विकासन्युज

डा.खनाल र शिवाकोटी गभर्नरका बलिया क्याडर, सेबाेनमा ढुंगाना र डा.अधिकारी लाइन मिलाउँदै

काठमाडौं । पछिल्लो समय वित्तीय क्षेत्रका दुई नियामक निकाय नेपाल राष्ट्र बैंक र नेपाल धितोपत्र बोर्ड(सेबाेन)को दुई महत्वपूर्ण पदका लागि बलिया आकांक्षीहरू शक्ति केन्द्र रिझाउने काममा लागिपरेका छन् । कार्तिक १ गतेबाट खाली रहेको सेबाेन अध्यक्ष पदका लागि सरकारले आवेदन माग गरेसँगै उनीहरूले शक्ति केन्द्र धाउने काम गरिरहेका हुन् । सेबाेन अध्यक्षकाम लागि आठ जना आकांक्षीले आवेदन दिइसकेका छन् भने गभर्नर पदका लागि लाइन लागेर बसिरहेका छन् । राष्ट्र बैंकमा गभर्नर र सेबाेनमा अध्यक्षको पद शक्तिशाली र महत्वपूर्ण मानिन्छ । यी दुबै कार्यकारी प्रमुखको पद हो । यद्यपि यी दुबै नियामक निकायमध्ये अझ आकर्षक मानिने राष्ट्र बैंक गभर्नर पदका लागि बलिया दावेदारका रुपमा अर्थ सचिव डा.राजन खनाल र राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणि शिवाकोटी देखिएका छन् । त्यस्तै सेबाेन अध्यक्षमा आवेदन दिएका आठमध्ये राष्ट्र बैंकका पूर्व कार्यकारी निर्देशक भिष्मराज ढुंगाना र सेबाेनका उप-कार्यकारी निर्देशक डा. नवराज अधिकारी बलिया दावेदारका रुपमा देखिएका छन् । बोर्ड अध्यक्षमा अर्का दावेदार बोर्ड कै कार्यकारी निर्देशक निरज गिरी हुन् । उनी डा. रेवतवहादुर कार्की बोर्डका अध्यक्ष हुने बेलामा समेत पछिल्लो प्रतिस्पर्धीका रुपमा रहेका थिए । अर्थ सचिवको हैसियतले हाल राष्ट्र बैंक सञ्चालक समेत रहेका खनाललाई प्रधानमन्त्री केपी शर्मा ओलीको विशेष निगाह छ भने डेपुटी गभर्नर शिवाकोटीलाई राष्ट्र बैंक बुझेका खास पात्रका रुपमा लिइएको छ । डा.खनाललाई प्रम ओलीले राष्ट्र बैंकको गभर्नर बनाउने बचन समेत दिइसकेको कुरा बाहिर आएको छ । अर्का बलिया दावेदार शिवाकोटी प्रम तथा अर्थमन्त्री डा. युवराज खतिवडाको गृह जिल्लाकै हुनुका साथै बैंकिङ क्षेत्र बुझेका बलिया दावेदार मानिदै आएका छन् । डा. खनाल हाल नेपाल सरकारको विशिष्ट श्रेणी(सचिव) मा कार्यरत छन् । आगामी माघ २२ गतेबाट उनले अवकास पाउँदैछन् । वि.सं २०४९ मा सरकारी सेवामा प्रवेश गरेका डा. खनालले ‘नेपालको कर नीति’ मा विद्यावारिधी गरेका छन् । प्रधानमन्त्रीको नजिक मानिने शिवाकोटी आफू लामो समयदेखि यहि क्षेत्रमा कार्यरत भएकोले राष्ट्र बैंक राम्रोसँग बुझेको र यस क्षेत्रमा राम्राे  गर्न सक्ने विश्वासका अघि बढेका छन् । शिवाकोटी २०४४ साल चैत ७ गते राष्ट्र बैंक प्रवेश गरेका हुन् । अहिले उनी राष्ट्र बैंकमा सिनियर डेपुडी गभर्नर भएर कार्य सम्पादन गरिरहेका छन् । राष्ट्र बैंक गभर्नरका लागि अर्का बलिया दावेदारका रुपमा हाल लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारीलाई पनि लिइन्छ । अधिकारी अर्थमन्त्री डा. युवराज खतिवडा र प्रमले समेत रुचाइएका खास पात्र हुन् । खतिवडा गभर्नर हुँदा अधिकारी डेपुटी गभर्नर थिए । खतिवडालाई सफल गभर्नर बनाउन अधिकारीको बलियो हात रहेको बताइन्छ । डेपुटी गभर्नरबाट अवकाश पाएपछि अधिकारीलाई ओली नेतृत्वको सरकारले लगानी बोर्डको सीईओमा नियुक्त गरेको हो । उनी सीईओ बनेपछि सुस्त बनेको लगानी बोर्डले गति लिन थालेको छ । ठूला लगानी भित्र्याउने महत्वपूर्ण पोष्टमा अधिकारी भएकाले उनलाई आउटपुट निस्कने गरी त्यहिको कार्य सम्पादन गर्न लगाउने तयारी सरकारले गरेको बुझिएको छ । उता सेबाेनमा भिष्मराज ढुंगाना सबैभन्दा बलिया देखिएका छन् । उनी राष्ट्रपति विद्यादेवी भण्डारी निकट मानिन्छन् । अहिले उनलाई बोर्ड संचालकमा विज्ञ सदस्यको रुपमा नियुक्त गरिएको छ । धितोपत्र बोर्डको अध्यक्षमा नियुक्त गर्ने प्रयोजनले ढुंगानालार्ई बोर्डमा विज्ञ सदस्यको रुपमा नियुक्त गरिएको हो । ढुंगाना पनि राष्ट्र बैंक गभर्नरमा क्याडर नमिल्ने भएपछि सेबाेन सम्हाल्न तयार देखिएका हुन् । सेबाेन अध्यक्षका अर्का बलिया दावेदार डा.अधिकारी प्रचण्डका नातेदार समेत हुन् । धितोपत्र बजारकै विषयमा विद्यावारिधी गरेका अधिकारीले बामदेव गौतमदेखि बिष्णु पौडेल र महेश बस्नेतसम्म पुगेर आफ्ना लागि अनुकुल वातावरण बनाइदिन आग्रह गरिरहेका छन् । बोर्ड अध्यक्षमा अर्का दावेदार बोर्डकै कार्यकारी निर्देशक निरज गिरी हुन् । उनी पनि बाजी मार्ने दौडधूपमा छन् ।

