विकासन्युज

शीर्ष नेताको एउटै स्वर-‘नेपालको भू-भाग फिर्ता गराउन सरकारले सक्रिय कदम चाल्नुपर्छ’

काठमाडौँ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी समिति सदस्य तथा पूर्व उपप्रधानमन्त्री भीम बहादुर रावलले लिम्पियाधुरा, लिपुलेक र सुस्तालगायतका कालापानी क्षेत्रका भू–भाग नेपालकै भएकोले त्यो फिर्ता गर्न सरकारले तत्काल सक्रिय कुटनीतिक कदम चाल्नुपर्ने बताएका छन् । नेपालको भौगोलिक अखण्डता सुदृढ बनाउनको लागि प्रधानमन्त्री केपी शर्मा ओलीले डाकेको सर्वपक्षीय बैठकमा राष्ट्रिय सहमति जुटेको र सरकारलाई ठूलो शक्ति प्राप्त भएको उनको भनाई छ । आइतबार राजधानीमा आयोजित साक्षात्कारमा बोल्दै उनले सिमा विवादबारे भारतसँग स्पष्ट अडान र दृष्टिकोणसहितको तत्परताले नेपाल सरकारले वार्ता गर्नुपर्छ भन्ने कुरा हिजोको बैठकमा सहमति भएको सुनाए । उनले भने,‘नेपालको भौगोलिक अखण्डताको पक्षमा संसदमा प्रतिनिधित्व गर्ने दलहरुले सम्भवतः ईतिहासमै पहिलोपटक एकै स्वरमा प्रतिबद्धता जनाएका छन् । संगठित रुपमा हामीले कुरा राखेका छौं । यसले सरकारलाई भारतसँग वार्ता गर्नको लागि थप शक्ति प्राप्त भएको छ । यो सरकारका लागि अवसर पनि हो । अहिले भारत र नेपाल दुवैतर्फ शक्तिशाली सरकार छन् । अहिलेसम्म नेपाल–भारत सम्बन्धमा रहेका प्रश्नहरुको उत्तर खोज्ने यो उपयुक्त अवसर हो । सरकारले सक्रिय पाईला चालोस भन्ने मैलेपनि राय दिएको छु ।’ कार्यक्रममा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री रमेश लेखकले कालापानी नेपालकै भूभाग भएको भन्ने कुरामा कुनै अस्पष्टता र द्धिविधा नभएको बताए । उक्त कालापानी, लिपुलेक र लिम्पियाधुरा नेपालले फिर्ता लिनुपर्ने लेखकको भनाई छ । उनले भने,‘सिमा विवादबारे सबै दल एकमत छन् । अब भारतसँग नेपाल सरकारले उच्च राजनीतिक र उच्च कुटनीतिक तहमा छलफल गर्नुपर्छ । हिजोको बालुवाटारको सर्वपक्षीय बैठकले सरकारलाई शक्ति प्रदान गरेको छ ।’ उनले महाकाली नदीका पूर्वका सम्पूर्ण भूभाग नेपालको भएको दाबी गरे । उनले भने,‘हिजोको सर्वपक्षीय बैकठमा हाम्रो पार्टी सभापतिले पनि स्पष्ट रुपमा यो कुरा राख्नुभएको छ ।’ सत्तारुढ दल समाजवादी पार्टीका सह–अध्यक्ष तथा सांसद राजेन्द्र श्रेष्ठले नेपालको भू–भाग भारतीय नक्शामा पारेको कुरालाई आफ्नो पार्टीले विरोध गरेको स्पष्ट पारे । श्रेष्ठले प्रधानमन्त्री केपी शर्मा ओलीले हिजो डाकेको सर्वपक्षीय बैठकलाई आफूहरुले सकारात्मक रुपमा लिएको पनि सुनाए । आन्तरिक एकता बलियो बनाउन सकिएमात्रै बाहृय शक्तिसँग लड्न सकिने उनको भनाई छ । यता, राजपा नेपालका अध्यक्ष मण्डलका सदस्य तथा सांसद महेन्द्र राय यादवले लिपुलेक, कालापानी नेपालकै भू–भाग भएकोले सरकारले फिर्ता गर्नको लागि पहलकदमी लिनुपर्ने बताए । उनले भने,‘नेपालको ईतिहासमा हिजो बालुवाटारमा बसेको सर्वपक्षीय बैठकमा राष्ट्रिय सहमति बनेको छ । अहिले मुलुकमा बलियो सरका छ । सरकारलाई हिजोको सहमतिले ठूलो शक्ति प्रदान गरेको छ ।’ विगत ७० वर्ष लामो समयदेखि सीमा विवादको समस्या रहेको सुनाउँदै अब वार्ता तथा कुटनीतिक माध्यमबाट यसको दिर्घकालीन रुपमा हल गरिनुपर्ने यादवको सुझाव छ ।

