विकासन्युज

७० मेगावाट क्षमताको विद्युत उत्पादन घटेर ४५ मा झर्यो, अझै घट्ने क्रममै

काठमाडाैं । मर्स्याङ्दी नदीमा पानीको बहाव घट्दैजाँदा मध्य मर्स्याङ्दी जलविद्युत् आयोजनाबाट २५ मेगावाट विद्युत् उत्पादन घटेको छ । बेँसीशहर नगरपालिका-१ दलालमा रहेको जिल्लाको पहिलो ७० मेगावाट क्षमताको सो आयोजनाको उत्पादन ४५ मेगावाटमा झरेको छ । आयोजनामा ३५/३५ मेगावाट क्षमताको दुई वटा टर्वाइन रहेका छन् । आयोजनाका प्रमुख शिवकुमार शाहले भने, “पानी कम भएकाले मङ्सिरको पहिलो साताबाट विद्युत् उत्पादन घट्न थालेको र अझै विद्युत् उत्पादन घट्ने क्रममै रहेको छ । ” सन् २००८ मा २७ अर्ब २० करोड रुपैयाँ लागतमा निर्माण कार्य सम्पन्न भएको थियो । यसैगरीे ५० मेगावाट क्षमताको माथिल्लो मर्स्याङ्दी ‘ए’ जलविद्युत् आयोजनाको विद्युत् उत्पादनसमेत घट्न थालेको आयोजनाले जनाएको छ । मर्स्याङ्दी गाउँपालिकास्थित भुलभुलेमा आयोजनास्थल रहेको सो आयोजना करिव १६ अर्ब रुपैयाँमा निर्माण सम्पन्न भएको थियो । त्यस्तै पाँच मेगावाटको सिउरी, ४.४ मेगावाटको राँधी, तीन मेगावाटको मिदिम करापु र २ मेगावाटको छ्याङ्दी आयोजनाबाट समेत बिजुली उत्पादन कम हुने क्रममा रहेको बताइएको छ । मध्य मर्स्याङ्दी, माथिल्लो मर्स्याङ्दी ‘ए’ र यी आयोजनाको बिजुली राष्ट्रिय प्रसारण लाइनमा जोडिएको छ । रासस

सिंहदरबार-भद्रकाली सडकमा पेटी एवं ड्रेन निर्माण हुँदै, प्रारम्भिक लागत ७० लाख लाग्ने

काठमाडाैं । राष्ट्रिय वाणिज्य बैंक केन्द्रीय कार्यालयबाट भद्रकाली मन्दिर निस्कने सडकमा पेटी एवं ड्रेन निर्माण जारी रहेको छ । मुलुकको प्रशासनिकस्थल सिंहदरबारको प्रदेशद्वारमा अवस्थित सडक खण्ड सडक डिभिजन कार्यालय काठमाडौँले हालै कालोपत्र गरेको थियो । यहाँ रहेका विभिन्न कार्यालयले सहयोग जुटाएर ड्रेन तथा पैदलमार्गका लागि पेटी बनाउने काम अगाडि बढाएका थिए । ड्रेनको व्यवस्था नहुँदा वर्षाद्का समयमा यहाँका कार्यालय जलमग्न हुने गरेका थिए । सवारी र पैदल हिँड्नसमेत समस्या रहि आएको थियो । ड्रेन र पैदलमार्ग निर्माणमा ७० लाख ३१ हजार रूपैयाँ लाग्ने प्रारम्भिक लागत तयार भएको नेपाल टेलिकमकी सहायक सूचना अधिकारी सीता खनालले जानकारी दिए । उनले भद्रकाली प्लाजा क्षेत्रमा रहेका सबै कार्यालयले ती कार्यका लागि सहयोग जुटाउने भनिए पनि नजुटेसम्म आवश्यक बजेट टेलिकमले नै उपलब्ध गराएको बताए । यसअघि यो सडकलाई युनियन नेटवर्क इन्टरनेशनल (युएनआई) मार्ग नामाकरण गरी कालोपत्र, बगैँचा निर्माणका लागि पहल गरिएको थियो । कर्मचारीको अन्तर्राष्ट्रिय सङ्गठन रुपमा रहेको युएनआईले केही बजेट राखी बाँकी काठमाडौं महानगरपालिकाको समेत सहयोगमा ती काम अघि बढाइए पनि विविध कारणले बीचमै अल्झिएको थियो । हाल सडक ६.५ मिटर चौडाइ, एक मिटर पेटी र एक मिटर ढल निर्माण गरिँदैछ । सिंहदरबार भद्रकाली सडक नामाकरण गरिएको यो सडक ४०० मिटर लम्बाइ कालोपत्र गरिएको हो । अन्यत्रै विनियोजन गरिएको बजेटबाट यो सडक निर्माण गरिएको सडक डिभिजन कार्यालय काठमाडौंका प्रमुख कैलाशकुमार श्रेष्ठले बताए । पेटी बनाएपछि इच्छुमती (टुकुचा) माथिको पुल क्षेत्रमा के गर्ने भन्ने समस्या रहेको जनाइएको छ । पुलसमेत जीर्ण भइसकेकाले नयाँ हाल्न सडक डिभिजन कार्यालय काठमाडौँसँग माग गरिएको छ । सडकको तल्लो भागमा पेटी निर्माण गरिए पनि माथिल्लो भागमा युएनआईले बगैँचा बनाउन सक्ने गरी ठाउँ छोडिएको छ । रासस

