नेपालगञ्जमा महिन्द्रा गाडीको स्पेयर पार्टस् र एक्सोसरिज बिक्री कक्ष बिस्तार
काठमाडौँ । अग्नि ग्रुप अन्तर्गतको बालाजु अटो वर्क्सको आधिकारिक विक्रेता गनापुर अटो वर्क्स सर्भिस सेन्टरले नेपालगञ्जको गनापुरमा महिन्द्रा गाडीहरुको स्पेयर पार्टसहरु तथा लुब्रिकेन्ट बिक्री गर्ने आधिकारिक बिक्री कक्षको बिस्तार गरेको छ । स्पेयर पार्टस्, एक्सोसरिज एवम् लुब्रिकेन्टहरु बिक्री गरिने बिक्री केन्द्रको उद्घाटन नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य एवम् नेपालगञ्ज उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष कृष्णप्रसाद श्रेष्ठ र गनापुर अटो वर्क्स सर्भिस सेन्टरका प्रबन्ध निर्देशक पर्थ भुसालले गरेका हुन् । गनापुर अटो वर्क्स सर्भिस सेन्टरको बिक्री कक्षबाट जेन्युन पार्टस् सहज रुपमा उपलब्ध हुनेछ । साथै आगामी दिनहरुमा कम्पनी एवम् ग्राहकबीचको सम्बन्ध अझ प्रगाढ बन्दै जाने विश्वास लिइएको छ ।
सनफ्लो सनफ्लावर तेल खरिदमा हिराको हार उपहार
काठमाडौँ । केएल दुगड ग्रुप अन्तर्गतको स्वस्तिक आयल इन्डस्ट्रिज प्रालिले आफ्नो उत्पादन सनफ्लो सनफ्लावर तेलमा आकर्षक हिराको हार र हिराको सेट जित्ने उत्साहजनक अफर ल्याएको छ । यो योजना २३ अक्टुबर २०१९ देखि लागू हुनेछ । यो अफरको नारा ‘सनफ्लो मा पकाऔं मिठो परिकार, साथमा पाऔं हिराको हार उपहार’ रहेको छ । यो योजनामा सहभागी हुन उपभोक्ताहरुले आधा लिटर वा १ लिटरको सनफ्लो सनफ्लावर तेलको प्याकेट खरिद गर्नुपर्नेछ र प्याकेटमा भएको १० अंकको नम्बर टाइप गरेर ३१००८ मा एसएमएस गर्नु पर्ने कम्पनीले जनाएको छ । हरेक १५ दिनमा लक्की ड्र अन्तरगत १ जना विजेताले हिराको हार, २ जना विजेताले हिराको टप र २ जना विजेताले हिराको लकेट जित्न सक्नेछन् । एकजना भाग्यशाली बिजेताले बम्पर लक्की ड्र अन्तरगत ३ महिना पश्चात अर्थात योजनाको अन्त्यमा हिराको नेकलेस सेट जित्न सक्नेछन् । त्यस्तै हिराको नेकलेस विजेताले सनफ्लो सनफ्लावर तेल खरिद गरेको पसलले ३२ इन्चको टिभी प्राप्त गर्नेछन् । विजेताहरुको नाम राष्ट्रिय पत्रिकामा सार्वजनिक गरिनेछ । यो योजना शुरु भएको ३ महिनासम्म मात्र लागू हुनेछ ।
अमेरिकाबाट फर्किए अर्थमन्त्री, यी विषयमा गरे छलफल
काठमाडौँ । अर्थमन्त्री डा. युवराज खतिवडा संयुक्त राज्य अमेरिकाको वासिङ्गटन डिसीमा आयोजित अन्तर्राष्ट्रिय मुद्रा कोष तथा विश्व बैंक समूहको बोर्डस अफ गभर्नरहरूको वार्षिक बैठकमा सहभागी भई बुधबार स्वदेश फर्किएका छन् । बैठकमा विश्व व्यापार तथा लगानीमा देखिएको घट्दो क्रम, खास गरी व्यापारमा संरक्षणवाद तथा भू–राजनीतिक तनावहरू, ब्रेक्जिट, कमजोर बजार संवेदनशिलताहरू र जलवायु परिवर्तन जस्ता कारणहरूबाट विश्वमा देखिएको चिन्ता एवम् अनिश्चितताको विषयमा छलफल भएको थियो । विश्व वैंक–मुद्रा कोष बैठकको अवसरमा आयोजित दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क)का