भ्रमण वर्ष शुभारम्भमा ४० देशका पर्यटनमन्त्रीलाई निमन्त्रणा
काठमाडौँ । सरकारले नेपाल भ्रमण वर्ष, २०२० अभियानको शुभारम्भमा विभिन्न ४० देशका पर्यटनमन्त्रीलाई सहभागी गराउने भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले भ्रमण वर्ष अभियानको उद्घाटन कार्यक्रममा सहभागिताका लागि ४० देशका पर्यटनमन्त्रीलाई निमन्त्रणा गरिएको जानकारी दिएका हुन् । प्रदेश ३ उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले आज ललितपुरमा आयोजना गरेको ‘नेपाल भ्रमण वर्ष, २०२० पूर्वतयारी भेला’ मा मन्त्री भट्टराईले भ्रमण वर्षको तयारीबारे जानकारी दिएका हुन् । उनले भने, “भ्रमण वर्षको व्यापक तयारी भइरहेको छ, भ्रमण वर्ष सचिवालयले प्रदेश सरकार र विदेशस्थित सबै कूटनीतिक नियोगलाई पत्राचार गरिसकेको छ । हामी (सरकार)ले ४० देशका पर्यटनमन्त्रीलाई निमन्त्रणा पठाएका छौँ, विदेशका चर्चित कलाकारको पनि सहभागिता रहनेछ । सङ्घीय, प्रदेश र स्थानीय सरकारका साथ निजी क्षेत्रको सक्रियतामा भ्रमण वर्षलाई भव्यरूपमा शुभारम्भ गरिनुपर्छ ।” सन् २०२० को जनवरी १ तारिखका दिन नेपालमा भ्रमण वर्षको औपचारिक शुभारम्भ गरिँदैछ । विदेशस्थित सबै कूटनीतिक नियोगमा जनवरीको पहिलो साताभित्र भ्रमण वर्षको उद्घाटनको कार्यक्रम तय गरिएको पर्यटनमन्त्री भट्टराईले जानकारी दिए । भ्रमण वर्ष अवधिमा २० लाख विदेशी पर्यटक भित्र्याउने लक्ष्यका साथ प्रवद्र्धनात्मक गतिविधिलाई तीव्रता दिइएको छ । सङ्घीय सरकार मात्र नभई प्रदेश सरकार र स्थानीय सरकारले पनि भ्रमण वर्षलाई सफल बनाउन गन्तव्य प्रवद्र्धन, पूर्वाधार विकास र सेवा स्तरीकरणलाई प्राथमिकताका साथ अघि बढाएका छन् । सम्भवतः भ्रमण वर्षको उघाटन समारोह दशरथ रङ्गशालामा गरिनेछ । शुरुमा टुँडिखेलमा गर्ने योजना रहे पनि रङ्गशाला निर्माण सकिएको र व्यवस्थित हुने भएकाले सोही स्थानमा भ्रमण वर्षको उद्घाटन गर्ने गरी भ्रमण वर्ष सचिवालयले तयारी गरिरहेको छ । भ्रमण वर्ष सचिवालयका बच्छुनारायण श्रेष्ठले भ्रमण वर्षको शुभारम्भसहित भ्रमण वर्ष अवधिमा गरिने काम डिसेम्बर १५ भित्र सार्वजनिक गर्नेगरी तयारी थालिएको बताए । “भ्रमण वर्षको उद्घाटन स्थल र प्रमुख अतिथिको विषयमा टुङ्गो लागि सकेको छैन । दशरथ रङ्गशाला तयारी अवस्थामा हुने हुँदा सोही स्थानमा उद्घाटन समारोह हुन्छ, उद्घाटनका लागि राष्ट्रपति या प्रधानमन्त्री कसलाई बोलाउने भन्नेबारे छलफल गरी निर्णयमा पुग्छौँ,” उनले भने । उनले भ्रमण वर्ष अवधिमा २० लाख पर्यटक सङ्ख्यामा मात्र नभई यसलाई आधार वर्ष बनाएर एक दशकसम्म भ्रमण वर्ष मनाएर सङ्ख्यासँगै गुणस्तरीय पर्यटक भित्र्याउनेतर्फ सबैको