विकासन्युज

ब्रिटिस पेट्रोलियमको वार्षिक खुद नाफा ४ अर्ब डलरले घट्यो

लन्डन । बेलायतको ऊर्जा क्षेत्रको विशाल कम्पनी ब्रिटिस पेट्रोलियम (बीपी) को गत वर्ष सन् २०१९ को नाफामा ४ अर्ब डलरले कमी आएको छ । कम्पनीको प्रमुख कार्यकारी बब डड्लीका अनुसार तेलको मूल्यमा गिरावट आएका कारण नाफा प्रभावित भएको हो । सन् २०१८ मा कम्पनीको नाफा ९ अर्ब ३८ करोड अमेरिकी डलर थियो । लामो समयदेखि कम्पनीको प्रमुख कार्यकारीमा सेवा गरेका डड्लीले यही कारण पद पनि गुमाउनु परेको छ । गत वर्षको अक्टोबरमै बीपीमा कार्य गरिरहेका बर्नार्ड लूनीलाई प्रमुख कार्यकारीमा नियुक्त गरिने घोषणा गरिएको छ । डड्लीले मङ्गलबार जारी गरेको विज्ञप्तिमा करिब १० वर्षको कार्यकाल समाप्त गरेर आफू विदा हुन लागेको बताए ।

कोरोना भाईरसका कारण चिनियाँ पर्यटकको संख्या घट्यो, भ्रमण वर्षलाई धक्का

काठमाडौं । कोरोना भाईरसका कारण नेपालमा चिनियाँ पर्यटकको संख्या घटेको छ । एक महिनायता चीनमा देखिएको नोबल कोरोना भाईरसले नेपालमा मात्र नभएर विश्वभरको पर्यटन क्षेत्रलाई असर गरेको हो । नेपाल नोबल कोरोना भाईरसबाट सुरक्षित भएको तर चीनमा र अन्य देशहरुमा फैलिएको त्रासले भ्रमण वर्षलाई असर गरेको हाेटल एसाेसिएसन नेपाल (हान) का अध्यक्ष सृजना राणाले बताईन् । चिनियाँ नयाँ वर्षमा ठूलो संख्यामा चिनिया पर्यटकहरु नेपालमा आउने गरेका छन् । तर, कोरोना भाईरसको कारण हाल नेपालका होटलहरु सुनसान रहेका नेपाल पर्यटन वर्ष २०२० का संयोजक सुरज वैधले बताए । यसले होटल व्यवसायलाई मात्र नभएर ट्याक्सी ड्राईभर, हस्तकला व्यवसायी, कृषकलगायत सबैलाई असर परेको उनकाे भनाइ छ । होटल व्यवसायीहरु चिनियाँ नयाँ वर्ष भनेपछि एकदमै एक्साईटेड हुने गरेकाे भएपनि यस वर्ष त्यस्तो नरहेकाे, धेरै बुकिङहरु रद्ध भईरहेको अध्यक्ष राणाकाे भनाइ। बुकिङ रद्द हुदाँ कति घाटा भयाे भन्ने अहिले नै यकिन नभएकाे उनकाे भनाइ । नोबल कोरोना भाईरसको त्रासलाई मध्यनजर गर्दै होटल संघ नेपालले आफ्ना सदस्य होटललाई कुनै पनि पाहुनामा भाईरसको संकेत देखिने बित्तिकै अस्पताल लैजानलाई पुर्वतयारी गर्न आग्रह गरेको छ । नोबल कोरोना भाईरसको कारण मंगलबारसम्म ४ सय २५ जनाको मृत्यु भईसकेको छ भने २० हजार भन्दा बढि जनामा संक्रमण भएको भेटिएको छ ।

