विकासन्युज

उपत्यकाका आठ चोकमा ‘ट्राफिक बत्ती’ पुनः सञ्चालन

काठमाडौँ । काठमाडाैं उपत्यकाका विभिन्न आठ चोकमा ‘ट्राफिक बत्ती’ सञ्चालनमा आएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखा र सडक विभागको समन्वयमा लामो समयदेखि बन्द रहेका उपत्यकाका आठ चोकमा ‘ट्राफिक बत्ती’ सञ्चालनमा आएको हो । महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक भीमप्रसाद ढकालले पुतलीसडक, पद्मोदय मोड, सिंहदरबार, पुरानो बानेश्वर, नयाँ बानेश्वर, तीनकुने, गौशाला र ललितपुरको महापालमा ट्राफिक लाइट पुनः सञ्चालनमा ल्याइएको जानकारी दिए । “अबको केही दिनमै मित्रपार्क, कालीमाटी, टङ्केश्वर, परोपकार र पुल्चोकमा ट्राफिक बत्ती सञ्चालनमा ल्याउँछौँ”, उनले भने । प्रधानमन्त्री, गृहमन्त्री र प्रहरी महानिरीक्षकले ट्राफिक व्यवस्थापनमा चासो दिएसँगै १३ वर्षपछि उपत्यकाको चोकमा ट्राफिक बत्ती जडान गरिएको महाशाखाले जनाएको छ । उपत्यकाको ट्राफिक व्यवस्थापन तथा सवारी दुर्घटना न्यूनीकरणमा ट्राफिक बत्ती जडानले सहयोग पुग्ने महाशाखा प्रमुख ढकालको भनाइ छ । नेपालमा पहिलो पटक विसं २०२३ मा सिंहदरबार र राजदरबारको दक्षिणी ढोका, सुनधारा र नयाँ सडकमा ट्राफिक बत्ती जडान गरिएको थियो । त्यसपछि जापान सरकारको सहयोगमा विसं २०५८ मा ट्राफिक बत्ती जडान गरिए पनि पछिल्लो समय बिग्रिएको थियो ।

ग्लोबल आइएमई बैंकको दुई नयाँ एक्सटेन्सन काउण्टर इटहरी र नवलपरासीमा

काठमाडौं । ग्लोबल आइएमई बैंकले यस साता २ नयाँ एक्सटेन्सन काउण्टरहरु सञ्चालनमा ल्याएको छ । बैंकले मंगलबारदेखि इटहरीको खनार र शुक्रबारदेखि नवलपरासीको सरावलमा एक्सटेन्सन काउण्टर सुरु गरेको छ । सेवाग्राहीको बढ्दो चाप र स्थानियबासीको बिस्तारित बैंकिङ्ग सेवाको आवश्कतालाई मध्यनजर गर्दै बैंकले सम्पूर्ण बैंकिङ्ग सेवा प्रदान गर्ने गरी दुवै एक्सटेन्सन काउण्टरहरू सुरु गरेको हो । ग्लोबल आइएमई बैंकले सबै क्षेत्र र वर्गसम्म बैंकिङ्ग सेवाको पहुँच पुर्याउने उद्देश्यले २ सय ६६ शाखा, २ सय ५५ एटिएम, ३६ एक्सटेन्सन काउण्टर राजश्व संकलन काउण्टर र २ सय ४९ शाखा रहित बैंकिङ्ग सेवा, ३ प्रतिनिधि/सम्पर्क कार्यालय मार्फत सेवा दिँदै आइरहेको छ ।

