होण्डाले शोकेस गर्यो आफ्नो चौथो जेनेरेशन ‘ज्याज’, यस्ता छन् विशेषता
काठमाडाैं । जापनिज अटोमेकर कम्पनी होण्डाले चौथो जेनेरेशनको ‘ज्याज’ लाई भर्खरै मात्र शोकेस गरेको छ, जसलाई कम्पनीलेआउँदो फेब्रुअरीमाजापानमा सार्वजनिकगर्नेछ । तेस्रो जेनेरेशन होण्डा ज्याजको स्थान लिने सो मोडेललाई कम्पनीले जापान लञ्च पश्चात विश्वव्यापी रुपमा सार्वजनिक गर्ने तयारी पनि गरिरहेको छ । होण्डाले जनाए अनुसार नयाँ ज्याजले दिने कम्फर्ट र ड्राइभिङ्ग इन्जोयमेन्टमा पहिले भन्दा वृद्धि हुनेछ । सो मोडेलमा स्प्लीट ए पिलर्स, नयाँ डिजाइनका लाइट्स, बम्पर्स र बोनेटहरु दिइएका छन् । त्यसैगरी सो जापनिज कम्पनीको क्लेम अनुसार यस कारका सिटहरुले दिने कम्फर्ट महङ्गो सेडान कारहरुको जस्तै हुनेछ । चौथो जेनेरेशन ज्याजमा क्लाइमेट कन्ट्रोल र कार पार्क गरेको लोकेशन चेक गर्न मिल्ने‘होण्डा कनेक्ट अन-बोर्ड कनेक्टिभिटी’ जस्तो फिचर पनि रहेको छ । यसका साथै कारमा पहिले भन्दा ठूलो टचस्क्रिन इन्फोटेन्मेन्ट सिस्टम पनि समावेस गरिएको छ । होण्डाले नयाँ ज्याजको इञ्जिन स्पेसिफिकेशन चाहिँ सार्वजनिक गरिसकेको छैन । उक्त मोडेलको डाइमेन्सनलाई हेरेर त्यसमा १.५ लिटर पेट्रोल इञ्जिन समावेस गरिने अनुमान लगाइएको छ । तर इण्डियन स्पेक सो मोडेलमा चाहिँ पहिले जस्तै १.२ लिटर पेट्रोल इञ्जिन समावेस गरिने अनुमान पनि गरिएको छ । इण्डियामा सो मोडेल सन् २०२० को अन्त्य अथवा सन् २०२१ को सुरुवात तिर सार्वजनिक हुने सम्भावना प्रवल रहेको छ । इण्डियामा सार्वजनिक भए लगतै सो मोडेल नेपालमा पनि भित्रिनेछ । नेपालका लागि होण्डा कारको आधिकारिक बिक्रेता स्याकार ट्रेडिङ्ग कम्पनी प्रा.लि.ले हाल नेपाली बजारमा ३९ लाख ५० हजार रुपैयाँ सुरुवाती मूल्य तोकेर तेस्रो जेनेरेशन होण्डा ज्याजको बिक्री वितरण गर्दै आइरहेको छ ।
माथिल्लो अरुणले पायो १०६१ मेगावाटको सर्वेक्षण अनुमति पत्र
काठमाडौँ । सरकारले १०६१ मेगावाटको माथिल्लो अरुण अर्ध जलाशययुक्त जलविद्युत आयोजनाको सर्वेक्षण अनुमतिपत्र जारी गरेको छ । ऊर्जा, जलस्रोत तथा सिचाइ मन्त्रालयले संखुवासभामा पर्ने आयोजनाको लाइसेन्स नेपाल विद्युत प्राधिकरणको पूर्ण स्वामित्वमा रहेको अपर अरुण हाइड्रोइलेक्ट्रिक लिमिटेडलाई दिएको हो । केही दिनअघि जारी गरिएको लाइसेन्सको अवधि दुई वर्षको रहने छ । विश्व बैकको सहुलितपूर्ण ऋणमा आयोजनाको अहिले विस्तृत अध्ययन भइरहेको छ । सरकारले माथिल्लो अरुण आकर्षक आयोजना भएकाले जनताको जलविद्युत कार्यक्रम अन्तर्गत सर्वसाधारणलाइ पनि सेयरमा लगानी गर्न दिएर निर्माण गर्ने घोषणा गरिसकेको छ । सरकारले फागुन ०६९मा आफ्नो स्वामित्वमा रहने गरि प्राधिकरण मार्फत आयोजना निर्माण गर्ने निर्णय गरेको थियो । यही निर्णयका कारण कम्पनीले आयोजनाको सर्वे लाइसेन्स पाउन सकिरहेको थिएन । कम्पनीले ०७३ को चैतमा लाइसेन्सका लागि विद्युत विकास विभागमा आवेदन दिएको थियो । ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री वर्षमान पुनको पहलमा मन्त्रिपरिषद्को गत वर्षको असोजको बैठकले माथिल्लो अरुण जलविद्युत आयोजनामा सर्वसाधारणको पनि सेयर रहने गरी कम्पनी मोडलमा निर्माण गर्न सहमति दिएको थियो । मन्त्रिपरिषद् बैठकले आयोजना प्राधिकरणको सहायक कम्पनीमार्फत निर्माण गर्न सहमति दिएपछि आयोजनाको लाइसेन्स जारी गर्न बाटो खुलेको होे । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले अर्धजलाशययुक्त माथिल्लो अरुणलाई उच्च प्राथमिकतामा राखी ‘गेम चेन्जर’ आयोजनाको रुपमा अगाडि बढाइने बताए । ‘जनताको जलविद्युत कार्यक्रमअन्तर्गत चार अंकको र प्राधिकरणले निर्माण गर्न लागेको अहिलेसम्मकै ठूलो यस आयोजनामा ४९ प्रतिशत सर्वसाधारणको सेयर र विश्व बैक, युरोपेली लगानी बैकको सुहलियतपूर्ण ऋण तथा कर्मचारी संचय कोष, नागरिक लगानी कोष जस्ता स्वदेशी वित्तीय संस्थाको लगानी रहने मोडलमा वित्तीय व्यवस्थापन गरी निर्माण अगाडि बढाइने छ–उनले भने । ‘निर्माण पूर्वका सम्पूर्ण तयारी पूरा गरी एक वर्षभित्रमा निर्माण सुरु गर्ने लक्ष्यका साथ काम गरिरहेका छौं ।’ विश्व बैकले आयोजनामा ४०–५० करोडसम्म लगानी गर्न सक्ने प्रतिबद्धता जनाइसकेको उनले जानकारी दिए । विद्युत् बढी माग हुने हिउँदका ६ महिनामा दैनिक ६ घण्टा पूर्ण क्षमतामा चलाउन सकिने आयोजनाको अनुमानित लागत निर्माण अवधिको ब्याजबाहेक करिब १ अर्ब २० करोड अमेरिकी डलर (करिब १ खर्ब २० अर्ब रुपैयाँ) छ । कुल लागतमध्ये ३० प्रतिशत स्वपुँजी र ७० प्रतिशत ऋणबाट जोहो गर्ने प्राधिकरणको योजना छ । आयोजनाबाट वार्षिक रुपमा ४ अर्ब ४७ करोड ८० लाख युनिट ऊर्जा उत्पादन हुने अध्ययनले देखाएको छ । कुल वार्षिक ऊर्जामध्ये २८ प्रतिशत हिउँदमा उत्पादन हुने छ । आगामी फागुनभित्रमा विस्तृत परियायोजना प्रतिवेदन र टेण्डर डकुमेन्ट तयार गरिसक्ने लक्ष्य राखिएको छ । आयोजनाको निर्माण २०८३ को पुसभित्र सक्ने लक्ष्य तय गरिएको छ । माथिल्लो अरुण भारतीय कम्पनीले निर्माण गरिरहेको अरुण तेस्रोभन्दा माथि पर्छ । आयोजनाको बाँधस्थल भोटखोला गाउँपालिका–२ चेपुवामा पर्छ । विद्युत गृह सोही गाउँपालिकाको वडा नं ४ चोमराङमा रहने छ । आयोजनाले २ किलोमिटर सुरुङ, एउटा पुलसहितको २२ किलोमिटर पहुँच सडक बनाउनु पर्छ । परामर्शदाता कम्पनीले सडकको डिजाइन प्रतिबेदन बुझाइसकेको र यसको पुनरावलोकन भइरहेको आयोजना प्रमुख रामचन्द्र पौडेलले जानकारी दिए । निर्माणका लागि ठेकेदार कम्पनी छनोटको लागि पूर्वयोग्यताको प्रक्रिया अन्तिम चरणमा रहेको उनले बताए । आयोजना निर्माण स्थलमा नदीको वार्षिक बहाव दर उच्च रहेको र उच्च हिमाली क्षेत्रमा रहेका कारण खेतीयोग्य जमिन, मानव वस्ती कम भएकाले वातावरणीय प्रभाव कम पर्ने छ । प्राधिकरणले माथिल्लो अरुणकै अंग रहने गरी ३० मेगावाटको इखुवा जलविद्युत आयोजना अगाडि बढाएको छ । माथिल्लो अरुणबाट उत्पादित विद्युत् ४० किलोमिटर ४०० केभी डबल सर्किट प्रसारण लाइनमार्फत खाँदबारी नगरपालिकाको सित्तलपाटीमा रहने सबस्टेसनमार्फत राष्ट्रिय प्रणालीमा प्रवाह गरिने छ ।
