२७ विकास बैंकले सम्पन्न गरे वार्षिक साधारणसभा, बाँकी ६ वटाले कहिले गर्छन् ?
काठमाडौं । नेपाल स्टक एक्स्चेञ्ज(नेप्से)मा सूचिकृत ३३ विकास बैंकमध्ये हालसम्म २७ वटा संस्थाले आ–आफ्नो वार्षिक साधारणसभा सम्पन्न गरिसकेका छन् । कुल संस्था मध्ये बाँकी ६ वटा संस्थाले भने फागुन लाग्दा पनि अझै साधारणसभा गरेका छैनन् । कम्पनी कानुन अनुसार पुस मसान्तभित्र साधारण गरिसक्नुपर्ने छ । त्यसैले, पुस मसान्तभित्र साधारणसभा गर्ने बैंक तथा वित्तीय संस्थाको वित्त प्रणाली र सुशासन पक्ष राम्रो मानिन्छ । हालसम्म साधारणसभा नगर्ने ६ संस्थामध्ये तीन कम्पनीले साधारणसभाको मिति घोषणा गरिसकेका छन् भने बाँकी तीन कम्पनीले भने अझै सभाको मिति तय गरेका छैनन् । एक्सेल डेभलपमेन्ट बैंक, मितेरी डेभलपमेन्ट बैंक र सहयोगी विकास बैंकले चैतसम्म साधारणसभा गर्ने मिति तय गरेका छन् । उता एनआईडीसी, ओम र वेष्टर्न डेभलपमेन्ट बैंकले भने अझै साधारणसभा गर्ने निधो गरेका छैनन् । त्यस्तै, भार्गव विकास बैंक, कर्पोरेट डेभलपमेन्ट बैंक, देवः विकास बैंक, गण्डकी विकास बैंक, गरिमा विकास बैंक, ग्रीन डेभलपमेन्ट बैंक, हाम्रो विकास बैंक, ज्योति विकास बैंक, काबेली विकास बैंक, कैलाश विकास बैंक, कामना सेवा विकास बैंक, कञ्चन डेभलपमेनट बैंक, कन्काई विकास बैंक, कर्णाली डेभलपमेन्ट बैंक, लुम्बिनी विकास बैंक, महालक्ष्मी विकास बैंक, मिसन डेभलपमेन्ट बैंक, मुक्तिनाथ विकास बैंक, नारायणी डेभलपमेन्ट बैंक, नेपाल कम्युनिटी डेभलपमेन्ट बैंक, पूर्णिमा विकास बैंक, सहारा विकास बैंक, सप्तकोशी डेभलपमेन्ट बैंक, सांग्रिला डेभलपमेन्ट बैंक, शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक, सिन्धु विकास बैंक र तिनाउ डेभलपमेन्ट बैंकले फागुन पहिलाे साता अघि नै साधारणसभा बोलाई सकेका छन् ।
विद्युतीय बस चलाउन निजी क्षेत्र उत्साहित, तर पाएनन् चार्जिङ स्टेशन राख्ने ठाउँ
काठमाडौं । विद्युतीय बस सञ्चालन गर्न निजी क्षेत्र उत्साही बन्दा सरकार भने सुस्त बनेको छ । विद्युतीय सवारी सञ्चालन कार्यविधि निर्माण नहुँदा निजी क्षेत्र अन्यौलमा परेका हुन् । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र उर्जा तथा जलस्रोत मन्त्रालयले काम नगर्दा विद्युतीय बस सञ्चालनमा ढिलाई भएको हो । निजी विद्युतीय सवारी सञ्चालन गर्ने मापदण्ड भएपनि सार्वजनिक यातायात सञ्चालन गर्ने कानून बनेको छैन । विद्युतीय सवारी सञ्चालन गर्नका लागि मापदण्ड, चार्जिङ स्टेशन, महसुल लगायतका विषयमा सरकारले कुनै काम गरेका छैन । बस सञ्चालन गर्न सुन्दर यातायात प्राइभेट लिमिटेडले ७ वटा चार्जिङ स्टेशन ल्याएको छ । तर, भाडा तिरेर स्टेसन राख्छु भन्दा पनि सरकारले स्थान उपलब्ध नगराएको प्रालिका अध्यक्ष भेषबहादुर थापाले बताए । थापाका अनुसार प्रालिले चीनबाट ७ वटा चार्जिङ स्टेशन काठमाडौं ल्याइसकेको छ । स्टेसन राख्नका लागि यातायात मन्त्रालयसँग प्रस्ताव गरेको तर मन्त्री रघुवीर महासेठले वेवास्था गरेको अध्यक्ष थापाले आरोप