बङ्गलादेशका राष्ट्रपति हमिद आज काठमाडाैं आइपुगे
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीको निमन्त्रणामा बङ्गलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिद नेपालको चार दिवसीय औपचारिक सद्भावना भ्रमणका क्रममा आज अपराह्न यहाँ आइपुगेका छन् । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा राष्ट्रपति भण्डारीले बङ्गलादेशी समकक्षी हमिदलाई स्वागत गरेकी थिइन् । विमानस्थलको सोही कक्षमा राष्ट्रपति हमिदलाई पञ्चकन्याले पुष्पहारद्वारा स्वागत गरेका थिए । यसअघि राष्ट्रपति हमिद सवार विमान त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा अवतरण गरेपछि भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले स्वागत गरेका थिए । सो अवसरमा राष्ट्रपति हमिदको सम्मानमा नेपाली सेनाको एक टुकडीले २१ तोपको सलामीसहित सम्मान गारत अर्पण गरेको थियो । विशिष्ट पाहुनाको स्वागतार्थ विमानस्थलमा सातवटै प्रदेशका जीवन्त कला र संस्कृतिको झाँकी प्रदर्शन गरिएको थियो । विमानस्थलमा उपप्रधानमन्त्री ईश्वर पोखरेल, गृहमन्त्री रामबहादुर थापा तथा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली उपस्थित थिए । भ्रमणका क्रममा राष्ट्रपति भण्डारीसँग बङ्गलादेशी समकक्षी हमिदले राष्ट्रपति भवन, शीतल निवासमा बुधबार अपराह्न भेटवार्ता गर्ने कार्यक्रम छ । राष्ट्रपति भण्डारीले आफ्ना बङ्गलादेशी समकक्षी तथा उनले नेतृत्व गरेको प्रतिनिधिमण्डलको सम्मानमा सोही दिन साँझ रात्रिभोजको आयोजना गरिनेछ । बुधबार नै बङ्गलादेशका राष्ट्रपतिसँग उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना र परराष्ट्रमन्त्री ज्ञवालीले बेग्लाबेग्लै शिष्टाचार भेट गर्ने भएका छन् । राष्ट्रपति हमिदसँग नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवा तथा राजनीतिक दलका वरिष्ठ नेताहरूले पनि शिष्टाचार भेट गर्नेछन् । नेपाल बसाइका बेला बङ्गलादेशका विशिष्ट अतिथिले भक्तपुर दरबार क्षेत्र, पोखराका साथै काठमाडौँको चन्द्रगिरि भ्रमण गर्ने कार्यक्रम छ । रासस
नवौँ विश्व रेन्जर सम्मेलन आजबाट शुरु, ७२ देशका ५५० प्रतिनिधि सहभागी
चितवन । नवौँ विश्व रेन्जर सम्मेलन आजबाट सौराहामा शुरु भएको छ । अन्तर्राष्ट्रिय रेन्जर महासङ्घ (आइआरएफ) र वन तथा वातारण मन्त्रालयको संयुक्त आयोजनामा शुरु भएको सो सम्मेलन पाँच दिनसम्म चल्नेछ । सन १९९५ बाट शुरु भएको सम्मेलन हरेक तीन/तीन वर्षमा हुँदै आएको छ । यसअघिको आठौँ सम्मेलन सन् २०१६ मा अमेरिकामा भएको थियो । सरकारले नवौँ सम्मेलन सम्पन्न गर्न वन मन्त्रालयका सहसचिव डा. महेश्वर ढकालको संयोजकत्वमा व्यवस्थापन गर्न समिति गठन गरेको छ । समितिका संयोजक ढकालका अनुसार सम्मेलनमा नेपालसहित ७२ देशका ५५० प्रतिनिधि सहभागी छन् । सम्मेलनमा नेपालले मध्यवर्ती क्षेत्रको व्यवस्थापन, भूपरिधि, मानव वन्यजन्तु बिचको द्वन्द्व न्यूनीकरण, शून्य चोरी शिकार, पर्यापर्यटनमा स्थानीय समुदायको साझेदारीलगायतका विषयमा भएका उपलब्धिलाई प्रस्तुत गर्ने कार्यक्रम रहेको उनले जानकारी दिएका छन् । त्यसैगरी, प्रविधिमा विश्वका अन्य देशमा भएका प्रगति र समस्याका विषयमा आआफ्ना प्रस्तुतीकरण गर्ने कार्यक्रम छ । सम्मेलनमा वन्यजन्तु संरक्षण, अनुसन्धान र प्रजाति अनुसन्धान, वन्यजन्तु मानव द्वन्द्व न्यूनीकरणका विषयमा विज्ञले आआफ्ना मुलुकका सफल उदाहारण प्रस्तुत गर्ने ढकालले बताए । वन्यजन्तु संरक्षणमा काम गर्ने प्राविधिक कर्मचारीलाई रेन्जर भनिन्छ । उनीहरुको साझा संस्था आइआरएफ हो । सम्मेलनको पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उद्घाटन गर्ने कार्यक्रम रहेको छ । पर्यटन वर्ष २०२० को सँघारमा यहाँ हुने सम्मेलनले चितवन र नेपालको पर्यटन प्रवद्र्धनमा सहयोग पुर्याउने अपेक्षा गरिएको छ । रासस
नेपाली विद्यार्थीको रोजाईमा फ्रान्स: कस्तो छ पढाई, कति लाग्छ खर्च ?
