बाल्ट्राको दशैं अफरका विजेताहरु घोषित, पाल्पाका सरुले पाए ५५ इञ्च स्मार्ट टिभी
काठमाडौं । बाल्ट्रा होम एप्लाइन्सेस्ले दशैं, तिहार तथा छठपर्वको अवसरमा ल्याएको “दशैं ल्यायो” नामक योजनाका विजेताहरुको नाम घोषित गरेको छ । यस योजना अन्तर्गत कम्पनीले बाल्ट्राको बिग तथा स्मल एप्लाइन्सेसको खरिदमा लक्की ड्र मार्फत ५१ जना भाग्यशाली ग्राहकहरुका लागि आकर्षक उपहारहरुका साथै १ वर्षको अतिरिक्त वारेन्टी जित्ने मौका प्रदान गरेको थियो । कम्पनीले यस योजना अन्तर्गतका विजयी ग्राहकहरुको नाम आफ्नो फेसबुक पेज मार्फत सार्वजनिक गरेको छ । विजयी ग्राहकहरु मध्ये पाल्पाका घन बहादुर सरुले बुटवलकाे भाटभटेनीबाट खरिद गरेका बाल्ट्रा एप्लाइन्सेस्मा बम्पर उपहार स्वरुप बाल्ट्राको ५५ इञ्च स्मार्ट टि.भी. जित्न सफल भएका छन् । त्यसैगरी उक्त योजना अन्तर्गत २ जनाले ४० इञ्च टि.भी., ३ जनाले ३२ इञ्च टि.भी., ५ जनाले साउण्ड बार, १० जनाले मिक्सर ग्राइन्डर, १५ जनाले राईस कुकर, र १५ जनाले आइरन जस्ता आकर्षक उपहारहरु जितेका छन् । बाल्ट्रा होम एप्लाइन्सेस्ले विगत १० वर्षदेखि ईलेक्ट्रोनिक तथा घरेलु सामानहरुमा विविध र नवीन उत्पादनहरु उत्पादन गर्दै आएको छ ।
केदारेश्वर धामलाई सेञ्चुरी बैंकको सहयोग, भक्तजनहरू लाभान्वित हुने
काठमाडौं । सेञ्चुरी कमर्सियल बैंकको बाँसगढी शाखाले केदारेश्वर धामलाई पानी ट्यांङ्की साथै टिकट हस्तान्तरण गरी सहयोग गरेको छ । बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत यस धाममा भ्रमणको लागि आउने भक्तजनको लागी सफा पानी उपलब्ध गराउनको निम्ती एक थान एक हजार लिटरको पानी ट्यांङ्की र धामको नियमित सरसफाईको लागी २० रुपैयाँका ५ हजार थान टिकट हस्तान्तरण गरेको हो । बैंकका बाँसगढी शाखाका शाखा प्रबन्धक प्रदीप खरेलले केदारेश्वर धामका सञ्चालक समितिका अध्यक्ष कृष्ण प्रसाद बास्तोलालाई उक्त पानी ट्यांङ्की र टिकट हस्तान्तरण गरेको हो । केदारेश्वर धाममध्ये पश्चिम विकास क्षेत्रको बर्दिया जिल्ला बाँसगढीमा रहेको र यो मध्यपश्चिम विकास क्षेत्रकै ठुलो शिबलिङ्ग हुनुका साथै नेपाल सरकारको सय पर्यटकीय गन्तव्यमा पर्न सफल धाम हो । बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत शिक्षा, स्वास्थ्य, वातावरण तथा अन्य क्षेत्रमा थुप्रै कार्यक्रमहरु गर्दै आएको छ ।
खुशीकाे खबरः अब घरघरमै वृद्धवृद्धाकाे स्वास्थ्य जाँच
