विकासन्युज

चितवन मेडिकल कलेजले बढी लिएको शुल्क समायोजन गर्ने

काठमाडौं। चितवन मेडिकल कलेजले गत शैक्षिकसत्रका एमबीबीएस र बिडीएस अध्ययनरत विद्यार्थीसँग लिएको बढी शुल्क समायोजन गर्ने भएको छ । कलेजले आज पत्रकार सम्मेलन गरी बढी लिएको शुल्कको हिसाब गरी समायोजन गर्ने जनाएको हो । यसअघि जिल्ला प्रशासन कार्यालय चितवनको रोहवरमा बढी शुल्क लिएको विषयमा आन्दोलनरत विद्यार्थी, अभिभावक र कलेजका बीचमा सहमति भएको थियो । सो क्रममा शुल्क फिर्ता वा समायोजन क–कसलाई कति गर्ने भनेर प्रतिवेदन दिन समिति गठन गरिएको थियो । पत्रकार सम्मेलनमा कलेजका अध्यक्ष एवं प्रबन्ध निर्देशक प्रा डा हरिशचन्द्र न्यौपानेले सो समितिले प्रतिवेदन दिएलगत्तै बढी लिइएको शुल्क सम्बन्धित विद्यार्थीको आगामी शुल्कमा समायोजन गरिने बताए। उनका अनुसार एमबीबीएसमा एक विद्यार्थीसँग रु ६ लाख र बिडीएसमा रु एक लाख २५ हजार बढी लिइएको छ । त्यसमध्येबाट त्रिवि रजिष्टेशन शुल्क, चिकित्सा शिक्षा अध्ययन संस्थानलाई बुझाउनुपर्ने परीक्षा शुल्क, नेपाल मेडिकल काउन्सिलको दर्ता शुल्क, संस्थागत शुल्क, कम्युनिटी शुल्कलगायतका शुल्कहरु कट्टा गरी समायोजन गरिनेछ। गत वर्ष आइओएमले एमबीबीएसमा रु ४२ लाख ४५ हजार र बिडीएसमा रु १९ लाख ३२ हजार तोकेको थियो। कलेजले एमबीबीएसमा रु ६० लाखसम्म असुल गरेको विद्यार्थीको आरोप छ। कलेजले बढी लिएको सबै शुल्क समायोजन गर्ने जनाएको छ । उनले प्रशासनको रोहवरमा कलेजका तर्फबाट गर्नुपर्ने भनी गरिएका सबै सम्झौता कार्यान्वयन गर्न तयार भए पनि विद्यार्थीका तर्फबाट गर्नुपर्ने काम हुन नसकेको बताए । उनले भने,“विद्यार्थीले पठनपाठन सञ्चालन गराउने वातावरण नबनाउँदा एमबीबीएसलगायत अन्य सङ्कायका विद्यार्थीले कात्तिक २० गते हुने परीक्षाको फारम कात्तिक ८ गतेभित्र भरिसक्नुपर्नेमा नभरेको हुँदा सहमतिप्रति विद्यार्थी जिम्मेवार नबनेको प्रष्ट देखिन्छ।” सो अवसरमा उनले आगामी भर्नाका विषयमा कलेजहरुको साझा संस्था एशोसिएसन अफ मेडिकल कलेज एण्ड डेन्टल कलेज अफ नेपालको निर्णयअनुसार गरिने बताए । पत्रकार सम्मेलनमा वितरित प्रेस विज्ञप्तिमा विद्यार्थीलाई पूर्ववतरूपमा अध्ययनमा फर्कन, पढ्ने र पढाउने वातावरण सिर्जना गर्न अपिल गरिएको छ । यता विद्यार्थीहरुले भने बढी लिएको शुल्क समायोजनमा कलेज प्रशासनले आलटाल गरेको आरोप लगाउँदै आएका छन्। रासस

