आर्थिक संकटले चरिकोट तनावमा, बैंकिङ र बीमा क्षेत्र उच्च जोखिममा
काठमाडौं । मंसिर २२ गते आईतबार दोलखा उद्योग वाणिज्य संघले चरिकोटस्थित सगरमाथा इन्स्योरेन्स कम्पनीको शाखा कार्यालयमा ताला लगायो । कुनै पनि उद्योग वाणिज्य संघलाई अरु कुनै पनि बीमा कम्पनी, बैंक वा व्यवसायिक प्रतिष्ठानमा ताला लगाउने अधिकार छैन । कुनै पनि उद्योग वा व्यवसायिक प्रतिष्ठानमा अरुले गलत तरिकाले ताला लगाएको ठाउँमा उद्योग वाणिज्य संघले खोलाउन पहलकदमी लिनुपर्नेमा दोलखामा उल्टो भएको नेपाल उद्योग वाणिज्य महासंघको जिल्ला नगर समूह उपाध्यक्ष किशोर प्रधान बताउँछन् । ‘बीमा कम्पनीको शाखा कार्यालयमा ताला गलाउने काम सरासर गलत हो’ उपाध्यक्ष प्रधानले विकासन्युजसँग भने- ‘दोलखामा दुःखत घटना भएको मैले सुनेको छु । यो त गुण्डागर्दी हो ।’ बीमा क्षेत्रमा बीमित र बीमकबीच ठाउँठाउँमा विवाद देखिएको तर ती विवाद समाधान गर्ने विधि, प्रक्रिया, संस्थागत संरचनाहरु भएकोले त्यसैलाई पछ्याउनु पर्ने उनको भनाई छ । दोलखा उद्योग वाणिज्य संघको महासचिव हेमराज रिमाल बीमा कम्पनीको शाखामा ताला लगाउनु रहर नभई बाध्यता भएको बताउन्छन् । ‘बीमा कम्पनीहरु बीमा गराउने बेलामा घरघरमा जान्छन्, बीमा दावी गर्नुपर्दा धेरै थरि कागजपत्र माग गर्छन् । बीमित समस्यामा परेको बेलामा बीमा दावी भुक्तानी गर्न मान्दैन्’ उनले विकासन्युजसँग भने- ‘व्यवसायीबाट धेरै गुनासो आएपछि, हामीले पटक पटक भन्दा बीमा दावी भुक्तानी गर्न कम्पनीले नमानेपछि दवाव दिन संघले आधिकारिक निर्णय गरेर तालाबन्दी गरेका हौं ।’ तालबन्दी गर्ने संघको गलत निर्णय लामो समय टिकेन । जिल्ला प्रशासन कार्यालय दोलखाको हस्तक्षेपपछि मंसिर २४ गते सर्बपक्षीय बैठक बस्यो । बैठकमा बीमा दावी भुक्तानी विवाद विधिसम्मत सेटल गर्ने निर्णय भयो । र, संघ आफैले लगाएको ताला खोलिदियो । यस्तो थियो घटना सगरमाथा इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत चंकी कुँवर क्षेत्रीका अनुसार दावा लामाको निर्माण कम्पनी ला निर्माण सेवाले ‘कन्ट्याक्टर अल रिक्स’ बीमा पोलिसी लिएको छ । बीमा समितिले बीमा शुल्क नतोकेको (नटटेरिफ) क्षेत्र भएकोले यस्तो क्षेत्रमा बीमक र बीमितले मोलमाेलाई गरेर बीमा शुल्क तोकिन्छ र बीमा पोलिसी किनबेच हुन्छ । सडक निर्माण जोखिम बीमा गर्दा निमाण व्यवसायीले १ करोड रुपैयाँसम्मको क्षति हुँदा बीमा दावी नगर्ने सर्तमा बीमा पोलिसी लिएको बीमा कम्पनीको भनाई छ । हाल कम्पनीले २७ लाख रुपैयाँ क्षतिपूर्ति माग गरेको छ । १ करोडसम्मका क्षति दावी नगर्ने विषय प्रष्टरुपमा बीमा पोलिसीमा लेखिएकोले २७ लाखको दावीमा बीमा कम्पनीले भुक्तानी नपर्ने बीमा कम्पनीको तर्क छ । निर्माण कम्पनीले पीच गरेको सडक केही दिनमा नै भत्किएपछि सडक डिभिजन कार्यालयले पुनः पीच गर्न लगाएको