लागि रु १२ अर्बसम्म लगानी लाग्ने अनुमान गरिएको छ । भौतिक पूर्वाधार विकासमन्त्रीसमेत रहनुभएका मुख्यमन्त्री डोरमणि पौडेल तथा अन्य मन्त्रहीहरुसमेत सुरुङमार्ग निर्माणको पक्षमा हुनुहुन्छ । प्रदेशको गौरवको आयोजनासमेत भएकाले सरकारको यही कार्यकालमा सम्पन्न हुनेगरी काम थालिने गर्ने तयारी गरिएको मुख्यमन्त्री पौडेलले जानकारी दिए । प्रदेश नं ३ को राजधानी हेटौँडा र देशकै राजधानी काठमाडौँलाई सहज ढङ्गले जोड्ने तथा देशको आर्थिक विकासमा महत्वपूर्ण सहयोग गर्ने भएकाले सुरुङमार्ग निर्माणलाई प्राथमिकता दिइएको मुख्यमन्त्री पौडेलको भनाइ छ । नेपालको दीर्घकालीन विकासको कोसेढुङ्गा हुने विश्वाससहित प्रदेश सरकारले सुरुङमार्गको योजना अगाडि बढाएको भन्दै सो कुन ढाँचामा निर्माण गरिने भन्ने प्राविधिक तयारी सकिएको छ । हाल भीमफेदीदेखि सिस्नेरीसम्म साढे तीन किलोमिटर सुरुङ खनिने तथा हेटौँडा–भीमफेदी सडक र सिस्नेरी काठमाडौँलाई फराकिलो बनाइने योजना रहेको मुख्यमन्त्री पौडेलले बताए । सुरुङमार्ग निर्माणपछि हेटौँडा–काठमाडौँको झञ्झटिलो र घण्टौँको यात्रा समय घटेर एक घण्टामा आउने र देशका प्रायः सबै क्षेत्रबाट काठमाडौँसम्मको यात्रा अवधि तथा आर्थिक बचतसमेत गराउने बताए । सुरुङ राजमार्गले हेटौँडा हुँदै नेपालको सम्पूर्ण पश्चिमी, दक्षिणी र पूर्वी भागलाई जोड्ने र देशको समग्र अर्थतन्त्रलाई उल्लेख्य वृद्धि गर्ने मुख्यमन्त्री पौडेलको भनाइ छ । प्रदेश नं ३ सरकारको परियोजनामध्य सबैभन्दा महत्वपूर्ण परियोजनाको रूपमा रहेको सुरुङमार्ग निर्माण पूर्वको सम्पूर्ण काम लगभग सकिएको र अब तीन महिनाभित्र बोलपत्र प्रक्रियामा जाने भौतिक पूवाधार विकास मन्त्रालयका सचिव तेजराज भट्टले जानकारी दिए । भारतबाट हाल अमलेखगञ्जसम्म आएको पेट्रोलियम पाइपलाइन सुरुङमार्ग हुँदै काठमाडौँ पुर्याउने योजना पनि सुरुङमार्ग निर्माणसँगै जोडेर अगाडि बढाइने योजना रहेको जनाइएको छ । ७२ किलोमिटरमा अमलेखगञ्ज काठमाडौँ पाइपलाइन विस्तार गर्न सकिने मुख्यमन्त्रीका स्वकीय सचिव अनुप पौडेलले बताए । पाइपलाइनले पनि देशको ठूलो ढुवानी खर्च बचत गर्ने उनले बताए । अर्थशास्त्री पौडेलका अनुसार सो मार्गको सञ्चालनपछि देशको इन्धन र स्पेयरपाट्र्समार्फत खर्च हुने वार्षिक रु एक अर्बभन्दा बढी रकम बचत हुने, समय र ऊर्जा यात्राको अवधिसमेत बचत हुने तथा सडक मर्मत लागतमा कटौती हुने, राजधानी काठमाडौँको जनघनत्व विस्तार भइ सन्तुलन कायम हुने, काठमाडौँका उद्योगधन्दामा कम ढुवानीमा कच्चा पदार्थ पु¥याउन सकिने हुँदा उत्पादन लागत कम हुनेलगायत थुप्रै फाइदा रहेको उनको भनाइ छ । सुरुङमार्गको सम्भाव्यता तथा समग्र विषयमा अध्ययन गर्न बनेको विशेष टोलीले आफ्नो प्रतिवेदनसहितको प्रस्तुतीकरण गरेको र तिहारपछि थप सम्पूर्ण तयारीसहितको प्रस्तुतीकरण हुने  जानकारी दिए । रासस

दुहबी–कटहरी ३३ केभी प्रसारण लाइनको काम ४५ दिनभित्रमा सक्ने सहमति