सनराइज बैंकको १५ प्रतिशत लाभांश पारित

काठमाडौं । सनराइज बैंक लिमिटेडको प्रस्तावित १५.८० प्रतिशत लाभांश पारित भएको छ । शुक्रबार सम्पन्न बैंकको १२औं वार्षिक साधारण सभाले सेयरधनीलाई १० प्रतिशत बोनस र ५.८० प्रतिशत नगद(बोनस सेयर र कर प्रयोजनको लागि) गरी सो मात्राको लाभांश दिने प्रस्तावलाई पारित गरेको हो । बैंकले सेयरधनीलाई गत आर्थिक वर्षको नाफाबाट हालको चुक्ता पँजीको उक्त लाभांश वितरण गर्ने छ । आठ अर्ब १५ करोड रुपैयाँ रहेको बैंकको चुक्ता पुँजी १० प्रतिशत बोनस पछि आठ अर्ब ९६ करोड रुपैयाँ नाघेको छ । त्यस्तै, सभाले अन्य उपयुक्त बैंक तथा वित्तीय संस्था एक आपसमा गाभ्ने/गाभिने वा प्राप्ति गराउने सम्बन्धी सम्पूर्ण काम गर्न सञ्चालक समितिलाई पूर्ण रुपमा अख्तियारी प्रदान गरेको छ।

जनसेवी लघुवित्तले कमायो एक करोड, ३०७ प्रतिशतले नाफा वृद्धि

काठमाडौं । पर्वतको कुश्मामा केन्द्रीय कार्यालय रहेको जनसेवी लघुवित्तले आव ०७६/०७७ को प्रथम त्रैमासिकमा १ करोड १८ हजार नाफा हासिल गरेको छ । गत आवको प्रथम त्रैमासिकमा रु.३२ लाख ६३ हजार नाफा आर्जन गरेको वित्तीय संस्थाले गत आवको सोही अवधिको तुलनामा ३०७ प्रतिशतले नाफामा वृद्धि गरेको प्रमुख कार्यकारी अधिकृत कमलबहादुर खत्रीले बताए । यो आवको प्रथम त्रैमासमा लगानी तर्फ रु.६९ करोड ८२ लाख तथा १८ हजार सदस्यलाई वित्तीय संस्थामा आबद्ध गराई रु.२१ करोड ३० लाख बचत रकम संकलन गर्न सफल भएको बताइएको छ । हाल २५ वटा शाखा कार्यालयहरु मार्फत कार्यक्रम विस्तार गर्दै आईरहेको यस वित्तीय संस्था कालिका लघुवित्तसंगको मर्जर प्रकृयामा लगभग अन्तिम अवस्थामा रहेको प्रमुख कार्यकारी अधिकृत खत्रीले बताए । आव ०७४/०७५ मा रु.९ करोड ८० लाख चुक्ता पुँजी रहेकोमा आव ०७५/०७६ मा सर्वसाधारणमा शेयर जारी गरी रु.४ करोड ४३ लाख ३० हजार शेयर रकममा वृद्धि गरी हाल कुल चूक्ता पुँजी रु.१४ करोड ४३ लाख ३० हजार पुर्याएको जनाएको छ । वित्तीय संस्थाले स्थापनाको छोटो अवधिमा नै १८ हजार भन्दा बढी सदस्यलाई वित्तीय सेवा प्रदान गर्दै वित्तीय सक्षमतामा आफुलाई सफल र सक्षम संस्थाको रुपमा स्थापित गराउन सफल भएको छ ।

हिमालयन क्यापिटलको शुभारम्भ: म्युचुअल फण्ड ल्याइने, पोर्टफोलियो व्यवस्थापन गर्न ८ योजना