इसेवाको ‘उत्सवको बहार, हप्तैपिच्छे उपहार’ योजनाका विजेतालाई मोटरसाइकल हस्तान्तरण

काठमाडौँ । नेपालको पहिलो पेमेन्ट गेटवे इसेवाले दशैँ तिहार तथा छठ पर्वलाई लक्षित गर्दै सार्बजनिक गरेको ‘उत्सवको बहार, हप्तैपिच्छे उपहार’ नामक योजनाका बिजेतालाई पुरस्कार हस्तान्तरण गरेको छ । बम्पर उपहार बिजेता मकवानपुरका लेखनाथ पौडेललाई यमाहाको एफजेडएसएफआई भि थ्रि मोटरसाइकल हस्तान्तरण गरिएको छ । यसैगरी, अर्को बम्पर उपहार बिजेता काठमाडौँ रामकोटका किरण घलेलाई एक साताको लागि एक जोडीलाई दुबई ट्रिपको प्याकेज हस्तान्तरण गरिएको छ । इसेवाको यस उपहार योजनामा ३ सय ५० जनाले विभिन्न भाग्यशाली उपहार जित्न सफल भएका छन् । ६ हप्तासम्म सञ्चालन भएको उपहार योजनामा हरेक हप्ता ५८ जना व्यक्तिले विभिन्न उपहार जित्न सफल भएका थिए । यस उपहार योजनामा केफसीको उपहार कुपन हरेक हप्ता १६ जनाका दरले ६ हप्तासम्म ९६ जनाले जित्न सफल भए । यसैगरी, उपहार योजनाभर युएफओका तर्फबाट ९६, मिनिसोका तर्फबाट ४८, प्रिती क्लिकको सपिङ भौचर १८ जनाले जित्न सफल भए । यस्तै दुल्लाको वालेटमा १० जना, लाटिदोको व्याग ६ जनाले तथा ओयो रूम ६ जनाले जित्न सफल भए । यस्तै, क्यास्पर की, इ ईस्क्यान, एम सेक्युरिटिज र वार्डविजका एन्टि भाइरस १२ जनाका दरले जित्न सफल भए ।

