गुहेश्वरी मर्चेण्टको शाखा चन्द्रनिगाहपुरमा
काठमाडौँ । गुहेश्वरी मर्चेण्ट बैंकिङ्ग एण्ड फाइनान्स लि.ले रौतहट जिल्लाको चन्द्रनिगापुरमा शाखा र बारा जिल्लाको सिमरामा एक्सटेन्सन काउण्टर बिस्तार गरेको छ । चन्द्रनिगाहपुर शाखाको चन्द्रपुर नगरपालिकाका मेयर रामचन्द्र चौधरी र सिमरा एक्सटेन्सन काउण्टरको संस्थाका अध्यक्ष श्रीमान् श्रेष्ठले सोमबार एक समारोहका बीच उद्घाटन गरेका हुन् । कार्यक्रममा संस्थाका प्रमुख कार्यकारी अधिकृत दिनेशलाल श्रेष्ठको पनि उपस्थिति रहेको थियो । गुहेश्वरी मर्चेण्ट बैंकिङ्ग एण्ड फाइनान्स लि.ले २०७६ असोज मसान्तसम्म निक्षेप संकलन रु. ३ अर्ब ८२ करोड तथा कर्जा रु.३ अर्ब २१ करोड प्रवाह गरी रु. २ करोड १० लाख संचालन मुनाफा गरेको संस्थाद्धारा जारी बिज्ञप्तीमा उल्लेख छ । वित्तीय संस्थाको चुक्ता पूँजी ८० करोड तथा जगेडा कोषमा रु. २४ करोड ८७ लाख रहेको छ ।
टेलिकमले घटायो इन्टरनेट लिज लाइनको महशुल, कति घट्यो ?
काठमाडौँ । नेपाल टेलिकमले २०७६ कात्तिक १ गते देखि लागू हुने गरी इन्टरनेट लिज लाइनको महसुल घटाएको छ । पहिले न्यूनतम ५१२ केबीपीएस देखि माथिको क्षमतामा सेवा उपलब्ध गराइरहेकोमा अब न्यूनतम २ एमबीपीएस क्षमतामा सेवा उपलब्ध गराइने कम्पनीले जनाएको छ । यसअघि १ देखि १० एमबीपीएस ब्याण्डविथ रेन्जको महसुल दर प्रति एमबीपीएस ४ हजार २ सय रुपैयाँ रहेकोमा अब २ देखि २० एमबीपीएसको व्याण्डविथ रेन्जको महसुल दर प्रति एमबीपीएस २ हजार ५ सय रुपैयाँ मात्र कायम गरिएको छ । त्यसैगरी पहिले ११ देखि १०० एमबीपीएस व्याण्डविथ रेन्जको प्रति एमबीपीएस ४ हजार रुपैयाँमा उपलब्ध गराइरहेकोमा अब २१ देखि ५० एमबीपीएस ब्याण्डविथ रेन्जको प्रति एमबीपीएस २ हजार ३ सय रुपैयाँमा र ५१ देखि १०० एमबीपीएस रेन्जको प्रति एमबीपीएस मात्र २ हजार १ सय रुपैयाँमा उपलब्ध गराइने छ । पहिले १०० एमबीपीएस भन्दा माथिका लागि प्रति एमबीपीएस ३ हजार ८ सय रुपैयाँ महसुल दर तोकिएकोमा अब यो प्रति एमबीपीएस १ हजार ९ सय रुपैयाँमै उपलब्ध हुनेछ । कम्पनीले उपलब्ध गराउने इन्ट्रानेट लिज लाइनको महसुल दर भने यथावत् रहेको छ । नेपाल टेलिकमले विभिन्न व्यवसायिक ग्राहकका मागअनुसार उच्च क्षमताको इन्टरनेट तथा इन्ट्रानेट लिज सेवा प्रदान गरिरहेको छ । यस सेवामा इन्टरनेटको अपलिङ्क र डाउनलिङ्क क्षमता सधँै बराबर रहन्छ भने यो सेवा २४ सै घण्टा निरन्तर डेडिकेटेड रुपमा उपलब्ध भइरहन्छ । लिज सेवाको प्रयोगद्वारा कुनै पनि किसिमका अनलाइन सर्भिसहरु सञ्चालन गर्न एवम् कार्यालय तथा शाखा कार्यालयहरुलाई ई-कनेक्टिभिटीबाट आबद्ध गर्न सकिन्छ । त्यसकारण, मूलतः बैंक, वित्तीय संस्था, शिक्षण संस्था, पुस्तकालय, सरकारी कार्यालयहरु तथा बढी ब्यान्डविथ चाहिने र धेरै शाखाहरुको सूचना, तथ्यांक तथा हिसाब अनलाइन गर्नुपर्ने संघ/संस्था र कम्पनीहरुका लागि यो सेवा निकै नै उपयोगी छ । पछिल्लो समयमा व्यक्ति तथा साइबर क्याफे र होटल तथा कलकारखानाहरुका लागि समेत यो सेवा फलदायी बनेको टेलिकमकी प्रवक्ता प्रतिभा बैद्यले बताइन् ।