आरक्ष पीडितका समस्याको समाधान खोज्न दुई मन्त्री कञ्चनपुर जाँदै

काठमाडौं । कञ्चनपुरका आरक्ष पीडितका समस्याको समाधान खोज्न दुई मन्त्री कञ्चनपुर जाने भएका छन् । कञ्चनपुर जिल्ला स्थित शुक्लाफाँटा वन्यजन्तु आरक्ष (राष्ट्रिय निकुञ्ज) विस्तारका कारण विस्थापित भएका परिवारलाई उचित व्यवस्थापन गर्ने सम्बन्धमा खानेपानी मन्त्री बिना मगरको पहलमा वन तथा वातावरण मन्त्री शक्ति बस्नेत र भूमि व्यवस्था मन्त्री पद्मा अर्याल शनिबार कन्चनपुर जान लागेका हुन् । खानेपानी मन्त्री मगरले कञ्चनपुरका आरक्ष पीडित जनताको उचित बासस्थानको व्यवस्था गर्ने प्रतिबद्धता जनाए अनुसार उनकै अग्रसरतामा दुई मन्त्री कन्चनपुर जाँदै छन् । यस अघि तीनैजना मन्त्रीहरूले सिंहदरबारमा आरक्ष पीडितहरुको समस्या समाधान गर्न सामूहिक छलफल गरेका थिए । कञ्चनपुरका आरक्ष पीडित सुकुम्बासी जनताको मागलाई छिटो भन्दा छिटो सम्बोधन गर्ने तीनै जना मन्त्रीले यसअघि प्रतिबद्धता व्यक्त गरेका थिए । उक्त क्षेत्रका पीडित जनताका समस्या समाधान गर्न खानेपानी मन्त्री मगरले विशेष अगुवाईको भूमिका खलिरहेकी छन् । यसअघि पनि आरक्ष पीडितहरुले वन तथा वातावरण मन्त्री बस्नेतसँग भेट गरी आफूहरुको मागलाई सम्बोधन गर्न सरकारले उचित व्यवस्थापन गर्नुपर्ने भनी ध्यानाकर्षण गराएका थिए । वन मन्त्री बस्नेतले त्यस क्षेत्रका पीडित जनताको उचित बसोबासका लागि व्यवस्थापन चाँडो गरिने बताए । छलफलमा भूमि व्यवस्था मन्त्री अर्यालले विस्थापित आरक्ष पीडितहरुको मागलाई चाडैं सम्बोधन गरिने र पीडित परिवारलाई उचित क्षतिपूर्ति दिन पहल गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । तत्कालीन सरकारले माओवादी जनयुद्धको बेला संकटकालको समयमा आरक्षलाई विस्तार गर्ने भन्दै त्यस क्षेत्र वरिपरिका जनतालाई अन्यत्र पठाइएको थियोे । त्यो समय देखि घरबार विहीन हुँदै आएका भूमिहीन जनताको व्यवस्थापनमा यस अघिका जन प्रतिनिधि र सरकारले कुनै ठोस पहल गरेका थिएनन् । यस अघिका सरकारहरुले समस्या समाधानका लागि भन्दै विभिन्न आयोग बनाए पनि त्यतिबेलाका आयोगले कुनै समाधानको निकास ननिकालेको पीडित स्थानीयहरुको आरोप छ । २०५८ सालमा शुक्लाफाँटा वन्यजन्तु आरक्षण विस्तारका क्रममा तत्कालीन सरकारले जिल्लाका दश गाविस रौतेली बिचुवा, बेल्डाँडी, रामपुरविलासपुर, लक्ष्मीपुर, पिपलाडी, झलारी, दैजी, सुडा, देखतभुली र कृष्णपुर लगायतका स्थानबाट बस्ती विस्थापित गरेको थियो । विस्थापित भएका परिवारले हालसम्म पनि जग्गा पाउन सकेका छैनन् । संकटकालका बेला विस्थापित भएका परिवारहरू शिविर बनाएर अझैपनि खुला आकाशमुनि जीवन बिताइरहेका छन् । लामो समयदेखि शिविरमा टहरा बनाएर बस्दै आएका विस्थापित परिवारले जग्गा दिएर भएर पनि सरकारले समस्याको समाधान गर्नुपर्ने माग राख्दै आएका छन् । यसैबीच नेपाल भ्रमण वर्ष सुरु भैसकेकाले शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा आन्तरिक तथा बाह्य पर्यटकको संख्या बढाउने उद्देश्यले कञ्चनपुरको बेलडाँडी गाउँपालिकाबाट हुन लागेको जंगल सफारीको दोस्रो प्रवेशद्वारको शिलान्यास शनिबार हुने भएको छ । मन्त्रीहरुले संयुक्त रूपमा प्रवेश द्वारको शिलान्यास गर्ने कार्यक्रम छ । लामो समय देखिको प्रयास पछि खानेपानी मन्त्रीको अग्रसरतामा जंगल सफारीको प्रवेश द्वार शिलान्यास हुन लागेको हो ।अहिले एउटा मात्र प्रवेश द्वारबाट निकुञ्जमा जंगल सफारी हुने गरेको छ । यसैगरी २०५८ सालदेखि बन्द रहेको कञ्चनपुरको महेन्द्रनगरको एयरपोर्टको अवलोकन गर्ने कार्यक्रम समेत रहेको छ ।

