विकासन्युज

साढे २ अर्ब लगानी थप्दै हेटौँडा सिमेन्ट, उत्पादन १८० प्रतिशत बढ्ने

काठमाडौं । सरकारी स्वामित्वमा सञ्चालित हेटौंडा सिमेन्ट इन्डष्ट्रिजले १८० प्रतिशतसम्म उत्पादन वृद्धि गर्ने भएको छ । करिब साढे २ अर्ब लगानी थपेर इन्डष्ट्रिजले उद्योगलाई आधुनिकीकरण र प्रविधियुक्त गराइ क्षमतामा वृद्धि गर्न लागेकाे हाे । उद्योगले क्षमता अभिवृद्धिकाे लागि साँढे २ अर्ब लगानी समेत थप्ने भएकाे छ । उद्योगकाे क्षमता अभिवृद्धि गर्न हाल भएकाे मेशिन मर्मत गर्नुका साथै क्षमता समेत विस्तार गर्न लागिएकाे हाे ।यहि अवसरमा उद्योगकाे जीर्णोद्धार पिन हुने बताइएकाे छ । मेशिन पुरानो भएकोले उत्पादन क्षमता कमी भएकाले त्यसको स्तरोन्नति गरी क्षमता तथा उत्पादनमा विस्तार र विकास गर्न लागेको हेटौँडा सिमेन्टका प्रवक्ता केशव बर्तौलाले जानकारी दिए । उनले भने निजी क्षेत्रको सिमेन्ट उद्योगहरुको उत्पादन खर्च कम भएको र सरकारी स्वामित्वमा सञ्चालित सिमेन्ट उद्योगहरुको उत्पादन खर्च बढि भएकाले पनि बजारमा सरकारी स्वामित्वमा सिमेन्ट प्रति उपभोक्ताको चासो कम हुँदै गएको बताए । उपभोक्ताले गुणस्तरभन्दा पनि मूल्य मात्रै हेरेर सिमेन्ट खरिद गर्ने गरेका छन् । हामीले पनि सिमेन्टको मूल्य घटाउन र उपभोक्ता माझ लोकप्रिय बनाउन २ अर्ब ५० करोड लगानी थप्ने बारे बोर्डमा छलफल भैरहेको छ । बोर्डले पास गरिसके पछि उद्योग मन्त्रालय हुँदै अर्थ मन्त्रालयमा प्रस्ताव जाने बर्ताैलाले बताए । हेटौँडा सिमेन्ट उद्योगले समयको मागअनुसार उत्पादनमा वृद्धि गरी मूल्य घटाउने याेजना बनाएकाे छ । २०४२ सालमा जडान गरेको मेशिनबाट उत्पादन घट्दै गएकाले धेरै समस्या थपिँदै गएको छ । हाल दैनिक ७५० टन सिमेन्ट उत्पादन गर्दै आएको उद्योगको मर्मतपछि दैनिक दुई हजार टन सिमेन्ट उत्पादन गर्ने लक्ष्य छ । के छ हेटौँडा सिमेन्टको बिक्री अवस्था निर्माण कार्यको समय सुरु हुन लागेको समयलाई मध्येनजर गर्दे असोजबाट हेटौँडा सिमेन्टले २६ रुपैँया मूल्य घटाएर ८ सय रुपैयाँ मूल्य कायम गरि बिक्री गरिरहेको छ । असोजभन्दा पहिले सो सिमेन्टको कम्पनी मूल्य ८२६ रुपैयाँ थियो । मासिक ३ लाख बोरा सिमेन्ट बिक्री गर्ने लक्ष्य राखेर सिमेन्ट उद्योगले गत ३ महिनामा करिब ३ लाख बोरा सिमेन्ट बिक्री भएको कम्पनीले जानकरी दिएको छ । कम्पनीले लक्ष्यको २० प्रतिशत मात्रै सिमेन्ट बिक्री गरिरहेको छ । कम्पनीको एक कर्मचारीले भने निजी क्षेत्रका ठूला लगानीको सिमेन्ट कम्पनीहरु सञ्चालनमा आएपछि हाम्रो सिमेन्ट बिक्रीमा ह्वातै कमी आएको छ । हेटौँडा सिमेन्टको क्लिङ्कर उत्पानदको अवस्था यस्तो छ  सिमेन्ट बनाउन आवश्यक कच्चा पदार्थ हो क्लिङ्कर । हेटौँड सिमेन्ट उद्योगले आफ्नो लक्ष्य अनुसार क्लिङ्कर उत्पादन गर्न सकेकाे छैन । उद्योगको लक्ष्य भने ४५ हजार मेट्रिकटन रहेकोमा ३४ हजार मेट्रिकटन मात्रै क्लिङ्कर उत्पादन भइरहेको छ । उद्योगमा लगानी वृद्धि भए समग्र अवस्थामा सुधार आउने कम्पनीले जानकारी दिएको छ ।

