सिक्टा सिँचाइको काम १४ वर्षमा ६० प्रतिशत मात्रै
राँझा । बाँकेमा निर्माणाधीन राष्ट्रिय गौरवको सिक्टा सिँचाइ आयोजनाको काम सुस्तगतिमा छ । निर्माण शुरु भएको १४ वर्षमा ६० प्रतिशतमात्रै काम सम्पन्न भएको छ । सरकारले आफ्नै स्रोतमा विसं २०६३ माघदेखि निर्माण शुरु गरेको यो नेपालकै सबैभन्दा ठूलो सिँचाइ आयोजना हो । रु २५ अर्बको लागतमा निर्माणाधीन आयोजनामा ६० प्रतिशत काम सम्पन्न भएको आयोजना प्रमुख कृष्णप्रसाद नेपालले जानकारी दिए । उनका अनुसार, सिक्टाको सबै काम यही आर्थिक वर्ष २०७६÷७७ भित्र सम्पन्न गर्ने सरकारको लक्ष्य छ । आयोजनाको ४५ दशमलव २५ किलोमिटर लामो पश्चिमी र ५३ किलोमिटर पूर्वीनहरबाट बाँकेका ४२ हजार हेक्टर क्षेत्रफलमा सिँचाइ गर्ने उद्देश्य छ । बाँकेमा ३५ हजार ९७० हेक्टरमा धानखेती हुन्छ । त्यसमध्ये करीब १३ हजार ७०० अर्थात् करीब २५ प्रतिशत क्षेत्रमा मात्रै सिँचाइ सुविधा छ । सिँचाइ सुविधा नहुँदा किसान वर्षेनी आकाशेपानीको भरमा धानखेती गर्न बाध्य छन् । राष्ट्रिय गौरवको सिक्टा सिँचाइ आयोजनाको ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले पटक–पटक स्थलगत अनुगमन गरेर समयमै काम सक्न निर्देशन दिने गरे पनि सरकारले दिएको प्राथमिकताअनुसार प्रतिफल भने देखिएको छैन । आयोजना कार्यालय अहिलेसम्म मूल नहर निर्माणको काममै अल्झिरहेको छ । आयोजनाका शाखा र उपशाखा नहर निर्माणको काम पनि सुस्त छ । तीन वर्षअघि अगैयास्थित मुख्य बाँधमा जडान गरिएको १८ वटा गेट सिँचाइका लागि उपयोगमा आउन सकेका छैनन् । सिक्टाको पश्चिम मूल नहर निर्माणको काम सम्पन्न भए पनि हस्तान्तरण नहुँदै परीक्षण गर्ने क्रममा पटक–पटक भत्किने गरेको छ । विसं २०७३ असार १४ गते पनि परीक्षणकै क्रममा ढकेरीस्थित झिझरीखोला छेउमा मूल नहर भत्किएको थियो । पटक–पटक नहर भत्किँदा सिक्टाको गुणस्तरमाथि प्रश्न उठेको छ । सिक्टा सिँचाइको काम समयमै नहुँदा किसान मर्कामा परेका मूल उपभोक्ता समितिका अध्यक्ष शालिकराम डाँगीले बताए । “हामीलाई सिँचाइ सुविधा चाहियो भनेर मन्त्रालयदेखि सबै ठाउँमा पुग्यौँ”, अध्यक्ष डाँगीले भने, “सबैको आश्वासन आउँछ तर हाम्रो माग अझै पूरा भएन ।” गत हप्तामात्रै स्थलगत अनुगमनका क्रममा मन्त्री पुनले एक वर्षभित्र सिक्टा सिँचाइ आयोजनाको नहरको काम सक्न निर्देशन दिएको बाँके क्षेत्र नं १ का प्रतिनिधिसभा सदस्य महेश्वरजङ्ग गहतराजले जानकारी दिए । उनका अनुसार, राप्ती सोनारी गाउँपालिकाको अगैयास्थित आयोजनाको हेडवक्सस्थल पुगेर मन्त्री पुनले जलस्रोत तथा सिँचाइ विभागका महानिर्देशक मधुकरप्रसाद राजभण्डारीलाई महिनाको एकपटक अनिवार्य सिक्टाको स्थलगत निरीक्षण गर्न र जलस्रोत तथा सिँचाइ सचिव रवीन्द्रनाथ श्रेष्ठलाई हरेक महिनामा एक दिन सिक्टा सिँचाइ आयोजनाको प्रगतिबारे मन्त्रालयमा समीक्षा गर्न निर्देशन दिएका थिए । रासस
उद्योगमन्त्री यादवसँग जापानी अधिकारीले भने-‘नेपालमा लगानी गर्न इच्छुक छौँ’
काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री मातृकाप्रसाद यादवसँग जापानी कृषि मन्त्रालयका प्रेसिडन्ट अफ जापान इन्टरनेशनल रिसर्च सेन्टर फर एग्रिकल्चरल साइन्सेजका डा. मासारु इवानागा तथा जापानका राजदूत मासामिची सैगोले शिष्टाचार भेट गरेका छन् । शिष्टाचार भेटघाटका अवसरमा मन्त्री यादवले निरन्तरको जापानी सहयोगको लागि धन्यवाद व्यक्त गर्दै यस्ता खाले भ्रमण, छलफल र सहकार्यले सम्बन्धलाई नयाँ उचाइमा पुर्याएको विचार व्यक्त गरे । उहाँले नेपालको उन्नति र प्रगतिमा हालसम्म जापानले गरेको सहयोगको उच्च मूल्यांकन गर्दै कृषि क्षेत्रमा लगानी गर्न आग्रह गरे । साथै उनले नेपालमा राजनीतिक स्थिरता, कानूनी एवम् संरचनागत सुधारले विदेशी लगानीको वातावरण निर्माण भएको स्पष्ट पार्दै जापानको सरकारी र निजी दुबै स्तरबाट नेपालमा लगानी गर्न विशेष आग्रहसमेत गरे । भेटमा जापानका प्रेसिडन्ट अफ जापान इन्टरनेशनल रिसर्च सेन्टर फर एग्रिकल्चरल साइन्सेज डा. मासारु इवानागाले जापानी लगानीकर्ता नेपालमा लगानी गर्न आउन इच्छुक र उत्सुक रहेको बताए । राजनीतिक स्थिरता हासिल गरी कानून र पूर्वाधार निर्माणमा नेपालले गरेको प्रगतिले यहाँ लगानी गर्न उत्प्रेरित गरेको बताए । कृषि उत्पादनमा नेपालको भौगोलिक विविधता महत्वपूर्ण रहेको बताउँदै कृषिको विकास र लगानीका लागि नेपाल कृषि अनुसान्धान परिषद नार्कसँग समन्वय गर्ने कार्य भइरहेको बताए । भेटमा नेपालको लागि जापानी राजदूत महामहिम मासा मिचिसैगोसमेत उपस्थित थिए ।
निजगढ विमानस्थलको इआइएसहितका कागजात पेश गर्न सरकारलाई अदालतको आदेश
काठमाडौँ । सर्वोच्च अदालतले निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको वातावरणीय प्रभाव मूल्याङ्कन प्रतिवेदन (इआइए) सहितका काजजात अदालतमा पेश गर्न सरकारका नाममा आदेश जारी गरेको छ । न्यायाधीशद्वय ईश्वरीप्रसाद खतिवडा र बमकुमार श्रेष्ठको संयुक्त इजालासले इआइएसहित सो सम्बन्धमा भएका कागजात पेश गर्न आदेश जारी गरेको हो । “परियोजनाका लागि भएको वातावरणीय प्रभाव मूल्याङ्कनसहित यस सम्बन्धमा निर्णय भएका फाईल सम्बन्धित सरकारी वकिलमार्फत इजलासमा पेश गर्नु”, आदेशमा भनिएको छ । वरिष्ठ अधिवक्ता प्रकाशमणि शर्माले सो क्षेत्रका रुख कटानी गर्दा वन्यजन्तुलाई अपूरणीय क्षति हुने भएकाले रुख बिरुवा काट्न रोक लगाउन माग गर्दै सर्वोच्च अदालतमा गत भदौ २२ गते रिट निवेदन दायर गरेका थिए । वन तथा वातावरण मन्त्रालयले ८० वर्गकिलोमिटर क्षेत्रफलमा निर्माण हुन लागेको निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको वातावरण प्रभाव मूल्याङ्कन विसं २०७४ चैतमा स्वीकृत गरेको थियो । विमानस्थल निर्माणस्थलमा रहेको जङ्गल फँडानीका विषयमा विरोध हुँदै आएको छ । सर्वोच्च अदालतले सरकारलाई आगामी मङ्सिर १६ गते सो सम्बन्धी फाइलसहित उपस्थित हुन आदेशमा भनेको छ ।
