विकासन्युज

एनसेल साढे ३१ अर्ब नोक्सानीमा, सरकारलाई पनि अर्बाै‌ कर नाेक्सान

काठमाडौं । दूरसंचार सेवा प्रदायक कम्पनी एनसेल नोक्सानीमा गएको छ । एनसेलले गत आर्थिक वर्ष २०७५/७६ मा ३१ अर्ब ५१ करोड ९४ लाख ३ हजार ३ सय ८२ रुपैयाँ खुद नोक्सानी भएको वित्तीय विवरण कर कार्यालयमा बुझाएको छ । एनसेलको कूल आम्दानी पनि घटेको छ । गत वर्ष एनसेलले ५५ अर्ब २८ करोड ३९ लाख ३३ हजार ९६ रुपैयाँ कूल आम्दानी गरेको छ । अघिल्लो वर्ष  २०७४/७५ एनसेलको कूल आम्दानी ५९ अर्ब ६९ करोड २६ लाख ९१ हजार ९ सय १७ रुपैयाँ थियो । कम्पनीको प्रत्येक्ष खर्च पनि घटेको छ । ठूला करदाता कार्यालय स्रोतका अनुसार गत आर्थिक वर्ष एनसेलले १३ अर्ब ५४ करोड ५१ लाख ८७ हजार ४ सय १७ रुपैयाँ प्रत्येक्ष खर्च गरेको छ । अघिल्लो वर्ष कम्पनीले १३ अर्ब ७६ करोड ४८ लाख ३२ हजार २३ रुपैयाँ प्रत्येक्ष खर्च गरेको थियो । कम्पनीको कर तिर्नुअघिको संचालन नाफा करिब ५ अर्ब रुपैयाँले घटेको छ । गत आर्थिक वर्षमा एनसेलले कर तिर्नुअघि २० अर्ब ३५ करोड ७ लाख ९३ हजार २ सय २१ रुपैयाँ संचालन नाफा गरेको छ । अघिल्लो वर्ष एनसेलको कर तिर्नुअघिको संचालन नाफा २५ अर्ब १९ करोड ६७ लाख ५२ हजार ५ सय ३७ रुपैयाँ थियो । गत वर्ष कर तिरेपछिको एनसेलको नाफा १९ अर्ब ९९ करोड ५२ लाख २१ हजार ९ सय ७६ रुपैयाँ छ । अघिल्लो वर्ष यस्तो नाफा २४ अर्ब ६३ करोड २२ लाख ६६ हजार ४ सय २८ रुपैयाँ थियो । आर्थिक वर्ष २०७५/७६ काे नियमित काराेबारबाट करपछिकाे नाफा नाफा १९ अर्ब ९९ करोड ५२ लाख २१ हजार ९ सय ७६ रुपैयाँ भएपनि पुरानाे कर दाहित्वमा तानिएपछि एनसेल ३१ अर्ब ५१ करोड नाेक्सानमा गएकाे हाे । पुरानाे कर दाहित्वबाफत गत आर्थिक बर्ष ५१ अर्ब रुपैयाँभन्दा बढी आयकर तिर्नु परेका कारण कम्पनी नोक्सानीमा देखिएको हो । कम्पनीले गत आर्थिक वर्ष नेपाल सरकारलाई ५१ अर्ब ५१ करोड ४६ लाख २५ हजार ३ सय ५८ रुपैयाँ कर तिरेको छ । अघिल्लो आर्थिक वर्ष कम्पनी ६ अर्ब ६० करोड ९ लाख ८९ हजार ७ सय ४५ रुपैयाँ कर तिरेको थियो । पुरानाे कर दाहित्व नाफाबाट तिर्ने एनसेलकाे नीतिले सरकारलाई पनि अर्बाै नाेक्सान हुने करका जानकारहरू बताउँछन् ।