सांग्रिला डेभलपमेन्ट बैंकले शेयरधनीको खातामा पठाउन थाल्याे नगद लाभांश

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले नगद लाभांश शेयरधनीहरूको बैंक खातामा जम्मा गर्न शुरू गरेकाे छ । बैंकले हितग्राही खातामा बैंक खाता अद्यावधिक गराएका शेयरधनीहरुको बैंक खातामा पुस २९ गतेदेखि नगद लाभांश जम्मा गर्न थालेको हो । बैंकले पुस २९ गते सम्पन्न १५ औँ वार्षिक साधारण सभाले पारित गरेको ८.९५९३ प्रतिशत नगद लाभांश कर सहित शेयरधनीहरुको बैंक खातामा जम्मा गरेको छ । लाभांश वितरण तथा साधारण सभा प्रयोजनार्थ बैंकले २०७६ पुस १५ गतेदेखि पुस २९ गतेसम्म बुक क्लोज गरेको थियो । यस अनुसार २०७६ पुस १४ गतेसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीहरुलाई लाभांश वितरण गरिएको छ । साथै, हालसम्म लाभांश प्राप्त नगर्ने शेयरधनीहरुलाई आफ्नो शेयर अभौतिकिकरण गराउन तथा आफ्नो हितग्राही खातामा बैंक खाता नं. अध्यावधिक गराउन विकास बैंकले जानकारी गराएकाे छ । बैंकको शेयर रजिष्ट्रार एनआईबिल क्यापिटल लिमिटेड रहेको छ ।

नेपाल इन्जिनियरिङ कलेजद्वारा हाजिरीजवाफ प्रतियोगिता सम्पन्न

काठमाडौं । नेपाल इन्जिनियरिङ कलेज (नेक) ले हाजिरीजवाफ प्रतियोगिता सम्पन्न गरेको छ । शोधक्षेत्रमा उल्लेखनीय क्रियाकलापहरु सम्पन्न गरिसकेका विद्यार्थीको समूह सेन्टर फर एप्लाइड रिसर्च एण्ड रुरल डेभलपमेन्ट (कार्ड) को आयोजनामा कलेजमा जिज्ञासु ३.० हाजिरीजवाफ प्रतियोगिता कार्यक्रम भएको हो । प्रतियोगितामा सम्राट पराजुली, पवन राइन, किशोर पाठकको समूह पहिलो र सुदीप रिजाल, जनक परियार तथा सविना चालिसेको समूह दितीय रहेका थिए । २००८ मा स्थापित कार्डद्वारा टेक्नोलोजिकल हाजिरीजवाफ प्रतियोगिता जिजासु ३.०, एप्लाइड रिसर्च तथा इनोभेसनमा जान तथा शिप विकास गर्नका निम्ति सञ्चालन गरिएको छ । कार्ड परिवारले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय जगतमा इन्जिनियरिङ इनोभेसनमा आफनो प्रतिभा प्रस्तुत गर्न सफल भएको छ । इन्जिनियरिङ  पढाइका साथै समाजमा आइपर्ने चुनौतीहरुलाई इन्जिनियरिङ क्षेत्रबाट सहजीकरा गर्ने उद्देश्यले कार्ड स्थापित गरेको आशुतोषमणि त्रिपाठीले बताए । यही उद्देश्य अनुसार कार्डबाट समाजका लागि विभिन्न कामहरु गर्न सफल भएको अर्का विद्यार्थी सचेत जमरकटेलले उल्लेख गरे । कार्यक्रममा प्रमुख अतिथिका रुपमा कलेजका प्राचार्य प्रा.डा हरिकृष्ण श्रेष्ठ साथै एनवाईसीए युथ नेटवर्क रहेका थिए । कार्यक्रममा विभिन्न इन्जिनियरिङ विधाका प्रतियोगीहरुमाझ इन्जिनियरिङ इनोभेसन क्षेत्रमा मैत्रीपूर्ण वादविवाद भएको थियो ।