दुई वर्षभित्र नेपालको बिजुली बङ्गलादेशले बाल्नेछः राजदूत डा. मिश्र

भौगोलिक सीमाका हिसाबले नेपाल र बङ्गलादेशको दूरी २७ किलोमिटरको छ । असल र सुमधुर सम्बन्ध भएको बङ्गलादेश र नेपालको खानपान, सांस्कृतिक वातावरण, भौगोलिक अवस्था र भाषिक शब्द धेरै मिल्दोजुल्दो छ । हरेक दृष्टिले निकट यी दुई देशबीचको जनस्तरको सम्बन्ध, आपसी सहयोग, व्यापार–व्यवसायको आदानप्रदान र पर्यटन प्रवद्र्धनलगायत विषयमा बङ्गलादेशका लागि नेपाली राजदूत डा. वंशीधर मिश्रसँग गरिएको कुराकानी नेपाल र बङ्गलादेशको सम्बन्ध कस्तो पाउनुभएको छ ? बङ्गलादेश स्वतन्त्र देशको रुपमा अस्तित्वमा आएदेखि नै हार्दिक, सुमधुर र घनिष्ठ सम्बन्ध रहिआएको छ । हामी बङ्गलादेशलाई मान्यता दिने सातौँ राष्ट्र हौँ । सन् १९७१ डिसेम्बर १६ मा स्वतन्त्र बनेको बङ्गलादेशले सन् १९७२ मै नेपालसँग दौत्य सम्बन्ध कायम गरेको थियो । दुई देशका बीचमा एकै प्रकारको सांस्कृतिक व्यवहार एकै खालको र खानपान, रीतिरिवाज मिल्दोजुल्दो छ । नेपाली र बङ्गलादेशीको भाषाका कैयौँ शब्द पनि एउटै छ । यहाँको वातावरण र भौगोलिक क्षेत्र पनि हाम्रो देशको तराईजस्तो छ । यो झण्डै २७ किलोमिटरको दूरीको सीमा रहेको देश हो, भारतमा पर्ने सडक मार्ग ३७ किलोमिटरको दूरीको छ । हामीबीच सम्बन्ध नजिक हुँदाहुँदै पनि जति भ्रमणको आदानप्रदान हुनुपर्ने हो, त्यति हुन सकेको छैन । जनस्तरको जुन सम्बन्ध हुनुपर्ने हो, जुनस्तरमा व्यापार, व्यवसाय र अन्य आदानप्रदान हुनुपर्ने हो, त्यो भएको छैन । भ्रमणको आदानप्रदान हुन नसक्नाको कारण ? समस्यारहित सम्बन्ध रहेको दुई मुलुकको बीचमा आदानप्रदान किन कमजोर भइरहेको छ भन्नेमा म आउनेबित्तिकै ध्यानाकर्षण भएको थियो । कारण खोज्दै जाँदा पहिलो कुरा कनेक्टटिभिटीकै असहजता हो भन्ने मैले ठानेको छु । हामीसँग हवाई सम्पर्क त निरन्तर छ तर पर्याप्त छैन । पहिले तीन/चार उडान थियो, केही समयमा एउटामा मात्रै सीमित भयो । अहिले बल्ल दैनिक दुई उडान छ । सत्र करोड जनसङ्ख्या भएको देशमा दुई उडानले कति जोड्न सक्छ ? सबै जना जहाजबाट जाने भन्ने कुरा सम्भव पनि हुन्न । त्यसैले सडकमार्ग उनीहरुका लागि महत्वपूर्ण हुन्छ तर उनीहरुलाई भारतीय भिसा चाहिन्छ । त्यसमा केही समस्याहरु छन् । उनीहरुलाई भारत घुम्न बहुप्रवेशाज्ञा मिल्छ तर भारतबाट नेपाल आउँदा भिसा रद्द गरिन्छ र अर्काे ट्रान्जिट भिसा लिनुपर्ने बाध्यता छ । त्यसकारण उनीहरु सीमामा पुगेर पनि फर्किएका उदाहरण छन् । दोस्रो समस्या चाहिँ बङ्गलादेश, नेपाल, भुटान र भारतसमेत बसेर २०१६ मा थिम्पुमा एउटा ‘मोटर भेइकल एग्रिमेन्ट’ गर्ने कुरा भएको थियो । यसमा भुटान पछि हटेकाले कार्यक्रम अघि बढ्न सकेको थिएन । अहिले भुटानबाहेकका तीन देश मिलेर गरौँ र गाडी चलाऔँ भन्ने भएको छ । त्यसले केही प्रगति हासिल गर्ने आशा छ । त्यसले नेपालमा पर्यटक भित्र्याउन असाध्यै सहज बनाउने छ । त्यो भयो भने बङ्गलादेशबाट नेपालमा जाने व्यक्तिको सङ्ख्या गुणत्मक रुपले वृद्धि हुने कुरामा दुई मत छैन । यससँगै अन्य कुरा पनि एकसाथ लैजानुपर्छ । अहिलेको सन्दर्भमा रेल र जलमार्गको विषय पनि महत्वपूर्ण छन् । नेपाल–बङ्गलादेशलाई रेल र जलमार्गसँग जोड्न सकिने सम्भावना पनि छ ? अवश्य छ । रेल कनेक्टिभिटीको सम्भावनालाई पनि अगाडि बढाउनुपर्छ । सम्भावना उजागर हुँदै पनि गएको छ । जोगबनीबाट विराटनगर जोड्न सकिन्छ, यो व्यवस्थापन गर्न मात्रै बाँकी हो । बङ्गलादेशको पञ्चगढबाट न्यू¬ जलपाइगुडी हुँदै हाम्रो काँकडभिट्टासम्म रेल जाँदैछ । त्यसमा जोड्न सकिन्छ । त्यस्ता अन्य ठाउँ प्नि छन्, जुन नेपालबाट नजिक छ । एउटै रेलबाट बङ्गलादेश प्रवेश गर्न सकिन्छ र मालसामान पनि लैजान