विकासन्युज

नेपाल बंगलादेश बैंकले सिआईएल काठमाडौंलाई दियो १० वटा व्हील चियर

काठमाडौं । नेपाल बंगलादेश बैंकले सिआईएल काठमाडौंलाई १० वटा व्हील चियरहरु हस्तान्तरण गरेको छ । बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत माघ २० गते उक्त व्हील चियरहरु सिआईएल काठमाडौंद्धारा १० जना अपाङ्गता भएका व्यक्तिहरुलाई हस्तान्तरण गरेको हो । बैंकले बालाजु औद्योगिक क्षेत्र स्थित रहेको इन्फिनिटी ल्याब्समा बनिएको व्हील चियरहरु हस्तान्तरण गरेको हो । बालाजु स्कुल अफ ईन्जिनियरिङ्ग एण्ड टेक्नोलोजीका विद्यार्थीहरुद्धारा सिआईएल काठमाडौंको सहायतामा बनेका यी व्हील चियरहरु पहिलो पटक नेपालमै निर्माण गरिएको हो । यस्ता व्हील चियरहरु नेपालमै उत्पादन गर्दा विदेशी मुलुकहरु प्रति भर नपरी कम मूल्यमै उपलब्ध गराउन सकिन्छ । बैंकका नायब प्रमुख कार्यकारी अधिकृत सुरेन्द्र भूषण श्रेष्ठले सिआईएल काठमाडौंका महासचिव गणेश के. सी.को उपस्थितीमा धादिङ, पोखरा, काठमाडौं, बर्दिया, धनुषा, धनकुटा र सिन्धुलीका अपाङ्गता भएका व्यक्तिहरुलाई सो व्हील चियरहरु प्रदान गरेका हुन् । कार्यक्रमलाई सम्बोधन गर्दै बैंकका नायब प्रमुख कार्यकारी अधिकृत श्रेष्ठले अपाङ्ग व्यक्तिहरुलाई व्हील चियर हिड्नु सरह नै हो र यसले उनीहरुको दैनिक जीवनको गतिशीलतामा सहज पुर्याउने विश्वास दिलाएका हुन् । साथै, नेपाली भई नेपालमै बनेका सामानलाई प्राथमिकता दिँदा देशको आर्थिक वृद्धि र देशलाई आत्मनिर्भर बनाउने उनले बताए ।

ग्लोबल आइएमई बैंकको नयाँ शाखा भक्तपुरको कमलविनायकमा, संख्या २७० नाघ्यो

काठमाडौं । ग्लोबल आइएमई बैंकले भक्तपुरको कमल विनायकमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । बैंकले सोमबारदेखि भक्तपुर जिल्ला भक्तपुर नगरपालिका-१०, कमल विनायकमा आफ्नो शाखा सञ्चालनमा ल्याएको हो । नयाँ शाखा सञ्चालनमा आएसँगै बैंकको शाखा कार्यालयको संख्या २७० पुगेको छ । ग्लोबल आइएमई बैंकले सबै क्षेत्र र वर्गसम्म बैंकिङ्ग सेवाको पहुँच पुर्याउने उद्देश्यले विभिन्न स्थानमा शाखा, एक्सटेन्सन काउण्टर तथा शाखारहित बैंकिङ्ग सेवामार्फत आफ्ना ग्राहकहरु माझ सेवा प्रदान गर्दै आइरहेको छ । बैंकले २७० वटा शाखा, ३७ वटा राजश्व संकलन तथा एक्सटेन्सन काउण्टर, २५६ एटिएम तथा २४८ शाखा रहित बैंकिङ्ग सेवा र नेपालबाहिर ३ प्रतिनिधि/सम्पर्क कार्यालय मार्फत ग्राहकहरुलाई सेवा प्रदान गर्दै आइरहेको छ ।