बजाजको नयाँ शोरुम कैलालीमा, थ्रीएस सर्भिस दिने उद्देश्य

काठमाडौं । नेपालका लागि बजाज मोटरसाइकलको अधिकृत वितरक हंसराज हुलासचन्द एण्ड कम्पनी प्रा.लि.ले अत्तरिया, कैलालीमा नयाँ शोरुम “रुद्र अटोमोटिभस्” को शुभारम्भ गरेको छ । कम्पनीले ग्राहकहरुलाई उच्चस्तरीय सेवा पुर्याउदै सधै अगाडि बढ्ने र बजाजको सेल्स, सर्भिस र स्पेयर्स देशभर उपलब्ध गराउन उद्देश्यले उक्त शोरुम सञ्चालनमा ल्याएको हो । बजाज, नेपालकै सर्वाधिक बिक्री हुने विश्वाशीलो अटोमोबाइल ब्राण्डले ग्राहकहरुलाई खरिद गरेको सामाग्रीमा अधिकतम मूल्य प्रदान गर्न सधै प्रतिबद्ध रहेको छ । नयाँ शोरुमले ग्राहकहरुलाई बाइकको स्पेयर्स पार्टस् तथा एसेसरिज खरिदका लागि सहज बनाउने छ । यसैको माध्यमबाट देशभरका ग्राहकहरुलाई उच्चस्तरीय, विश्वस्त सेवा र अझै आधुनिक सुविधा सुनिश्चित गर्दै बजाजलाई आफ्नो बिक्रीलाई थप सशक्त बनाउन सहयोग पुग्नेछ । नयाँ शोरुम शुभारम्भ गर्दै हंसराज हुलासचन्द एण्ड कम्पनीका जनरल म्यानेजर योगेन गुरुङले भने, “कैलालीमा यो नयाँ शोरुम विस्तारसँगै, हामीले आशा गरेका छौँ कि यसले ग्राहकहरुको जीवन सहज बनाउनुका साथै उनीहरुले बजाज मोटरसाइकलको नयाँ अनुभव बटुल्ने अवसर प्राप्त गर्नेछन् ।” शोरुम उद्घाटनको अवसरमा ग्राहकहरुलाई आकर्षक उपहारको व्यवस्था पनि गरिएको कम्पनीले जनाएको छ ।

पूर्वसांसद ढुंगेलको मृत्‍यु

काठमाडौं। पुर्वसांसद रामेश्वर ढुंगेलको निधन भएको छ । महाराजगञ्जस्थित शिक्षण अस्पतालमा उपचारका क्रममा ढुंगेलको मंगलबार निधन भएको हो। ढुंगेल दोस्रो संविधानसभामा नेपाली कांग्रेस भक्तपुरबाट सांसद रहेका थिए।  

अष्ट्रेलियामा पढेका विद्यार्थीले विश्वको जुनसुकै ठाउँमा गएरपनि काम गर्न सक्छन्: सालिकराम भण्डारी