माघ ५ गते लक्ष्मी बैंकको डेबिट कार्ड र एटीएम नचल्ने, यस्तो छ कारण

काठमाडौं । लक्ष्मी बैंकको डेबिट कार्ड तथा एटीएम सेवा आगामी आइतबार अर्थात माघ ५ गते नचल्ने भएको छ । बैंकले उक्त सेवालाई नयाँ प्रविधिमा स्थान्तरण गर्नको लागि उक्त एकदिन साे सेवा बन्द गर्न लागेको हो । बैंकको डेबिट कार्ड तथा एटीएम सेवा प्रदान गर्ने ईएफटी स्वीचलाई स्तर वृद्धी गर्ने काम भइरहेको छ । त्यसैले उक्त नयाँ ईएफटी स्वीचमार्फत सेवा शुरु गर्नुपर्ने भएको र सो नयाँ प्रविधिमा स्थान्तरण गर्नका लागि माघ ५ गते एटीएम सेवा बन्द हुन लागेको बैंकले जानकारी दिएको छ । बैंकका अनुसार डेबिट कार्डको सेवा सो दिन दिउँसो २ बजेदेखि करिब ५ घण्टा र बैंकको एटीएम सेवा करिब २४ घण्टासम्म बन्द हुने छ । त्यस्तै, एटीएम सेवा बन्द भएको समयमा ग्राहकले अन्य बैंकको एटीएमबाट पैसा निकाल्न वा कारोबार गर्न सक्ने छन् । साथै, कारोबार गर्दा लागेको सेवा निःशुल्क अर्थात फिर्ता हुने बैंकले जानकारी दिएको छ ।

नागढुंगा-सिस्नेखोला सुरुङमार्ग-१ः तीन वर्षअघि ४ लाख पर्ने जग्गाको मूल्य अहिले २२ लाख