तानसेन । पाल्पा पूर्वखोलामा घरघरमै स्वास्थ्यकर्मी आएर आफूहरुको स्वास्थ्य जाँच गरिदिँदा ज्येष्ठ नागरिक दङ्ग छन् । हिँडेर स्वास्थ्य केन्द्रसम्म पुग्न नसक्ने वृद्धवृद्धालाई औषधि गरिदिन घरमै स्वास्थ्यकर्मी आउँछन् । पूर्वखोलामा दैनिक बिरामी जाँचको सुविधा घरमै छ । पूर्वखोलाका ९० वर्षीय डिल्लीसरा आलेले हिँडेर स्वास्थ्यचौकी पुग्ने अवस्था नहुँदा डाक्टर घरमै आएर जाँच गर्दा निकै खुशी लागेको बताए । ‘आफ्ना छोराछोरीले झैँ घरमै आएर स्वास्थ्य अवस्था बुझ्ने र औषधि दिने गरेको देख्दा अचम्म लाग्छ”, आलेले भने, ‘गाउँमै सिंहदरबार आउँछ भन्थे, हो रैछ । योभन्दा राम्रो खबर के हुन्छ र ?’ वृद्ध र शारीरिक हिसाबले कमजोर नागरिकलाई स्वास्थ्य जाँच तथा उपचारका निम्ति रिङ्नेरह स्वास्थ्यचौकीका कर्मचारी घरघरमै पुग्ने गरेको गाउँपालिकाका अध्यक्ष नुनबहादुर थापाले जानकारी दिए । उनले प्रदेश नम्बर ५ सरकारको समन्वयमा गाउँपालिकाभरिका ज्येष्ठ नागरिकको स्वास्थ्य परीक्षण गरिने अभियान नै रहेको जानकारी दिएका छन् । पूर्वखोला–२ जल्पाका ८९ वर्षीय खडानन्द अधिकारी पनि घरमा स्वास्थ्यकर्मी आएर उपचार गर्छन् भन्ने कहिल्यै नसोचेको बताए । उनले घरमै आएर स्वास्थ्य परीक्षण गरेर औषधि पाउँदा बूढेसकालमा हिँडेर स्वास्थ्य केन्द्र धाउन नपरेकामा खुशी व्यक्त गरे । चौरासी वर्षका नागरिकलाई घरघरमै पुगेर रक्तचाप, ग्याष्ट्रिकलगायत रोगको परीक्षण गरी खानपान, स्याहारसुसार र बसाइका सन्दर्भमा परामर्शसमेत दिने गरिएको रिङ्नेरह स्वास्थ्यचौकीका प्रमुख श्रीराज आचार्यले बताए । ज्येष्ठ नागरिकलाई स्वास्थ्य जाँचसँगै आवश्यकतानुसार निःशुल्क औषधिसमेत प्रदान गरिएको पूर्वखोला गाउँपालिका, स्वास्थ्य शाखा प्रमुख मोहन ढकालले जानकारी दिए । प्रदेश सरकारले ८४ वर्ष उमेरमाथिका नागरिकको उपचारमा समन्वय गरेको र गाउँपालिकाको पनि छुट्टै ८० वर्षमाथिका नागरिकको परीक्षण अभियान जारी रहेको गाउँपालिकाले जनाएको छ । पालिकाका छवटै वडामा पोषणका निम्ति हर्लिक्सलगायत गाउँपालिकाले दिन मिल्ने खालका औषधि वितरण तथा ज्येष्ठ नागरिकको स्वास्थ्य अवस्थाबारेमा अभिलेख राख्ने कार्यक्रम भइरहेका छन् । गाउँपालिकाले नागरिक स्वास्थ्य परीक्षणसँगै अनिवार्य स्वास्थ्य संस्थामै सुत्केरी हुनुपर्ने व्यवस्था, गर्भवतीलाई अण्डा वितरण, सुत्केरीलाई जाउलो र जुवानोको झोल खुवाउने अभियान, स्वास्थ्य संस्थामै सुत्केरी हुनेका निम्ति नेपाल सरकारले दिनेबाहेक गाउँपालिकाबाट रु ३०० देखि ६०० प्रदान, सुत्केरीलाई अनिवार्य बेलाबेला घरमै पुगेर स्वास्थ्य परीक्षणलगायत काम गर्दै आएको पूर्वखोला १ का वडाध्यक्ष भोगबहादुर थापाले जानकारी दिनुभयो । गाउँपालिकामा अहिले ८० वर्षमाथिका करिब २५० को हाराहारीमा ज्येष्ठ नागरिक रहेको गाउँपालिकाको तथ्याङ्क छ ।रासस