सकिन्छ । त्यो ठाउँलाई जोड्ने विषयमा पनि छलफल चलिरहेको छ । सन्धिसम्झौता गरेर व्यावहारिक रुपमा कार्यान्वयन गर्न जरुरी हुन्छ । रेलवेबाहेक जल यातायात पनि सम्भावना छ । हाम्रो सबै नदी गङ्गामा मिल्छ । त्यो गङ्गा यही बङ्गलादेशको पद्मा नदी हुँदै आउँछ । भारतले गङ्गाबाट पद्मा हुँदै मङ्गला र चितगाउँ बन्दरगाह पुगेर व्यापार गरिरहेको छ । हामी पनि गङ्गामा जोडिनासाथ सहज भइहाल्यो । यसरी हवाई सम्पर्कमा पनि विराटनगर, भद्रपुरलगायत क्षेत्रीय हवाई सेवाको सञ्जाल बढाउनेतर्फ पनि हाम्रो जोड छ । सम्पर्क सञ्जालको व्यावहारिक कार्यान्वयनमा यहाँको प्रयास के छ ? हामी त्यसमा गम्भीरतापूर्वक लागेका छौँ । नेपाल भ्रमण वर्ष २०२० को शुभारम्भ गर्ने दिन जनवरी ७ मा अहिलेको रेलमन्त्री नै सहभागी हुनुहुन्थ्यो । उहाँले पनि नेपालमा रेल विभाग निर्देशक पठाउने प्रतिबद्धता जनाइसक्नुभएको छ । प्रगति होला भन्ने लागेको छ । पहल जारी छ । बङ्गालीहरु नेपाल भ्रमण गर्ने अवस्था चाहिँ कस्तो छ ? त्यति धेरै जनसङ्ख्या भएको देशमा सन् २०१८ मा झण्डै २६ हजारले मात्र भ्रमण गरेको देखियो, सन् २०१९ मा पनि त्यही हाराहारीमा छ । यो हेर्दा निकै न्यून हो । जनसङ्ख्या हेर्दा लाखमा भ्रमण हुनुपर्ने हो । नेपाल भ्रमण वर्षमा २० लाख पर्यटक भित्र्याउने लक्ष्यअनुसार यसपालि सरकारले बङ्गलादेशबाट मात्रै ७२ हजार आउँछन् भन्ने लक्ष्य राखेको छ । त्योचाहिँ कम लक्ष्य हो । हाम्रो प्रयत्न भने एक लाख नघाउने भन्ने छ । सम्पर्क सञ्जालकै समस्याले कमी देखिएको हो । उच्च वर्गका मान्छेले मात्रै हवाइजहाज रुचाउँछन् । मध्यम र सामान्य मान्छेले त सडक सञ्जाल प्रयोग गर्छन् । सतह मार्गबाट धेरैभन्दा धेरै बङ्गलादेशी जान सक्छन् । उत्तर पश्चिम रङ्गपुर र राजशाही डिभिजनमा नै चार करोड मानिस छन् । नेपालको पूर्वभाग ब¬ङ्गलादेशको नजिक रहेको क्षेत्र हो । कतिपय त एक दिनमै गएर आउन सक्ने अवस्था छ । यस्ता क्षेत्रबाट आवागमन सहज बनाएमा भ्रमण बढ्छ । नेपालीहरुचाहिँ कुन उद्देश्यले बङ्गलादेश आउने गर्छन् ? अहिलेको परिस्थितिमा नेपालबाट बङ्गलादेश आउने भनेको मेडिकल शिक्षाका लागि नै हो । उनीहरु यही चार हजारभन्दा बढी छन् । त्यसपछि कृषि र इञ्जिनीयरिङ शिक्षाका लागि छन् । बाँकी थोरै भ्रमण र व्यापार व्यवसायका छन् । नेपालबाट पनि आउने कमै छ । नेपालबाट पनि यहाँ संयुक्त लगानी हुन सक्छ । विनोद चौधरीले यहाँ चाउचाउमा लगानी शुरु गरिसक्नुभयो । यहाँका पूँजीपतिले पनि नेपालमा लगानी गर्ने सम्भावना प्रबल छ । बङ्गलादेशको प्राण कम्पनी जुस उत्पादन गर्न सिमरामा लगानीको चरणमा गइसक्यो भन्ने सुनेको छु । भ्रमण वर्ष जारी छ, बङ्गलादेशबाट पर्यटक पठाउन दूतावासको पहल कस्तो छ ? हामीले यहाँ जनवरी ७ तारिखमा भ्रमण वर्षको शुरुआत गर्यौँ । त्यसदिन यहाँका विभिन्न क्षेत्रका झण्डै ४०० मानिसलाई सहभागी गराएर भ्रमण वर्षको भव्य कार्यक्रम गर्यौँ । डिजिटल प्रस्तुति, फोटो प्रदर्शनी र सांस्कृतिक कार्यक्रम गर्यौँ । भ्रमण वर्षका लागि तीन जना बङ्गलादेशीलाई सद्भावनादूत बनाएका छौँ । उहाँहरु प्रतिष्ठित व्यक्ति हुनुहुन्छ । बङ्गलादेशबाट पहिलो पटक सगरमाथा आरोहण गर्नुभएका एमए मोहित हुनुहुन्छ । उहाँले दुईचोटि सगरमाथा आरोहण गरिसक्नुभएको छ र दुई दर्जन अन्य हिमाल चढिसक्नुभएको छ । उहाँ नेपालमा हरेक वर्ष दुई पटक टिम लिएर जानुहुन्छ । उहाँ चढेको एउटा चुचुरालाई ‘नेपाल बङ्गलादेश फ्रेन्डसिप पिक’ नै नामकरण गरिएको छ । यहाँकी प्रसिद्ध गायिका मेहरिनलाई पनि सद्भावनादूतमा नियुक्त गरेका छौँ र अत्यन्तै लोकप्रिय सिने कलाकारलाई पनि जोडेका छौँ । उहाँहरुको सहभागितामा विभिन्न ठाउँमा कार्यक्रम गर्ने योजना बनाएका छौँ । प्रवचन, प्रतियोगितात्मक कार्यक्रम गर्ने सोच छ । यहाँका १० पत्रकारलाई नेपालमा सद्भावना ट्रिपमा पनि पठाएका थियौँ । उहाँहरुले यहाँ आएर विभिन्न पत्रपत्रिकामा लेख, समाचार लेखिरहनुभएको छ । अर्काे कुरा, विभिन्न छोटा डकुमेन्ट्री बनाएर प्रदर्शन गर्ने सोच पनि बनाएका छौँ । गत कात्तिकमा बङ्गलादेशका राष्ट्रपनि मोहम्मद अब्दुल हमिदले नेपालको औपचारिक भ्रमण गर्नुभएको थियो, उक्त भ्रमणलाई यहाँका नागरिकले कसरी लिएका छन् ? त्यसलाई यहाँका मानिसले असाध्यै महत्वपूर्ण र सकारात्मक रुपमा लिएका छन् । बङ्गलादेशको राष्ट्रप्रमुख नेपाल नगएको ३७ वर्ष भएको रहेछ । उहाँको भ्रमणले एउटा ‘आइसब्रेक’ नै भएको छ । उहाँले पोखरा, भक्तपुरलगायत ठाउँ पनि घुम्नुभयो । यसले राम्रो वातावरण बनाएको छ । भ्रमणले बङ्गलादेशलाई ठूलो प्रभाव पारेको छ र नेपाल घुम्ने चाहना जागेर आएको पाइएको छु । भ्रमणले बङ्गलादेशी जनतामा नेपालप्रतिको अभिरुचि र नेपाल घुम्ने चाहना जगाउने, नेपालप्रतिको आकर्षण बढाउने काम गरेको छ । हाम्रो भ्रमण निरन्तर भइरहनुपर्छ । त्यसको कडीको रुपमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली यही फेब्रुअरीमा यहाँ आउँदै हुनुहुन्छ । भविष्यमा सभामुखलाई पनि निम्तो जाँदै छ । यहाँका राष्ट्रपिताको जन्मशताब्दी समारोहमा भाग लिनका लागि सभामुखलाई निम्तो गरिएको छ । त्यसकारण उच्चस्तरीय भ्रमण बाक्लिने अवस्था बनेको छ । यसले हाम्रो सम्बन्धलाई उचाइमा पुर्याउने विश्वास छ । केही देखिएका समस्या समाधान गर्दै फड्को मार्ने गरी अगाडि बढ्नु पर्नेछ । समस्या भन्नाले ? अहिले हामीले गर्नुपर्ने चार कुराहरु छन् । अघि भनेजस्तै मुख्यतः कनेक्टिभिटी हो । दोस्रो भनेको व्यापार हो । त्यो व्यापारमा पहिलो नम्बरमा ऊर्जा हो । हामी बङ्गलादेशलाई ‘ग्रिन इनर्जी’ दिन सक्छौँ, नवीकरणीय ऊर्जा दिने भनेको जलविद्युत् हो । त्यसमा उहाँहरुको लगानी प्रवद्र्धन गर्ने, संयुक्त लगानी गर्ने या हामीले उत्पादन गरेको विद्युत्लाई बङ्गलादेश पठाउने र एउटा प्रसारण लाइन बनाउने भन्ने महत्वपूर्ण विषय हो । त्यो विषय नजिक पुगेको छ, धेरै सम्झौता भएको छ । भारतले पनि मञ्जूर गरिसकेको छ । तेस्रो भनेको पर्यटन हो । भिसा र कनेक्टिभिटीको समस्या समाधान गर्दै प्रचारप्रसारका कार्यक्रम गर्नुपर्ने मुख्य विषय छ । अर्काे भनेको नियमित भ्रमण र सम्बन्ध आदानप्रदान जरुरी छ । बङ्गलादेश प्रविधिमा धेरै अघि बढिसकेको छ, त्यसलाई पनि प्रयोग गर्न सक्नुपर्छ । त्यसबाहेक वस्तु व्यापार हो । नेपालमा भएका धेरै कुरा चिया, कफी अम्रिसो, अदुवा, अलैँची, दालचिनी, दाल, फलफूल तरकारी, धागो पनि सप्लाई गर्न सक्छौँ । धागोको असाध्यै माग छ यहाँ । चीनबाट यहाँ ल्याइरहेका छन् । यस्ता वस्तु निर्यातमा पनि केही समस्या छन् । त्यसका लागि व्यापार सम्झौता (पिटिए) गर्न कुराकारी चलिरहेको छ । अनि विकास गर्न सहकार्यात्मक अवधारणा अघि बढ्नुपर्ने जरुरी छ । बङ्गलादेशले नेपालको ऊर्जा किन्ने विषय कहाँ पुग्यो ? नेपाल बङ्गलादेशबीच सबैभन्दा प्रगति भएको क्षेत्र नै ऊर्जा हो । विगतमा यसमा केही समस्या थिए जस्तै भारत भएर हामी ल्याउने कसरी ? त्यसका लागि भारतसँग लामो छलफल भयो । भारतले अन्ततः दुई वटा कुरा मञ्जूर गरिसकेको अवस्था छ । हाम्रो डेडिकेटेड विद्युतीय प्रसारण लाइन बनाउने कुरा महत्वपूर्ण थियो । त्यसमा भारतले मञ्जूर गरिसकेको छ । अनि विद्युत् प्रवाह गर्न दिन पनि उनीहरु तयार भएका छन् । यो ठूलो उपलब्धि र सकारात्मक कुरा हो । धेरै छलफलपछि बङ्गलादेशले नेपालमा जलविद्युत्को क्षेत्रमा लगानी गर्ने र बिजुली किन्ने लिखितै सम्झौता भएको छ । खाली कुनकुन लिने, कसले लिने र कसले लगानी गर्ने