थियो । पीच गरेको सडक ठेकदारले अन्तिम किस्ता भुक्तानी लिन नपाउँदै भत्किएपछि सरकारले भुक्तानी रोकेको थियो । अन्तिम किस्ता भुक्तानी रोकिएपछि ला निर्माण सेवाले पुनः पीच गरेको थियो । पुनः पीच गर्दा लागेको २७ लाख रुपैयाँ उसले बीमा बापतको क्षतिपूर्ति मागेको जानकारहरु बताउँछन् । यस विषयमा ला निर्माण सेवा कम्पनीका मालिक दावा शेर्पाले खुलस्त बोल्न चाहेनन् । ‘अहिले एउटा सहमति भईसकेको छ । सहमति भईसकेको कुरामा नबोलौ’ उनले विकासन्युजसँग भने । बीमा कम्पनीबाट आफू मात्र नभई अरु धेरै मानिस पीडित भएको उनले बताए । ‘सगरमाथा इन्स्योरेन्स मात्र होइन, दोलखामा ७/८ वटा बीमा कम्पनी छन् । सबै कम्पनीले बीमितलाई दुःख दिईरहेका रहेछन् । मेरो विषय बाहिर आएपछि पीडितहरु ‘म पनि बीमा पीडित भन्दै’ धेरै जना सम्पर्कमा आएका छन् । हामी पत्रकार सम्मेलन गरेर सबै समस्या सार्वजनिक गर्छौ’ उनले भने । दोलखाका व्यवसायीहरु बीमा कम्पनीहरु प्रति यसरी आक्रोशित हुँदै गर्दा काठमाडौं मुख्यालय रहेका सबै बीमा कम्पनीहरुको ध्यानाकर्षण भएको छ । बीमकहरुको संस्था नेपाल बीमक संघले सगरमाथा इन्स्योरेन्सको शाखा बन्द गरेको, कर्मचारीलाई थर्काउने, धम्क्याउने काम गरेको भन्दै खेद व्यक्त गरेको छ । यस्ता गतिविधिले शाखा विस्तारको कार्यलाई निरन्तर्ता दिन, भएको शाखाबाट नियमित सेवा सञ्चालन गर्न तथा आमजनतालाई अतिआवश्यक बीमा सेवा प्रदान गर्न कठिन हुने संघले जनाएको छ । भूकम्पपछिको बीमा दावीमा पनि बीमा कम्पनीले बीमितलाई सन्तुष्ट बनाउन नसकेको दोलखाबासीको दुःखेसो छ । ‘भूकम्पपछि मात्रै १६ अर्ब रुपैयाँ बराबरको बीमा दावी परेको थियो । बीमा कम्पनीहरुले १४ अर्ब रुपैयाँ भुक्तान गरिसकेका छन्’ बीमा समितिका अध्यक्ष चिरञ्जीवि चापागाई भन्छन्- ‘हरेक वर्ष बीमा कम्पनीहरुले अर्बौ रुपैयाँ दावी भुक्तानी गर्दै आएका छन् । कुनै बीमा कम्पनीले बीमितलाई नियमअनुसार दावी भुक्तानी नगरेको भए पीडित पक्षले बीमा समितिमा उजुरी गर्न सक्छन् । बीमा समितिले जहिले पनि बीमितको पक्षमा काम गर्दै आएको छ ।’ बीमाको बारेमा सर्वसाधारणमा उचित जानकारीको कमी र बीमा करारको अध्ययन नगर्ने बीमितको कमजोरीका कारण पनि धेरै विवाद हुने गरेको उनले बताए । चरिकोट आर्थिक संकटमा पछिल्लो समय दोलखाको सदरमुकाम चरिकोटमा आर्थिक संकट देखिएको छ । संघीयतासँगै चरिकोटमा रहेको डिभिजन कार्यालयहरु रामेछाप र सिन्दुपाल्चोक सारिएका छन् । सडक, सिंचाई, शिक्षा, खानेपानी, महिला, सहकारी डिभिजन कार्यालयहरु अरु जिल्लामा स्थान्तरण भएपछि दोलखा जिल्लाको सदरमुकाममा मानिसहरुको आवतजावत निकै कम भएको छ । त्यस्तै, दोलखाको सबै गाउँपालिकामा सडक जोडिएको, गाडी पुगेका, हरेक गाउँपालिकामा बैंक पुगेकोले व्यवसायिक कारोबार पनि गाउँपालिका तहका बिकेन्द्रित भएको छ । संघीयता आएपछि