काठमाडौं। यदि तपाई विविध साँस्कृतिक विविधता र उत्कृष्ट शैक्षिक प्रतिष्ठा भएको देशमा पढ्न चाहनुहुन्छ भने फ्रान्स तपाईको लागि उपयुक्त देश हुनसक्छ । कम शिक्षण शुल्क र अन्तर्राष्ट्रिय स्तरको विश्वविद्यालय फ्रान्सको बिशेषता हो । यहि कारण पनि पछिल्लो समय फ्रान्स धेरै नेपाली विधार्थीको रोजाईमा पर्न गरेको छ । फ्रान्समा हाल २ लाख २५ हजार विदेशी विद्यार्थीहरु अध्ययन गरिरहेका छन् । यहाँका विश्वविद्यालयमा भर्ना हुने मध्ये १० प्रतिशत विदेशी विद्यार्थीहरु रहेका छन् । फ्रान्सेली उच्च शिक्षा प्रणाली संसारकै उत्कृष्ट शिक्षा प्रणालीमा पर्दछ । फ्रान्सका १० विश्वविद्यालय संसारको उत्कृष्ट ३०० विश्वविद्यालयमा पर्दछ । कम शिक्षण शुल्कमा उत्कृष्ट उच्च शिक्षाको साथ फ्रान्समा अध्ययन गर्ने विदेशी विद्यार्थीहरूको लागि फाईदाजनक हुन्छ। फ्रान्स विशेष गरी व्यवसाय सम्बन्धी विषयहरु पढ्न चाहनेहरूको लागि राम्रो विकल्प हो । यो अन्तर्राष्ट्रिय व्यापार र व्यवस्थापन शिक्षाको केन्द्र हो र यहाँका धेरै बिजनेस स्कूलहरू विश्वव्यापी रुपमा चर्चित छन् । फ्रान्समा ७१ सार्वजनिक विश्वविद्यालयहरु रहेका छन् र ती सबैलाई फ्रान्सेली सरकारले अनुदान दिंदै आएको छ, जसका कारण स्वदेशी र विदेशी सबै विद्यार्थीहरूलाई अत्यन्त सस्तो मूल्यमा उत्कृष्ट शिक्षा प्रदान गर्दै आएको छ । यहाँको शैक्षिक सत्र सेप्टेम्बर वा अक्टुबरमा सुरु भएर मे वा जुनमा अन्त्य हुन्छ । शैक्षिक सत्रलाई दुई सेमेस्टरमा विभाजन गरिएको छ । यहाँ स्नातक तहलाई ६ सेमेस्टरमा विभाजन गरिएको छ अर्थात स्नातक तह ३ वर्षको रहेको छ भने स्नातकोत्तर तह ४ सेमेस्टरमा विभाजन गरिएको छ, स्नातकोत्तर तहको कोर्ष २ वर्षको हुन्छ । उच्च शिक्षाको लामो ईतिहास बोकेको फ्रान्स एक सुन्दर देश हो । पश्चिमी यूरोपमा अवस्थित यस देशले भौगोलिक रूपमा विविध क्षेत्रलाई ओगटेको छ । सांस्कृतिक रूपमा पनि एक लामो इतिहास बोकेको फ्रान्स संस्कृति, पाक कला र साहित्यको प्रमुख केन्द्रको रुपमा प्रख्यात छ । यी सबै कारणहरूले यसलाई विश्वभरि अन्तर्राष्ट्रिय विद्यार्थीहरूको लागि एक रोमाञ्चक गन्तव्य बनाउँदछ । पढाई खर्च फ्रान्समा युरो मुद्राको प्रयोग हुन्छ । एक युरो बराबर १२५ नेपाली रुपैंया हुन्छ । यहाँको सार्वजनिक शैक्षिक संस्थानहरूमा ट्यूशन दरहरू सरकारले निर्धारण गर्दछ र ती धेरै किफायती हुन्छन् । वास्तवमा फ्रान्सकोे सार्वजनिक संस्थानहरूमा उच्च शिक्षाका शिक्षण शुल्क घरेलु र अन्तर्राष्ट्रिय विद्यार्थीहरूको लागि समान छन् । यहाँ ट्युसन लागतहरू प्रत्येक वर्ष सेट गरिन्छ । २०१७ मा फ्रान्समा स्नातक तह अध्ययनको लागि औसत वार्षिक शिक्षण लागत २०० अमेरिकी डलर अर्थात २३ हजार भन्दा कम र मास्टरको अध्ययनका लागि लगभग २५९ युरो डलर अर्थात नेपाली ३३ हजार आसपास रहेको