विकासन्युज

सबै क्षेत्रलाई समेटेर एभरेष्ट बैंकले ल्यायो चाडपर्व योजना, कुनमा कति व्याज ?

काठमाडौं । एभरेष्ट बैंकले ग्राहकहरुको आवश्यकतालाई ध्यानमा राख्दै “चाडपर्व विशेष कर्जा योजना” ल्याएको छ । यस अन्तर्गत सबै क्षेत्रलाई समेट्दै, घर भाडा भन्दा सस्तो “घर कर्जा”, स्वरोजगार तथा उद्यमीको लागी “साना तथा मझौला उद्योग कर्जा (एसमई)”, आफ्नै सावारी साधनको लागि “गाडी तथा मोटरसाइकल कर्जा” तथा व्यक्तिगत प्रयोजनको लागि “व्यक्तिगत कर्जा” योजना ल्याएको छ । यहि आउदो श्रावण १५ देखि कार्तिक १४ सम्म लागु हुने यस कर्जा योजनामा घर कर्जा ८.२५ प्रतिशत, साना तथा मझौला उद्योग कर्जा ८.२५ प्रतिशत, गाडी कर्जा ९.५५ प्रतिशत, मोटरसाइकल कर्जा १०.५५ प्रतिशत तथा व्यक्तिगत कर्जा ९.५५ प्रतिशत ब्याजदरमा उपलब्ध हुनेछ । बैंकको चाडपर्व विशेष कर्जा योजनामा प्रशासनिक शुल्क ०.५० प्रतिशत मात्र हुने साथै अन्य बैंक तथा वित्तीय संस्थाबाट लोन स्वाप गर्दा सेवा शुल्कमा अतिरिक्त छुट हुनेछ । यस योजनामा सहभागी हुने ग्राहकहरुलाई क्रेडिट कार्ड लिदा ५० प्रतिशत छुट समेत उपलब्ध हुनेछ । यस कर्जा योजनाबाट ग्राहकहरुलाई भरपुर फाइदा पुग्ने तथा आउँदै गरेको चाडपर्वहरुमा थप खुसियाली थपिने छ भन्ने बैंकले विश्वास लिएको छ ।

नेपाल इन्स्योरेन्स कम्पनी कर्मचारी संघकाे अध्यक्षमा भिम प्रसाद घिमिरे

काठमाडौं । नेपाल इन्स्योरेन्स कम्पनी कर्मचारी संघको अध्यक्षमा भिम प्रसाद घिमिर चयन भएका छन् । संघको २०७७ जेठ ३० गते सम्पन्न ११औं केन्द्रिय महाधिवेशनले उनलाई संघको अध्यक्ष सर्व सम्मत रुपमा नियुक्त गरेको हो । साथै, महाधिवेशनले घिमिरेको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्य समिति चयन गरिएको छ । नयाँ कार्य समितिमा उपाध्यक्ष श्रीमती दुर्गा देवी कार्की, महासचिव रत्न बिक्रम जि.सी., सचिव मेघराज ढुङगाना, कोषाध्यक्ष तारा बहादुर खडका र सदस्यहरुमा कृष्णराम पराजुली, बिन्दा अर्याल, सपना कुमारी सिंह, कमला कूवंर, बिधात्री शाह र तुषार थापा चयन भएका छन् । कम्पनी र कर्मचारीबीच रहि आएको सौहाद्रपुर्ण समबन्धलाई कायम राखी-कम्पनी र कर्मचारीहरुको हक हितलाई प्रवद्र्घन र सम्वर्धन गर्दे रचनात्मक ढंगले अगाडी बढ्ने नवर्निवाचित संघले जनाएको छ । नयाँ पदाधिकारीहरुलाई बिहीबार(आज) कम्पनीका प्रमुख कार्यकारी अधिकृतले स्वागत गरेका छन् । नेपाल इन्स्योरेन्स कम्पनी मुलुक कै पहिलो बीमा कम्पनी हो ।

पूर्व डिआइजी कोइरालाको मुद्दामा सर्वोच्चको फैसला विरुद्ध पुनरावलोकन रिट दायर गरिने