कम उतार चढावको माछापुच्छ्रे बैंकको सेयरमा लगानी गर्नु कति उत्तम ? (समग्र विश्लेषण)
काठमाडौं । माछापुच्छ्रे बैंकले चालु आर्थिक वर्षको ६ महिनामा ८२ करोड ९१ लाख रुपैयाँ नाफा गरेको छ । गत वर्षको यही अवधिको तुलनामा बैंकको नाफा ५.१८ प्रतिशतले बढेको छ । पहिलो त्रैमाशको तुलनामा भने बैंकको नाफा १८ प्रतिशतले बढेको छ । बैंकले पहिलो त्रैमाशसम्ममा ३७ करोड ६० लाख नाफा गरेकोमा दोस्रो त्रैमाशको तीन महिनामा ४४ करोड ५८ लाख गरेको थियो । बैंकले हालसम्मको नाफाको आधारमा लगानीकर्तालाई ६० करोड ६३ लाख रुपैयाँ वितरण गर्न सक्छ । यो भनेको चुक्ता पुँजीको आधारमा ७.१६ प्रतिशत हो । सेयर प्रिमयमको रुपमा बैंकसँग ३ करोड ८ लाख छ । योसहित लाभांश क्षमता ७.५३ प्रतिशत रहेको देखिन्छ । –दोस्रो त्रैमाशमै करीब ८ प्रतिशतको लाभांश क्षमता –महतो समूहको पकड –इक्रा भन्छः मध्यम खेलाडी –लगानी अगाडी ध्यान दिनुपर्ने अवस्था यद्यपि माछापुच्छ्रे बैंकको सेयर मूल्यमा धेरै उतार चढाब देखिदैन । यही सन्दर्भमा बैंकको सेयरमा लगानीका लागि कस्तो रणनीति अपनाउनु पर्ला भन्ने दृष्टिको यो सामग्री तयार पारिएको छ । सन् १९९८ मा पहिलो क्षेत्रीय वाणिज्य बैंकको रुपमा माछापुच्छ्रे बैंकको स्थापना भएको हो । सन् २००० अघिसम्म यो बैंकको केन्द्रीय कार्यालय पोखरामा नै रहेर सञ्चालन भइरहेको थियो । हाल १ सय ५१ शाखाबाट सेवा दिइरहेको बैंकको १ सय ३८ वटा शाखारहित बैंकिङ सेवा र १ सय ८६ वटा एटिएम छन् । अन्तिम दुई दिनमा पहिलो दिन सानो सेतो मैनवत्ति र अन्तिम दिन कालो मैनवत्ति बनाएको छ । यसले मूल्य घट्न सक्ने संकेत देखाइरहेको छ । यद्यपि यो दरिलो संकेत देखिदैन । कम्पनीले हालै धितोपत्र बजारमा बिक्री प्रबन्धक, सेयर प्रत्याभूतीकर्ता, सेयर रजिष्ट्रार, लगानी व्यवस्थापकको रुपमा काम गर्ने गरी मर्चेन्ट बैंकर कम्पनी स्थापनाको अनुमति पाएको छ । १०.२६ प्रतिशत बेस रेट रहेको बैंकले यसमा अधिकतम ६ प्रतिशतसम्म कर्जाको व्याजदर तोकेको छ । बचतमा बैंकले ४ प्रतिशतदेखि अधिकतम ९.