हिमालयन रिइन्स्योरेन्सलाई वैदेशिक रोजगार बीमा पुलको प्रबन्धकको जिम्मेवारी
काठमाडौं । हिमालयन रिइन्स्योरेन्स कम्पनी लिमिटेडले वैदेशिक रोजगार जीवन बीमा पुलको प्रबन्धकका रूपमा काम गर्ने जिम्मेवारी पाएको छ । नेपाल बीमा प्राधिकरणले सामूहिक बीमा कोष तथा खाता सञ्चालन र व्यवस्थापनको जिम्मेवारी हिमालयन रिलाई दिएको प्राधिकरणका सूचना अधिकारी निर्मल अधिकारीले बताए । गत चैत ४ गते प्राधिकरणमा भएको छलफलपछि दुवै पुनर्बीमकबीच आपसी सहमतिमा वैदेशिक रोजगार बीमालेखबापत प्राप्त रकम जम्मा गर्ने कोष तथा खाता हिमालयन रिलाईले सञ्चालन गर्ने निर्णय भएको उनले जानकारी दिए । वैदेशिक रोजगार म्यादी बीमा पुल सञ्चालनसम्बन्धी निर्देशन २०८१ को दफा ५ अनुसार, प्रत्येक पुनर्बीमक कम्पनीले चार–चार वर्षका लागि पालैपालो कोष प्रबन्धकको रूपमा काम गर्नुपर्ने व्यवस्था रहेको छ । सोही निर्देशिकाअनुसार अबको ४ वर्षका लागि हिमालयन रिइन्स्योरेन्सलाई जिम्मेवारी दिइएको हो । प्राधिकरणले जीवन बीमक र अन्य पुनर्बीमकहरूलाई उक्त निर्णयअनुसार आवश्यक कार्य गर्न निर्देशन समेत दिएको छ । यस कदमले वैदेशिक रोजगारीमा जाने श्रमिकको बीमा प्रणालीलाई अझ व्यवस्थित, पारदर्शी र प्रभावकारी बनाउने अपेक्षा गरिएको छ ।
माछापुच्छ्रे बैंक र अल मुजैनी एक्सचेन्जबीच सम्झौता, कुवेतबाट नेपाल पैसा पठाउन सहज
काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडले कुवेतस्थित अल मुजैनी एक्सचेन्जसँग औपचारिक रेमिट्यान्स सेवा सम्झौता गरेको छ । बैंकले कुवेतमा रहेका नेपालीहरूले नेपालमा सहज रूपमा पैसा पठाउन सकून् भन्ने लक्ष्यका साथ सो सम्झौता गरेको हो । बिहीबार कुवेतको होटल मिलेनियम साल्मियामा आयोजित एक औपचारिक कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत सीईओ सन्तोष कोइराला र अल मुजैनी एक्सचेन्जका महाप्रबन्धक ह्युज फरनेडबीच सम्झौतापत्रमा हस्ताक्षर गरिएको हो । कार्यक्रममा बैंकका अध्यक्ष रोशन केसी, कुवेतस्थित नेपाली दूतावासकी कार्यवाहक राजदूत सुजनी राणा, गैरआवासीय नेपाली संघ कुवेतका अध्यक्ष रणध्वज लामा, विभिन्न संघसंस्था र पत्रकारसहित दर्जनौं नेपालीहरूको उपस्थिति रहेको थियो । त्यस अवसरमा माछापुच्छ्रे बैंकले आफ्नै कभर गीत पनि सार्वजनिक गर्यो । गीतको रचना पूर्व सञ्चालक हरिभक्त सिग्देलले गरेका हुन् भने सार्वजनिक कार्य बैंक अध्यक्ष केसी र राजदूत राणाले संयुक्त रूपमा गरे । यस सम्झौतासँगै अब कुवेतभर रहेका १४५ शाखाबाट पठाइएको रकम नेपालमा माछापुच्छ्रे बैंकका १६५ शाखा, ९९ शाखारहित बैंकिङ सेवा केन्द्र, ११ एक्सटेन्सन काउण्टर तथा २० हजारभन्दा बढी रेमिट्यान्स एजेन्टमार्फत सजिलै भुक्तानी लिन सकिनेछ । साथै, पठाइएको रकम नेपालका जुनसुकै बैंक खातामा तुरुन्तै जम्मा हुने व्यवस्था पनि गरिएको छ । माछापुच्छ्रे बैंकले यो सहकार्यसँगै विदेशमा रहेका नेपालीहरूलाई थप सहज र विश्वसनीय सेवा दिन प्रतिबद्ध रहेको जनाएको छ ।