‘कामचोर’ प्रवृत्ति नदेखाउन कर्मचारीलाई मन्त्री यादवको निर्देशन

काठमाडौं । श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामेश्वरराय यादवले जनअपेक्षा अनुरुप काम गर्न कर्मचारीलाई निर्देशन दिएका छन् । जिल्ला समन्वय समिति सर्लाहीमा बिहीबार साँझ कार्यालय प्रमुखहरुसँगको अन्तरक्रिया कार्यक्रममा उनले कुनै पनि बहानामा ढिलासुस्ती नगर्न तथा कामचोर प्रवृत्ति नदेखाउन निर्देशन दिएका हुन् । “नेपाल सरकारले अहिले कर्मचारी र जनप्रतिनिधिको कामको मूल्याङ्कन गर्दैछ”, उनले भने, “नेपाल सरकारको नीति नियम र कानूनभित्र बसेर स्वतन्त्र, निश्पक्ष र प्रभावकारी सेवा प्रदान गर्न सक्नुपर्दछ ।” मन्त्री यादवले भने, “अहिलेको सरकारलाई जनताले दुई तिहाईको बलियो बहुमत दिएको छ र इच्छा पनि बलियो नै राखेको छ । त्यो इच्छा पूरा गर्नका लागि पनि तपाईहरुको साथ सहयोग जरुरी छ । त्यसैले तपाईहरु जहाँ जुन कार्यालयमा हुनुहुन्छ राम्रोसँग काम गर्नुस् । सरकार सदैव तपाईहरुको साथमा रहनेछ ।” रासस