लगाए । स्टेशनको लागि विद्युत महसुलमा सहुलियत दिनु पर्ने प्रालिले माग गर्दै आएको छ । महसुल निर्धारणको लागि आफ्नो प्रस्ताव उर्जा मन्त्री वर्षमान पुन कहाँ पुगेपनि निकास आउन सकेको छैन । प्रालिले चक्रपथमा ४० सिट क्षमताका आधुनिक विद्युतीय बस चलाउने तयारी गरेको छ । चीनको बिएके कम्पनीको १३ वटा बस ल्याउने लागेको छ । सबै कानूनी व्यवस्था मिले ७ दिनभित्र नेपालमा सवारी चलाउने प्रालिले दाबी गरेको छ । विद्युतीय बस एक पटक चार्ज गर्दा २६८ किलोमिटर गुड्नेछ । एउटा बसको मूल्य १ करोड ८७ लाख पर्छ । यी बसहरुमा मोबाइलबाटै भाडा तिर्न सकिन्छ । त्यसका लागि कम्पनीले ‘सुन्दर यातायात भेइकल रिचार्ज’, नामको एप्स निर्माण गरिरहेको छ । १३ जना युवा उद्यमी मिलेर उनीहरुले काठमाडौं पछि पोखरा, बुटवल र चितवनको शहरी क्षेत्रमा विद्युतीय बस सञ्चालन गर्ने योजना बनाएका छन् । नेपालमै पहिलो पटक निजी क्षेत्रबाट विद्युतीय बस सञ्चालन गर्न लागिएको, तर सरकारले अपेक्षाकृत सहयोग नगरेको प्रालिका अध्यक्ष थापाले गुनासोपनि पोखे । सरकारले विद्युतीय सवारी साधनमा भन्सार छुट दिएको छ, तर चार्जिङ स्टेशनको भन्सारको छुटमा भने आनाकानी भैरहेको थापाले जानकारी दिए । ‘सरकारको नीति तथा कार्यक्रममै ५ बर्षभित्र विद्युतिय सवारी साधनहरुको हिस्सा २० प्रतिशत पुर्याउने भनिएको छ, तर वर्तमान मन्त्रीले चासो देखएका छैनन् । यसैगरी मन्त्रिपरिषदको पुस १२ को निर्णयबाट यातायात मन्त्रालयलाई ३०० वटा बस किन्न स्वीकृत दिएपनी प्रक्रिया अघि बढ्न सकेको छैन ।
आइएमई जनरल इन्स्योरेन्सका सेवा मुक्तिनाथ विकास बैंकबाट पाइने
काठमाडौँ । आइएमई जनरल इन्स्योरेन्स लिमिटेड र मुक्तिनाथ विकास बैंक लिमिटेडबीचच बैंकास्योरेन्स सेवा सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा आइएमई जनरल इन्स्योरेन्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत युगेशभक्त बादे श्रेष्ठ र मुक्तिनाथ विकास बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत प्रधुम्न पोखरेलले हस्ताक्षर गरे । सम्झौता पश्चात बैंकका ग्राहकहरुले नेपालभर रहेका मुक्तिनाथ विकास बैंकका शाखाहरु मार्फत आइएमई जनरल इन्स्योरेन्स लिमिटेडले प्रदान गर्ने सबै प्रकारका बीमा सेवाहरु प्राप्त गर्न सक्ने छ । कार्यक्रममा आइएमई जनरल इन्स्योरेन्स लिमिटेडका नायब महाप्रबन्धक शरण रेग्मी तथा मुक्तिनाथ विकास बैंक लिमिटेडका सहायक प्रमुख कार्यकारी अधिकृतद्धय तिलबहादुर गुरुङ तथा गोविन्दबहादुर राउतको उपस्थिति रहेको थियो ।
ग्लोबल आइएमईले निष्काशन गर्यो ऋणपत्र, १०.२५ % ब्याजदर