नेपालमा एमसीसी परियोजना नरोकिने
काठमाडौं । अमेरिकी अनुदान सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) परियोजना नेपालमा नरोकिने भएको छ । नेपालसहित चार मुलुकमा एमसीसी परियोजना नरोकिने अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले जनाएको छ । एमसीसी सम्झौता भएर काम पनि सुरु भइसकेका नेपालसहित सेनेगल, मंगोलिया र आइभोरी कोस्टमा परियोजना बन्द नहुने भएको हो । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका सल्लाहकार एलन मस्क नेतृत्वको सरकारी दक्षता विभाग (डोज)ले खर्च कटौतीका लागि एमसीसी परियोजना बन्द गरिने भनेर एमसीसीका कर्मचारीहरूलाई इमेलमार्फत जानकारी गराएको थियो । गत चैत ८ गते एमसीसी अन्तर्गतका सबै काम रोक्न नपर्ने गरी अमेरिकी सरकारले पत्र नै पठाएको थियो । एमसीसीअन्तर्गत नेपालसहित विभिन्न २० देशहरूमा विभिन्न काम गर्दै आइरहेकोमा चार देशबाहेकका अरू मुलुकहरूमा भने परियोजना रोक्न भनिएको हो । नेपालमा एमसीसीबाट प्राप्त हुने ५० करोड डलरमध्ये ३९ करोड ८० लाख डलर विद्युत प्रसारण लाइन निर्माणमा खर्च गर्ने योजना थियो । यसअन्तर्गत ठेक्का प्रक्रियासमेत भइसकेको छ । सन् २०१७ मा नेपाल र अमेरिकाले हस्ताक्षर गरेको एमसीसी कम्प्याक्टलाई नेपालको प्रतिनिधिसभाले सन् २०२२ मा अनुमोदन गरेको थियो । सम्झौताको सर्तअनुसार परियोजना कार्यान्वयन सुरु भएको ५ वर्षभित्र एमसीसीअन्तर्गतका आयोजना सम्पन्न नभए त्यसअन्तर्गत प्रतिबद्धता जनाइएको बाँकी रकम आउन बन्द हुन्छ र बचेको सहायता रकम फिर्ता जान्छ । तसर्थ नेपाललाई यसअन्तर्गत रहेका आयोजनाहरू सन् २०२८ को अगस्तभित्र पूरा गर्नुपर्ने समय सीमा छ । पूर्वराष्ट्रपति जर्ज डब्लु बुसले २००४ मा एमसीसी स्थापना गरेका थिए । ट्रम्प प्रशासनले करिब ४० अर्ब डलर वार्षिक सहायता वितरण गर्ने यूएसएडलाई पनि विघटन गरिसकेको छ।
सूर्यज्योतिले मनायो १७ औं वार्षिकोत्सव, १५ वर्षभन्दा बढी सेवा गर्ने कर्मचारीहरूलाई सम्मान
काठमाडौं । नेपालमा पहिलोपटक सफल मर्जरको अभ्यास गर्दै इतिहास रचेको सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो १७ औं वार्षिकोत्सव भव्य रूपमा सम्पन्न गरेको छ । उक्त अवसरमा कम्पनीका अध्यक्ष, सञ्चालकहरू, निवर्तमान सञ्चालकहरू, प्रमुख कार्यकारी अधिकृत, उच्च व्यवस्थापन टिम, विभागीय प्रमुखहरू तथा १५ वर्षभन्दा बढी सेवा गरेका २१ जना