विराटनगर । दुहबी–कटहरी ३३ केभी विद्युत प्रसारण लाइन निर्माण ४५ दिनभित्रमा सक्ने सहमति भएको छ । मोरङको ग्रामथान गाउँपालिकास्थित गिदनीय टोलका स्थानीयले करिब तीन किलोमिटर तार तान्न नदिएपछि निर्माणमा अवरोध भएको थियो । अवरोध हटाउन प्रदेश–१ का मुख्यमन्त्री शेरधन राईले शुक्रबार त्यस क्षेत्रका संघीय सांसद अमनलाल मोदी, प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ,गाउँपालिका अध्यक्ष, उद्योग संगठन मोरंगका अध्यक्ष भीम घिमिरेलगायतसँग छलफल गरेका थिए । छलफलमा प्रसारण लाइन निर्माणको अवरोध हटाउन आवश्यक प्राविधिक पक्षको अध्ययन गरी ४५ दिनभित्रमा निर्माण सक्ने निर्णय गरिएको मुख्यमन्त्री राईले जानकारी दिए । ‘यो प्रसारण लाइन बन्न नसन्दा मोरंगका उद्योग तथा आम उपभोक्तालाई गुणस्तरीय र परपर्दो विद्युत पाउन सकिरहेका छैनन्, त्यसैले विधिसम्वत् रुपमा समस्या समाधान गरी निर्माण तत्काल सुरु गरौं,’उनले भने । ‘तारलाई भूमिगत गर्ने या अन्य विकल्प के के हुन्छन् प्राविधिक विकल्पको तत्काल खोजी गरी ४५ दिनभित्र काम सम्पन्न गरौं, यसका लागि सम्पूर्ण उपायहरु अपनाइने छ ।’ मुख्य मन्त्री राईले निर्माणमा अवरोध हटेपछि समस्या समाधान गर्न पहल गर्दै यसअघि मोरङ क्षेत्र नम्वर ४ का संघीय सांसद अमनलाल मोदीसहित ग्रामथान गाउँपालिका अध्यक्ष, उद्योगी, व्यवसायी लगायतसँग छलफल गरेका थिए । उक्त छलफलमा संसद मोदीले यो प्रसारण लाइन निर्माणमा आफूले कहिले पनि अपरोध नगरेको प्रष्ट पारे । ‘लाइन निर्माणमा मोदीले पैसा मागेर अवरोध गर्यो भन्ने सम्मका गलत आरोप ममाथि लगाइयो, तर मैलै कोहीसँग पैसा मागेको छैन, लाइन निर्माण हुनुपर्छ भन्दै सुरुबाटै निरन्तर सहयोग गरिरहेको व्यक्तिमाथि झुटो आरोप लगाइयो,’ उनले भने । ‘यस्ता आरोपमा कुनै सत्यता छैन, लाइन निर्माण गर्न तत्काल सुरु गरौं यसमा मेरो पूर्ण सहयोग रहने छ ।’ प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले त्यस क्षेत्रमा विद्युत् आपूर्तिलाई सुधार गर्न पहल गरिने बताए । प्राधिकरणले कहिले पनि प्रसारण लाइन निर्माणमा संघीय सांसदले पैसा मागेर अवरोध गरेको भनेर नभनेको प्रष्ट पारे । ग्रामथाम गाउँपालिका अध्यक्षले प्रसारण लाइन निर्माणमा अवरोध नहुने बताए । प्रसारण लाइनको ग्रामथानको गिदनीय टोलमा ३ किलोमिटर क्षेत्रमा बाहेक सबै स्थानमा लाइन निर्माण भइसकेको छ । सबस्टेसन निर्माण भइसकेको छ । तीन किलोमिटर तार तानिसकिएपछि प्रसारण लाइन र सबस्टेसनको चार्ज गरी संजालमा ल्याइने छ । अहिले कटहरी क्षेत्रमा टंकीसिनबारी र विराटनगर रानी सबस्टेसनको ११ केभी प्रसारण लाइनबाट विद्युत् आपूर्ति भइरहेको छ । टंकिसिनबारी सबस्टेसन अब थप लोड धान्न सक्ने अवस्थामा छैन । दुहबी–कटहरीको ३३ केभी प्रसारण लाइन सञ्चालनमा आउना साथ कटहरी–रंगेली करिडोरमा देखिएको विद्युत् आपूर्तिको समस्या समाधान हन्छ, विराटनगरमा समेत भोल्टेजको समस्या देखिँदैन ।