चरिकोटको आर्थिक कारोबार ७० देखि ८० प्रतिशतले कमी आएको दोलखा उद्योग वाणिज्य संघका महासचिव हेमराज रिमालले बताए । ‘चरिकोटको मुख्य व्यवसाय भनेको होटल र व्यापार हो । पहिला सदरमुकाममा आएर गर्नुपर्ने काम मध्ये धेरै काम गाउँपालिकामै हुन्छन् । मान्छे सदरमुकाम आउन छोडे । होटल पनि सुके, व्यापार पनि सुक्यो’ उनले भने । खाडी चौरदेखि चरिकोटसम्म मोटर बाटो खराब भएकोले पनि चरिकोटको व्यवसायमा धक्का लागेको उनले बताए । चरिकोटमा आर्थिक संकट देखिएकोले बीमा कम्पनी मात्र होइन, बैंकिङ सेवा पनि घाटामा गएको बैंकर्सहरुको भनाई छ । चरिकोटका शाखाबाट प्रवाह भएको कर्जाको सावा व्याज भुक्तानी नियमितता समस्या भएको बैंकर्सको भनाई छ ।
गरिमा विकास बैंकको १६ प्रतिशत बोनस शेयर पारित, चुक्ता पुँजी ३ अर्ब नाघ्यो
काठमाडौं । गरिमा विकास बैंकको प्रस्तावित १६.१५ प्रतिशत बोनस शेयर पारित भएको छ । मंसिर २७ गते सम्पन्न गरिमाको तेह्रौं बार्षिक साधारणसभाले सञ्चालक समितिको उक्त प्रस्तावलाई पारित गरेको हो । साथै, सभाले शेयरमा लाग्ने कर प्रयोजनको लागि ०.८५ प्रतिशत नगद लाभांश पनि पारित गरेको छ । सभाले मर्जर तथा एक्वीजिसन सम्बन्धी सम्पूर्ण कार्य गर्नका लागि सञ्चालक समितिलाई अख्तियारी प्रदान समेत गरेको छ । साथै, उक्त साधारणसभाबाट विकास बैंकको अधिकृत पुँजी बृद्धि गरी ५ अर्ब बनाउने प्रश्ताव समेत पारित भएको इन्स्योरेन्सले जनाएको छ । हाल २ अर्ब ७८ करोड चुक्ता पुँजी रहेको विकास बैंकको १६.१५ प्रतिशत बोनश शेयर वितरण पश्चात चुक्ता पुँजी ३ अर्ब २३ करोड रुपैयाँ पुगेको कम्पनीले जनाएको छ । उक्त सभा शुक्रबार(आज) कास्की जिल्लाको पोखरा महानगरपालिकास्थित होटल पोखरा ग्राण्डमा सम्पन्न भएको थियो । काठमाण्डौंको लाजिम्पाटमा केन्द्रीयकार्यालय रहेको विकास बैंकका हाल देशभर ९० शाखा कार्यालय सञ्चालनमा रहेका छन । विकास बैंकको २०७६ मंसिर २६ गतेसम्म ३६ अर्ब ५० करोड निक्षेप संकलन गरी करिब ३२ अर्ब ५० करोड कर्जा प्रवाह गरेको संस्थाले जनाएको छ ।
सिद्धार्थ बैंकको नयाँ शाखा जनकपुरको रामानन्द चोकमा
काठमाडौं । सिद्धार्थ बैंकले जनकपुरको रामानन्द चोकमा नयाँ शाखाको उद्घाटन गरेको छ । उक्त शाखाको उद्घाटन प्रदेश नं २ का आन्तरिक मामिला तथा कानुन मन्त्री ज्ञानेन्द्र कुमार यादवले गरेका हुन् । बैंकले रामानन्द चोक शाखा गत भाद्र ९ गते देखि नै स्थापना गरी कारोबार गर्दै आएको थियो । सबै क्षेत्र र वर्गसम्म बैंकिङ्ग सेवाको पहुँ पुर्याउने उद्देश्यले बैंकले देशभर १ सय ७५ वटा शाखा (४ एक्स्टेन्सन् काउन्टर सहित), १ सय १ शाखा रहित बैंकिङ्ग सेवा, १ सय ९४ एटिएम र १ हजार ६ सयभन्दा बढी पिओएस मेसिन मार्फत सेवा दिंदै आएको छ ।
सानिमा बैंकद्वारा रक्तदान कार्यक्रमको आयोजना