ध्यान जानुपर्नेमा जोड दिए । त्यसो त पर्यटनमन्त्री भट्टराई पनि भ्रमण वर्षमा २० लाख पर्यटक पुग्ने आधार तयार भइसकेको तर त्यही नै अन्त्य नभएको बताउँछन् । उनले भने, “अहिले विमानस्थल र स्थल मार्गबाट प्रवेशाज्ञाधारी पर्यटकको मात्रै गणना भएको छ, प्रवेशाज्ञा नलिने भारत, चीन तथा तेस्रो मुलुकका पनि धेरै पर्यटक छन्, तिनको हिसाब गर्ने हो भने विभिन्न सिलसिलामा आउने विदेशी करिब ५० लाख पुग्छन् । त्यसैले २० लाख ठूलो कुरा होइन । पाँच वर्षपछि प्रत्येक वर्ष ३५ लाख पर्यटक आउने वातावरण बनाउनेतिर ध्यान जान जरुरी छ ।” पन्ध्रौँ पञ्चवर्षीय योजनाले पर्यटनलाई राज्यको प्रमुख प्राथमिकतायुक्त क्षेत्रका रूपमा लिएको र अहिलेको कूल गार्हस्थ्य उत्पादनमा पर्यटन क्षेत्रको तीन प्रतिशत योगदानलाई उक्त योजना अवधिभर १० प्रतिशत पुर्याउने लक्ष्यका साथ काम अघि बढाइएको मन्त्री भट्टराईको भनाइ थियो । प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेलले मुलुकको आर्थिक समृद्धिलाई सार्थक तुल्याउने आधार पर्यटन, कृषि, ऊर्जालगायत भएकाले यसको प्रभावकारी प्रवद्र्धनमा जोड दिए । उनले भ्रमण वर्षलाई सफल बनाउन तथा समग्र पर्यटनमैत्री वातावरण तयार गर्न प्रदेश सरकार क्रियाशील रहेको भन्दै पर्यटकीय पूर्वाधार निर्माणमा निजी क्षेत्रलाई सक्रिय ढङ्गले लाग्न आग्रह गरे । प्रदेश उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री अरुणप्रसाद नेपालले भ्रमण वर्षलाई सफल बनाउन सबै क्षेत्रको सकारात्मक भूमिकाको अपेक्षा गरे । प्रदेश नं ३ को भ्रमण वर्षको तयारी नेपाल भ्रमण वर्ष अभियानलाई प्रभावकारी तुल्याउन तथा उक्त अवधिमा गरिने कार्यक्रमको तयारीस्वरूप प्रदेश ३ को पर्यटन मन्त्रालयले आज ललितिपुरमा भ्रमण वर्षको पूर्व तयारी भेला गर्यो । पर्यटनमन्त्री भट्टराई, प्रदेश नं ३ का मुख्यमन्त्री पौडेल, प्रदेश पर्यटनमन्त्री नेपाल, उपत्यकाबाट प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने सदस्यहरू, प्रदेशसभा सदस्य, नगरपालिका र गाउँपालिका प्रमुख एवं प्रतिनिधि, पर्यटन क्षेत्रमा आबद्ध व्यवसायी तथा सरोकारवाला निकायका प्रतिनिधिको सहभागिता थियो । सहभागी प्रतिनिधिले भ्रमण वर्षलाई भव्य र सभ्यरूपले सफल बनाउन अन्तरसरकार तथा सरोकार भएका निकायबीच समन्वयका साथ योजना कार्यक्रम लैजानुपर्नेमा जोड दिए । गाउँपालिका राष्ट्रिय महासङ्घका अध्यक्ष होमनारायण श्रेष्ठले भ्रमण वर्षलाई देशको आर्थिक समृद्धिसँग जोड्दै स्थानीय उत्पादन प्रवद्र्धन गरिनुपर्ने धारणा राखे । ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान)का अध्यक्ष खोमबहादुर सुवेदीले भ्रमण वर्ष अभियानलाई सफल बनाउन सबै क्षेत्रको सक्रियता चाहिने औँल्याए । कार्यक्रममा प्रदेश ३ को विविध पर्यटकीय गन्तव्यलाई समेटेर तयार पारिएको वृत्तचित्र प्रस्तुत गरिएको थियो । उक्त वृत्तचित्र ११२ वटा भिडियो क्लिप आठ भाषामा प्रदर्शन गरिनेछ । भ्रमण वर्षभरि प्रदेश सरकारको १४ घरेलु उत्पादनका कोसेली घर, १० पर्यटकीय गन्तव्य र १० ‘हिल स्टेसन’ निर्माण गरिनेलगायत कार्यक्रम छ । भ्रमण वर्षका लागि रु एक अर्ब ६२ करोड बजेट विनियोजन भई विभिन्न चरणका कार्यक्रम सञ्चालन गरिने जनाइएको छ । रासस
बङ्गलादेशसँगको बाईस वर्षे व्यापारः नाफामा नेपाल
काठमाडौँ । सबैभन्दा नजीकको तेस्रो मुलुक बङ्गलादेशसँगको व्यापार सन्तुलनमा पाँच वर्षयता निरन्तर घाटा व्यहोर्नु परे पनि पारवहन मार्ग खुलेयताको २२ वर्षमा भने नाफा नै भएको छ । विसं २०५४ भदौ १४ गते नेपाल र बङ्गलादेशबीच पूर्वी नाका काँकडभिट्टाबाट भारतको फूलबारी भन्सार हुँदै बङ्गलादेशको बङ्गलाबन्ध जोड्ने ५४ किलोमिटर लामो स्थल पारवहन मार्गको प्रयोग शुरु भएको थियो । त्यसयताको २२ वर्षमा नेपालले बङ्गलादेशसँगको व्यापार सन्तुलनमा रु चार अर्ब ४६ करोड १९ लाख ५२ हजार ४६१ नाफा गरेको नेपाल पारवहन तथा गोदाम व्यवस्था कम्पनीले जनाएको छ । काँकडभिट्टास्थित कम्पनीको कार्यालयका सूचना अधिकारी विजय भट्टराईका अनुसार आव २०५४÷५५ देखि २०७५÷७६ सम्ममा नेपालले सो पारवहन मार्ग भएर रु ३१ अर्ब ३० करोड ५५ लाख ६९ हजार ८३७ मूल्य बराबरको नेपाली मालसामान बङ्गलादेश निर्यात गरेको छ । सोही अवधिमा बङ्गलादेशबाट रु २६ अर्ब ८४ करोड ३६ लाख १६ हजार ३६७ मूल्य बराबरको मालसामान नेपालमा आयात भएको पाइएको छ । समग्र २२ वर्षमा व्यापारको अवस्था नाफादायी भए तापनि पछिल्लो पाँच वर्षदेखि नेपालको निर्यात बढ्न नसक्दा व्यापारको अवस्था निरन्तर घाटाजनक रहेको छ । नेपालले बङ्गलादेशसँग अहिलेसम्मको व्यापारमा १० आर्थिक वर्षमा नाफा र १२ वटा आर्थिक वर्षमा घाटा गरेको छ । आव २०५४÷५५ देखि २०५९÷६० सम्मको छ वर्षमध्ये आव २०५७/५८ को व्यापारमा मात्र रु पाँच करोड २९ लाख १० हजार ३८७ नाफा भएको देखिन्छ । अरू वर्ष घाटैघाटा भएका छन् । आव २०६३/६४ देखि बङ्गलादेशबाट आयातभन्दा नेपालबाट निर्यात धेरै हुन थालेको हो । त्यसयता आव २०७०÷७१ सम्मको व्यापार सन्तुलनमा निरन्तर आठ वर्ष नेपालले नाफा गरेको छ । आव २०७१/७२ यता हालसम्म नै निर्यातभन्दा आयात बढी रहेको अवस्था छ । नेपालको निर्यात बढेको अवस्थामा आव २०६५/६६ मा नेपालले रु चार अर्ब ७९ करोड ५७ लाख ५० हजार ५८ बराबरको व्यापार नाफा गरेको थियो । यो नै विगत २२ वर्षे व्यापार यात्रामा सबैभन्दा बढी व्यापार