रुकुमपूर्वमा भूकम्प गयो, रन्मामैकोटमा केन्द्रविन्दु
काठमाडौं । रुकुमपूर्वमा भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार बिहीबार साँझ ७ बजेर ३४ मिनेटको समयमा ४.२ म्याग्निच्यूडको भूकम्प गएको छ । रुकुमपूर्वको रन्मामैकोटलाई केन्द्रविन्दु बनाएर गएको भूकम्प पश्चिम नेपालमा लगातार गइरहेको भूकम्पमध्येको पछिल्लो हो । भूकम्प स्मृति दिवस मनाउन लागिएको अघिल्लो दिन नै रुकमुपूर्वमा सामान्य प्रकृतिको भूकम्प गएको हो । पश्चिम नेपालमा पछिल्ला दिनमा साना प्रकृतिका भूकम्प लगातार गइरहेका छन् । विसं २०८० कात्तिक १७ गते जाजरकोटको बारेकोटलाई केन्द्रविन्दु बनाएर ६.४ म्याग्निच्युडको भूकम्प गएको थियो । त्यसपछि पनि लगातार जाजरकोटका विभिन्न स्थानलाई केन्द्रविन्दु बनाएर भूकम्प गइरहेका छन् ।
आज भूकम्प स्मृति दिवस, विनाशकारी भूकम्प गएको १० वर्ष पूरा
काठमाडौं । आज वैशाख १२ गते । विसं २०७२ वैशाख १२ गते अर्थात् आजभन्दा ठिक १० वर्ष पहिले गोरखाको बारपाकलाई केन्द्रविन्दु बनाएर गएको भूकम्पले ठूलो जनधनको क्षति गरेको थियो । ७.६ म्याग्निच्युडको भूकम्पले ८ हजार ९७९ जनाले ज्यान गुमाएका थिए । उक्त भूकम्पमा परी २२ हजार ३०९ घाइते भएका थिए । सोही विनाशकारी भूकम्पको स्मृतिमा आज विभिन्न कार्यक्रमको आयोजना गरिएको छ । सुरक्षित पूर्वाधार निर्माणका लागि सचेतना जगाउने उद्देश्यका साथ आज भूकम्प स्मृति दिवस मनाउन लागिएको हो । काठमाडौंको सुनधारामा अवस्थित धरहरा परिसरमा आज भूकम्प स्मृति दिवसको विशेष कार्यक्रम आयोजना गरिएको छ । सो कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीको प्रमुख आथित्यता रहने छ । ‘सुरक्षित पूर्वाधार निर्माण गरौँ, भूकम्पबाट जोगिऔ’ भन्ने सन्देश दिनका लागि भूकम्प स्मृति दिवस मनाउन लागिएको हो ।
राजा नै राजावादी नभएका कारण राजतन्त्रको अन्त्य भयो, अब फर्कने सम्भावना छैन : महामन्त्री थापा
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाले पार्टीका क्रियाशील सदस्यले पार्टी सभापति निर्वाचित गर्ने प्रक्रियामा पार्टीलाई लैजानुपर्ने बताएका छन् । लोकतन्त्र दिवसका अवसरमा लोकतन्त्र संवाद केन्द्रले आयोजना गरेको ‘आजको लोकतन्त्र अवसर र चुनौती’ विषयक संवाद कार्यक्रमलाई सम्बोधन गर्दै उनले पार्टीलाई रुपान्तरण गर्न अब सदस्यबीच यस्तो बहस आवश्यक रहेको बताए । पार्टीका नेतामा गुट प्रतिको बफादारिता बढेका कारण यस्तो व्यवस्थाले पार्टीप्रति बफादार हुने महामन्त्री थापाको भनाइ छ । गुटका कारण नेतृत्वको ध्यान राष्ट्रिय समस्या समाधानतर्फ जान नसकेकाले पार्टी सभापति क्रियाशील सदस्यले छान्ने व्यवस्थामा पार्टी जानुपर्नेमा उनले जोड दिए । विगतमा राजा नै राजावादी नभएका कारणले नेपालबाट राजतन्त्रको अन्त्य भएको उल्लेख गर्दै उनले अब नेपालमा राजतन्त्र फर्कने सम्भावना नरहेको बताए । मुलुकको शीर्ष नेतृत्व वैधानिक भए पनि वैध नभएकाले नागरिकमा असन्तुष्टि बढेको उल्लेख गर्दै वैध नेतृत्व ल्याउन सबैको सहयोग हुनुपर्ने उनको विचार छ । शिक्षकका समस्या समाधान