काठमाडौं । हिमालयन क्यापिटल लिमिटेडले शुक्रबारदेखि औपचारिक रुपमा कारोबार सुरु गरेको छ । हिमालयन बैंकको सहायक कम्पनीको रुपमा खुलेको हिमालयन क्यापिटलको हिमालयन बैंकको केन्द्रीय कार्यालयमा भएको एक कार्यक्रमबीच औपचारिक शुभारम्भ भएको हो । प्रारम्भिक रुपमा २० करोडको चुक्तापुँजी कायम गरेर सञ्चालनमा आएको क्यापिटलको उद्घाटन हिमालयन बैंकका अध्यक्ष मनोजबहादूर श्रेष्ठले शुक्रबार गरेका हुन् । हिमालयन बैंकका संस्थापक अध्यक्ष तथा प्रमुख सल्लाहकार हिमालयन शम्शेर जबरा, नेपाल धितोपत्र बोर्डका पदाधिकारीका अतिरिक्त हिमालयन बैंक सञ्चालक समितिका सदस्यहरु समेतको उपस्थितिमा क्यापिटलको उद्घाटन गरिएको हो । हिमालयन बैंक लिमिटेडको सहायक कम्पनीको रुपमा क्यापिटलले मर्चेन्ट बैंकिङका अतिरिक्त शेयर रजिष्ट्रार, धितोपत्र निष्कासन, धितोपत्र प्रत्याभूति, लगानी व्यवस्थापन तथा संस्थागत परामर्शको काम समेत गर्ने अनुमति पाएको छ । उद्घाटनका क्रममा अध्यक्ष श्रेष्ठले हिमालयन बैंकको २७ वर्षदेखिको विश्वासिलो र भरपर्दो सेवालाई कायम गर्दै मर्चेन्ट बैंकिङ व्यवसायमार्फत् आफ्नो सेवालाई थप विस्तारित र परिष्कृत बनाउन मर्चेन्ट बैंकिङ सेवा सुरु गरेको जानकारी दिए । उनले बैंकले सो सेवामार्फत् हिमालयन बैंकको विश्वासलाई थप बढाउँदै लाने प्रतिवद्धता समेत व्यक्त गरे । हिमालयन क्यापिटलको सञ्चालक समितिमा हिमालयन बैंकका महाप्रबन्धक सुशील जोशीलाई अध्यक्षको जिम्मेवारी दिइएको छ भने सञ्चालकहरुमा सुनिल गोर्खाली, सतीश राज जोशीलाई जिम्मेवारी दिइएको छ । प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी भने परमेश्वर पन्तलाई दिइएको छ । क्यापिटलको केन्द्रीय कार्यालय हिमालयन बैंकको ठमेल शाखा समेतर रहेको कर्मचारी सञ्चय कोषको भवनमा रहनेगरी तोकिएको छ । हिमालयन म्युचुअल फण्ड ल्याइने क्यापिटलले निकट भविष्यमै ‘हिमालयन म्युचुअल फण्ड’ नामक सामूहिक लगानी कोष सञ्चालनमा ल्याउने घोषणा समेत गरेको छ । सम्बन्धित निकायको स्वीकृति पश्चात् सो फण्ड सञ्चालनमा ल्याउने प्रमुख कार्यकारी अधिकृत पन्तले जानकारी दिए । क्यापिटलले लगानी व्यवस्थापन योजना अन्तर्गत सर्वोत्तम पोर्टफोलियो योजना, दीर्घकालीन शुभलाभ योजना, सन्तुलित प्रतिफल योजना, समृद्ध नारी प्रतिफल योजना, जेष्ठ नागरिक प्रतिफल योजना, सुनिश्चित प्रतिफल योजना, मेरो पोर्टफोलियो योजना, स्वविवेक पिएमएस जस्ता योजनाहरुसमेत सार्वजनिक गरेको छ । यी योजनाहरुमार्फत् क्यापिटलले ३ रुपैंयादेखि लाखदेखि ५० लाख रुपैंयासम्मको लगानी व्यवस्थापन गर्ने योजना योजना समेत बनाएको छ ।