थियो । विद्यार्थीहरूले केही मात्रामा प्रशासन शुल्क तिर्न आवश्यक हुन्छ, जसले शिक्षण लागत थोरै बढाउँदछ । यधापी फ्रान्समा पढ्ने भनेको उच्च स्तरको शिक्षा खोज्ने अन्तर्राष्ट्रिय विद्यार्थीहरूको लागि सबैभन्दा सस्तो विकल्प हो । यी दरहरू सार्वजनिक संस्थानहरूमा मात्र लागू हुन्छन् । यदि तपाई निजी संस्थानमा अध्ययन गर्न चाहानुहुन्छ भने शुल्क धेरै बढी हुन्छन्, जुन प्रति वर्ष १० हजार अमेरिकी डलर सम्म पर्न जान्छ । बसाई खर्च शिक्षण शुल्कको दाँजोमा फ्रान्समा बसाई खर्च भने ठ्याक्कै उल्टो रहेको छ । यहाँको बसाई खर्च छिमेकी देशहरू भन्दा बढी छ । यधापी विद्यार्थीहरूले प्राय: रेस्टुरेन्ट र यातायातमा छुट पाउँछन्, जसले शुल्क केही कम भने गराईदिन्छ । यहाँका साना शहरहरूमा बस्दा लागत कम हुन्छ, त्यसैले कहाँ अध्ययन गर्ने भनेर निर्णय गर्दा यो कुरालाई ध्यान दिनुपर्छ । विदेशी विद्यार्थीहरूको फ्रान्समा आवासको लागि धेरै विकल्पहरू छन् । तपाई विश्वविद्यालयको आवासमा प्रति महिना युरो डलर १२० अर्थात नेपाली १६ हजारको आसपास तिरेर बस्न सक्नुहुन्छ । होमस्टे विदेशी विद्यार्थीहरूको लागि अर्को विकल्प हो । यसको शुल्क स्थानको आधारमा तोकिएको हुन्छ, जुन प्रति महिना २०० युरो अर्थात नेपाली २५ हजार आसपास पर्न जान्छ, जसमा कम्तिमा एक दिनको खाना समावेश हुन्छ । यहाँ विद्यार्थीहरुले स्थानीय तहबाट अनुदानको लागि आवेदन दिने विकल्प पनि रहेको छ । निवेदन जसले पनि दिन सक्छन् र यदि तपाई अनुदानको लागि योग्य हुनुहुन्छ भने तपाईले आफ्नो भाडाको मासिक ३५ प्रतिशत फिर्ता पाउन सक्नुहुन्छ । अन्य लागत बिजुली, ग्यास, इन्टरनेट : ६० युरो डलर प्रति महिना अध्ययन सामग्री : ५० युरो डलर प्रति महिना ट्राभल कार्ड वा यातायात : ७० युरो डलर प्रति महिना भान्साका सामाग्री : २५० युरो डलर प्रति महिना भाषा: फ्रान्सेलीहरु आफ्नै भाषालाई प्राथमिकता दिने गरेका छन्, यधपी तपाईले अंग्रेजी भाषाको माध्यमबाट पनि संचार गर्न सक्नुहुन्छ । तर तपाईले फ्रेन्च भाषा सिक्नुभयो भने त्यो तपाईको लागि निकै नै फाईदाजनक रहन्छ । विद्यार्थीले काम गर्ने प्रावधान हरेक विदेशी विद्यार्थीहरुलाई फ्रान्समा काम गर्न पाउने सुविधा रहेको छ । यदी तपाई युरोपियन युनियन भित्रको देशको विद्यार्थी पर्नु भएन भने तपाईले काम गर्नको लागि अनुमति लिनु पर्छ । फ्रान्सेली कानून अनुसार विदेशी विद्यार्थीहरूलाई हप्तामा २० घण्टा काम गर्न सक्छन् । जब तपाई फ्रान्समा काम गर्नुहुन्छ भने तपाईलाई प्रति घण्टा ९.७६ युरो डलर ज्याला दिईन्छ । यो कुनै पनि किसिमको कर नकटाइएको ज्याला दर हो ।
साइबर अपराधको नयाँ तरिका ‘इमेल फिसिङ’ मार्फत करोडौँ रुपैयाँ ठगी