काठमाडौं । पूर्व डिआइजी रञ्जन कोइरालाको मुद्दामा सर्वोच्च अदालतले गरेको फैसला विरुद्ध महान्यायाधिवक्ताको कार्यालयले पुनरावलोकन रिट दायर गर्ने भएको छ । पत्नी हत्याको अभियोगमा जन्मकैदको सजाय काटिरहेका कोइरालको मुद्दामा सर्वोच्च अदालतले असार १५ गते ८ वर्ष ६ महिना मात्रै थुनामा बसे पुग्ने भन्दै फैसला गरेको थियो । सोही फैसला चित्त बुझ्दो नभएको भन्दै महान्यायाधिवक्ताको कार्यालयले पुनरावलोकनका लागि सार्वोच्चमा रिट दायर गर्ने भएको हो । बिहीबार अन्तर पार्टी महिला सञ्जालका टोलिसँगको भेटका क्रममा महान्यायाधिवक्ता अग्नीप्रसाद खरेलले सर्वोच्चको फैसला बिरुद्ध अदालतमा पुनरावलोकनका लागि जाने बताएका सञ्जालका अध्यक्ष सावित्रा भुषालले बताए । ‘सर्वोच्च अदालतको फैसला चित्त नबुझे पुनरावलोकनमा जान पाउने व्यवस्था अनुसार महान्यायाधिवक्ताको कार्यालयले पुनरावलोकनका लागि सर्वोच्चमा रिट दायर गर्न लागेको हो । पूर्व डिआइजी कोइरालाले २०६८ पुष २७ गते पत्नी गीता ढकालको हत्या गरी मकवानपुरको टिस्टुङ जङ्गलमा लगेर जलाएका थिए । २०६८ माघ ८ गते पक्राउ परेका उनलाई २०७१ वैशाख ७ गते जिल्ला अदालत काठमाडौंले सर्वश्वसहित जन्मकैदको फैसला सुनाएको थियो । कोइरालाले उच्च अदालत पाटनमा पुनरावेदन गरेका थिए । उच्च अदालतले पनि २०७२ मंसिर २३ गते जिल्लाकै फैसलालाई सदर गरेको थियो ।’- अन्तर पार्टी महिला सञ्जालका अध्यक्ष सावित्रा भुषालले बताइन् ।