नेपाल–बंगलादेश ब्यापार बैठकः बससेवादेखि जलमार्गसम्मका सम्झौता
काठमाडौं । नेपाल–बंगलादेश दुई देशीय व्यापारसम्बन्धीे चौथो बैठकमा ५ वटा प्रस्तावमा सम्झौता हुने समझदारी भएको छ । विशेष गरी नेपालको व्यापार र पारवहनसँग सम्बन्धित विषयमा छलफल भएको छलफल केन्द्रित भएको हो । बैठकमा भएका समझदारीका बुँदाहरुमा सचिबस्तरीय सम्झौता हुने जनाइएको छ । मंगलबार र बुधबार भएको दुई देशीय व्यापारसम्बन्धीे बैठकमा विशेष गरी ५ वटा विषयमा छलफल भएको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव नवराज ढकालले बताए । नेपाल बंगलादेश सिधा बस सेवा, फूलवारी बन्दरगाहबाटबाट आवतजावत गर्न सहज गर्ने, नेपाली विद्यार्थी लगायत नेपाली नागरिकलाई भिसा सहजिकरण, कार्गोहरुको ढुवानी, गुणस्तरीय बस्तु ढुवानी गर्ने र जल मार्गको अध्ययन गर्ने विषयमा सम्झौताका लागि तयारी भएको सचिव ढकालले बताए । नेपालबाट तरकारी, फलफूल र दाल लगायतका बस्तु निर्यात र भन्सार मूल्याङ्कनमा भएको समस्याका बारेमा नेपालले कुरो उठाएको र बंगलादेश त्यसमा सकारात्मक रहेको बताइएको छ । काठमाडौंको होटल याक एण्ड यतीमा मंगलबारदेखि शुरु भएको बैठक बुधबारसम्म चलेको हो । बैठकमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव नवराज ढकालको नेतृत्वमा १५ सदस्यीय टोली र बंगलादेशको तर्फबाट वाणिज्य मन्त्रालयकी सहसचिव सरिफा खान नेतृत्वमा सात सदस्यीय टोलीले बैठकमा सहभागिता जनाएको थियो । नेपाल र बंगलादेश बीचको यो चौथो बैठक हो । यसअघि भएका बैठकको ढाका-काठमाडौं बस सेवा, खाद्य सुरक्षा र प्लान्ट क्वारेन्टाइनका सम्बन्धमा आपसी समझदारी गर्ने विषयले पनि यसपटकको बैठकमा प्राथमिकता पाएको थियो ।
एम होङ गिल ह्युमन फाउण्डेसनको नेपालमा १० वर्ष पुरा, १२ जिल्लामा सुविधासम्पन्न १५ विद्यालय निर्माण
काठमाडौं। एम होङ गिल हयुमन फाउन्डेसनले नेपालमा स्थापनाकोे १० औं वर्ष पुरा गरेको छ। सन् २००८ मा कोरियामा स्थापना भएको फाउन्डेसनले १० वर्ष देखी नेपालको शिक्षा क्षेत्रमा महत्वोपूर्ण भूमिका खेल्दै आईरहेको छ । एम होङ गिल ह्युम्न फाउन्डेसन संसारभरका ८ हजार मिटर भन्दा माथिका १५ वटा हिमाल चढेका कोरियाली पर्वतआरोही एम होङ गिलको सकृयता खुलेको गैरराजनितिक, गैरधार्मिक तथा गैरसाम्प्रादायिक संस्था हो। एम होङ गिलले नेपालमा हिमाल चढ्दा धेरै नेपालीको साथ पाएका थिए जसले उनलाई सहयोग गर्ने क्रममा ज्यान गुमाएका पनि थिए। तिनै सहयोगी हातहरुलाई सहयोग गर्ने उदेश्यका साथ होङले २००९ मा नेपालमा यस संस्थाको स्थापना गरी बिशेष गरेर शिक्षा क्षेत्रलाई मध्यनजर फर्दै काम सुरु गरेका हुन्। सन् २०१० मा पाङबोचे