बीओकेका ग्राहकले सिद्धार्थ बिजनेश ग्रुप अफ हस्पिटालिटीमा १०% छुट पाउने

काठमाडौं । बैंक अफ काठमाण्डू(बीओके)का ग्राहकले सिद्धार्थ बिजनेश ग्रुप अफ हस्पिटालिटीमा १० प्रतिशत छुट पाउने भएका छन् । सो सम्बन्धि दुई संस्थाबीच सोमबार सम्झौता भएको छ । यससँगै सिद्धार्थ विजनेश गु्रप अफ हस्पिटालिटीको सीमित सेवा प्रयोग वापत बिओकेको मोबाईल बैंकिङ्ग र डेबिट तथा क्रेडिट कार्डको माद्यमबाट भुक्तानी गर्दा बैंकका ग्राहकहरुले १० प्रतिशतको छुट पाउने छन् । उक्त सम्झौतामा बैंकका कार्ड विभाग प्रमुख अमर राजभण्डारी र सिद्धार्थ गु्रपका व्यापार विभागका निर्देशक प्रभाकर खडकाले माघ २० गते हस्ताक्षर गरेका हुन् । यस सम्झौता पश्चात् सिद्धार्थ विजनेश गु्रप अफ हस्पिटालिटीको ६ होटल, ३ रिसोट, ५ रेस्टुरेन्ट तथा ५ क्याफेहरुमा छुट उपलब्ध हुनेछ । हालसम्म बैंक अफ काठमाण्डूले ८७ शाखा कार्यालयहरु, ७८ एटीएम र १० एक्स्टेन्सन काउन्टरबाट आफ्ना ग्राहकहरुलाई उत्कृष्ट बैंकिङ्ग सुविधा प्रदान गर्दै आईरहेको छ ।

कर्जा लगानीमा आक्रामक बन्दै इन्भेष्टमेन्ट बैंक, ९.९९ प्रतिशत व्याजमा एसएमई कर्जा

काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंक कर्जा लगानीमा आक्रामक बन्दै गएको छ । रिकरिङ फिक्स्ड डिपोजिट र ग्रीन डबल फिक्स्ड डिपोजिट योजना सञ्चालनमा ल्याइसकेको बैंकले साना तथा मझौला उद्यमी (एसएमई) कर्जा योजना ल्याएको छ । बैंकले देशका उद्यमीहरूलाई उत्थान गर्ने उद्देश्यले एक वर्षका लागि निश्चित ९.९९ प्रतिशत ब्याजदरको एसएमई कर्जा ल्याएको हो । स्थानीय स्तरमा रोजगारी सिर्जनाका साथै मुलुकमा उद्यमशीलता बढाएर देशको आर्थिक मापदण्डमा सकारात्मक परिवर्तन ल्याउन प्रत्यक्ष योगदान पुर्याउने एसएमई कर्जाको उद्देश्य रहेको बैंकले जनाएको छ । यसका साथै बैंकले एक वर्षका लागि निश्चित वार्षिक १०.५० प्रतिशतको ब्याजदरमा उत्पादनशील कृषि क्षेत्रमा प्रदान गर्ने गरी कर्जा योजना पनि बैंकले अघि सारेको छ । बैंकले देशको विद्यमान कृषि क्षेत्रको आधारलाई सहयोग गर्ने तथा वर्तमान आर्थिक परिप्रेक्षमा यसलाई प्रबद्र्धन र आधुनिकीकरण गर्नमा केन्द्रीत हुँदै उक्त योजना बजारमा ल्याएको हो । यसअघि बैंकले ९.२५ प्रतिशत ब्याजदर सहितको क्रमिक मुद्दती निक्षेप (रिकरिङ फिक्स्ड डिपोजिट) सञ्चालनमा ल्याएको थियो । जसमा ग्राहकहरूले न्युनमत ३३ महिने अवधिका लागि न्युनतम ३३३ रुपैयाँ क्रमिक निक्षेप जम्मा गरेर उच्च ब्याजदर पाइरहेका छन् । यस बाहेक अंग्रेजी नयाँ वर्षका अवसरमा बैंकले हरित पहल अभियान अन्तर्गत ग्रीन डबल फिक्स्ड डिपोजिट (जीडीएफडी) ल्याएको थियो । यस योजनाबाट संकलन गरिएका निक्षेपहरू दिगो, वातावरणमैत्री हरित परियोजनाहरूमा लगानी गरिने बैंकले बताएको । सो योजनाअन्तर्गत दिगो भविष्य सुनिश्चित हुनुका साथसाथै व्यक्तिको निक्षेप पनि ७.५ वर्षमा दोब्बर हुन्छ । यो योजना अन्तर्गत संकलन गरिएको निक्षेप इको-लोन मार्फत हरित परियोजनाहरूमा लगानी गरिन्छ, जसमा एक वर्षका लागि निश्चित वार्षिक १०.५० ब्याजदर कायम गरिएको बैंकले बताएको छ ।

चौथो प्राङ्गारिक कृषि मेला समापन, व्यवसायी भन्छन्- ‘सोचे जस्तो व्यापार भएन्’