सिमकार्डको आयु कति हुन्छ ? टेलिकम भन्छ- रिचार्जमा भर पर्छ

काठमाडौं । नेपाल टेलिकमले प्रदान गरिएका जीएसएम प्रिपेड तथा पोस्टपेड सेवाका सिमकार्डमा थप गरिएको रकम अनुसार प्रयोग गर्न सकिने समयावधि समेत थपिदै जान्छ । त्यस्तै विदेशबाट पनि सेवाको ब्यालेन्स थप गर्न सकिन्छ । (क) प्रिपेड सिमकार्ड कम्पनीले उपलब्ध गराउने नयाँ प्रिपेड सिमकार्ड प्राप्त भएपश्चात सेवा शुरु गर्न १४१५ मा डायल गरी वा *1414# मा डायल गरी विकल्पहरु छनौट गर्नुपर्दछ । नयाँ सिमको सेवा प्रयोग गर्न सकिने अवधि १८० दिन हुने भएकाले सिम एक्टिभेट गरेपश्चात् सो अवधिसम्म टप अप नगरेपनि उक्त सिमकार्ड प्रयोग गर्न सकिन्छ । प्रिपेड सिमकार्डमा रु. ५० टप अप गर्दा ३० दिन, रु. १०० टप अप गर्दा ६० दिन, रु. ५०० टप अप गर्दा एक वर्ष र रु. १००० टप अप गर्दा अधिकतम दुई वर्ष सिम प्रयोग गर्न सकिने अवधि थपिन्छ । न्यूनतम रकम (अर्थात् एक पैसा पनि बाँकी) नभएको वा सिम प्रयोग अवधि समाप्त भएको अवस्थामा प्रिपेड सिमकार्ड तत्काल एकतर्फी (आगमन मात्र हुने, बाह्यगमन नहुने) हुन्छ । सेवा एकतर्फी मात्र भएको ३० दिनभित्र उक्त सिमकार्ड टप अप गरिएन भने दुईतर्फी (आगमन र बाह्यगमन) सेवा पूरै बन्द हुन्छ । दुईतर्फी सेवा बन्द भएको ३० दिनभित्र रिचार्ज नभएमा सिम फ्रोजन अवस्थामा पुग्छ । फ्रोजन अवस्थामा पुगेपछि उक्त सिममा रहेको सञ्चित रकम र सिम प्रयोग गर्ने अवधि दुवै शून्य हुन्छ । कुनै सिमकार्डमा सञ्चित रकम भएतापनि सिम प्रयोग गर्न सकिने अवधि समाप्त भएमा उक्त सिमकार्ड दुईतर्फी सेवा बन्द हुने अवस्थामा पुग्छ । यसरी दुईतर्फी सेवा बन्द भएको सिमकार्ड ३० दिनभित्र टप अप गरिएमा टप अप गरिएको रकममा पुरानो सञ्चित रकम जोडिएर आउँछ । तर सिम प्रयोग गर्न सकिने अवधि भने नयाँ टप अप गरिएको रकम अनुसार मात्र थप हुन्छ । कुनै सिम कार्ड फ्रोजनमा गएपछि कम्पनीले आवश्यकता अनुसार कुनैपनि समयमा रिसाइकल गरी नयाँ ग्राहकलाई उपलब्ध गराउन सक्दछ । (ख) पोस्टपेड सिमकार्ड सेवा प्रयोग गरेवापत ग्राहकले कम्पनीलाई बुझाउन बाँकी रकम उक्त मोबाइलको क्रेडिट लिमिटभन्दा बढी भएमा सेवा एकतर्फी (आगमन मात्र हुने, बाह्यगमन नहुने) हुन्छ । यस्तो एकतर्फी सेवा ९० दिनसम्म रहन सक्दछ र सिम एकतर्फी भएको अर्को महिनादेखि बिल उठ्दैन । नब्बे दिनसम्म पनि डिउ अमाउन्ट भुक्तानी गरिएन भने दुईतर्फी (आगमन र बाह्यगमन) सेवा बन्द हुन्छ र सिम फ्रोजनमा जान्छ । फ्रोजनमा रहेको ९० दिनभित्रमै सेवा सुचारु गर्न बाँकी महशुल भुक्तानी गरी नजिकको दुरसञ्चार कार्यालयमा गई (वा फोन/इमेलमार्फत) जानकारी गराउनु पर्छ । उक्त ९० दिनभित्र भुक्तानी नगरेमा सिम स्थायी रुपमा बन्द (टरमिनेट) हुन्छ । ग्राहकको सिम टरमिनेट अवस्थामा पुगेपछि ग्राहकले सोही सिम प्राप्त गरी प्रयोग गर्न चाहेमा १८० दिनभित्र रु. ५६० रि कनेक्सन फी भुक्तानी गरी सोही सिम नम्बर प्राप्त गर्न सकिन्छ । सिम टरमिनेट भएको १८० दिन पश्चात कम्पनीले सिम रिसाइकल गर्नसक्ने भएकाले अन्य साधारण सिम सरह नै कुनै पनि ग्राहकलाई नियमानुसारको रकममा उक्त सिम बिक्री/वितरण गर्न सक्दछ । (ग) विदेशबाट टपअप गरी सेवा प्रयोग गर्न सकिने अवधि थप गर्ने विदेश जाँदा सँगै लगेको प्रिपेड पोष्टपेड सिम अनलाइन बैंकिङ, भुक्तानी सेवा प्रदायक आदि मार्फत विदेशबाटै टपअप गरी सिम प्रयोग गर्न सकिने अवधि थप गर्न सकिन्छ । यसरी अवधि थप गर्दै एक्टिभ अवस्थामा राखिएका सिमकार्ड स्वदेश आउनासाथ सहज रुपमा प्रयोगमा ल्याउन सकिन्छ ।