२५ प्रतिशतसम्म व्याज तोकेको छ । उपलब्धि एक वर्षअघि बैंकले आइएसओ सर्टिफिकेशन पाएको छ । बैंकले १७ डिसेम्बर २०२१ सम्मको लागि यो प्रमाणपत्र पाएको हो । बैंकको गुणस्तर व्यवस्थापन प्रणालीको लागि यस्तो प्रमाणपत्र दिइएको उल्लेख छ । महतो समूहको पकड बैंकको अध्यक्षमा डा. विरेन्द्र महतो छन् भने प्रमुख कार्यकारी अधिकृतमा सुमन शर्मा छन् । महतो समूहको बैंकमा २५ प्रतिशतभन्दा धेरै र पूर्व अध्यक्ष सूर्यबहादुर केसीलगायतको समूहको १५.३३ प्रतिशतभन्दा बढी सेयर लगानी छ । औसत १६ प्रतिशतको लाभांश बैंकले विगत ५ वर्षमा बार्षिक औसत १६ प्रतिशत लाभांश दिएको छ । गत आवमा नाफापछि बैंकले ५ प्रतिशत बोनस र ११ प्रतिशत नगद लाभांश दिएको हो । वित्तीय अवस्था बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमाशमा ८२ करोड ९१ लाख रुपैयाँ नाफा गरेको छ । गत वर्षको यही अवधिको तुलनामा बैंकको नाफा ५.१८ प्रतिशतले बढी हो । पहिलो त्रैमाशको तुलनामा भने बैंकको नाफा १८ प्रतिशतले वृद्धि गर्न सफल भएको छ । बैंकले पहिलो त्रैमाशसम्ममा ३७ करोड ६० लाख नाफा गरेकोमा दोस्रो त्रैमाशको तीन महिनामा ४४ करोड ५८ लाख गरेको थियो । बैंकले हालसम्मको नाफाको आधारमा लगानीकर्तालाई ६० करोड ६३ लाख रुपैयाँ वितरण गर्न सक्छ । यो भनेको चुक्ता पुँजीको आधारमा ७.१६ प्रतिशत हो । सेयर प्रिमियमको रुपमा बैंकसँग ३ करोड ८ लाख छ । यो सहित लाभांश क्षमता ७.५३ प्रतिशत रहेको देखिन्छ । बैंकको सञ्चित तथा जगेडा कोषमा २ अर्ब ६६ करोड रुपैयाँ रकम छ । बैंकलाई पुँजी केही सस्तो पर्न थालेको कोष लागतमा भएको सामान्य कमीले देखाउछ । कोष लागत ७.९८ प्रतिशतबाट घटेर ७.६४ मा सिमित भएको छ । यद्यपि ५ अर्ब ६८ करोड ब्याज आम्दानी गरेको बैंकको खुद व्याज आम्दानीमा पनि १७ प्रतिशतले वृद्धि भएर १ अर्ब ९८ करोड पुगेको छ । बैंकको व्याज खर्च ३ अर्ब ६९ करोड छ । खराब कर्जाको दरमा सीमान्त दरमा बढेको बैंकले खराब कर्जाको आधारमा सो रकमको २ सय ७९ प्रतिशत रकम राखेको छ । बैंकले ५६ प्रतिशतले प्रावधान रकम वृद्धि गरेर १७ करोड राखेको छ । निक्षेप प्राथमिक पुँजीको आधारमा कर्जा लगानी अनुपात ७८.७२ छ । बैंकसँग थप लगानीको लागि मार्जिन कम नै छ । बैंकको प्रतिसेयर आम्दानी १९.४३ प्रतिशत, मूल्य आम्दानी अनुपात ११.७८ प्रतिशत र प्रतिसेयर नेटवर्थ १ सय ३३ प्रतिशत छ । केही महिनाअघि बैंकले इक्रा नेपालबाट ऋणपत्रको रेटिङ समेत गरेको छ । बैंकले ए माइनस रेटिङ पाएको थियो । इक्रा नेपालका अनुसार बैंकका केही पक्षहरु यी हुन्ः –३/४ वर्ष यता खुद व्याज मार्जिन ३.