गर्न सरकार उदार भएर गर्न सक्ने माग पूरा गर्नुपर्नेमा महामन्त्री थापाको जोड छ । कांग्रेसको नेतृत्मा मुलुकमा राजनीतिक परिवर्तन भई संविधान जारी भएको उल्लेख गर्दै उनले देखिएका समस्या समाधानमा समाजले कांग्रेसकै भूमिका खोजिरहेको बताए । कांग्रेस सहममहामन्त्री जीवन परियारले पार्टीभित्र नीति, सिद्धान्तका बारेमा बहस चलाउनुपर्नेमा जोड दिए । लामो बहस र छलफलबाट बन्ने नीति, नियम एवं कानुन नै व्यावहारिक हुने भएकाले यसमा सबैको ध्यान जानुपर्ने उनको भनाइ छ । पार्टीका सहमहामन्त्री उमाकान्त चौधरीले मधेसमा कांग्रेस किन कमजोर भयो भन्ने कुराको खोजी गरिनुपर्ने बताए । वर्तमान सरकार सुशासन र संविधान संशोधनकै लागि गठन भएकाले यसमा ठोस काम हुने बताए । सहमहामन्त्री महालक्ष्मी डीना उपाध्यायले नागरिकका विचारसँग कांग्रेसका विचार मेल खायो कि खाएन भनी विश्लेषण गर्ने समय आएको बताइन् । लोकतन्त्र दिवसका अवसरमा पार्टीले यसको सही मूल्याङ्कन गरिनुपर्नेमा उनको भनाइ छ । राजनीतिक विश्लेषक हरि शर्माले कांग्रेस बलियो बनाउन यसका हरेक सदस्यले आफू क्रियाशील रहेको तहका नेतृत्वलाई प्रश्न गर्नुपर्ने बताए । सबैको कुरा सुनेर आफू निर्णय गर्न सक्ने नेतृत्वको आवश्यकता कांग्रेसमा रहेको उनको भनाइ छ ।
अस्पताल विस्तारको योजना रोकिएको छ, अब ढिला नगरी जग्गा दिनुहोस् : मन्त्री पौडेल
काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले जग्गा नहुँदा सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र विस्तारको योजना रोकिएको बताएका छन् । जग्गा उपलब्ध नभए दूधपाटीमा सञ्चालित प्रत्यारोपण केन्द्र अन्य जिल्लामा लैजाने उनले उल्लेख गरे । भक्तपुरस्थित सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रको १३औँ वार्षिकोत्सव समारोहमा मन्त्री पौडेलले केन्द्रले भवन निर्माणका लागि रकमको व्यवस्था गरिसकेको अवस्थामा जग्गा अभावले योजना अघि बढ्न नसकेको बताए । मन्त्री पौडेलले भने, ‘जग्गा नहुँदा प्रत्यारोपण केन्द्रले आफ्नो भवन बनाउन पाएको छैन । भक्तपुरमै राख्ने हो भने अब ढिला नगरी जग्गा दिनुहोस् ।’ मानव अङ्ग प्रत्यारोपण केन्द्रलाई देशभरको प्रत्यारोपण सेवाको नेतृत्वकर्ता अस्पतालको रूपमा विकास गरिने मन्त्री पौडेलको भनाइ छ । हाल गण्डकी (पोखरा), कर्णाली (सुर्खेत) र लुम्बिनी प्रदेशमा सेवा सुरु गरिसकेको तथा बागमती प्रदेशअन्तरगत भरतपुर अस्पतालमा एक महिनाभित्र प्रत्यारोपण सेवा सञ्चालन गरिने उनले जानकारी दिए । सुदूरपश्चिममा गेटा अस्पताल, कोशी प्रदेशमा कोशी अस्पताल वा बिपी स्वास्थ्य विज्ञान प्रतिष्ठान र मधेश प्रदेशमा मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सेवा विस्तारको तयारी भइरहेको मन्त्री पौडेलले बताए । अङ्ग प्रत्यारोपणको माग बढ्दै गए पनि माग अनुसार अङ्ग नपाउँदा समस्या बढिरहेको भन्दै ‘ब्रेन डेथ’ वा मृत्यु पश्चात अङ्गदानको महत्वबारे आम जनसमुदायमा चेतना फैलाउनु आवश्यक रहेको बताए । उनले भने, ‘मैले मेरो अङ्ग दान गरिसकेको छु, अरुलाई पनि यसबारे चेतना फैलाउनु जरुरी छ । ‘ब्रेन डेथ’ भएको व्यक्तिको अङ्गदान गरेमा परिवारलाई केन्द्रबाट रु एक लाख र मन्त्रालयबाट थप रु एक लाख सहयोग गरिने व्यवस्था गरेका छौँ । एक जनाको अङ्गले छ जनाको ज्यान बच्छ, अङ्गदान पूण्य दान हो ।’ मन्त्री पौडेलले भक्तपुरस्थित प्रत्यारोपण केन्द्रमा मुटुको प्रत्यारोपण सेवा सुरु गर्ने तयारी रहेको उल्लेख गर्दै देशभर केन्द्रको सेवालाई विस्तार गरिने बताए । विदेश जानु अगाडि श्रमिकलाई स्वास्थ्यसम्बन्धी तालिम अनिवार्य लिनुपर्ने व्यवस्था गरेको जिकिर गर्दै उनले विदेशबाट फर्किएपछि श्रमिकहरुको मिर्गौलादेखि अन्य अङ्गको सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा निःशुल्क परीक्षण गर्ने व्यवस्था गरेको बताए । कार्यक्रममा बागमती प्रदेशसभा सदस्य सुरेश श्रेष्ठले चाँंगुनारायण नगरपालिकाले केन्द्रलाई जग्गा दिइसकेको बताए । ‘झौखेलमा ३० रोपनी जग्गा सरकारले केन्द्रको नाममा दिइसकेको छ, त्यो जग्गामा डायलासिस सेवा सुरु गर्नुस्, चाँगुनारायण नगरपालिकाले सुडालको मिश्रिकोटारमा थप ३५ रोपनी १२ आना सार्वजनिक जग्गा अस्पताललाई दिन प्रक्रिया अगाडि बढाइसकेको छ,’ उनले भने । भक्तपुरका प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद अर्यालले झौखेलमा अस्पताललाई दिएको जग्गामा भवन बनाएर सेवा सुरु गर्न केन्द्रलाई आग्रह गर्दै कुनै विवाद आए त्यसलाई सुल्झाइने बताए । अस्पतालका कार्यकारी निर्देशक डा पुकारचन्द्र श्रेष्ठले अस्पतालको १३ वर्षको प्रगतिबारे जानकारी दिँदै सेवा विस्तारमा आएका चुनौतीबारे स्पष्ट पारे । सो अवसरमा अस्पतालका कार्यकारी निर्देशक डा श्रेष्ठलाई वर्षको उत्कृष्ट कर्मचारीका रुपमा १० हजार पुरस्कार प्रदान गरिनुका साथै उनकी पत्नी नविना श्रेष्ठलाई समेत सम्मान गरिएको थियो ।
राष्ट्रिय वाणिज्य बैंकको ऋणपत्र खरिद गर्ने आज अन्तिम मौका
काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकको ऋणपत्रमा आज वैशाख १२ गते अन्तिम दिन रहेको छ । वैशाख ७ गतेदेखि बिक्री खुला गरेको ऋणपत्रमा लगानीकर्ताहरूले आजसम्म आवेदन दिन सक्नेछन् । बैंकले ७ वर्ष अवधि रहेको वार्षिक ७ प्रतिशत ब्याजदरमा ‘७ प्रतिशत आरबीबी डिबेञ्चर २०८८’ बिक्री खुला गरेको हो । बैंकले प्रतिऋणपत्र १ हजार रुपैयाँ अंकित मूल्य दरका २ अर्ब ५० करोड रुपैयाँको २५ लाख कित्ता ऋणपत्र निष्काशन गरेको हो । जसमध्ये ६० प्रतिशत अर्थात् १५ लाख कित्ता व्यक्तिगत र ४० प्रतिशत अर्थात् १० लाख कित्ता ऋणपत्र सर्वसाधारण लगानीकर्ताहरूलाई बिक्री गरिने बैंकले जनाएको छ । साथै सर्वसाधारणलाई बिक्री गरिने ऋणपत्रमध्ये ५ प्रतिशत अर्थात ५० हजार कित्ता ऋणपत्र सामूहिक लगानी कोषका लागि छुट्याइएको छ । बैंकको ऋणपत्रमा लगानीकर्ताहरूले न्यूनतम २५ कित्तादेखि अधिकतम सम्पूर्ण कित्ता ऋणपत्रका लागि आवेदन दिन सक्नेछन् । बैंकको ऋणपत्र निष्काशन तथा बिक्री प्रबन्धक सानिमा क्यापिटल रहेको छ । लगानीकर्ताहरूले सीआस्बा सेवामा आवद्ध बैंक तथा वित्तीय संस्था र मेरो सेयर एपमार्फत आवेदन दिन सक्नेछन् । केयर रेटिङ्ग्स नेपालले बैंकलाई केयर एनपी ए प्लस प्रदान गरेको छ । यसले समयमा वित्तीय दायित्व बहन गर्ने क्षमता तुलनात्मक रुपमा पर्याप्त तथा न्यूनतम् कर्जा जोखिम भएको संस्था रहेको संकेत गर्दछ ।
