सिमकार्डको आयु कति हुन्छ ? टेलिकम भन्छ- रिचार्जमा भर पर्छ

<p>काठमाडौं । नेपाल टेलिकमले प्रदान गरिएका जीएसएम प्रिपेड तथा पोस्टपेड सेवाका सिमकार्डमा थप गरिएको रकम अनुसार प्रयोग गर्न सकिने समयावधि समेत थपिदै जान्छ । त्यस्तै विदेशबाट पनि सेवाको ब्यालेन्स थप गर्न सकिन्छ । (क) प्रिपेड सिमकार्ड कम्पनीले उपलब्ध गराउने नयाँ प्रिपेड सिमकार्ड प्राप्त भएपश्चात सेवा शुरु गर्न १४१५ मा डायल गरी वा *1414# मा डायल [&hellip;]</p>

काठमाडौं । नेपाल टेलिकमले प्रदान गरिएका जीएसएम प्रिपेड तथा पोस्टपेड सेवाका सिमकार्डमा थप गरिएको रकम अनुसार प्रयोग गर्न सकिने समयावधि समेत थपिदै जान्छ । त्यस्तै विदेशबाट पनि सेवाको ब्यालेन्स थप गर्न सकिन्छ ।

(क) प्रिपेड सिमकार्ड

कम्पनीले उपलब्ध गराउने नयाँ प्रिपेड सिमकार्ड प्राप्त भएपश्चात सेवा शुरु गर्न १४१५ मा डायल गरी वा *1414# मा डायल गरी विकल्पहरु छनौट गर्नुपर्दछ । नयाँ सिमको सेवा प्रयोग गर्न सकिने अवधि १८० दिन हुने भएकाले सिम एक्टिभेट गरेपश्चात् सो अवधिसम्म टप अप नगरेपनि उक्त सिमकार्ड प्रयोग गर्न सकिन्छ ।

प्रिपेड सिमकार्डमा रु. ५० टप अप गर्दा ३० दिन, रु. १०० टप अप गर्दा ६० दिन, रु. ५०० टप अप गर्दा एक वर्ष र रु. १००० टप अप गर्दा अधिकतम दुई वर्ष सिम प्रयोग गर्न सकिने अवधि थपिन्छ ।

न्यूनतम रकम (अर्थात् एक पैसा पनि बाँकी) नभएको वा सिम प्रयोग अवधि समाप्त भएको अवस्थामा प्रिपेड सिमकार्ड तत्काल एकतर्फी (आगमन मात्र हुने, बाह्यगमन नहुने) हुन्छ । सेवा एकतर्फी मात्र भएको ३० दिनभित्र उक्त सिमकार्ड टप अप गरिएन भने दुईतर्फी (आगमन र बाह्यगमन) सेवा पूरै बन्द हुन्छ । दुईतर्फी सेवा बन्द भएको ३० दिनभित्र रिचार्ज नभएमा सिम फ्रोजन अवस्थामा पुग्छ । फ्रोजन अवस्थामा पुगेपछि उक्त सिममा रहेको सञ्चित रकम र सिम प्रयोग गर्ने अवधि दुवै शून्य हुन्छ ।

कुनै सिमकार्डमा सञ्चित रकम भएतापनि सिम प्रयोग गर्न सकिने अवधि समाप्त भएमा उक्त सिमकार्ड दुईतर्फी सेवा बन्द हुने अवस्थामा पुग्छ । यसरी दुईतर्फी सेवा बन्द भएको सिमकार्ड ३० दिनभित्र टप अप गरिएमा टप अप गरिएको रकममा पुरानो सञ्चित रकम जोडिएर आउँछ । तर सिम प्रयोग गर्न सकिने अवधि भने नयाँ टप अप गरिएको रकम अनुसार मात्र थप हुन्छ । कुनै सिम कार्ड फ्रोजनमा गएपछि कम्पनीले आवश्यकता अनुसार कुनैपनि समयमा रिसाइकल गरी नयाँ ग्राहकलाई उपलब्ध गराउन सक्दछ ।

(ख) पोस्टपेड सिमकार्ड

सेवा प्रयोग गरेवापत ग्राहकले कम्पनीलाई बुझाउन बाँकी रकम उक्त मोबाइलको क्रेडिट लिमिटभन्दा बढी भएमा सेवा एकतर्फी (आगमन मात्र हुने, बाह्यगमन नहुने) हुन्छ । यस्तो एकतर्फी सेवा ९० दिनसम्म रहन सक्दछ र सिम एकतर्फी भएको अर्को महिनादेखि बिल उठ्दैन ।

नब्बे दिनसम्म पनि डिउ अमाउन्ट भुक्तानी गरिएन भने दुईतर्फी (आगमन र बाह्यगमन) सेवा बन्द हुन्छ र सिम फ्रोजनमा जान्छ । फ्रोजनमा रहेको ९० दिनभित्रमै सेवा सुचारु गर्न बाँकी महशुल भुक्तानी गरी नजिकको दुरसञ्चार कार्यालयमा गई (वा फोन/इमेलमार्फत) जानकारी गराउनु पर्छ । उक्त ९० दिनभित्र भुक्तानी नगरेमा सिम स्थायी रुपमा बन्द (टरमिनेट) हुन्छ ।

ग्राहकको सिम टरमिनेट अवस्थामा पुगेपछि ग्राहकले सोही सिम प्राप्त गरी प्रयोग गर्न चाहेमा १८० दिनभित्र रु. ५६० रि कनेक्सन फी भुक्तानी गरी सोही सिम नम्बर प्राप्त गर्न सकिन्छ । सिम टरमिनेट भएको १८० दिन पश्चात कम्पनीले सिम रिसाइकल गर्नसक्ने भएकाले अन्य साधारण सिम सरह नै कुनै पनि ग्राहकलाई नियमानुसारको रकममा उक्त सिम बिक्री/वितरण गर्न सक्दछ ।

(ग) विदेशबाट टपअप गरी सेवा प्रयोग गर्न सकिने अवधि थप गर्ने

विदेश जाँदा सँगै लगेको प्रिपेड पोष्टपेड सिम अनलाइन बैंकिङ, भुक्तानी सेवा प्रदायक आदि मार्फत विदेशबाटै टपअप गरी सिम प्रयोग गर्न सकिने अवधि थप गर्न सकिन्छ । यसरी अवधि थप गर्दै एक्टिभ अवस्थामा राखिएका सिमकार्ड स्वदेश आउनासाथ सहज रुपमा प्रयोगमा ल्याउन सकिन्छ ।

Share News