कर्मचारीहरूलाई सम्मान गरिएको थियो । कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत प्रकाश विक्रम खत्रीले १७ वर्षको सफल यात्रामा कम्पनीले हासिल गरेको वित्तीय बल, विश्वसनीयता तथा उत्कृष्ट सूचकहरूको उपलब्धिका लागि आभार व्यक्त गरे । साथै, कम्पनीले अपनाउँदै आएको नविनतम प्रविधि र समय सापेक्ष ग्राहकमैत्री सेवाप्रति आफ्नो प्रतिबद्धता पुनः दोहोर्‍याए । प्रमुख कार्यकारी अधिकृत खत्रीले आगामी दिनमा कम्पनीलाई अझ बृहत् र विशाल बनाउँदै अगाडि बढ्ने दृढ संकल्प व्यक्त गरे। साथै, कर्मचारीहरूको हकहित, सिप तथा व्यक्तित्व विकास कम्पनीको प्रमुख प्राथमिकता भएको उल्लेख गर्दै उनले सूर्यज्योतिमा कर्मचारीहरूले पारिवारिक वातावरणको अनुभव गर्ने बताए । कम्पनीको आर्थिक प्रगति, दीर्घकालीन योजना, नवीनतम सेवाको विस्तार र सेवा गुणस्तर सुधारमार्फत ग्राहकहरूको जीवनमा सुरक्षाको प्रत्याभूति दिलाउने प्रतिबद्धता समेत उनले जाहेर गरे। यस आर्थिक वर्षको अन्त्यसम्म हालसम्मकै उत्कृष्ट व्यवसाय गरी इतिहास रच्ने लक्ष्य रहेको उनले जानकारी दिए । कम्पनीका अध्यक्ष केशव प्रसाद भट्टराईले उपलब्धिमूलक यात्रामा साथ दिने ग्राहक, अभिकर्ता, कर्मचारी, सेयरधनी, नियमनकारी निकाय र साझेदारप्रति आभार प्रकट गर्दै आगामी दिनमा अझ मजबुत साझेदारी गर्दै अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गरे । अध्यक्ष भट्टराईले सञ्चालक समिति सधैं संस्थागत सुशासन, स्वच्छ व्यवस्थापन र नीति नियमको परिधिभित्र रही अघि बढेको उल्लेख गर्दै आगामी दिनमा अझै प्रभावकारी रूपमा त्यसको पालना गर्ने बताए। साथै, कर्मचारीको वृत्ति विकासप्रति पनि समिति प्रतिबद्ध रहेको स्पष्ट पारे । कम्पनीले भर्खरै नेपालकै पहिलो अनलाइन जीवन बीमा लोन सुविधा र 'सूर्यज्योति केयर्स' डिजिटल कार्ड सार्वजनिक गर्दै बीमा क्षेत्रको आधुनिकताको सुरुआत गरिसकेको छ ।
सिन्धुपाल्चोकमा ४.१ म्याग्निच्युडको भूकम्प
काठमाडौं । शुक्रबार सिन्धुपाल्चोक केन्द्रबिन्दु बनाएर भूकम्पको हल्का धक्का महसुस गरिएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार शुक्रबार बिहान ११ बजेर ५३ मिनेटमा सिन्धुपाल्चोकको फुल्पिङकोट केन्द्रबिन्दु भएर ४.१ म्याग्निच्युडको भूकम्प गएको हो । केन्द्रका अनुसार यो २०७२ सालको गोरखा भूकम्पपछि ४ म्याग्निच्युडमाथिको ६०३ औं परकम्प हो । ०७२ वैशाख १२ गते बिहान ११:५६ बजे गोरखाको बारपाक केन्द्रबिन्दु भएर ७.९ म्याग्निच्युडको विनाशकारी भूकम्प गएको थियो, जसको स्मृतिमा आज देशभर विभिन्न कार्यक्रमहरू आयोजना गरिएको छ ।
चालु आवमा सप्तरीमा १३ वटा पुल निर्माण