काठमाडौँ । ग्लोबल आइएमई बैंकले सर्वाधिक व्याज दर १०.२५% सहितको ऋणपत्र निष्कासन गरेको छ । उक्त ऋणपत्रमा बजारमा उपलब्ध अन्य ऋणपत्रहरु मध्ये सवैभन्दा बढि १०.२५% व्याजदर रहेको छ । फागुन ११ गतेदेखि खरिद गर्न सकिने गरी १५ लाखकित्ता ऋणपत्र निष्कासन गरिएको हो । ५ वर्षमा परिपक्क हुने कुल १५ लाख कित्ता ऋणपत्र मध्ये ५ लाख ९७ हजार कित्ताको लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन् भने ३ हजार कित्ता सामुहिक लगानी कोषका लागि र बाँकी ९ लाख कित्ता संस्थागत लगानीकर्ताको लागि छुट्याईएको छ । सर्वसाधारण लगानीकर्ता तर्फ प्रतिकित्ता १ हजार रुपैयाँका दरले न्यूनतम २५ देखि ७५ हजार कित्तासम्म आवेदन दिन सकिने छ भने संस्थागत लगानीकर्ताहरुको लागि अधिकतम लगानी सिमा लागू हुनेछैन । सी–आस्वाको माध्यमबाट फागुन १५ गते देखि फागुन १९ गतेसम्म आवेदन दिन सकिने ऋणपत्रमा उक्त अवधि भित्र आवश्यक मात्रामा बिक्री नभएमा चैत्र १४ गते सम्म पनि आवेदन दिई लगानीकर्ताले आफ्नो लगानीमा उच्चतम प्रतिफल प्राप्त गर्न सक्नेछन् । अर्धवार्षिक रुपमा ग्लोबल आइएमई बैंक लि. का जुनसुकै शाखाहरु मार्फत व्याज भुक्तानी लिन सकिने र लगानीकर्ताले आवश्यकता परेको खण्डमा सोही ऋणपत्र धितोमा राखेर अन्य कुनैपनि बैंकबाट कर्जा लिन सक्नेछन् । ऋणपत्र फारम ग्लोबल आइएमई बै.क लि. का सम्पूर्ण शाखा कार्यालयहरुका साथै नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण सी–आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र ती संस्थाहरुका तोकिएका शाखा कार्यालयहरुबाट निःशुल्क प्राप्तगर्न सकिनेछ ।
मुक्तिनाथले इटहरीमा वितरण गर्यो डस्टबीन
काठमाडौँ । मुक्तिनाथ विकास बैंक लि.ले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत सुनसरीको ईटहरी शाखाले डस्टबीन वितरण गरेको छ । ईटहरी बजार वरिपरीको सरसफाईमा ध्यानदिदैं टोल तथा बजारको सरसफाई गरी बजारका मुख्यचोकहरु लगायत इलाका प्रहरी कार्यालय, ईटहरीमा डस्टबीन वितरण गरेको बैंकका सूचना अधिकारी तिलबहादुर गुरुङले जनाएका छन् ।
सदर चिडियाखानामा शैक्षिक केन्द्र उद्घाटन, इन्भेस्टमेन्ट बैंकको ५० लाख सहयोग
काठमाडौँ । जावालाखेल स्थित सदर चिडियाखानामा ‘फिल्ड मार्शल सर जोन च्यापल शैक्षिक केन्द्र’को उद्घाटन भएको छ । वन तथा वातावरण मन्त्री एवम् राष्ट्रिय प्रकृति संरक्षण कोषका अध्यक्ष शक्तिबहादुर बस्नेतले मंगलबार केन्द्रको उद्घाटन गरेका हुन् । सो समारोहमा नेपालका लागि बेलायती राजदूत रिचार्ड मोरिसले सर जोन च्यापलको प्रतिनिधित्व गरेकोे थियो । समारोहमा वन तथा वातावरण मन्त्रालयका सचिव डा. बी.एन. ओली, राष्ट्रिय प्रकृति संरक्षण कोष-सदर चिडियाखानाको परियोजना व्यवस्थापक डा. चिरञ्जीवीप्रसाद पोखरेल तथा नेपाल इन्भेस्टमेन्ट बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत ज्योतिप्रकाश पाण्डे लगायतको उपस्थिति रहेको थियो । ११ लाखले गरे अवलोकन आर्थिक वर्ष २०७४/७५मा ११ लाख ५९ हजार ११४ जनाले सदर चिडियाखानाको अवलोकन गरेका छन् । विद्यालयमा अध्ययनरत बालबालिकाहरूमा संरक्षण शिक्षासम्बन्धी कार्यक्रम सञ्चालित गरिने सदस्यतामा आधारित कार्यक्रम ‘फ्रेन्ड्स अफ जू’ मा हाल काठमाडौं उपत्यका भित्रका १२३ विद्यालयका ८० हजार विद्यार्थीहरू सदस्य भइसकेका छन् । इन्भेस्टमेन्ट बैंकको सहयोग नेपाल इन्भेस्टमेन्ट बैंकले आफ्नो संगठित व्यावसायिक उत्तरदायित्व रणनीति अन्तर्गत