विकासन्युज

२१ बोरा मारुती सिमेन्ट किन्दा १० ग्राम चाँदीकाे सिक्का सित्तैमा

काठमाडाैं । मारुती सिमेन्टले दिपावली तथा छठ पर्वको शुभ अवसर पारेर आफ्ना उपभोक्ताहरुलाई लक्षित गरी आकर्षक ‘चाँदीको झिलिमिली’ योजना ल्याएको छ । यस योजना अन्तर्गत उपभोक्ताले मारुती सिमेन्टको प्रत्येक २१ बोराको खरिदमा स्योर सट उपहारको रुपमा १० ग्राम चाँदीको सिक्का तुरुन्तै प्राप्त गर्ने कम्पनीले जनाएकाे छ । यो योजना २०७६ कात्तिक १६ गतेसम्मका लागू हुने कम्पनीकाे भनाइ छ । मारुती सिमेन्टले नेपालकै उत्कृष्ट मानिएको उदयपुर पहाडी रेन्जमा रहेको आफ्नै चुनढुङ्गा खानीबाट अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक रोटरी टेक्नोलोजीको ग्रिनफिल्ड प्लान्टद्वारा ओपीसी सिमेन्ट उत्पादन गर्दै आएकाे छ । मारूती सिमेन्टले आइएसओ प्रमाणित तथा नेपाल गुणस्तर चिन्ह प्राप्त गरेकाे छ ।

अझै खुलेन भन्सार कार्यालय 

फिक्कल । दशैँअघिदेखि बन्द भएको इलामको छिरुवा छोटी भन्सार कार्यालय अझै पनि खुल्न सकेको छैन । बिदामा घर गएका कर्मचारी हिरालाल उक्हेडा दशैँ बिदापछि पनि नआएका कारण कार्यालय खुल्न नसकेको हो । उक्त भन्सार कार्यालय दशैँ अगाडिदेखि नै बन्द छ । कार्यालयदेखि नजिकै घर भएका एक स्थानीय बासिन्दाका अनुसार यहाँ रहेका कर्मचारी दशैँको घटस्थापना अघिसम्म कार्यालयमा नै भए पनि त्यसयता उनीहरुलाई पनि नदेखेको र कार्यालय पनि नखुलेको बताइएको छ । दशैँपछि सार्वजनिक बिदा सकिएको १० दिन बितिसक्दासम्म कार्यालयमा कोही आएका छैनन् । सीमाक्षेत्रमा रहेको भन्सारजस्तो कार्यालय कर्मचारीविहीन भएर कुनै काम नहुँदा माथिल्लो निकायले अहिले चासो देखाएको छैन । यो भन्सारले भारतको मिरिक, ओकाइटी लगायतका स्थानबाट मेची खोला हुँदै आयात गरिने सामानको भन्सार राजश्व काट्ने र नेपालबाट ती स्थानमा निकासी हुने चौपायालगायत अन्य सामानको भन्सार असुल्ने काम गर्ने गरेको छ । पशुपतिनगर भन्सार कार्यालयको मातहतमा रहने छोटी भन्सार कार्यालय प्रायः नखुल्ने गरेको स्थानीयवासीको भनाइ छ । पशुपतिनगर भन्सार कार्यालयका प्रमुख गजेन्द्र भट्टराईले दशैँपछि कार्यालय नखुलेको आफूलाई जानकारी नभएको बताएका छन् । रासस

सुनको मूल्य घट्यो, प्रतितोला ७० हजार ४ सय रुपैयाँमा कारोबार

काठमाडौं । साताको पहिलो दिन सुनको मूल्य प्रतितोला २ सय रुपैयाँले घटेको छ । महिनाको पहिलो दिन अर्थात शुक्रबार प्रतितोला ७० हजार ६ सय रुपैयाँमा कारोबार भएको सुन आइतबार ७० हजार ४ सय रुपैयाँ बिक्री भइरहेको छ । त्यस्तै आइतबार तेजावी सुन प्रतितोला ७० हजार १ सय रुपैयाँमा बिक्री भइरहेको छ, भने शुक्रबार ७० हजार ३ सयमा कारोबार भएको थियो । चाँदी भने सोही मूल्य प्रतितोला ८ सय ५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।