आधाले घट्यो वैदेशिक सहायता, तीन महिनामा पौने १६ अर्बमात्रै

काठमाडौं । चालु आर्थिक वर्षको पहिलो ३ महिनामा वैदेशिक सहायता ४३.५१ प्रतिशतले घटेको छ । गएको आवमा सोही अवधिमा २७ अर्ब ७६ करोड वैदेशिक सहायता प्रतिवद्धता भएकोमा यस आवमा घटेर १५ अर्ब ६८ करोडमा सीमित भएको छ । गत भदौसम्म यस्तो प्रतिवद्धता रकम १२ अर्ब ३५ करोड पुगेको थियो । चालु आवमा भएको सहायता प्रतिवद्धतामा अनुदानको हिस्सा बढी रहेको छ भने ऋणको अंक कम छ । गएको आवको सहायता प्रतिवद्धतामा ऋणको अंक बढी थियो । सो सहायता रकममध्ये ७८.८ प्रतिशत अनुदान सहायता हो भने २१.२ प्रतिशत ऋण सहयोग भएको अर्थ मन्त्रालयले जानकारी दिएको छ । गएको आवमा यस्तो हिस्सा क्रमशः १६.२ प्रतिशत र ८३.८ प्रतिशत रहेको थियो । असोजसम्म प्रतिवद्धता भएको सहायतामध्ये ३ अर्ब ३३ करोड भूकम्प प्रभावित क्षेत्रमा घरहरूको पुनर्निर्माण र शिक्षा तथा स्वास्थ्य सेवा पुर्याउन हो । नेपालले सन् १९५१ देखि विकास सहायता लिन थालेको हो । नेपाललाई विश्व बैंक, एसियाली विकास बैंकबाट बहुपक्षीय साझेदारले ऋण र अनुदान प्रदान गर्दै आएको छन् । द्विपक्षीय साझेदारहरू अष्ट्रेलिया, चीन, डेनमार्क, फिनल्यान्ड, जर्मनी, भारत, जापान, कोरिया, कुवेत, नेदरल्याण्ड, नर्वे, साउदी अरब, स्वीजरल्याण्ड, बेलायत, र अमेरिकालगायत राष्ट्रबाट विकास सहायता प्राप्त हुँदै आएको छ । आर्थिक विकासको मुख्य साधनको रूपमा वैदेशिक सहायतालाई नेपालले स्वीकार गर्ने गरेको छ । यसका साथै गरिबी निवारण, बचतमा वृद्धि, लगानीमा सन्तुलन र वृद्धि गर्ने, विदेशी प्रविधि भित्र्याउने, लोक कल्याणी राज्य स्थापानार्थ वैदेशिक सहायता भित्र्याउने गरिएको छ । नेपालले पहिलो पटक अमेरिकाको पाइन्ट फोर प्रोग्राम अन्तर्गत दूरसञ्चारको विकासका लागि सहायता लिएको थियो । तर, यसको विस्तार पहिलो पञ्चवर्षीय योजनादेखि भयो ।

काँडाघारीमा जेष्ट आईडियोलोजी सहकारीको सदस्य सेवा केन्द्र

काठमाडौं । जेष्ट आईडियोलोजी बचत तथा ऋण सहकारी संस्था लिमिटेडले काठमाडौंको कागेश्वरी मनहरा नगरपालिका ९ काँडाघारीमा सदस्य सेवा केन्द्र सञ्चालनमा ल्याएको छ । उक्त सेवा केन्द्रको कागेश्वरी मनहरा नगरपालिकाका प्रमुख कृष्णहरी थापा तथा संस्थाका अध्यक्ष रामप्रसाद आर्चाय, उपाध्यक्ष कृष्ण बहादुर थपलिया, सचिव तथा प्रमुख कार्यकारी सञ्चालक हेमबहादुर कार्कीले संयुक्त रुपमा उद्घाटन गरे । उद्घाटन कार्यक्रममा नगरपालिकाकी कार्यपालिकीय सदस्य कला, बडा न ९ का अध्यक्ष कुन्दन खडरका लगायत शेयर सदस्य तथा स्थानीय गरी सात सय भन्दा बढिको उपस्थिति रहेको थियो । सेवाकेन्द्र सञ्चालनको अवसरमा रक्तदान कार्यक्रम समेत सञ्चालन गरिएको थियो । संस्थाका कार्यकारी सञ्चालक हेम बहादुर कार्कीका अनुसार संस्थाले हाल न्युरोड, मैतिदेवी र काडाँघारीबाट सेवा प्रदान गर्दै आएको छ । संस्थामा ७५ जना कर्मचारी आबद्ध भएको बताउदै कार्कीले संस्थाले १० वर्षको अवधि पार गर्दासम्म कूल कारोवार एक अर्ब ३८ करोड पुर्याई ९५ करोड निक्षेप संकलन गर्न सफल भएको बताए । उनले भने, ‘सहकारीको संख्या धेरै भएपनि हामीले आर्थिक, सामाजिक, सांस्किृतिक, पर्याबरणीय कार्यमा ध्यान दिएका छौं ।’ संस्थाले गत कात्तिक २ गते काँडाघारी क्षेत्रमा २६ वटा टोल सुधार समितिको सहभागीतामा सरसफाई अभियान सम्पन्न गरिएको कार्कीले जानकारी दिए । संस्थाका अध्यक्ष रामप्रसाद आचार्यले संस्थाले गाँउ शहर जोड्ने उद्देश्यले कागेश्वरी मनहरामा सेवाकेन्द्र सुरु गरिएको बताए । उनले भने, ‘हामीले आम नागरिकको, शेयर धनीको विश्वास जित्ने काम गरेका छौं । त्यसकारण सदस्यहरु बढ्दै गएका छन् ।’