डोल्पामा हिमपातका कारण वार्षिक परीक्षा स्थगित

डोल्पा । हिमाली जिल्ला डोल्पामा हिमपातका कारण वार्षिक परीक्षा स्थगन भएको छ । यहाँको ठूलीभेरी नगरपालिकाअन्तर्गत पर्ने एउटा आधारभूत र चार वटा माध्यमिक विद्यालयको वार्षिक परीक्षा स्थगन भएको हो । नगरपालिकाभित्र पर्ने लक्ष्मी मावि थरगाउँ, विद्यामन्दिर मावि माझफाल, सरस्वती मावि दुनै, आदर्श मावि जुफाल र शुभकामना आधारभूत विद्यालयको नेपाली विषयको परीक्षा स्थगन भएको हो । बिहानैदेखि लगातार भइरहेको हिमपातका कारण बढेको अत्याधिक चिसोका कारण विद्यार्थी परीक्षामा सामेल हुन सक्ने अवस्था नभएकाले आज हुने नगरपालिकाभित्रका आधारभूत र माध्यमिक तहकोे नेपाली विषयको परीक्षा स्थगन भएको ठूलीभेरी नगरपालिकाले जनाएको छ । नगरपालिकाभित्र पर्ने केही विद्यालयमा हिमपातका कारण परीक्षा नै स्थगन गर्नुपर्ने भएकाले अन्य विद्यालयको परीक्षासमेत स्थगन गरिएको ठूलीभेरी नगरपालिकाका शिक्षा शाखा प्रमुख दिलप्रसाद रोकायले जानकारी दिएका छन् । प्रश्नपत्र एउटै भएकाले पनि अन्य विद्यालयमा परीक्षा सञ्चालन गर्न समस्या भएको बताउँदै मौसममा सुधार आएर हिउँ पग्लेपछि आइतबार नेपाली विषयको परीक्षा हुने उनले जानकारी दिए । भारी हिमपातका कारण बाटोघाटो थुनिएकाले टाढाटाढाका गाउँबाट विद्यार्थी विद्यालयसम्म पुग्ने अवस्थासमेत नरहेको उनले बताए । “विद्यालयमै बाग्लो हिउँ जमेको छ, हिमपात जारी छ, अत्याधिक चिसोका कारण विद्यार्थी विद्यालयसम्म पुग्ने अवस्था छैन, पुगेका विद्यार्थीले पनि लेख्नसक्ने अवस्था छैन”, लक्ष्मी मावि थरगाउँका विज्ञान शिक्षक हरिस जोशीले भने । उनले कुनै पनि हालतमा परीक्षा सञ्चालन गर्न नसकिने कुरा नगर शिक्षा शाखा, जिल्ला समन्वय समिति सबैलाई जानकारी गराएपछि परीक्षा स्थगन भएको बताएका हुन् । भारी हिमपातका कारण नगरपालिकाभित्र रहेका आधारभूत र माध्यामिक विद्यालयका करिब दुई हजार विद्यार्थीले नेपाली विषयको परीक्षा दिन पाएनन् । नगरपालिकामा बिहीबारदेखि मात्र आधारभूत माध्यमिक विद्यालयको वार्षिक परीक्षा शुरु भएको थियो । बिहीबार विद्यार्थीले अङ्ग्रजी विषय दिएका थिए । पुस र माघमा भारी हिमपात हुने भएकाले वार्षिक परीक्षा सम्पन्न गरेर दुई महिनाका लागि सम्पूर्ण विद्यालय बन्द हुने गर्दछन् । रासस