कोरोना भाइरसको प्रभाव नेपाली तरकारी बजारमा, सुन झै महँगियाे लसुन

काठमाडौं । पछिल्लो समयमा छिमेकी राष्ट्र चीनमा कोरोना भाइरसको संक्रमण बढेसँगै नेपालको तरकारी बजारमा प्रभाव देखिएको छ । नेपालमा अधिकांश लसुन चीनबाट आयात हुने हुँदा पछिल्लो समय कोरोना भाइरसको संक्रमणमा चीन परेसँगै भएको नाका बन्दले आयात निर्यात नहुँदा नेपाली बजारमा लसुनको मूल्य आकाशिएको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका उपनिर्देशक विनय श्रेष्ठले बताए । माघ १ गते प्रतिकेजी २ सय ८५ मूल्यमा बिक्री भएको लसुन हाल ५ सय ५० देखि ६ सय रुपैयाँमा बजारमा बिक्री भइरहेको छ । समितिका अनुसार हाल प्रतिकेजी ५ सय रुपैयाँ थोक मूल्य बिक्री भएको छ भने बजारमा प्रतिकेजी ६ सय रुपैयाँसम्म कारोबार भइरहेको जानकारी दिएको छ । एक महिनाकाे अवधिमा लसुन प्रतिकेजी ३ सय ३५ रूपैयाँले बढेकाे छ । गत पुस महिनाकाे २० गते प्रतिकेजी २ सय १५ रूपैयाँमा बिक्री भएकाे लसुन हाल प्रतिकेजी ५ सय ५० रूपैयाँमा बिक्री भइरहेकाे  कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले जानकारी दिएकाे छ ।

अमेरिका जान लालायित युवालाई सुझावः ३१ प्रकारका जागिर अत्यन्त जोखिमपूर्ण

काठमाडौं । अधिकांश नेपाली यूवाहरु अमेरिका पलायन हुन लालायित छन् । अमेरिकामा गएर जागिर खाने, डलरमा तलब बुझ्ने अनि त्यहाँको आधुनिक रहनसहनमा रमाउने चाहनाले धेरै यूवापिढीलाई गाँजेको छ । चाहे रेष्टुराँमा भुइँ पुछ्ने काम होस् वा सामान डेलिभरीको जागिर । काम जेसुकै होस्, मात्र अमेरिकी डलरमा पारिश्रमिक बुझ्न पाए पुग्यो । तर तितो सत्य के हो भने नेपाली लगायत अधिकांश आप्रवासीहरुले अमेरिका गएर गर्ने अधिकतम काम जोखिमयुक्त रहेका छन् । अमेरिकी ब्युरो अफ लेबर स्टाटिस्टीकले सन् २०१८ मा कति जना मानिसहरुले जागिर गर्ने क्रममा ज्यान गुमाए भनेर तथ्यांक सार्वजनिक गरेको छ । सो जागिर गर्ने प्रत्येक १ लाख जनामा कति जनाले ज्यान गुमाए भनेर निकालेको सूचनाको आधारमा एजेन्सीहरुले अमेरिकाको सबैभन्दा बढी खतरनाक ३१ वटा जागिरहरुको सूची तयार गरेका छन् । सबैभन्दा बढी जोखिमयुक्त जागिर भनेर यातायत क्षेत्रसँग सम्बन्धित जागिरलाई राखिएको छ । प्रत्येक १ लाख जागिरेमध्ये धेरै फेटालिटी रेट (घाउ, चोट वा गम्भिर दुर्घटनाको दर) को आधारमा सबैभन्दा जोखिमयुक्त ३१ जागिर अथवा कामहरुको प्रकृतिको सूची प्रस्तुत गरिएको छ । जुन काम गर्नुपूर्व जोखिमको बारेमा जानकारी लिन जरुरी छ । (१) लगिङ कामदार मुख्य काम – मेसिनरी प्रविधी तथा हाते औजारको प्रयोगद्धारा रुख काट्ने काम । गम्भिर दुर्घटना दर (प्रति १ लाख जनामा) – ९७.६ जना (२) फिसिङ तथा सोसम्बन्धी कार्य मुख्य काम – जाली, फिसि¨ रड तथा अन्य साधनको प्रयोगद्धारा माछा र अन्य जलचर प्राणीहरुको संकलन । गम्भिर दुर्घटना दर (प्रति १ लाख जनामा) – ७७.४ जना (३) विमान चालक तथा हवाई इञ्जिनियरहरु मुख्य काम – यात्री तथा कार्गोको ओसापसारका लागि तोकिएको रुटअन्तर्गत विमानको संचालन तथा विमान मर्मत । गम्भिर दुर्घटना दर (प्रति १ लाख जनामा) – ५८.९ जना (४) घरको छानासम्बन्धी काम मुख्य काम – आवास तथा अन्य संरचनाहरुमा काठ, जस्ता, फलाम, आल्मुनियम लगायतका सामाग्रीको छाना लगाउने तथा आवश्यक मर्मतसंभार गर्ने । गम्भिर दुर्घटना दर (प्रति १ लाख जनामा) – ५१.५ जना (५) पुर्नप्रयोग हुने बस्तु वा फोहोरको संकलन मुख्य काम – पुर्नप्रयोग हुने फोहोर बस्तुको संकलन तथा नहुने बस्तुहरुको ब्यवस्थापन । गम्भिर दुर्घटना दर (प्रति १ लाख जनामा) – ४४.३ जना (६) सामाग्री वितरक (सेल्स वर्कस्) तथा ट्रक चालक मुख्य काम – बस्तु तथा सामाग्रीहरुको बिक्री तथा वितरणको लागि ट्रक तथा अन्य यातायात साधनको संचालन । गम्भिर दुर्घटना दर (प्रति १ लाख जनामा) – २६.० जना (७) कृषि ब्यवस्थापन मुख्य काम – कृषि फार्म तथा अन्य कृषिजन्य स्थापनाको योजना, निर्देशन, समन्वय तथा ब्यवस्थापन र संचालन । गम्भिर दुर्घटना दर (प्रति १ लाख जनामा) – २४.७ जना (८) संरचनागत फलाम तथा स्टिल कामदार मुख्य काम – फलामे वा स्टिलको प्रयोग गरी बन्ने संरचनामा ती सामाग्रीहरुको जडान, स्थापना तथा मर्मत । गम्भिर दुर्घटना दर (प्रति १ लाख जनामा) – २३.६ जना (९) निर्माण तथा उत्खननका सुपरिवेक्षण मुख्य काम – ठूला निर्माण तथा खानी वा उत्खनन क्षेत्रका कामदारहरुको प्रत्यक्ष सुपरिवेक्षण तथा समन्वय । गम्भिर दुर्घटना दर (प्रति १ लाख जनामा) – २१.० जना (१०) विद्युतीय तार जडान तथा मर्मत मुख्य काम – विद्युतीय गृह, परियोजना तथा वितरण केन्द्रको तारहरुको जडान तथा मर्मतसंभार । गम्भिर दुर्घटना दर (प्रति १ लाख जनामा) – १९.३ जना (११) विविध कृषिजन्य कामदारहरु मुख्य काम – खेती, कृषि तथा अन्य कृषिजन्य व्यवसायमा काम । गम्भिर दुर्घटना दर (प्रति १ लाख जनामा) – १८.० जना (१२) निर्माण सहयोगीहरु मुख्य काम – निर्माण क्षेत्रहरुमा निर्माणमा खटेका कामदारलाई सहायता । गम्भिर दुर्घटना दर (प्रति १ लाख जनामा) – १५.