सरकारमा जानेहरू स्वार्थमा काम गर्ने परिपाटी बढ्दै गयोः जनार्दन शर्मा
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का उपमहासचिव तथा प्रतिनिधिसभा सदस्य जनार्दन शर्माले सत्ता केन्द्रित राजनीतिले देशलाई थिलोथिलो पारिरहेको बताएका छन् । रुकुमपश्चिमको त्रिवेणी गाउँपालिकाको नवनिर्मित प्रशासकीय भवन उद्घाटन समारोहलाई सम्बोधन गर्दै शर्माले राजनीतिक दल सत्तामा लिप्त हुँदा सुशासनका बाटाहरू कमजोर हुँदै गएको बताए । सरकारमा जानेहरूले सुशासनमा काम गर्नुको सट्टा आफ्नो स्वार्थमा काम गर्ने परिपाटी बढ्दै गएको उनको भनाइ छ । सरकारमा जानेले आफ्नो स्वार्थ केन्द्रित काम गर्नाले जनतामा असन्तुष्टि बढ्दै गएको शर्माले उल्लेख गरे । शिक्षकहरू आन्दोलनमा रहेको विषय उठान गर्दै शिक्षा क्षेत्रलाई सुधार गर्न शिक्षकका जायज माग सरकारले सम्बोधन गर्नुपर्ने र त्यसका लागि पार्टीले सरकारलाई ध्यानाकर्षण गराउँदै आएको समेत बताए । शिक्षा, स्वास्थ्यलगायत विषयमा सुधार गरेर देशभित्रै आफ्नै स्रोत साधन प्रयोग गरेर राष्ट्र समृद्धि बनाउने दृढसङ्कल्प, दूरदृष्टि भएको नेतृत्व जनताले खोजिरहको उनको भनाइ छ । फरक प्रसङ्ग जोड्दै प्रतिनिधिसभा सदस्य शर्माले केही व्यक्ति तथा पार्टी सङ्घीय लोकतान्त्रिक गणतन्त्रका विरूद्ध अफवाह फैलाउने निरङ्कुशतालाई फिर्ता ल्याउने कुरा गरिरहेको हुँदा भ्रममा परेर यसका पछि नलाग्न सबैलाई आग्रह गरे । ‘कराउनेहरू कराइराख्छन् सबै ठूला दलहरू नयाँ, पुराना सबै दलहरूले आफूलाई बदल्नुपर्छ, रूपान्तरण हुनुपर्छ, जनताप्रति समर्पित हुनुपर्छ, जनताको पक्षमा काम गर्नुपर्छ,’ उनले भने ।
पहिचानवादी युवाहरूको अपिलः वार्ता र संवादबाट पाथीभरा केबलकार निर्माण गरौं
काठमाडौं । पहिचानवादी युवाहरूले स्थानीय पहिचान र अस्तित्व संरक्षण गर्दै विकास निर्माण अघि बढाउन सबै पक्ष तयार रहन आग्रह गरेका छन् । ‘पहिचानका लागि युवा’ संस्थाले काठमाडौं पत्रकार सम्मेलन गर्दै पाथीभरा केबलकार निर्माणको विषयलाई द्वन्द्वभन्दा वार्ता र संवादमार्फत समस्या समाधान गर्न सबै पक्ष तयार रहनुपर्ने बताएको हो । संस्थाले वार्ताका माध्यमबाट पाथीभरा केबलकारको समस्या समाधान गर्न पहिचानवादी युवाहरू तयार रहेको बताएको हो । संस्थाका अध्यक्ष कृष्ण चोङवाङले आफूहरू विकासविरोधी नरहेको र समस्या समाधानका लागि सरकारसँग खुला ढङ्गले वार्ता गर्न तयार रहेको बताए । सबै आन्दोलनरत समूहहरू समेटी सरकारले वार्तालाई गम्भीरतापूर्वक अघि नबढाएको गुनासो गर्दै उनले विभिन्न तरिकाबाट वार्ताको पहल भइरहे पनि निष्कर्षमा पुग्न नसकेको बताए । समस्या समाधानका लागि सबैको ध्यानाकर्षण गर्न काठमाडौंमा पत्रकार सम्मेलन गरिएको अध्यक्ष चोङवाङको भनाइ छ । सबै पहिचानवादी समूहलाई सरकारले बोलाएर समस्याको पहिचान गरेपछि मात्र वार्ता र संवादबाट समाधान निस्किने समेत