भन्ने व्यवहारमा प्रयोग गर्न मात्रै बाँकी छ । त्यसमध्ये एउटा भारतीय जलविद्युत् कम्पनीले बनाइरहेको नेपालको विद्युत् परियोजनाबाट ५०० मेगावाट बङ्गलादेशले किन्ने भनेर अर्काे सम्झौता पनि भइसकेको छ । विद्युतीय आदानप्रदानको कुरा निकै अगाडि बढेको छ । व्यवहारमा कार्यान्वयन गरेको देख्न सक्ने अवस्था बनेको छ । नेपालको विद्युत् यस वर्षदेखि बङ्गलादेशले प्रयोग गर्छ भन्न सकिने अवस्था छ ? ठ्याक्कै भन्न सकिने अवस्था त छैन तर म के देख्छु भने दुई वर्षभित्रमा केही मात्रामा भने पनि नेपालबाट बङ्गलादेशमा विद्युत् पुगिसकेको हुन्छ । नेपालका विभिन्न जलविद्युत् आयोजनाले उत्पादन गरेको केही विद्युत् बङ्गलादेशमा सप्लाई भएको देख्न सक्छौँ । त्यसबीचमा धेरै लगानी पनि भइसकेको हुन्छ । त्यो सम्भावना नजिक बनेको छ । नेपालमा अघिल्लो वर्ष लगानी सम्मेलन भयो, त्यसले यहाँका व्यवसायीलाई आकर्षण गराउन सक्यो कि सकेन ? लगानी सम्मेलनले सकारात्मक वातावरण तयार पारेको छ । त्यसको प्रचारप्रसार जरुरी छ । नेपालभित्र संयुक्त लगानी लगाउने, एकल लगानी लगाउने वातावरण छ, सहयोग गर्छौं भनेका पनि छन् । सम्भावना नजिक रहेको महसुस गरेको छु । लगानी गर्न व्यवसायी पनि इच्छुक नै रहेको मैले पाएको छु । व्यापार अभिवृद्धि हुने आशा छ । बङ्गलादेशी व्यापारीको लगानीको प्राथमिकता कुन क्षेत्रमा छ ? वास्तवमा बङ्गलादेशी जलविद्युत्को क्षेत्रमा नै बढी आकर्षित देखिएका छन् । दोस्रो कुरा केही अझै अध्ययनको चरणमै छन् । जुस निर्माण गर्ने, केही बिस्कुट, एग्रोबेस उत्पादन गर्ने रुचि पनि देखिन्छ । नेपालमा कुन क्षेत्रमा लगानी गर्दा राम्रो हुन्छ भन्ने उनीहरु अझै डिसिजनमा पुगिसकेका छैनन् तर प्राथमिकता ऊर्जामा नै छ । भेटिएका केही विद्यार्थीले नेपालबाट पैसा ल्याउन समस्या भएको गुनासो गरेका छन्, तपाईलाई कतिको जानकारी छ ? त्यस्ता केही समस्या छन् । त्यसबारेमा हामीले कुरा गरिरहेका छौँ । यहाँका टुर अपरेटरहरुले पैसा पठाउने कुरा, बैंकिङ प्रणालीबाट पैसा आदानप्रदान गर्ने कुरामा समस्या छन् । यसमा हामी गम्भीर छौँ । समस्या हल गर्न पहलकदमी भइरहेको छ । त्यस्तै भिसाका कुरा छन् । विद्यार्थीलाई शुरुमा छ महिना मात्रै भिसा दिइन्थ्यो । त्यो हल भइसकेको छ । एकै पटक चार वर्षको दिने भन्ने कुरा भएको छ । त्यसबाहेक अन्य केही सानातिना समस्या छ । हल गर्ने प्रयत्न छ । नेपालले बङ्गलादेशबाट सिक्नुपर्ने कुरा के देख्नुहुन्छ ? असाध्यै महत्वपूर्ण प्रश्न गर्नुभयो । बङ्गलादेश कुनै जमानामा अनिकालग्रस्त थियो । मानिसको मृत्यु कहालीलाग्दो थियो । यहाँ बाढी, समुद्री आँधीले सधैँ सताउँछ । त्यसैले विपद् व्यवस्थापनका लागि छुट्टै मन्त्रालय बनाइएको छ । यस्तो देश खाद्यान्नमा आत्मनिर्भर भएर अब निर्यात गर्न थालेको छ । अविकसित राष्ट्रबाट मध्यम आय भएको देशमा उक्लिसकेको छ । हामी नेपालीले पहिलो सिक्नुपर्ने यही हो । यहाँ तीन बाली धान हुन्छ । हाम्रोमा किन हुँदैन ? तराईमा त होला नि । तपाईं अहिले पनि बङ्गलाबन्दको सीमानाका जानुभयो भने नेपालमा भारीका भारी मकै र आलु गइरहेको छ । कृषिमा उनीहरु कसरी फड्को मारे, त्यो हामीले सिक्नुपर्छ । मचान बनाएर माथि तरकारी तल माछा पालिरहेका छन् । प्रविधिको प्रयोग गरेर काम गरिरहेका छन् । ‘डिजिटल बङ्गलादेश’को स्लोगन बनाएर काम गरिरहेका छन् । आफ्नै स्याटलाइट ‘बङ्गबन्धु स्याटलाइट एक’ बनाइसके । यहाँका टेलिभिजनले आफ्नै देशको स्याटलाइट प्रयोग गर्ने भनेर कानून नै बनाइसक्यो । व्यावहारिक प्रविधिले कसरी यहाँको सामाजिक परिवर्तनमा भूमिका खेल्यो भनेर सिक्न सक्छौँ । शैक्षिक र अनुसन्धानको तहमा आदानप्रदान गरेर एक अर्काबाट सिक्न सकिन्छ ।रासस