‘गरिमा’ जातकाे धान नफलेपछि पीडित किसानको लगत सङ्कलन गर्दै प्रदेश सरकार

भीमदत्तनगर । सुदूरपश्चिम प्रदेश सरकारले कैलाली र कञ्चनपुरमा लगाइएको ‘गरिमा धान’ नफलेर पीडित बनेका किसानको लगत सङ्कलन गरिरहेको छ । गरिमा जातको धान लगाएका किसानले धानमा बाला नै नआएपछि यहाँका किसान समस्यामा परेका बेला कञ्चनपुरबाट प्रदेशसभा सदस्यसहित किसानहरुको टोलीले धनगढी पुगेर मुख्यमन्त्री र कृषिमन्त्रीसित भेट गरेको हो । भेटका क्रममा सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले गरिमा जातको धानबाट कैलाली र कञ्चनपुरका किसानहरु समस्यामा परेको भन्दै अहिले प्रदेश सरकारले क्षतिको लगत सङ्कलन गरिरहेको बताएका छन् । “पहिलो चरणमा हामी किसानलाई समस्यामा पार्ने धानको बीउबिजन वितरण गर्ने कम्पनीलाई कारबाही गर्छौँ ।” मुख्यमन्त्री भट्टको भनाइ उद्यृत गर्दै कञ्चनपुरबाट निर्वाचित प्रदेशसभा सदस्य लालबहादुर खड्काले भने, “हामीले पनि किसानलाई क्षतिपूर्ति माग गरेका छौँ ।” आइतबार कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–३ क्षेत्रमा लगाइएको गरिमा धानको स्थलगत अनुगमनपछि प्रदेशसभा सदस्य लालबहादुर खड्का र कुलबीर चौधरीसहित किसानको टोली प्रदेश सरकारमा मागसहित पुगेको टोलीमा सहभागी धनबहादुर कुस्मीले बताए । त्यसैगरी प्रदेशसभा सदस्यहरुको टोलीले उक्त विषयलाई लिएर सुदूरपश्चिम प्रदेश भूमि व्यवस्थापन तथा सहकारीमन्त्री बिनिता चौधरीसित पनि भेट गरेको छ । मन्त्री चौधरीले पनि मन्त्रालय उक्त समस्याप्रति गम्भीर रहेको भन्दै क्षतिको विवरण सङ्कलन गरेर अघि बढ्ने बताएको कुस्मीको भनाइ थियो । मन्त्री उक्त गरिमा जातको धानको प्रयोगशाला परीक्षण भइरहेको बताउँदै भने मन्त्रालयले पनि विभिन्न विज्ञसहितको टोली स्थलगत अनुगमनमा खटाएको छ । मन्त्री चौधरीले कैलाली र कञ्चनपुरमा उत्पादन भएको खाद्यान्न सात पहाडी जिल्लामा पुर्याउन सकिएको बताउँदै धान नफल्दा प्रदेश सरकारलाई पनि घाटा हुने बताए। यस वर्ष कञ्चनपुर र कैलाली गरी ९६८ किसानहरुले यहाँ करिब २७२ हेक्टर क्षेत्रफलमा गरिमा जातको धान लगाएकोमा अहिलेसम्म बालासमेत आएको छैन । “किसानहरुले धेरै फल्छ भनेर झन् महङ्गोमा बीउ खरिद गरेर गरिमा धान लगाएका रहेछन्”, सुदूरपश्चिम प्रदेशसभाका सदस्य लालबहादुर खड्काले भने, “धान अहिलेसम्म पसाएको छैन, अरू जातको धान किसानले भित्र्याइसके ।” यता कृषि ज्ञान केन्द्र कञ्चनपुरले यस वर्ष कञ्चनपुर र कैलालीमा २५ प्रतिशतले धान उत्पादनमा कमी आउने अनुमान गरेको छ । सिँचाइको अभाव, समयमा आकाशे पानी नपर्नुका साथै रोपाइँमा भएको ढिलाइलगायतका कारणले कैलाली र कञ्चनपुरमा धान उत्पादन २५ प्रतिशतले घट्ने ज्ञान केन्द्रका निमित्त प्रमुख रामचन्द्र भट्टले जानकारी दिए । गत वर्ष कञ्चनपुरमा एक लाख ५० हजार २८ मेट्रिक टन र कैलालीमा तीन लाख ५९ हजार ८०० मेट्रिक टन धान उत्पादन भएको थियो । रासस