काठमाडौं । सीता ढकालले ३ वर्ष अगाडी चन्द्रागिरी नगरपालिका वडा नं १ मा प्रतिआना ४ लाखमा जग्गा किनेकी थिईन् । अहिले त्यही जग्गाको भाउ बढेर प्रतिआना २२ लाख रुपैयाँ पुगेको छ । आफूले किनेको जग्गाको भाउ यति छोटो समयमा नै धेरै बढेकोमा ढकाल दंग छिन् । नेपाल प्रहरीमा जागिर खाने छोराहरुले जसोतसो गरेर कमाएको पैसाले किनेको जग्गाको मूल्य यति छोटो समयमा नै यति धेरै बढ्दा उनलाई खुसी नलाग्ने कुरा पनि भएन । काभ्रेकी ढकाल विगत १ वर्षदेखि चन्द्रागिरीको टोटीपाखामा नै बस्दै आएकी छन् । पछिल्ला केही वर्षयता सो स्थानमा जग्गाको मात्रै होइन, सटर र कोठाभाडा पनि बढेको सीताको अनुभव छ । यसरी मूल्य बढ्नुको कारण सरकारी परियोजना हो । सरकारले काठमाडौंको नागढुंगा-सिस्नेखोला सुरुङमार्ग बनाउन लागेको छ । यो सुरुङमार्गको जग्गा अधिग्रहणमा सरकारले नै उच्च मूल्य तिरेपछि जग्गाको भाउ आकाशिएको हो । आयोजनाका नापी अधिकृत अन्जनी कुमार जोशीले दिएको जानकारी अनुसार सरकारले सो सुरुङ मार्गमा पर्ने काठमाडौंतिरको जग्गाको मूल्य प्रतिआना न्यूनतम ९ लाख रुपैयाँ र अधिकतम ४२ लाख रुपैयाँसम्म तोकिएको छ । चलनचल्तीको मूल्यभन्दा सरकारले नै निकै बढी मूल्यमा मुआब्जा दिएको कारण जग्गाको मूल्य बढेको स्थानीय बताउँछन् । गत कात्तिकमा प्रधानमन्त्री केपी ओलीले सो सुरुङ मार्गको शिल्यान्यास गरेका थिए । २.६८ किलोमिटर लामो सुरुङ मार्ग काठमाडौंको चन्द्रागिरी नगरपालिका वडा नं. १ मा पर्ने टोटीपाखाबाट सुरु भएर धादिङ्गको धुनिबेशी गाँउपालिकाको सिस्नेखोलामा गएर टुंगिन्छ । तीन वर्ष अगाडी सडकसँग जोडिएको जग्गाको भाउ प्रतिआना ३ देखि ४ लाख रुपैयाँ रहेको चन्द्रागिरी नगरपालिका वडा नं. २ बसन्तटोलका स्थानीय राम थापा बताउँछन् । ‘सुरुङमार्ग बन्ने भनेपछि यहाँ जग्गाको भाउ आकाशिएको छ, मूल्य अझै बढ्ने आशामा कसैले पनि जग्गा बेचेका छैनन्, त्यसैले मूल्य बढेपनि कारोबार भने कम छ,’ थापाले भने । सरकारले सुरुङ निर्माणमा पर्ने जग्गाधनीलाई मुआब्जाको रुपमा पक्की सडकसँग जोडिएको जग्गालाई प्रतिआना २२ लाख, कच्ची सडकलाई छोएको जग्गालाई प्रतिआना १८ लाख, गोरेटोले छोएको जग्गालाई प्रतिआना १२ लाख र सडकले नछोएको जग्गालाई प्रतिआना ९ लाख रुपैयाँका दरले मुआब्जा वितरण गरेको थियो । राजमार्गसँग जोडिएको जग्गा हुनेले भने अझै धरै रकम पाएका छन् । आयोजनाका नापी अधिकृत जोशीका अनुसार राजमार्गसँग जोडिएको जग्गालाई प्रतिआना ४२ लाख रुपैयाँका दरले मुआब्जा दिइएको थियो । प्रतिआना ४२ लाख रुपैयाँका दरले सरकारले ३ कित्ता जग्गा अधिग्रहण गरेको छ । अहिले सुरुङमार्ग निर्माण आसपासको क्षेत्रमा बाटो नाप्ने काम हुँदै गरेको देखिन्थ्यो भने कतै सडक छेउमा धमाधम टहरा निर्माण भइरहेको थियो । यस्तै, भिरालो जमिनमा पनि जग्गाको प्लटिङ भइरहेको देखिन्थ्यो । बसन्तटोलमा होटल संचालन गर्दै आएका दार्चुलाका दल्पति धामीलाई सटर भाडा बढेको चिन्ता छ । ‘सुरुङमार्ग बन्ने भएपछि घरभाँडा धेरै बढेको छ, पहिला ४ हजार रुपैयाँ पर्ने सटरको भाँडा अहिले बढेर ८ हजार रुपैयाँ भएको छ,’ धामीले भने । सुरुङमार्ग बनाउन सुरु भएपछि सो क्षेत्रमा चहलपहल बढेको स्थानीय बताउँछन् । ‘सुरुङमार्ग निर्माण हुने भनेदेखि नै यहाँ बस्तीहरु बढ्न थाले, चहलपहल बढेको छ, भिरालो जमिनमा पनि जग्गा प्लटिङ गरेर घडेरी विक्री गर्न थालिएको छ,’ स्थानीय राधिका केसीले भनिन् । सो सुरुङमार्ग निर्माण हुने जग्गा चन्द्रागिरी नगरपालिकाको वडा नं. १, ३, ५ र १२ भित्र परेको छ । स्थानीय बुद्ध महर्जनले १४ आना जग्गाको गत जेठमा नै १ करोड रुपैयाँ मुआब्जा लिएको बताए । सुरुङमार्ग बनाउनको लागि सरकारले काठमाडौं जिल्लामा करिब २ सय ५० रोपनी जग्गा अधिग्रहण गर्नेछ । सो जग्गा करिब २ सय ५५ जनाको नाममा रहेको आयोजनाले जानकारी दियो । काठमाडौं जिल्लाका अधिकांश जग्गाधनीले जग्गा पाइसकेका छन् । अहिलेसम्म करिब ९५ प्रतिशत जग्गाधनीले मुआब्जा लिइसकेको आयोजनाका प्राेजेक्ट म्यानेजर श्यामप्रसाद खरेलले जानकारी दिए । सरकारले जग्गाधनीलाई ५ अर्ब रुपैयाँ मुआब्जा वितरण गरिसकेको छ । यस्तै, धादिङतर्फको करिब ६० रोपनी जग्गा अधिग्रहण गर्नुपर्नेछ । अहिलेसम्म करिब ७ रोपनी जग्गा अधिग्रहणको काम सकिएको छ भने बाँकी जग्गाको मुआब्जा दिने कार्य सुरु भएको छ । मुआब्जा वितरण र ओयोजना विकासको गतिमा स्थानीयको गुनासो नरहेको चन्द्रागिरी नगरपालिका वडा नं. १ का अध्यक्ष राजेन्द्र केसीले बताए । उक्त सुरुङमार्ग निर्माणका लागि जापान सरकारले ०.०१ प्रतिशत व्याज दरमा ४० वर्षका लागि १६ अर्व ६ करोड रुपैयाँ ऋण उपलब्ध गराएको छ । आयोजना निर्माणको लागि नेपाल सरकारले ५ अर्ब ५३ करोड रुपैयाँ लगानी रहनेछ ।