काठमाडौं । सानिमा बैंकले सामुदायिक सेवा केन्द्रको सहकार्यमा शुक्रबार रक्तदान कार्यक्रमको आयोजना गरेको छ । बैंकको १५औं वार्षिकोत्सवको अवसरमा नक्सालमा आयोजित उक्त कार्यक्रममा स्थानीयबासी, प्रहरी तथा बैंकका कर्मचारीहरुको उल्लेखनीय सहभागिता रहेको थियो । कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत भुवन दाहालले सम्पुर्ण रक्तदाताहरुलाई धन्यवाद व्यक्त गरेका छन् । सानिमा बैंकले स्थापनाकाल देखिनै सामाजिक उत्तरदायित्व अन्र्तगत शैक्षिक छात्रवृत्ति तथा अन्य विभिन्न कार्यक्रमहरु गर्दै आएको छ ।
आरबिबि मर्चेन्ट बैंकिङ्गको चौथो वार्षिक साधारण सभा सम्पन्न, चुक्ता पूँजी २० करोड
काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको पूर्ण स्वामित्वमा संचालित सहायक कम्पनी आरबिबि मर्चेन्ट बैंंकिङ्ग लिमिटेडकोे चौथो वार्षिक साधारण सभा सम्पन्न भएको छ । उक्त सभालसंचालक समितिका अध्यक्ष एवं राष्ट्रिय वाणिज्य बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको हो । सभाले आर्थिक वर्ष २०७५/०७६ को वार्षिक प्रतिवेदन सहित विविध प्रस्तावहरु पारित गरेको छ । साधारण सभामा अध्यक्ष किरण कुमार श्रेष्ठले हाल शहरी क्षेत्रमा मात्र सीमित रहेको मर्चेन्ट बैकिङ्ग सेवालाई मर्चेन्ट बैंकिङ्गको रुपमा विकास गर्ने दीर्घकालिन सोच अनुरुप आफ्नो कार्यक्षेत्र विस्तार गर्दै लैजाने बताएका छन् । साथै, दुरदराजमा रहेका जनताहरुले पनि मर्चेन्ट बैकिङ्ग सेवा लिन सकिने वातावरण बनाउने प्रतिवद्धता गरेका छन् । मर्चेन्ट बैंकिङ्गका प्रमुख कार्यकारी अधिकृत बद्रीप्रसाद प्याकुरेलले हाल २० करोड चुक्तापूँजी रहेको मर्चेन्ट बैंकिङ्गले इस्यु मेनेजमेन्ट, आरटिएस, पोर्टफोलियो मेनेजमेन्ट, अन्डरराइटिङ्ग, डिपोजेटरी पार्टिसिपेन्ट लगायतको सेवा दिई रहेको बताए । सभामा आरविवि मर्चेन्ट बैंंकिङ्गका संचालकहरु कबिराज अधिकारी, केशबप्रसाद लम्साल, सरस्वती अधिकारी, पवन रेग्मी, बैंकका उपकार्यकारी अधिकृतहरु टेकराज जोशी, महेन्द्रप्रसाल अवस्थी, देबेन्द्ररमण खनाल, सिए एकराज सिग्देल लगायतकोे उपस्थिती रहेको थियो ।
जुम्लामा भारी हिमपात, यातायात र हवाई उडान ठप्प
खलङ्गा । जुम्लामा बिहानैदेखि भारी हिमपात भएपछि यहाँको जनजीवन कष्टकर भएको छ । जुम्लाबाट चल्ने लामा तथा छोटो दूरीका यातायात साधन र हवाई मार्ग ठप्प हुँदा तराई जाने यात्रुलाई सास्ती भएको कर्णाली यातायात समितिका अध्यक्ष मीनबहादुर थापाले जनाकारी दिए । मङ्सिर महिनाको अन्तिम साता परेको हिउँले यहाँका किसानले लगाएका गहुँ, जौ र हिउँदे बालीलाई फाइदा हुने तिला गाउँपालिका–१ का किसान सुन्दरी पाण्डे रावतले बताएका छन् । जुम्लामा पानी नपर्दा किसानले लगाएको बालीनालीलाई पानीको समस्याले राम्रोसँग हुर्काउन नसकेका बेला सही समयमा हिउँ परेको छ । हिउँबाट निस्केको पानीले बालिनालीलाई मात्र