बौद्धबाट नक्कली नोट छाप्ने उपकरणसहित तीन पक्राउ

काठमाडौं । नेपाल प्रहरीले नक्कली नोट छाप्ने उपकरणसहित तीनजनालाई पक्राउ गरेको छ । बौद्ध महानगरीय प्रहरी वृत्तको टोलीले गोकर्णेश्वर नगरपालिका–६ नयाँबस्तीमा नक्कली नोट छाप्ने उपकरणसहित दोलखा मैलुङ नगरपालिका–७ का २६ वर्षीय राजन परियार, ३५ वर्षीय सन्तोष नेपाली र २१ वर्षीय महेन्द्र नेपालीलाई आज बिहान पक्राउ गरेको हो । घरको एकतला भाडामा लिएर नक्कली नोट छाप्दै गरेकाबखत उनीहरुलाई पक्राउ गरिएको वृत्तका प्रमुख प्रहरी नायब उपरीक्षक रमेश सिंहले जानकारी दिएका छन् । पक्राउ परेकाहरूबाट प्रहरीले रू १००० दरका ३४ थान नक्कली नोट बरामद गर्नुका साथै नोट छाप्न प्रयोग हुने फोटोकपी मेशिन एक थान, सिपियु एक थान, मनिटर एक थान, क्यामरा एक थान, कैँची चार थान, गम चार थान, ठूलो साइजको कागज १४२ थान र सानो साइजको कागज १४९ थान बरामद गरेको थियो । पक्राउ परेका व्यक्तिले उक्त उपकरणबाट हालसम्म कति नक्कली नोट छापे भन्नेबारे अनुसन्धान भइरहेको वृत्तले जनाएको छ । रासस

शहरका सबै ट्याक्सीमा सिसि क्यामेरा जडान

काठमाडौं । दुबईको सडक तथा यातायात विभागले शहरका सबै ट्याक्सीमा चालक (ड्राइभर)लाई अनुगमन र निगरानी गर्न सिसि क्यामेरा जडान गरेको छ । ट्याक्सी चढेको समयमा चालकले कुनै नियमको उल्लंघन गरेमा वा कुनै यात्रुले उजूरी गरेमा प्रहरीले तत्काल सिसि क्यामराको सहयोगमा चालकका गतिविधिको विश्लेषण गर्नेछ । कुनै व्यक्ति वा यात्रु ट्याक्सीमा चढ्नासाथ त्यहाँ जडित सेन्सरले स्वचालित रुपमा फुटेज लिन थाल्ने गल्फ न्यूजले जनाएको छ । दुबई शहरमा हाल १० हजार ६८४ वटा ट्याक्सी सञ्चालनमा छन् । दुबई सडक तथा यातायात विभागका निर्देशक खालिद अल अवादीले ट्याक्सी चालकको व्यवहारमा सुधार ल्याउन र ग्राहकका गुनासोहरु सम्बोधन गर्न नयाँ व्यवस्था निकै उपयोगी हुने विश्वास व्यक्त गरेका छन् । नयाँ प्रणाली जडानको कार्य सन् २०१७ मा शुरु भएको र हाल दुबई शहरका सबै ट्याक्सीमा जडान भइसकेको पनि उनले जानकारी दिए । दुबईले हाल “खुशी जनता” र स्मार्ट सिटी अभियान सञ्चालन गरिरहेको छ । रासस

एनएमबिले सुरु गर्यो इकाईधनीको पैसा फिर्ता प्रक्रिया : ७७ प्रतिशत लाभांश पाए, अब कति आउला ?