आजदेखि काठमाडौँमा आप्रवासी कामदारको अधिकार संरक्षणसम्बन्धी अन्तरराष्ट्रिय सम्मेलन हुँदै
काठमाडौँ । आप्रवासी कामदारको मानव अधिकार संरक्षणसम्बन्धी अन्तरराष्ट्रिय सम्मेलन मङ्गलबारदेखि काठमाडौँमा शुरु हुँदैछ । तीन दिनसम्म चल्ने सो सम्मेलनमा ३० मुलुकका ६२ भन्दाबढी प्रतिनिधि सहभागी हुने राष्ट्रिय मानव अधिकार आयोगले जनाएको छ । सम्मेलनमा मानवाधिकारका लागि विश्वव्यापी सञ्जाल, भारत, बङ्गलादेश, माल्दिभ्स, मलेसिया, कतार, थाइल्याण्ड, मङ्गोलिया, दक्षिण अफ्रिका, केन्यालगायत श्रमिक लिने र आपूर्ति गर्ने मुलुकका मानवअधिकारका क्षेत्रमा क्रियाशील सङ्घसंस्थाका प्रतिनिधिको सहभागिता रहनेछ । सम्मेलनको उपराष्ट्रपति नन्दबहादुर पुनले उद्घाटन गर्नेछन् । सम्मेलनमा विभिन्न पाँच विषयमा विज्ञसहित छलफल हुनेछ । आयोगका अनुसार ‘आप्रवासन सुशासन र आप्रवासी कामदारका अधिकार’, ‘निष्पक्ष र जिम्मेवार कामदारको भर्ना’, ‘अनियमित आप्रवासन’, ‘आप्रवासी कामदारको न्यायमा पहुँच’ र ‘आप्रवासी कामदारको अधिकार प्रवद्र्धन र संरक्षणमा विश्वव्यापी सञ्जालसँगको सहकार्य’ विषयमा गम्भीर छलफल हुनेछ । नेपाल सरकारको आर्थिक सहयोगमा हुने सम्मेलनमा अन्तरराष्ट्रिय श्रम सङ्गठन (आइएलओ), अन्तरराष्ट्रिय आप्रवासन सङ्गठन (आइओएम), संयुक्त राष्ट्र सङ्घीय विकास कार्यक्रम (युएनडिपी)ले सहजीकरण गर्ने आयोगले जनाएको छ ।
बङ्गलादेशी राष्ट्रपति हमिद आज नेपाल भ्रमणमा आउँदै, यस्तो छ भेटघाट र घुमफिरको सूची
काठमाडौँ । छिमेकी मित्रराष्ट्र एवम् दक्षिण एशियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क)को सक्रिय सदस्य राष्ट्र बङ्गलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिदले मङ्गलबारदेखि चार दिने नेपालको भ्रमण गर्दैछन् । राष्ट्रपति विद्यादेवी भण्डारीको निमन्त्रणामा नेपाल भ्रमण गर्न लाग्नुभएका बङ्गलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिद ५२ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै नेपालको चार दिवसीय औपचारिक सद्भावना भ्रमणमा आउन लागेका हुन् । सन् १९४४ जनवरी १ मा जन्मनुभएका हमिद सन् २०१३ को अप्रिलदेखि बङ्गलादेशको १९ औँ राष्ट्रपतिका रुपमा कार्यरत हुनुहुन्छ । सन् २००९ देखि २०१३ को अप्रिलसम्म बङ्गलादेशको माथिल्लो सदन नेशनल पार्लियामेन्टको सभामुखको रुपमा उहाँले आफ्नो भूमिका कुशलतापूर्वक निर्वाह गरेका थियो । कानूनका जानकार राष्ट्रपति हमिदले पटकपटक किशोरीगञ्ज बार एशोसिएशनको सभापतिको रुपमा समेत आफ्नो जिम्मेवारी निर्वाह गरेका थिए । किशोरीगञ्ज जिल्लाको कमलपुरमा गाउँमा जन्मनुभएका राष्ट्रपति हमिदले स्नातकसम्म अध्ययन गरेका छन् । सन् १९५९ मा छात्र लिगबाट राजनीति शुरु भएका राष्ट्रपति हमिदले सन् १९७० देखि निरन्तर निर्वाचित हुने अवसर पाउँदै आउनुभएको छ । यसबाट नै उहाँको लोकप्रिताको पुष्टि हुन जान्छ । पूर्वी