नभई स्याउका बिरुवालाई पनि राम्रोसँग फाइदा हुने किसान रतिमान बुढाले बताए । हिउँ परेकाले यहाँका अग्ला हिमालमा नचढ्न र सानासाना बालबालिकालाई हिउँमा राखेर नखेल्न प्रशासनले अनुरोध गरेको प्रमुख जिल्ला अधिकारी दुर्गा बञ्जाडेले जनकारी दिए । जुम्लामा बिहानदेखि अहिलेसम्म करिब दुई फिटभन्दा बढी हिउँ परेको जनाइएको छ । हिउँ अझै बाक्लो पर्ने सम्भावना भएकाले आफ्ना बालबालिकालाई घरभित्रै राखेर न्यानो बनाउन सुझाव दिइएको छ । रासस
भ्रमण वर्षलाई लक्षित गर्दै अन्तर्राष्ट्रिय पर्यटन तथा यातायात कार्यशाला सुरु
काठमाडाैं । नेपाल भ्रमण वर्ष २०२० लाई लक्षित गर्दै अन्तर्राष्ट्रिय पर्यटन तथा यातायात कार्यशाला काठमाडौंमा सुरु भएको छ । बेल्ट एण्ड रोड इन्टरनेश्नल ट्रान्सपोर्ट एलाइन्स (ब्रिटा) र नासा फाउन्डेसनको सयुंक्त आयोजना शुक्रबारदेखि कार्यशाला सुरु भएको हो । नेपाल सरकारले घोषणा गरेको नेपाल भ्रमण वर्ष २०२० लाई भव्यरुपमा सफल पार्न सहयोग गर्ने उद्देश्यले कार्यशाला सुरू गरिएकाे बताइएकाे छ । चीनको राजधानी बेइजिङ्गमा हेडक्वार्टर रहेको बीआरआई ट्रान्सपोर्ट एलाइन्स (ब्रिटा)ले नेपालको नासा फाउन्डेसनसँगको सहकार्य गरेको हो । कार्यशाला शनिबार सम्म चल्ने जनाइएकाे छ । उक्त कार्यशालाले नेपाल भ्रमणा वर्षलाई कसरी सफल पार्न सकिन्छ भन्ने विषय र नेपालकाे यातायात क्षेत्रलाई सुरक्षित बनाउनका लागि कार्यशाामा प्रस्तुति रहने कार्यक्रम संयाेजक आशिष गजुरेलले बताए । कार्यक्रममा नेपाल इञ्जिनियर्स एसोसिएसनको सहआयोजना, तुन्दी कन्स्ट्रक्सनसँगको पार्टनरशिप, चिनियाँ हाइवे एण्ड ट्रान्सपोर्ट सोसाइटी तथा नेपाल अटोमोबाइल्स एसोसिएसनको सहकार्य रहेकाे छ । संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयको सहयोग तथा पर्वतीय खेलकुद महासंघ नेपालको समन्वयमा हुने सो कार्यक्रममा पर्यटन क्षेत्रमा लगानीको सम्भावना, ड्राइभ टुरिजम, बीआरआई एण्ड टुरिजम, पर्यटन सेफ्टी तथा क्रस बोर्डर कनेक्टिभिटीजस्ता विषयमा सम्बन्धित विज्ञहरुको १६ वटा पेपर प्रस्तुत गरिने बताइएको छ ।
चितवनकाे भण्डारामा बस पल्टँदा १३ जना घाइते
चितवन । पूर्वी चितवनको भण्डारामा आज बिहान बस अनियन्त्रित भई पल्टँदा १३ जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार वीरगञ्जबाट नारायणगढतर्फ आउँदै गरेको बा३ख ८४९० नंको बस राप्ती नगरपालिका–६ हर्दीमा अनियन्त्रित भई पल्टिएको थियो । कार्यालयका अनुसार बस सडकबाट तल खेतमा झरेको थियो । बसमा २३ जना सवार थिए । अन्य सकुशल रहेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता एकनारायण कोइरालाले जानकारी दिएका छन् । उनका अनुसार घाइतेलाई उद्धार गरी उपचारका लागि भरतपुरतर्फ ल्याइएको छ । घाइतेको विभिन्न अस्पतालमा उपचार भइरहेको छ । दुर्घटना बिहान ११ः१० बजे भएको हो ।