सिद्धार्थ बैंकको चार नयाँ शाखा विस्तार

काठमाडौं ।  सिद्धार्थ बैंक लिमिटेडले शुक्रबार काठमाडौं उपत्यका बाहिर एकसाथ चारवटा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । बैंकले सप्तरीको कल्याणपुर, नवलपुरको दलदले, बन्दीपुरको डुम्रे र सिराहाको गोलबजारमा शाखा सञ्चालनमा ल्याएको हो । यस बैंकले बैंकिङ्ग प्रणालीलाई थप प्रविधिमैत्री बनाउन इन्टरनेटको माध्यमबाट आफ्नो रोजाइको बचत खाता खोल्न सकिने सुविधाका साथमा इन्टरनेट तथा मोबाइल बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ । बैंकको हालको चुक्ता पूँजी ८अर्ब ८८ करोड ७६ लाख छ भने बैंकले १ सय २४ अर्ब निक्षेप संकलन र १ सय १३ अर्ब कर्जा लगानी गरेको छ । उक्त शाखा विस्तारपश्चात्  सिद्धार्थ बैंकको कुल शाखा सञ्जाल संख्या १ सय ७१ (४ एक्स्टेन्सन् काउन्टर सहित) पुगेको छ । यसका साथै बैंकले १ सय एक शाखारहित बैंकिङ्ग सेवा, १ सय ८७ एटिएम र १ हजार ६ सय भन्दा बढी पिओएस मेसिन मार्फत् बैंकिङ्ग सेवा दिंदै आएको छ ।

दुई सातादेखि सञ्चारविहीन डोल्पा, टावरको सामान बाटोमै अलपत्र

डोल्पा । तल्लो डोल्पाअन्तर्गत पर्ने मुड्केचुला गाउँपालिका दुई सातादेखि सञ्चारविहीन भएको छ । दुर्गमको पीडा भुलाउने एकमात्र माध्यम फोन सेवा नै अवरुद्ध भएपछि नागरिक उकुसमुकुस भएका छन् । फोनमा कुरा गर्न अग्ला डाँडापाखा रुखमा चढेर सूचना आदानप्रदान गर्नुपर्ने बाध्यता छ । त्यहाँका नागरिक घण्टौं उकालोका बीच जङ्गलबाट छिकेकी स्थानीय तह जगदुल्लाको टावर मोबाइलमा सिग्नल खोज्ने गर्छन् । मोबाइल घुमाउँदै जाँदा जहाँनेर नेटवर्क टिप्छ त्यहाँबाट बल्लबल्ल सूचना आदानप्रदान गर्ने गर्छन् मुड्केचुलाका स्थानीय । चिनियाँ कम्पनी डिस्याटले सम्झौता अवधि सकिएको भन्दै स्याटलाइट बन्द गरिदिएपछि मुड्केचुला गाउँपालिका दुई सातादेखि सञ्चारविहीन भएको हो । टावरको सामान बाटोमै अलपत्र गाउँपालिकामा टावर निर्माण गर्ने भनेर ल्याएको सामानबीच बाटोमै अलपत्र परेको छ । मोबाइल टावरका विभिन्न सामग्री रुकुम–डोल्पा सिमानामा पर्ने त्रिवेणी बजारमा अलपत्र फालिएको छ । सामान खिया लाग्न थाले पनि त्यहाँबाट उठाउन कसैको ध्यान गएको छैन । टावरको सामग्री ढुवानीको जिम्मा भारतीय आयस्था कम्पनीले जिम्मा पाए पनि समयमै सामान ढुवानी नगर्दा बाटोमै अलपत्र परेको मुड्केचुला गाउँपालिकाले जनाएको छ । दुई वर्षदेखि बीचबाटोमै सामान अलपत्र पर्दा गाउँपालिका सञ्चारविहीन भएको गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र ठकुल्लाले जानकारी दिएका छन् । उनका अनुसार आयस्था कम्पनीले स्थानीय सरकारसँग सहकार्य नगरेको र बारम्बार ताकेता गर्दा पनी बेवास्ता गरेकाले अब उक्त कम्पनीसँग स्थानीय सरकारले ठेक्का तोड्ने बताए । मुड्केचुलावासीले टेलिफोन टावर नहुँदा भोग्नुपरेको समस्या चाँडै हल हुने गाउँपालिका अध्यक्ष दत्तबहादुर शाही बताउँछन् । मुड्केचुलावासीले सञ्चार सास्ती खेप्नुपरेको बताउँदै छिट्टै ठेकेदारको खोजी गरेर टावर निर्माणमा लागिपर्ने प्रदेशसभा सांसद वीरबहादुर शाहीले प्रतिबद्धता जनाएका छन् । “मोबाइल टावर नभएकै कारण एक ठाउँबाट अर्को ठाउँमा सूचना आदानप्रदान गर्न मान्छे कुदाउनुपर्ने अवस्था छ, जति अग्ला डाँडाकाँडा र रुख चढे पनि राम्रोसँग फोनले काम गर्दैन”, पूर्णबहादुर शाहीले गुनासो गरे । सिङ्गो गाउँपालिका नै सञ्चारविहीन हुँदासमेत स्थानीय सरकारका रुपमा रहेको गाउँपालिकाले केही गर्न नसकेको भन्दै उनले दुःख व्यक्त गरेका छन् । गाउँपालिकाले अन्य विकासभन्दा सञ्चार सेवाको विकासमा जोड दिन स्थानीयले आग्रह गरेका छन् । फोन सम्पर्क नभएरै बिरामी कुनै अप्रिय घटना घटिहालेमा मृत्यु कुर्नबाहेकको अरु कुनै विकल्प नभएको स्थानीय बमबहादुर बुढाले दुखेसो पोखे । रासस