महासंघ निर्वाचन सर्यो, नयाँ मिति सभा सम्मेलन गर्न सरकारले अनुमति दिएको १५ दिनपछि

काठमाडौं । निजी क्षेत्रको प्रतिनिधिमुलक संस्था नेपाल उद्योग वाणिज्य महासंघको निर्वाचन सरेको छ । साउन २६ र २७ गतेको लागि तोकिएको महासंघको ५४औं साधारणसभा कोरोना भाइरस (कोभिड–१९) संक्रमण सन्त्रासका कारण दोस्रो पटक सरेको हो । महासंघको पदाधिकारी बैठकले साधारणसभा सार्ने निर्णय गरेको निवर्तमान अध्यक्ष पशुपति मुरारकाले जानकारी दिए । नयाँ मिति भने तोकिएको छैन । सरकारले सभा सम्मेलन गर्न खुल्ला गरेको १५ दिनपछि महासंघको निर्वाचन गर्ने गरी मिति सारिएको मुरारकाको भनाइ छ । ‘आजको पदाधिकारी बैठकले साउन २६ र २७ गते गर्ने भनिएको ५४औं साधारणसभा सार्ने निर्णय गरेको छ, सरकारले सभा सम्मेलन गर्न खुल्ला गरेको १५ दिनपछि साधारणसभा गर्ने निर्णय भएको छ,’ पदाधिकारी बैठकपछि निवर्तमान अध्यक्ष मुरारकाले भने । महासंघले यसअघि चैत २८ र २९ गते साधारणसभा गर्ने निर्णय गरेको थियो । कोभिड–१९ संक्रमण नियन्त्रण र रोकथामका लागि सरकारले चैत ११ गतेदेखि देशव्यापी लकडाउन घोषणा गरेपछि सो साधारणसभा सारेर साउन २६ र २७ गते गर्ने निर्णय भएको थियो । पदाधिकारी बैठकमा महासंघका पूर्वअध्यक्षहरुलाई पनि बोलाइएको थियो । सम्बन्धित सामग्री चुनाव सार्न महासंघले बोलायो पदाधिकारी बैठक, कोषाध्यक्ष भन्छन्ः यो त किर्ते काम भयो नैतिक प्रश्नले पिरोलेको कुरा गर्दा अर्कै रंग दिन खोजियोः शेखर गोल्छा शेखर र चण्डिराजबीच फेरि घोचपेच, हार्ने त्रासले चुनाव सार्न खोजेको आरोप अध्यक्ष भएकाे छ महिनामा हटाउने याेजना बनेपछि म चुनावमा सक्रिय भएकाे हुँ-शेखर गोल्छा एफएनसीसीआई निर्वाचन फेरि अन्योलमा, वरिष्ठ उपाध्यक्ष गोल्छा भन्छन्ः चुनौति थपियो महासंघका दुई किङ मेकर, काे बढी प्रभावशाली ?