प्रधानमन्त्री ओलीद्वारा नागढुङ्गा-सिस्नेखोला सुरुङमार्गकाे शिलान्यास, अनुमानित लागत २२ अर्ब
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज नागढुङ्गा–सिस्नेखोला सुरुङ मार्ग शिलान्यास गरेका छन् । सडक पूर्वाधारमा महत्वपूर्ण संरचना मानिएको सवारी साधन आवतजावतका लागि प्रयोग गरिने नेपालकै पहिलो सो सुरुङमार्ग चन्द्रागिरि नगरपालिका-१ टोटेपाखामा आयोजित समारोहमा शिलान्यास गरिएको हो । प्रधानमन्त्री ओलीले त्यहाँस्थित शिलापत्र पनि अनावरण पनि गरेका छन् । जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) को ०.०१ प्रतिशत सहुलियत ऋण सहयोगमा शुरु गरिएको सो सुरुङ मार्गका लागि रु २२ अर्ब लाग्ने अनुमान गरिएको छ । त्यसका लागि जाइकाले रु १६ अर्ब सहयोग गर्ने र रु छ अर्ब नेपाल सरकारले आन्तरिक स्रोतबाट परिचालन गर्ने जनाइएको छ । प्रवेश मार्गसहित ५.५६ किमि सुरुङ मार्ग निर्माणले नेपालको पूर्वाधार विकासमा महत्वपूर्ण योगदान दिने विश्वास गरिएको नागढुङ्गा सुरुङमार्ग निर्माण आयोजना निर्देशक श्यामप्रसाद खरेलले राससलाई बताएका छन् । करिब रु छ अर्ब स्थानीय पीडितलाई मुआब्जा वितरणमै खर्च हुनेछ । चन्द्रागिरि नगरपालिकाको वडा नं १, ३ र ५ का पीडितलाई मुआब्जा वितरण भइरहेको छ । हालसम्म मुआब्जा वितरणको ८५ प्रतिशत काम सम्पन्न भएको छ । चार वर्षभित्र सुरुङमार्ग निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको छ । यसअघि जलविद्युत् र खानेपानी आयोजनाका लागि सुरुङ निर्माण भए पनि यातायात नै सञ्चालन हुने गरी पहिलोपटक निर्माण गर्न लागिएको उक्त मार्गमा दुईवटा साना ‘फ्लाई ओभर’ समेत निर्माण गरिने आयोजना निर्देशक खरेलले बताए । सुरुङमार्गकै मुखमा र सतुङ्गलमा ‘फ्लाई ओभर’ बनाउन लागिएको हो । सडक पूर्वाधारमा यहाँ निर्माण हुन लागेको ‘फ्लाई ओभर’ पनि नेपालकै पहिलो हो । सुरुङमार्ग निर्माणका लागि यही असोज ६ गते जापानी हाज्मा आङदो कर्पोरेशनसँग सम्झौता भएको थियो । सुरुङमार्गलाई जोड्ने तीन किलोमिटर प्रवेश मार्गसमेत निर्माण गरिने भएको छ । सोही परियोजनाअन्तर्गत स्थानीय उत्पादन सङ्कलन केन्द्र (सर्भिस सेन्टर) निर्माण हुने आयोजनाले जनाएको छ । रासस
एनआईसी एशिया बैंक र सस्तो टिकेटस् प्रालिबीच सम्झौता