काठमाडौं । कात्तिक २ गते एनएमबि म्युचुअल फण्डको सञ्चालनमा रहेको पहिलो म्युचुअल फण्ड योजना एनएमबि सुलभ इन्भेष्टमेन्ट फण्ड–१ ले आफ्नो ५ वर्षे परिपक्व अवधि पूरा गर्यो । २०७२ भदौ २४ गते नेपाल धितोपत्र बोर्डबाट स्वीकृत भई सोही वर्ष कात्तिक पहिलो सातादेखि सञ्चालन भएको यो म्युचुअल फण्डको अवधि असोज मसान्तमा सकिएको हो । फण्डको अवधि सकिएसँगै असोज मसान्तदेखि नेपाल स्टक एक्सचेञ्जमा यसको सूचीकरण खारेज भएको छ । इकाईधनीले कति पाए ? एनएमबि सुलभ इन्भेष्टमेन्ट फण्ड–१ ले सञ्चालन अवधिभर ४ पटक लाभांश दिएको छ । फण्डले सञ्चालन भएको दोस्रो वर्ष २० प्रतिशत, तेस्रो वर्ष २१ र चौथो वर्ष २१ प्रतिशत र याे अन्तिम वर्ष १५ प्रतिशत समेत गरी जम्मा ७७ प्रतिशत लाभांश दिएको हाे  । याे लाभांशपछि साे फण्डकाे प्रतिइकाई खुद मूल्य असाेज मसान्तमा १० रुपैंया ५३ पैसा कायम भएको छ । अब कति फिर्ता पाइन्छ ? दोस्रो बजारमा उक्त फण्डको कारोबार बन्द भइसकेको छ । असोज ३० गते कारोबार बन्द हुँदा कायम रहेका इकाईधनी उक्त फण्डको रकम फिर्ताको सूचीमा पर्नेछन् । फण्डको नाममा भएको चल अचल सम्पत्तिलाई बिक्री गरेर आउने रकममा सो गर्दा लाग्ने शुल्क तथा अन्य कटाएर बाँकी रहेको रकम फिर्ता गरिन्छ । परिपक्व अवधिपछि फण्डको एनएभी रिपाेर्ट त प्रकाशित भएको छैन तर भदौ मसान्तमा १० रुपैंया ५३ पैसा एनएभी रहेको फण्डको असोज मसान्तमा पनि सोही हाराहारीमा वा त्योभन्दा अझै बढी  रहेको एनएमबि क्यापिटलका प्रमुख कार्यकारी अधिकृत श्रीजेश घिमिरेले जानकारी दिए । भदौ मसान्तमा फण्डको नाममा ५ करोड ६८ लाख ६६ हजार रुपैंया बराबरको शेयरसमेत गरी २३ करोड ५० लाख रुपैंया बराबरको धितोपत्र, ६५ करोड ९० लाख नगद मौज्दात र १ करोड १८ लाख बराबर अन्य सम्पत्ति र १ करोड १२ लाख रुपैंया बराबरको दायित्व घटाउँदा १० रुपैंया ५३ पैसा एनएभी कायम भएको हो । असोज महिनामा यसको एनएभी केही बढेको तथा कोषसँग भएको नगदबाट फिर्ता अवधिसम्म प्राप्त हुने ब्याजसमेत हिसाब गर्दा इकाईधनीले १०.५० रुपैंयादेखि १०.६० रुपैंयासम्म फिर्ता पाउने सम्भावना रहेको समेत प्रमुख कार्यकारी अधिकृत घिमिरेको अनुमान थियो । कहिलेसम्म पाइएला रकम ? शनिबारमात्रै परिपक्व भएको सो फण्डको लिक्विडेसन प्रक्रिया सुरु भइसकेको छ । लिक्विडेसनका लागि लिक्विडेटर कमिटी बनाउने, लिक्विडेटरको रिपोर्टको लेखापरीक्षण गर्ने र त्यसलाई नेपाल धितोपत्र बोर्डबाट स्वीकृत गराउनुपर्छ भने सोही अवधिभित्र धितोपत्रहरु बिक्री गर्नुपर्छ । धितोपत्रमा गरेका लगानीमध्ये दोस्रो बजारमा बिक्रीयोग्य शेयरहरु सिधै बिक्री गर्ने, सिधै बिक्री नगरेका धितोपत्र र अन्य सम्पत्तिहरु लिलामीमा बिक्री गर्नुपर्छ । ‘यी सबै प्रक्रिया पूरा हुन पुसको दोस्रो हप्तासम्म लाग्नसक्छ, तर हामी सकेसम्म छिटो प्रक्रिया सक्ने प्रयासमा छौं, जति छिटो सक्यो त्यति हामीलाई नै राम्रो हो’ घिमिरेले भने । धितोपत्र बजारमा परिपक्व हुने एनएमबि म्युचुअल फण्ड चौथो हो । यसअघि सिद्धार्थ क्यापिटलका दुईओटा र नबिल इन्भेष्टमेन्ट सञ्चालनमा रहेको  एउटा सहित तीनओटा फण्डहरुले परिपक्व भई लगानीकर्तालाई रकम फिर्ता गरिसकेका छन् ।