सिटिजन्स बैंकको कम्पनी सचिवमा श्रेष्ठ नियुक्त, बैंकिङ क्षेत्रमा १५ वर्षको अनुभव

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडको कम्पनी सचिवमा राजेन्द्रलाल श्रेष्ठ नियुक्त भएका छन् । कम्पनीको कात्तिक १ गते बसेको संचालक समितिको ३१६औं बैठकले श्रेष्ठलाई उक्त पदमा नियुक्त गरेको हो । श्रेष्ठले सचिव पदमा नियुक्त भएकै दिनबाटै आफ्नो कार्यभार सम्हालेका छन् । कम्पनीले कात्तिक १ गतेदेखि लागू हुनेगरी श्रेष्ठलाई सचिव पदमा नियुक्त गरेको हो । भारतकाे पुनेस्थित रहेकाे एसआईबीएमबाट एमबीए गरेका नवनियुक्त श्रेष्ठमा व्यापार वित्त, क्रेडिट र शाखा सञ्चालनको क्षेत्रमा १५ वर्षको बैंकिङ अनुभव रहेको छ ।

औषधि व्यवसायी सङ्घकाे अध्यक्षमा साह चयन

जनकपुर । नेपाल औषधि व्यवसायी सङ्घ धनुषा जिल्लाको सम्पन्न प्रथम अधिवेशनले सत्यनारायण साहलाई शाखाको अध्यक्ष पदमा चयन गरेको छ । चयन हुने अन्य पदाधिकारीमा उपाध्यक्षमा रामनाथप्रसाद साह, महासचिवमा तेजनारायण चौधरी, कोषाध्यक्षमा विजयकुमार साह र सचिवमा सरोज राययादव रहेका छन् । त्यस्तै, उपकोषाध्यक्षमा मणिशङ्करप्रसाद साह तथा सदस्यमा विनोद पजियार, चन्द्रभूषणप्रसाद साह र शिवकुमार साह चयन भएका छन् । सङ्घका निर्वाचन अधिकृत किशोरी साहका अनुसार प्रारम्भमा विभिन्न पदमा २६ जनाले उम्मेदवारी दर्ता गराएकोमा १७ जनाले उम्मेदवारी फिर्ता लिएकाले आवश्यक पद सङ्ख्यामा मात्र निर्वाचनका लागि मनोनयनपत्र दर्ता रहन गएकाले उनीहरू निर्विरोध निर्वाचित भएका हुन् । रासस

नेपाल र भारतका सुरक्षाकर्मीद्वारा सीमा क्षेत्रमा संयुक्त गस्ती

काठमाडौं ।  कञ्चनपुरको दक्षिणी क्षेत्रमा नेपाल भारतका सुरक्षाकर्मीले शनिबारदेखि दशगजा क्षेत्रमा संयुक्त गस्ती कार्य शुरु गरेका छन् । तिहारलगायतको चाडपर्वलाई मध्यनजर गरी सीमा क्षेत्रमा सुरक्षा व्यवस्थालाई चुस्त र दुरुस्त पार्नका लागि संयुक्त गस्तीको कार्य शुरु गरिएको इलाका प्रहरी कार्यालय बेलौरीका प्रहरी निरीक्षक रणबहादुर चन्दले बताएका छन् । सीमा क्षेत्रमा हुने अवैध चोरी शिकारी, तस्करी र आपराधिक कार्य नियन्त्रणसँगै सीमा स्तम्भको सुरक्षाका लागि संयुक्त गस्तीको कार्य भइरहेको छ उनले भने, “चाडपर्वका बेला हुने अवैध सामानको तस्करी रोक्न र सीमा क्षेत्रमा आवतजावतको कार्यलाई सहज बनाउनु गस्तीको उद्देश्य रहेको छ ।” नेपाल भारतका सुरक्षाकर्मीले संयुक्त रुपमा गस्ती गर्दा एकापसमा सम्बन्ध बलियो हुने र सीमा क्षेत्रमा देखा पर्ने चुनौतीको सामना गर्न सहज हुने उनले बताए । गस्तीमा सशस्त्र प्रहरी बल बर्डर आउट पोष्टका ११ जवान, इप्रका बेलौरीका ११ जवान भारतको तर्फबाट एसएसबीका कमलापुरी कम्पनीका प्रहरी निरीक्षक भेरजी सोधाको कमाण्डमा रहेका छ जना र एसएसबीका शारदापुरी कम्पनीका प्रहरी नायब निरीक्षक सन्दीपकुमारसहित चार जनाको टोलीले संयुक्त गस्तीको कार्यमा सहभागिता जनाएको छ । रासस