८ जना (१३) पुलिस/सुरक्षाकर्मी मुख्य काम- स्थानीय तथा संघिय कानून तथा अन्य अध्यादेशको कार्यान्वयन गरी मानव जिवन र सम्पत्तिको सुरक्षाका साथसाथै शान्ति तथा सुरक्षा कायम । गम्भिर दुर्घटना दर (प्रति १ लाख जनामा) – १३.७ जना   (१४) निर्माण क्षेत्रका कामदार मुख्य काम – निर्माण क्षेत्रहरुमा शारिरिक श्रममा आधारित कार्यहरु । गम्भिर दुर्घटना दर (प्रति १ लाख जनामा) – १३.० जना   (१५) सामान्य मर्मत तथा संभार कार्य मुख्य काम – मेसिन, मेसिनका हिस्सा तथा अन्य औजारको सीपमा आधारित मर्मत तथा संभार । गम्भिर दुर्घटना दर (प्रति १ लाख जनामा) – १२.५ जना   (१६) खानीको मेसिन अपरेटर मुख्य काम – बालुवा, कोइला, इन्धन तथा धातुका खानीमा सम्बन्धीत बस्तुको उत्खनन गर्नका लागि विभिन्न किसिमका मेसिनको प्रयोग । गम्भिर दुर्घटना दर (प्रति १ लाख जनामा) – ११.० जना (१७) इञ्जिनियर तथा निर्माणसम्बन्धी उपकरण तथा मेसिन अपरेटर मुख्य काम – निर्माण कार्यमा प्रयोग हुने विभिन्न प्रकारका उपकरण तथा मेसिनको संचालन । गम्भिर दुर्घटना दर (प्रति १ लाख जनामा) – १०.६ जना   (१८) बस तथा ट्रकको मेकानिक र डिजेल इञ्जिन विशेषज्ञ मुख्य काम – बस, ट्रक तथा विभिन्न डिजेल इञ्जिनको चेकजाँच, परिक्षण, मर्मत । गम्भिर दुर्घटना दर (प्रति १ लाख जनामा) – ९.५ जना   (१९) इलेक्ट्रिसियन मुख्य काम – तार तथा अन्य विद्युतीय सामाग्रीको जडान, रेखदेख तथा मर्मतसंभार गम्भिर दुर्घटना दर (प्रति १ लाख जनामा) – ८.८ जना   (२०) हिटर, यअर कन्डिसन र फ्रिज लगायतको जडान मुख्य काम – हिटर, यअर कन्डिसन र फ्रिज लगायतको जडान तथा मर्मत संभार । गम्भिर दुर्घटना दर (प्रति १ लाख जनामा) – ८.५ जना (२१) खेलाडी, धावक र एम्पायर मुख्य काम – विभिन्न खेलकुद प्रतियोगीताहरुमा प्रतिस्पर्धा गर्ने, प्रशिक्षण दिने लगायत । गम्भिर दुर्घटना दर (प्रति १ लाख जनामा) – ७.६ जना (२२) औद्योगीक ट्रक र ट्र्याक्टर अपरेटर मुख्य काम – वयर हाउस, गोदाम, फ्याक्ट्रि, निर्माण क्षेत्र लगायत अन्य विभिन्न स्थानमा कच्चा पदार्थको वसारपसार तथा उत्पादित सामानको ढुवानी । गम्भिर दुर्घटना दर (प्रति १ लाख जनामा) – ६.८ जना (२३) ट्याक्सी चालक र ब्यक्तिगत सवारी चालक मुख्य काम – अटोमोबाइल, भ्यान वा ब्यक्तिगत गाडी चलाउने । गम्भिर दुर्घटना दर (प्रति १ लाख जनामा) – ६.७ जना (२४) सिकर्मी–डकर्मी मुख्य काम– काठको झ्यालढोका बनाउने, काठका अन्य सामाग्रीको निर्माण गर्ने, ठड्याउने वा स्थापना गर्ने, आवश्यक मर्मतसंभार गर्ने । गम्भिर दुर्घटना दर (प्रति १ लाख जनामा) – ६.६ जना (२५) आकष्मिक चिकित्सकिय प्रावधिक तथा प्यारामेडिक्स मुख्य काम – थुनिएका, पुरिएका वा संकटमा परेका मानिसहरुको उद्धार गर्ने । आकष्मिक स्वास्थ्य सेवाको आँकलन गर्ने र सेवा प्रदान गर्ने । बिरामी वा घाइतेलाई तत्कालै स्वास्थ्य सुविधा केन्द्रसम्म पुर्याउने । गम्भिर दुर्घटना दर (प्रति १ लाख जनामा) – ६.५ जना (२६) सुरक्षा गार्ड मुख्य काम – चोरी, हिंसा वा नियमको उल्लंघनलाई रोक्न पहरेदारी गर्ने । गम्भिर दुर्घटना दर (प्रति १ लाख जनामा) – ६.४ (२७) वेल्डिङ मुख्य काम – फलामको सामाग्रीहरुलाई काट्ने, जोड्ने, फिटिङको लागि प्वाल पार्ने । गम्भिर दुर्घटना दर (प्रति १ लाख जनामा) – ६.२ जना (२८) गाडीको मर्मत मुख्य काम – सवारीसाधनमा आएको समस्याको पहिचान तथा निराकरण । गाडीहरुको मर्मत गम्भिर दुर्घटना दर (प्रति १ लाख जनामा) – ६.१ जना (२९) हाते श्रम तथ सामाग्रीको ओसारपसार मुख्य काम – भरिया, औजार वा मेसिनविना विभिन्न सामानहरुको बोकेर ओसारपसार गर्ने तथा अन्य सामान्य श्रम गर्ने । गम्भिर दुर्घटना दर (प्रति १ लाख जनामा) – ५.८ जना (३०) प्लम्बिङ मुख्य काम – पाइप लगाउने, पाइप काट्ने वा जोड्ने, पाइप तथा ढलको मर्मत गर्ने । गम्भिर दुर्घटना दर (प्रति १ लाख जनामा) – ५.६ जना (३१) रंगरोगन र मर्मत मुख्य काम –पर्खाल, घर, पुल, भवन तथा अन्य संरचनामा रंग पोत्ने । गम्भिर दुर्घटना दर (प्रति १ लाख जनामा) – ५.३ जना