काठमाडौं । सामाजिक सञ्जालको बढ्दो प्रयोगसँगै नयाँ तरिकाबाट साइबर अपराध हुने गरेको छ । सामाजिक सञ्जालको प्रयोग बढेसँगै फेसबुक, ट्वीटर, भाइवर, गुगलजस्ता सञ्जालमा नयाँ खाता खोलेर मानिसले पैसा लुट्ने र अर्को व्यक्तिको हैसियत सिध्याउने घटना बढेर गएको हो । पछिल्लो समय ‘इमेल फिसिङ’ मार्फत करोडौँ रुपैयाँ ठगी हुने गरेको छ । महानगरीय अपराध महाशाखामा मासिक १० देखि १५ उजुरी ‘इमेल फिसिङ’को पर्ने गरेको छ । ‘इमेल फिसिङ’ भनेको दुईजना व्यवसायी वा आफन्तबीच इमेलमा भएको कुराकानी अपरिचित व्यक्तिले बीचमा बसेर गोप्य निगरानी गर्ने र व्यवसायी वा आफन्तबीच इमेलमार्फत रकमको कारोवार हुन थालेपछि मेल आइडी, बैंकको खाता नम्बर र देशसमेत इमेलमार्फत परिवर्तन गरेर रकम ठगी गर्नु हो । अपराध महाशाखा साइबर शाखाका प्रमुख, प्रहरी निरीक्षक लिलाराज डाँगी नेपालबाट विदेशमा हुने कारोवारमा बढी ‘इमेल फिसिङ’ हुने गरेको बताउँछन् । “विदेशबाट सामान आयात गरेर इमेलमार्फत रकम भुक्तानी गर्दा, ट्रेकिङ, ट्राभल्स, टुर्स कम्पनीको बढी ‘इमेल फिसिङ’ हुने गरेको छ”, उनी भन्छन् । यस्तै, प्रतिष्ठित व्यक्तिको फेसबुक, ट्वीटर ह्याक गरेर गोप्य सूचना लिएर रकमको बार्गेनिङ गर्ने, अर्काको नाममा फेसबुक तथा ट्वीटर खोलेर गोप्य सूचना लिने र दुःख दिने गरेको उजुरी प्रहरीकोमा आउने गरेको महाशाखाले जनाएको छ । महाशाखामा चालू आर्थिक वर्षको पछिल्लो तीन महिनामा साइबर अपराधसम्बन्धी ४५२ उजुरी दर्ता भएका छन् । महाशाखाका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक सहकुलकुमार थापा सामाजिक सञ्जाल फेसबुक, ट्वीटरमा चिठ्ठा पर्यो भनेर रु एक करोडसम्म ठगी गरेको उजुरी महाशाखामा परेको बताए । “विदेशमा बसेर सामान पठाइदिन्छु पैसा पठाइदिनुहोस् भनेर समेत ठगी भएको छ”, उनले भने । महाशाखाका अनुसार युवावर्ग बढी सङ्ख्यामा साइबर अपराधमा लागेका छन् । जसमध्ये १० वर्षदेखि २० वर्ष उमेर समूहका २२.०५ प्रतिशत, २० देखि ३० वर्ष समूहका ३९.९२ प्रतिशत, ३० देखि ४० वर्ष उमेर समूहका २९.९१ प्रतिशत र ४० देखि ६० वर्ष उमेर समूहका ७.९८ प्रतिशत व्यक्ति साइबर अपराधमा लागेका छन् । “सामाजिक सञ्जालमा निःशुल्क डाउनलोड गर्नु वा हेर्नु भनेको हुन्छ र अनावश्यक कुरा हेर्दा वा डाउनलोड गर्दा साइबर अपराध बढी हुने गरेको छ”, उनी भन्छन् । साइबर कानूनका बारेमा विद्यालय, कलेज तथा क्याम्पसमा शिक्षा दिनु जरुरी रहेको महाशाखाले जनाएको छ । साइबर अपराधको ३५ दिनभित्र सत्यतथ्य सूचना अदालतमा दर्ता गरिसक्नुपर्ने प्रावधान रहेको छ । महाशाखामा चालू आवमा साइबर अपराधमा ४५२ उजुरी दर्ता भए पनि ११ जनाविरुद्ध मुद्दा चलाएको छ । सामाजिक सञ्जालमा छ, ह्याकिङ गर्ने दुई र जथाभावी एसएमएस गर्ने तीनजना विरुद्ध मुद्दा दर्ता भएको छ । यस्तै, आव २०७३÷०७४ मा एक हजार १९७ उजुरी दर्ता भएकोमा २६ जनाविरुद्ध मुद्दा चलेको थियो । आव २०७४÷०७५ मा एक हजार ४८२ उजुरी दर्ता