उच्च शिक्षाको लागि विदेश जाने विद्यार्थीहरुका माझ लोकप्रिय नाम हो द नेक्सट कन्सल्न्टेन्सी । द नेक्सट कन्सल्टेन्सीले विगत १५ वर्षदेखि काठमाडौंसहित देशका प्रमुख शहरहरु बुटवल, चितवनको नारयणघाट, काउसती, पर्सा, पोखरा, बिर्तामोड, धरानमा रहेका शाखा कार्यलय मार्फत शैक्षिक परामर्श सेवा दिदै आएको छ । अष्ट्रेलियाको सिड्नी र पर्थमा सम्पर्क कार्यालय समेत रहेको द नेक्सट कन्सल्न्टेन्सीले अष्ट्रेलिया, न्युजल्याण्ड, क्यानडा र युके अध्ययनको लागि विद्यार्थीलाई परामर्श सेवा दिँदै आएको छ। विद्यार्थीको शैक्षिक योग्यता र आर्थिक स्थिति हेरेर उपयुक्त विश्वविद्यालय, कलेजको सही सूचना दिने, सही दिशानिर्देश गर्ने कार्य गर्दै आएको यस कम्पनीका प्रमुख कार्यकारी निर्देशक सालिकराम भण्डारीसँग सीमापारीको उच्च शिक्षाको विविध आयामबारे विकास न्युजकालागि डोमी शेर्पाले गरेको कुराकानी : नेपाली विद्यार्थी विदेश अध्ययन गर्न जानुको फाईदा के के हुन् ? अंग्रेजी भाषा बोलिने देश जस्तै अष्ट्रेलिया, न्युजल्याण्ड, क्यानडा, युके लगायतको देशमा पढ्दा पश्चिमी देशहरुले कसरी अगाडि बढेका छन्, कसरी विकास गरेका छन् र कस्तो पढाइले त्यो लेभलको विकास गर्न सकिरहेका छन् भन्ने कुरा जान्न र बुझ्न सजिलो हुन्छ । विदेश अध्ययन गर्न जानुको सबैभन्दा ठूलो फाईदा हो । पश्चिमी राष्ट्रहरुले प्रगति गर्नुको मुख्य कारण त्यहाँको शिक्षा हो । त्यसकारण नेपाल तथा गरिब मुलुकमा पढ्ने विद्यार्थीहरु पश्चिमा देशमा पढ्न् विद्यार्थीहरु भन्दा धेरै नै पछाडि हुन्छन् । पश्चिमा देशमा धेरै प्रविधिहरु हुन्छन् जसको सहयोगले विद्यार्थीहरुलाई ज्ञान लिन सजिलो हुन्छ। उनीहरुको व्यावहारिक शिक्षाले भविष्यमा कार्यान्वयन गर्न पनि सजिलो हुन्छ । पढ्नको लागि विदेश जानु भन्दा अगाडि सबैले थाहा पाउनु पर्ने कुरा के के हुन् ? आफ्नो शैक्षिक पृष्ठभूमि, आफ्नो अंग्रेजी भाषा बोल्न र लेख्न सक्ने क्षमता, आफ्नो आर्थिक स्थिति आफैले ख्याल गर्नुपर्छ । कुन विश्वविद्यालय वा कलेजको कुन कोर्स रोज्ने  त्यसमा ध्यान दिनुपर्छ । कोर्ष रोज्दा भविष्यमा आफू नेपालमा आउँदा वा संसारका कुनै ठाउँमा जाँदा सजिलो हुने कोर्ष रोज्नु पर्छ । तपाईको डिग्री यस्तो होस् जसले गएर तपाईलाई भोलि एउटा सबल र सक्षम मानिस बनाओस् । जिन्दगीभर त्यो डिग्रीको कारणले तपाईले पछुताउनु नपरोस् । त्यसैले कहिले पनि आफ्नो कोर्सको छनौट गर्दा सम्झौता गर्नुहुन्न । विदेश अध्ययन गर्न जाने नेपाली विद्यार्थीहरुले सबैभन्दा रुचाएका विषयहरु कुन कुन हुनु ? अष्ट्रेलियाको हकमा पिआरलाई विद्यार्थीहरुले कतिको प्राथमिकता दिईरहेको पाईन्छ ? पहिला भन्दा अहिलेको अवस्थामा नेपाली विद्यार्थीहरु मैले निकै नै फरक पाएको छु । उनीहरुले निकै नै राम्रा राम्रा कोर्सहरु छनौट गर्न थालेका छन् जुन कोर्सहरु नेपाल फर्केर आउन मात्र नभएर विश्वव्यापी रुपमा अवसर प्राप्त गर्न सजिलो छ । जस्तैः आईटी, अकाउन्टिङ, नर्सिङ, हस्पिटालिटी, ईन्जिनियरिङ्ग मात्र नभएर विद्यार्थीहरुले