काठमाडौँ । एनआईसी एशिया बैंक लिमिटेड र सस्तो टिकेटस् प्रालिबीच डिजिटल च्यानलमार्फत् सस्तो टिकेटसका ग्राहकहरुले हवाई टिकट तथा होटल बुक गरी सजिलै भुक्तानी गर्न सकिने सुविधा प्रदान गर्ने सम्झौता भएको छ । सम्झौता बमोजिम बैंकका ग्राहकहरुले एनआईसी एशियाको मोबाइल बैकिङ्गलगायत एनसीएचएल–कनेक्ट आईपीएस र अन्य कुनै पनि बैंकको फोन पे एप प्रयोग गरी हवाई टिकट तथा होटलको बुकिङ्ग अनलाईनमार्फत् भुक्तानी गर्न सक्नेछन् । सम्झौता पत्रमा बैंकको तर्फबाटसहायक प्रमुख कार्यकारी अधिकृत सन्तोषकुमार राठी र सस्तो टिकेटस् प्रालिको तर्फबाट अध्यक्षसम्राट दाहालले हस्ताक्षर गरेका छन् ।
चिनीको उपभोग घट्यो, चाडपर्वमा पनि बढेन बिक्री
काठमाडौं । पछिल्लो समय नेपाली बजारमा चिनीको उपभोग घट्दै गएको छ । केही वर्ष अघिसम्म चाडपर्वको समयमा अधिकतम माग तथा बिक्री हुने चिनीको माग अहिले घटेको व्यवसायीहरु बताउँछन् । मधुमेह, उच्च रक्तचाप, हृदयघातका बिरामी बढ्दै गएकाले चिनीको उपभोग घटेको हुन सक्ने राष्ट्रिय उपभोक्ता मञ्चका अध्यक्ष प्रेमलाल महर्जनले बताए । हाल नेपालीहरु आफ्नो स्वास्थ्य बारे सचेत हुन थालेका छन् । कुन सामाग्री कसरी र कति उपभोग गर्ने भन्ने चेतना भएका कारण चिनीको उपभोग घटेको मञ्चका अध्यक्ष महर्जन बताउँछन् । अन्तर्राष्ट्रिय बजारमा चिनीको मूल्य सस्तो छ, नेपालमा उत्पादित चिनी भन्दा बाहिरबाट आयातित चिनीको मूल्य सस्तो पर्ने व्यवसायीहरु बताउँछन् । सरकारले चिनीमा लगाएको ४० प्रतिशत भन्सार शुल्कका कारण व्यवसायीले हाल भारत तथा पाकिस्तानबाट चिनी आयात गरेका छैनन् । साउन यता भन्सार विभागको तथ्यांकमा चिनी आयात भएको देखिदैन । यसबाट के बुझिन्छ भने नेपाली बजारमा चिनीको माग आफ्नै उत्पादनले पुगिरहेको छ । आर्थिक वर्ष २०७६÷७७को शुरुवातमा ७० हजार मेट्रिक टन चिनी उत्पादन भएको छ । जसमध्ये हालसम्म करिब ३० हजार मेट्रिक टन मात्रै उपभोग भएको छ भने बाँकी करिब ४० हजार मेट्रिक टन चिनी अझै बाँकी रहेको नेपाल चिनी उत्पादन संघले जनाएको छ । चिनीमा सल्फरको मात्रा बढी भएको र बजारमा अवैध रुपमा भित्रिएका चिनी छ्याप छ्याप्ती भएकाले उपभोग घटेको मञ्चले जनाएको छ ।
२३ राष्ट्रका युवा वैज्ञानिकलाई पछि पार्दै नेपालीले जिते स्वर्ण पदक
काठमाडौँ । रुसमा सम्पन्न आठौं एशिया प्यासिफिक योङ्ग साइन्टिस्ट कन्फ्रेन्समा सहभागी नेपाली युवा वैज्ञानिकहरुले गोल्ड सहित तीन पदक जितेका छन् । २३ राष्ट्रका प्रतिस्पर्धीलाई पछि पार्दै नेपाली युवा वैज्ञानिकहरुले पदक जितेका हुन् । नेपालको तर्फबाट सहभागी विभिन्न कलेजका ९ विधार्थी मध्ये साउथवेस्र्टन स्टेट कलेज बसुन्धराका बिधार्थी स्वराजसागर प्रधानले गोल्ड मेडल जितेका छन् । प्रधानले २३ मुलुकका प्रतिष्पर्धीलाई जित्दै