आधारभुत विद्यालय, सोलुखुम्बुको निर्माण सुरु गरेको फाउण्डेिनले अहिलेसम्म नेपालको १२ जिल्लामा १५ बालमैत्री भुकम्प प्रतिरोधी सुबिधा सम्पन्न आधुनिक पक्की विद्यालय भवनहरु निर्माण सकेर हस्तान्तरण गरिसकेको छ। दुर्गम हिमाल देखी तराईका फाँटहरुसम्म फैलिएका ह्युमन फाउन्डेसनको विद्यालयमा अहिले ६ हजार ९ सय विद्यार्थीले शिक्षा पाईरहेका छन्। दुर्गाम गाउँका स्कुलमा टाढाका विद्यार्थीलाई पढ्ने वातवरण बनाउन फाउन्डेसनले छात्रावास पनि बनाएको छ । बालबालिकालाई गुण्स्तरिय शिक्षा दिन फाउन्डेशनले नेपालको सामुदायिक विद्यालयको ईतिहास मै पहिलोपटक कास्की स्थित बिरेथान्तीमा स्मार्ट कक्षा सुरु गर्नुको साथै निर्माण सम्पन्न ११ विद्यालयमा अत्याधुनिक काम्प्युटर ल्याब सुविधा उपलब्ध गराएको छ। संस्थाले आर्थिक स्थीति कमजोर भएका अभिभावकहरुलाई नि शुल्क बाख्रा र भैंसी पनि प्रदान गरेको छ। कोरियामा जन्मिएका होङ नेपाल आफ्नो कर्मभुमिको रहेको बताउँछन्। उनी भन्छन्, ‘नेपालसँग यति धेरै आत्मिय सम्बन्ध हुनुको कारण नेपालीहरुले मलाई देखाएको माया हो।’यसका साथै नेपालमा १५ वटा विद्यालयको स्थापना पछि अर्को हिमाल यात्रा तय गर्ने होङको सपना अब पुरा हुने भएको छ। संस्थाले बुधबार नै काठमाडौंको तार्केश्रोरमा आफ्नो १६ औं विद्यालयको शिल्यानस गरेको छ।
नर्भिक इन्स्टिच्युट अफ नर्सिङ एजुकेशन र थाइल्याण्डको माहिडोल विश्वविद्यालयबीच सम्झौता
काठमाडौँ । नर्भिक इन्स्टिच्युट अफ नर्सिङ एजुकेशन र थाइल्याण्डको माहिडोल विश्वविद्यालयबीच रणनीतिक साझेदारी तथा प्राज्ञिक सहयोग आदान–प्रदान सम्बन्धी एक समझदारी पत्रमा हस्ताक्षर भएको छ । उक्त समझदारी पत्रमा नर्भिक इन्स्टीच्युट अफ नर्सिङ एजुकेशनका तर्फबाट कार्यकारी निर्देशक पारस शाक्य र माहिडोल विश्वविद्यालयका तर्फबाट त्यहाँका प्रेसिडण्ट वाञ्चोङ्ग माहासायारियाले हस्ताक्षर गरेका छन् । दुई संस्थाबीच भाईचाराको अभिवृद्धि गर्ने, पाठ्यक्रम विकास, अनुसन्धान लगायतका अन्य शैक्षिक गतिविधिहरुमा सहयोग आदानप्रदान गर्ने, शैक्षिक ज्ञान तथा स्रोतसाधन आदान–प्रदान गर्ने, आपसी सहकार्यमा शैक्षिक कार्यक्रमहरुको विकास गर्ने, आपसी सहकार्यमा कार्यशाला गोष्ठी, सेमिनार, सभा सम्मेलनको आयोजना गर्ने तथाथप सहकार्यका अन्य सम्भावनाहरुको खोजी गर्ने समझदारी पत्रमा उल्लेख छ । समझदारी आगामी ५ बर्षसम्म कायम रहने जनाइएको छ ।
१५ तस्वीरमा यस्तो देखियो काठमाडौँको तिहार बजार
काठमाडौँ । नेपालीहरुको महान् चाड तिहार नजिकिंदै गएको छ । तिहार पर्व नजिकिंदै जाँदा दीपावली र भाइटीकाका लागि आवश्यक सामाग्री खरिद गर्नेहरुको भीड बजारमा बढ्न थालेको छ । काठमाडौँका असन, महाबौद्ध, इन्द्रचोक, भोटाहिटी, मखनगल्ली, याख्टा, नरदेवी, विशालबजार लगायतका क्षेत्रमा रहेका पसलहरु अहिले तिहार विशेष सामाग्रीहरुले भरिभराउ देखिएका छन् । झिलिमिली बत्ति, भाइमसला, टीका सामाग्री, दाजुभाईहरुका लागि उपहार दिइने ढाका टोली जस्ता वस्तु बिक्रीका लागि राखिएका छन् । १५ तस्वीरमा हेरौँ तिहार बजार ।