गोर्खाज फाइनान्सको नाफा ६ करोड माथि, खराब कर्जा घट्याे

काठमाडौं । गोर्खाज फाइनान्सले चालु आर्थिक वर्ष(आव)को प्रथम ६ महिनामा ६ करोड १२ लाख रुपैयाँ नाफा आर्जन गरेको छ । जुन अघिल्लो आवको तुलनामा करिब तीन लाख रुपैयाँले बढी हो । गत वर्षको पहिलो ६ महिना अर्थात पुस मसान्तसम्ममा संस्थाले ६ करोड ९ लाख रुपैयाँ नाफा गरेको थियो । पुस मसान्तसम्ममा संस्थाले ६ अर्ब ६७ करोड रुपैयाँ निक्षेप संकलन गरेको छ । त्यस्तै, गत आवको दोश्रो त्रैमासमा ५ अर्ब १३ करोड रुपैयाँ कर्जा परिचालन गरेको संस्थाले चालु आवको सो अवधिसम्म ५ अर्ब ७३ करोड रुपैयाँ कर्जा परिचालन गरेको छ । संस्थाको कर्जा निक्षेप अुनपात (सीडी रेसियो) बढेर ७६.८३ प्रतिशत पुगेको छ । जुन गत आवको ६ महिनामा ६९.५३ प्रतिशत रहेको थियो । क्यापिटल एडिक्वेसी १६.८२ प्रतिशत छ । त्यस्तै, फाइनान्सको खराब कर्जा(एनपीएल) ४.३२ प्रतिशतबाट ४.२६ प्रतिशतमा झरेको छ । जुन घट्नु फाइनान्सको लागि राम्रो हो । यस फाइनान्सको प्रतिसेयर आम्दानी १४.११ रुपैयाँ छ । प्रतिसेयर नेटवर्थ बढेर १६७ रुपैयाँ पुगेको छ । प्रतिसेयर कुल सम्पत्तिको मूल्य ९६९ रुपैयाँ छ । वित्तीय परिसूचकहरु समग्रमा राम्रै देखिए पनि बजारमा यस फाइनान्सको सेयर मूल्य प्रतिकित्ता १२२ रुपैयाँ मात्र छ । संस्थाको आधार दर(बेस रेस) घटेर १२.७६ प्रतिशतमा झरेको छ । जुन २०७५ पुस मसान्तमा १२.९९ प्रतिशतमा थियो । त्यस्तै, गत आवको सोही अवधिमा ४.९३ प्रतिशत रहेको संस्थाको स्प्रेड दर बढेर ५.७८ प्रतिशत पुगेको छ ।

साढे सात लाख बालबालिका विद्यालयको पहुँच बाहिर

काठमाडाैं । युनिसेफका अनुसार नेपालले दिगो विकास लक्ष्य हासिल गर्नेसम्बन्धी राष्ट्रिय प्रतिवेदनमा उल्लेखनीय प्रगति गरे पनि धेरै बालबालिका र किशोरकिशोरी अझै पनि स्वच्छ पानी, स्वास्थ्य सेवा, पोषणयुक्त खाना तथा विद्यालयको पहुँचबाट टाढा छन् । पाँचदेखि १२ वर्ष उमेर समूहका करिब सात लाख ७० हजार बालबालिका विद्यालयको पहुँचभन्दा बाहिर रही आधारभूत शिक्षा पाउनबाट वञ्चित छन् । युनिसेफ जर्मनीका संरक्षक एल्के बुडेनबेन्डरले नेपाल भ्रमणका क्रममा यहाँका बालबालिकाको स्थिति र त्यसको दिगो समाधानका लागि युनिसेफले चालेको कदमका बारे जानकारी लिएका छन् । यही माघ २० देखि २४ गतेसम्म नेपाल भ्रमण गर्दै रहेका उनले ललितपुरका विद्यालय, युवा क्लब र समुदायका बालबालिकालाई भेटी तिनको दैनिक जीवनमा आउने चुनौतीको सामना गर्ने तरिकाबारेमा जानकारी लिएकाे युनिसेफ नेपालका सञ्चार विशेषज्ञ शर्मिना मानन्धरले जानकारी दिएकी छन् । उनले प्राकृतिक प्रकोपको प्रभाव कम गर्न समुदायहरूले आफूलाई सुदृढ बनाउन गरेका प्रयासका बारे पनि जानकारी लिनेछिन् । सङ्घीय गणतन्त्र जर्मनीका राष्ट्रपति फ्य्रान्क वाल्टर स्टेइनमेयरकी श्रीमती एल्के बुडेनबेन्डरले स्वास्थ्य सेवा र शिक्षाको पहुँच, उच्च गरिबी र प्राकृतिक प्रकोपको उच्च जोखिमजस्ता थुप्रै संरचनात्मक चुनौती तथा नेपालको बाल अधिकार तथा दिगो विकास लक्ष्यसम्बन्धी विषयमा पनि जानकारी लिएको जनाइएको छ । पाँचमध्ये दुई महिलाले १८ वर्षभन्दा पहिले नै विवाह गर्छन् । पाँच वर्षमुनिका ३६ प्रतिशत बालबालिका गरीबीको रेखा मुनि छन् । युनिसेफले नेपालमा सबै बालबालिका, विशेष गरी सीमान्तकृत र विपन्न वर्गका लागि पाँच दशकभन्दा बढीदेखि विभिन्न कार्यक्रम गर्दै आएको जनाइएको छ ।रासस

दुई महिनामा २० करोडका स्काभेटर नष्ट, सुरक्षाकाे माग गर्दै निर्माण व्यवसायी सिँहदरवारमा

