विकासन्युज

हर्न बजाउने ३४ हजार सवारीसाधन कारवाहीमा, १ करोड ७० लाख राजश्व संकलन

काठमाडौँ । ट्राफिक प्रहरीले उपत्यकामा जथाभावी हर्न बजाउने ३४ हजार ३७ सवारीसाधनलाई कारवाही गरेको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले विसं २०७४ वैशाखदेखि हालसम्म उपत्यकामा जथाभावी हर्न बजाउने उक्त सवारीसाधनलाई कारवाही गरेको हो । महाशाखाले उपत्यकाभित्र ध्वनि प्रदुषणको समस्या गम्भीर रूपले बढेर उपत्यकावासीको स्वास्थ्यमा प्रतिकूल असर पर्न थालेपछि विसं २०७४ वैशाख १ देखि हर्न निषेध गरेको हो । महाशाखाका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक वसन्त पन्तले उपत्यकावासीको स्वास्थ्यलाई ध्यानमा राखी खतरनाक घुम्तीमा बाहेक अन्य स्थानमा हर्न पूर्णरूपमा निषेध गरिएको बताए । “उपत्यकामा धेरै सवारीसाधनसँगै हर्न बजाउने सवारीसाधनको सङ्ख्या बढेको छ, त्यसैले महाशाखाले जथाभावी हर्न बजाउने सवारीसाधनलाई कडाइ गरेको छ”, उनले भने । ध्वनि प्रदुषणले श्रवणशक्तिमा ह्रास हुने, रक्तचाप बढ्दै जाने, हृदयघात हुने, पक्षघात हुने, श्वासप्रश्वास प्रणालीमा असर हुने, स्मरणशक्तिमा कमी आउने, अशक्त, बालबालिका, ज्येष्ठ नागरिक र गर्भवती महिलालाई बढी असर हुने गरेपछि सरकारले हर्नमा प्रतिबन्ध लगाएको हो । यस्तै, ट्राफिक प्रहरीले ध्वनिको गुणस्तरसम्बन्धी राष्ट्रिय मापदण्ड २०६९ विपरीत ध्वनि प्रदुषण गर्ने सवारीसाधनलाई आयातमा नै रोक लगाउन वातावरण विभागलाई सिफारिशसमेत गरेको छ । महाशाखाले ध्वनि प्रदुषण गरेवापत एउटा सवारीसाधनबाट ५०० कारवाही स्वरुप लिँदै आएको छ । यसरी कारवाही स्वरुप १ करोड ७० लाख राजश्व संकलन भएको ट्राफिक प्रहरी महाशाखाले जनाएको छ । यातायात व्यवस्था विभागका अनुसार हाल देशभर ३२ लाख सवारीसाधन सञ्चालनमा रहेका छन् भने काठमाडौँ उपत्यकामा मात्र आठ लाख सवारीसाधन सञ्चालनमा रहेका छन् ।

चैतको शुरुवातसँगै सुनको मूल्यमा कमि, एकैदिन ५ सयले घट्यो

काठमाडौं । बिहिबारको तुलना सुन प्रतितोला रु ५ सयले घटेको छ । बिहिबार रु ६० हजार ५ सयमा विक्री भएको सुन शुक्रबार प्रतितोला रु ६० हजारमा कारोबार भईरहेको छ । चैत्र महिनाको शुरुवातसँगै शुक्रबार सुनको मूल्यमा घटेको हो । बिहिवार तेजावी सुन प्रतितोला रु ६० हजार २ सयमा कारोबार भएको सुन शुक्रबार प्रतितोला रु ५९ हजार ७ सयमा कारोबार भईरहको छ । त्यस्तै शुक्रबार चाँदी प्रतितोला १० रुपैयाँ घटेर ७ सय ३५ रुपैयाँमा कारोबार भईरहेको छ ।

अनलाइन फाराम नभरेका १००० जना विद्यार्थीले परीक्षा दिन पाउने, विद्यालयलाई भने कारबाही हुने