अर्थमन्त्रीहरुको १४ औं अनौपचारिक बैठकको अध्यक्षता गर्दै अर्थमन्त्री डा. खतिवडाले सार्कको भावी आर्थिक एकीकरणको कार्यदिशा व्यापार सहजीकरण नै भएको स्पष्ट पार्दै यस क्षेत्रको निरन्तर आर्थिक बृद्धिका लागि व्यापार सहजीकरण जरूरी रहेको र यसका लागि अन्तरदेशीय सडक, रेललगायत हवाई सञ्जालको पर्याप्त विकास हुनु पर्नेमा जोड दिएका थिए । अर्थमन्त्री डा. खतिवडाले विश्व बैंक र मुद्रा कोषको सदस्य रहेको दक्षिण–पूर्वी एसियाली मुलुकहरुको संयूक्त बैठकमा भाग लिनु भई त्यस क्षेत्रको आर्थिक क्षेत्रमा देखिएको शिथिलता, बढ्दो ऋण र त्यसको पारदर्शिता तथा डिजिटल अर्थतन्त्रले ल्याउन सक्ने नियामक चुनौती जस्ता विषयको छलफलमा भाग लिएका थिए । यस क्षेत्रमा भौतिक पूर्वाधारको पर्याप्त विकास नहुनु पनि व्यापार सहजीकरणको लागि बाधक रहेको बताउँदै अर्थमन्त्री खतिवडाले विश्व बैंक एडिबी जस्ता अन्तर्राष्ट्रिय दातृ निकायहरुको सहयोगबाट अन्तरदेशीय सडक सञ्जालको विकासका लागि पूर्वाधारहरुको विकास गर्न मद्दत पुग्ने बताएका थिए । दक्षिण एसिया क्षेत्रमा सडकको अतिरिक्त हवाई सेवाको सञ्जाल विकास गरी अन्तर आवद्धता बढाउनु जरुरी रहेको बताउँदै उनले यसबाट पर्यटन क्षेत्रको विकासमा टेवा पुग्ने, जसले आर्थिक वृद्धिमा परिपुरक भूमिका खेल्ने बताउनु भएको थियो । साथै यस क्षेत्रको व्यापार सहजीकरणका लागि भुक्तानी सहजीकरण पनि अत्यावश्यक रहेको उहाँले धारणा राखेका थिए । नेपालमा वित्तीय संघीयताको कार्यान्वयनको अनुभव आदान–प्रदान गर्ने सम्बन्धी एक बैठकको सहअध्यक्ष्यता गर्दै उहाँले नेपालमा वित्तीय संघीयताको कार्यान्वयनको अवस्थाबारे चर्चा गर्दै छोटो समयमा नै आर्थिक बृद्धि, रोजगारी सृजना, समावेशी विकास र आयको वितरण जस्ता पक्षमा संघीयता कार्यान्वयनले सकारात्मक सहयोग पुगेको धारणा राख्नु राखेका थिए । सो बैठकको सहअध्यक्ष्यता गर्नु भएका विश्व बैंकका उपाध्यक्ष हार्टविक सेफरले अर्थमन्त्रीको सो धारणाप्रति समर्थन जनाउँदै नेपालले छोटो सयममा वित्तीय संघियता कार्यान्वयन गर्न सफल भएकोमा प्रसंशा गरेका थिए । बैठकमा नेपालमा वित्तीय संघीयताको कार्यान्वयन खास गरी अन्तर सरकारी वित्त हस्तान्तरण तथा राजश्व बाँडफाँडलगायतको विषयमा नेपाल सरकारका सचिव डा. बैकुण्ठ अर्यालले प्रस्तुतीकरण गरेका थिए । बिश्व बैंकका उपाध्यक्ष, दक्षिण एसियाका अन्य मन्त्री समेत सहभागी सडक सुरक्षा सम्बन्धी कार्यक्रममा मुख्य वक्ताको रुपमा सहभागी हुँदै अर्थमन्त्री खतिवडाले सडक सुरक्षाका लागि सडक निर्माणभन्दा अगाडि अपनाउनु पर्ने डिजाइनिङ्ग तथा इन्जिनियरिङ्ग पक्ष, त्यहाँको भौगोलिक अवस्था, सवारी साधनको भारवहन क्षमता तथा त्यसको परिक्षण, सडक सुरक्षाको विषयमा सुचना प्रवाहको स्थिति एवम् सवारी साधन उपयोगकर्ताको ज्ञानको कमी, यातायात क्षेत्रको नियमन तथा त्यसको कार्यान्वयन