गोलबजार (सिरहा) । चालु आर्थिक वर्षको नौ महिनामा सप्तरीमा छवटा पुल निर्माण भएका छन् भने निर्माणाधीन सात पुलको काम अन्तिम चरणमा पुगेको छ । लहानस्थित सडक डिभिजन कार्यालयका प्रमुख आशुतोष कर्णका अनुसार निर्माण सम्पन्न भएका पुलको ‘लोड टेस्ट’ हुन बाँकी छ । सप्तरीका सडक सञ्जाल विस्तार गर्न पुल निर्माण तीव्रगतिमा जारी छ । शम्भुनाथ नगरपालिका- ११ देवधारमा छ करोड ५७ लाख ८२ हजार, छिन्नमस्ता गाउँपालिका घोडदह नदीमा एक करोड ९१ लाख ९२ हजारको लागतमा पुल निर्माण भएका छन् । यसैगरी, कनकटा–९ र बेल्ही–५ जोडिने सडकमा पर्ने मुत्तनी खोलामा रु चार करोड चार लाख ५४ हजारको लागतमा पुल निर्माण गरिएको छ भने राजविराज–छिन्नमस्ता सडकबाट बेल्हा–६ र ५ भएर बग्ने सप्तरीको घोडदह खोलामा रु चार करोड ८५ लाख ६३ हजारको खर्चेर पुल बनाइएको छ । छिन्नमस्ता गाउँपालिका–५ राजविराज–छिन्नमस्ता सडकअन्तर्गत खिरखौका नदीमा पनि पुल निर्माण सम्पन्न भएको छ । यो पाँच करोड ४२ लाख २० हजारको लागतमा सम्पन्न भएको हो । राजविराज–कुनौली सडकमा पर्ने महुली घाडन खोलामा छ करोड १३ लाख ५४ हजारमा लागतमा पुल निर्माण भएको प्रमुख कर्णले बताए । सप्तरीमा निर्माणाधीन पुलमध्ये सातवटाको काम अन्तिम चरणमा पुगेको छ । छिन्नमस्ता गाउँपालिका–१ ललापट्टी–बुटनपोखरी भलवाही पुल तीन करोड ७३ लाख ८२ हजारको लागतमा ९७ प्रतिशत सम्पन्न भएको छ । यस्तै, सोही निर्माण कम्पनीले रु तीन करोड ६२ लाख ७४ हजारको लागतमा विसहरिया- १ स्थित भलवाही खोलामाथि बनाइरहेको पुलको काम काम अन्तिम चरणमा पुगेको सडक डिभिजन कार्यालयका इञ्जिनियर सुरेन्द्र दासले बताए । यस्तै, रूपनी गाउँपालिका–६ दुधैला खोलामा नयाँ वस्ती नजिकै रु छ करोड ५३ लाख ७५ हजारका लागतमा निर्माणाधीन पुलको ८० प्रतिशत काम सम्पन्न भएको छ । फकहा–बरदहीको बीच मुत्तनी नदीमा पनि धमाधम पुल निर्माण भइरहेको छ । उक्त पुलको वित्तीय प्रगति ८३.५८ प्रतिशत छभने भौतिक प्रगति ८५ प्रतिशत रहेको सडक डिभिजन कार्यालयले जनाएको छ । त्यसैगरी, रुपनी गाउँपालिका–६ दुधैला खोला पुलको भौतिक प्रगति ९० प्रतिशत भएको छ । उक्त पुल नौ करोड ७५ लाख ९८ हजारको लागतमा निर्माण भइरहेको हो । शम्भुनाथ नगरपालिका–९ भएर बग्ने भवररा नदीमा चार करोड ७५ लाख ३१ हजारको लागतमा निर्माणाधीन पुलको भौतिक प्रगति ८२ प्रतिशत भएको छ ।
मुस्ताङ भ्रमण गर्ने विदेशी पर्यटक ५० प्रतिशतले बढे, सार्क राष्ट्रका पर्यटक धेरै