नाफा गरेको वर्ष थियो । अहिले भने व्यापार घाटा बढिरहेको छ । गत आव २०७५/७६ मा नेपालले रु दुई अर्ब ४१ करोड ३० लाख ३५ हजार ६८० को व्यापार घाटा व्यहोरेको छ । बङ्गलादेशको बजार भौगोलिक रुपमा नजीक भएको कारण नेपालका उत्पादनहरु छिटो पुर्याउन र त्यसबाट लाभ पाउन सकिन्छ भनेर नै नेपालले काँकडभिट्टा–फूलबारी–बङ्गलाबन्ध पारवहन मार्गको प्रस्ताव भारत र बङ्गलादेश सरकारसँग गरेको थियो । दुवै छिमेकी मुलुकले नेपालको प्रस्ताव मञ्जुर गरेका थिए । विसं २०५४ भदौ १४ गते पारवहन मार्गको काँकडभिट्टामा भव्य उद्घाटन भएपछि सो आर्थिक वर्षभरिमा नेपालबाट रु ११ लाख ५७ हजार ७६० बराबरको मालसामान मात्र बङ्गलादेश पठाइएको थियो । शुरुकै आर्थिक वर्षमा उता बङ्गलादेशबाट रु एक करोड ३१ लाख २६ हजार २७४ मूल्य बराबरको सामान आयात भएको थियो । व्यापार घाटा पहिलो वर्षबाटै शुरु भएको थियो । नेपालले आव २०७५/७६ मा बङ्गलादेशतर्फ मुसुरो दाल, अम्लिसो कुचो, कत्था, प्लाइउड, पिना, टमाटर, फलफूल, हजमोला, गहुँको ब्रान, चिराइतो, ग्लुकोज लगायतका १७ प्रकारका मालसामान निर्यात गरेको मेची भन्सार कार्यालयले जनाएको छ । सोही अवधिमा नेपालले बङ्गलादेशबाट १५१ प्रकारका मालवस्तु आयात गरेको देखिएको मेची भन्सार कार्यालयका सूचना अधिकारी भरतराज अधिकारीले बताए । बङ्गलादेशबाट सबैभन्दा बढी मात्रामा हलुका पेय पदार्थजन्य वस्तु आयात हुने गरेको छ । दर्जनभन्दा बढी प्रकारका हलुका पेय पदार्थ नेपालमा आउने गरेका कारण नेपाली उत्पादन मारमा परेको समेत नेपाली व्यवसायीहरुको गुनासो रहँदै आएको छ । बङ्गलादेशबाट सोलार उपकरण, रनर, मोटरसाइकल, कागज, तयारी कपडा, जुट, मकै, आलुचिप्स, चकलेट, कमोड, नेप्किन, पानीका बोतल, ब्याट्री, औषधि, केमिकल, स्पेयर पार्टस, नरिबल तेललगायतका सामान आयात हुने गरेको छ । यसमा सबैभन्दा बढी जुस र लत्ताकपडाका प्रकार रहेका छन् । मेची उद्योग वाणिज्य सङ्घका अध्यक्ष ऋषिराज तिम्सिना बङ्गलादेशसँगको व्यापार सहजीकरणमा नेपाल सरकारको पर्याप्त ध्यान पुग्न नसकेको बताउँछन् । बङ्गलादेश निर्यात हुने वस्तुको कर हटाउन वा घटाउन नेपाल सरकारले बङ्गलादेश सरकारलाई मनाउन सक्यो भने व्यापारको अवस्था चाँडै सुध्रिने उनको धारणा छ । “भूटानलाई दिएजति भन्सार सहुलियत पनि नेपालले पाउन सकेको छैन”, नेपाल बङ्गलादेश चेम्बर अफ ट्रेडर्सका संस्थापक अध्यक्ष पन्नालाल जैन भन्छन्, “नेपाल सरकारले बङ्गलादेश सरकारलाई भन्सार सहुलियतका लागि औपचारिक आग्रह गरिदिने हो भने नेपालले लाभ पाउने सम्भावना छ ।” जैनका अनुसार नेपाली कृषि उत्पादन मात्र नभएर जडीबुटी र ढुङ्गाको बङ्गलादेशमा ठूलो माग छ । नेपाली अलैँची, अदुवा, सुन्तला, चिराइतो, अम्लिसो, चियालगायतका वस्तु बङ्गलादेशमा जति पु¥याए पनि बजार र मूल्य दुवै सहजै पाउने उनी बताउँछन् । नेपालभन्दा सानो भूभाग रहेको बङ्गलादेशको जनसङ्ख्या भने नेपालको भन्दा चौब्बर भएको हुँदा नेपाली उत्पादनहरु सजिलै त्यहाँ पुर्याउन सक्दा नेपालको व्यापार उकालो लाग्ने निश्चित छ । रासस