र दुर्घटना पश्चातको उपचार गर्ने क्षमता जस्ता विषयमा ध्यान पुर्याउनु पर्ने बताएका थिए । अन्तर्राष्ट्रिय मुद्राकोष एसिया प्रशान्त विभागले आयोजना गरेको एशियन ग्रोथ आउटलुक बैठकको छलफलमा भाग लिंदै उनले विश्वव्यापी बृद्धिमा अनिश्चितताका बावजुद पनि दक्षिण एसिया तीव्र गतिमा बृद्धि गर्ने क्षेत्रमा स्थापित भएको बताउंदै दक्षिण एसियाली मुलुकहरुले जनसांख्यिक लाभ लिन स्वस्थ जनशक्तिको विकास, थप रोजगारीको सिर्जना र श्रमको उत्पादकत्व बढाउन आवश्यक भएको उल्लेख गरेका थिए । वासिङटन भ्रमणको अवधिमा मिलिनियम च्यालेन्ज कर्पोरेशनका उच्च अधिकारी र अर्थमन्त्रीबीच द्धिपक्षीय बैठक गरी यसको हालसम्मको प्रगतिको अवस्था तथा यसको कार्यान्वयन पक्षको समीक्षा गरिएको थियो । त्यस अवसरमा ऋण पोर्टफोलीयो कार्यान्वयनको गुणस्तर बढाउन आयोजना कार्यान्वयनमा थप जोड दिनु पर्ने, उर्जा, यातायात, रोजगारी, कृषि उद्यम, पर्यटन, सहरी पुर्वाधार विकास र सघीयता कार्यान्वयनका क्षेत्रमा थप सहायता परिचालन गर्न बैंक सकारात्मक भएको बताइएको थियो । त्यस्तै गरी, क्षेत्रगत नीति सुधारमा आधारित वजेट सहायता परिचालन बढाउन पर्यटन, उर्जा, वित्तीय क्षेत्र सुधार र संघीयतामा आन्तरिक श्रोत परिचालनलाई प्रभावकारी बनाउने गरी थप तीन क्षेत्रमा बजेटरी सहायता परिचालन गर्न बैंक समूहले काम सुरु गर्ने समझदारी भएको थियो । भ्रमणकै अवधिमा अर्थमन्त्रीसंग अन्तर्राष्ट्रिय वित्त निगमका उपाध्यक्ष समेतका उच्च पदाधिकारीहरुको बैठक भएको थियो । सो बैठकमा नेपालमा पर्यटन, सहरी पुर्वाधार विकास, माथिल्लो त्रिशुली १, माथिल्लो अरुण, कावेलीलगायतका परियोजनाहरुमा लगानीको संभावनाबारे चर्चा गर्दै केही स्टार्ट अप बिजनेशमा ईक्वीटीमा सहभागिता, वित्तीय संस्थाहरुमा ऋण प्रवाह गर्ने विषय तथा स्थानिय मुद्रामा वण्ड जारी गर्ने विषयमा छलफल भएको थियो । अन्तर्राष्ट्रिय वित्त निगमलाई नेपालमा निजी क्षेत्र मार्फत जलविद्युतका अतिरिक्त पर्यटन, कृषि, सहरी पुर्वाधारलगायतका क्षेत्रमा समेत लगानी गर्न आग्रह गर्दै अर्थमन्त्री खतिवडाले आर्थिक विकासमा निजी क्षेत्रको भूमिका महत्वपूर्ण हुने बताए । वासिङटन भ्रमणका अवसरमा नै अर्थमन्त्रीसंग भेट गरी विश्व बैंककै ट्रेजरी विभाग हेर्ने उपाध्यक्षले नेपालमा टे«जरीबाट ऋण लगानी गर्न सक्ने बारे चर्चा गर्नुभएको थियो । बैंकका ट्रेजरी हेर्ने उपाध्यक्ष र अन्य पदाधिकारीहरुसंगको सो बैठकमा नेपालको पूँजी बजार सानो भएकाले यसको दायरा फराकिलो बनाउन आवश्यक भएको विषयमा छलफल भएको थियो । अर्थमन्त्री खतिवडाले बचत र लगानीबीचको ठुलो अन्तर घटाउन विदेशी पूँजी परिचालन आवश्यक भएकोले सार्वजनिक, निजि साझेदारीको लगानीका क्षेत्रहरु तथा विश्व बंैकले ट्रेजरी मार्फत लगानी गर्न सक्ने सम्भावनाका विषयमा छलफल भएको थियो । त्यस्तै, एसियाली विकास बैंकका नेपाल हेर्ने तथा निजी