महोत्तरीको बर्दिवासमा कामना सेवाकोे ७३औँ शाखा
काठमाडौँ । कामना सेवा विकास बैंक लिमिटेडले महोत्तरी जिल्लाका बर्दिवास नगरपालिकाको वडा नं ०१ मा बिहीबार ७३औँ शाखा कार्यालय स्थापना गरी कारोबार शुरु गरेको छ । बैंकका सञ्चालक भिमप्रसाद तुलाचन तथा प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेतले संयुक्त रुपमा कारोबार शुभारम्भ गरेका थिए । उक्त कार्यक्रममा स्थानीय तहका विशिष्ट व्यक्तिहरुको उपस्थिति रहेको थियो । प्रमुख कार्यकारी अधिकृत बस्नेतले प्रदेश नं. २ मा छ वटा शाखा कार्यालय भएको र थप शाखाहरु पनि शीघ्र सञ्चालनमा आउने बताए ।
सामुदायिक लघुवित्तले चैत २४ गते डाक्यो साधारणसभा, कहिलेदेखि बुक क्लोज ?
काठमाडौं । सामुदायिक लघुवित्त वित्तीय संस्थाले आगामी चैत २४ गते पाँचौं वार्षिक साधारणसभा बोलाएको छ । उक्त सभामा जाने प्रयोजनको लागि संस्थाको आगामी चैत ११ देखि २४ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ । उक्त निर्णय फागुन २९गते सम्पन्न संस्थाको सञ्चालक समितिको बैठकले गरेको हो ।
जनरल इन्स्योरेन्स र गण्डकी बिकास बैंकबीच बैंकास्योरेन्स सम्झौता
काठमाडौँ । जनरल ईन्स्योरेन्स कम्पनी नेपाल लि.(जिआईसि नेपाल) र गण्डकी बिकास बैंक बीच बैंकास्योरेन्स सेवा प्रदान गर्ने सम्वन्धी सम्झौता भएको छ । इन्स्योरेन्स कम्पनी तथा बैङ्क बीच फागुन ३० गते आयोजित एक कार्यक्रमबीच सो सम्वन्धी सहमति पत्रमा हस्ताक्षर भएको हो । बैङ्कका प्रमुख कार्यकारी अधिकृत रेशमबहादुर थापा र इन्स्योरेन्सका महाप्रबन्धक एस्.के.तमोटले सो सम्वन्धी सहमतिपत्रमा हस्ताक्षर गरेका हुन् । सहमतिसंगै बैङ्कका ग्राहकले जनरल ईन्स्योरेन्स कम्पनी नेपाल लि.ले प्रदान गर्ने निर्जीवन बीमा सम्वन्धी सेवा सुविधा बैङ्कका सबै शाखाबाट लिन सक्नेछन ।
नेपाल क्लियरिङ्ग हाउसका सीइओ प्रधानको पदावधि ४ वर्ष थप
काठमाडौँ । नेपाल क्लियरिङ्ग हाउस लिमिटेडको सञ्चालक समितिको १२३ औं बैठकले नीलेशमान सिंह प्रधानको सीइओको पदावधि चार वर्षको लागि थप गरेको छ । २०७५ चैत १ गतेदेखि लागु हुने गरी पदावधि चार वर्ष थप गरिएको हो । प्रधान नेपाल क्लियरिङ्ग हाउसमा चैत्र २०६७ देखि कार्यरत छन् । काठमाडौं विश्व विध्यालयबाट बि.ई. र इण्डियन इन्स्टिट्यूट अफ टेक्नोलोजिबाट एम.बि.ए गरेका प्रधानको बैंकिङ्ग तथा वित्तीय प्रविधि कार्यान्वयनमा १८ वर्ष भन्दा बढीको राष्ट्रिय र अन्तर्राष्ट्रिय अनुभव रहेको छ । नेपाल राष्ट्र बैंक, बैंक वित्तीय संस्थाहरु र स्मार्ट च्वाइस टेक्नोलोजिको संयुक्त लगानीमा स्थापित नेपाल क्लियरिङ्ग हाउसले विभिन्न राष्ट्रिय स्तरका भुक्तानी तथा फछ्र्यौटका प्रणालीहरु स्थापना गर्ने उद्देश्य लिएको छ । कम्पनीको सञ्चालक समितिमा राष्ट्र बैंकबाट एक जना, कमर्सियल बैंकहरुबाट तीनजना, विकास बैंकहरुबाट एक जना, वित्तीय कम्पनीहरुबाट एक जना र स्मार्ट च्वाइस टेक्नोलोजिबाट एक जनाको प्रतिनिधित्व रहेको छ ।