आधा दर्जन विदेशी एयरलाइन्सले नेपालमा उडान भर्ने

काठमाडौं । नेपाल भ्रमण वर्ष २०२० अभियान प्रारम्भ हुनै लाग्दा नेपालमा आधा दर्जन विदेशी वायु सेवा प्रदायक कम्पनीले उडान भर्ने तयारी गरेका छन् । नेपाल गन्तव्यमा उडान विस्तारका लागि भारतका दुई, कुवेत, फिनल्यान्ड र अष्ट्रेलियाको एक÷एक वायु सेवा प्रदायकले उडान भर्न लागेका हुन् । भारतको स्पाइस जेट एयरलाइन्स र भिस्तारा एयरले नेपालमा उडान भर्नका लागि नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरणबाट अनुमति पाइसकेको छ भने कुवेतको जजिरा एयरवेजले पनि नेपाल उडानका लागि स्वीकृति लिएको छ । स्पाइस जेटले काठमाडौँ–नयाँ दिल्ली–मुम्बई र भिस्ताराले काठमाडौँ–नयाँ दिल्ली रुटका लागि दैनिक एक–एक उडान गर्ने अनुमति पाएका छन् । जजिराले मङ्सिर १ गतेदेखि उडान भर्ने कुवेतको जजिरा एयरले अगामी मङ्सिर १ गते (नोभेम्बर १७, सन् २०१९) देखि नेपालमा उडान भर्ने भएको छ । जजिराको उडान तालिका निश्चित भएको नियामक निकाय प्राधिकरणले जनाएको छ । भारतका दुई कम्पनीले डिसेम्बर महिनाको दोस्रो सातादेखि नेपालमा उडान भर्नेछन् । “कुवेतको जजिरा एयरको उडान तालिका बनिसक्यो, भारतका दुई स्पाइस जेट र भिस्ताराको सम्बन्धमा कागजात अध्ययनको क्रममा छ, कागजी प्रक्रिया सकेर भित्रुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट स्लटको तालिका बनाएपछि डिसेम्बरको मध्यतिर उडान शुरु हुन्छ,” प्राधिकरणका एक उच्च अधिकारीले भने । विदेशी वायु सेवा प्रदायक कम्पनीले नेपालबाट उडान गर्नुपर्दा दुई देशीय हवाई सम्झौताबमोजिम शुरुमा पर्यटन मन्त्रालयलाई निवेदन दिनुपर्ने हुन्छ, मन्त्रालयको स्वीकृतिपछि मात्र मन्त्रालय मातहतको नियामक निकाय प्राधिकरणले उडान अनुमति दिने प्रावधान छ । विदेशी एयरलाइन्सले नेपालमा उडान विस्तार गरेसँगै भ्रमण वर्षको अवधिमा बढीभन्दा बढी विदेशी पर्यटक भित्र्याउन सहयोग पुग्ने विश्वास लिइएको छ । सरकारले भ्रमण वर्ष मनाएर उक्त अवधिमा २० लाख पर्यटक भित्र्याउने लक्ष्य लिएको छ । नेपाल पर्यटन बोर्डको तथ्याङ्कअनुसार सन् २०१९ मा १२ लाख हाराहारी बाह्य पर्यटक नेपाल भ्रमणमा आएका थिए । अध्यागमन विभागको पछिल्लो तथ्याङ्कअनुसार सन् २०१९ को १० महिनाको अवधिमा १० लाख पर्यटक नेपाल भित्रिएका छन् । दिल्ली–काठमाडौँ उडान गर्दै आएको जेट एयरवेजले कम्पनीमा वित्तीय समस्या आएको भन्दै गत वैशाखमा उडान बन्द गरेको थियो । उक्त एयरवेजको उडान बन्द भएपछि काठमाडौँ–दिल्ली रुटको हवाई भाडा महँगिएको थियो । थपिएका नयाँ जहाजको उडानले हवाई भाडासमेत घट्ने अपेक्षा गरिएको छ । काठमाडौँ–नयाँदिल्ली गन्तव्यमा अहिले राष्ट्रिय ध्वजावाहक