पाकिस्तानको रुपमा परिचित बङ्गलादेशको निर्वाचनमा सन् १९७० मा उनले युवा उमेरमा नै निर्वाचित हुने अवसर प्राप्त गर्नुभयो । सन् १९७३, १९८६, १९९१, १९९६, २००१ र २००९ मा भएको संसदीय निर्वाचनमा उहाँले लगातार आफ्नो पक्षमा जित निकाले । अवामी लिगबाट पटकपटक निर्वाचित हमिद पछिल्लो पटक किशोरीगञ्ज निर्वाचन क्षेत्र नं ५ विजयी भए । उनले सन् १९७१ मा भएको बङ्गलादेशको स्वतन्त्रता युद्धमा पनि सक्रिय सहभागिता जनाएका थिए । उनलाई बङ्गलादेश स्वतन्त्र भएको अवसरमा आयोजित विशेष समारोहमा सन् २०१३ मा स्वतन्त्रता दिवस सम्मानसमेत प्रदान गरिएको छ । तीन छोरा र एक छोरीका पिता हमिदले सन् १९६४ मा रसिदा हमिदसँग विवाह गरेका थिए । संसारकै अत्याधिक घना बस्ती भएको देशको रुपमा परिचित बङ्गलादेशलाई शुरुआती चरणमा पूर्वी पाकिस्तानको रुपमा चिनिन्थ्यो । करीब १६ कडोड जनसङ्ख्या रहेको बङ्गलादेशमा इस्लाम, हिन्दू र बौद्ध धार्मिक समुदायको बसोबास छ । यहाँ ‘टाका’ नामक मुद्रा प्रचलनमा रहेको छ । बङ्गलादेशले सार्क, बिमस्टेकजस्ता क्षेत्रीय सङ्गठनमार्फत भाइचाराको अभिवृद्धि तथा क्षेत्रीय शान्ति र स्थायित्वका लागि आफ्नो सक्रिया भूमिका निर्वाह गर्दै आएको छ । मत्स्यपालन, गार्मेन्ट, पर्यटन तथा कृषिमा संलग्न बङ्गलादेशमा चिकित्सा शिक्षाका लागि नेपाली विद्यार्थीलाई समेत अवसर प्रदान गर्दै आएको छ । पछिल्लो पटक नेपाल र बङ्गलादेशबीच विद्युत् व्यापार तथा ऊर्जा आदानप्रदानको क्षेत्रमा समेत सक्रिय संयन्त्र स्थापना भएको छ । क्रिकेट खेलको ‘पावर हाउस’का समेत परिचित बङ्गलादेश लामो समुद्री तह भएकाले पनि पर्यटकीय रुपमा समेत आकर्षक गन्तव्य हो । राष्ट्रपति हमिदलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा औपचारिक स्वागत गरिने परराष्ट्र मन्त्रालयले जनाएको छ । भ्रमणका क्रममा उनले राष्ट्रपति भण्डारीसँग राष्ट्रपति कार्यालय, शीतल निवासमा बुधबार अपराह्न भेटवार्ता गर्ने कार्यक्रम छ । राष्ट्रपति भण्डारीले आफ्ना बङ्गलादेशी समकक्षी तथा उनले नेतृत्व गरेको प्रतिनिधिमण्डलको सम्मानमा सोही दिन साँझ राजकीय भोज आयोजना गर्नेछिन् । बङ्गलादेशका राष्ट्रपतिसँग उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना र परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले बेग्लाबेग्लै शिष्टाचार भेट गर्नेछन् । राष्ट्रपति हमिदसँग नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली काङ्ग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, राजनीतिक दलका वरिष्ठ नेताहरूले पनि शिष्टाचार भेट गर्नेछन् । नेपाल बसाइका बेला बङ्गलादेशका विशिष्ट अतिथिले भक्तपुर दरबार क्षेत्र, पोखराका साथै काठमाडौँको चन्द्रगिरीको पनि भ्रमण गर्ने कार्यक्रम छ ।
आजदेखि १० दिनका लागि भद्रपुर विमानस्थल बन्द, धावनमार्ग मर्मत गरिंदै