सौराहा आउँदै गरेको पर्यटक बस दुर्घटना हुँदा ३३ जना घाइते

चितवन । भरतपुर महानगरपालिका–१ रामनगरमा आज बिहान गुडिरहेको ट्रकमा पछाडीबाट आउँदै गरेको पर्यटक बसले ठक्कर दिँँदा ३३ जना घाईते भएका छन् । घाइतेमध्ये २१ जना चिनियाँ पर्यटक रहेका छन् । जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारी अनुसार नारायणगढतर्फ आउँदै गरेको लु२ख ३३०५ नं को ट्रकमा पछाडीबाट आउँदै गरेको बा१प ७८३ नं को पर्यटक बस बिहान ११ः१५ बजे ठक्कर दिएको थियो । ट्रकमा ठोक्किएर बस नजिकैको घरमा ठक्कर खान पुगेको प्रहरीले जनाएको छ । दुर्घटनामा परी पर्यटक बसमा सवार २१ जना चिनियाँसहित ३२ जना र घरमा रहेका एकजना महिला घाइते भएको प्रहरीले जनाएको छ । घाइतेहरुको भरतपुर अस्पताल, चितवन मेडिकल कलेज र पुरानो मेडिकल कलेजमा उपचार भइरहेको छ । घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । पर्यटक सौराहा जान आउँदै गरेको जनाइएको छ ।