नेपाल वायु सेवा निगम र भारतका दुई एयर इन्डिया र इन्डिगो एयरले उडान भर्दै आएका छन् । नेपालबाट अहिले तीन नेपालीसहित २८ वायु सेवा प्रदायक कम्पनीले अन्तर्राष्ट्रिय उडान भर्दै आएका छन् । तीन एयरलाइन्स थपिएसँगै अन्तर्राष्ट्रिय उडान गर्ने वायु सेवा कम्पनीको सङ्ख्या ३१ पुग्नेछ । फिनल्यान्डसँग हवाई सम्झौताको तयारी सरकारले युरोपेली मुलुक फिनल्यान्डसँग दुई पक्षीय हवाई सम्झौताको तयारी गरेको छ । फिनल्यान्डको सबैभन्दा ठूलो वायु सेवा प्रदायक कम्पनी फिनिस एयरले नेपालमा सिधा हवाई सेवा विस्तार गर्ने तयारी गरेको पर्यटन मन्त्रालयका सहसचिव सुरेश आचार्यले जानकारी दिए । “फिनल्यान्ड आफैँले नेपालसँग हवाई सम्पर्क विस्तार गर्ने चासो देखाएअनुरुप ऊसँग हवाई सम्झौताको तयारी भइरहेको छ । दुवै मुलुकको आन्तरिक परामर्श र सम्झौताका लागि आवश्यक प्रक्रिया लगभग सकिएको छ, अब मात्रै सम्झौताको मिति र स्थानको टुङ्गो लाग्न बाँकी छ,” उनले भने । फिनल्यान्डको राष्ट्रिय ध्वजावाहक फिनिस एयरले नेपालमा सिधा हवाई उडान गर्ने इच्छा व्यक्त गरेको मन्त्रालयले जनाएको छ । काठमाडौँ– फिनल्यान्ड करिब साढे १० घण्टाको हवाई यात्रा तय गर्नुपर्ने हुन्छ । दुई देशबीच हवाई सेवा विस्तार भएमा भ्रमण वर्षको दौरानमा युरोपबाट बढी पर्यटक भित्र्याउन सहयोग पुग्ने सरकारी अधिकारीको विश्वास छ । अहिले नेपाल र युरोपलाई जोड्ने एक मात्र टर्किस एयरलाइन्स रहेको छ । युरोपबाट नेपाल आउने पर्यटक तथा नेपालीले टर्की या खाडी मुलुकका विमानस्थलसम्म ‘ट्रान्जिट फ्लाइट’ गरेर मात्र नेपाल आउनुपर्ने बाध्यता छ । फिनिस एयरले अहिले भारतको नयाँ दिल्लीसम्म सिधा उडान गर्छ । यस्तै रुससँग पनि पुरानो हवाई सम्झौताको पुनरावलोकनको तयारी गरिएको पर्यटन मन्त्रालयले जनाएको छ । रुससँग सन् १९८९ मा नेपालले हवाई सम्झौता गरेको थियो । त्यसयता सम्झौताको पुनरावलोकन भएको छैन । सम्झौतापछि रुसले नेपाल उडान शुरु गरे पनि बीचमा रोकिएको थियो । नेपालका लागि आकर्षक मानिएको अष्ट्रेलियासँग पनि हवाई सम्पर्क विस्तारका लागि पहल थालिएको मन्त्रालयले जनाएको छ । अष्ट्रेलियन एयरलाइन्सले नेपाल उडान गर्ने अपेक्षा गरिएको छ । नेपालले गत असोज १४ (अक्टोबर १ सन् २०१९) मा अस्ट्रेलियासँग प्रारम्भिक हवाई सम्झौता गरेको थियो । पछिल्लो पटक चीन, थाइल्यान्ड र जापानसँग हवाई सम्झौता पुनरावलोकन भइसकेको छ । सरकारले २०७५ साल मङ्सिर १४ गते कम्बोडियासँग हवाई सम्झौता गरेको थियो । नेपालसँग हवाई सम्झौता गरेको देशमध्ये कम्बोडिया ३९औँ देश हो । सम्झौतामा कम्बोडिया र नेपालका वायु सेवा कम्पनीले हप्तामा १४–१४ पटक सिधा उडान भर्नसक्ने उल्लेख छ । रासस