बैंकका सञ्चालकले कति पाउँछन् भत्ता ? सानिमाले ५० प्रतिशत बढायो, अरुको उस्तै

काठमाडौं । अर्बौं बराबर वासलात भएका बैंक चलाउनेले कति पारिश्रमिक लिन्छन् होला, यो धेरैको चासो हुन सक्छ । यो वर्ष व्यवस्थापनलाई आवश्यक निर्देशन दिन साधारणसभाले चुनेर पठाउने सञ्चालकहरु र सञ्चालकहरु मध्येबाटै चयन हुने अध्यक्षहरुको लागि भने खासै सुखद अवस्था रहेन । बजारको औसत मूल्य वृद्धि ६ प्रतिशत हाराहारीमा रहेको र औसत ज्यालादर १४ प्रतिशत बढ्दा अधिकांश बैंकका सञ्चालकहरुको भत्ता भने स्थिर नै रहेको देखिन्छ । असोज मसान्तसम्म ६ वटा वाणिज्य बैंकले गत आर्थिक वर्षको वार्षिक साधारणसभा सम्पन्न गरिसकेका छन् । एनआईसी एशिया, सिटिजन्स, कुमारी, माछापुच्छ्रे, सानिमा र बैंक अफ काठमाण्डूले गत आवमा सभा गरी सेयरधनीलाई दिने प्रस्तावित लाभांश समेत पारित गरी बैंक सञ्चालक समितिको प्रतिबैठक भत्ता पनि तोकेका छन् । जसमध्ये चालु आवमा सानिमा बैंक सञ्चालकको प्रतिबैठक भत्ता बढेको छ भने बाँकी ५ वटा कम्पनीको स्थिर नै रहेको छ । सानिमाले सभामा विशेष प्रस्ताव गरी सञ्चालक समितिको प्रतिबैठक भत्ता गत वर्षको भन्दा ३० देखि ५० प्रतिशतसम्म बढाएको छ । एकैचोटि ५० प्रतिशतका दरले भत्ता बढाएमा विरुद्ध सेयरधनी लगानीकर्ताले सभामा चर्को विरोध गर्दा गर्दै पनि सभाले उक्त प्रस्ताव पारित गरेको हो । यससँगै अब सानिमाका अध्यक्षले आर्थिक वर्ष २०७६/७७ मा प्रतिबैठक १३ हजार र सञ्चालकले १२ हजार रुपैयाँका दरले बैठक भत्ता पाउने भएका छन् । बैंकले आव २०७५/७६ मा अध्यक्षलाई प्रतिबैठक १० हजार र सञ्चालकलाई ८ हजार रुपैयाँ दिँदै आएको थियो । यो भन्दै गर्दा अरु बैंकले सभामा भत्ता बढाउने प्रस्ताव नै नलागेको भन्ने चाहिँ होइन । सिटिजन्स बैंकले पनि सञ्चालकको भत्ता वृद्धि गर्ने विशेष प्रस्ताव गरेको थियो । तर, सभामा सेयरधनीले चर्को विरोध गरेपछि बैंकले उक्त प्रस्ताव फिर्ता लिएको थियो । एकैपटक ५३ देखि ६३ प्रतिशतसम्मको दरले संचालकको बैठक भत्ता बढाउने प्रस्ताव विरुद्ध सेयरधनीले विरोध गरि फिर्ता गर्न सफल भएका थिए । बैंकले सञ्चालक समितिको भत्ता बढाएर अध्यक्षलाई प्रतिबैठक २० हजार र सञ्चालकलाई १८ हजार रुपैयाँ दिने प्रस्ताव गरेको थियो । सभाले पारित नगरेपछि अब बैंक सञ्चालक समितिको भत्ता गत वर्षको यथावत् नै हुनेछ । गत वर्ष बैंकले अध्यक्षलाई प्रतिबैठक भत्ता १३ हजार र सञ्चालकलाई ११ हजार रुपैयाँ दिँदै आएको थियो । त्यस्तै, बाँकी चार वटा बैंक(एनआईसी एशिया, कुमारी, माछापुच्छ्रे र बैंक अफ काठमाण्डू)को सञ्चालक समितिको भत्ता यस वर्षपनि गत वर्षकै कायम हुने छ । यी बैंकले गत वर्ष नै बैठक भत्ता बढाएकाले यो वर्ष सो सुविधा वृद्धि गर्ने प्रस्ताव सभामा लगेनन् । यी ६ वाणिज्य बैंकमध्ये एनआईसी एशिया र माछापुच्छ्रे बैंकका अध्यक्षले बढी भत्ता खाएका छन् । यी दुई बैंकका अध्यक्षले प्रतिबैठक १५ हजार रुपैयाँ भत्ता बुझिलिएका छन् र चालु आवमा पनि सोहि रकम लिने छन् । त्यसपछि बैंक अफ काठमाण्डूका अध्यक्षले पनि १४ हजार रुपैयाँका दरले बैठक भत्ता लिएका छन् । त्यस्तै, सिटिजन्स र सानिमाका अध्यक्षले १३ हजार र कुमारी बैंकका अध्यक्षले १२ हजारका दरले बैठक भत्ता पाएका छन् । त्यसैगरी, सञ्चालक पदमा रहेका ४ बैंकका सञ्चालकहरुले बराबर रकम भत्ताको रुपमा पाउने छन् । चालु आवमा एनआईसी एशिया, माछापुच्छ्रे, सानिमा र बैंक अफ काठमाण्डू बैंकले आ-आफ्ना सञ्चाकलहरुलाई प्रतिबैठकमा उपस्थित भएबमोजिम १२ हजार रुपैयाँ दिने भएका छन् । त्यस्तै, सिटिजन्स बैंकका सञ्चालकले प्रतिबैठक ११ हजार र कुमारी बैंकका सञ्चालकले १० हजार रुपैयाँ भत्ता पाउँने छन् । बैंक तथा वित्तीय संस्था सम्बन्धि ऐनको प्रावधान अनुसार कुनै पनि बैंक तथा वित्तीय संस्थाको सञ्चालक समितिको बैठक वर्षमा कम्तीमा १२ पटक बस्नु पर्नेछ । तर, दुई वटा बैठकको बीचको फरक ६० दिनभन्दा बढी हुन नपाउने व्यवस्था रहेको छ ।