क्षेत्र हेर्ने दुई उपाध्यक्षहरु समेतका उच्च पदाधिकारीहरुसंगको भेटमा उनले नेपालको समग्र विकास प्रयासमा बैंकले गरेको सहयोगको समिक्षा गर्दै मेलम्ची खानेपानी, दुधकोशी जलबिद्युत आयोजनाको विकास, पुर्व पश्चिम राजमार्गको स्तरोन्नति तथा अन्य सडक आयोजनाहरुको निर्माणलगायत आगामी वर्षहरुमा बैंकसंगको साझेदारी विस्तारका संभावना र नेपाल सरकारको विकास प्राथमिकताको बारेमा छलफल गरेका थिए ।
प्राइम कमर्सियल बैंकको नयाँ शाखा काठमाडौंको कीर्तिपुरमा
काठमाडौं । प्राइम कमर्सियल बैंक लिमिटेडले कीर्तिपुर नगरपालिकामा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । उक्त शाखाको उद्घाटन बैंकका अध्यक्ष राजेन्द्रदास श्रेष्ठले गरेका हुन् । कार्यक्रममा स्थानीय उद्योगी, व्यवशायी, शिक्षक, समाजसेवी तथा विभिन्न पेशाकर्मीहरुको उपस्थिति थियो । यस शाखाको संचालन पछि बंैकको शाखा कार्यालय संख्या ९६ पुगेको छ । यसै क्रमलाई निरन्तरता दिंदै बैंकले आगामी दिनहरुमा पनि शाखाहरुको संजाल बिस्तार गर्दै जाने योजना बनाएको छ ।
नौ वर्षपछि पशुपतिघाट सेवाका कामदारको शुल्क समायोजन
काठमाडौं । पशुपति क्षेत्र विकास कोष र घाट सेवा केन्द्रका कामदारबीच शुल्क समायोजन भएको छ । पशुपतिस्थित घाट सेवामा कार्यरत कामदारले शव जलाउँदा लिइने सेवा शुल्कमा वृद्धि हुनुपर्ने माग गर्दै आजदेखि शव दाह रोक्ने घोषणा गरेका थिए । कामदारको मागपछि आजै वार्ता गरी शुल्कमा समायोजन गरिएको कोषका सदस्य–सचिव डा प्रदीप ढकालले जानकारी दिएका छन् । कामदारले २० वर्षसम्म शव जलाउने काम गरेपछि अवकाशका बेला रु १० लाख पाउनुपर्ने माग गरेकामा रु पाँच लाख दिने गरी सहमति भएको छ । यसअघि २० वर्ष घाट सेवामा काम गरेकाले अवकाशका बेला रु डेढ लाख पाउँथे । यसैगरी १५ वर्ष काम गरेकाले रु तीन लाख पाउने भएका छन् । यसअघि रु एक लाख पाउने गर्दथे । यसैगरी, दश वर्ष शवदाह गरेकाले रु ५० हजार अवकाशस्वरुप पाउने गरेकामा अब डेढ लाख पाउने सहमति भएको छ । यसरी शवदाह गरेको प्रतिशत रु एक हजार २०० बाट बढाएर रु एक हजार ५०० बनाइएको छ । दाउरा बोक्नेको प्रतिशत रु ४०० बाट बढाएर रु ६०० पुर्याइएको कोषले जनाएको छ । घाट सेवामा हाल ४९ कामदार कार्यरत छन् । कामदार आवश्यक पर्दा सूचना प्रकाशित गरी निवेदन माग गर्ने गरिएको छ । यसरी आएका कामदारलाई सूचीमा राखी पालोका आधारमा काम दिइने गरेको सदस्य सचिव ढकालले बताए । कोषले नौ वर्षपछि घाट सेवाका कामदारको शुल्क समायोजन गरेको हो । घाट सेवामा कार्यरत सबै कामदारको बीमा रु दुई लाखका दरले कोषले नै गरिदिने भएको छ । पशुपतिको विद्युतीय शवदाह गृहमा समेत गरी दैनिक औसत ३० शव आउने गरेका छन् । त्यसमध्ये धेरैको प्राथमिकता विद्युतीय शवदाह गृह बन्ने गरेको कोषले जनाएको छ । हाल दुई विद्युतीय शवदाह गृह सञ्चालनमा छ । तेस्रो पनि सञ्चालनमा ल्याउने तयारी भइरहेको छ । कोषले छ महिनापछि काठबाटै शव जलाउन सकिने तर धुवाँ नआउने वातावरण मैत्री शवदाहको व्यवस्था गर्न लागेको जनाएको छ । यस्तो यन्त्र विद्युतीय शवदाह गृहसँगै जडान गरिने छ । यो यन्त्र जडान भएपछि काठबाट शव जलाउन कम हुने छ । यसले पशुपति क्षेत्रको वातावरणीय सुधारमा सहयोग पुग्ने आशा गरिएको छ । विद्युतीय शवदाह गृहमा शव जलाउँदा बढीमा पाँच हजारमा सम्पन्न हुन्छ । काठबाट शव जलाउँदा भने कम्तीमा रु १५ हजार लाग्ने कोषका प्रशासकीय अधिकृत गौरीशङ्कर पराजुलीले जानकारी दिए । रासस
औद्योगिक विकासको माध्यम लघु, घरेलु तथा साना उद्योगको प्रवर्द्धनमा जोड
काठमाडौं । मुलुकमा औद्योगिक विकासको मुख्य माध्यम भनेकै लघु, घरेलु तथा साना उद्योग भएको भन्दै सरोकारवालाहरुले यस्ता उद्योगहरुको प्रवर्द्धन गर्नुपर्नेमा जोड दिएका छन् । नेपाल घरेलु तथा साना उघोग महासंघद्वारा राजधानीमा आयोजित अन्तरक्रिया कार्यक्रमका सहभागीहरुले यस्तो बताएका हुन् । महासंघका कार्यवाहक अध्यक्ष उमेशप्रसाद सिंहले अबका दिनमा देशको विकास गर्ने माध्यम भनेको लघु, घरेलु तथा साना उद्योग भएको बताउँदै उत्पादन, रोजगारी र कुल गार्हस्थ उत्पादनमा योगदानको हिसाबले यस्ता उद्योगको भूमिका उच्च भएको उनको भनाई थियो । समयक्रममा विकास हुने जटिल अर्थ राजनीतिक परिवेश अनुरुप लघु घरेलु तथा साना उद्योग सम्बन्धि नीतिहरु थप प्रष्ट एवम नियमित रुपमा परिमार्जित भई कार्यान्वयनमा आएमा मात्रै यस्ता उद्योगहरु आर्थिक रुपान्तरणको संवाहक हुन सक्ने बताए । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव वैकुण्ठ अर्यालले मन्त्रालयले साना उद्योगका क्षेत्रमा प्राथमिकताका साथ काम गर्ने भन्दै यस्ता उद्योगहरुबाट गुणस्तरीय र प्रतिष्पर्धी उत्पादन बजारमा आउनुपर्नेमा जोड दिए । पछिल्लो समय बढ्दो लागत र दोहोरो करबारे उद्योगीहरुको झेल्नु परेकोतर्फ ध्यानाकर्षण गर्दै उनले तीन तहमा कतै पनि दोहोरो करमा व्यवसायी परेमा ठोस प्रमाण सहित देखाइदिएमा समाधान गर्न सहज हुने बताए । श्रम रोजगार तथा सामाजिक सुरक्षा मनत्रालयका सचिव विनोद केसीले नेपालको मौलिक संस्कृति परम्परा र पहिचान बोकेका उत्पादन अन्तराष्ट्रिय मुलुकमा निर्यात गर्ने भएकाले यो क्षेत्रको विशेष महत्व रहेको जनाए । यस्ता उद्योगहरुमा योगदानमा आधारित सामाजिक सुरक्षा योजनाका विषयमा पनि सहभागी गराउँदा झनै राम्रो हुने भन्दै उनले कामदार सुरक्षित हुने उपयुक्त माध्यम नै सामाजिक सुरक्षा योजना भएको बताए । उद्योग विभागका महानिर्देशक जीवनप्रकाश सिटौलाले औद्योगिक विकास गर्नका लागि मुख्य आधार नै साना उद्योग भएको भन्दै गाउँघरका स्थानीय कच्चा पदार्थको प्रयोग हुने रैथाने कुटील उद्योगकोे विकासबाट मात्र औद्योगिक विकास सम्भव हुने उनको भनाई छ । कार्यक्रममा नवनियुक्त उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव अर्याल, श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव केसी र उद्योग विभागका महानिर्देशक सिटौलालाई सम्मान गरिएको थियो ।