नेपालमा उत्तर कोरियाली लगानीः विभागमा ९ वटा दर्ता, फिल्डमा छैनन् उद्योग

काठमाडौं । नेपालमा उत्तर कोरियाको लगानी आउन नदिन सरकारले पहल गरेपनि चासो देखाइएको छैन । नेपालमा लगानी प्रतिबद्धता जनाएका ९ वटा उत्तर कोरियाली कम्पनीलाई लगानी नल्याउन उद्योग विभागले ३ पटक पत्र काटेपनि लगानी नआउने निश्चित भइसकेको छैन । नेपालमा लगानी प्रतिवद्धता जनाएका ९ वटा कम्पनी उत्तर कोरियाली कम्पनी मध्ये २ वटाले राष्ट्र बैंकबाट स्वीकृति लिएका छन् । उद्योग विभागका निर्देशक प्रेम लुइटेलले उत्तर कोरियाको लगानीमा तनहुँमा रहेको ‘ने कोरिया हस्पिटल’ प्रालि कोरियनले स्थानीयलाई नै बिक्री गरेको र ठमेलमा सञ्चालित २ वटा रेष्टुरेन्ट एन्ड बार बन्द गर्ने प्रक्रियामा रहेको जानकारी दिए । उनले भने–उद्योग विभाग कम्पनी दर्ता छ, तर फिल्डमा उद्योग नै छैन ।’ विभागलाई जानकारी नै नगरार्इ हिडेको वा उद्योग नै सञ्चान नभएको हो भनेर बुझिरहेको बताए । राष्ट्र बैंकमा गएर बुझ्दा उत्तर कोरियाली लगानी नेपालमा आएको देखिदैन–उनले भने । हिमालयन सोज रेष्टुरेन्ट एन्ड बार र हिमाल चिलबी सफ्टवयेर डेभलमेण्ट कम्पनीले मात्रै लगानी ल्याउन स्वीकृति लिएको राष्ट्र बैंक श्रोतले जनाएको छ । हिमालयनले १ करोड नेपाली रुपैयाँ र हिमालले १ करोड ५० लाख लगानी ल्याउन अनुमति लिएका थिए । बाँकी ७ वटा कम्पनीले नेपालमा लगानी गर्न स्वीकृती लिएका छैनन् । अहिलेसम्म नेपालमा उत्तरी कोरियाली लगानी आइसकेको छैन । यधपी सरकारले लगानी आउनै नदिने प्रक्रिया अघि बढाएको हो । विभागले साउन २४, भदौ ३१ र असोज २९ गते लगानी नगर्ने बारे जानकारी गराउन पत्राचार गरेको थियो । उद्योग विभागमा ९ उत्तर कोरियाली कम्पनी दर्ता उद्योग विभागको तथ्याङ्क अनुसार नेपालमा पर्यटन, सूचना प्रविधि र सेवामूलक क्षेत्रमा गरी ९ वटा उद्योगमा उत्तर कोरियाली कम्पनीहरु सञ्चालनमा रहेको देखिन्छ । उत्तर कोरियाको लगानीमा नेपालमा २३ करोड ८८ लाख १९ हजार चुक्ता पुँजी भएको उद्योग प्रतिष्ठान दर्ता भएको उद्योग विभागको तथ्यांकमा उल्लेख छ । उत्तरी कोरियाली लगानी रहेका ९ वटा कम्पनीहरुमा ३ सय ४६ जनालाई रोजगारी दिइएको बताइन्छ । विभागका अनुसार उत्तर कोरियाले राजधानी काठमाडौंमा नै धेरै लगानी गरेको छ । ९ वटा कम्पनी मध्ये ७ वटा काठमाडौं र ललितपुर तथा तनहुँमा एक–एक वटा सेवामूलक कम्पनी सञ्चालनमा छन् । विभागको तथ्याङले काठमाडौंमा नै २ वटा सफ्टवयेर डेभलमेण्ट कम्पनीमा ११ करोड ५० लाख लगानी गरेको देखाउँछ । ६ वटा होटल तथा रेष्टुरेण्टमा ७ करोड ९० लाख लगानी छ । तनहुँमा ‘ने कोरिया हस्पिटल’ प्रालि ४ करोड ४८ लाख १९ हजार चुक्ता पुँजीमा संचालन भएको देखिन्छ । उद्योग विभाग विभागको कानून शाखाका निर्देशक टंकबहादुर महतले उत्तर कोरियाको लगानी फिर्ता हुन समय लाग्ने बताए । उनले भने-‘ हामीले ४५ दिनको समय दिएका छौँ, तर कानुनी प्रकिया पूरा गर्न ४ देखि ५ महिना लाग्छ ।’