कात्तिक ३० गते कलाकार तथा गायक गायिकाबीच दौड प्रतियोगिता हुँदै
काठमाडौँ । नेपाल चलचित्र कलाकार संघ र कान्ति साँस्कृतिक केन्द्रको संयुक्त आयोजनामा वातावारणीय स्वच्छताको लागि चलचित्र कलाकार, मोडल, गायक गायिका बीच ३ किलोमिटर सडक दौड प्रतियोगिता हुने भएको छ । कात्तिक ३० गते शनिबार प्रहरी तालिम केन्द्र महाराजगंज आगाडी बाट सुरु भई लाजिम्पाट पुगेर पुनः सोही स्थानमा समापन हुने आयोजक सस्थाले जानकारी गराएको छ । भिजिट नेपाल २०२० लाइ समेत मध्यनजर गर्दै वातावारणीय स्वच्छताको लागि यस कार्यक्रम आयोजना गरिएको हो । प्रतियोगितामा बिजेता हरुलाई नगद सहित अन्य पुरस्कार समेत प्रदान गरिने छ भने समाजमा बिशिष्ट योगदान पुर्याउने व्यक्तित्वहरुलाई सम्मान समेत गरिने भएको छ । उक्त प्रतियोगितामा सम्पूर्ण चलचित्रकर्मी, कलाकार, गायक गायिका तथा संचारकर्मीलाइ सहभागिताको लागि चलचित्र कलाकार संघका अध्यक्ष रबिन्द्र खड्काले आव्हान समेत गरेका छन् । यस कार्यक्रमलाई रिभेल ईभेण्ट्सले ब्यबस्थापनको जिम्मा लिएको छ ।
लेखापाल र सहायक व्यवस्थापकलाई आरएमडीसीले दियो लेखा तथा अभिलेख ब्यवस्थापन तालिम
काठमाडौँ । आरएमडीसी लघुबित्त बित्तीय संस्था लि. शाखा कार्यालय, इटहरीको आयोजनामा लेखा तथा अभिलेख ब्यवस्थापन सम्बन्धी ३ दिने तालिम गोकर्ण रिसोर्ट सुन्दरहरैचा, मोरङ्गमा सम्पन्न भएको छ । तालिममा आरएमडीसीे इटहरी शाखाको कार्यक्षेत्र भित्रका ११ जिल्लामा रहेका २८ वटा सहकारी संस्थाहरुको लेखापाल तथा सहायक व्यवस्थापक स्तरका २९जना कर्मचारीहरुको सहभागीता रहेको थियो । उक्त तालिम कार्यक्रमको संचालन ईटहरी शाखाका कर्मचारी दिनेश सिरुवालले गरेका थिए भने शाखाका कर्मचारी कृष्णप्रसाद अधिकारीले सहभागीहरुलाई स्वागत गरे । उक्त तालिममा श्रोत ब्यक्तिको रुपमा सहकारी तथा विभिन्न वित्तीय संस्थामा आवद्ध रही लामो समय देखी सेवा पुर्याउदै आएका लिलानाथ निरौलाले भूमिका निर्वाह गरेका थिए । लेखाको सिद्धान्त, भौचरको तयारी, लेजर खाता,चार खाता, सन्तुलन परिक्षण, नाफा नोक्सान खाता, वासलत, सानो नगदी कोष, मसलन्द मौज्दात ब्यवस्थापन, बैंक हिसाबमिलान, नाफा नोक्सानको बाँडफाँड, नगद प्रवाह बिबरण, सम्पत्ती खाता, सम्पत्तीको बर्गिकरण, ह्रास कट्टी, कर्जा बर्गीकरण, सहकारीमा आयकरको गणना, श्रोतमा कर कट्टी, कर दाखिला सम्बन्धी छलफलका साथै बित्तीय सूचकहरुको बारेमा छलफल, गणना बिधि र बिश्लेषण बारेमा छलफल तथा अभ्यास गराइएको थियो ।