काठमाडौं। विद्यालयको लापार्वाहीको कारण परिक्षा दिन नपाउने भएका कक्षा ८ का १००० जना विद्यार्थीहरुले परिक्षा दिन पाउने भएका छन्। काठमाडौं महानगरपालिकालेको परिक्षा समितीको बिहीबार बसेको बैठकले यस्तो निर्णय गरेको हो। विद्यालयले लापरवाही गरेको कारणले विद्यार्थीको भविष्य जोखिममा नपार्ने कामपाकि शिक्षा विभाग प्रमुख निर्मला केसीले बताईन्। केसीले विद्यालयलाई भने कारवाही हुने जानकारी दिईन्। बैठकले विद्यालयलाई स्पस्टीकरण माग्ने र त्यसपछी मात्र विद्यालयमा प्रश्नपत्र पठाउने निर्णय गरेको छ। काठमाडौं महानगरपालिकाले कक्षा ८ को परिक्षा गत बर्ष देखी अनलाईन मार्फत भर्ने नियम बनाएको थियो। तर २० वटा विद्यालय ले त्यसलाई लापारवाही गरेको कारण १००० जना विद्यार्थी परिक्षाबाट बन्चित भएका थिए। कामपा शिक्षा विभागले पटक पटक निर्देशन दिँदा पनि विद्यालयहरुले अटेरी गरेका थिए।

त्रिशुली जलविद्युतकाे आईपीओ चैत ७ देखि; अहिले आवेदन, ‘१ बर्षपछि’ शेयर

काठमाडौं । जनताको जलविद्युत् कार्यक्रम अन्तर्गत चैत ७ गतेदेखि त्रिशुली जलविद्युत कम्पनीको शेयर बिक्री सुरु हुने भएको छ । सरकारले ल्याएको उक्त कार्यक्रम अन्तर्गत छनौट गरिएका १९ जलविद्युत् आयोजनामध्ये पहिलो पटक त्रिशुली जलविद्युत् कम्पनी लिमिटेडले निर्माण गर्न लागेको ३७ मेगावाटको त्रिशुली–३ बी आयोजनाका लागि चैत ७ गतेदेखि कम्पनीले ‘कल इन एड्भान्स’ बापतको प्रतिकित्ता १० रुपैंया उठाउन लागेको हो । उक्त कम्पनीमा लगानीका लागि लगानीकर्ताले कम्तीमा १०० कित्ता शेयरका लागि आवेदन दिनुपर्नेछ भने अधिकतम १०,००० कित्ता शेयरका लागि आवेदन दिन सक्नेछन् । यसो गर्दा उक्त आयोजनामा लगानी गर्न चाहने व्यक्तिले हाल १००० रुपैंयादेखि १ लाख रुपैंयासम्मसम्म आवेदन दिन सक्नेछन् । उक्त शेयर चैत ७ गतेदेखि खुला भई छिटोमा चैत ११ गते र ढिलोमा बैशाख ६ गते बन्द हुने कम्पनीले जनाएको छ । उक्त आयोजनाको निर्माण २०७७ फागुन २९ गते सम्पन्न हुने पछिल्लो अनुमान गरिएको छ । आयोजनाको लगानी फिर्ता अवधि ७.९७ बर्ष र ब्याज छुटसहितको लगानी फिर्ता अवधि ११.७२ बर्ष अनुमान गरिएको छ । हाल कल इन एड्भान्सका रुपमा आवेदन माग गरिएकोमा आयोजनाको निर्माण ७५ प्रतिशत सकिएपछि ९० प्रतिशत रकम आवेदन माग गर्नेछ । त्यसपछि मात्र आवेदकको डिम्याट खातामा शेयर प्राप्त हुनेछ । जसका लागि १ बर्ष भन्दा बढी समय लाग्नेछ ।