मुस्ताङ । मुस्ताङमा विदेशी पर्यटकको आगमन उत्साहजनक देखिएको छ । राष्ट्रिय प्रकृति सरक्षण कोष, अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) जोमसोमका कार्यालयका विसं २०८० को तुलनामा २०८१ सालमा यहाँ आउने विदेशी पर्यटक करिब ५० प्रतिशतले बढेका छन् । विसं २०८० मा कूल ९६ हजार ६४५ जना विदेशी पर्यटक मुस्ताङ भित्रिएकामा २०८१ सालमा ४९ दशमलव ७६ प्रतिशतले बढेर एक लाख ४४ हजार ७४५ जना पुगेको एक्याप जोमसोम कार्यालयका प्रमुख राजेशप्रसाद गुप्तले जानकारी दिए । एक्यापका अनुसार अघिल्लो वर्षको तुलनामा गत वर्ष सार्क राष्ट्रका पर्यटकको आगमन ५३ दशमलव ७१ प्रतिशतले बढी छ । गत वर्ष सार्क राष्ट्रबाट एक लाख १७ हजार ६१४ जना र अन्य मुलुकका २७ हजार १३१ जना पर्यटकले मुस्ताङ भ्रमण गरेको कार्यालयको भनाइ छ । कार्यालयका अनुसार २०८१ वैशाखमा २० हजार ८०९, जेठमा २८ हजार ८५६, असारमा आठ हजार १८७, साउनमा तीन हजार ५५८, भदौमा छ हजार ६७९, असोजमा १३ हजार २१६, कात्तिकमा १४ हजार ५७८ र मङ्सिरमा सात हजार ५५३ जना विदेशी पर्यटक मुस्ताङ आएका छ्न् । साथै पुसमा छ हजार ९७५, माघमा तीन हजार ५१७, फागुनमा नौ हजार ३२६ र चैतमा २१ हजार ४९१ जना विदेशी पर्यटकले मुस्ताङ भ्रमण गरेका छन् । कार्यालयका अनुसार गत वर्ष कूल ७२ राष्ट्रका पर्यटकले मुस्ताङ भ्रमण गरेका छन् । कार्यालय प्रमुख गुप्ताका अनुसार मुस्ताङ आउने सार्क राष्ट्रतर्फ ८० प्रतिशत भारतीय पर्यटक हुने गरेका छन् । उनीहरू विशेष गरी मुक्तिनाथ दर्शन गर्न आउँछन् । एक्याप जोमसोमका अनुसार विसं २०८० सालमा ९६ हजार ६४५ जना विदेशी पर्यटकले मुस्ताङको भ्रमण गर्दा सार्क राष्ट्रतर्फ ७६ हजार ५१६ जना र अन्य विदेशी पर्यटकतर्फ २० हजार १२९ थिए । केही वर्षयता राष्ट्रिय गौरवको (बेनी-जोमसोम-कोरला) सडकमार्ग सहज भएसँगै मुस्ताङ आउने आन्तरिक र बाह्य पर्यटकको उल्लेख्य वृद्धि भइरहेको एक्यापको भनाइ छ । कार्यालयका अनुसार मुस्ताङ आउने एक चौथाई विदेशी पर्यटक अन्नपूर्ण चक्रीय पदमार्ग हुँदै आएका छन् । साथै लमजुङको बेसी सहरदेखि मनाङ हुँदै मुस्ताङ भित्रिने पर्यटकको संख्यामा समेत वृद्धि भइरहेको छ । मुस्ताङबाट दृष्यावलोकन गर्न सकिने निलगिरि र धौलागिरि हिमालको मनमोहक दृष्य एवं यहाँका प्राकृतिक तथा जैविक विविधता अवलोकन गर्न विदेशी पर्यटक आउने गरेका छन् । कालिगण्डकी नदीको तटीय क्षेत्र, यहाँका पृथक भूगोल तथा प्राकृतिक सौन्दर्यताका कारण पर्यटक आउने गरेका छन् । यहाँका गुम्बा, माने, छोर्तेन र स्तुप पर्यटकीय आर्कषण हुन् । उपल्लो मुस्ताङमा मुस्ताङी राजाको ऐतिहासिक राजदरबार, लोघेकर (घर) गुम्बा, छोसेर गुफा, चिउसी गुफा, लुरी गुम्बा, दामोदरकुण्ड धार्मिकस्थललगायतका पर्यटकीय सम्पदा विद्यमान छन् । यस्तै, प्रसिद्ध धार्मिक स्थल मुक्तिनाथ, कागबेनीधाम, ढुम्बाताल, स्याउको राजधानी एवं सांस्कृतिक गाउँ मार्फा, गुरुसाङ्वो गुफा, टिटी ताल र सेकुङ ताल लगायतका पर्यटकीय गन्तव्य भएकै कारण मुस्ताङमा पर्यटक आगमनदर बढ्दो छ ।