सरकारले करका दर चलायाे, गहना र तेलकाे मूल्य बढ्ने, तर कुखुरा र वाइनको मूल्य घट्ने
काठमाडौँ । सरकारले आर्थिक ऐन २०७६ लागू भएको चार महिना व्यतित नहुंदै करका दरमा ठूलो परिवर्तन गरेको छ । कुनै बस्तुको करका दरमा ५० प्रतिशत छुट गरिएको छ भने केही बस्तुमा १०० प्रतिशत अन्तशुल्क वृद्धि गरिएको छ । विगतमा भन्सार छुटमा आयात हुँदै आएको औद्योगिक बस्तुहरुमा ५ प्रतिशत भन्सार कर लागू गरिएको छ । कपालमा प्रयोग हुने कस्मेटिकजन्य मालबस्तुमा १०० प्रतिशत अन्तशुल्क वृद्धि गरिएको छ । यसअघि मूल्यमा ५ प्रतिशत अन्तशुल्क लाग्दै आएकोमा अब १० प्रतिशत अन्तशुल्क लाग्ने जनाइएको छ । त्यस्तै फलाम वा इस्पातको सरसफाइ सम्बन्धी सामान र तिनका पार्टपूर्जामा ५ प्रतिशत अन्तशुल्क लगाउने निर्णय भएको अर्थ मन्त्रालयका राजश्व सचिव शिशिर कुमार ढुङ्गानाले जानकारी दिए । यसअघि यी बस्तुमा अन्तशुल्क छुट थियो । व्यवसायिक प्रयोजनका लागि आयात हुने सुनमा प्रति १० ग्राममा ६ हजार ५०० रुपैयाँ भन्सार लाग्ने भएको छ । यसअघि प्रति १० ग्राम ५ हजार रुपैयाँ भन्सार लाग्दै आएकोमा १ हजार ५ सय रुपैयाँ वृद्धि गरिएको अर्थमन्त्रालयले जनाएको छ । त्यस्तै व्यवसायिक रुपमा आयात हुने चाँदीमा पनि भन्सार कर वृद्धि गरिएको छ । प्रति १० ग्राम ५६ रुपैयाँ भन्सार लाग्दै आएकोमा कात्तिक २५ गतेदेखि ७५ रुपैयाँ लगाइएको छ । उता, विदेशबाट फर्केका नेपालीले आफ्नो साथमा ल्याएको सुन तथा सुनका गहनामा पनि भन्सार वृद्धि गरिएको छ । पहिलो ६ हजार २ सय लाग्ने सुनमा अब ७ हजार ५ सय रुपैयाँ भन्सार लाग्नेछ । ७ हजार २ सय रुपैयाँ भन्सार लाग्ने सुनमा ८५०० रुपैयाँ लाग्ने भएको छ । यस अघि ९ हजार रुपैयाँ लाग्दै आएको सुनमा अब १० हजार रुपैयाँ लाग्ने सोमबार प्रकाशित राजपत्रमा उल्लेख गरिएको छ । कुखुराको मासु र वाइन सस्तो हुने कुखुराको चल्ला कोरल्नका लागि फूलहरुको पैठारीमा लाग्ने भन्सार महसुलमा ५० प्रतिशत छुट गरिएको छ । यसले कुखुराकाे मासु र अण्डाकाे मूल्य घटाउन मद्दत गर्ने छ । त्यस्तै, फलफूल र तीनबाट बनेका १२ प्रतिशतसम्म अल्कोहलको मात्र भएको स्वदेशी वाइन बाहेक अन्य स्वदेशमा उत्पादन हुने वाइनमा लाग्ने अन्तशुल्कको दरमा ३० प्रतिशत छुट गरिएको छ । यसले वाइनकाे मूल्य घटाउन सहयाेग गर्नेछ । सरकारले तयारी रङ्ग उत्पादन गर्ने उद्योगहरुको कच्चा पदार्थको रुपमा प्रयोग हुने एक्रेलिक इमल्सनमा ३० प्रतिशत भन्सार कर लाग्दै आएकोमा उद्योगको