दिव्य लघुवित्तका अध्यक्ष जीवन भट्टराईले राष्ट्र बैंकका कार्यकारी निर्देशक समक्ष सपथ लिए
काठमाडौँ । दिव्य लघुवित्त वित्तीय संस्था लि.को सञ्चालक समितिको अध्यक्षमा जीवन भट्टराई नियुक्त भएका छन् । फागुन ३० गते अध्यक्ष भट्टराईले नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक नारायणप्रसाद पौडेल समक्ष सपथ ग्रहण समेत गरेका छन् । संस्थाको प्रथम बार्षिक साधारण सभा फागुन २५ गते नमोबुद्ध न.पा. २ भकुण्डेवेशी, काभ्रेमा सम्पन्न भएको थियो । कम्पनीका अध्यक्ष जीवन भट्टराईले एक समारोहकाबीच कार्यक्रम उद्घाटन गरेका थिए । सभाले आगामी ४ बर्षको लागि जीवन भट्टराई(प्रतिनिधि-सेञ्चुरी कमर्सियल बैंक लि.), प्रकृतिराज तिमिल्सिना(प्रतिनिधि-कैलाशविकास बैंक लि.), महेशबहादुर बस्नेत र नचोङ गुरुङ गरी ४ जनालाई सञ्चालकको रुपमा निर्विरोध निर्वाचित गरेको थियो । साथै, नयाँ सञ्चालक समितिले भट्टराईलाई समितिको अध्यक्षमा चयन गरेको हो ।
गण्डकी विकास बैंकबाट पनि एशियन लाइफको जीवन बीमा सेवा पाइने
काठमाडौँ । एशियन लाईफ ईन्स्योरेन्स कम्पनी लिमिटेड र गण्डकी विकास बैंक लिमिटेडबीच ‘जीवन बीमा सेवा’ सम्बन्धी संझौतापत्रमा हस्ताक्षर भएको छ । उक्त संझौतापत्रमा एशियन लाईफ ईन्स्योरेन्स कम्पनी लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत राजेशकुमार श्रेष्ठ र गण्डकी विकास बैंक लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत रेशमबहादुर थापाले हस्ताक्षर गरेका छन् । संझौतापछि गण्डकी विकास बैंकको ७७ वटा शाखाहरुबाट समेत एशियन लाईफले प्रचलनमा ल्याएको सावधिक र म्यादी जीवन बीमा योजना गरी २० वटा जीवन बीमा योजनाहरु खरिद गर्न सकिने जनाइएको छ ।
एनएमबि बैंकका संचालक हरिबाबु न्यौपानेले दिए राजीनामा
काठमाडौं । एनएमबि बैंक लिमिटेडका संचालक हरिबाबु न्यौपानेले राजीनामा दिएका छन् । बैंक संचालक समितिको बैठकले फागुन २९ गतेदेखि लागू हुने गरी संचालक न्यौपानेको राजीनामा स्वीकृत गरेको हो । बैंकमा सर्वसाधारण सेयरधनीका तर्फबाट प्रतिनिधित्व गरेका संचालक न्यौपानेले गत फागुन २७ गते एक पत्रमार्फत राजीनामा पेश गरेका थिए ।
तीनदिन देखि सुत्केरी व्यथा : शिशुको हात मात्र बाहिर
हुम्ला। जिल्लाको दक्षिण क्षेत्रमा रहेको सर्केगाड गाउँपालिका वडा नं ८, राहदेवमा तीन दिनदेखि एक महिला सुत्केरी हुन नसक्दा आफन्तले जिल्ला अस्पताल र प्रदेश सरकारलाई उद्धारका लागि आग्रह गरेका छन् । अन्दाजी ३० वर्षीया ढल्ली बुढाले शिशु जन्माउन नसकेको र बुधबार राती शिशुको एउटा हात मात्र निकालिएको छ । महिलाको ज्यानको खतरा रहेकाले हेलिकप्टरको माग गरिएको जिल्ला अस्पतालकी सरिता बोहराले जानकारी दिइन । बुढालाई तीन दिन अगाडिदेखि सुत्केरी व्यथा लागेको भए पनि स्थानीय स्वास्थ्यचौकीले गर्भवती गराउन नसकेकाले उद्धारका लागि प्रदेश सरकारसँग आज बिहान हेलिकप्टरको माग गरिएको बताइएको छ । रासस