लिगेसी बोकेको पोर्शेलाई पनि चीनमा सकस, विदेशी अटोमेकरका बिक्री धमाधम घट्दै
काठमाडौं । चीनमा विदेशी अटोमोकरहरूले यस वर्षको शाङ्घाई अटो शोमा एक गम्भीर चुनौतीको सामना गरिरहेका छन्- घरेलु कम्पनीहरूले आकर्षक, सस्तो विद्युतीय सवारी (ईभी) तीव्र गतिमा उत्पादन गरिरहँदा चिनियाँ ग्राहकहरूको विश्वास पुनः जित्ने । विश्वका ठूला अटोमेकरहरूले विगत केही वर्षहरूमा आफ्नो बजार हिस्सेदारी क्रमशः गुमाइरहेका छन्, किनकि चिनियाँ ब्रान्डहरूको बिक्री उच्च भइरहेको छ । अघिल्ला ब्रान्डहरूको मूल्य घट्दै जानु अहिले सस्तो र मध्यवर्गीय सवारी साधनहरूबाट सुरु भएर लक्जरी अटोमेकरहरूमा फैलिएको छ, जसले अब उन्नत ईभी प्रविधि र अत्याधुनिक सुविधाहरूमा चिनियाँ प्रतिस्पर्धीहरूसँग मेल खान संघर्ष गरिरहेका छन् । जर्मनीको पोर्शे- दशकौंदेखि विश्वकै शक्तिशाली प्रिमियम ब्रान्डहरूमध्ये एक- अहिले चीनमा विदेशी अटोमेकरहरूको पतनको प्रतीक बनेको छ । देशमा यसको बिक्री पहिलो त्रैमासिकमा ४२ प्रतिशतले घट्यो, जुन विगतका गिरावटहरूको निरन्तरता हो । केवल चार वर्षअघि पोर्शले चीनमा ९५ हजार ६७१ गाडी बेचेर कीर्तिमान राखेको थियो- जुन २०२१ को कुल विश्वव्यापी बिक्रीको झण्डै एक तिहाइ थियो । फक्सवागन समूहअन्तर्गतका अन्य ब्रान्डहरू जस्तै भीडब्ल्यू र अडीले शाङ्घाई शोमा पाँच नयाँ ईभी मोडल प्रदर्शन गरे पनि पोर्शे आफ्ना इन्धनमा चल्ने गाडीहरूको परम्परामा केन्द्रित भयो । कम्पनीले ९११ मोडेलका दुई सीमित संस्करणहरू सार्वजनिक गर्यो, जुन प्रख्यात स्पोर्ट्स कारका पुराना मोडेलहरूबीच राखिएको थियो । एउटा बोर्डमा लेखिएको थियो- 'यसको विकल्प छैन' । तर चिनियाँ ग्राहकहरूलाई यो चित्त बुझ्दैन । उनीहरू सस्तो र भविष्यमुखी लक्जरी सवारीहरू घरेलु ब्रान्डहरू- जस्तै बीवाईडीको याङ्वाङ ब्रान्ड र साओमीबाट खरिद गरिरहेका छन् । साओमीले हालै कार उद्योगमा प्रवेश गरे पनि यसको पहिलो सवारी एसयू सेभेन स्पोर्ट सेडानले पोर्शेजस्तै डिजाइन र निकै कम मूल्यमा ठूलो चर्चा पायो । फेब्रुअरीमा साओमीले १ हजार ५४८ हर्सपावरको एसयू सेभेन अल्ट्रा सार्वजनिक गर्दा मूल्य ५ लाख २९ हजार ९०० युआन (झण्डै ७२ हजार ५९१ डलर) थियो र दुई घण्टामै १० हजार अर्डर आएको दाबी गर्यो- जुन संख्या चीनमा पोर्शेका सबै मोडलहरूको पहिलो त्रैमासिक बिक्रीभन्दा बढी हो । चीनमा सबैभन्दा सस्तो पोर्शे ९११ को मूल्य १.४६८ मिलियन युआन (झण्डै २ लाख १ हजार १७० डलर) छ, जसमा ३९४ हर्सपावर हुन्छ । सीनो अटो इनसाइजका संस्थापक तू ली भन्छन्, 'चीनमा पोर्शे सकियो ।' विदेशी अटोमोकरहरू चीनमा बिक्री गुमाइरहेका छन् र पोर्शेमात्र यो अवस्थामा छैन । यद्यपि धेरैजसो चिनियाँ प्रतिस्पर्धीहरू अझै नाफामा पुगेका छैनन् । 