नाममा पैठारी भएमा २० प्रतिशत मात्र भन्सार लाग्ने छ । आर्थिक ऐन २०७६ लागू भएको चार महिना व्यतित नहुंदै करका दरमा यति धेरै परिवर्तन हुँदा उद्योगी व्यवसायीलाई समस्या पर्ने नेपाल चेम्बर अफ कमर्शले जनाएको छ । ‘उद्योगी व्यवसायीहरुले आर्थिक ऐन लागू भए पश्चात एक वर्षको लागि आफ्नो व्यवसायिक योजना बनाइ आफ्नो व्यवसाय संचालन गर्ने र सोही अनुरुप अग्रीम रुपमा कारोवार गरिरहेका हुन्छन । आर्थिक ऐन २०७६ लागू भएको चार महिना व्यतित नहुंदै करका दरमा परिवर्तन गर्दा धेरै समस्या हुन्छ’ चेम्बरले जारी विज्ञप्तीमा उल्लेख गरिएको छ । ‘कुखुरा पालन व्यवसायको लागि आवश्यक पर्ने फुलहरु तथा एक्रेलिक इमल्सनमा दिइएको छुट सकारात्मक भएको चेम्बरले जनाएको छ । तर, सुन तथा चाँदीमा पैठारीमा र बिदेशबाट फर्केका यात्रुहरुले आफ्नो साथमा ल्याएको सुन तथा सुनका गहनामा भएको महशुल दरमा भएको वृद्धि हुनु, कपालमा प्रयोग हुने कस्मेटिक्स ,फलाम वा इस्पातको सरसफाइ सम्वन्धी सामान तथा कफीमा लगाइएको अन्तशुल्क वृद्धिले एकातर्फ अनधिकृत व्यापार वृद्धि हुने सम्भावना प्रवल रहने हुन्छ भने अर्कोतर्फ यसबाट मालवस्तुको मूल्य वृद्धि हुन गइ उपभोक्तालाइ प्रत्यक्ष रुपमा नकारात्मक असर पर्ने भइ महंगीको मारमा पर्ने समेत चेम्वरको ठहर रहेकोछ’ चेम्बर अफ कमर्शले जारी गरेको विज्ञप्तीमा उल्लेख गरिएको छ ।
परिसंघको टोलीसँग अर्थमन्त्रीले भने-‘निर्यात प्रर्वद्धनका लागि पहल गर्छु’
काठमाडौँ । नेपाल उद्योग परिसंघले निर्यात व्यापारमा देखिएको सुधारलाई कायम राख्दै निर्यात प्रवद्र्धन गर्न पहल गर्न अर्थमन्त्री डा. युवराज खतिवडाको ध्यानाकर्षण गराएको छ । मंगलबार अर्थमन्त्रालयमा डा खतिवडालाई भेटेर परिसंघको प्रतिनिधि मण्डलले निर्यात प्रर्वद्धन र उद्योग व्यवसाय तथा समग्र अर्थतन्त्रमा देखिएका समस्या समाधानबारे छलफल गरेको हो । उक्त छलफलमा परिसंघका अध्यक्ष सतिशकुमार मोरले निर्यात प्रर्वद्धन तथा आयात प्रतिस्थापनमा भइरहका सुधारको स्वागत गर्दै निर्यातका लागि थप प्रोत्साहन आवश्यक भएको बताए । अध्यक्ष मोरले उत्पादन मूल्य कम गरी उद्योगहरुलाई थप प्रतिस्पर्धी बनाउन, आवश्यक नीतिगत सुधारका लागि पहल लिन समेत अर्थमन्त्री खतिवडासँग आग्रह गरे । छलफलमा अर्थमन्त्री खतिवडाले निर्यात प्रर्वद्धन तथा व्यापार घाटा कम गर्ने विषयमा आफ्नो प्राथमिकता रहेको भन्दै नीतिगत सुधारका लागि अन्तरमन्त्रालय समन्वयको काम भइरहको जानकारी गराए । व्यवसाय मैत्री वातावरण बनाउने कुरामा आफ्नो ध्यान गएको भन्दै परिसंघले अघि सारेका विषयलाई प्राथमिकतामा राखी यथासक्य सम्बोधन गर्ने पनि अर्थमन्त्री खतिवडाले विश्वास दिलाए । अर्थमन्त्रीसँगको भेटमा परिसंघका अध्यक्ष मोर सहित निर्वतमान अध्यक्ष हरिभक्त शर्मा र अन्य बरिष्ठ उद्योगपति व्यवसायीहरुको उपस्थिति थियो ।