काठमाडौं । माघ १७ गतेदेखि ललितपुरको पाटन संग्रहालयमा भएको चौथो प्राङ्गारिक कृषि मेला समापन भएको छ । अर्गानिक एशोसियसनको नेपाल र कञ्चनजङ्घा टी इस्टेट एण्ड रिसर्च सेन्टरको संयुक्त रुपमा आयोजना भएको उक्त मेलामा लक्ष्य अनुसारको व्यापार नभएको आयोजकले जानकारी दिए । अर्गानिक एसोसियसनका अध्यक्ष दीपकप्रकाश बास्कोटाले यस वर्षको मेला पाटन संग्रहालय भित्र कला, सांस्कृतिलाई ध्यानमा राखेर मेला आयोजना गरेको बताएका छन् । विदेशी पर्यटकको आर्कषक केन्द्रविन्दुको रुपमा रहेको पाटन दरबार क्षेत्रलाई ध्यानमा राखेर संग्रहालयभित्र यस वर्षको मेला राख्दा अन्तर्राष्ट्रिय बजारमा नेपाली उत्पादन पुराउन सक्ने सकारात्मक प्रभाव देखिएको अध्यक्ष बास्कोटाको भनाई छ । मेलामा खासै व्यापार नभएको गुनासो नआएको भने होइन । इलामका यमबहादुर राई भन्छन् ‘नेपालीहरुले अर्गानिक सामान नै नचिनेकोले हो कि, ४ दिनमा जम्मा १२ हजारको चिया विक्री भयो ।’ तीन पुस्तादेखि चिया खेती गर्दै आएका राईले भने नेपाली समाजमा अझै पनि अर्गानिक वस्तुको महत्व नबुझेको जानकारी दिँदै विदेशमा भने निर्यातको अवस्था राम्रो रहेको बताए । यस वर्ष स्टल भाडा समेत नउठेको स्तुती खाद्य प्रोडक्टको संचालक सुजिता पौडेलले बताईन् । मेलामा अर्गानिक तथा प्राकृतिक उत्पादनका चिया, कफी, अचार, जुस, तरकारी, प्राङ्गारिक मल, च्याउ, डेरी, फलफुल, मसला, चामल, गहु, मकै, दाल, फापर, बीउ, तेल, राडीपाखी लगाएत करिब ५० बढी स्टलहरु  रहेका थिए । मेला समापन गर्दै मेला व्यवस्थापन समिति संयोजक शान्ता बाँस्कोटाले मेला समापन गर्दै कति काराेबार भयाे भन्ने तथ्यांक संकलन हुन बाँकी रहेकाे बताइन् ।

१० कित्ते नीति मलाई मन परिरहेको छैन, अध्ययन गरेर निर्णय गर्छाैंः बोर्डका अध्यक्ष ढुंगाना

काठमाडौं । धितोपत्र बोर्डका अध्यक्ष भीष्मराज ढुंगानाले सेयर भर्ने सबैलाई सेयर दिने नीतिमा पुनर्विचार गर्ने बताएका छन् । सबैलाई सेयर दिने नीति कार्यान्वयन गर्दा लगानीकर्ताको लागत नै नउठ्ने अवस्था रहेकोले पुनर्विचार आवश्यक रहेको बताएका हुन् । बोर्डले केही वर्ष अगाडिदेखि सेयर भर्ने जति सबैले कम्तिमा १० कित्ता सेयर पाउने नीतिगत व्यवस्था कार्यान्वयन गरिरहेको छ । बोर्ड अध्यक्ष भएको एक महिना पनि नवित्दै अध्यक्ष ढुंगानाले सो नीतिको प्रभावकारिता माथि अध्ययन गर्न लागेका हुन्। ‘सबै नीति र कार्यक्रमहरु समय सापेक्ष हुन्छन्, पर्याप्त मात्रामा साधन नभएका, केही सिकाउनु पर्ने र बानी पार्नको लागि त्यस्ता व्यक्तिका लागि १० कित्ता सेयर दिने नीति ठिकै हो तर कोही मान्छे लगानीकर्ताको रुपमा बजारमा आउँछ भने उसलाई १० कित्ता दिनु ठीक होइन,’ अध्यक्ष ढुंगानाले विकासन्युजसँग भने । १० कित्ता सेयर किनेपछि पनि डिम्याट गराउनु पर्ने भएकोले त्यसमा पर्ने लागत, डिम्याट खाता त्यसै हेर्न नमिल्ने भएकोले इन्टरनेट चलाउनु पर्ने, डिभिडेन्ट खातामा जम्मा गर्दाको शुल्क तथा सो सेयर बिक्री गर्दा लाग्ने खर्च जस्ता कारणले यो नीति त्यति ठीक नदेखिएको उनको भनाइ छ । ‘स्थानीय जनतालाई १० कित्ता दिनै पर्ने नीति ठिक हो, लगानीकर्ताको लागि ठीक होइन, यसलाई हामीले समय सापेक्ष रुपमा परिवर्तन गर्नुपर्छ, यसको लागि एक पटक अध्ययन गरेर हेरौं के कस्तो असर परेको पाइदो रहेछ, मलाई व्यक्तिगत रुपमा भने ठीक लागिरहेको छैन,’ अध्यक्ष ढुंगानाले थपे ।