बायोटेक्नोलोजी, सस्टेनेबल डेभलपमेन्ट, ह्युमन रिसोर्स म्यानेजमेन्ट र अन्य विभिन्न प्राविधिक विषयहरु छनोट गर्न थालेका छन् । नेपाली विद्यार्थी मात्र नभएर अन्य गरिब मुलुकबाट गएका जति पनि विद्यार्थीहरु छन्, उनीहरु साईडमा पिआर पनि भईदियो हुन्थियो भन्ने गर्छन् । गएका धेरै विद्यार्थीहरुले पिआर पनि पाएका छन् र धेरै विद्यार्थीहरु देशमै केही गर्नका लागि पनि फर्किएका छन् । तर हामी एउटा परामर्शको रुपमा विद्यार्थीहरुलाई पिआरको लागि प्रोत्साहन गर्दैनौं । त्यो अष्ट्रेलिया गएपछिको कुरा हो । हामीले विद्यार्थीलाई शुद्ध रुपमा पढ्नको लागि नै पठाउँछौं। अष्ट्रेलिया जानको लागि न्युनतम योग्यताहरु के के हुन् ? अष्ट्रेलिया जान विद्यार्थीको आईएल्टिएसको अंक, शैक्षिक योग्यता र ग्याप छ कि छैन र अनुभव छ कि छैन भनेर हेरिन्छ । शैक्षिक योग्यताको कुरा गर्नुपर्दा कम्तिमा पनि ३ सिजिपिए वा ६० प्रतिशत ल्याएको हुनुपर्छ । आईएल्टिएसमा ६.५, प्रत्येक ब्याण्डमा ६ अंक, ग्याप छ भने काम गरेको छ कि छैन भन्ने हेरिन्छ । यति हेरेर प्रत्येक विश्वविद्यालय पिच्छे चाहिने आवश्यक डकुमेन्टमा केही फरक पर्न जान्छन् । कुनैलाई यही डकुमेन्टहरुले पुग्न सक्छ र कुनैलाई थप केही बढी माग्न सक्छन् । अष्ट्रेलिया किन नेपाली विद्यार्थीको लागि एउटा सहि गन्तव्य हो ? अष्ट्रेलिया नेपाली विद्यार्थीको लागि मात्र नभएर हरेक अन्तर्राष्ट्रिय विद्यार्थीको उच्च शिक्षाको लागि एउटा सहि गन्तव्य हो। अष्ट्रेलियामा यस्ता विश्वविद्यालयहरु छन् जुन विश्वव्यापी रुपमा टप १००, टप २०० मा पर्छन् । विद्यार्थीले अष्ट्रेलिया लिएर डिग्री लिईसकेपछि संसारको कुनै पनि ठाउँमा गएर काम पाउन सक्ने, गर्न सक्ने बन्छन् । हाल नेपाली विद्यार्थीहरुले काम नपाएका कुराहरु सुन्नमा आएको छ, खास कुरा के हो ? नेपाली विद्यार्थी वा अन्तराष्ट्रिय विद्यार्थीले अष्ट्रेलियामा हप्ताको २० घण्टा काम गर्न सक्छन् । त्यो भनेको पार्ट टाईम काम हो जुन जाँदा जाँदै सुरुमा नपाईन सक्छ तर बिस्तारै काम नपाईने भन्ने हुँदैन । विद्यार्थीहरु पनि केही सीपहरु जस्तै रेस्टुरेन्ट, होटलका ट्रेनिङ तथा कफी मेकिङका कोर्सहरु सिकेर जाँदा राम्रो हुन्छ । जाने बित्तिकै काम पाइने ठेगान नहुनाले विद्यार्थीहरुले आफ्नो धैर्यता र घरबाट नै आर्थिक तयारी गरेर जाँदा राम्रो हुन्छ। अष्ट्रेलिया एक्लै जानको लागि र डिपेन्डेन्टमा जानको लागि प्रकृयाहरु के के छन्? खर्च कति फरक पर्न जान्छ ? अष्ट्रेलियाका धेरै विश्वविद्यालयहरुले ब्याचलरमा डिपेन्डेन्ट भिषाको लागि अनुमति दिदैन । उनीहरुले एकल भिसाको लागि मात्र प्रोत्साहन गर्छन्। तर केही विश्वविद्यालयहरुले ब्याचलरमा पनि मान्छन् तर सामान्यता मास्टर्स तहको अध्ययनको लागि भने डिपेन्डेन्ट भिसालाई अनुमति दिईएको छ। त्यसैले यो चाँहि विश्वविद्यालयमै भरपर्छ। डिपेन्डेन्टलाई लाग्ने खर्च भनेको एकललाई हेरेर ईन्सुरेन्स डबल गर्नुपर्ने, हवाई खर्च र डिपेन्डेन्टको बसोबास खर्च मात्र बढी लाग्छ। त्यसबाहेक उसलाई केही रकम बढी लाग्दैन।