भद्रपुर । झापाको भद्रपुर विमानस्थल आजदेखि १० दिनका लागि पूर्णरुपमा बन्द भएको छ । चन्द्रगढी नागरिक उड्डयन कार्यालयले विमानस्थलको धावनमार्ग मर्मतसँगै स्तरोन्नति कार्य पुनः सञ्चालन गर्न लागेको भन्दै आजदेखि आगामी मङ्सिर ५ गतेसम्मका लागि पूर्णरुपमा बन्द गरेको हो । एक हजार ५०० मिटर लम्बाइ र ३० मिटर चौडाइ रहेको धावनमार्ग जीर्ण बन्दै गएकाले गत भदौ २० गतेदेखि असोज ४ गतेसम्म दिउँसो २ः०० बजेदेखि विमान बन्द गरेर मर्मतसम्भार गरे पनि प्रभावकारी नभएका कारण पुनः पूर्ण बन्द गरेर मर्मतकार्य शुरु गरेको उड्डयन कार्यालयका प्रमुख पूर्ण चुँडालले जानकारी दिए । गौरी–पार्वती–देव एण्ड सायर जेभी काठमाडौँले धावनमार्ग मर्मतसम्भारसँगै स्तरोन्नतिका लागि रु १० करोड २३ लाखमा ठेक्का लिएको उनको भनाइ छ । नेपाल नागरिक उड्डयन प्राधिकरणसँग लिखितरूपमा अनुमति लिएर विमानस्थल बन्द गराएको उहाँले जानकारी दिए । भद्रपुर–काठमाडौँ हवाईसेवाका लागि यहाँबाट अहिले बुद्ध, यति, नेपाल एयरलाइन्स, सौर्य, श्री एयरलाइन्स गरी १० विमान कम्पनीले नियमित उडान भर्दै आएका छन् । रासस
एचसिसी–एन, फिकाक क्षेत्रीय सम्मेलन २०१९ मंगलबारदेखि काठमाडौँमा हुने
काठमाडौँ । अनरेरी कन्सुलर कप्र्स नेपाल (एचसिसी–एन० र वाणिज्यदूतहरुको विश्व महासंघ (फिकाक) ले “एचसिसी–एन, फिकाक क्षेत्रीय सम्मेलन २०१९” नोभेम्वर १२–१५, २०१९ मा काठमाण्डौको सोल्टी क्राउन प्लाजा होटलमा आयोजना गर्दैछन् । यो सम्मेलनलाई नेपाल सरकार, परराष्ट्र मन्त्रालय र भिजिट नेपाल २०२० तथा नेपाल पर्यटन वोर्डको पनि सहयोग रहेको छ । यो सम्मेलनमा संसारका विभिन्न १०० देशका अवैतनिक महावाणिज्य दूतहरुको सहभागिता हुनेछ । यो सम्मेलनको मुख्य (थिम) ‘‘साझा सम्वृद्धिको लागि एकेवद्धता’’ रहेको छ । यो सम्मेलनको उद्घाटन उप–राष्ट्रपति नन्दबहादुर पुनबाट हुनेछ । “एचसिसी–एनका डिन प्रदीपकुमार श्रेष्ठले स्वागत मन्तव्य व्यक्त गर्ने कार्यक्रम छ । साथै फिकाक का अध्यक्ष डा. अकुट इकेन र माननीय परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवालीबाट पनि संवोधन हुनेछ । सम्मेलनका सहभागीहरुले द्विपक्षीय तथा वहुपक्षीय सरोकारका विभिन्न क्षेत्रहरुमा गहन छलफल गर्ने र सम्मेलनको अन्तिम दिन ‘‘काठमाण्डौ घोषणा पत्र’’ जारी गर्ने कार्यक्रम छ । सम्मेलनमा हाल विश्वका जल्दा बल्दा विषय वस्तु र सम्मेलनको मुख्य थिम र तपसिलमा उल्लेखित विषयहरुमा सम्बन्धित विषयका ज्ञाताहरुले कि नोट स्पिकर को हैसियतमा आफ्ना विचारहरु प्रस्तुत तथा छलफल गर्नेछन् । साथै साझा सम्वृद्धिको लागि एकेवद्धता, लैगिक समानता, वातावरण परिवर्तन र हिमनदीहरु, सम्बन्ध र सम्वृद्धिका एजेन्डाहरुमा छलफल गर्न फरक फरक प्लिनरी सिजनहरुको व्यवस्था गरिएको छ । सम्मेलन आयोजकले सहभागिहरुको लागि विभिन्न मनोरन्जनात्मक तथा दृष्यावलोकनका कार्यक्रमहरु माउण्टेन प्mलाइट, साइट सिनिङ्ग, चन्द्रागिरी हिल्स रिसोर्टमा रिट्रिटको आयोजना गरेको छ । यसबाट नेपालको पर्यटन उद्योगको प्रवद्र्धनमा सहयोग पुग्ने अपेक्षा गरिएको छ । साथै यो सम्मेलनबाट नेपालको आर्थिक विकासका विभिन्न क्षेत्रहरु जस्तैः विद्युत, पर्यटन, उद्योग व्यवसायमा वैदेशिक लगानीलाई आकर्षण गर्न एउटा राम्रो अवसर प्राप्त हुने जनाइएको छ ।