रुप ज्योतिलाई ५ दिन थुनामा राख्न अदालतको आदेश, पक्राउको विरोधमा काठमाडौंमा प्रदर्शन

काठमाडौँ । उद्योगी तथा पूर्वमन्त्री रुप ज्योति र उनकी छोरीलाई थप ५ दिन थुनामा राख्न अदालतले आदेश दिएको छ । जिल्ला अदालत काठमाडौँले ज्योति बाबुछोरीमाथि अनुसन्धान गर्न प्रहरीलाई ५ दिनको म्याद दिएको हो । अदालतले यसअघि तीन दिन थुनामा राख्न म्याद दिएको थियो । प्रहरीले ज्योतिलाई बिहीबार त्रिभुवन अन्तर्राष्ट्रिय विमास्थलबाट पक्राउ गरेको थियो । यता, उद्योगी ज्योतिलाई पक्राउको विरोधमा आइतबार काठमाडौंमा प्रदर्शन भएको छ । उदाय् समाज असनले प्रदर्शन गरेको हो । आइतबार माइतीघर मण्डलामा भएको प्रदर्शनमा सहभागीहरुले ज्योतिलाई तत्काल रिहा गर्न माग गरेका थिए । ज्योति ग्रुपका मालिक रुप ज्योति पक्राउ