दोलखामा सिनो हाइड्रो कम्पनीको बस दुर्घटना, २ जनाको मृत्यु

काठमाडौं । दोलखामा शुक्रबार बिहान बस दुर्घटना भएको छ । लामाबगरस्थित सिनो हाइड्रो कम्पनीको बस दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ । बा ४ ख ४५७३ नम्बरको भाडाको बस पौने ८ बजे बिगु गाउँपालिका १ नयाँबाटोबाट करिब २५ मिटर तल खसेर दुर्घटना भएको हो । दोलखाका प्रहरी नायब उपरीक्षक यज्ञनन्द शाहका अनुसार मृत्यु हुनेमा सुर्खेत चौकुने गाउँपालिका ३ का दिनेश थापा र लमजुङ मर्स्याङ्दी गाउँपालिका ३ का हिराप्रसाद मिजार रहेका छन् । दुर्घटनामा २५ जना घाइते भएका छन् । घाइतेलाई उपचारका लागि सदरमुकाम चरिकोट ल्याइँदै छ– प्रहरी उपरीक्षक शाहले बताए ।

घरेलु उद्योगमा विदेशी लगानी ल्याउने प्रक्रियाबाट सरकारपछि हट्यो

काठमाडौं । लघु घरेलु तथा साना उद्योगमा विदेशी लगानी भित्र्याउने अडानबाट सरकार पछि हटेको छ । सरकारले वैदेशिक लगानी तथा प्रविधि हस्तान्तरण ऐनको विधेयकमा घरेलु उद्योगमा समेत विदेशी लगानी भित्र्याउन सकिने व्यवस्था अघि सारेको थियो । नेपाल उद्योग बाणिज्य महासंघ र नेपाल चेम्बर अफ कमर्श लगायतका निजी क्षेत्रका प्रतिनिधी मुलक संस्थाहरुको व्यापक विरोधपछि सरकार पछि हटेको हो । अर्थमन्त्री डा. युवराज खतिवडाले घरेलु तथा साना उद्योगमा लगानी भित्रिन नदिने स्पष्ट पारेका हुन् । मौलिक प्रकृतिका र आत्मनिर्भरताको बाटोमा रहेका घरेलु उद्योगमा विदेशी लगानी भित्र्याउन लागिएको भन्दै सांसदहरुले प्रश्न गरेपछि मन्त्री खतिवडाले सरकारको धारणा राखेका हुन् । उनले निश्चित सिमा भन्दा साना विदेशी लगानी स्वीकार नगर्ने व्यवस्था ऐनमा प्रस्ताव गरिएकाले घरेलु उद्योगमा विदेशी लगानी आउने सम्भवनै नरहेको स्पष्ट पारेका हुन् । घरेलु प्रकृतिका लाग्ने केहि उद्योगमा विदेशी लगानी आवश्यक देखिएकाले ऐनमा त्यस्तो प्रस्ताव गरिएको उनले स्पष्ट पारे । तर घरेलु उद्योगमा खुद्रे विदेशी लगानी भने नलिने उनले बताए । त्यस्तै, मन्त्री खतिवडाले गाई पालनका लागि पनि विदेशी लगानी नल्याउने जानकारी दिए । यद्यपी मिल्क होलिडेको सामना गरिरहेका किसानलाई विदेशी लगानीमा दुग्ध प्रशोधन केन्द्रमा विदेशी लगानी ल्याएर राहत दिन लागेको उनको भनाई थियो । उनले दुग्ध प्रशोधन केन्द्रमा विदेशी लगानी भित्र्याएर विश्वस्तरिय गुणस्तरका दुग्धजन्य उत्पादन तयार पारेर निर्यात गर्ने दावी पनि गरे । त्यस्तै, कृषिमा पनि विदेशी लगानी भित्र्याएर प्रशोधन र निर्यातको वातावरण तयार पार्न लागेको उनको स्पष्टीकरण छ ।