५ प्रतिशत –आवधिक निक्षेप उच्च, बजारमा रहेको तरलता समस्याबाट केही राहत –निक्षेप संरचना मध्यम किसिमको (सस्तो लागतको निक्षेप ३४ प्रतिशत, समग्र क्षेत्रको यस्तो औसत निक्षेप ४१ प्रतिशत छ) –निक्षेप र कर्जा केन्द्रीकरण (प्रमूख २० ग्राहकमा निक्षेप २३ प्रतिशत, कर्जा २२ प्रतिशत लगानी) –भाका नाघेका कर्जाको दर बढ्दो क्रममा, भाका पुगेको कर्जा ४ महिनामा ५ प्रतिशतबाट बढेर ७.५ प्रतिशत –समग्र वाणिज्य बैंकहरुमा मध्यमस्तरको खेलाडी (बजार हिस्सामा बैंकको निक्षेप ३.०२ प्रतिशत र कर्जा ३.२३ प्रतिशत) प्राविधिक विश्लेषण बैंकको सेयर मूल्यले एक वर्षयता २ सय ७८ को उच्च विन्दु बनाएको छ । सो बिन्दुबाट घटेर २ सय १३ को न्युनसम्म पुगेको मूल्य फर्किएर २ सय ४० रुपैयाँसम्म आएको छ । यसले हालसम्म सो उच्च विन्दुबाट ४१ प्रतिशतको रिट्रेस गरेको देखाउँछ । हालै ३८ प्रतिशतको रिटे«स पार गरेकोले यसमा ठूलो प्रतिरोध भने देखिदैन । रिटे«समेन्टमा २३, ३८, ६० र ७८ को विन्दुलाई प्रतिरोधको विन्दु पनि मानिन्छ । बैंकको सेयरमा खासै उतार चढाव छैन । एक वर्षमा ७३ रुपैयाँको मूल्य अन्तरमा तल माथि गरिरहेको छ । बैंकको सो अवधिको स्ट्याण्डर्ड डेभिएसन ०.२२ (२२) छ । बैंकिङ समूहको गत अप्रिल ८ यता सूचकको स्टेयाण्डर्ड डेभिएसन ४० हुँदा सोही अवधिको यस बैंकको २० छ । समूह सूचकभन्दा यसमा कम उतार चढाव देखिन्छ । मूल्य केही सातादेखि कारोबारको सन्तुलिन क्षेत्रमा रहेको १४ दिने आरएसआई सुचकले देखाइरहेको छ । आरएसआईको स्केल ६० मा आएको छ । आरएसआई स्केल ३० भन्दा मुनि भए सेयर अधिक बिक्री क्षेत्रमा, ३० देखि ७० बीचमा भए सन्तुलित क्षेत्रमा र ७० भन्दा माथि भए अधिक खरिद क्षेत्रमा रहेको विश्लेषण गरिन्छ । वित्तीय विवरण प्रकाशन भएयता बैंकको सेयर मूल्य झिनो रुपमा भएपनि वृद्धिको दिशामा छ । हुन त पछिल्लो समय सेयर बजारमा उत्साह नै थपिएको आभास मिल्छ । रेखाचित्रको आधारमा केहीदिन अघि मात्र बैंकको सेयर मूल्यले डब्लु आकृति बनाएर बढ्न लागेको संकेत गरेको छ । हालै सिम्पल मुभिङ एभरेज रेखा नजिकिएका छन् । तर ७ दिने रेखा नै २१ दिने रेखा माथि छ । यद्यपि ध्यान दिनुपर्ने देखिन्छ । पीभट विश्लेषणले भने अब बजार बढ्ने क्रममा नै रहे एक महिनामा २ सय ५१ मा पहिलो प्रतिरोध र घट्ने क्रममा रहे २ सय २५ मा पहिलो टेवा पाउने देखाउँछ । बैंकको सेयर मूल्यले अन्तिम दुई दिनमा पहिलो दिन सानो सेतो मैनवत्ति र अन्तिम दिन कालो मैनवत्ति बनाएको छ । यसले मूल्य घट्न सक्ने संकेत देखाइरहेको छ । यद्यपि यो दरिलो संकेत देखिदैन । लगानीको लागि आगामी दिनको कारोबार हेर्नु उपयुक्त हुन्छ । सम्बन्धित सामग्री ६ महिनामा माछापुच्छ्रे बैंकको नाफा ८३ करोड रुपैयाँ