चामल बोकेको ट्रक खस्यो पुलबाट

चितवन । चामल बोकेको ट्रक नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत दुई नम्बर पुलबाट खोल्सामा खस्दा चालक शेरबहादुर गुरुङ घाइते भएका छन् । भैरहवाबाट चामल लिएर पोखरातर्फ जाँदै गरेको लु १ ख ६३४८ नम्बरको सो ट्रक इच्छाकामना गाउँपालिका– ५ मा आज बिहान दुर्घटना परेको थियो । दुर्घटना परी गम्भीर घाइते भएका चालक गुरुङको पुरानो मेडिकल कलेजमा भरतपुरमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । रासस

नबिल बैंककाे सजिलो एक्सप्रेस कर्जा योजना भैरहवामा सार्वजनिक

काठमाडौं । नबिल बैंकले नबिल सजिलो एक्सप्रेस कर्जा योजना भैरहवामा सार्वजनिक गरेको छ । साना तथा मझौला उद्यमको विकासका निम्ति नबिल बैंक र यूकेएड सक्षम एक्सिज टु फाइनान्सको सहकार्यमा उक्त योजना ल्याएको हो । कर्जासम्बन्धी निर्णय प्रकृयालाई गति दिँदै जोखिममा आधारित मूल्यांकन सहित क्रेडिट स्कोरिङ मोडल कर्जा आंकलन ढाँचाका आधारमा यो योजना आरम्भ गरिएको बैंकले जानकारी दिएको छ । सरल र शीघ्र प्रशोधनसहित अधिकतम साढे १०  प्रतिशतको ब्याजदरमा यो कर्जा उपलब्ध हुनेछ । यस याेजनाअनुसार  क्रेडिट स्कोरिङ विधिको प्रयोग गर्दै कर्जा स्वीकृत गर्ने तथा ब्याजदर तोक्ने नबिल बैंक पहिलो बैंक बन्न पुगेको छ । यसबाट साना तथा मझौला उद्यमका ग्राहकका लागि ७५ लाख रूपैयाँसम्मको कर्जा प्रतिस्पर्धी ब्याजदरमा उपलब्ध गराइनेछ । ऋणीको कर्जा आवेदनमा शीघ्र निर्णय लिँदै आवेदन प्राप्त भएको ३५ घण्टाभित्र स्वीकृति प्रदान गर्ने उद्देश्यले यो योजना ल्याइएको बैंकले जानकारी दिएको छ । नबिल सजिलो एक्सप्रेस कर्जा योजना निःशुल्क कारोबार सूचना, निःशुल्क मासिक विद्युतीय बैकिङ विवरण, व्यवसायको मुख्य मानिसलाई निःशुल्क क्रेडिट कार्ड हस्तान्तरणका साथै ३५ घण्टाभित्र निर्णय दिइसकिने आकर्षक प्याकेजका साथ आएको छ । नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाहले यस क्षेत्रमा नबिल बैंक पहिलो स्थानको बैंकको रूपमा मान्यता पाएको र साना तथा मझौला उद्यम ग्राहक तथा व्यवसायका लागि पनि शीर्ष स्थानमा रहेको बताए । साथै, कर्जा प्रशोधन प्रकृयालाई छिटोछरितो, सहज र सरल बनाउने दिशामा नबिल सजिलो एक्सप्रेस कर्जाजस्ता रचनात्मक योजनाहरू अघि सार्दै साना तथा मझौला उद्यमका ग्राहकको पहिलो रोजाइ बनेको उल्लेख गरेका छन् । उद्यमको कर्जा आवेदन फारमको प्रशोधनका निम्ति अंकन विधि अँगालेबाट नबिलले कर्जा निर्णय प्रकृयामा थप वस्तुनिष्ठता ल्याउन सघाउनेछ । यसबाट अन्ततः नेपालको साना तथा मझौला उद्यम क्षेत्रलाई लाभ मिल्नेछ । नबिल बैंकले आफ्नो देशभर ९३ वटा शाखा कार्यालयहरू, एक सय ४२ एटिएम र १५ सयभन्दा धेरै नबिल रेमिट एजेन्टहरूसहित विभिन्न देशमा रहेका ऐजेन्टको बृहत् सन्जालमार्फत सेवा प्रवाह गरिरहेको छ ।