भएकोमा ६८ जनाविरुद्ध मुद्दा दर्ता भएको तथा आव २०७५÷०७६ मा एक हजार ९३८ उजुरी दर्ता भएकोमा ६७ जनाविरुद्ध मुद्दा दर्ता भएको महाशाखाले जनाएको छ । महाशाखाका प्रमुख थापा साइबर ऐन नबन्दा मुद्दा चलाउने सम्बन्धमा केही समस्या भएको बताएका छन् । अहिले साइबर अपराधलाई महाशाखाले विद्युतीय कारोवार ऐनअन्तर्गत कारवाही गर्दै आएको छ । विद्युतीय कारोवार ऐनअन्तर्गत साइबर अपराध गर्नेलाई पाँच वर्षसम्म जेल वा रु एक लाख वा दुवै सजाय हुने प्रावधान छ । साइबर अपराधबाट मानिस घरबारविहीन हुने, पढाइ बिग्रने, आत्महत्या बढ्ने गरेको महाशाखाको तथ्याङ्कमा उल्लेख छ । नेपाल प्रहरीले पछिल्लो समय साइबर अपराधका घटनामा वृद्धि भएपछि केन्द्रीय साइबर ब्यूरो स्थापनासमेत गरेको छ । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालको विशेष सक्रियतामा विसं २०७५ मा केन्द्रीय साइबर ब्यूरो स्थापना भएको हो । प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक विश्वराज पोखरेल प्रविधिको विकाससँगै सामाजिक सञ्जालबाट हुने अपराध नियन्त्रणका लागि केन्द्रीय साइबर ब्यूरो स्थापना गरिएको बताउनुहुन्छ । साइबर ब्यूरो हाल भोटाहिटीबाट सञ्चालनमा आएको छ । स्रोत र साधनको अभावका कारण साइबर ब्यूरोले साइबर घटनाको बारेमा पूर्ण अनुसन्धान गर्न नसके पनि केही घटनाको भने अनुसन्धान गर्दै आएको छ । महाशाखाले समेत अहिले साइबर अपराधका घटनाको अनुसन्धानका लागि ब्यूरोमा पठाउन थालेको छ । प्रहरीले लागू गरेको ‘समुदाय–प्रहरी साझेदारी’ कार्यक्रमले साइबर अपराधसमेत रोकथाम हुने विश्वास प्रहरी प्रधान कार्यालयले लिएको छ । रासस
१३ वर्षदेखि थुपारिएको सिसडोलको फोहर व्यवस्थापन गरिँदै
काठमाडौं । काठमाडौँ महानगरपालिकाले विगत १३ वर्षदेखि सिसडोलमा थुपारिएको फोहरको अन्तिम व्यवस्थापन कार्य शुरु गरेको छ । लामो समयदेखि व्यवस्थापन हुन नसकेको फोहर महानगरपालिकाले अहिले माटोले पुरेर व्यवस्थापन गर्न थालेको हो । महानगरको वातावरण व्यवस्थापन विभागका प्रमुख हरिकुमार श्रेष्ठका अनुसार सिसडोलभन्दा दुई किलोमिटर पर बञ्चरेडाँडामा दीर्घकालीन फोहर व्यवस्थापनस्थल निर्माणको काम पनि भइरहेको र सिसडोलमा फोहर राख्ने स्थान नहुँदा थुपारिएको फोहरलाई व्यवस्थापन गर्न लागिएको हो । उक्त स्थानमा आगामी दिनमा फोहर नराख्ने गरी र जम्मा गरिएको फोहरले स्थानीयवासीलाई असर नपर्ने गरी व्यवस्थापनको काम गर्न लागिएको हो । बढीमा अबका चार महिनामा दीर्घकालीन रूपमा फोहर व्यवस्थापन गर्ने स्थान बञ्चरेडाँडामा फोहर राख्न सकिने गरी काम भइरहेको छ । कामपाले विगत १३ वर्षदेखि सिसडोलमा फोहर थुपार्दै आएको छ । दुई वर्षका लागि भन्दै लामो समयसम्म फोहर थुपार्दा स्थानीयवासी निकै प्रभावित भएका थिए । सिसडोलमा काठमाडौँ उपत्यकाका १८ स्थानीय तहको फोहर विसर्जन