सातै प्रदेशका प्रमुख शहरमा टेलिकमले सहुलियतमा वितरण गर्यो फोरजी सिम

काठमाडौँ । नेपाल टेलिकमले पूर्वको बिर्तामोडदेखि पश्चिमको महेन्द्रनगरसम्म सातै प्रदेशका विभिन्न प्रमुख शहरहरुमा सहुलियतमा फोरजी सिम वितरण, परिवर्तन र स्तरोन्नती गर्ने कार्यलाई अभियानको रुपमा सञ्चालन गरिरहेको छ । यस कार्यक्रम अन्तर्गत गत कािित्तक २० गते बिर्तामोड र २२ गते वीरगन्जमा सिम वितरण साथै फोरजी सेवाको प्रचारप्रसार तथा व्यापार प्रबद्र्धन कार्य उत्साहजनक रुपमा सम्पन्न भएको टेलिकमले जनाएको छ । आइतबार चितवनको भरतपुरस्थित नारायणी नदी किनारमा सिम वितरण कार्य गरिएको र कात्तिक २६ गते नेपालगन्जको रामलिला मैदान, २८ गते सुर्खेतको आँखा अस्पताल क्षेत्र, ३० गते महेन्द्रनगरको खुला मञ्च र मंसिर ४ गते पोखराको अमरसिंह मैदानमा सिमकार्ड वितरण गरिने कार्यक्रम रहेको छ । यसमा टुजी वा थ्रीजी सिम भएका कम्पनीका ग्राकहरुलाई २ सय एमबी डाटा बोनससहित फोरजी सिम प्राप्त हुनेछ । यो विशेष अभियान अन्तर्गत ग्राहकहरुले नेपाल सरकारले जारी गरेका परिचयपत्र, नागरिकता वा मतदाता परिचयपत्र वा सवारी चालक अनुमतिपत्रको फोटोकपी र एकप्रति फोटो पेश गरी सिमकार्ड प्राप्त गर्न सक्नेछन् । यता, गृष्मा ब्रोडकास्टिङले सातै प्रदेशका विभिन्न स्थानमा प्रतिष्ठित कलाकारहरुको साथमा गरिरहेको सांगीतिक कार्यक्रम सप्तरङ्ग २ मार्फत पनि टेलिकमको फोरजी सेवाको प्रचारप्रसार तथा व्यापार प्रबद्र्धन गरिएको छ । साँगीतिक कार्यक्रमको प्रमुख आकर्षण महानायक राजेश हमाल रहेका छन् भनें साथमा जितु नेपाल, गायक सुगम पोखरेल, हिमाल सागर, मेलिना राई, प्रकाश सपुत, रवि ओडलगायतका चर्चित कलाकारहरुले आ–आफ्नो प्रस्तुति दिइरहेका छन् । कम्पनीले नवीनतम् प्रविधि सहितको फोरजी सेवाको गत असोज १५ गते देशभर सातै प्रदेशमा एकैसाथ सेवा प्रवाहको शुभारम्भ गरे पश्चात् ग्राहकहरु माझ फोरजी सेवाको लोकप्रियता बढ्दै गइरहेको टेलिकमकी प्रवक्ता प्रतिभा बैद्यले बताइन् ।

चण्डिराज ढकाललाई ३ अर्ब ८५ करोड ऋण मिनाह गरिदै, राजनीतिक संरक्षणमा बैंकलाई नोक्सानी