उनले विश्वास व्यक्त गरे । आन्दोलनमा अलगअलग समूह रहेकाले सार्थक वार्ता हुन नसक्दा समस्या बल्झिएकाले जनस्तरमा रहेको वास्तविक समस्या बुझेर समस्याको समाधान निकाल्न सकिने अध्यक्ष चोङवाङको भनाइ छ । केबलकार निर्माण बन्द गर्ने मात्र एजेन्डाले पहिचानका मुद्दा बलियो नहुने भन्दै पहिचान संरक्षणका लागि जनस्तरमा रहेका सबै सङ्घसंस्थासँग वार्ता र संवाद हुनुपर्ने अध्यक्ष चोङवाङको भनाइ छ । आफूहरू खुला ढङ्गले संवाद गर्न र त्यसको पहल लिन तयार रहेको बताउँदै उनले निकासका लागि सबै पक्षको ध्यानाकर्षण गराउनुपरेको बताए । सरकारले सबै संस्था समूहलाई बोलाएर समस्या पहिचान गर्न खोज्नुपर्ने र त्यसले मात्र समाधान दिन सक्ने ठहर पहिचानवादी युवाहरूको छ । लिम्बूवान ब्रदरहुडका अध्यक्ष मिक्तोक लिम्बूले पाथीभरा लिम्बूको पहिचानसँग जोडिएको धरोहर रहेकाले केबलकार निर्माण गर्दा पहिचानको सम्वर्द्धनका ग्यारेन्टी हुनुपर्ने उल्लेख गरे । उनले विश्वका अधिकांश राजनीतिक आन्दोलन वार्ता र संवादबाट समाधान भएको उदाहरण दिँदै भने, ‘केबलकार निर्माणको विषय पनि संवादमार्फत हल हुनुपर्छ ।’ पहिचान र विकासलाई सँगसँगै लैजानुपर्छ भन्ने पक्षमा आफ्नो धारणा राख्दै अबको विकास मोडालिटी सम्बन्धमा थप छलफल र बहस गर्नुपर्ने जोडदार माग पनि गरे । पहिचानका लागि युवाका केन्द्रीय संयोजक विराज आङदम्बे लिम्बूले स्थानीय पहिचान र विकाससँग जोडिएका विषयमा सबै पक्षमा गम्भीरता देखिनुपर्नेमा जोड दिए । पहिचानवादी युवाहरूका संस्थाले स्थानीय पहिचान र अस्तित्व कायम गरी विकास निर्माणलाई अघि बढाउन सबै पक्षसँग अपिल गरिरहेको पनि बताए । राज्यले सबैलाई वार्तामा बोलाउने र केबलकार निर्माण कम्पनीले पनि आफ्नो धारणा जनस्तरमा लैजाँदा समस्या समाधान हुने विश्वास पनि संयोजक आङदम्बेले राखे ।
काठमाडौंमा शनिबारसम्म तापक्रम बढ्ने, आइतबारदेखि बदली हुने
काठमाडौं । काठमाडौं उपत्यकाको तापक्रम निरन्तर बढिरहेको छ । यो क्रम भोलि शनिबारसम्म जारी रहने तथा आगामी आइतबारदेखि बदली भई तापक्रम घट्ने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज यहाँको तापक्रम ३१ देखि ३४ डिग्री सेल्सियसका बीच रहने विभागको पूर्वानुमान छ । आज दिउँसो कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भागमा मौसम सफा रहने छ । कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू-भागका एक/दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ । कोशी, गण्डकी र कर्णाली प्रदेशका हिमाली भू-भागका एक/दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना पनि छ । महाशाखाका अनुसार आज राति कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू-भागमा मौसम सफा रहने छ । कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भागका एक/दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ । गण्डकी र कर्णाली प्रदेशका हिमाली भागका केही स्थानका साथै कोशी प्रदेशको हिमाली भागका एक/दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना छ ।