मुक्तिनाथ विकास बैंकले धादिङ्गबाट शुरु गर्यो वित्तीय जागरण अभियान, अरू जिल्लामा पनि गर्ने

काठमाडौं । मुक्तिनाथ विकास बैंकले माघ १५ गतेबाट वित्तीय जागरण अभियान धादिङ्ग जिल्लाबाट शुरुवात गरेको छ । सो अन्तर्गत गल्छी गाँउपालिका, वडा नं ९, बैरेनी स्थित गाउँपालिका भवनमा सोही गाँउपालिका वडा नं ७, का अध्यक्ष हरि खतिवडाको आतिथ्यमा सम्पन्न भएको छ । त्यसैगरी, माघ १७ गते डिल्ली सावित्री माध्यमिक विद्यालय, धुनीवेशी ९ धार्केमा यस बैंकको धार्के शाखा अन्तर्गतका ग्राहक हरिप्रसाद लोहनीको सभापतित्वमा सम्पन्न भएको कार्यक्रममा डिल्ली सावित्री माध्यमिक विद्यालयका प्रधानाध्यापक घनश्याम अधिकारी प्रमुख अतिथि र अतिथिमा सोही विद्यालयका शिक्षक नरेन्द्रप्रसाद रिजाल रहेका थिए । उपरोक्त दुवै कार्यक्रममा वित्तीय कारोबार बारे चेतना जगाउने, लघुवित्त कार्यक्रममा केन्द्रको व्यवस्थापन, अधिक र अनुत्पादक कर्जा लिँदाका बेफाइदाहरु, उपयुक्त व्यवसाय छनौट, व्यवसायीक योजना, सफल उद्यमीका विशेषताहरु, बचत, कर्जा, बैंक तथा वित्तीय संस्थाहरुको प्रकार लगायतको विषयमा वित्तीय चेतनाको अभिबृद्धि गराउने यस कार्यक्रमको मुख्य उद्देश्य रहेको थियो । कार्यक्रममा १७० जना ग्राहकहरुको सहभागीता रहेको थियो । उक्त कार्यक्रममा बैंकसँग कारोवार गर्ने उत्कृष्ट ग्राहकहरु तथा उत्कृष्ट केन्द्रहरुलाई पुरस्कार तथा प्रमाण पत्र वितरण गरिएको थियो । मुक्तिनाथ विकास बैंकले “आजकोे आवश्यकता, सबैमा वित्तीय साक्षरता” भन्ने आसय सहित समुदाय र विद्यालय स्तरीय वित्तीय साक्षरता कार्यक्रम सँगसँगै वित्तीय जागरण कार्यक्रमलाई समेत अभियानकै रुपमा अन्य जिल्लाहरुमा पनि सञ्चालन गर्ने योजना बनाएको छ । बैंकले हाल ४२ जिल्लामा १३४ वटा शाखाहरु मार्फत ग्राहकका आवश्यकता बमोजिमका सबै प्रकारका बचत निक्षेप तथा कर्जा सेवाहरु प्रदान गर्दै आई रहेको छ । साथै, प्रविधिमा आधारित रही मोबार्ईल बैंकिङ्ग, क्यूआर पेमेन्ट, एटीएम, अनलाईन बैंकिङ्ग लगायतका सेवाहरु पनि प्रदान गर्दै आईरहेको बैंकले जनाएको छ ।

बार्सिलोनाको अफिसियल पेजमा प्रियंका कार्की, लेखियाे-‘वि लभ नेपाल’

काठमाडौं । बार्सिलोनाको अधिकारिक फेसबुक पेजले कलाकार नायिका प्रियंका कार्कीको तस्विर  पोष्ट गरेकाे छ । बार्सिलोनाको अधिकारिक फेसबुक पेजले सोमबार ‘वि लभ नेपाल’ भन्दै कलाकार प्रियंका कार्कीको तस्विर पोष्ट गरेकाे हाे । कार्की आईतबार ब्वाईफ्रेण्ड आयुसमान देशराज जोशी र अन्तर्राष्ट्रिय युटुबर गबी गर्सियासँग गेम हेर्न बार्सिलोनाको होम स्टेडियम क्याम्प नोउ पुगेकी थिईन् । बार्सिलोना वा बार्साको नामले चिनिने यो क्लब स्पेनको एक व्यावसायिक फुटबल क्लब हो, जुन स्पेनको बार्सिलोनामा अवस्थित छ । यसको पुरा नाम एफसी बार्सिलोना अर्थात फुटबल क्लब बार्सिलोना हो ।