नेपाल क्यान्सर अस्पतालले नाेभेम्बर महिनामा नि:शुल्क ओपीडी सेवा दिने

काठमाडौ। नेपाल क्यान्सर अस्पताल हरिसिद्विले नोभेम्बर महिनामा फोक्सोको क्यान्सरलाई मध्यनजर गर्दै निःशुल्क ओपीडी सेवा दिने भएको छ। नोभेम्बर महिना विश्वभर फोक्सोको क्यान्सर सचेतना महिनाका रूपमा मनाइन्छ । यही अवसर पारेर अस्पतालले निःशुल्क ओपीडी सेवा दिन लागेको हो। अस्पतालले कात्तिक १५, १७, १९, २२, २४, २६, २९ गते र मंसिर १, ३, ६, ८, १०, १३ गते दिउँसो ३ बजे देखि ६ बजे सम्म सेवा दिने बताएको छ। फोक्सोको क्यान्सरको कारण विश्वमा प्रत्येक वर्ष लाखौ मानिसको मृत्यु हुनेगरेको छ । स्तन क्यान्सर, पाठेघरको क्यान्सर तथा प्रोस्टेट क्यान्सरका कारण वर्षमा जति मानिसको मृत्यु हुन्छ, त्यो भन्दा बढीको मृत्यु फोक्सोको क्यान्सरले हुने गर्छ। फोक्सोको क्यान्सरका लक्षणहरू : १. लगातार खोकीे लाग्नु वा झन् खराब हुने २. रगत उत्पन्न गर्ने खोकी ३. छाती, पछाडि वा कुममा दुखाई छ जो खोक्दा, हाँस्दा वा लामो सास फेर्दा गाह्रो हुने ४. अचानक सास फेर्न गाह्रो हुने ५. अव्यवस्थित रुपमा वजन घट्नु ६. थकित महसुस हुने ७. भोक कम लाग्नु ८. फोक्सोको संक्रमण जस्तै ब्रोन्काइटिस वा निमोनिया लामो समय सम्म निको नहुने