अजोड इन्स्योरेन्सद्वारा निर्जीवन बीमा अभिकर्ता तालिम सम्पत्र

काठमाडौं । अजोड इन्स्योरेन्स लिमिटेड इटहरी शाखाले आधारभुत निर्जीवन बीमा अभिकर्ता तालिम सम्पन्न गरेको छ । तालिममा अजोड इन्स्योरेन्सका सहायक महाप्रबन्धक अनिल कुमार अर्यालले बीमाको परिचय, बीमा व्यवसायको वर्तमान अवस्था र चुनौतिदेखि यस क्षेत्रको विकास र विस्तारमा बिमा अभिकर्ताले निर्भाह गर्नुपर्ने भुमिका र बिमाका विभिन्न पोर्टफोलियोको बारेमा प्रशिक्षण दिएका थिए । त्यस्तै, अजोड इन्स्योरेन्सका मुख्य प्रबन्धक डोरिन्द्र दाहालले आधारभुत निर्जीवन बीमाको साथै अभिकर्ताको काम कर्तव्य र अधिकार तथा जिम्मेवारीको विषयमा प्रष्ट पारे । तालिममा २४ जना अभिकर्ताहरुको सहभागीता रहेको थियो भने कार्यक्रमको सञ्चालन अजोड इन्स्योरेन्स का प्रदेश नं. १ का प्रमुख केदार बहादुर खत्रीले गरेका थिए । साथै सहजीकरणको कार्य इटहरी शाखाका कर्मचारी तथा केन्द्रिय कार्यालय मानवसंसाधन तथा प्रशासन विभागकी उषा बस्नेतले गरेकी थिइन् ।

सामान्य अंकले बढेको बजारमा २७ करोडको कारोबार

काठमाडौं । साताको तेस्रो दिन मंगलबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक १.२६ अंकले बढेको छ । ०.११ प्रतिशतले बढ्दा नेप्से परिसूचक ११५५.३७ बिन्दुमा पुगेको हो । मंगलबार सेयर बजारमा १६७ कम्पनीले कारोबार गरेका छन् । ८ लाख ४० हजार ६ सय ७७ कित्ता सेयर किनबेच हुँदा २७ करोड ९२ लाख ४४ हजार १ सय ३५ रुपैयाँको कारोबार भएको छ । नेप्सेका ४ सूचक राता छन् भने ८ सूचक हरियो रहेका छन् । बैंक समूह १.५९, होटल समूह १२.७५, वित्तीय समूह ०.२५, उत्पादन मूलक समूह ४.७५ अंकले घटेका छन् । यस्तै, ट्रेडीङ् समूह १५.८४, विकास बैक ५.०३, जलविद्युत समूह ०.२९, निर्जीवन बीमा समूह ३८.७५, अन्य २.२९, माइक्रोफाइनान्स समूह ९.८८, जीवन बीमा समूह ४६.५८ र म्युचुअल फण्ड ०.०२ अंकले बढेकाे छ । नेपाल फाइनान्स लिमिटेडका लगानीकर्ताले ९.६८ प्रतिशतले सबैभन्दा धेरै नाफा आर्जन गरेका छन् । यस्तै, दिव्यशोरी हाइड्रो पावर लिमिटेडका लगानीकर्ताले ६.८९ प्रतिशतले सबैभन्दा धेरै घाटा व्यहोरेका छन् ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाको प्रवक्तामा श्रेष्ठ

काठमाडौं । महानगरीय ट्राफिक प्रहरी महाशाखाले जीवन कुमार श्रेष्ठलाई प्रवक्तामा नियुक्त गरेको छ । महाशाखाले मंगलबार एक विज्ञप्ति जारी गर्दै श्रेष्ठलाई प्रवक्तामा नियुक्त गरेको जनाएको हो । प्रवक्तामा नियुक्त भएसँगै श्रेष्ठले जनसरोकारका काम कारबाहीलाई यथार्थ तथा तथ्यगत रूपमा सञ्चार माध्यमहरूलाई सम्प्रेषण गर्नका लागि आफू प्रतिबद्ध रहेको बताएका छन् ।