गरिँदै आएको छ । उपत्यकाबाट दैनिक करिब एक हजार मेट्रिक टन फोहर निस्कन्छ । काठमाडौँ उपत्यकाबाट दैनिक उत्सर्जन हुने फोहरमध्ये करिब ७५ प्रतिशत सिसडोलमा व्यवस्थापन गरिँदै आएको छ । शहरी विकास मन्त्रालयले बञ्चरे डाँडामा दीर्घकालीन फोहर सङ्कलन केन्द्र निर्माणको काम पनि तीव्र रूपमा अघि बढेको जनाएको छ । निर्माणका लागि मन्त्रालयले रु ३८ करोड बजेट छुट्याएको छ । मन्त्रिपरिषद्को गत मङ्सिर १७ गतेको बैठकले दीर्घकालीन फोहर व्यवस्थापनस्थल निर्माणको काम शहरी विकास मन्त्रालयलाई दिने निर्णय गरेको हो । करिब १५ मिटर अग्लो बाँध र अन्य पूर्वाधारसहितको फोहर विसर्जनस्थल निर्माण हुने मन्त्रालयले जनाएको छ । रासस
बढे पर्यटक: १० महिनामा १० लाखले गरे नेपाल भ्रमण, चिनियाँको सङ्ख्या बढी
काठमाडौँ । नेपाल भ्रमणमा आउने चिनियाँ पर्यटकको सङ्ख्या बढेको छ । सन् २०१९ को अक्टोबर महिनामा मात्रै चीनबाट १५ हजार ३७ चिनियाँ पर्यटकले नेपाल भ्रमण गरेको नेपाल पर्यटन बोर्डले जनाएको छ । यो सङ्ख्या गत वर्ष सोही अवधिको तुलनामा ११.५ प्रतिशत बढी हो । बोर्डको तथ्याङ्कअनुसार सन् २०१८ मा १२ लाख हाराहारीमा विदेशी पर्यटक नेपाल आएका थिए । उक्त अवधिमा चीनबाट एक लाख ६० हजार पर्यटकले नेपाल भ्रमण गरेका थिए । सन् २०१९ को अक्टोबरमा भारतबाट १२ हजार ७०६ पर्यटक नेपाल आएका छन् । यो सङ्ख्या अघिल्लो वर्ष सोही अवधिको तुलनामा नौ प्रतिशतले बढी हो । अक्टोबरमा चिनियाँ पर्यटक बढे पनि नेपालमा कूल पर्यटक आगमनमा छिमेकी मुलुक भारत अगाडि छ । सन् २०१९ को दश महिनामा १ लाख ६९ हजार ९५२ भारतीय पर्यटक नेपाल आएका छन् । उक्त अवधिमा चीनबाट एक लाख ३४ हजार २८१ पर्यटकले नेपाल भ्रमण गरेका छन् । अक्टोवरमा कूल १ लाख ४३ हजार ८७० विदेशी पर्यटक नेपाल आएका छन् । अघिल्लो वर्षको सोही अवधिमा १ लाख ३० हजार ७०४ पर्यटक आएका छन् । भारत नेपालको पर्यटनका लागि मुख्य स्रोत बजार हो भने चीन दोस्रो स्थानमा पर्छ । नेपालमा सबैभन्दा बढी पर्यटक भित्रने मुलुकमा भारत पर्छ । सन् २०१८ मा दुई लाख ४३८ भारतीय नागरिकले नेपाल भ्रमण गरेको बोर्डको विवरणमा उल्लेख छ । गत अक्टोबरमा ९असोज २५ र २६ गते० चीनका राष्ट्रपति सी चिनफिङले नेपालको दुई दिवसीय राजकीय भ्रमण गर्नुभएको थियो । उक्त भ्रमणपछि चिनियाँ पर्यटकको सङ्ख्यामा बढोत्तरी भएको पाइएको छ । अक्टोबरमा भारतीय पर्यटकको तुलनामा चिनियाँ पर्यटक बढेको भएको बोर्डले जनाएको छ । विश्व भ्रमणमा धेरै पर्यटक निस्कने मुलुक चीनबाट अझै पनि बढी पर्यटक नेपालमा भित्र्याउन सकिएको छैन । वार्षिक १५ करोड चिनियाँ विश्व भ्रमणमा निस्कने बताइएको छ । त्यसको केही हिस्सा नेपाल ल्याउन सके पर्यटन क्षेत्रमा महत्वपूर्ण योगदान हुने बताइन्छ । सरकारले सन् २०२० लाई नेपाल भ्रमण वर्ष मनाएर उक्त अवधिमा २० लाख