स्थानीयसँगै उठाउन थाल्यो सरकारले १९ हजार प्रतिकेजीमा जडिबुटी, १० करोडको उत्पादन
काठमाडौं । जडिबुटीको उचित मूल्य नपाएर निरास बनेका किसानले अब प्रतिकेजी जडिबुटीको १९ हजार रुपैयाँसमम्म पाउने भएका छन् । जङगलमा आफै उम्रेको होस् वा व्यवसायिक रुपमा नै खेती गरेको होस्, जडिबुटीको महत्व बढ्दै गहिरहेको छ । सरकारले देशका विभिन्न स्थानमा जडिबुटी उत्पादत तथा प्रशोधन केन्द्रको स्थापना गरी काम गरिरहेको छ । कर्णाली इलाम, जुम्ला, झापा र बारालगाएतका ठाउँमा प्रशोधन केन्द्र खोलेर किसानले उत्पादन गरेको र आफैले उत्पादन गरेको जडिबुटीलाई प्रशोधन गर्ने गरेको छ । नेपालको विभिन्न केन्द्रबाट उत्पादन भएको जुडीबुटी ८० प्रतिशत युरोपका विभिन्न मुलुकमा निर्यात हुने गरेको छ । सरकारको पूर्ण स्वामित्वमा रहेको बारा जिल्लाको कोल्हबी नगपालिकाको ३ नम्वरमा रहेको जडिबुटी उत्पादत तथा प्रशोधन केन्द्रले कृषकलाई जडिबुटीको प्रतिकेजी १९ हजारसम्म दिने गरेको छ । बारामा रहेको कम्पनीको २ करोड ५० लाखको लागतमा सरकारले सञ्चालनमा ल्याएको हो । प्रशोधन केन्द्र २१० हेक्टरमा फैलिएको छ । जडिबुटी प्रशोधन केन्द्रको भवन २ हेक्टर क्षेत्रफलमा बनेको छ । बाराको केन्द्रमा युक्लिट्टा, सिट्रोनेला, क्यामोमाइल, लेभन, ग्रास, मेन्था, फेन्चब्रेसिल जडीबुटी खेती र प्रशोधन गर्ने गरिएको छ । केन्द्र प्रमुख बकतबहादुर राउतले हामीले सात प्रकारका जडिबुटी उत्पादन र प्रशोधन गरिहरहेका छौ । कृषकले उत्पादन गरेको जडिबुटीमा प्रतिकेजी १९ हजार देखि १९ सय केजीसम्ममा खरिद गर्ने गरेको बताए । उनले भने हाम्रो १७ टन जडिबुटी उत्पादन गर्ने लक्ष्य रहेको बताए । अहिले कम्पनीले लक्ष्यको ८५ प्रतिशत जडिबुटी उत्पानदन गरिहरकेको छ । कम्पनीले करिब १५ करोडको बारोवार गरेको जानकारी दिएको छ । औषधि वा रोग निदान गर्न सक्ने गुण भएका वनस्पतिहरु नै जडिबुटी हुन् । नेपालमा हजारौं प्रजातीका जडिबुटी छन ती मध्ये केही जडिबुटीको पहिचान भएको छ भने कतिको अझै पहिचान हुन वाँकी छ । करिब ४५ प्रतिशत भूभाग वनजंगलले ढाकिएको र बहुमूल्य जडिबुटी पाइने र मूल्यवान जडिबुटीको खेती व्यवसायको समेत सम्भावना नेपालमा रहेको छ । आज नेपालमा प्रशस्त जडिबुटी छन् तर उपयोग विहिन देखिन्छन् । नेपालमा पाइने चमत्कारिक जडिबुटी हेर्दा विश्वको आँखा नेपालमा रहेको छ तर, नेपालीको ध्यान पुग्न नसकेको उनले बताए ।नेपालमा भएको जडिबुटी सरकारले पहिचान गर्न सके क्यान्सर देखि एड्स सम्मको औषधि हाम्रो जंगलमा उर्मिरहेको र यस्ता कतिपय जडिबुटीको पहिचान गर्न नसक्दा राष्ट्रले घाटा व्यहोर्नु परेको छ ।