दुई महिनामै २८ अर्ब ३६ करोडको धितोपत्र थपियो, आईपीओ मात्रै २० अर्बको
काठमाडौं । चालु आर्थिक वर्षको प्रथम दुई महिनामा नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से)मा २८ अर्ब ३८ करोड रुपैयाँ बराबरको धितोपत्र थपिएको छ । गत साउनदेखि भदौ मसान्तसम्ममा साधारण सेयर(आईपीओ), बोनस, हकप्रद, डिबेन्चर र अन्य सेयर गरी सो मात्राको सेयर नेप्सेमा सूचीकृत भएको हो । जसमध्ये सबैभन्दा बढी आईपीओ सूचीकृत भएको छ । नेपाल राष्ट्र बैंकका अनुसार आर्थिक वर्ष २०७६/७७ को दुई महिनामा नेप्सेमा २० अर्ब ९४ करोड रुपैयाँ बराबरको आईपीओ थपिएको हो । त्यस्तै, चार अर्ब ४८ करोड रुपैयाँ बराबरको बोनस र एक अर्ब ४५ करोड रुपैयाँ बराबरको हकप्रद सेयर थपिएको छ । त्यसैगरी, साउन र भदौमा गरी ३५ करोडको डिबेन्चर(ऋणपत्र) र एक अर्ब १४ करोडको अन्य धितोपत्र नेप्सेमा सूचीकृत भएको हो । उक्त अवधिमा नेपाल धितोपत्र बोर्डले विभिन्न बैंकहरुलाई एक अर्ब ८० करोड बराबरको ऋणपत्र निष्काशनको अनुमति दिएको छ । नेपाल राष्ट्र बैंकका अनुसार भदौ मसान्तमा सूचीकृत ४ अर्ब ३७ करोड सेयरको चुक्ता मूल्य ४२८ अर्ब ५० करोड रुपैयाँ रहेको छ । सो अवधिसम्म नेप्सेमा सूचीकृत कम्पनीको संख्या २१८ पुगेको छ । जुन अघिल्लो वर्षको सो अवधिको तुलनामा २२ वटा बढी कम्पनी थपिएका हुन् । २०७५ भदौमा सूचीकृत कम्पनीको संख्या १९६ रहेको थियो । सूचीकृत कम्पनीमध्ये १५५ बैंक तथा वित्तीय संस्था र बीमा कम्पनी रहेका छन् भने ३२ जलविद्युत् कम्पनी, १९ उत्पादन र प्रशोधन उद्योग, ४/४ होटल तथा व्यापारिक संस्था र ४ अन्य समूहका रहेका छन् ।
रुग्ण जलविद्युत आयोजनाको अध्ययन गर्न उर्जा मन्त्रालयलद्वारा समिति गठन
काठमाडाैं । उर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयले रुग्ण जलविद्युत आयोजनाहरुको अध्ययन गर्न समिति गठन गरेको छ । नीजि क्षेत्रबाट सञ्चालन भएका रुग्ण आयोजनाहरुका समस्याहरुको अध्ययन गर्न मन्त्रालयले उर्जा महाशाखा प्रमुख सहसचिव प्रविणराज अर्यालको संयोजकत्वमा बुधबार दश सदस्यीय समिति गठन गरेको हो । उर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालय (सचिवस्तर) को कात्तिक ४ गतेको निर्णयअनुसार समिति गठन गरेको बताइएको छ । समितिमा मन्त्रालय अन्तर्गतको कानुन तथा फैसला कार्यान्वयन महाशाखाका सहसचिव,अर्थमन्त्रालयका प्रतिनिधि, विद्युत नियमन आयोगका प्रतिनिधि, विद्युत विकास विभागकाका उपमहानिर्देशकको सदस्यतामा समिति गठन भएको छ । यस्तै नेपाल राष्ट्र बैकका प्रतिनिधि, विद्युत व्यापार विभागका प्रमुख, इप्पानका दुई प्रतिनिधि, नेपाल बैंकर्स संघका प्रतिनिधि र उर्जा जलस्रोत तथा सिँचाइ मन्त्रादयका सिडिइ सदस्य सचिव रहने गरी समिति गठन भएको हो ।