पर्यटक भित्र्याउने लक्ष्य लिएको छ । छिमेकी मुलुक चीनबाट मात्रै पाँच लाख पर्यटकलाई स्वागत गर्ने सरकारको तयारी छ । दश महिनामा दश लाख पर्यटक सन् २०१९ को १० महिनामा झण्डै १० लाख विदेशी पर्यटकले नेपाल भ्रमण गरेको बोर्डले जनाएको छ । अध्यागमन विभागलाई उद्धृत गर्दै बोर्डले उपलब्ध गराएको तथ्याङ्ककअनुसार सन् २०१९ को जनवरीदेखि अक्टोबरसम्म कूल ९ लाख ७५ हजार ५५७ विदेशी पर्यटक नेपाल आएका छन् । कूल पर्यटकमध्ये हवाई मार्ग भएर आठ लाख २० हजार ४९९ र स्थलमार्गबाट एक लाख ५५ हजार ५८ पर्यटक नेपाल भित्रिएका छन् । यो अघिल्लो वर्षको सोही अवधिको तुलनामा आठ प्रतिशतले वृद्धि हो । सन् २०१८ को १० महिनामा नौ लाख तीन हजार ५३९ पर्यटकले नेपाल भ्रमण गरेका थिए । पर्यटक आगमनको उक्त अवधिमा युरोपबाट एक लाख ९९ हजार तीन पर्यटक आएका छन् । युरोपबाट गत वर्ष एक लाख ९८ हजार ४९३ पर्यटक नेपाल आएका थिए । अमेरिका र क्यानडाबाट ९२ हजार २७२ पर्यटक आएका छन् । एशियाली मुलुकबाट झिनो सङ्ख्यामा पर्यटक बढेका छन् । खासगरी चाइनिज ताइपेई र थाइल्याण्डबाट क्रमशः ३९।५ र ३२।९ प्रतिशत बढी पर्यटक आएको आँकडाले देखाएको छ । ताइपेईबाट ११ हजार ३८४ र थाइल्याण्डबाट ३९ हजार ६०८ पर्यटक नेपाल भ्रमणमा आएका छन् । पर्यटक आगमनको समग्रतालाई हेर्दा दक्षिण एशियाली मुलुक भारत, चीन र बङ्गलादेशबाट २५.६५ प्रतिशतले वृद्धि भएको छ । एशियाली मुलुकबाट २६.५९ प्रतिशत, युरोपका मुलुकबाट २०.४ प्रतिशत पर्यटक बढेको पाइएको छ । सरकार तथा निजी क्षेत्रको पहल, नेपाली कूटनीतिक नियोग, सञ्चारमाध्यमलगायत सरोकारवालाको सक्रियताले विदेशी पर्यटकको सङ्ख्यामा बढोत्तरी भएको बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीले बताए । रासस
सुजुकीले शुरु गर्यो ‘इन्ट्रुडर २५०’ को उत्पादन, यस्ता हुनेछन् विशेषता
काठमाडौँ । जापनिज मोटरसाइकल मेनुफेक्चरर कम्पनी सुजुकीले ‘इन्ट्रुडर २५०’ को उत्पादनको काम शुरु गरेको छ । कम्पनीले यस क्रुजरलाई भारतमा हुने ‘अटो एक्स्पो’ मोटरसाइकल शोमा सार्वजनिक गर्ने अनुमान गरिएको छ । सुजुकीले जिक्सर २५० मा भएको एलईडी लाइट्स, ब्रेकिङ्ग सेटअप, डुअल च्यानल एबीएस, डिजिटल इन्स्ट्रुमेन्ट क्लष्टर जस्ता फिचरहरु यस बाइकमा पनि दिने भएको छ । तर, यसको सस्पेन्सनलाई भने कम्पनीले यसको क्रुजिङ्ग नेचरलाई सुहाउँदो हुने गरी परिमार्जन गर्नेछ । त्यसैगरी, आरामदायक यात्राको लागि एउटा क्रुजरमा हुने लो सिट हाइट, अगाडितर्फ सेट गरिएको फुट पेग्स, रेज्ड हेण्डल बार जस्ता विशेषताहरु यस बाइकमा पनि समावेस गरिनेछ । इन्ट्रुडर २५० मा जिक्सर २५० मै दिइएको २४९ सीसी फ्युल–इन्जेक्टेड एसओएचसी इञ्जिन जडान गरिनेछ । यस इन्जिनले २६.५ पीएसको पावर र २२.