स्मार्ट च्वाइसको स्मार्ट क्यूआर सेवा सञ्चालनमा, अनलाइन भुक्तानी थप सजिलाे हुने

काठमाडाैं । स्मार्ट च्वाइस टेक्नोलोजिज लिमिटेडले कुइक रेस्पोन्स कोड (क्यूआरसी) भुक्तानी प्रणाली स्मार्ट क्यूआर सञ्चालनमा ल्याएको छ । विभिन्न प्रकारका भुक्तानी सेवा र सुविधाहरुको प्राप्तीमा अनलाइन भुक्तानीलाई अझ आधुनिक, सहज र एकिकृत गर्न सक्ने गरी यो स्मार्ट क्यूआर सञ्चालनमा ल्याइएको बताइएको छ । नेपाल राष्ट्र बैंकको नगदरहित कारोवारलाई बढावा दिँदै वित्तीय कारोबार अघि बढाउने नीति अनुरुप विभिन्न बैंक तथा वित्तीय संस्था र भुक्तानी सेवा प्रदायक संस्थाहरुलाई विश्वस्तरीय, सुरक्षित सेवा प्रदान गर्न यो प्रणाली सक्षम रहेको स्मार्ट च्वाइस टेक्नोलोजिजका निमित प्रमुख कार्यकारी अधिकृत दिपेश मास्केले बताए । मुलुकको समग्र डिजिटल इकोसिस्टमको विकासमा योगदान गर्ने कम्पनीको नीति र प्रतिबद्वता अनुसार यो सेवा सञ्चालनमा ल्याईएको उनले बताए । परम्परागत प्रणालीलाई विस्थापित गर्दै नगदरहित आधुनिक भुक्तानी प्रणालीको विकास र प्रवद्र्धन गर्ने कम्पनीको लक्ष्य रहेको बताइएको छ । स्मार्ट क्यूआरको प्रयोगबाट छिटो, मितव्ययी र सरल ढंगले क्युआर कोड स्क्यान गरी विविध आवश्यकता बमोजिम सेवा र सुविधाहरुको उपयोग गर्न सजिलो हुनेछ । विशेषतः यस क्यूआरसी भुक्तानी प्रणालीबाट आवद्ध भएका बैंक तथा वित्तीय संस्था र भुक्तानी सेवा प्रदायक संस्थाहरुले इएमभिको स्टान्डर स्ट्याटिक वा डाइनामिक क्यूआर कोड जेनेरेट गरी स्वदेशी तथा बिदेशी क्यूआर भुक्तानी सेवाहरुको बीचमा पनि सहजै कारोवार गराउन सक्नेछन । स्मार्ट क्यूआरको सञ्चालनमा आइएमई पे, प्रभु पे, क्यू पे जस्ता स्वदेशी भुक्तानी सेवा प्रदायक र अन्तर्राष्ट्रिय संस्था युनियन पे इन्टरनेशनलको समेत सहकार्य तथा साझेदारी रहेको कम्पनीले जनाएको छ । आगामी दिनमा यस प्रकारको सेवा प्रदान गर्ने स्वदेशी तथा बिदेशी संस्थाहरुको अधिक संलग्नता गराँउदै यसको पहुँचलाई अझै बिस्तार गर्दै लैजाने लक्ष्य लिईएको छ । राष्ट्रको भुक्तानी प्रणालीको डिजिटाइजेशन प्रक्रियामा आफ्ना ग्राहकलाई आधुनिक सेवा प्रदान गर्न कम्पनी सधैं अग्रसर रहने बताइएको छ ।

महालक्ष्मी लाइफ इन्सुरेन्सको प्रिमियम अनलाइनबाटै तिर्न सकिने, यस्ताे छ प्रकृया ?

काठमाडौं । नेपाल राष्ट्र बैंकबाट अनुमति प्राप्त भुक्तानी सेवा प्रदायक सेलकम प्रा. लि. को सेलपे सेवाले महालक्ष्मी लाइफ इन्सुरेन्ससँग बीमा प्रिमियमको डिजीटल भुक्तानीको लागि सहकार्य गरेको छ । सहकार्य सम्झौतामा महालक्ष्मी लाइफ इन्सुरेन्सका उप प्रमुख कार्यकारी अधिकृत कमल पन्थी र सेलकम प्रा. लि.का प्रबन्ध निर्देशक पवन प्रधानले हस्ताक्षर गरेका छन् । यस सहकार्य अन्तर्गत, अब महालक्ष्मी लाइफ का ग्राहकहरुले आफ्नो बीमा प्रिमियम तिर्न बैंक वा कार्यालय नै पुग्न पर्ने बाध्यता हटेको छ र सजिलै सेलपे एप वा वेब एप्लीकेसन प्रयोग गरी डिजिटल भुक्तानी गर्न सक्नेछन् । बीमा प्रिमियम तिर्नका लागि सेल पे मा आफ्नो खाता लिंक गरि सजिलै बिना कुनै झन्झट, कुनै पनि समयमा रकम तिर्न सकिने छ । कसरी तिर्ने ? यसका लागि सेल पेमा लगइन गरि बीमा अप्सनमा क्लिक गरि महालक्ष्मी लाइफ छनौट गरि आफ्नो पोलिसि नम्बर र जन्म मिति राख्नु पर्ने हुन्छ । त्यस पश्चात आफ्नो बीमा विवरण चेक गरि देखाएको प्रिमियमको रकम पे बटन क्लिक गरी र आफ्नो बीमा प्रिमियम भुक्तानी गर्न सकिने छ । साथै, आफ्नो सम्पूर्ण भुक्तानीहरु ट्रान्सक्सोन हिस्त्री सेक्सोनबाट सजिलै हेर्न सकिने छ ।