'विदेशी अटोमोकरहरूले चुनौती बुझेका छन्,' शाङ्घाईस्थित अटोमोटिभ फोरसाइजका प्रबन्ध निर्देशक यु झाङ भन्छन्, 'तर तिनीहरू अझै समाधानतर्फ पर्याप्त छिटो बढिरहेका छैनन् ।' सेप्टेम्बर २०२२ मा पोर्शको प्राथमिक सेयर निष्कासन (आईपीओ) पछि यसको मूल्य यसको प्यारेन्ट कम्पनी फक्सवागनभन्दा बढी भएको थियो । तर अहिले पोर्शको सेयर मूल्य ४४ प्रतिशतले घटिसकेको छ र यो वर्षमात्र २१ प्रतिशतले घटेको छ । चीनमा यसको बिक्री लगातार तीन वर्षदेखि घट्दै गएको छ । फक्सवागन र पोर्शेका प्रमुख कार्यकारी अधिकृत (सीईओ) ओलिभर ब्लुमेले शाङ्घाई शोअघि पत्रकार सम्मेलनमा भीडब्ल्यू र अडीका मोडलहरू सार्वजनिक गर्दा पोर्शेको घट्दो बिक्रीलाई महत्त्व नदिएको बताए । 'हामीलाई संख्याको मतलब छैन,' ब्लुमेले भने, 'हामी मूल्यलाई कायम राख्न चाहन्छौं ।' ब्लुमेले पोर्शले साओमी वा याङवाङजस्ता ब्रान्डहरूसँग सिधा प्रतिस्पर्धा नगरेको दाबी गरे । 'उनीहरू पनि राम्रो कार हुन्,' उनले भने, 'तर ती कारहरूमा पोर्शेको जस्तो ड्राइभिङ क्षमताको अभाव छ र ती सस्तो मूल्यको क्षेत्रमा पर्छन् ।' ब्लुमेलेका अनुसार पोर्शेले चीनमा विद्युतीय सवारीको सेग्मेन्ट नै छोड्न सक्ने सम्भावना छ, जहाँ आधाभन्दा बढी नयाँ गाडीहरू ईभी वा हाइब्रिड हुन् । पोर्शेले यहाँ दुईवटा ईभी बेच्छ- टाकन र माकन । तर देशअनुसार मोडल बिक्री सार्वजनिक गर्दैन । ब्लुमेलेका भने, 'चीनमा पोर्शका ईभी बिक्री 'तुलनात्मक रूपमा कम' छन् । अर्को दुईदेखि तीन वर्षमा हामी हेर्नेछौं, पोर्श यहाँ विद्युतीय ब्रान्डका रूपमा रहन्छ कि रहँदैन ।' पोर्शको ऐतिहासिक विशिष्टता- जस्तै ९११ को सिक्स-सिलिन्डर इञ्जिनको गर्जन- चीनमा अन्य बजारजस्तो प्रभावशाली छैन । जाटो डाइनामिक्सका चीन निर्देशक बो युले भने, 'पोर्श ब्रान्डको सुनौलो छवि अब चीनको नयाँ पुस्तालाई केही अर्थ राख्दैन ।' धमाका मच्चाउँदै चिनियाँ अटोमेकर अब चिनियाँ अटोमोकरहरू उच्च स्तरमा प्रवेश गर्दै बिक्री संख्यामा केन्द्रित छन् । साओमीले गत वर्ष १ लाख ३७ हजार एसयू सेभेन बेचेको थियो, जुन पोर्शेको चीनमा गरिएको कुल वार्षिक बिक्री (५७ हजारभन्दा कम) को दोब्बर हो । गत महिना साओमीले २०२५ को लागि आफ्नो सवारी बिक्री लक्ष्य ३ लाख ५० हजार मा बढाएको घोषणा गर्यो । सानो लक्जरी ईभी निर्माता निओको बिक्री गत वर्ष ३८.