२ जोडी भाग्यशालीले सिजीबाट पाए थाइल्याण्ड जाने अवसर

काठमाडौँ । चाडपर्वलाई लक्षित गरी सिजी ब्राण्डले ‘सिजीसंग उत्साह उमंग, थाइल्याण्ड जाउ परिवार संग’ नामक स्किमको पहिलो चरणको लक्की-ड्र आधिकारिक फेसबुक पेज मार्फत प्रत्यक्ष प्रसारण गरी सम्पन्न गरेको छ । भदौ २० गतेदेखि लागु गरिएको यो योजनामा सिजी ब्राण्डको प्रत्येक होम अप्लायन्सको खरिदमा थुप्रै आकर्षक उपहारहरु राखिएको थियो । असोज १६ गते गरिएको लक्की-ड्र मा सुनसरी खनारका भरत साह(९८१०५२८९८६) र गोदावरीका कुमार लामा (९८६११७०२६२) गरी २ जोडी भाग्यशालीहरुले थाइल्याण्ड जाने अवसर प्राप्त गरेका छन् । कम्पनीका अनुसार यो योजना सीमित अवधिको लागि बाँकी रहेको र साथै अन्य धेरै आकर्षक उपहारहरु पनि बाँकी रहेकोे कम्पनीले जनाएको छ ।

सेन्ट्रल फाइनान्सका सीईओ श्रेष्ठकाे कार्यभार थपियाे, कम्पनी सचिवकाे पद पनि सम्हाल्ने

काठमाडौं । सेन्ट्रल फाइनान्स लिमिटेडको प्रमुख कार्यकारी अधिकृत(सीईओ) रजोजमान श्रेष्ठको कार्यभार थपिएको छ । हालसम्म सीईओको पद सम्हाल्दै आएका श्रेष्ठले अब कम्पनी सचिवको पद पनि सम्हाल्ने भएका छन् । संस्थाको हालमात्रै बसेको सञ्चालक समितिको बैठकले सीईओ श्रेष्ठलाई कम्पनी सचिवको पदमा नियुक्त गर्ने निर्णय गरेको हो । उनलाई कात्तिक १ गतेदेखि कम्पनी सचिवको पद सम्हाल्ने गरी उक्त पदमा नियुक्त गरिएको संस्थाको सहायक महाप्रबन्धक अशोककुमार पौडेलले जानकारी दिएका छन् ।

सानिमा बैंकलाई राष्ट्र बैंकको निर्देशन- स्वार्थ बाँझिएका लगानीकर्ता र ऋणी सेयरधनीलाई लाभांश नदिनु