सनराइज बैंकले बार्षिकोत्सवको अवसरमा गर्यो प्रभातफेरी

काठमाडौँ । सनराइज बैंकले आफ्नो १२औं वार्षिक उत्सवको अवसरमा शनिबार प्रभातफेरी कार्यक्रम आयोजना गरेको छ । ‘समृद्घ नेपालको सहयात्रामा सनराइज बैंक-हामी संग संगै’ भन्ने नाराको साथ बैंकले प्रभातफेरी कार्यक्रम आयोजना गरेको हो । सो प्रभातफेरी कार्यक्रम केन्द्रिय कार्यालय गैरीधाराबाट सुरु भई नक्साल भगवती, कमलपोखरी, कमलाधि गणेश मन्दिर, रत्नपार्क, दरबारमार्ग, नागपोखरी हुदैं पुनः गैरीधारामा आएर समापन भएको थियो । उक्त कार्यक्रममा बैंकका संचालक समितिका सदस्यहरु दीपक नेपाल र शारदा शर्मा पुडासैनी, बैंकका प्रमुख कार्यकारी अधिकृत जनक शर्मा पौड्याल लगायत काठमाडौं भरिका शाखाहरुबाट करिब ५०० कर्मचारीहरुको उपस्थिति रहेको बैंकले जनाएको छ ।