राष्ट्रका लागि युवाद्वारा ‘लिपुलेक, कालापानी नेपालको हो’ हस्ताक्षर अभियान शुरु
काठमाडौँ । राष्ट्रका लागि युवा नामक संस्थाले ‘लिपुलेक, कालापानी नेपालको हो’ र ‘देश बचाउने जिम्मेवारी हाम्रो’ हो भन्ने मूल नारा लिएर हस्ताक्षर अभियान शुरु गरेको छ । उक्त हस्ताक्षर अभियान देशभरी सञ्चालन गरिने आयोजकले जनाएको छ । मंगलबार राजधानीमा पत्रकार सम्मेलन गर्दै यस्तो जानकारी गराईएको हो । निकोलस भुषालको नेतृत्वमा राष्ट्रका लागि युवाले पहिल्यैदेखि विविध सामाजिक तथा वातावरणीय कार्यक्रमहरु सञ्चालन गर्दै आएको जनाएको छ । ८ देखि दश लाख हस्ताक्षर संकलन भैसकेपछि नेपाल सरकार र संयुक्त राज्य अमेरिकाको न्यूयोर्कस्थित् राष्ट्रसंघको मुख्यालयमा पठाउने पनि आयोजकले जनाएको छ । हस्ताक्षर संकलन र निःशुल्क स्वास्थ्य शिविर तथा पर्यटन प्रर्वद्धनको लागि स्वर्गको टुक्रा दार्चुलाको कालापानी र लिपुलेक जाने कार्यक्रम पनि रहेको आयोजकले बतायो । कार्यक्रममा सामाजिक अभियन्ता आशिका तामाङ, हिमाल सरसफाई अभियन्ता पिके शेर्पा, बरिष्ठ समाजसेवी उर्मिला डंगोल, सामाजिक अभियन्ता पुण्यप्रसाद गौतम, रुपक अधिकारी, प्राध्यापक डा. विष्णु पाठकलगायतले लिपुलेक र कालापानी र लिपुलेक नेपालको भएको बताउँदै यसको लागि आफूहरु सशक्त भएर लाग्ने बताए । उनीहरुले नेपालको आफ्नो भू–भाग जसरीपनि फिर्ता लिनुपर्ने बताएका छन् । उनीहरुले यसका लागि सबै नेपाली एकजुट भएर लाग्नुपर्ने धारणा राखेका थिए । कार्यक्रममा उपस्थिति सबैले आफूहरुको हस्ताक्षर अभियानमा ऐक्यवद्धता जाहेर गर्न अपिल गरेका छन् । कार्यक्रमको सञ्चालन लेनिन विष्टले गरेका थिए ।
हात्तीगौंडामा गरिमा विकास बैंकको शाखा बिस्तार
काठमाडौँ । गरिमा विकास बैंक लिमिटेडले बुढानिलकण्ठ नगरपालिका वडा नं.-७, हात्तीगौंडामा शाखा बिस्तार गरेको छ । उक्त शाखा कार्यालयको उद्घाटन बुढानिलकण्ठ नगरपालिकाका नगर प्रमुख उद्धवप्रसाद खरेलले गरेका हुन् । कार्यक्रम बैंकका सञ्चालक डा.आनन्दप्रसाद श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको हो । कार्यक्रममा बोल्दै प्रमुख कार्यकारी अधिकृत गोविन्दप्रसाद ढकालले यस क्षेत्रमा छरिएर रहेको पूँजीलाई एकीकृत गरी उद्यमशीलताको विकास तथा नगरपालिका भित्र विभिन्न व्यापार व्यवसायको विस्तारका लागि ग्राहकहरुलाई आवश्यक पूँजी प्रवाहको लक्ष्य राखी विकास बैंकले सम्पूर्ण आधुनिक बैंकिङ्ग सुविधा सहित शाखा कार्यालय सञ्चालनमा ल्याएको जानकारी दिए ।