काठमाडौं । माघ १० गते मोरङको मिक्लाजुङ गाउँपालिका अन्तर्गतको आइतेबारीमा तीन स्काभेटरमा आगजनी गर्दा ३ करोड ५० लाख रुपैयाँको क्षति भयो । सोही दिन झापाको सेतुमारीमा पनि अज्ञात समूहको आगजनीबाट शर्मा एण्ड कम्पनीको स्वामित्वमा रहेको एक स्काभेटरमा पूर्ण क्षति र अर्कोमा आंशिक क्षति भयो । यस्तै, मध्यपहाडी लोकमार्ग अन्तर्गत भोजपुरको दिक्तेल सडकखण्डमा निर्माण कार्य गरिरहेका गोल्डेन ग्रुपको स्वामित्वमा रहेको ४ थान स्काभेटरमा आगजनी हुँदा करिब ४ करोड रुपैयाँ बराबरको क्षति भयो । यी त केही उदाहरण मात्र हुन् । पछिल्लो दुई महिनाको अवधिमा निर्माण व्यवसायीका २० स्काभेटरमा अज्ञात समूहबाट आगजनी भएको छ । नेपाल निर्माण व्यवसायी महासंघका अनुसार २० वटा स्काभेटरमा भएको आगजनीबाट करिब २० करोड रुपैयाँ क्षति भएको हो । नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले छोटो समयमा यति धेरै स्काभेटरमा आगजनी हुनु निर्माण व्यवसाय र समग्र देशका लागि सुखद नभएको बताए । ‘देश निर्माणको अभियानमा जुटेका निर्माण व्यवसायीलाई प्राेत्साहन गर्नुका साटो उल्टै डर धम्की र त्रासको वातावरण छ, आयोजना निर्माणका लागि फिल्डमा राखेका सामाग्रीमा आगजनी गरेर कसरी देश निर्माण हुन्छ,’ उनले भने । पूँजीगत वर्ष तर्फको राष्ट्रको बजेटको करिब ६५ प्रतिशत खर्च गर्ने निर्माण क्षेत्रलाई अझ बढी जिम्मेवार, जवाफदेही, अधिकार र कर्तव्यको सुनिश्चितता गरी व्यवस्थित नबनाईदासम्म यो क्षेत्रको विकास सम्भव नभएको उनको भनइ छ । यसरी निर्माण व्यवसायीहरुको सामाग्रीहरुमा पटक– पटक आगजनी र डर धम्कीले निर्माण व्यवसायी त्रसित भएको सिंहले बताए । निर्माण उद्याेग र तिनका उपकरणहरुमाथि आगजनी तथा बम विस्फोटन भएकाे उद्योगीहरूले बताउँदै उनले व्यवसायीहरुलाई शान्ति सुरक्षा र उचित क्षतिपूर्तिको लागि सम्बन्धित निकायहरुमा पहल गर्नका लागि विकास तथा प्रविधि समितिसामु आग्रह समेत गरेका छन् । देशभरका करिब १५ हजार भन्दा बढी निर्माण व्यवसायीहरु रहेको महासंघलाई यसरी विभिन्न कारणले त्रसित गर्नु उचित नभएको बताउँदै उनले निर्माण व्यवसायीबिना देशको समृद्धि असम्भव रहेको बताए । यसरी निर्माण व्यवसायीहरुको सामाग्रीहरुमा पटक– पटक आगजनी र डर धम्कीले निर्माण व्यवसायी त्रसित भएको सिँहले बताए । निर्माण उद्योगीहरुका र तिनका उपकरणहरुमाथी आगजनी तथा बम विस्फोटन उद्योगीहरूको भएको बताउँदै उनले व्यवसायीहरुलाई शान्ति सुरक्षा र उचित क्षतीपूर्तीको लागि सम्बन्धीत निकायहरुमा पहल गर्नका लागि विकास तथा प्रविधि समितिसामु आग्रह समेत गरेका छन् । देशभरका करिब १५ हजार भन्दा बढी निर्माण व्यवसायीहरु रहेको महासंघलाई यसरी विभिन्न कारणले त्रसित गर्नु उचित नभएको बताउँदै उनले निर्माण व्यवसायीबीना देशको समृद्धि असम्भव रहेको बताए । सरकारसँग सुरक्षाको माग नेपाल निर्माण व्यवसायी महासंघले सरकारसमक्ष सुरक्षाको माग गरेको छ । मंगलबार महासंघका अध्यक्ष रवि सिँहसहितको समूहले विकास तथा प्रविधि समितिकी सभापति कल्याणी कुमारी खड्कालाई सुरक्षाको माग गरेका हुन् । निर्माण व्यवसायीहरुलाई अज्ञात समूहले पटक– पटक फोन गरेर डर त्रास र धम्की दिने र निर्माण सामग्रीहरु जलाउने काम भइरहेकोले यसको क्षतिपूर्तिसहित सुरक्षाको माग गरिदिन आग्रह गरेका हुन् । उनीहरुले सभापति खड्कासमक्ष निर्माण व्यवसयीले भोग्दै आएका समस्या र निर्माण कार्य गर्दा व्यहोर्नु पर्ने कानुनी अवरोधहरुसमते जानकारी गराएका छन् । उनीहरुले निर्माण व्यवसायीलाई काम गर्न केही अ नीति नियमहरुले अवरोध गरेकोले यसमा सहज वातावरण गर्नका लागि विकास तथा प्रविधि पहल गरिदिन आग्रह गरेका छन् । महासंघले नेपाल सरकारलाई २३ बुँदे राय सुझावसहितको २३ बुँदे पत्र हस्तान्तरण गरेको छ । निर्माण व्यवसायीलाई फिल्डमा काम गर्न असहज भएकोले विभिन्न नियम कानुनहरु संशोधनको माग गर्नका लागि खडकालाई ती ऐन कानुनम सहज पार्नका लागि पहल गरिदिन आग्रह गरेको छ । २३ बुँदे राय तथा सुझाव पत्र बुझ्दै खड्काले देश निर्माणमा खटेका निर्माण व्यवसायीको हितका लागि आफु सकरात्मक भएको बताइन् । तर, निर्माण व्यवसायीहरुको पनि धेरै ठाउँमा गगत भएकाले यसलाई सुधार्नु पर्ने बताइन् । ‘आयोजना निर्माणमा कमसल सामाग्रीको प्रयोग भुलवस मात्र भएको छैन, निर्माण व्यवसायीकै मिलोमतोमा पनि यस्तो काम भइरहेको छ, यो प्रवृतिलाई सुधार्न आवश्यक छ,’ सभापति खड्काले भनिन् । सभापति खड्काले निमार्ण व्यवसायीले प्रयोग गर्ने सामानमा गुणस्तरियता हुनु पर्ने बताइन् । निर्माण कार्यमा कमसल सामाग्री प्रयोग गर्ने व्यवसायीलाई कालोसूचिबाट हटाउन नसकिने उनकाे भनाइ छ ।   ।