नेप्से १२ अंकले घट्दा साढे एक अर्बको कारोबार, दुई कम्पनीका लगानीकर्ताले कमाए ९ प्रतिशत बढी
काठमाडौं । मंगलबारको नेप्से परिसूचक १२.०९ अंकले घटेको छ । बजार खुलेदेखि उतारचढाव देखिएको बजारमा काराेबार बन्द हुँदा परिसूचक ०.९० प्रतिशतले घटेर १३३७ अंकमा झरेकाे छ । दिनभरको बजारमा कूल एक अर्ब ५७ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । कूल १७६ कम्पनीको कारोबार भएको बजारमा सबैभन्दा बढी कारोबार गर्नेमा बीमा कम्पनीहरु अग्रस्थानमा रहेका छन् । सबैभन्दा बढी नेपाल इन्स्योरेन्स कम्पनीको १० करोड ७० लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । त्यस्तै, दोश्रो र तेश्रो स्थानमा नेको इन्स्योरेन्स कम्पनी र नेपाल लाइफ इन्स्योरेन्स कम्पनी रहेको छ । यी कम्पनीको क्रमशः ६ करोड १३ लाख र ४ करोड ५२ लाख रुपैयाँ बराबरको सेयर खरिद बिक्री भएका छन् । दोहोरो अंकले ओरालो लागेको बजारमा दुई कम्पनीका सेयरधनीले ९ प्रतिशतभन्दा बढी कमाएका छन् ।सर्पोट माइक्रोफाइनान्स वित्तीय संस्थाका सेयरधनीले सबैभन्दा बढी अर्थात ९.९९ प्रतिशत कमाएका छन् । त्यस्तै, दिब्यश्वरी हाइड्रोपावर कम्पनीको सेयर मूल्य ९.६२ प्रतिशतले बढेको छ । बजारमा चार समूह बाहेक बाँकी समूह राताम्मे देखिएका छन् । सबैभन्दा बढी जीवन बीमा समूह ७६ अंकले घटेको छ । होटल ७४, माइक्रोफाइनान्स २२, हाइड्रोपावर १६, बैंकिङ १३ र उत्पादनमूलक ११ अंकले घटेका छन् । सबैभन्दा निर्जीवन बीमा समूह २८ अंकले बढेको छ । विकास बैंक, फाइनान्स र अन्य समूह सामान्य अंकले बढेका छन् ।
इन्फ्रास्ट्रचर बैंककाे शेयर प्रत्याभूतिमा नागरिक लगानी कोष
काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंककाे साधारण शेयर निष्काशन तथा धितोपत्र प्रत्याभूतिमा नागरिक लगानी कोष नियुक्त भएकाे छ । बैंकले ८ अर्ब रुपैयाँ बराबरको रु.