चितवनमा सिटिहल बनाउन सरकारले दियाे डेढ अर्ब

चितवन । अर्थ मन्त्रालयले रु एक अर्ब ५९ करोड ६७ लाखको स्रोत सुनिश्चित गरिदिएपछि सिटिहलको काम अघि बढेको छ । भरतपुर महानगरपालिका–१० मा जिल्ला समन्वय समितिले उपलब्ध गराएको चार बिघा दुई कट्ठा जग्गामा सिटिहल निर्माण हुँदैछ । भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले यही महिनाभित्रमा हल निर्माणका लागि बोलपत्र आह्वान गरिने र आगामी बैशाख महिनाभित्रमा शिलान्यास गरिने जानकारी दिएकी छन् । सघन शहरी तथा भवन निर्माण आयोजनाले हलको निर्माणको काम अघि बढाउने छ । रु एक अर्बभन्दा माथिको बोलपत्र हुने भएकाले अन्तर्राष्ट्रिय बोलपत्र आह्वान गर्नुपर्ने जनाइएको छ । यसका लागि कम्तीमा ४५ दिनको समय राखेर सूचना जारी गर्नुपर्ने हुन्छ । अर्थ मन्त्रालयले बहुवर्षीय ठेक्का प्रक्रिया अघि बढाइ हल निर्माण गर्न स्रोत सुनिश्चितताको पत्र प्रदान गरेको हो । दुई वर्षभित्रमा काम सम्पन्न हुनेगरी बोलपत्र आह्वान गरिँदै छ । हलमा दुई हजार अट्ने एउटा ठूलो अडिटेरीयम हल, ३०० अट्ने दुईवटा, २०० अट्ने एउटा र १०० अट्ने तीन वटा हल हुने बताइएको छ । उनले सिटिहलमा प्रशासनिक, पुस्तकालय, सूचना प्रविधि, अतिविशिष्ट कक्ष, फुड ल्याण्ड, बगैंचा , २५७ गाडी र ३१७ मोटरसाइकल एवं साइकल अट्ने पार्किङ रहने बताइन्  । हलको नक्साङ्कन र विस्तृत अध्ययन प्रतिवेदन तयार भइसकेको भए पनि बजेटको सुनिश्चितताको अभावमा काम रोकिएको थियो । सघन शहरी तथा भवन निर्माण आयोजना चितवनबाट भर्खरै मात्र सरुवा भएका प्रमुख कुमार घिमिरेका अनुसार हल नेपालकै अत्याधुनिक र ठूलो हुनेछ । काम सम्पन्न गर्न रु २ अर्बभन्दा बढी लाग्ने भए पनि मुख्य कामका लागि पहिलो चरणमा अर्थ मन्त्रालयले रु एक अर्ब ५९ करोड ६७ लाखको सुनिश्चितता पत्र दिएको उनले जानकारी दिए । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल र महानगर प्रमुख रेनु दाहालको काम अघि बढेको जनाइएको छ । रासस