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक भित्र ठूलो आर्थिक बदमाशी हुन लागेको छ । अपारदर्शिक आर्थिक चलखेलका आधारमा बैंकलाई करिब ४ अर्ब रुपैयाँ नोक्सान गराउने गरि भित्रभित्रै गोप्य निर्णय हुन लागेको छ । नेपाल उद्योग वाणिज्य महासंघको पूर्व अध्यक्ष चण्डिराज ढकालको कम्पनी मोमेन्टो एपरल्सले लिएको ऋणमा ३ अर्ब ८५ करोड ८ लाख रुपैयाँ मिनाह गर्ने अन्तिम तयारीमा बैंक पुगेको छ । उक्त ऋण मिनाहको निर्णय अपारदर्शी रुपमा हुन लागेको स्रोतले जनाएको छ । ‘आज भोलि नै निर्णय हुनसक्छ । यस निर्णयबाट बैंकले ठूलो नोक्सानी बेहोर्दैछ’ स्रोतले भन्यो । मोमेन्टो एपरल्सले लिएको कर्जाको पुर्नसंरचना गर्न लागिएको बैंकका प्रमुख कार्यकारी अधिकृत किरण श्रेष्ठले स्वीकार गरे । साँवा र साँवाको आधा व्याज लिएर २६ वर्ष पुरानो कर्जाको पुर्नसंरचना गर्न लागिएको उनले बताए । बैंकले २०५० सालमा मोमेन्टो एपरल्सको नाममा ३१ करोड ५६ लाख रुपैयाँ कर्जा दिएको थियो । साँवा र साँवाको आधा व्याज जोडेर ४७ करोड ३४ लाख रुपैयाँ तिर्ने गरी कर्जाको पुर्नसंरचना गर्न लागिएको उनले बताए । बैंकको कर्जा शाखाले दिएको जानकारी अनुसार यसरी कर्जा पुर्नसंरचना गर्दा बैंकलाई ३ अर्ब ८५ करोड ८ लाख रुपैयाँ नोक्सान हुनेछ । ढकालको कम्पनीले २६ वर्षअघि लिएको ऋणको साँवा ब्याजसहित ४ अर्ब ३२ करोड ४२ लाख रुपैयाँ तिर्नु पर्ने देखिएको छ । कर्जाको साँवा, ब्याज, पेनाल ब्याज र पुँजीकरण ब्याजसहित ढकालले राष्ट्रिय वाणिज्य बैंकलाई भुक्तानी गर्नुपर्ने रकम त्यति पुगेको हो । २०५० सालमा शुरु कर्जा ३१ करोड ५६ लाख रुपैयाँ थियो । त्यसका नियमित ब्याज ८६ करोड ४० लाख रुपैयाँ, पेलान ब्याज ९ करोड २७ लाख रुपैयाँ, व्याज पुँजीकरण ३ अर्ब ५ करोड १८ लाख रुपैयाँ गरी असोज मसान्तसम्ममा कूल ४ अर्ब ३२ करोड ४२ लाख रुपैयाँ तिर्नु पर्ने हिसाब देखिएको छ । कर्जा मिनाह गर्न लागेको विषयमा आफूलाई जानकारी नभएको बैंकमा अध्यक्ष महेन्द्रमान गुरुङले बताए । तर प्रमुख कार्यकारी अधिकृत श्रेष्ठले यस कर्जाको बारेमा अन्तिम निर्णय हुन लागेको बताए । यति ठूलो ऋण मिनाह गर्ने प्रस्ताव सञ्चालक समितिमा नआएको र तत्काल बैंक सञ्चालक समितिको बैठक बस्ने तालिका पनि नरहेको अध्यक्ष गुरुङले विकासन्युजलाई बताए । बन्द अवस्थामा रहेको मोमेन्टो एपरल्सका मालिक चण्डिराज ढकालले पनि कर्जा पुर्नसंरचना गर्न लागेको जानकारी दिए । ‘रुग्ण उद्योगले पाउने छुट मागेको छु । राष्ट्र बैंकले अहिले पेनाल व्याज, कम्पाउण्ड व्याज लिन नपाउने व्यवस्था गरेको छ’ ढकालले ऋणमा ३ अर्ब ८५ करोड छुट पाउने आधार पेस गर्दै विकासन्युजसँग भने । ढकालले हाल १० करोड रुपैयाँ बैंकलाई बुझाउन लागेका छन् । ‘बैंकको कर्जा तिर्ने प्रक्रियामा छु । केही दिन भित्र यो काम सकिएला । त्यसपछि उद्योग सञ्चालन गर्छु’ ढकालले भने । चण्डिराज ढकाल पनि झापाको भएको, अर्थमन्त्री युवराज खतिवडा पनि झापाको भएको, प्रधानमन्त्री पनि झापाको भएकोले शक्ति केन्द्रहरु मिलेर ढकाललाई ऋणमा भारी मिनाह गर्न लागिएको स्रोतले बतायो । ढकाल र अर्थमन्त्री डा. युवराज खतिवडाबीच पछिल्लो समय निकै राम्रो सम्बन्ध स्थापित भएको छ । ‘यो कर्जामा सबै डिल सीईओले गर्नु भएको छ, माथि कै संरक्षणमा यस्तो भएको होला’ बैंक उच्च व्यवस्थापनमा रहेर काम गरिरहेका एक कर्मचारीले नाम नखुलाउने सर्तमा भने । ‘सरकारी बैंक हो । राजनीतिक नेतृत्वको संरक्षण पाएपछि सीईओले जे भन्यो त्यहि हुन्छ । हाम्रो केही लाग्दैन’ उनले भने । राष्ट्रिय बाणिज्य बैंक पनि पूर्ण सरकारी स्वामित्वको बैंक भएको र वर्तमान प्रधानमन्त्री केपी शर्मा ओली कै अगुवाईमा वाणिज्य बैंकको सीईओमा किरण श्रेष्ठ नियुक्त भएकोले यति ठूलो कर्जा मिनाहमा तालमेल मिलेको स्रोतले बतायो ।