१०० अंकित दरको ८ करोड कित्ता साधारण सेयर निष्काशन गर्न काेषलाई प्रत्याभूतिकर्ता (अन्डरराइटर) मा नियुक्त गरेकाे हाे । सो प्रत्याभूति सम्बन्धी सम्झौतापत्रमा नागरिक लगानी कोषको कार्यकारी निर्देशक रमण नेपाल र नेपाल इन्फ्रास्ट्रक्चर बैंकको नायव प्रमुख कार्यकारी अधिकृत भुपेन्द्र पाण्डेले हस्ताक्षर गरेका हुन् । नेपाल सरकारको समेत लगानी रहेको नेपाल इन्फ्रास्ट्रचर बैंक लिमिटेड नेपालकै पहिलो पूर्वाधार विकास बैंक हो भने बैंकले जारी गर्न लागेको यो सार्वजनिक निष्काशन हाल सम्मकै देशकै ठूलो सार्वजनिक निष्काशन हुनेछ । नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडको अधिकृत पुँजी ४० अर्ब, जारी पूँजी २० अर्ब र चुक्ता पूँजी १२ अर्ब रूपैयाँ रहेको छ भने सर्वसाधारणहरुलाई शेयर निष्काशन गरी बाँडफाँट गरे पश्चात बैंकको चुक्ता पूँजी २० अर्ब रूपैयाँ पुग्ने छ । जलविद्युत, सौर्य उर्जा, होटल, रिसोर्ट, फनपार्क, केवलकार, शिक्षा, स्वास्थ्य लगायतका पूर्वाधार क्षेत्रका उपयुक्त परियोजनाहरुमा श्रोत लगानी गर्ने मुल उद्देश्य लिई स्थापना भएको बैंकले मुलुक भित्र तथा मुलुक बाहिरबाट दीर्घकालीन श्रोत संकलन गरी त्यस प्रकारका परियोजनाहरुलाई आवश्यक पर्ने श्रोत उपलब्ध गराउने लक्ष्य लिएको छ ।
नेपाल बिल्डकन अन्तर्राष्ट्रिय प्रदर्शनी माघ २४ गतेदेखि शुरु, २०० बढी स्टल राखिने
काठमाडौं । नेपाल बिल्डकन अन्तर्राष्ट्रिय प्रदर्शनी माघ २४ गतेदेखि शुरु हुने भएको छ । मिडिया स्पेस सोलुसन्स र फुटुरेक्स ट्रेड फेयर एण्ड इभेन्टसले संयुक्त रुपमा काठमाडौंको भृकुटीमण्डपमा उक्त एक्स्पोको आयोजना गर्न लागेको हाे । माघ २६ गतेसम्म आयोजना हुने उक्त एक्स्पोमा विभिन्न देशका ३०० भन्दा बढी ख्याती प्राप्त ब्राण्डहरुका २०० भन्दा बढी स्टल रहने छन् । प्रदर्शनीमा निर्माण कम्पनी, डिलर, सब डिलर र बिक्रेताहरुले निर्माण व्यवसायसँग सम्बन्धित उत्पादनहरुको बारेमा जानकारी गराउने छन् । साथै, यस क्षेत्रमा आउने नयाँ नयाँ प्रविधिको बारेमा जानकारी गराइने आयोजकले जनाएका छन् । उक्त प्रदर्शनीको टाईटल स्पोन्सरमा बालाजी सिमेन्ट इन्ठस्ट्रिज प्रा.लि.(बाहुबली सिमेन्ट रहने छ । त्यस्तै, अन्तर्राष्ट्रिय प्रदर्शनीका सहयोग संस्थाहरु स्वाईटी र नेपलिज आर्चिटेक्स्(सोना), सोसाईटी अफ कन्सल्टिङ आर्टिटेक्चरल एण्ड इन्जिनियरङ फर्मस् (एससीएईएफ) तथा इन्टेरियर डिजाइनर्स एसोसियसन अफ नेपाल(आईडीया नेपाल) रहने छन् । यस प्रदर्शनीले नेपालमा हाल भइरहेको समग्र निर्माण क्षेत्रको विकास, पुननिर्माण तथा आधुनिकीकरणमा टेवा पुर्याउने आयोजकले जनाएका छन् । साथै, निःशुल्क प्रवेशको प्रबन्ध गरिएको उक्त एक्स्पोमा ३० हजार भन्दा बढी मानिसले भ्रमण गर्ने आयोजको विश्वास रहेको मंगलबार एक पत्रकार सम्मेलन मार्फत जानकारी गराइएको छ ।