काठमाडौं । सानिमा बैंकका स्वार्थ बाँझिएका लगानीकर्ता र ऋणी सेयरधनीले गत आर्थिक वर्षको लाभांश नपाउने भएका छन् । नेपाल राष्ट्र बैंकले दिएको निर्देशन अनुसार उक्त लगानीकर्ता तथा सेयरधनीले बैंकले वितरण गर्न लागेको २१ प्रतिशत लाभांश नपाउने भएका हुन् । राष्ट्र बैंकले कुनै पनि संस्थापक सेयरधनीको दुई वा सो भन्दा बढी बैंकमा एक प्रतिशतभन्दा धेरै लगानी भएका(स्वार्थ बाँझिएका) लगानीकर्तालाई गत आवको लाभांश रोक्न सानिमालाई निर्देशन दिएको हो । सानिमा बैंकले ११.०५ प्रतिशत नगद लाभांश र १० प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव पारित गरेको छ । उक्त दरका आधारमा बैंकले सेयरधनीलाई कूल एक अर्ब ६८ करोड रुपैयाँ बढी बराबरको लाभांश वितरण गर्ने भएको छ । ‘कुनै एक बैंक तथा वित्तीय संस्थाको संस्थापक सेयरमा लगानी गर्दा चुक्ता पुँजीको बढीमा १५ प्रतिशत र अन्य बैंक तथा वित्तीय संस्थामा चुक्ता पुँजीको बढीमा एक प्रतिशतसम्म मात्र लगानी गर्न सकिनेछ,’ राष्ट्र बैंकको निर्देशनमा उल्लेख छ । उल्लेखित सीमाभन्दा बढी सेयर धारण गर्ने संस्थापक सेयरधनीहरु रहेमा ती संस्थापक सेयरधनीहरुलाई सो सीमाभित्र नल्याएसम्म प्रस्तावित लाभांश वितरण गर्न रोक्का गरिएको छ । त्यस्तै, बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐनले बैंकको चुक्ता पुँजीको २ प्रतिशत वा सो भन्दा बढी सेयर धारण गरेका सञ्चालक र संस्थापक सेयरधनीलगायतले आफू संलग्न रहेको वित्तीय संस्थाबाट ऋण तथा अन्य सुविधा लिन नपाइने व्यवस्था छ । हाल सानिमा बैंकमा कूल ११ जना सेयरधनीहरुको २ प्रतिशत वा सो भन्दा बढी सेयर रहेको छ । सबैभन्दा बढी अरुण कुमार ओझाको ७.९४ प्रतिशत अर्थात ६३ लाख ५१ हजार कित्ता सेयर रहेको छ । त्यस्तै, टेकराज निरौलाको ५६ लाख ७३ हजार १२४ हजार कित्ता(७.०९ प्रतिशत) सेयर रहेको छ । निरज गोविन्द श्रेष्ठको ६.२२ प्रतिशत अर्थात ४९ लाख ७५ हजार ४५२ कित्ता, जिन नाथ लामिछानेको ४४ लाख २५ हजार ८८१ कित्ता(५.५३ प्रतिशत), विनयकुमार श्रेष्ठको ३७ लाख ४९ हजार ५७३ कित्ता(४.६९ प्रतिशत), घन श्याम थापाको ३४ लाख ३२ हजार ६२९ कित्ता(४.२८ प्रतिशत), अमला इन्भेष्टमेन्ट प्रा.लिको ३१ लाख ७६ हजार ९२० कित्ता(३.६० प्रतिशत), खेमराज लामिछानेको २८ लाख ७७ हजार २२४ कित्ता(३.६० प्रतिशत), कर्मचारी सञ्चयकोषको २७ लाख १८ हजार ८३५ कित्ता(३.४० प्रतिशत), जय गणेश इन्भेष्टमेन्ट प्रा.लि.को २१ लाख ७५ हजार ५४२ कित्ता(२.७२ प्रतिशत) र राम कृष्ण शाहको २० लाख २३ हजार ३०१ कित्ता(२.५३ प्रतिशत) सेयर रहेको छ । यी सेयरधनीहरु जो कोहीले सोही कम्पनीबाट ऋण लिएको पाइएमा बैंकले वितरण गर्न लागेको २१ प्रतिशत लाभांश पाउने छैनन् । साथै, ऋण लिँदा राष्ट्र बैंकको स्वीकृति लिनु पर्ने व्यवस्था रहेकोले सो बैंकको स्वीकृति नलिई आफुले लिएको सेयर बन्धक राखी अन्य बैंक तथा वित्तीय संस्थाबाट कर्जा लिएका संस्थापक सेयरधनीलाई लाभांश वितरण नगर्न राष्ट्र बैंकको निर्देशन छ । उक्त प्रस्तावित लाभांश पाउनको लागि उनीहरुले राष्ट्र बैंकको स्वीकृति लिनुपर्ने वा सेयर धितो बन्धक राखेर लिएको कर्जा पूर्ण रुपमा चुक्ता गरी सेयर फुकुवा गर्नुपर्ने व्यवस्था रहेको छ । उक्त व्यवस्था अनुसार नभएसम्म सो सेयरधनीहरुलाई दिइने प्रस्तावित नगद लाभांश वा बोनस सेयर रोक्का राख्न सानिमालाई राष्ट्र बैंकको निर्देशन छ ।