भूकम्प प्रतिरोधात्मक इँटा उद्योग सञ्चालनमा, कम खर्चिलो र दिगो हुने

खोटाङ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेलमा इन्टरलक ब्रिक (भूकम्प प्रतिरोधात्मक इँटा) उद्योग सञ्चालन गरिएको छ । दिक्तेलका गोविन्द बजिमयको एकल लगानीमा साढे पाँच महिनाअघि उक्त इँटा उद्योग सञ्चालन गरिएको हो । जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेलबजारस्थित जिल्ला प्रहरी कार्यालय अगाडि सञ्चालन गरिएको उक्त इँटा उद्योगबाट अहिलेसम्म दश हजार गोटा इँटा बिक्री भइसकेका जनाइएको छ । जिल्लामै पहिलो पटक सञ्चालन गरिएको उद्योगमा उत्पादित इँटाले बजारको माग धान्न हम्मे परेको छ । प्रतिगोटा रु ५७ पर्ने इन्टरलक इँटा बहुउपयोगी हुने भएकाले सबैले प्रयोग गर्न थालेका सञ्चालक बजिमयले बताए । “जिल्लामा भूकम्पपछिको पुनः निर्माणको काम धमाधम भइरहेको छ”, उनले भने, “पाँच कामदार लगाएर उत्पादन गरिए पनि बजारको माग धान्न गाह्रो भएको छ ।” उद्योगमा काम गर्ने कामदारलाई प्रतिव्यक्ति रु दशदेखि बाह्र हजारसम्म तलब दिने गरिएको जनाइएको छ । दुई हाते यन्त्र जडान गरेर शुरु गरिएको उद्योग चार रोपनी जग्गा भाडामा लिएर सञ्चालन गरिएको छ । घर निर्माणमा भूकम्प प्रतिरोधात्मक इँटा प्रयोग गर्दा प्लास्टर गर्नु नपर्ने, काठको आवश्यकता नपर्ने, ज्यामी ज्याला कम पर्ने तथा सिमेन्ट र बालुवा कम खपत हुने सञ्चालक बजिमयले बताए । “सामान्य इँटा प्रयोग गर्दा लाग्ने सिमेन्ट र बालुवाको मात्रामा भूकम्प प्रतिरोधात्मक इँटा प्रयोग गर्दा चार भागको एक भागमात्र लाग्छ”, उनले भने, “कम खर्चिलो र दिगो हुने भएकाले इन्टरलक ब्रिक अर्थात् भूकम्प प्रतिरोधात्मक इँटा सबैको रोजाइमा परेको छ ।” अहिले हाते यन्त्र प्रयोग गरिँदै आएको उद्योगमा केही दिनभित्रै इलेक्ट्रोनिक यन्त्र जडान गर्ने तयारी गरिएको सञ्चालक बजिमयले बताए । “हातले चलाइने यन्त्रबाट अहिले दैनिक ४५० गोटा इँटा उत्पादन हुने गरेका छन्”, उनले भने, “बजारको मागअनुसार उत्पादन दिन नसक्ने भएपछि बजारको मागलाई सम्बोधन गर्न इलेक्ट्रोनिक यन्त्र जडान गर्ने तयारी गरिएको हो ।” सिमेन्ट, बालुवा र चिप्स (सानो आकारको गिट्टी) प्रयोग गरिने भूकम्प प्रतिरोधात्मक इँटा मेशिनबाट झिकेर २४ घण्टासम्म सेटिङ गर्न र २० दिनसम्म क्युरिङ गर्न समय लाग्ने जनाइएको छ । उद्योगमा प्रयोग हुने कच्चापदार्थ (बालुवा र गिट्टी) स्थानीय साप्सुखोलाबाट ल्याउने गरिएको सञ्चालक बजिमयले बताएका छन् । विसं २०७२ वैशाख १२ गतेको भूकम्प र पराकम्पनका कारण घरविहीन बनेका पीडितमध्ये पुनःनिर्माणतर्फका आठ हजार ४६२ र प्रबलीकरणतर्फका ३६१ परिवार गरी कूल आठ हजार ८२३ लाभग्राही रहेका छन् । उनीहरुमध्ये अधिकांशले भूकम्प प्रतिरोधी घर निर्माण गर्न आवश्यक इँटाका लागि उक्त उद्योगमा सम्पर्क गरेका छन् । दश स्थानीय तह रहेको जिल्लामा यसअघि पुनः निर्माणका लागि आवश्यक इँटा राजधानी काठमाडौँ तथा तराईका जिल्लाबाट ल्याउने गरिएको थियो । जिल्लामा यसअघि सञ्चालन गरिएका सामान्य प्रविधि (माटो प्रयोग) गरेर उत्पादन गरिने इँटा गुणस्तरहीन भएको गुनासोपछि बन्द भएका थिए । रासस

प्रभु बैंकको नयाँ शाखा सर्लाहीको बरहथवामा

काठमाडौं । प्रभु बैंकले शाखा सञ्जाल विस्तार गर्ने क्रममा शुक्रबार सर्लाहीको बरहथवामा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । उक्त शाखाको उद्घाटन बरहथवा नगरपालिकाका प्रमुख देवानन्द महतोले गरेका हुन् । उद्घाटन कार्यक्रममा महतोले प्रभु बैंकले आफ्नो बैंकको व्यावसायिक सञ्जाल विस्तार गर्दै बैंकिङ्ग पहुँच नपुगेको ठाउँहरुमा आफ्नो शाखा कार्यालय सञ्चालनमा ल्याएर सर्वसाधारणको घर आँगनसम्म सरल र सहज रुपमा बैंकिङ्ग सेवा विस्तार गरेको बताए । नयाँ शाखासहित बैंकको शाखा संख्या २०० पुगेको छ । छ । यस बरहथवा शाखा कार्यालयबाट यहाँका स्थानीय बासिन्दा, सर्वसाधारणहरु, व्यवसायिक फर्म, कम्पनी तथा संघ संस्थाहरु लाभान्वित हुने र स्थानीय सर्वसाधारणमा बैंकिङ्ग बानीको विकास हुने बैंकले विश्वास लिएको छ ।