नेपाल व्यवस्थापन संघले माघ २४ गते राष्ट्रिय सम्मेलन गर्दै
काठमाडौं । नेपाल व्यवस्थापन संघले ३९ औं राष्ट्रिय सम्मेलन आगामी माघ २४ गते गर्दै छ । तथ्यांक परिचालित निर्णय प्रक्रिया (डाटा ड्रिभन डिसिजन मेकिङ) भन्ने मुख्य नारा सहित संघले उक्त सम्मेलनको आयोजना गर्न लागेको हो । संघले गत वर्षझै यस वर्ष पनि आफ्नो वार्षिक साधारणसभाको अवसरमा उक्त सम्मेलन गर्दै छ । सोही दिन सम्मेलन र वार्षिक साधारण सभा साथै राष्ट्रिय व्यवस्थापन पुरस्कार तथा सम्मान वितरण, कार्यकारी समितिको निर्वाचन र एशियन एसोसियसन अफ म्यानेजमेण्ट अर्गनाईजेशनको एशियाली नेतृत्व सम्मान साँझ २०२० आयोजना गर्न लागेको संघले मंगलबार एक पत्रकार सम्मेलन गरी जानकारी दिएको छ । उक्त सम्मलेनमा अर्थमन्त्री डा. युवराज खतिवडाको आतिथ्यमा चार वटा कार्यपत्र प्रस्तुत गरिने संघले जानकारी दिएको छ । त्यस्तै, सम्मेलनमा विश्व र नेपालको व्यवस्थापन विकासको परिदृष्य २०१९(म्यानेजमेन्ट डेभलपमेन्ट सिनारियो) नामक एक अनुसन्धानात्मक कृतिको पनि विमोचन हुँदै छ । सोही दिन रहेको संघको ३९औं वार्षिक साधारणसभाले आगामी वर्षको लागि नीति, कार्यक्रम र बजेटको तर्जुमा गर्नुका साथै लेखापरीक्षकको नियुक्ति गर्दै छ । त्यस्तै, संघले यस वर्ष राष्ट्रिय व्यवस्थापन पुरस्कार अन्तर्गत म्यानेर अफ द एयर अवार्ड, वोमेन म्यानेजर रिकजनाईजेशन अवार्ड, आउटस्ट्याडिङ् म्यानेजमेन्ट अवार्ड, आउटस्ट्याडिङ् सिभिल सर्भिस अवार्ड वितरण गर्दै छ । संघले संस्थाको हितमा काम गर्ने इमान्दार, कर्तव्यनिष्ट, उच्च नैतिक चरित्रयुक्त कुशल व्यवस्थापकहरुलाई प्रोत्साहित गर्ने उद्देश्यले राष्ट्रिय व्यवस्थापन पुरस्कारले सम्मान गर्दै आएको छ । साथै, सोही दिन १९औं कार्यकारी समितिको पनि निर्वाचन अन्तर्गत मतदान कार्यक्रम हुँदै छ । उक्त निर्वाचनका लागि गठित समितिले निर्वाचनको कार्यक्रम सार्वजनिक गरिसकेको संघले जानकारी दिएको छ । जुन परिणाम सोहि दिन घोषणा हुनेछ । त्यस्तै, संघले एशियाली नेतृत्व सम्मान साँझ एशियन एसोसिएसन अफ म्यानेजमेन्ट अर्गनाइजेशनको व्यानरमा एशियाली नेतृत्व पुरस्कार साँझ(एशियन लिडरशीप अवार्ड नाइट) को आयोजना गरी यस क्षेत्रको आर्थिक र सामाजिक क्षेत्रमा महत्वपूर्ण योगदान पुर्याउने हुने विशिष्ट व्यक्तित्वहरुलाई सम्मानित गर्दै छ ।