दशैँ अगाडि त्रिविका सबै परीक्षा हुने

काठमाडाैं । त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले बन्दाबन्दी खुलेसँगै रोकिएका परीक्षा सञ्चालन गर्ने तयारी थालेको छ । बन्दाबन्दी खुलेसँगै सेमेष्टर र वार्षिक प्रणालीका परीक्षा सञ्चालन गर्ने तयारी गरिएको त्रिवि परीक्षा नियन्त्रण कार्यालयका (पनिका) परीक्षा नियन्त्रक पुष्पराज जोशीले बताए । “हामीले सेमेष्टरको परीक्षाका बारेमा खुला पुस्तक हेरेर लेख्न सकिने, अनलाइन परीक्षा लिनेबारे सोच बनाएका थियौँ”, उनले भने, “तर त्यो सम्भव नहुने भएपछि परीक्षा नै लिने निर्णयमा पुगेका छौँ ।” यसअघि सेमेष्टर प्रणालीअन्तर्गतका परीक्षा बारेमा निर्णय गर्न त्रिविका शिक्षाध्यक्ष प्राडा शिवलाल भुसालको संयोजकत्वमा कार्यदल गठन गरेर परीक्षा नलिने तयारी गरेको बनाएपनि सेमेष्टरको परीक्षा लिने भएको हो । उनले दशैँ अगाडि रोकिएका नै सेमेष्टर र वार्षिक परीक्षा गर्ने तयारी गरिएको जानकारी दिए । त्रिविले चाँडै नै परीक्षाका बारेमा सूचना प्रकाशित गर्ने तयारी गरेको छ । यसपटक विद्यार्थीलाई पायकपर्ने नजिकका क्याम्पसमा परीक्षा केन्द्र राखिने छ । “पहिले हामीले १२–१३ किलोमिटरभित्रमा परीक्षा केन्द्र राख्ने गरेका थियौँ”, उनले भने, “यसपटक भने विद्यार्थीलाई पायक पर्ने नजिकका क्याम्पसमा परीक्षा केन्द्र राख्ने छौँ ।” त्रिविले गत चैत ७ गतेदेखि कोभिड–१९ को कारणले सेमेष्टर तथा वार्षिक सबै परीक्षा स्थगन गरेको थियो । स्नातकोत्तर तहको प्रथम, स्नातक तह दोस्रो र विभिन्न तहका सेमेष्टर प्रणालीका परीक्षा रोकिएका छन् । यसैगरी पनिकाले बन्दाबन्दीका कारणले रोकिएका परीक्षाफल धमाधम गरिरहेको छ । पनिकाले गत वैशाख २० गतेदेखि कार्यालयका कर्मचारीलाई ल्याएर परीक्षाफल प्रकाशित गरिएको छ । उनका अनुसार स्नातकोत्तर तहका १२ विषय, कानून सङ्काय, मानविकी र व्यवस्थापनको स्नातक तहको प्रथम वर्षको परीक्षाफल प्रकाशन गर्न बाँकी रहेको छ । पनिकाले सबै परीक्षाफल प्रकाशित गरेर परीक्षा गर्ने र ती परीक्षाको पनि तीन महिनाभित्र प्रकाशन गर्ने तयारी गरेको परीक्षा नियन्त्रक जोशीले जानकारी दिए । उनले वार्षिक क्यालेन्डर मिलाउने गरी परीक्षा र परीक्षाफल प्रकाशन गरिने तयारी गरिएको बताए । रासस