७ प्रतिशतले बढेर २ लाख २१ हजार ९७० पुगेको थियो । सीईओ विलियम लीका अनुसार निओले यस वर्ष आफ्नो उत्पादन दोब्बर पार्ने अपेक्षासहित नौवटा नयाँ वा अपडेटेड ईभी मोडल ल्याउने योजना बनाएको छ । चीनको अटो उद्योगको तीव्र वृद्धिले सबै श्रेणीका विदेशी अटोमोकरहरूको बिक्रीमा भारी गिरावट ल्याएको छ । स्टार टेक्नोलोजी परामर्श कम्पनीका अटोमोटिभ प्रमुख एन्ड्र्यु फेलोज भन्छन्, 'उनीहरूले त्यो बजार हिस्सेदारी फिर्ता पाउने छैनन् ।' यद्यपि केही विदेशी ब्रान्डहरूले अझै चीनमा सान्दर्भिक रहने प्रयास गरिरहेका छन् । आर्थिक रूपमा संकटग्रस्त निशानले शोमा चीनमा थप १.४ अर्ब डलर लगानी गर्ने र आगामी वर्षहरूमा १० वटा नयाँ गाडी ल्याउने घोषणा गर्यो । निशानका चीन प्रमुख स्टिफेन मा भन्छन्, 'चिनियाँ ब्रान्डहरूले निकै कम समयमा राम्रा मोडलहरू ल्याए । अब, मलाई लाग्छ हामीले फेरि सुरुवात गरेका छौं ।' केही कम्पनीका उज्याला पक्ष जनरल मोटर्सले गत डिसेम्बर चीनमा आफ्नो सञ्चालनमा ५ अर्ब डलर घाटा देखाएको थियो, तर अब कम्पनी पुनः उठ्ने प्रयासमा छ । यसको प्रयासको केन्द्रबिन्दु क्याडिलाक ब्रान्ड हो, जसले शाङ्घाईमा चारवटा विद्युतीय मोडलहरू प्रदर्शन गर्यो । बुइकको जीएल ८ भने जीएमको लागि चीनमा उज्यालो पक्ष बनेको छ । यो चीनको बहुप्रयोगी सवारीसाधन (एमपीभी) श्रेणीमा अगाडि छ, जसलाई अमेरिकामा मिनिभ्यान भनिन्छ । एमपीभीहरू चिनियाँ ग्राहकहरूद्वारा परिवारका लागि र कार्यकारीहरूका लागि लक्जरी सवारी दुवैको रूपमा रुचाइन्छ । बुइकले नयाँ जीएल ८ अवधारणाको प्रदर्शन गर्यो । कम्पनीका डिजाइन प्रमुख म्याट नूनले यो केवल ईभी वा हाइब्रिड संस्करणमा आउनेछ र भित्र अत्याधुनिक प्रविधिले भरिएको हुनेछ । बुइकले एमपीभी बजारमा बीवाईडीको डेन्जा, ली अटो र एक्सपेङ्गजस्ता प्रतिस्पर्धीहरूलाई रोक्ने प्रयास गर्दैछ, जसले शाङ्घाई शोअघि एक्स ९ एमपीभी सार्वजनिक गर्यो । जीलीको जीक्रले पनि हालै चार सिटे ००९ ग्रान्ड एमपीभी ल्याएको छ, जसमा फ्रिज, ४३ इन्चको टिभी र २४ क्यारेट सुनको जीक्र लोगो छ । मार्चमा युरोपमा १४ लाखभन्दा बढी कार बिक्री, ईभीले गर्यो कमाल भन्सार शुल्कको तनाबबीच 'सावधानीपूर्वक' भारत प्रवेश गर्दै टेस्ला शाङ्घाई अटो शो : बीवाईडीसहित अन्य कम्पनी आक्रामक रूपमा प्रस्तुत हुँदै, दबाबमा टेस्ला ट्यारिफको आँधीमा बुइकको स्वप्न यात्रा ईभीमा कडाइ गर्दै चीन : 'स्मार्ट ड्राइभिङ' र 'स्वायत्त ड्राइभिङ' भन्ने शब्द प्रयोगमा रोक घाटैघाटामा मस्क, ट्रम्पले चिनियाँ पार्टपुर्जामा कर बढाउँदा टेस्लाको अमेरिकी उत्पादन योजना प्रभावित ट्यारिफ असर : निसानले अमेरिकामा सबैभन्दा धेरै बिक्री भएको मोडेलको जापानी उत्पादन कटौती गर्ने २५ प्रतिशत अटो ट्यारिफले अमेरिकी अटो निर्माता कम्पनीलाई थप १०८ अर्ब डलर लागत लाग्ने साउदीमा टेस्लाको डेब्यू : मरुभूमिको गर्मी, थोरै चार्जिङ स्टेशन र बीवाईडीसँग प्रतिस्पर्धा