विराटनगर भन्सारले उठायाे करिब नाै अर्ब राजश्व, लक्ष्यभन्दा कम
विराटनगर । विराटनगर भन्सार कार्यालयले चालू आर्थिक वर्षको पहिलो तीन महिनाको अवधिमा कूल रु आठ अर्ब ९९ करोड ३८ लाख नौ हजार राजश्व सङ्कलन गरेको छ । यो लक्ष्यको तुलनामा रु चार अर्ब ९४ करोड ९३ लाख ५० हजार कमी हो । उक्त अवधिका लागि विराटनगर भन्सार कार्यालयलाई कूल रु १३ अर्ब ९४ करोड ३१ लाख ५९ हजार राजश्व सङ्कलन गर्ने लक्ष्य तोकिएको थियो । गत वर्ष सोही अवधिमा रु १० अर्ब पाँच करोड २९ लाख ९५ हजार राजश्व सङ्कलन भएको थियो । गत आर्थिक वर्षको तुलनामा चालू आर्थिक वर्षको पहिलो तीन महिनामा रु एक अर्ब ५७ करोड ५६ लाख ४० हजार राजश्व कम उठेको विराटनगर भन्सार कार्यालयका भन्सार अधिकृत मणिराम पौडेलले जानकारी दिएका छन् । चालू आवमा सङ्कलित राजश्वमा भन्सार महशुलतर्फ रु तीन अर्ब ३५ करोड ९६ लाख ८९ हजार, मूल्यअभिवृद्धि करतर्फ रु चार अर्ब ४२ करोड १४ लाख ६७ हजार र अन्तःशुल्कतर्फ रु ६९ करोड ६२ लाख छन् । गएको वर्षमा सो अवधिमा भन्सार महशुल रु चार अर्ब ४३ करोड ६० लाख तीन हजार, मूल्यअभिवृद्धि कर रु पाँच अर्ब २२ करोड ३८ लाख ४८ हजार र अन्तःशुल्क रु ६९ करोड ३१ लाख ४५ हजार राजश्व सङ्कलन गरेको विराटनगर भन्सार कार्यालयले जनाएको छ । भन्सार असुलीको प्रगति हेर्दा चालू आवको साउन महिनामा ६८ दशमलव १० प्रतिशत, भदौ महिनामा ६५ दशमलव ९९ प्रतिशत र असोज महिनामा ४९ दशमलव ७६ प्रतिशत भएको कार्यालयले जनाएको छ । रासस
सरकारको चालु खाता घाटामा, शोधनान्तर बचतमा
काठमाडौं । चालु आर्थिक वर्षको पहिलो दुई महिनामा सरकारको चालु खाता घाटामा रहेको छ भने शोधनान्तर बचत देखिएको छ । गत आवको अन्तिम महिना असारमा चालु खाता र शोधनान्तर दुबै घाटामा थिए । गत आवको अन्तिम महिना असारमा सरकारको चालु खाता २ खर्ब ६५ अर्ब ३७ करोड घाटामा थियो भने शोधनान्तर ६७ अर्ब ४० करोड घाटामा थियो । चालु आवको भदौमा शोधनान्तर ८ अर्ब ८३ करोड बचतमा रहेको छ । साउनमा यस्तो बचत ६ अर्ब ५ करोड रहेको थियो । साउनमा ९ अर्ब ३७ करोड घाटामा रहेको चालु खाता भदौमा घाटा बढेर २१ अर्ब ७९ करोड पुगेको छ । शोधनान्तर मुलुक भित्रने र बाहिरिने रकमबीचको फरक हो । भित्रनेभन्दा बाहिरिने रकम बढी भएमा शोधनान्तर स्थिति घाटामा जाने पूर्व अर्थ सचिव डा. शान्तराज सुवेदीले बताए । शोधनान्तर घाटामा रहँदा खासगरी विदेशी लगानी निरुत्साहित हुनुका साथै स्वदेशी मुद्राप्रतिको विश्वास घट्छ । उत्पादनमा नकारात्मक प्रभाव पर्ने भएकाले मुलुकको परनिर्भरता बढ्छ र विदेशी विनिमय सञ्चितिमा ह्रास आउँछ । यद्यपि चालु आवको यो अवधिमा भने ७ करोड ८५ लाख अमेरिकी डलर बचतमा रहेको छ । गत आवको यो समीक्षा अवधिमा २३ करोड ९ लाख अमेरिकी डलर घाटामा रहेको थियो ।