कुमारी बैंकको नाफा ८० करोड, सीडी रेसियो ७८ प्रतिशत माथि

काठमाडौं । कुमारी बैंकले चालु आर्थिक वर्षको ६ महिना अर्थात पुस मसान्तसम्ममा ८० करोड ३० लाख नाफा गरेको छ । गत वर्षको ६ महिनामा बैंकले ६६ करोड ६८ लाख रुपैयाँ नाफा गरेको थियो । बैंकले प्रकाशित गरेको चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरणले यस्तो देखाएको हो । यो अवधिमा बैंकले ८० अर्ब ९२ करोड ५२ लाख रुपैयाँ कर्जा तथा लगानी गरेको छ । गत वर्षको सोही अवधिमा बैंकले ७३ अर्ब १ करोड ७९ लाख रुपैयाँ कर्जा तथा लगानी गरेको थियो । बैंकसँग गत पुस मसान्तसम्म सर्वसाधारणको ८० अर्ब ६७ करोड ५२ लाख रुपैयाँ निक्षेप छ । गत वर्षको सोही अवधिमा ७३ अर्ब २० करोड ११ लाख रुपैयाँ निक्षेप थियो । कुमारीको निक्षेप र कर्जा करिब बराबर नै बढेको छ । कुमारीले ५ अर्ब २० करोड २१ लाख रुपैयाँ व्याज आम्दानी गरेको छ भने ३ अर्ब ३७ करोड ९१ लाख रुपैयाँ व्याज खर्च गरेको छ । बैंकको खुद व्याज आम्दानी १ अर्ब ८२ करोड २९ लाख रुपैयाँ छ । गत वर्ष कुमारीको खुद व्याज आम्दानी १ अर्ब ५१ करोड ७१ लाख रुपैयाँ थियो । बैंकको खराब कर्जा अनुपात १.०४ प्रतिशत छ । गत वर्षको पुस मसान्तमा यस्तो अनुपात १.२२ प्रतिशत थियो । यस्तै, कष्ट अफ फण्ड ७.५० प्रतिशत छ । गत वर्ष ८.१२ प्रतिशत थियो । कर्जा निक्षेप अनुपात (सीडी रेसियो) गत वर्ष ७८.०७ प्रतिशत थियो, यो वर्ष ७८.६१ प्रतिशत छ ।

६ महिनामा माछापुच्छ्रे बैंकको नाफा ८३ करोड रुपैयाँ

काठमाडौं । माछापुच्छ्रे बैंकले पुस मसान्तसम्ममा ८२ करोड ९१ लाख रुपैयाँ नाफा गरेको छ । उक्त नाफा अघिल्लो वर्षको सोही अवधिको तुलनामामा करिब ४ करोड रुपैयाँ बढी हो । गत वर्षको पुस मसान्तसम्ममा बैंकको नाफा ७८ करोड १३ लाख रुपैयाँ थियो । बैंकले पुस मसान्तसम्ममा निक्षेप ९७ अर्ब ५२ करोड रुपैयाँ संकलन गरेको छ । अघिल्लो वर्षको पुस मसान्तमा निक्षेप ८५ अर्ब १९ करोड रहेको थियो । एक वर्षमा बैंकको निक्षेप १४.४७ प्रतिशतले वृद्धि भएको छ । यस्तै बैंकले पुस मसान्तसम्ममा ८७ अर्ब ५४ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ । अघिल्लो वर्ष कर्जा ७५ अर्ब ९ करोड रहेको थियो । ०.४५ प्रतिशत एनपीएल रहेको बैंकको कर्जा निक्षेप अनुपात ७८.७२ प्रतिशत रहेको छ । पुँजी पर्याप्तता अनुपात १३.४८ प्रतिशत छ । बेसरेट १०.२६ प्रतिशत रहेको छ । अघिल्लो वर्ष १०.९९ प्रतिशत थियो । बैंकको ५.२४ प्रतिशत स्प्रेडदर रहेको छ । ८ अर्ब ४५ करोड चुक्ता पूँजी रहेको माछापुच्छ्रे बैंकको रिजर्बमा २ अर्ब रुपैयाँ रहेको छ । प्रति सेयर आम्दानी १९.३७ रुपैयाँ रहेको छ । समग्रमा बैंकका परिसूचक राम्रो छ भने विजनेशको नाफा वृद्धिदर पनि राम्रो छ । राष्ट्र बैंकको निर्देशन स्प्रेडदर ४.५ प्रतिशतमा झार्नु पर्ने दवाव बैंकलाई छ भने नाफाको वृद्धिदर उच्च बनाउन बैंकका लागि थप मिहेनत गर्नु पर्ने देखिन्छ ।