नेपाल प्राकृतिक संरक्षण कोषको यस कार्यमा सहकार्य गरेको छ । नेपालको एकमात्र चिडियाखानामा शैक्षिक श्रव्यदृष्य केन्द्र स्थापना गर्न स्वेच्छिक सहयोग गरेको हो । प्रविधिको प्रयोगबाट सिकाईको अनुभवद्वारा बढाउन सकिन्छ भन्नेमा विश्वास नेपाल इन्भेस्टमेन्ट बैंकले लिएको छ । चिडियाखानामा संरक्षण र सार्वजनिक शिक्षा, विशेषतः युवा पिढीका लागि सूचना केन्द्रको आवश्यकता देखिएको छ । त्यसैले नेपाल इन्भेस्टमेन्ट बैंकले राष्ट्रिय प्रकृति संरक्षण कोषलाई ५० लाखको वित्तीय सहयोग उपलब्ध गराउने निर्णय गरेको छ । जसले अन्ततः केन्द्रीय चिडियाखानामा आगन्तुकहरूको सिकाइका अनुभव र समग्र वन्यजन्तुको व्यवस्थापनमा सुधार गर्ने बैंकले जनाएको छ ।
सुजुकी बर्गम्यान १२५ सीसी स्कूटरको बिक्री शुरु, भैरहवामा शोरुम उद्घाटन
काठमाडौँ । भैरहवामा सुजुकी बर्गम्यान १२५ सीसी स्कूटरको बिक्री शुरु भएको छ । फागुन ७ गते सुजुकी टु ह्वीलर्सको लागि शोरुम पनि उद्घाटन भएको छ । भैरहवा लुम्बिनी गेट नजिकै सिद्धार्थ मोटर्सबाट सो स्कूटरको बिक्री शुरु गरिएको छ । पत्रकार सम्मेलन गरी शोरुम उद्घाटन र सुजुकी बर्गम्यान बिक्री शुभारम्भ तथा र्याली सम्पन्न गरेको कम्पनीले जनाएको छ । भैरहवा उद्योग बाणिज्य संघका अध्यक्ष कुलप्रसाद न्यौपाने सुजुकी बर्गम्यान १२५ सीसीको बिक्री शुभारम्भ साथै शोरुम उद्घाटन भएको हो । विशिष्ट अतिथिहरुमा लाइन्स कल्ब अफ सिदार्थ नगर का अध्यक्ष थिरिन्द्र श्रेष्ठ , प्रहरी अफिसर नारद कार्की, सिदार्थ बैंकका भैरहवा शाखा म्यानेजर जीबन घिमिरे, मुक्तिनाथ बिकास बैंकका म्यानेजर बिकल छेत्रीको उपस्थिति रहेको थियो । कार्यक्रममा भी जी सुजुकी कम्पनीका एरिया सेल्स म्यानेजर धनीराम भुसाल र भी जी सुजुकीका मार्केटिंग म्यानेजर नबराज कोइरालाले पनि दैनिक जीबनमा मानबको लागी स्कूटर जीबन साथी जस्तै भएको बताए । कार्यक्रममा सुजुकी भैरहवा को सुजुकी बिक्रेता सिद्धार्थ मोटर्सका अध्यक्ष दिनेसमान अमात्यले कार्यक्रमको सभापतित्व गरेका थिए । आकर्षक तथा सुविधाजनक यो स्कूटर म्याक्सी–स्कूटर हो, जसमा १४ इन्च आकारको ट्युबलेस ठूला टायरहरु छन्, सुजुकी बर्गम्यान १२५ मा ७५०० आरपिएममा ८.७ बिएचपिको शक्ति उत्पादन गर्ने क्षमता बोकेको १२५ सिसिको शक्तिशाली इन्जिन जडित छ । स्कूटरको अग्र भागमा डिस्क ब्रेक छ भने ५.६ लिटर क्षमताको प्रेट्रोल अट्ने क्षमता राख्दछ । डिजिटल ड्यासबोर्ड रहेको यो स्कूटरमा एलइडि हेड लाइट, एलइडि टेल ल्याम्प जडान गरिएका छन् । फरक खालको बनावटको कारणले यो स्कुटर अत्यन्त आकर्षक देखिनुका साथै बाक्लो र विस्तारित सिटले यसलाई चलाउँदा छुट्टै प्रकारको अनुभूति महशुस हुन्छ । यो स्कूटर १२५ सिसिका स्कूटरहरुको समूहमा एक बेन्चमार्कको रुपमा स्थापित हुने सिद्धार्थ मोटर्स भैरहवाका अध्यक्ष दिनेशमान अमात्य बताए । हाल यसको नेपालको बजार मूल्य २ लाख २९ हजार ९ सय रुपैयाँ कायम गरिएको छ ।
गाउँपालिका महासंघ प्रदेश ३ को अध्यक्षमा पोखरेल निर्वाचित, समितिमा को-को परे ?