पानीको गुणस्तर नाप्न सञ्चालनमा आयाे वाटर एम्बुलेन्स

रत्ननगर । क्षेत्रीय पानी परीक्षण प्रयोगशाला भरतपुरले ‘वाटर एम्बुलेन्स’ सेवा सञ्चालनमा ल्याएको छ । आपत्कालीन अवस्थामा पानीको गुणस्तर नाप्नका लागि अत्याधुनिक उपकरण जडान भएको वाटर एम्बुलेन्स सेवा सञ्चालनमा ल्याइएको हो । युनेसेफ र खानेपानी विभागको संयुक्त लगानीमा एम्बुलेन्स खरिद गरिएको क्षेत्रीय पानी परीक्षण प्रयोगशाला भरतपुरका केमिष्ट योगेन्द्रनारायण देवले जानकारी दिए । पानी परीक्षण गर्न आवश्यक उपकरण भएको एम्बुलेन्सलाई करिब रु ५० लाख परेको उनले बताए । असोज महिनादेखि कार्यालयले पानी परीक्षणका लागि घुम्ती सेवा शुरु गरेकाे थियो । अहिलेसम्म धादिङ, मकवानपुर, माडी, खैरहनीलगायत स्थानमा लगेर स्थलगत रुपमा पानीको परीक्षण गरिएको देवले बताए । महामारी हुँदा प्रभावित क्षेत्रहरुमा लगेर पानीको परीक्षण गर्न यस एम्बुलेन्सले सहयोग पुग्ने उनको विश्वास छ । विशेषगरी दैवी प्रकोपका घटनाको समयमा पानीको स्थलगत परीक्षण गरी गुणस्तर कायम राख्नका लागि सहयोग पुग्ने देवले बताए ।  कसैले पानी परीक्षण गर्न आउनुपर्यो भनेको खण्डमा  तुरुन्तै गएर पानीको परीक्षण गर्न सक्ने जानकारी दिए । वाटर एम्बुलेन्स आएपछि टाढा टाढा गएर पानीको परीक्षण गर्न सहज भएको उनले बताए । स्थलगत पानी परीक्षण गरेपछि तत्कालै पिएच, पारा, इसी, एफआरसीलगायत छवटा पानीका पारामितिहरुको नतिजा दिने गरिन्छ । यस्तै अन्य पारामितिहरुको नतिजा चौबिस घण्टाभित्र दिने गरिएको देवले जानकारी दिए । घुम्ती सेवाका लागि एकजना केमिष्ट र चालक खटिने गरेका छन् । रासस

डण्डीको मूल्य बढाएपछि उद्योगीसँग सरकारले माग्यो प्रष्टिकरण

काठमाडौं । बाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग डण्डीको मूल्य किन बढ्यो भन्दै नेपाल फालामे डण्डी उत्पादक संघलाई पत्र काटेको छ । विभागले संघलाई कटेको पत्रमा के–के कारणले मूल्य वृद्धि भएको भनेर उपस्थित भई कारणसहित पेश गर्न निर्देशन दिएको छ । बाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका प्रवक्ता नोखबहदुर बस्यालले संघलाई पत्र काटिएको जानकारी दिए । ‘संघले सरोकारवाला कुनै निकायसँग पनि सल्लाह नै नगरी आफ्नै तरिकाले डण्डीको मूल्य वृद्धि गरेको छ, के कारणले डण्डीको मूल्य वृद्धि भएको हो भनेर हामीले पत्र काटेका छौं’, बस्यालले भने । नेपाल फामे डन्डी उत्पादक संघका अध्यक्ष शाहिल अग्रवालले विभागबाट पत्र आएको बताए । अन्तराष्ट्रिय बजारमा कच्चा पदार्थको मूल्य वृद्धि भएको कारण मूल्य बृद्धि गर्नु परेको अध्यक्ष अग्रवालको भनाइ छ । ‘अन्तराष्ट्रिय बजारमा कच्च पदार्थको मूल्य बढेको छ, त्यसैले हामीले डण्डीमा प्रतिकेजी ७ देखि १० रुपैंयासम्म मूल्य वृदि गरेका हौं,’ अग्रवलाले भने । नेपालमा ठूला डण्डी उद्योगहरुमा मात्रै १ खर्बको लगानीमा ३७ वटा उद्योगहरु सञ्चालनमा छन् । अहिले सञ्चालनमा रहेका अधिकांश उद्योग नोक्सानीमा रहेको उद्योगीको भनाइ छ । भूकम्पपछिको पुननिर्माणका लागि निर्माण सामग्रीको माग उच्च भएपछि नेपालमा फलामे डण्डी उत्पादन बढेको थियो । नयाँ कम्पनी स्थापना पनि भएका थिए । तर, विगत २ वर्षयता भने नयाँ उद्योग स्थापना भएका छैनन् । एउटा उद्योग संचालन गर्न कम्तिमा पनि ४ करोड रुपैयाँ लाग्ने उद्योगीको भनाइ छ । भारतका फलाम खानी संचालक र भारतीय सरकारबीचको विवादले नेपालमा फलामे डण्डीको मूल्य बढेको उद्योगीको भनाइ छ । भारतीय फलाम खानीले लामो समयदेखि रोयल्टी नबुझाएकोले विवाद बढेको हो । रोयल्टी तिर्न खानी संचालकलाई भारत सरकारले दबाब दिइरहेको छ । तर, कतिपय खानी संचालकले रोयल्टी तिर्न नसक्ने भन्दै खानी नै बन्द गरेका छन् । भारतीय फलाम खानीले १६ हजार करोड भारुभन्दा बढी रोयल्टी तिर्न भारत सरकारलाई बाँकी रहेको बताइएको छ ।