६ एनएमको टर्क प्रोड्युस गर्दछ । तर, इन्ट्रुडरको क्रुजिङ्ग विशेषतालाई मध्यनजर गर्दै सुजुकीले यस इञ्जिनलाई भने थोरै परिमार्जन गर्ने अनुमान पनि गरिएको छ । त्यसैगरी सुजुकीका अनुसार यो इञ्जिन बीएस६ प्रदुषण मापदण्ड अनुरुपको हुनेछ । लञ्च पश्चात भारतीय बजारमा यस बाइकको मूल्य एक लाख ८० हजार रुपैयाँ तोकिने अनुमान गरिएको छ । नेपालका लागि सुजुकी टू–ह्विलर्सको आधिकारिक विक्रेता भी.जी.अटोमोवाइल्स प्रालिले हाल नेपाली बजारमा सुजुकीका विभिन्न मोडलहरुको बिक्री वितरण गर्दै आइरहेको छ । कम्पनीले नेपालमा पाइने १५५ सीसीको इन्ट्रुडरको मूल्य चाँही तीन लाख ३३ हजार नौ सय रुपैयाँ तोकेको छ ।
नेपाल क्लियरिङ्ग हाउसको चुक्ता पूँजी ३८ प्रतिशत बृद्धि, अब २९ करोड
काठमाडौँ । नेपाल क्लियरिङ्ग हाउस लिमिटेड(एनसीएचएल)ले सोमबार आठौँ वार्षिक साधारण सभा सम्पन्न गरेको छ । साधारण सभाले कम्पनीको चुक्ता पूँजी रु. २१.६ करोड रहेकोमा ३८% बोनस शेयर वितरण गरी रु. २९.८ करोड पुर्याउने निर्णय गरेको छ । साथै बोनस शेयर ट्याक्स प्रयोजनका निम्ती २% नगद लाभांश पनि वितरण गर्ने निर्णय गरेको छ । कम्पनीको अधिकृत पूँजी पनि वृद्धि गरी ५० करोड पुर्याइने निर्णय गरेको छ । आ.व. २०७५÷७६ मा कम्पनीले खुद नाफा रु. २३७,७३५,७८६ गरेको छ । कम्पनीले पूँजी वृद्धि गरी भुक्तानी प्रणाली पूर्वाधार विकास तथा विस्तार गर्ने, थप प्रणालीहरु ल्याउने तथा जोखिम व्यवस्थापना सुढृढ बनाउने योजना बनाएको छ । नेपाल राष्ट्र बैंकको नियमअनुसार नेपाल भित्र कार्य गर्ने भुक्तानी प्रणाली सन्चालक (पिएसओ) को चुक्ता पुँजी कम्तिमा १० करोड तथा नेपाल बाहिर कार्य गर्नका लागी २५ करोड रहनु पर्ने ब्यवस्था रहेको छ । आव २०७५/७६मा एनसीएचएल–ईसीसी मार्फत कुल ११,७५५,०७२ चेक राफसाफ भएको थियो भने अन्तरबैंक विद्युतीय भुक्तानी प्रणाली (एनसीएचएल–आईपीएस)बाट ४,९३१,९५० तथा कनेक्टआईपीएस ई-पे प्रणाली मार्फत १८६,०४१ भुक्तानी कारोबारहरु भएको कम्पनीले जनाएको छ । कम्पनीले आफ्नो भुक्तानी प्रणालीहरु मार्फत आव २०७५/७६ मा कुल ९२ खर्ब बराबरको भुक्तानी कारोबारहरु राफसाफ गरेकोमा दैनिक औसत कारोवार ६७,४७९ रहेको थियो जुन औसत दैनिक रकम रु.३६.८५ अर्ब रहेको थियो । हाल ८० सदस्य बैंक तथावित्तीय संस्थाहरुका ५,००३ शाखाहरुबाट कम्पनीले आफ्ना सेवाहरु प्रदान गरिरहेको छ भने कम्पनीमा २२ गैर–बैंकिङ संस्थाहरु इन्डारेक्ट/टेक्निकल मेम्बरको रुपमा आवद्ध छन् । नेपाल क्लियरिङ्ग हाउस लिमिटेड नेपाल राष्ट्र बैंक (१०%), बैंक तथावित्तीय संस्थाहरु(८०%) र स्मार्ट च्वाइस टेक्नोलोजिज् प्रालि (१०%) द्वारा प्रवद्र्धित कम्पनी हो । यसले नेपालमा राष्ट्रिय भुक्तानी प्रणालीहरु स्थापना र विस्तार गर्नुका साथै विभिन्न बैंक तथा वित्तीय संस्थाहरु, पिएसओ, पिएसपि, सरकारी तथा गैर सरकारी निकायहरुलाई भुक्तानी प्रणालीका सेवाहरु प्रदान गर्दै आएको छ ।