कालिन्चोकमा बिहानैदेखि हिउँ

काठमाडौं।  दाेलखाकाे कालिन्चोकमा हिउँ परेको छ। शुक्रबार बिहान ४ बजे देखि हिउँ परेको स्थानिय पर्यटक मानबहादुर श्रेष्ठले बताए।हिउँ परेसँगै कालिन्चोकको तापक्रम चिसो भएको छ। हाल त्यहाँकाे तापक्रम माईनस ३ डिग्री सेल्सियस रहेको जनाइएकाे छ। समुन्द्र सतहदेखि करिब ३ हजार ८ सय मिटर उचाइमा रहेकाे कालिन्चाेकमा वर्षेनी हिउँ पर्ने गरेकाे छ। कालिन्चाेककाे फेदी कुरीमा डिसेम्वरदेखि अप्रिलसम्म हिउँ पर्ने गरेकाे छ । याे  सिजनमा त्यहाँ धर्म गर्न तथा हिउँ खेल्न जानेकाे संख्या बढ्दै गएकाे छ ।  

सोनमले ल्यायो विन्टर सेल अफर, सबै आउटलेटमा ६० प्रतिशतसम्म छुट

काठमाडौं । व्यक्तिगत प्रयोजन तथा ट्रेकिङमा उपयोग हुने सामग्रीको ब्रान्ड सोनमले विन्टर सेल अफर सार्वजनिक गरेको छ । यस योजना अन्तर्गत कम्पनीले आफ्ना विभिन्न उत्पादनमा विशेष छुट दिने घोषणा गरेको हो । यो अफरमा छानिएका वस्तुमा ६० प्रतिशतसम्म छुट पाइने कम्पनीले जनाएको छ । विशेष छुट कम्पनीका सबै आउटलेटमा लागू गरिएको छ । सोनम ब्रान्डमा महिला, बालबालिका र पुरुषका ज्याकेट, ट्राउजर, सर्ट, पाइन्ट, पञ्जा, जिम सेट, स्वेटर, कोट, ट्रेकिङका पोसाक, टेण्ट, ब्याग लगायत उत्पादनहरु रहेका छन् । राजधानी उपत्यकामा ठमेलको क्वाबहाल र जेपी रोड, ललितपुरको जावलाखेल, कमलपोखरीको सिटी सेन्टर, बौद्ध, टुसाल, चाबहिलको के.एल टावर, सुन्धाराको सिभिल मल, ललितपुरको कुमारीपाटी, पोखराको लेकसाइड र न्युरोड तथा चितवनको सि.जी. ल्याण्डमार्क मल, भरतपुरका सोरुममा सोनम गेयरका उत्पादनहरु उपलब्ध छन् ।

अन्तर्राष्ट्रिय बोलपत्रमार्फत रासायनिक मल नेपाल भित्रिँदै, किसानकाे मागअनुसार सजिलै आपूर्ति हुने