स्वर्ण पदक जितेका हुन् । प्रधानले युज अफ माइक्रो स्याटलाइट फर ग्लोबल कनेक्टीभिटी, हाईस्पीड ट्रान्समिशन एण्ड डाटा एनालाइसिस बिषयमा आफ्नो प्रस्तुती दिएका थिए । यस्तै, अस्मिता स्कुलकी दिक्षा सञ्जेल र काठमाण्डौं मोडेल कलेजका ऋषीकुमार गुप्ताले ब्राउन्ज मेडल जित्न सफल भएका छन् । अक्टोबर १४ देखि १९ सम्म आठौं एशिया प्यासिफिक युवा वैज्ञानिकहरुको अन्तराष्ट्रिय सम्मलेन आयोजना भएको थियो । नेपाल पोलिमर इन्ष्टिच्यूट काठमाडौंको पहलमा उक्त सम्मेलनमा विभिन्न कलेजका ९ नेपाली बिधार्थीले प्रस्तुती दिएका थिए । गत महिना नेपाल पोलिमर इन्ष्टिच्यूटको आयोजनामा भएको राष्ट्रियस्तरको चौथो युवा वैज्ञानिक सम्मेलनमा विभिन्न विद्यामा उत्कृष्ट विधार्थीलाई उक्त सम्मेलनमा पठाइएको थियो । सम्मेलनमा विश्वभरका २३ राष्ट्रका युवा वैज्ञानिकहरुले प्रतिस्पर्धा गरेका थिए । सम्मेलनबाट नेपाली वैज्ञानिकको टोली सोमबार स्वदेश फर्किएको छ ।
स्पर्स लघुवित्तको त्रैमासिक समीक्षा गोष्ठी पोखरामा, समस्या, चुनौति र भावी रणनीति बारे छलफल
काठमाडौँ । कास्कीको बिजयपुरमा केन्द्रीय कार्यालय रहेको स्पर्स लघुवित्त वित्तीय संस्थाले सञ्चालनमा रहेका शाखाहरुको आर्थिक वर्ष २०७६/०७७ को प्रथम त्रैमासिक समीक्षा तथा शाखा प्रवन्धक गोष्ठी सम्पन्न गरेको छ । आइतबार पोखरामा सम्पन्न उक्त कार्यक्रमलाई वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत सजल खड्काले उद्घाटन गरेका थिए । समीक्षा गोष्ठीमा वित्तीय संस्थाका सहायक प्रबन्धक सुदीप आचार्य तथा लेखा अधिकृत ऋषभ सुवेदी र आलेप अधिकृत खेमराज लम्सालले सहजीकरण गरेका थिए । यस क्रममा शाखा प्रबन्धकहरुले कार्य विस्तारका क्रममा भोगेका समस्या, चुनौति, भावी रणनीतिहरु तथा आव २०७६/०७७ को योजना तथा बजेट प्रस्तुत गर्दै शाखाको लक्ष्य अनुसारको प्रगति हासिल गर्ने प्रतिबद्धता जनाएका थिए । कार्यक्रमको समापन क्रममा वित्तीय संस्थाको प्रमुख कार्यकारी अधिकृत सजल खड्काले वित्तीय संस्थाले हाल भोगेको समस्या तथा चुनौतीहरुको बारेमा जानकारी गराउँदै गुणात्मक लघुवित्त सेवा विस्तार गर्न शाखा प्रवन्धकहरुलाई उत्प्रेरित गरेका थिए । मानव संसाधन विभाग प्रमुख विनोद पराजुलीले सञ्चालन गरेको उक्त कार्यक्रममा वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत तथा विभागीय प्रमुखहरु र २० वटा शाखाका शाखा प्रबन्धकहरुको सहभागिता रहेको थियो ।
साढे २ अर्ब लगानी थप्दै हेटौँडा सिमेन्ट, उत्पादन १८० प्रतिशत बढ्ने