काठमाडौँ । गाउँपालिका राष्ट्रिय महासंघ प्रदेश ३ को सम्मेलन दोलखाको किर्नेटारमा सम्पन्न भएको छ । गाउँपालिका जनप्रतिनिधिको सम्मेलनबाट अध्यक्षमा ईश्वरचन्द्र पोखरेल निर्वाचित भएका छन् । सम्मेलनलले समितिको उपाध्यक्षमा धावा लामा, सचिवमा विनोदराज तिमल्सिनालाई निर्वाचित गरेको छ । लामा रामेछाप सुनापति गाउँपालिकाका अध्यक्ष हुन् भने तिमिल्सिना धादिङ ज्वालामुखी गाउँपालिकाका अध्यक्ष हुन् । सिन्धुपाल्चोक सुनकोसी गाउँपालिकाकी उपाध्यक्ष लक्ष्मी पौडेल सहसचिव र धादिङका ज्वालामुखी गाउँपालिकाकी उपाध्यक्ष जानुका सिम्खडा कोषाध्यक्ष निर्वाचित भएकी छिन् । यसैगरी, सदस्यहरुमा नुवाकोट दुप्चेश्वर गाउँपालिकाका अध्यक्ष योविन्द्रसिंह तामाङ, नुवाकोट ककनी गाउँपालिकाका उपाध्यक्ष सिता खतिवडा लामा, नुवाकोट तारकेश्वर गाउँपालिकाका उपाध्यक्ष तारादेवी रिमाल, सिन्धुली तिनपाटन गाउँपालिकाका अध्यक्ष कर्णवहादुर थापा, रामेछाप गोकुलगंगा गाउँपालिकाका अध्यक्ष खड्गबहादुर सुनुवार, काभ्रेपलाञ्चोक भुम्लु गाउँपालिकाका अध्यक्ष गुमानध्वज कुँवर, ललितपुर महाँकाल गाउँपालिकाका उपाध्यक्ष कमला तामाङ, सिन्धुली फिक्कल गाउँपालिकाका उपाध्यक्ष पार्वती सुनुवार चयन भएका छन् । त्यसैगरी, रसुवा कालिका गाउँपालिकाका उपाध्यक्ष भवानीप्रसाद न्यौपाने, मकवानपुर मनहरी गाउँपालिकाका अध्यक्ष एकराज उप्रेती, रामेछाप उमाकुण्ड गाउँपालिकाका उपाध्यक्ष उर्मिला कार्की, सिन्धुली हरिहरपुरगढी गाउँपालिकाका उपाध्यक्ष अनिताकुमारी राई, धादिङको बेनिघाट गाउँपालिकाका अध्यक्ष हरि दर्लाकोटी र दोलखा तामाकोशी गाउँपालिका १ भिरकोटका अध्यक्ष महेश्वर काफ्ले सदस्य निर्वाचित भएका छन् । निर्वाचित कार्य समितिको कार्यावधि बर्तमान स्थानीय सरकारको अवधिभर हुने जनाइएको छ । सम्मेलनमा प्रदेश ३ का ७४ वटा गाउँपालिकाका अध्यक्ष ,उपाध्यक्ष र गाउँसभा सदस्यहरु गरी २ सय २२ जना प्रतिनिधिहरु सहभागी थिए ।