सामाजिक सुरक्षा कार्यक्रममा जान हिचकिचाए रोजगारदाता

काठमाडौँ । श्रमिक र रोजगारदाता दुवैको भलो हुने भन्दै बहुप्रचारित सामाजिक सुरक्षा कार्यक्रममा समेटिन रोजगारदाता हिचकिचाएका छन् । मुलुकभर ९ लाखभन्दा बढी रोजगारदाता (प्रतिष्ठानस्तरका) रहेकामा कार्यक्रम घोषणा भएको करिब ४ महिना पुग्न लाग्दा २१ सय हाराहारी मात्र सहभागी भएका छन् । सरकार, रोजगारदाता र ट्रेड युनियनबीचको सहमतिमा गत मंसिर ११ मा सामाजिक सुरक्षा कार्यक्रम घोषणा गरिएको थियो । असल श्रम सम्बन्ध बनाउन ल्याइएको कार्यक्रममा रोजगारदाताको सहभागिता निकै न्यून छ । मुलुकभर ९ लाख २२ हजार प्रतिष्ठान छन् । तीमध्ये हालसम्म २१ सय ३० रोजगारदाता मात्र सहभागी भएका छन् । सामाजिक सुरक्षा कोषका कार्यकारी निर्देशक श्यामराज अधिकारीले कार्यक्रमबारे बुझाउनै नसकिएको स्विकार गरे- शुक्रबारको कान्तिपुर दैनिकले समाचार लेखेको छ ।

गण्डकी मेडिकल कलेजमा ठगी प्रकरणः अध्यक्ष अर्यालको रिटमा अन्तरिम आदेश अस्वीकार

कास्की । गण्डकी मेडिकल कलेज (जिएमसी) प्रकरणमा कलेजका अध्यक्ष खुमाप्रसाद अर्याललगायतले उच्च अदालत पोखरामा दर्ता गरेको रिटमा अन्तरिम आदेश जारी गर्न अदालतले अस्वीकार गरेको छ । जिल्ला प्रहरी कार्यालय कास्कीले यही फागुन २३ गते जारी गरेको पक्राउ पुर्जीविरुद्ध अर्यालसहितका छ जनाले वारेसमार्फत उच्च अदालत पोखरामा निषेधाज्ञासमेतको अन्तरिम आदेशको माग गरी रिट दायर गरेका थिए । दुवै पक्षको बहसपछि उच्च अदालतका मुख्य न्यायाधीश कुमार चुडाल र न्यायाधीश रामचन्द्र यादवको इजलासले अन्तरिम आदेश जारी गर्न नपर्ने आदेश गरेको हो । कलेजले तोकिएको भन्दा बढी शुल्क असुलेर ठगी गरेको भन्दै फागुन २१ गते कलेजका अध्यक्षलगायत ११ जनाविरुद्ध विद्यार्थीले जिल्ला प्रहरी कार्यालय कास्कीमा ठगीको उजुरी दर्ता गरेका थिए । सोही उजुरीका आधारमा प्रहरीले कलेजका सञ्चालकहरुलाई पक्राउ पुर्जी जारी गरेको थियो । रिटमा जिल्ला प्रशासन कार्यालय कास्की, जिल्ला प्रहरी कार्यालय, जिल्ला सरकारी वकिल कार्यालय तथा विद्यार्थी अनित सिन्हा, अङ्कित शर्मा र सम्राट पराजुलीलाई विपक्षी बनाइएको थियो । इजलासमा रिट निवेदकका तर्फबाट वरिष्ठ अधिवक्ता शम्भु थापा, रमण श्रेष्ठ तथा अधिवक्ता पूर्ण राजवंशी र दीपक शर्मा पौडेलले बहस गर्नुभएको थियो । विपक्षीका तर्फबाट उच्च सरकारी वकिल कार्यालयका सहन्यायाधिवक्ता नरेन्द्रबहादुर चन्द र उपन्यायाधिवक्ता खेमराज पाठकले बहस गरेका थिए । विद्यार्थीका तर्फबाट वरिष्ठ अधिवक्ता तिलक पराजुली, ओमप्रकाश अर्याल र भगवती पहारीले बहस गरेका थिए । पक्राउ पुर्जी जारी भएपछि प्रहरीले कलेजका पूर्वप्रमुख कार्यकारी अधिकृत सन्तोष खनाल र कर्मचारी लक्ष्मण शर्मालाई पक्राउ गरिसकेको छ । गएको माघ १७ देखि कलेजका विद्यार्थीले चरणबद्ध आन्दोलनमा उत्रेका छन् ।