काठमाडौं । सरकारी स्वामित्वमा सञ्चालित हेटौंडा सिमेन्ट इन्डष्ट्रिजले १८० प्रतिशतसम्म उत्पादन वृद्धि गर्ने भएको छ । करिब साढे २ अर्ब लगानी थपेर इन्डष्ट्रिजले उद्योगलाई आधुनिकीकरण र प्रविधियुक्त गराइ क्षमतामा वृद्धि गर्न लागेकाे हाे । उद्योगले क्षमता अभिवृद्धिकाे लागि साँढे २ अर्ब लगानी समेत थप्ने भएकाे छ । उद्योगकाे क्षमता अभिवृद्धि गर्न हाल भएकाे मेशिन मर्मत गर्नुका साथै क्षमता समेत विस्तार गर्न लागिएकाे हाे ।यहि अवसरमा उद्योगकाे जीर्णोद्धार पिन हुने बताइएकाे छ । मेशिन पुरानो भएकोले उत्पादन क्षमता कमी भएकाले त्यसको स्तरोन्नति गरी क्षमता तथा उत्पादनमा विस्तार र विकास गर्न लागेको हेटौँडा सिमेन्टका प्रवक्ता केशव बर्तौलाले जानकारी दिए । उनले भने निजी क्षेत्रको सिमेन्ट उद्योगहरुको उत्पादन खर्च कम भएको र सरकारी स्वामित्वमा सञ्चालित सिमेन्ट उद्योगहरुको उत्पादन खर्च बढि भएकाले पनि बजारमा सरकारी स्वामित्वमा सिमेन्ट प्रति उपभोक्ताको चासो कम हुँदै गएको बताए । उपभोक्ताले गुणस्तरभन्दा पनि मूल्य मात्रै हेरेर सिमेन्ट खरिद गर्ने गरेका छन् । हामीले पनि सिमेन्टको मूल्य घटाउन र उपभोक्ता माझ लोकप्रिय बनाउन २ अर्ब ५० करोड लगानी थप्ने बारे बोर्डमा छलफल भैरहेको छ । बोर्डले पास गरिसके पछि उद्योग मन्त्रालय हुँदै अर्थ मन्त्रालयमा प्रस्ताव जाने बर्ताैलाले बताए । हेटौँडा सिमेन्ट उद्योगले समयको मागअनुसार उत्पादनमा वृद्धि गरी मूल्य घटाउने याेजना बनाएकाे छ । २०४२ सालमा जडान गरेको मेशिनबाट उत्पादन घट्दै गएकाले धेरै समस्या थपिँदै गएको छ । हाल दैनिक ७५० टन सिमेन्ट उत्पादन गर्दै आएको उद्योगको मर्मतपछि दैनिक दुई हजार टन सिमेन्ट उत्पादन गर्ने लक्ष्य छ । के छ हेटौँडा सिमेन्टको बिक्री अवस्था निर्माण कार्यको समय सुरु हुन लागेको समयलाई मध्येनजर गर्दे असोजबाट हेटौँडा सिमेन्टले २६ रुपैँया मूल्य घटाएर ८ सय रुपैयाँ मूल्य कायम गरि बिक्री गरिरहेको छ । असोजभन्दा पहिले सो सिमेन्टको कम्पनी मूल्य ८२६ रुपैयाँ थियो । मासिक ३ लाख बोरा सिमेन्ट बिक्री गर्ने लक्ष्य राखेर सिमेन्ट उद्योगले गत ३ महिनामा करिब ३ लाख बोरा सिमेन्ट बिक्री भएको कम्पनीले जानकरी दिएको छ । कम्पनीले लक्ष्यको २० प्रतिशत मात्रै सिमेन्ट बिक्री गरिरहेको छ । कम्पनीको एक कर्मचारीले भने निजी क्षेत्रका ठूला लगानीको सिमेन्ट कम्पनीहरु सञ्चालनमा आएपछि हाम्रो सिमेन्ट बिक्रीमा ह्वातै कमी आएको छ । हेटौँडा सिमेन्टको क्लिङ्कर उत्पानदको अवस्था यस्तो छ सिमेन्ट बनाउन आवश्यक कच्चा पदार्थ हो क्लिङ्कर । हेटौँड सिमेन्ट उद्योगले आफ्नो लक्ष्य अनुसार क्लिङ्कर उत्पादन गर्न सकेकाे छैन । उद्योगको लक्ष्य भने ४५ हजार मेट्रिकटन रहेकोमा ३४ हजार मेट्रिकटन मात्रै क्लिङ्कर उत्पादन भइरहेको छ । उद्योगमा लगानी वृद्धि भए समग्र अवस्थामा सुधार आउने कम्पनीले जानकारी दिएको छ ।