वीरगञ्ज । गहुँ खेतीलाई लक्षित गरी कृषि सामग्री कम्पनी लिमिटेड प्रादेशिक कार्यालय वीरगञ्जले तेस्रो मुलुकबाट सुख्खा बन्दरगाहको नाकाबाट हालसम्म ४२ हजार मेट्रिक टन रासायनिक मल ल्याएको छ । अन्तर्राष्ट्रिय बोलपत्रमार्फत सङ्घीय सरकारबाट ठेक्का लिएका चारवटा आयातकर्ताले तेस्रो मुलुकबाट कोलकता बन्दरगाहबाट रेल मार्ग हुँदै पर्साको सिर्सियास्थित सुख्खा बन्दरगाहमा हालसम्म ४२ हजार मेट्रिक टन युरिया र डिएपी मल भित्र्याएपछि पर्सा जिल्लामा गहुँ खेती गर्ने किसानका लागि पर्याप्त मात्रामा सो रासायनिक मल पुग्ने विश्वास प्रदेश प्रबन्धक गोविन्दप्रसाद पराजुलीले बताए सङ्घीय सरकारबाट अन्तरराष्ट्रिय बोलपत्रमार्फत मल आपूर्तिको ठेक्का पाएका सिङ्गापुरस्थित विल्सन इन्टरनेशनल कम्पनी र संयुक्त अरब इमिरेट्सको मल्टी कमोडेटिज कम्पनीले युरिया मलको आपूर्ति गर्ने ठेक्का पाएको छ । साठी हजार मेट्रिक टन युरिया मलको ठेक्का पाएका आपूर्तिकर्ताहरुले हालसम्म २५ हजार मेट्रिक टन मल ढुवानी गरिसकेको छ भने आपूर्तिकर्ताले ४५ हजार मेट्रिक टन डिएपी मल ढुवानी गर्ने सम्झौताअनुसार हालसम्म १७ हजार पाँच सय मेट्रिक टन मल नेपाल भित्रिसकेको छ । अन्तरराष्ट्रिय बोलपत्रमार्फत डिएपी मल आपूर्ति गर्ने ठेक्का पाएका स्विस सिङ्गापुर कम्पनी र भारतको इन्डियन पोटास कम्पनी लिमिटेड कम्पनीले पनि सुख्खा बन्दरगाहमा मल ल्याउने गरेको बताइएको छ । आपूर्तिकर्ताहरुले भारतको कोलकतास्थित बन्दरगाहमा मल ल्याइसकिएको छ भने त्यहाँबाट रेलमार्ग हुँदै वीरगञ्जको सुख्खा बन्दरगाहमा एक महिनाभित्रै सबै मल आइसक्ने सो कार्यालयले जनाएको छ । नेपाल सरकारको पुनः स्वामित्वमा रहेको कृषि सामग्री कम्पनी लिमिटेडले आपूर्तिकर्ता यिल्सन इन्टरनेशनल कम्पनीले ल्याउने ३० हजार मेट्रिक टन युरियामध्ये वीरगञ्जका लागि १२ हजार ५०० मेट्रिक टन, भैरहवाका लागि १० हजार मेट्रिक टन र विराटनगरका लागि सात हजार ५०० मेट्रिक टन रासायनिक मल रहेको छ । यसैगरी, संयुक्त अरब इमिरेट्सको स्विस सिङ्गापुर कम्पनीले ३० हजार मेट्रिक टन युरिया मल ल्याउनेछ । जसमध्ये वीरगञ्जका लागि १२ हजार ५०० मेट्रिक टन, भैरहवाका लागि १२ हजार ५०० मेट्रिक टन र विराटनगरका लागि पाँच हजार मेट्रिक टन मल आइसकेको बताइएको छ । यसैगरी भारतको इन्डियन पोटास लिमिटेडले २० हजार मेट्रिक टन मल ल्याउने ठेक्का पाएकामा वीरगञ्जका लागि सात हजार पाँच सय मेट्रिक टन भैरहवाका लागि सात हजार ५०० मेट्रिक टन र विराटनगरका लागि पाँच हजार मेट्रिक टन मल रहेको छ । मल आयातको ठेक्का पाएका आपूर्तिकर्ताले नेपालभरिका लागि युरिया मल ६० हजार मेट्रिक टन र डिएपी ४५ हजार मेट्रिक टन मल ल्याउने ठेक्का पाएको छ । त्यसमध्ये २५ हजार मेट्रिक टन युरिया र १७ हजार ५०० मेट्रिक टन डिएपी मल वीरगञ्जस्थित क्षेत्रीय कार्यालयमा आउनेछन् । पर्याप्त मात्रामा रासायनिक मल आउने गरेकाले पर्सा जिल्लामा गहुँ खेती गर्ने किसानलाई आफ्ना डिलरमार्फत सयदेखि १२५ बोरासम्म मल उपलब्ध गराउँदै आएको छ । यसैगरी प्राप्त भएको मल कृषि सामग्री कम्पनी लिमिटेडले मागअनुसार प्रदेश नं १, २, र ३ को जिल्लाहरुमा आपूर्ति गर्दै आएका छन् । गहुँ बालीमा युरिया मल छर्ने सिजन शुरु भएको र त्यसका लागि हालसम्म मल पर्याप्त मात्रामा रहेको बताउँदै सो कार्यालयका प्रदेश प्रबन्धक पराजुलीले भने, “सधैँभरि आइरहेको मललाई बिक्री प्रवद्र्धनमा जोड दिएकाले मल गोदाममा थन्किने अवस्था आउनेछैन । गहुँको याम शुरु भएसँगै पर्साका किसानले डिएपी मलको माग बढी गरेकाले आउँदो केही दिनमै मलको माग ठप्प भए पनि मल आउने क्रम भने रोकिनेछैन । रासस